पर्खाल भीत्र र बाहिर डा कविताराम श्रेष्ठ पर्खालभीत्र शुक्रवार । परिवारका सबै सदस्यहरू एक ठाउँमा आएर रम्छन् । पिउने पीउछन्, खाने खान्छन्, नाच्ने नाच्छन् ।
सदा झैं यो शुक्रवार पनि त्यो जमघट भयो । बज्यैदेखि पनातिसम्मका चारपुस्ताको जमघट । एउटा पारिवारिक पारम्परिक जमघट । तर दीपेन्द्रलाई यो रमझम, कत्तिपनि रमाइलो थिएन । एउटा किलकिलाउदो असन्तुष्टीले उसलाई पीडा दिइरहेथ्यो । सबै रमाइ रहेथे । उसलाई भने यो झर्कोको जमघट थियो ।
एउटा परम्परागत जमघट जसलाई र्टार्न ऊ कत्ति पनि सक्दैनथ्यो । अनुशासनको कुरा मात्र होइन । सन्तानमा ऊ जेेठो छारो । अझ उत्तराधिकारी नै । विरासतमा उसलाई ठूलै अधिकारको सिंहासन छ जो परम्परा रहेसम्म सुरक्षित छ । त्यो परम्परा जीवित रहन पर्छ अनि मात्र त्यो आसन बलियो रहन्छ र त्यो उत्तराधिकारलाई मलजल हुन्छ । आफ्नै अस्तित्वको त्यो आधारलाई उसले नकार्न सक्तैन । त्यसैले ऊसलाई यस्ता परम्परामा अनुरक्त हुनुनै पथ्र्यो, चाहेर पनि र नचाहेर पनि । यन्त्रवत ऊ त्यस परम्परामा नारिएको छ ।
चारपुस्ताका सदस्यहरू पुस्तागत तहका अलगअलग टेबलमा रमाइरहेथे । दीपेन्द्र उसकै पुस्ताका दाजुभाइ दिदीवहिनी ज्वाइभेना आदिसँग यन्त्रवत उपस्थित थिए । शरीर त्यहाँ थियो तर मन त अन्तै । कोहीकोही जेठा पनि थिए । कोही नाताले मान्य पनि । तर गद्दीनसीन हुनाले ऊ उसका पुस्तामा र्सवमान्य थिए । उसको रौव अरूको भन्दा फरक हुन्थ्यो नै । उसको हकदम अरूमा भाले बास्थ्यो नै । तर आज उसको चित्त ठेगानमा छँदै थिएन । कहिले मोवाइलमा नम्वर हान्न व्यस्त । कहिले कल रिसिभ गर्न व्यस्त । आफूले फोन गरे पनि वा फोन उठाउन परेपनि ऊ सन्तुष्ट कहिल्यै देखिएन । पूणर्त असन्तुष्ट ।
उसको सबभन्दा मनपर्ने स्कच ह्वीस्की- फेमस ग्राउच । पेगमा ऊ आफै हाल्दैथ्यो र नीट घटघट पिउँदैथ्यो । अरू दिनको भन्दा आजको उसको व्यवहार फरक थियो । नितान्त फरक र एक्लो । भीडमा पनि एक्लो । आज उसले बेस्मारी खाएको हो र पनि उसलाई त्यसले छोएको थिएन । थोरै खाँदा पनि ऊ धेरै मातेको अभिनय गर्ने व्यक्ति हो । सबैलाई थाहा भएको त्यही हो । विशेष उसका पुस्तागत तहका मोजकर्मीहरू जानाजानी त्यो अभिनयलाई चाकरीवत सम्मान पसारेर हाँमा हाँ मिलाइदिन्थे । तल्ला तहकाहरूको ता कुरै रहेन । चारण भाटसरह उसको प्रशंसामै यत्नहरू खर्च गर्थे । आज स्थिति फरक थियो । त्यसैले भनौँ माहौल नै फरक थियो ।
उसको समस्या के थियो - किन ऊ असन्तुष्ट छ - कसलाई ऊ फोन गर्छ - कसको फोन उसलाई आइरहेछ - भन्ने नै हो भने सबैलाई सबैसबै थाहा छ । अनि अझ आज किन उसलाई रक्सी लागेको छैन र उसका अभिनयहरू किन आज हावा छन् - त्यो पनि सबैलाई थाहा छ । त्यसैले उसका तहका सबै मोजकर्मीहरू भनेजस्तो गरी अनि चाहे जस्तोगरी रमाउन सकिरहेका छैनन् । आखिर ऊ उसका तहका सबैभन्दा शक्तिशाली व्यक्ति हुँदै हो । भाटहरूलाई के छ - ऊ रमाउँदा रमाउन पर्ने अनि दुःखी हुँदा दुखी नै हुनपर्नेर् । अभिनय नै किन नहोस् ।
अलिपर उसका बाबुखालेहरू अर्कै टेबुलमा छन् । आमा छन् । काका छन् । काकी छन् । फुपू छन् । र फूपाहरू छन् । त्यहाँ पनि खुशियालीमा कताकता ग्रहण परेको आभास हुन्छ । विशेष आमाचाहिँको अनुहारमा त्यो कालो छायाँ स्पष्टै देखिन्छ । विशेष दीपेन्द्रको यो पागलपनले त्यता पनि असर पारिरहेको स्पष्ट थियो । ती आमा भनाउँदी ढीड आइमाई त्यस समूहमा रहे पनि तिनका सबै ध्यान यतै दीपेन्द्रकै हरकतमा स्तम्भित थियो । स्पष्ट थियो तिनी पनि यस जमघटमा कत्तिपनि रमाएकी थिइनन् । भीडभित्र तिनी पनि नितान्त एक्ली थिइन् । तर के गर्ने - लोकाचारलाई ध्यान दिनु नै थियो, सबैको माझमा तिनी विवश मुस्कान र्छर्दै थिइन् । त्यो स्पष्टै अभिनय मात्र थियो । त्यसको छायाँमा तिनी दुखित-दुखित थिइन् । सबैसबैले स्पस्टै बुझिरहेका थिए । तर को बोल्ने - कसको आँट आमा छोराको यो शीत तकरारलाई दखल दिने । बुबा हुने त्यो र्सवशक्तिमान व्यक्तित्व समेत आफ्नो व्यक्तित्व बचाउन केही थाहा नपाएको नक्कल गर्दै ह्वीस्कीको पेगचित्र लाचार लुकिरहेथे । सबैलाई थाहा थ्यो त्यो र्सवशक्तिमान व्यक्ति पनि त्यो दुस्साहस गर्नबाट भागिरहेथ्यो ।
दीपेन्द्र यी सवै परिस्थतिलाई बुझदछ र नीडर ढीढ बनेको छ । अझ अटेर गर्दै स्थितिलाई झनै उचालिरहेको छ । मानौँ सबैलाई ऊ चुनौति दिँदैछ । बुबा त्यस स्थितिलाई टार्ने मनस्थितिमा छ । आमा कुनैपनि क्षण प्रतिकारमा उत्रन उद्दत छिन् । तिनको आँखामा असैह्य क्रोधको आगो दन्किरहेको स्पस्ट छ । दीपेन्द्र भने कत्ति विचलित छैन । आमाको कुनैपनि प्रतिकारविरुद्ध उ आगो नै उत्रन तयार छ । आमाको ज्वलन्त मनोभावलाई ऊ पुर्णरूपले अवज्ञा गर्दै चुनौति दिइरहेको छ । बेलाबेलामा श्वास फुत्कार्दै भित्तातिर फर्केर अंग्रेजीमा गाली बक्छ- ब्लडी वीच ।
त्यसैबेला उसको मोवाइलमा घण्टी आउँछ । कानमा राखेर बोल्छ- हेलो -
उताबाट के कुरा आउँछ सुनिन्न । तर दीप्रेन्द्रको प्रत्युत्तर हुन्छ- छाडिदेऊ त्यो स्वास्नीको फरियामा गुटमुटिने मान्छेको कुरा ।
अलि बढी नै लाग्छ सुन्नेहरू सबैलाई यो अभिव्यक्ति । सबैजनाको आँखामा छक्क अनि छक्कसँगै एक किसिमको त्रास टप्कन्छ । एकाएक त्यो टेबल निश्तव्ध हुन्छ ।
फोनमा कुरा लामो हुन लाग्छ । दिपेन्द्रलाई एकान्त ठाउँमा गएर निर्धक्क कुरा गर्नुपर्ने अवस्था हुन जान्छ । त्यसै पनि ऊ यो रमझममा भित्री मनबाट उपस्थिति थिएन नै । त्यसमा अर्को दवाव सिर्जना भयो यो फोन । सदासदा यस्ता माहौलबाट उम्कन ऊ मातेको अभिनय गर्ने गथ्र्यो । तर आज त्यसो गरिहाल्न स्थिति बनेकै थिएन । ऊ अभिनयमै किन नहोस् उन्मत्त थिएन नै । के गर्ने - स्थिति बनाउन उसले एकपेग सट्ट नीट उडेल्यो । बस्, घाँटीबाट छिर्न पाएको थिएन कि उसलाई अहिलेसम्मको उडेलबाट हुँदै नभएको नितान्त नशा भइहाल्यो । ऊ अनौठै लड्खठाउन लाग्यो । सबैले यथा मान्न परिहाल्यो उसलाई कहिल्यै नभएको नशा भइसकेको छ । ऊ यत्ति लड्खडायो कि उसका तहका सबै मोजकर्मीहरूले बुझिहाले उसलाई अब बाआमाकै अगाडिबाट सम्हाल्दै खोपीतिर लान पर्छ । र सदा तीन चार जनाले हुन्थ्यो भने आज दुइचार जना थपिएरै जानपर्ने भयो । गरेपनि त्यस्तै ।
बाबु, आमा, काका, फूपा, फूपु सबैजना सामु त्यस्तै भयो । बडाहरू हुन्- आफ्ना इज्जतै थाम्न पनि यो निम्न हर्कतलाई वास्ता नगर्न कर लाग्यो । मानौ कसैले यो देख्दै देखेनन् । कसैले देखेर पनि यो सामन्य कुरा हो नयाँ कुरा हुँदै होइन भन्ने पारामा लिए । तर बाबु र आमालाई यो पच्ने कुरा थिएन । जमघटको सबैभन्दा माथिल्लो तहको मान्छेलाई उसको यो व्यवहार ठूलाको अवज्ञा मात्र देखिएन मानौँ अपहेलना नै भयो ।
वास्तवमा एक हिसाबले यो पारम्परिक रात्रीभोज बिग्रियो नै । साँच्चै ऊ रक्सी निकै लागेको अभिनय गर्ने मान्छे हो । एकै पेगमा दश पेगको झन्का लागेको देखाउने मान्छे हो । तर अहिलेको स्थितिलाई अभिनय भन्न नमिल्ने स्थिति थियो । दसबाह्र पेग उडेलेकै हो । पहिले नलागेको जस्तो देखिए पनि अरू मानसिक सन्तापले उसलाई नलागेको जस्तो देखिएको मात्र हो । होइन भने उ पहिले नै ढलीसकेको हो ।
तीस बर्षो मान्छे, शरीरमा बोसो लाग्ने उमेरको मान्छे, सामान्य मान्छेभन्दा ऊ अलि मोटै हो । चारपाँचजना उही उमेरका लाठेहरूले उसलाई तान्दै लग्दा हम्मे नै पर्यो । भरेङमा त बोक्नैपर्ने गरायो साथीले । त्यानझयान गर्दै उसलाई खोपीमा पुर्याइयो । उसले शरीरका लुगा र जुत्ता खोल्ने सुरै ल्याएन । अनि उपस्थित सबैले उसका कपडा, जुत्ता, मोजा र यहाँसम्म कि भेस्ट नै पनि फुकालिदिए । त्यसपछि ऊसलाई लडेको लड्यै छाडेर सबै उत्रे तल जमघटतिर ।
तल जमघटमा स्थिति साम्य भइसकेथ्यो । सबैले राहत भएको अनुभव गर्न लागि सकेथे । सबै भोजको मस्तिमा डुब्न लागे । एकैक्षणमा बाहिरतिरबाट हेलिकोप्टरको आवाज सुनियो । यस्ता आवाज आइ नै रहने गर्दछ । कसलाई यसको के वास्ता - वास्ता गर्नपर्ने छँदैछन् कर्मचारीहरू वा अंगरक्षकहरू । सबै आफ्ना मोजमस्तिमा डुबि नै रहे । एकाएक ढोकामा अनौठो देखियो । भर्खरै उभिनै नसक्ने भएर त्यानझयान गर्दै लगिएको दीपेन्द्र एउटा हेभी मेसिनगन हातमा लिएर फुर्ति भित्र आइरहेथ्यो । उसको दशबाह्र पेग रक्सी कहाँ गयो - त्यो लखतरान शरीरमा यो के स्फर्ूर्ति - भेस्टसम्म खोल्न नसक्ने मान्छेले कसरी कम्ब्याट र बुट कसेर १६ केजीको बन्दुक बोकेर यत्ति छिट्टै आउन सके -
सबै अन्यमनस्क भए । आमालाई एउटा डर भयो कि ऊ तिनकै हत्या गर्न अघाडि आउँदैछ । तिनले बारम्बार विरासतमा आएको उनको हक र अधिकार उबाट खोसेर उसकै भाइलाई दिलाउँछु भनेर धमास दिने गरेकी थिइन् । तिनलाई अव किलकिलो लाग्न लाग्यो आफ्ना ती धमास । कान्छोलाई पनि मार्ला भन्ने शंका तिनलाई भयो । तिनी तुरुन्तै कान्छो छोरोलाई तान्दै नजीकैको ढोकाबाट बाहिर भागिन् । अंगरक्षकहरूको आशा राखिन् । तर कहीँ कतै कोही पनि देखिएनन् । बाहिर कतै केही चहलपहल पनि थिएन । कता गए वा के भए ती अंगरक्षकहरू, पत्तो थिएन । स्थिति अनौठो थियो । एउटा नियोजित षडयन्त्र भइरहेको गन्ध तिन्ले पाइन् । एकपल्ट नराम्ररी थरर काँपिन् अनि स्थितिको अवलोकन गर्दै एउटा कुनामा कान्छो छोरोलाई च्यापेर लुकिन् ।
भीत्र भोजको थलोमा अनौठै भयो । त्यहाँ एउटा मात्र होइन, दुइटा मात्र होइन, तीन चार पाँच गर्दै नौजना दीपेन्द्रहरू भित्रिए । सबैका अनुहार उही, दाह्री उही, उचाई उही, मोटाइ उही, लुगा उही, बुट उही र बन्दुक समेत उही । कसैले आँखैै चिम्लन पनि पाएका थिएनन् सबै दीपेन्द्रहरूका मेशिनगनले आगो ओकल्न लागे । एक दुई तीन- कोठा भित्रका एकएक गर्दै ढले । बुबा ढले । काका ढले । ढले फुपा फूपुहरू । बाहिर लुकिरहेकी आमा र कान्छोलाई पनि नक्कली दीपेन्द्रहरूले ढाले । कतै एउटा कोठामा अंगरक्षकहरू कोचारिएका रहेछन् त्यहाँ त बम नै पड्किए । बम र मेशिनगनका आवाज अनि आतंकितहरूका कोलाहल र आर्तनादले त्यो दरवार पुरै थर्कियो । पाले बाँकी रहेनन,् सुसारे बाँकी रहेनन्, भान्छे अनि चाकरहरू कोही बाँकी रहेनन् । अनि अचम्मैसँग बाँकिरहे अपुताली खाने एउटै परिवारका सम्पुर्ण सदस्यहरू ।
रक्सीले लट्ठ दीपेन्द्रको कानमा बम बन्दुक र आतंकितहरूका कोलाहलले एउटा झस्का दियो । जातैले बन्दुकप्रति सचेत हुन पर्ने, शंकैले पनि यसप्रति चनाखो रहनु पर्ने, गन्ध मात्रैले पनि जाग्न पर्ने, यहाँ त आवाजहरू आइरहेछन् । एक होइन, दुइ होइन हज्जारौँका संख्यासाथ एकनाशले । उसको रक्सी हावा भयो । उठ्यो ऊ र झयालका सानो प्वालबाट बारिहका दृश्यहरू हेर्यो । अति अस्वाभाविक- दोहोरो भिडन्त थिएन यो । एक नाश एकथरि आततायीहरूले बाहिर बगैँचा र चौरमा निहत्था चाकरहरूलाई निर्मम सोत्तर पार्दै थिए । उसले बुझिहाल्यो- उसको सम्पर्ण परिवार सोत्तर भइसकेको स्थिति छ । सम्पुर्ण खान्दानलाई नामेट गरी सत्ता हत्याउने षडयन्त्र भइनै सकेकोछ । यसको नेतृत्व गर्ने को होला उसलाई मतलव भएन । सबैलाई खाने बागले उसलाई मात्र छाड्ने छैन । ऊ तुरुन्तै गयो साश्त्रागांरमा ।
उसले राइफल झिक्यो । पेस्तोल झिक्यो । मेशिनगन झिक्यो । गोली गट्ठाका मालाहरू झिक्यो । तर ऊ त नाङ्गै थियो । अण्डरवेरमा मात्र ऊ भिड्न सक्दैनथ्यो । फेरि ऊ कोठामै हतारहतार आयो लुगा लगाउन । सामान्य ड्रेस उसलाई जँचेन । रात्रीको दोछायामा हराउन सकिने कम्ब्याट ड्र्रेस उसले लगायो । कम्ब्याटका हरेक गोजीमा पेस्तौलहरू राख्यो अनि मालाका माला मेशिनगनका गोलीहरू दुवै काँधबाट छड्के भिरे ।
तल आततायीहरूले पत्ता पाए- दीपेन्द्र त्यस भिडमा मारिएन । उनीहरूलाई थाहा भयो- उसलाई कोठामा सुताउन ल्याइएको थियो । उनीहरू दीपेन्द्रलाई सुतेको सुत्यै सिध्याउन खोपीतिर आए । दीपेन्द्रलाई यसको भनक भइहाल्यो । उसले पहिले त आफ्नो ओछ्यानमा सिरानीहरू लडायो र सिरकले छोपेर यस्तो पार्यो कि ऊ नशाको सुरमा सुतिरहेछ । उसले गह्रौँ मेशिनगन हातमा लियो अनि बत्ति निक्कै मधुरो पारेर कुनाको आडबाट प्रतिकार गर्न ढुकेर रह्यो ।
दीपेन्द्र केही मोटै मान्छे हो । तर उमेरले उसलाई चितुवाको फुर्ति र्दिएको थियो । गोली हान्न ऊ यति सिपालु कि मै हुँ भन्ने निशानेवाजलाई ऊ कता हो कता पछाडि पार्दथ्यो । उफ, लडेर, पसारिएर, घोप्टो परेर, उत्तानो परेर, टाँग मुनिबाट, काखी मुनिबाट, दाहिनेतिर, देब्रेतिर, तलमाथि सबैतिर ऊ बन्दुकहरू नचाउँदै द्रत गतिमा निशाना लगाउन सक्थ्यो । उसलाई त्यसैपनि र्सार्पसुटरका राजानै भनिन्थ्यो ।
यो के - जसले उसलाई पहिले खोपीसम्म सुताउन ल्याएथ्यो त्यहीमध्ये केहीले ती हतियारधारीहरूलाई त्यहाँसम्म ल्याएको रहेछ । त्यस फटाहाले ओछ्यानको त्यस थुप्रोतिर इसारा गर्यो । इशारा पाउनु के थियो एकसाथ सबैले मेशिनगनका गोली वषर्ाए । तर उनीहरूलाई गोली कुनै मानवशरीरमा लागेको अनुभुति भएन । सबैमा एकसाथ शंकाको आँखा नाच्न लाग्यो । यता दीपेन्द्रले परिस्थितिलाई बुझिहाल्यो । ऊसलाई कदाचित पछाडि पर्नु थिएन । चिच्यायो- वाष्र्टड । अनि दाब्यो मेशिनगन भटटटट । सबै निमेषमै धाराशायी भए । कोहीकोही मरिसकेका थिएनन्- चल्दै थिए । दीपेन्द्र ढुकेको ठाउँबाट बाहिर आयो र उनीहरूका टाउकैै टाउकोमा गोली दागेर सवैलाई निश्चल बनायो ।
दीपेन्द्र तत्काल चाल मार्दै चोरढोकाबाट अर्को कोठातिर निस्के । त्यता कोही थिएनन् । बन्दुकहरूको आवाज बन्द भइसकेका थिए । उसले बाहिर चिहाएर हेर्यो । त्यहाँ केही हेलिकोप्टरहरू मडारिरहेका थिए । एउटा भने आकाशमा स्थीर रहेर रस्सीको भरेंगबाट छ सातजना दीपेन्द्रहरूलाई उँभो चढाउँदै थियो । उनी दङ्ग परे । के हुँदैछ यहाँ भन्ने कुरो उसले बुझीहाल्यो । उसलाई थाहा भो- अब उसको परिवारमा कोही जीवित छैनन् र उसलाई पनि छाडिने छैन । उसले सोच्यो- यी नक्कली दीपेन्द्रहरूमध्ये कुनै एकलाई मार्न सकियो भने उनीहरूलाई नै सक्कली दीपेन्द्रको लाश भन्ने धोकामा राखेर आफू बच्न सकिनेे थियो । तर बन्दुक पडकाइ हाल्ने स्थिति भने थिएन । यसो गर्दा उसको स्थितिको ज्ञात शत्रुहरुलाई हुन जान्थ्यो र उनको बच्ने आशा निमेषभित्रै खतम हुन जान्थ्यो । उ द्वीविधामा पर्यो ।
पछाडिको झयालतिर प्रकाश मधुरो पर्दथ्यो । त्यताबाट भाग्न मद्दत पुग्न सक्थ्यो । अझ कम्ब्याट ड्रेसले गर्दा निश्चय नै उसलाई टाढाबाट कसैले ठम्याइहाल्न सक्दैनथ्यो । उसले झयाल खोलेर हेर्यो । पर आततायीहरू भुइँमा लडेका लाशहरू ओसार्ने र मरेनमरेका जाँच्ने काममा जुटेका थिए । नजीकै पाँचसातवटा ठूला ठूला सैनिक ट्रकहरू आए । यीनमा नोकर चाकर र अंगरक्षकका लाशहरू हतारहतार हाल्न लागे । हतारमा भएका उनीहरूको यता कसैको ध्यान थिएन । बगौँचाका रुखहरूले छेकेको एउटा पाइपको सहाराबाट र्सर्केर ऊ तल झर्यो । तल निर्जन थियो । तर दईवटा लाशहरू लडिरहेथे । आततायीहरूले यी लाशलाई किन छोएनन् - उसले भाग्दाभाग्दै त्यता एक दृष्टि दियो । उसको मुखबाट अनायास निस्क्यो- ओह माइ गड ।
यो उसकै आमाको लाश थियो । कसरी निर्मम मारेका- अनुहारको एकपाटा नै क्षतविक्षत । कनपटीमै टाँसेर गोली हानेको स्पष्ट थियो । आमालाई ऊ वेहद घृणा गर्दथ्यो । उसको प्रेमको बाटोमा तिनी तगारो भएर उभिएकी थिइन् । सत्ताको उत्तराधिकारी भएको यो जेठा छोरोका लागि आफ्नै माइति खानदानकी बुहारी भित्र्याउन तिनी चाहन्थिन् । अन्यथा उसले अरू केटी बिहे गरेमा सत्ताको उत्तराधिकार नै वञ्चित गर्नेसम्म धम्की दिएकी थिइन् । आमाप्रतिको उसको सद्भाव पुरै मेटिइसकेको थियो । ऊ वेहद घृणा गर्दथ्यो आमालाई । तर..तर.. आमाको यो अवस्थामा उसको रगत आततायीहरूप्रति त्यसै उम्मिलयो । एउटा रोसको चित्कार गलाबाट त्यसै फुत्कियो । छाँयामा अडिएर एकछिन आमाको लासलाई उसले हेर्यो । त्यो निर्जीव लाशमा अब त्यो ढीड थिएन । त्यो असन्तुष्टी, त्यो घमण्ड- केही थिएन । दीपेन्द्रलाई पनि अब ती सोचमा परेर आमालाई घृणा गरिरहनु थिएन । दश महिना पेटमा राखेर जीवन दिने आमा हुन् यिनी । दशधारा दुधको अमृत सीञ्चन गर्ने आमा हुन् यिनीे । उसलाई भक्कानो फुटेर आयो । क्वाँक्वाँ डाको छोडेर रुन मनलाग्यो ।
त्यसैवेलामा केही आततायीहरू त्यतै आउँदै गरेका आहट भयो । माथिबाट हेलिकोप्टरले पनि र्सचलाइट दियो । उसले कतै छल्लिनै पर्यो । सिपाही हो ऊ- भावावेशमा कमजोर हुनु थिएन । उसले मुटु दह्रो पार्यो । आमालाई एउटा भावपुर्ण सलामी दिएर ऊ त्यहाँबाट हिँड्यो । जाँदाजाँदै उसले नजीकको लाशमा आँखा लायो । फेरि उसको मुखबाट सहसा निशब्द उच्चारण भयो- ओ माइ गड ।
यो उसकै भाइ थियो । मार्नेले उसलाई पनि आमासँगै त्यस्तै बेरहम पारामा मारेछ । उसले परपरसम्म हेर्यो र स्पष्ट भयो अब सम्पुर्ण खानदान मारिइसकेकै हो । ऊ छलिएर अर्कोतिर लाग्यो । तर अनायास ऊमाथि हेलिकोप्टरको प्रकाश पर्न गयो ।
उसले तत्काल जुक्ति सोच्यो- भाग्यो भने वा असामान्य हरकत गरेमा ऊ चिनिनेछ र ऊ माथि एकसाथ हज्जारौँ गोली वर्षेछ । ऊ सामन्य ढङ्गा अगाडि बढ्यो- मानौँ आततायीमध्येकै कुनै सैनिक हो ऊ । हेलिकोप्टरको र्सचलाइट एकछिनलाई अर्कोतिर लाग्यो । त्यही मौका पारेर ऊ ओझेलमा पर्न गयो ।
हेलिकोप्टरको र्सचलाइट फेरि त्यतै फिरेर आयो । अनि त त्यहाँ असामान्य कुरा भएको हेलिकोप्टरका अवलोकनकर्ताहरूलाई ज्ञात भइहाल्यो- एकैछिन पहिले देखिएको त्यो व्यक्ति कसरी एकै मिनेटमा गायब भयो -
आतायीहरूलाई छिट्टै थाहा भो- दीपेन्द्र अहिलेसम्म मारिएको छैन ।
वाकीटकीहरूमा सूचना आदान प्रदान हुन लाग्यो- एकै मिनेट अघिमात्र एकजना दीपेन्द्रकै आकारको मान्छे गायब भएको छ ।
अर्कोले भन्यो- उसको हातमा यस्तो हतियार छ जुन यस मिसनमा संलग्न कसैलाई दिइएको छैन ।
सबैले भने- ऊ दीपेन्द्र नै हुनर्ुपर्छ ।
अब फेरि हेलिकोप्टरबाट दीपेन्द्रका स्वरूपका कमाण्डोहरू तल झरे । दीपेन्द्र अब द्वन्द्वको अवस्थामा पुग्यो । दाहिनेतिर खाल्टो थियो । त्यतै दाहिने पाटा शरीर दबाएर ऊ बन्दुक ताक्न लाग्यो । र्सार्प सुटर दीपेन्द्र- उसले दर्जनौ आततायीहरू मारे । पाँचसातजना त आफ्नै शक्लकालाई मारे । फेरि उसले सोच्यो- केहीगरी ऊ लुक्न सक्थ्यो भने आततायीहरू उनै मृत नक्कली दीपेन्द्रमध्ये कसैलाई सक्कली दीपेन्द्र मानी केहीक्षणको लागि भए पनि भ्रमित हुने थिए जसको कारण उसलाई बची निस्कन सम्भावना बढ्ने थियो ।
नजिकै एउटा ढल थियो । त्यसभित्र पस्न पाइयो भने बच्ने ठूलै संभावना हुनेछ । ऊ दाहिने कुइनाले टेक्दै उतै घस्रन लाग्यो । तर सोचेजस्तो भएन । खाल्डो कम गहिराइको हुनु र उसको शरीर मोटो हुनुले धोका हुन गयो । खाल्डोमाथि देखिएको देब्रे कम्मरमा उसलाई गोली लाग्न गयो । अब त ऊ घस्रनै नसक्ने स्थितिमा पुग्यो । त्यहाँ नै रहेर बचाउ गर्नुपर्ने भयो । गोली चलाएमा ऊ काहाँ छ भन्ने कुरा शत्रुहरूले थाहा पाइहाल्थे । त्यसैले ऊ चुप रह्यो । शत्रुहरू अझै निश्चिन्त चाहिँ थिएनन् । र्सार्प सुटरको के भरोसा - एकसाथ दर्जनौ बन्दुकहरू पड्काउँदै शत्रुहरू दीपेन्द्रको खाल्डोतिर बढे । अब अर्को बाटो रहेन । दीपेन्द्रले पनि गोली दाग्न लाग्यो । दर्जनौँ फेरि ढाले । केही समयमै दीपेन्द्रकोतर्फाट गोली वषर्ा बन्द भयो । आततायीहरूले सोचे दीपेन्द्रको कामतमाम भइसकेको छ । उनीहरू लास उठाउन उतै गए । तर खाल्डोमा रगतपिच्छे दीपेन्द्र दाहिने कोल्टोसाथ अझै जीवित थिए । गोली सकिएकाले उसले प्रतिकार गर्न छाडेको रहेछ । एउटा नक्कली दीपेन्द्रले ऊसलाई अपमानजनक ढंगमा चिउँडोमा लात्तले हान्यो । दीपेन्द्र क्रोधित भएर चिच्यायो- बार्स्र्टड किल मी ।
आततायी नक्कली दीपेन्द्र पनि अंग्रेजी नै बोल्ने रहेछ । उसले पेस्तोल झिकेर भन्यो- अफकोर्स ।
अनि दीपेन्द्रको देब्रे कञ्चटमा पेस्तौल टाँसेरै उसले पड्कायो । दीपेन्द्र त्यहाँ नै निश्चल बन्यो । पर्खाल भीत्र के भयो बाहिर कसैलाई थाहा भएन । भोलीपल्ट खबर आयो- आफूले छानेकी स्वास्नी ल्याउन नपाएर दीपेन्द्रले पारिवारिक भोजमा भटटट गोली चलाएर आफ्ना वंशका सबैलाई मार्यो र आफू पनि आत्महत्या गरी मर्यो । उसको ढाड र देब्रे कञ्चटमा गोली लागेको पाइयो ।
भटट गोलीले सत्ताका सबै उत्तराधिकारीलाई छानीछानी नामेट पारे । छानीछानी अपुताली खान पाउनेको रौँसम्म हल्लाएन । पर्खाल बाहिर जनता स्तव्ध थिए । एउटा नवयुवा बोल्यो- वाह दीपेन्द्र पहिले त ढाडमा गोली हानेर मर्न सकिन्छ कि सकिन्न भनी जान्न चाहेछौ । पछि दाहिने हात चल्ने तिमीले हात बटार्दै कञ्चटमा पुर्याएर पनि गोली हान्न सकिन्छ भनेर पुष्टी गरेरै देखायौ । आफ्ना वंशका सबैलाई भटट मारेर अरुलाई अपुताली दिलाउन सक्ने आँखा भएको गोली तिमीले चलायौ । तिमी धन्य रहेछौ । त्रि्रो यो करतुतलाई इतिहासले युगयुगसम्म स्वर्णअक्षर देखाउने छ ।
पर्खाल बाहिर आँखाआँखामा अपचको रंग व्याप्त थियो । ढुंगा, माटो, हावा, पानी, घाम, बादल, समय, सबैसबै लज्जित लज्जित स्तम्भित थिए । यो कलम पनि लज्जित छ । यो कलम पनि अपचको रंगसँगै स्तम्भित छ ।
अस्तु । यस साईटमा यो रचना प्रविष्ट गरिएको मिति : Monday, July 21, 2008, 5:37 am यस्तै प्रकारका अन्य रचनाहरु - जनवादी साहित्य र उत्तरआधुनिकताको शहरतिर एक दृष्टि
- प्रेम, माटो र जनताका शब्दशिल्पी
- शब्दहरू
- संझनाभित्र रहेको सिडनी
- जिन्दगी ... ?
|