>

 Subscribe in a reader

नयाँ रचनाहरु तपाईको ईमेल ईनबक्समै प्राप्त गर्नुहोस ।

Follow us on twitter

सधैंका र सबैका सत्यमोहन

- श्रीओम श्रेष्ठ 'रोदन'

 वास्तविक महापुरुषको पहिलो चिनारी उसको नम्रता हो भन्ने रस्किनको भनाइ ठ्याक्कै लागू हुन्छ सत्यमोहन जोशी माथि । उहाँको बिनम्रता र सरलताबाट नै उहाँ भेट हुनासाथ चिनिनु हुन्छ ।

उहाँजति सरल देखिनु हुन्छ त्यति नै सरल हुनुहुन्छ ज्ञान र अनुभवको दृष्टिले । अलिकति पनि कन्जुस्याई नगरी उहाँलाई समुन्द्रसंग तुलना गर्न सकिन्छ । गहिरो न गहिरो जति खोजे पनि भेट्न नसकिने र पढेर नसकिने । उहाँभित्र देखिनेभन्दा नदेखिने र बहुमूल्य सामग्रीको खानी छ । जसले जत्रो भाँडो लिएर गर्यो त्यति नै भर्न सकेजस्तै हुनुहुन्छ उहाँ ।

सत्यमोहन जोशी आफूप्रति इमान्दार हुनुहुन्छ त्यसैले अरुप्रति बेइमान बन्न सक्नु हुन्न । आजको सबैभन्दा ठूलो समस्या नै यही हो । ठूलाठूला आदर्श फलाक्नेहरु, बोलेजस्ता देखिंदैनन्, देखेजस्ता बन्दैनन् । भ्रममा बाँचेर भ्रममा नै मर्छन् समाजमा । आफूभित्रको सत्यलाई राम्रो पहिरन, राम्रो श्रृङ्गार र राम्रो बोलीले ढाक्छन् । यस्ता आवरणले अरुलाई त झुक्याउँछन्, झुक्याउँछन् ।  त्यही झुक्याउने बानीले आफै पनि झुक्किन् ।  पनि झसमस्या नै यही हो आजको समाजको । सत्यलाई लुकाएर असत्यको पर्दामा उत्रिरहने । मान्छे मान्छे बीचको अविश्वास र कलह बढिरहेको भीडमा सत्यमोहन झण्डै एक्लो जस्तो, झण्डै अपवाद जस्तो हुनुहुन्छ । भित्र जे छ त्यही रुपमा हाँसिरहनु भएको छ र हँसाइ रहनु भएको छ । नामजस्तै सत्य र कामजस्तै मोहन ।

न कहिले स्यालुट खाएर सिहंदरवारजस्तो गर्वले तन्किनु हुन्छ न कहिले हथकडी लगाएर खुम्चिनु हुन्छ । झण्डामा आकाशिनु खोज्नुको सट्टा बरु आफै आफ्नो बन्दी बन्नुभो । त्यसैले त हो उहाँ अरु जस्तो नभएर सधैं आफै जस्तो बनिरहन सक्नु भएको ।

व्यवहार मात्र होइन उहाँको लवाइ पनि त्यत्तिकै आदर्श छ । नेपाली दौरासुरुवाल, कोट र टोपी उहाँलाई जहिले पनि देखिने स्वरुप अर्थात् अर्को परिचय हो उहाँको । बस्ने घर पनि त्यस्तै छ । प्राचीन क्रृषि मुनिहरुले तपस्या गर्ने जस्तो आंगन छ, आँगनमा तुलसीको मठ छ । आँगनमा रुख र फूलका लहराले छपक्कै छाना छाइदिएको छ, बिहान र साँझ एकनासले बथान चराहरु गाइरहन्छन् । नजिकै माता र पिताको अर्धकदको शालिक श्रद्धापुर्वक राखिएको छ । संगैको ठूलो घरमा नवसेर क्रृषिहरुकै कुटीजस्तो बासस्थान छ । कुटीकै बाहिरपट्ट उहाकी अर्धाङ्नी बसिरहनु भएको प्रायः भेटिनुहुन्छ । उहाँचाहिं कोही आउनासाथ कुटीबाट निस्कने गरेको भेटेका छु मैले धेरै पटक ।

ठूलो र आकर्ष घर बनाएर अरुको आँखा लगाउने घर बनाएर बस्ने होडमा उहाँ पाटन सहरको बीचमा सामान्य कुटीमा बस्नु अर्को आदर्श हो । अझ भनौं उदाहरण हो । त्याग गर्नु हो । सत्यमोहन हुनुको आदर्श । यो सामान्य कुरा होइन । अहिले विहान उठेदेखि बेलुकी ननिदाउन्जेलसम्म राष्ट्रिय प्रवचन  छाँट्नेहरुको कुनै पनि व्यवहार उदाहरणीय पाइँदैन । प्रष्ट छ, बिहान उठ्नासाथ विदेशी व्रस, टुथपेष्ट, साबुनबाट सुरु भएर, खानपानदेखि लगाउने पोशाकमा एक त्यान्द्रो पनि नेपालीत्व पाइँदैन । लेख्ने कलम, बोल्ने बानी, गर्ने शैली केहीमा पनि आफ्नोपन भेट्न गाहो हुन्छ । घरको आंगनमा देशको फरफराइरहने र सवारीसाधनमा समेत राष्ट्रिय झण्डा फरफराएकर हिंड्ने कतिजनाले आफ्नो शरीरमा प्रयोग भएका सामानहरु मध्ये कतिवटा नेपाली छ भनेर कहिले सोचेका छन् होला र ? दैनिकि प्रयोगमा कति प्रतिशत सामान नेपाली होला भनेर कल्पना गरेका पनि छैनन् होला । पुरैपुर विदेशी रङमा चुर्लुम्मै डुबेका राष्ट्रवादीहरुलाई कसरी आदर्श मान्ने ?

यस्ता प्रश्नहरु वर्षो वर्षेखि घट्न सकेको छैन, क्रमश बढ्दो छ । पञ्चायत भनेपनि, प्रजातन्त्र भने पनि लोकतन्त्रै भने पनि र यसको प्रतिशत घट्ला र ? यस्तो समयमा सत्यमोहनले आफ्नो आदर्श कतिदिन बाँडिरहने ? र कतिलाई आत्मसात् गर्न लगाइरहने ?

ठीकै छ, जतिले सक्छन् त्यतिले नै गर्छन् । राम्रो कामको लागि सडकै भर्नुपदैन । टायरै बाल्नु पर्दैन । टाउकै गन्नेको लागि जतिसुकै ठूलो जुलुस भए पनि के काम र - आफू भलो त जगतै भलो । मनभरि पापको अरिगांल पालेर कसैको हित चिताउन सकिंदैन । कसिङ्गरका भारीले थिचिएको मनले अर्को मनलाई कुन कुचोले बढारेर सिनित्त पार्न सक्छ ।

अर्काको तराजुमा कहिले जोखिन नपरेको शरीर, धरैटीमा हाँस्न नपरेको हाँसो र कसैको मानोपाथीमा भरिन परेको छैन । त्यसैले त अग्लो उचाइ, गर्विलो आवाज फुकाएको छातीमा जहाँ पनि जाने गर्नु भएको छ, उहाँलाई हरेका भाषा , संस्कृतितिरका ढोकाहरु खुल्ला छन् ।

अहिले सबैलाई विज्ञापनले मुखुण्डो लगाइदिएको छ, हरेक कुरामा बाइ वान गेट वान भने जस्तै लगभग जिन्दगी त्यतै आकषिर्त हुन थालेको समय छ । तारे होटलका सुकोमल डसनामा निदाउन नसक्नेहरुले निदाउने आँखाहरु उधारो ल्याए जस्तो, खोक्रो बाँस जस्तो बजिरहने जीवन अहिले बम्पर उपहार जस्तो बनेको छ । यस्तो समयमा धन्य सत्यमोहन आफै भएर आफ्नै भएर ठाडोसँग बाँचिरहनु कहाँ सानो कुरा हुन सक्छ ।

उहाँलाई कसैले लोकसाहित्यकार भने कसैले संस्कृतिविद । कसैले तीपटकक मदन पुरस्कार पाएर ह्यटि्रक गर्ने भने । कसैले प्रज्ञाप्रतिष्ठानका सक्षम सदस्य सचिव भने । कसैले गाइजात्रामा हास्यव्यङग कार्यक्रम शुरु गराउने भनेर चिने । कसैले नयाँ वर्षा नाटक प्रतियोगिता गराउने भनेर चिने । कसैले संस्कृति तथा पुरातत्व विभागको पहिलो महानिर्देशक भनेर सम्झे, कसैले राष्ट्रि नाचहरु बनाउने भनेर चिने । चिन्नेहरुले इमान्दार भनेका छन्,  मेहेनती पनि भनेका छन् । कहिले नथाक्ने बूढा पनि भनेका छन् । भन्नेहरुले जे जे भने पनि सत्यमोहन सत्यमोहनै भएर बाचिरहेका छन् । भन्नेहरुले जे जे भने पनि सत्यमोहन सत्यमोहनै भएर बाँचिरहेका छन् । उहाँ कहिले खुशीले मात्तिनु भएको छैन न दुखले आत्तिनु भएको छ,  त्यसैले उहाँ जिउँदो सङग्रहालय नै ।

ललितपुरको बंखुब्वहालमा जन्मनुभयो वैशाख ३० गते १९७७ मा । वूढ्यौली पनि ८७ को, दुर्इ दुई पटक बूढोपास्नी सकिसकेको मान्छे । तर काम र जिम्मेवारीले अलिकति पनि बूढो हुनु भएको छैन । जति टाढाको कार्यक्रममा निम्ता गरेपनि टुप्लुक्क पुग्नुहुन्छ ।  उहाँलाई आयोजनकले लिन र पुर्याउन जानु पर्दैन । भनैको समय र त्यो भन्दा अगाडि पुग्ने उहाको अर्को उदाहणीय व्यक्तित्व हो  । त्यस्ौ पनि प्रमुख अतिथि,  विशिष्ट अतिथि भएपछि अन्य आमन्त्रितहरु भन्दा ढिलो पुग्नुपर्छ भन्ने ढोगं कहिले दखाउनु भएको छैन । आफ्नो कर्तव्यप्रति सदा सचेत हुनुहुन्छ । कार्यक्रममा पुग्दा आफ्नो बुढ्यौली बिर्सनु हुन्छ । कात्तिकको जाडोमा आधारातमा डबलीमा देखाइने कात्तिक नाच हेर्न पनि कहिले बिर्सनु हुन्न । आढ्ने ओढेपछि कात्तिकको जाडोसंगै उमे।रलाई पनि विर्सनु हुन्छ ।

उहाँ नेपाली भाषा सिकाउन चीन जानु भो । चार वर्षा पेकिङ रेडियोमा नेपाली सेवा सुरु गर्नुभो । कलाकार अरनिको बारेमा लेख्नुभो, धेरै जान्नु भो । राष्ट्रसंधीय कार्यक्रमअर्न्तगत १९५३ मे ३० मा न्युजिल्याण्डा पुग्नुभो र पहिलो नेपाली बन्नुभो । अर्को संयोग, तेन्जिङ शेर्पा र हिलारीले पहिलो पटक सगरमाथाको शिर टेकेको भोलिपल्ट नै ।

'फर्केर हेर्दा' नाटक लेखेर राजधानी बाहिर जुम्लासम्म लगेर पहिलोपटक देखाउनुभयो । त्यतिमात्र कहाँ हो र ? थुप्रै प्रसिद्धि र पैसा कमाएर प्रज्ञाप्रतिष्ठानको कुलपति सूर्यविक्रम ज्ञवालीले पढ्ने गरेका थोत्रो गाडीको सट्टामा सानदार कोरियन गाडी पनि त्यही नाटकको आम्दानीले किनाउनुभो । यो ०३३ सालको कुरो हो । तर पोहरसम्म पनि 'वाध भैरव' नाटक लेखिरहनु भएको छ, देखाइरहनुभएको छ । सत्यमोहन किर्तिमानै किर्तिमानले भरिपुर्ण हुनुहुन्छ । उहाँको विगत जति ओजिलो छ त्यति नै र्सार्थक र उर्जाशील वर्तमान छ उहाँको ।

थाक्नै नपर्नेहरु उमेरभन्दा बढीको बोझले थिचिएका छन् । हातलाई भाग्य मानेर सुन्दर सम्भावना कुरिरहेका छन् । अलिकति घामले छुनासाथ उन्मादले मात्तिउर हुनुपर्ने भन्दा ठूलो बन्न खोजिरहेका छन् । तर सत्यमोहन भने टुडिखेलको घोडेजात्रामा दौडिएका घोडा जस्तै वेगमा छन्, जीवनको का..... थकाइ मार्न विर्सिएका छन् ।

वि.सं. १९८८ पहिलोपटक गोरखापत्रमा कविता छापियो उहाँको । त्यसपछि झण्डै पाँच दर्जन निबन्ध, भाषा, नाटक, संस्कृति, लोकगीत पुरातत्व, महाकाव्य, मुर्तिका कुरा, मुद्राका कुरा लेख्नुभयो । हात नहालेको कुनै विधा छैन तर पनि सबैमा सफल । मान्छे जति देह हुनुहुन्छ त्यति नै देह् छ उहाँको कलम, नेपाल भाषा र नेपाली भाषा दुवैमा ।

पाटनमा जन्मेर देशकै गौरव बन्नुभएको छ उहाँ । उहाँ कलाकार पनि हुनुहुन्थ्यो । वि.सं. २००९ मा हनुमान ढाकाको डबलीमा प्रदर्शित नेपाल भाषको नाटक 'खड्गसिद्धि' मा उहाँले जयप्रकाश मल्लको भूमिकामा अभिनय गर्नुभएको थियो ।

साँच्चैको अभिनय गर्नेहरु मञ्चको पर्खाल नाध्न सकेका छैनन् । जति ताली बजे पनि प्रेक्षलयका भित्ताहरुले बाहिर जान दिंदैनन् तर जीवनलाई नै अभिनय गर्नेहरु र्सवत्र सफलको शिखर चुमिरहेका छन् । यो पनि एउटा कला बनेको छ, जहाँ जस्तो पर्छ त्यस्तो अभिनय गरेर देख्ने जतिलार्य दर्शक बनाइदिने । कुन साँचो कुन अभिनय छुट्याउन नसक्नेहरुको हूलमा सत्यमोहन जीवनको सत्य अभिनय गरिरहेका छन् । अर्थात् न उहाँले कुनै क्षेत्र छोड्नुभएको छ, न कुनै क्षेत्रले नै उहाँलाई छोड्न  सकेको छ ।

सादा जीवन, सक्रिय जीवनले अझै बूढा बनेका छैनन् । लगनशीलता र इमान्दारिताले जसरी हिजो सम्मान गरेको थियो, आज झन् उहाँको आवश्यकता बढेका  छ, दिनका दिन सम्मानित हुनुभएको छ त्यसरी नै भोलि झन् बढी महसुस गराउनु हुनेछ । उहाँको अध्ययन र अनुसन्धानले जति खाँदिनु भएको छ त्यो बच्चा देखि बूढासम्मको लागि उहाँबाट सिक्ने आदर्श बनेको छ ।

हो पनि सत्यमोहन जोशीलेको बोलाइ र लेखाइमा संयमता छ । सोचाइमा दूरदर्शिता छ । गराइमा सदाचार छ । यी सबै कारणले गर्दा उहाँ दसकौंदेखि सबैका प्रिय हुनुहुन्छ ।

प्रकृतिजस्तो नियमितता । कसैले नविथोल्न खोज्ने न सक्ने नै । झुकाउन खोजे कसैले नसक्ने आफै भने लटरम्म भएर झुकिरहने ।

सत्यमोहन दाइसंग जतिपटक भेटको छु त्यति नै पटक म उहाँको शालिनताबाट भुतुक्कै भएको छु । यत्रो ठूलो व्यत्तित्व भएर पनि कसैसंग घमण्ड गर्नु हुन्न । सबैसंग मिल्न सक्ने पानी जस्तो । घेरैपटक कार्यक्रमहरुमा भेट भएका छन्, धेरै नै पटक कार्यक्रमहरुमा जिम्मेवारीसहित  निम्ता गरका छु । पत्रिकाको लागि केही पटक र एफ एम रेडियोको लागि धेरैपटक अर्न्तवार्ता लिएको छु । सांस्कृतिक विषयका वृत्तचित्र निर्माणमा पनि सोधी खोजी गरेर दुःख दिएका छु । कहिले अप्ठेरो मान्नु भएको अनुभव गर्नु परेका छैन ।

जहिले जहिले उहाँसंग भेट्छु ममा एक प्रकारको उर्जा पैदा हुन्छ । उहाँको उमेर र उहाँको सक्रियता, उहाँको ज्ञान र उहाँको प्रयोग, उहाँको शालिनता र उहाँको बिनम्रता सबै सबैबाट झङ्कृत हुन्छु । कुनै कुनै कुराले निराश भएको छु भने उत्साहले चार्ज हुन्छु । उहाँसँग भेटभएपछि म हारेर पनि हार्दिन, थाकेर पनि थाक्दिन । वास्तवमा मान्छे भएर जिउनुको र्सार्थकता त यही नै हो नि । वाँच्नलाई कसले पो सक्दैनन् र ? मान्छे मात्रको के कुरा फटेङग्रादेखि सबै प्राणी बाँचिरहेकै छन् । यस्तो बचाईं के बचाईं -  बाँच्नुको लागि  मा बाँच्ने, आफ्नै लागि मात्र बाँच्ने , मरेपछि हराउने जीवनको अर्थ के छ र ? करोडौं जन्मिरहेका छन् र करोडौं नै मरिरहेका छन् , होलसेल मृत्यु । तर सत्यमोहन जोशी जस्तो बाँचेर धेरेलाई बचाउन सक्ने र मरेर पनि मर्न नपाउने व्यक्ति हुनुहुन्छ । उहाँ गन्तीमा पनि सम्मानित गन्तीमा पर्नु हुन्छ ।

सत्यमोहन जोशीको उचाइ, उमेर जस्तै बढेको बढ्यै छ । समयले सबैलाई परिवर्तन गरेका छन् । नेताहरुको त कुरै छोडों ।शीर्षस्त कलाकार र साहित्यकारहरु पनि समय अनुरुपको ट्युनिङमा बज्ने  र समय गएपछि हराउने क्रम चलिरहेको छ । तर सत्यमोहन त्यस्तो व्यत्तित्व हो , उहाँलाई कुनै पनि समयले ट्यनिङमा बजिरहनु भयो । यही सदाबारले नै उहाँलाई काल...  बनाएको छ, सधैंका लागि र सबैका लागि बन्नुभएको छ । भनौ भाषा, साहित्य, कता र संस्कृतिका एक अनवरत साधक र अथक यात्री हुनुहुन्छ ।

यही साधना र निरन्तरताले गर्दा कहिले बूढो नहुने सुपर स्टार बन्नु भएको छ, शताब्दी पुरुष बन्नु भएको छ ।

.... भएर राज्यको सम्पत्ति उहाँ, बूढी भएर बूढो नबन्ने सिनेमाको भाषमा सुपरस्टार । राज्यको भाषामा शताब्दी पुरुष । मतदान गर्नुपर्ने आशंका छैन भन्ठान्छु म । हुन त सबैका कुरा म किन गरिरहुँ ? कुरो आफ्नो भएपछि जताबाट पनि भन्न पाउने अधिकार हो मेरो । एकै शब्दमा सत्यमोहनको अलिकति सामिप्यता पाउन सकेकोमा म गौरवान्वित छु ।

 

समाप्त

यस साईटमा यो रचना प्रविष्ट गरिएको मिति : Monday, July 28, 2008, 2:47 am

यस्तै प्रकारका अन्य रचनाहरु

  1. जनवादी साहित्य र उत्तरआधुनिकताको शहरतिर एक दृष्टि
  2. प्रेम, माटो र जनताका शब्दशिल्पी
  3. शब्दहरू
  4. संझनाभित्र रहेको सिडनी
  5. जिन्दगी ... ?