कथासंग्रह अनावरणको समाजशास्त्र

- महेश क्षितिज

साहित्य व्यक्तिगत कल्पनाको उपज मात्रै नभई समाजको अभिव्यक्ति पनि हो । समाजबाटै लेखकले कच्चा सामग्री लिएर साहित्य सिर्जना गर्छ । ती कच्चा सामग्रीको यथोचित प्रशोधन गरी साहित्यकारले समाजलाई नै साहित्यिक कृति प्रदान गर्ने गर्छ । त्यसैले साहित्य कुनै पनि समाजको आवरण हो भन्दा अतिशयोक्ति नहोला । जीवन व्यक्तिगत भएर पनि सामाजिक भोगाइ हो । सामाजिक भोगाइका विविध पक्षलाई नै लेखकले आफ्ना रचनामा पेस गरेको हुन्छ । कुनै पनि कृति जब प्रकाशित वा प्रचारित हुन्छ, तब मात्र त्यस कृतिले सामाजिक मूल्य प्राप्त गर्छ ।

दशवटा कथाहरू संगृहीत अनावरण कथाकार विजय सापकोटाको पहिलो कथासंग्रह हो । गाउँ खोज्दै जाँदा कवितासंग्रह, आमाको माया बाल उपन्यास र काभ्रेली नेपाली साहित्यको रूपरेखाजस्ता पुस्तक लेखिसकेका सापकोटाका साहित्यिक कृतिहरू समाज बुझ्ने आधार हुन् । आधुनिक नेपाली कथा साहित्यमा गुरुप्रसाद मैनाली, विश्वेश्वरप्रसाद कोइराला र इन्द्रबहादुर राईले कोरेको जुन गोरेटो छ, विजयका कथाहरूले पनि त्यतैतिर यात्रा गरेको देखिन्छ । आदर्श केन्द्रमा राखेर लेखिएका ६ वटा कथाहरूले फरक–फरक संस्कृतिलाई बोकेका छन् । प्लेटोकै विचारलाई सापटी लिई भन्ने हो भने विजयद्वारा लिखित कथाहरू प्रकृतिकै अनुकरण विषयक अवधारणामा उम्रिएका समाजका बिम्ब हुन् ।

साहित्यले समाजलाई दिशानिर्देश गर्ने काम गर्छ । साहित्यविनाको समाज हुन सक्ला, तर समाजविनाको साहित्य हुन सक्दैन । कुनै पनि कृति शून्यमा रचना हुन सक्दैन । संग्रहमा संगृहीत अन्तरण मनोवैज्ञानिक कथा हो, जसले हरेक पात्रको मनोविज्ञानलाई राम्ररी चिर्ने काम गरेको छ । मानवेत्तर पात्र खसी र खसीका धनी लोग्ने र स्वास्नीको मनस्थितिअनुरूप नै नेपाली सामाजिक संस्कृति अगाडि बढेको कुरालाई कथाकारले देखाउन खोजेका छन् ।



विसंगत राजनीति र विसंगत सामाजिक संरचनालाई संगतिको घेरामा ल्याउन चाहने कथाकारले यौन आवेगलाई नियन्त्रण गर्न नसक्दा मानवले भोग्नुपरेको पीडाको कटु यथार्थलाई अन्तिम वाक्य शीर्षकको कथामार्फत प्रस्तुत गरेका छन् । आफ्नी बुहारीलाई घरभित्रै बलात्कार गर्ने ससुराहरूको समूह हाम्रो समाजमा प्रशस्त छ । र, ससुराहरूबाट लुटिने तर आफ्नो समस्यालाई बाहिर ल्याउन नसक्ने बुहारीहरू पनि यो समाजमा छन् । हजुरबाले आफ्नी आमालाई बलात्कार गरेको दृश्य देखेपछि आत्महत्या गर्ने छोराछोरी पनि यही समाजमा छन् । घरभित्र हुने यौन शोषणको अन्त्य हुनुपर्छ भन्ने आवाज कथाकारले अन्तिम वाक्य कथामा उठाएका छन् ।

सामाजिक असमानता, विकृति र विसंगतिलाई साहित्यका माध्यमबाट अन्त्य चाहनु कथाकारको कथागत विशेषता हो । बाहिर अन्धकार थियो शीर्षकको कथामा जातीय छुवाछूत र सबाल्टर्न वर्गमाथि प्रभुत्वशाली वर्गले गर्ने हेलाको होचो व्यवहारलाई प्रस्तुत छ ।

गिर्खो, निमित्त, पटाक्षेप, विजेताजस्ता कथामा विषयवस्तु झिनो भए पनि मर्म भने गम्भीर पाइन्छ । बेरोजगारी समस्या, युवा पिँढीको प्रेमजीवन, धोका र समर्पणलाई कथाकार विजयले देखाउन बाँकी राखेका छैनन् । नारीलाई अनेक लोभ देखाएर उनीहरूको शरीरको व्यापार गर्ने उपभोक्तातावादी सामाजिक प्रवृत्तिको विरोध गरेर जंगली फूल लेखिएको छ । पूर्वीय दर्शनलाई कथाभित्र अटाउने क्षमता भएका कथाकार बाबुआमाप्रति सन्तानको दायित्व यही नै हुनुपर्छ भन्ने भन्दा पनि अनुभवको कुरा गर्छन्, जसबाट बाबुआमा र सन्तानबीचको प्रेममा कुनै बाधा सिर्जना नहोस् भन्ने चाहना उनले सन्तान कथामार्फत देखाउन खोजेका छन् ।

विजयको अनावरण कथाभित्र समयको लय कतै–कतै हलचल भएको भने देखिन्छ । कथाहरू लामा भएको हुनाले चरित्रसँग घटना र परिवेशलाई लम्ब्याउँदाखेरि कार्यव्यापारभन्दा समाख्याताको उपस्थिति बढी भएको भान भने पर्छ ।

कथाकारले आफ्नो कथासंग्रहमा उठाएको विषयवस्तु भने गम्भीर नै देखिन्छ । समाजशास्त्र, मनोविज्ञान, संस्कृति, सबाल्टर्न आदि विषयवस्तुलाई बृहत् बनाउन सक्नु कथाकारको शिल्पकौशल हो । कथाहरूमा नेपाली सामाजिक यथार्थ, वस्तुपरक चित्रण, चरित्रको आन्तरिक चित्रण र पात्रमा मानवीय मूल्य स्थापित गर्न उनी सफल नै भएको देखिन्छ ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 30 बैशाख, 2074

लेखकका अन्य रचनाहरु