यात्रा अविरल: शिखर तर्फ अर्को फड्को

- विक्रम गौतम

विगत एक दशक भन्दा बढी समयदेखि अमेरिकाको नर्थ क्यारोलाइनामा बसोबास गर्दै आउनुभएका कवि शिखर दुलालको तेस्रो काव्यकृति ‘यात्रा अविरल’ भर्खरै प्रकाशित भएको छ। यस अघि उनका ‘बिरानो आकाशबाट’ (कविता संग्रह) र ‘पिताश्री परमेश्वर’ (भजन तथा गीत संग्रह) कृतिहरु एकल रुपमा तथा संयुक्त रुपमा एक कविता संग्रह र बालकथा संग्रह प्रकाशित भैसकेका छन्। विशेषत: समसामयिक घटना तथा दैनन्दिनी, राजनीतिक उतारचढाव, र भौगोलिक दुरीले उब्जाएको प्रवासी भावनालाई आफ्ना कवितामा समेट्ने दुलालको पछिल्लो कृतिमा पनि यस्तै भावनाहरु सङ्गालिएका १०१ वटा कविताहरु संग्रहित छन्। सामान्य पाठकले पनि बुझ्न सकिने गरि सरल भाषामा साहित्य सृजना गर्न रुचाउने दुलालका कवितामा गहिरा विम्बहरूको प्रयोग विरलै पाइन्छ। वास्तवमा उनी जस्तो कुराकानी गर्छन् त्यस्तै कविता लेख्छन्, उनका कविता पढ्दा सँगै बसेर बात मारिरहेको भान हुन्छ। सरल शब्दहरुको संयोजनद्वारा सामान्य घटनाक्रमलाई पनि कवितात्मक रुप दिनसक्नु दुलालको काव्यकारिताको मुख्य विशेषता हो।

प्रस्तुत संग्रहमा पनि कवि दुलालले आफ्ना मनोभावनालाई छताछुल्ल पोखेका छन्। अरुबाट प्रभावित भएर भन्दा पनि आफ्नो भावनालाई सरल एवं सरस रुपमा व्यक्त गर्न रुचाउने उनी संग्रहको पहिलो कविता पर्यायवाचीमा आफ्नो लेखनको ध्येय प्रष्ट पार्दै भन्छन्,

मलाई कुनै पुरस्कार जित्नु पनि त छैन
कसैको वाहवाही पनि कमाउनु छैन
स्याबासी पाएर नाक घोक्र्याउनु छैन
कसैको रवैया कवि पनि बन्नु छैन!
न त कुनै ठुलो लेखक बन्नु छ
केवल आफ्ना मनोभावना पोख्ने हो
कसैको कठपुतली बन्नु पनि छैन!

हुन पनि उनका अधिकांश कविताहरु यसरि नै स्वस्फूर्त रुपमा स्वचालित छन्। उनको भावनामा कुनै बन्देज छैन, लेखनमा कुनै लगाम छैन। भावनामा बग्ने क्रममा उनी कहिले तीन करोड नेपालीलाई अवसरवादी राजनीति विरुद्ध जुट्न आग्रह गर्छन् त कहिले श्रीमान-श्रीमती बीचको गुत्थी सुल्झाउन उद्दत हुन्छन्। त्यस्तै कहिले आमाको वेदनामा रोएका छन् त कहिले परदेशको दशैंमा रमाउन खोजेका छन्। घटना होस् कि दुर्घटना, समाचार होस् कि विचार, जन्म होस् कि मृत्यु, देश होस् कि विदेश, यात्रा होस् कि जात्रा, धनी होस् कि गरीब, मेलापात होस् कि भेटघाट, हरेक विषयहरु यात्रा अविरलमा कविताको रुपमा संग्रहित छन्। २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट भएको क्षतिलाई राहत पुर्याउन आफु विदेशमै भए पनि अहोरात्र खटेको प्रसंग जोड्दै 'आमा मलाई माफ गर' मार्फत भन्छन्,

विदेशिएका थुप्रै छोराहरु
तिम्रो स्वास्थ्यलाभको कामनामा
हरपल हर साँझदेखि वेलुकासम्म
तिम्रो सम्झनामा प्रभु पुकार्दैछन्
तिम्रा अपाङ्ग शरीरका लागि
मल्हम पट्टीहरु जोडदैछन
आफ्नो बुताले भ्याएसम्म
स्रोतहरु खोज्दैछन

परदेशमा तन भए पनि मन सँधै स्वदेश कै सम्झनामा डुबेको हुन्छ, स्वदेश कै घटना पछ्याई रहेको हुन्छ - कवि दुलाल पनि यसबाट अछुतो छैनन्। नेपाली चाडबाड सम्झेर लेखिएका मातातीर्थ, तीजको लहर, सोह्रश्राद्ध, आज दशैको टीका जस्ता कविताले चाडबाडका बेला परदेशी मनका भावना बोकेका छन् भने अलविदा सुशील दा, हिमपात र वारपाकको पीडा, विचित्र समाचार जस्ता कविताले घटनालाई समेटेका छन्। त्यसो त दुलालले परदेशको कुरा पनि कवितामा नकोरेका होइनन्, हेरौं 'दैनिकी विदेशको' कवितामा उनले विदेशको चित्रण कसरि गरेका छन्,

कामै काम, कामै काम भन्याछन्
न दिन भन्याछन्, न रात भन्याछन्
न छोराछोरी वशमा छन्
न त सम्पन्नताले जम्याछन्
न त मनग्गे डलर गन्याछन्
खै कसरि पो जीवन धान्याछन्
जे होस् इज्जत धान्याछन् !

व्यक्ति लेखनाथ दुलाल वा कवि शिखर दुलाललाई व्यक्तिगत रुपमा चिन्नेहरु जो कोहि पनि उनको ठट्यौलो स्वभाव र व्यंग्यात्मक हाउभाउसँग अपरिचित पक्कै छैनन्। उनको त्यो व्यक्तिगत स्वभाव कवितामा पनि यत्रतत्र छरिएको छ। शब्दका सहाराले कुत्कुती लगाउन र चस्स बिझ्ने गरि ब्यङ्ग गर्न पनि दुलाल खप्पिस देखिन्छन्। अर्को तर्फ गम्भीर भाव बोकेका र दार्शनिक विचारधारा सङ्गालिएका कविताहरु पनि यस संग्रहमा समाविष्ट छन्। संग्रहित १०१ कविताहरु मध्ये औंलामा गन्न सकिने केहि यस्ता कविताहरुले दुलाललाई ख्यालख्याले कवि भन्दा माथि उठाएर सही अर्थमा कविको दर्जा दिएको छ। संग्रहको नामाकरण गरिएको यात्रा अविरल, योद्धाको आव्हान, म हराएको सूचना, खबरदार, लसुनको टुसा जस्ता कविताहरु मार्फत् कवि दुलालले आफ्नो दार्शनिक पक्ष उजागर गरेका छन्। मान्छेले आफुलाई बिर्सेर भौतारिंदै हिंडेको पक्ष केलाउंदै 'म हराएको सूचना' जारी गर्दै उनी भन्छन्,

हरेक महरुसँग
उनीहरुको म होला त?
कसले पाएको छ आफ्नो प्यारो म?
कसले छामेको छ उसको मलाई?
गुमाएको पत्तै छैन!
तर पनि कति प्यारो छ सबलाई म
सबै त्यै ममा बाँचेका छन्
त्यसकै आडमा, त्यसकै सारमा
तर पनि म जस्तै
सबैले म हराएका छन्

कवि शिखर दुलालले भने जस्तै मानिसको जीवन यात्रा अविरल छ, निरन्तर चलिरहन्छ मृत्यु पर्यन्त पनि। यात्राका क्रममा कतै ठेस लाग्छ, कतै काँडा बिझ्छ, अनि कतै लडिन्छ पनि। आफ्नो साहित्यिक यात्राका क्रममा कवि दुलाल पनि चिप्लिएका छन्, कतिपय कविता पढ्दा उनी हतारिएको भान हुन्छ। सरल हुने चेष्टामा विम्बको उचित प्रयोग नगर्दा र शब्द संयोजनमा ध्यान नदिँदा केहि कविता भाव रहित र फितला प्रतीत हुन्छन्। त्यस्तै शुद्धाशुद्धि तर्फ ध्यान पुर्याउनु पनि उत्तिकै आवश्यक छ। यस्ता कमिकमजोरीका वावजुद कवि दुलालले 'यात्रा अविरल' मार्फत् साहित्यिक शिखर तर्फ ठुलो फड्को मारेका छन्। आगामी दिनहरुमा कमिकमजोरीलाई सच्याएर अगाडि बढेको खण्डमा कवि दुलाल साँच्चै नै शिखर चुम्न सफल हुनेछन्। अन्तमा हिँडिरहे मात्र गन्त्यव्यमा पुग्न सकिन्छ भन्ने शास्त्रीय कथनलाई उद्धृत गर्दै कवि शिखर दुलालको साहित्यिक यात्रा सफल होस् भन्ने कामना गर्दछु।

कलि: शयानो भवति संजिहानस्तु द्वापर:।
उत्तिष्ठम्स्त्रेता भवति कृतं संपद्यते चरन्।। चरैवेति चरैवेति।।

(अर्थात् सुतेको अवस्था कलि हो, ब्युझेको अवस्था द्वापर हो, उठेको अवस्था त्रेता हो र जो हिँडिरहन्छ उसले मात्र सत्य बोध गर्दछ। तसर्थ हिँडिरहु हिँडिरहु।)

मोरिस्भिल, नर्थ क्यारोलाइना

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 26 जेठ, 2074

लेखकका अन्य रचनाहरु