लेखकलाई पराजित गरेको काल्पनिक पात्र सर्लक होम्सको डेरामा एकछिन्

- कृष्ण बजगाईं

एउटा पात्र आफ्नो सृष्टिकर्ता अर्थात् लेखकलाई ओझेलमा पार्ने गरी पुस्तकबाट फुत्त निस्केर पाठकको मनमा बस्न पुग्छ । पाठकको मनबाट निस्केर देश-विदेशका सडकमा पूर्णकदको सालिक बनेर शानले उभिन्छ । ठाउँ-ठाउँमा आफ्नै नाममा बनेको म्युजियमभित्र बसेर लेखकलाई इख्याइरहेको हुन्छ । साहित्यको काल्पनिक पात्र कसरी यति शक्तिशाली बन्यो होला ? लेखक शक्तिशाली कि पात्र ? लेखक आर्थर कोनन डोयल बाँचेको भए यस्ता दृश्य देखेर के सोच्दा हुन् ? मथलिंग रिंगाउने यस्ता प्रश्नको जवाफ मसँग छैन ।
krishnaसाहित्यको काल्पनिक तर सबैभन्दा लोकप्रिय तथा शक्तिशाली पात्र सर्लक होम्सबाट निक्कै अघिदेखि प्रभावित थिएँ । उहिले लन्डनमा डेरा जमाएर बसेका होम्सको खोजीनीति गर्न धेरै अघि मन लागे पनि अनुकूल समय मिलिरहेको थिएन । हिउँदपछिको पारिलो घामले लन्डन सहरमा पाइला टेकेपछि मनमा जाँगर थपियो । वसन्तको आगमनसँगसँगै वनस्पतिले नयाँ पालुवा हाल्न थालेपछि लन्डनको मौसम रमाइलो भएको छ । लन्डन निवासी सर्लक होम्सको डेरा खोज्न मध्यदिउँसो अन्डरग्राउन्ड टे«नको यात्रामा निस्किएँ ।
'बेकर स्ट्रिट' अन्डरग्राउन्ड ट्रेन स्टेसनबाट मानिसको हुलसँगै बाहिर निस्कँदा पूर्णकदको अग्लो सालिकसँग जम्काभेट भयो । मानिसको भीडले घेरिएको सडकपेटीमा अवस्थित सालिकलाई नजिकै गएर नियालेँ । शिरमा टोप र खुट्टासम्म आउने लङ कोटको पहिरन, एउटा हातमा 'स्मोकिङ पाइप' समातेर उभिएको पातलो तर अग्लो ज्यानको सर्लक होम्सको सालिकलाई पहिचान गर्न मलाई गाह्रो भएन । उसको चतुर आँखा कुनै रहस्यमयी घटनाको खोज-अनुसन्धानका लागि चारैतिर दौडाइरहेको देख्छु ।
आफ्नो प्रिय पात्रलाई हेर्ने, सुम्सुम्याउने र छेउमा बसेर फोटो खिचाउन चाहनेको भीडले उनको लोकप्रियता बताइरहेको थियो । लेखकले पाउने पुरस्कार र सम्मानभन्दा पनि ठूलो सम्मान र प्रशंसकको माया काल्पनिक पात्रले पाएको अजीवको दृश्य छेउमा उभिएर निकैबेर हेरिरहेँ । त्यो काल्पनिक पात्रको जीवन्त सालिक बनाउने कलाकार को होला ? मनमा जिज्ञासाका अनेकौं लहर चल्न थाले ।
सर्लक होम्सलाई तलदेखि माथिसम्म हेरेँ । स्पर्श गरेँ । अहो ! लेखकको सालिक हुनुपर्ने ठाउँमा उनको काल्पनिक पात्रको भव्य सालिक व्यस्त सडकपेटीमा ठडिएको थियो । लेखकको नाममा म्युजियम स्थापना हुनुपर्नेमा काल्पनिक पात्रको म्युजियम त्यही सालिकनजिकै थियो । बेलायतमा मात्र होइन विदेशमा पनि उसको सालिक र म्युजियम बनेका छन् । ती कुरा थाहा पाउँदा त्यो काल्पनिक पात्र आफ्नो पिता अर्थात् लेखकलाई परास्त गरेरै त उभिएको होला भन्ने मनमा लाग्यो । एउटा लेखकको सफलता भनेको सायद यही हो । सर्लक होम्सले संसारभरि पाएको ख्याति र माया लेखक डोयलले देखेको भए आफ्नै पात्रको इष्र्या गर्थे कि खुसी हुन्थे होलान् ? निकैबेर त्यहाँ उभिएर ईष्र्यालाग्दो दृश्य हेरेपछि मनमा विभिन्न कुरा खेलाउँदै 'बेकर स्ट्रिट २२१ बी' तिर हानिएँ ।
२२ मे, सन् १८५९ मा स्कटल्यान्डमा जन्मिएका फिजिसियन आर्थर कोनन डोयलले सिर्जना गरेको पात्र सर्लक होम्स सन् १८८७ मा पहिलो पटक 'अ स्टडी इन स्कार्लेट' नामक जासुसी उपन्यासमार्फत बजारमा आएको थियो । उपन्यासकार तथा कथाकार डोयलले आफ्ना सिर्जनामा सर्लक होम्सलाई लन्डन निवासी बनाएर जन्म दिन्छन् । डोयल आफ्नो बेजोड लेखकीय शैलीद्वारा कथा, पात्र र घटना यसरी सनसनीपूर्ण तरिकाले वर्णन गर्छन् कि उनको लेखनकलाको जादुमा पाठक बेस्सरी लट्ठिन्छन् । पढ्दै जाँदा त्यो काल्पनिकपात्र हो भन्ने बिर्सेर वास्तविक ठान्न पुगिन्छ । सायद एउटा लेखकको सफलता भनेको यही हो ।
मुखमा हरसमय 'स्मोकिङ पाइप' च्यापेर धुवाँ उडाइरहने, ओभरकोट लगाएर हिँड्ने पातलो शरीरको अग्लो मानिसको हुलियामा सर्लक होम्स नामकपात्रको चित्रण गरेपछि पाठकहरूको मस्तिस्कमा त्यसको चित्र भण्डारण हुन्छ । उक्त पात्र यसरी सर्वत्र प्रभावशाली बन्न पुग्छ कि पाठकहरू उसको स-शरीर उपस्थिति चाहन्छन् । लेखकले वर्णन गरेको हुलियाको आधारमा उसको कैयौं चित्र बनाइन्छन् । त्यसैको आधारमा संसारका विभिन्न सहरमा सर्लक होम्सको अर्ध कद र पूर्णकदका सालिक बनेका छन् ।

सर्लक होम्सको नाममा भुटान, क्यानडा, कंगो, डोमिनिका, इस्ट टिमोर, बेलायत, लाइबेरिया, गिनिया, मोनाको, निकारागुवा, सान मारिनो, दक्षिण अफ्रिका, टर्की, स्विट्जरल्यान्ड आदि देशले हुलाक टिकट नै प्रकाशन गरेका छन् । बेलायती लेखकको एउटा काल्पनिक पात्रको चित्रअंकित हुलाक टिकट संसारका विभिन्न देशले समेत प्रकाशन गर्नुले उनको लोकप्रियता कति रहेछ भन्ने अनुमान गर्न सकिन्छ । लेखकभन्दा पनि पात्र चर्चित भएर उधुम मच्चाएको थाहा पाउँदा त्यस्तो जीवन्त पात्र जन्माएर लेख्न सके लेखनको सार्थकता हुन्थ्यो भन्ने लाग्छ । तर, यो सहज काम अवश्य होइन । यदि यस्तो हुन्थ्यो भने संसारप्रसिद्ध लेखकका धेरै पात्रहरू मूल सडकमा सालिक बनेर उभिन्थे ।

सर्लक होम्सको काल्पनिक ठेगाना 'बेकर स्ट्रिट २२१ बी' खोज्दै हिँड्ने मानिसहरू ऊ बेला प्रसस्त थिए । त्यो काल्पनिक ठेगाना यसरी लोकप्रिय भयो कि देश-विदेशका पाठकले समेत धमाधम त्यस ठेगानामा पत्र पठाउन थाले । अत्यधिक संख्यामा चिठी आउन थालेपछि बेलायतको हुलाकलाई हैरानी भयो । ती चिठीहरू फाल्नु कि राख्नु ? त्यसबेला बेकर स्ट्रिट अस्तित्वमै थियो । तर, घर नं. २२१ बी थिएन । धेरैपछि अर्को स्ट्रिटलाई बेकर स्ट्रिटको नाम दिएर विस्तार गरेपछि त्यो काल्पनिक ठेगानाको लागि बडो मुस्किलले ठाउँ खाली गराइएको रहेछ । अझ अर्को रमाइलो कुरा त के छ भने त्यो घर नं '२२१ बी' लाई जबर्जस्ती घर नं. २३७ र २४१ को बीचमा सिर्जना गरिएको छ ।
होम्सको लोकप्रियतालाई देखेर 'सिटी अफ वेस्टमिनिस्टर'ले त्यो घर नम्बर सुरक्षित राखिदिएको रहेछ । कुनै कम्पनीको रजिस्टर्ड ट्रेड मार्कजस्तै अरु कसैले प्रयोग गर्न नपाउने गरी त्यो घर नम्बर सुरक्षित राखिदिनु आफैंमा अनौठो कार्य थियो ।लेखक डोयल कहाँ बस्छन्, अधिकांश पाठकलाई थाहा छैन । उनको घरको अवस्था के छ ? खासै महत्व दिइएको छैन । सधैं समाचारमा आइरहने अमेरिकाको ह्वाइट हाउस, पेन्टागन, बेलायतको बकिंघम प्यालेस वा नेपालको संसद् भवन कुन सडकको कति नम्बर घरमा पर्छ भन्ने कुरा कमैलाई थाहा छ । तर, सर्लक होम्सको डेरा 'बेकर स्ट्रिट २२१ बी' संसारभर परिचित छ । त्यही भएर नगरपालिकाले त्यो बाध्यकारी कदम चालेको होला ।
'सर्लक होम्स म्युजियम'को नजिकै पुगेपछि मूल ढोका अगाडिदेखि परसम्म लाइनमा बसेका मानिस देखेँ । 'सर्लक होम्स सोसाइटी अफ इङ्लेन्ड'ले सञ्चालनमा ल्याएको उक्त म्युजियम हेर्न आउने मानिसको ताँती देख्दा आश्चर्यचकित भइन्छ । भिक्टोरियन समयको त्यो घरको प्राचीनता, बनोट र ऐतिहासिकताका कारण सरकारले विशेष रूपमा सरंक्षण गरेको रहेछ । लेखक डोयलको कथा तथा उपन्यासमा उल्लेख भएअनुसार उक्त घरमा जासुस सर्लक होम्स, डाक्टर वाटसन् र श्रीमती हड्सन् बस्थे । अहिले उक्त भवनभित्र सर्लक होम्ससँग सम्बन्धित कथा र उपन्यासमा वर्णन भएको कुरासँग ठ्याक्कै मिल्ने वस्तु प्रदर्शनीमा राखिएका छन् ।
म्युजियमको रूपमा सञ्चालन गरिएको काल्पनिक पात्रको काल्पनिक डेराका काल्पनिक सामग्री हेर्न भनेर करिब दुई हजार नेपाली रुपैयाँ प्रवेश शुल्क तिरेर लाइनमा लागेँ । प्रवेशद्वारमा सर्लक होम्स बनेर उनकै जस्तो लुगा लगाएको व्यक्तिले स्वागत गरे । साँघुरो भर्‍याङ चढेर पहिलो कोठा पुग्दा दर्शक सर्लक होम्सको कुर्सीमा बसेर फोटो खिचिरहेका थिए । त्यहाँ उनले प्रयोग गर्ने गरेको म्याग्निफाइङ ग्लास, स्मोकिङ पाइप, भ्वाइलिन, नोटबुक आदि सामग्री थिए । ती सामग्री हेर्दा लाग्थ्यो, उनी त्यही कोठामा बसेर जटिलभन्दा जटिल केसको समाधान गर्थे । दोस्रो तलामा डाक्टर वाटसन्को बेडरुम थियो । त्यहाँ विभिन्न कागजात र केही केससँग सम्बन्धित कागजात, हस्तलिखित डायरी आदि थिए । तेस्रो तलामा मैनले बनेका पूर्णकदका केही प्रतिमूर्ति थिए । त्यसमा सर्लक होम्स र प्रोफेसर मोरियार्टीका मूर्ति मुख्य आकर्षक थिए ।
डोयलका कथा र उपन्यासमा उल्लेख गरिएका पात्रहरूले प्रयोग गर्ने सामान कल्पनाका आधारमा प्रदशर्नीका लागि सजाएर राखिएका थिए । ती सामानका बनोट र रङ हेर्दा उतिबेलाको समयको झझल्को दिन्थ्यो । ती सबै दृश्य हेरिसकेपछि यस्तो लाग्थ्यो, ती कोठामा कुनैबेला तिनै पात्र बस्ने गर्थे । सामानहरू तिनै पात्रहरूले प्रयोग गर्थे । ती सबै काल्पनिक पात्रको नाममा राखिएका सामान हुन् भन्ने म्युजियम हेर्दा हेर्दै दर्शकले बिर्सन्थे । र, मैले पनि बिर्सेँ । ती सबै काल्पनिक हुन् भन्ने थाहा हुँदाहुँदै पनि कस्तो अचम्मको भ्रम सिर्जना भयो ! म आफैलाई चिमोट्छु, टाउको झट्कार्छु । अझै भ्रमबाट मुक्त हुन नसकेकोमा आश्चर्यचकित हुन्छु ।
जासुसी तथा ऐतिहासिक उपन्यास र वैज्ञानिक साहित्यमा बेजोड कलम चलाउने आर्थर कोनन डोयलका चारवटा उपन्यास र ५६ वटा कथा प्रकाशित छन् ।
पेसाले मेडिकल डाक्टर भए पनि उनलाई लेखनमा मात्र सफलता मिल्यो । सर्लक होम्सको धारावाहिक कथाले उतिबेला बेस्टसेलरको रूपमा रेकर्ड बनाएको थियो । लोकप्रियताका कारण संसारको धेरै भाषामा उनका कृति अनुवाद भएका छन् । उनका उपन्यास र कथाका चर्चित पात्र सर्लक होम्स प्राइभेट जासुस हुन् । उनी आफ्नो बुद्धि र कौशलले कठिनभन्दा कठिन समस्याको समाधान गर्न माहिर हुन्छन् । यतिसम्म कि प्रहरीहरू पनि जटिलभन्दा जटिल समस्या सुल्झाउन सर्लकसँगै सल्लाह लिन आउँछन् ।
सर्लक होम्स संसारभरका नाटक, सिनेमा र धारावाहिक टेलिशृंखलामा अत्यधिक रूपमा देखाइएका छन् । अहिलेसम्म दुई सयवटा फिल्ममा ७० भन्दा बढी अभिनेताले उनको चरित्रमा अभिनय गरेका छन् । गिनिज वल्र्ड रेकर्डले सबैभन्दा बढी चित्रित चरित्र भनेर सर्लक होम्सलाई उल्लेख गरेको छ ।
अधिकांश कृतिमा लामो समयदेखि नायक रहेका सर्लक होम्सको चरित्रउपर कति लेख्नु भनेर एकपटक लेखक डोयललाई दिक्क लागेछ । डोयलले आफ्नो कृति 'द एडभेन्चर अफ द फाइनल प्रोब्लेम'मा सर्लक होम्सलाई अन्त्यमा मारी दिन्छन् । सर्लक होम्सलाई मारेको कुरा पाठक तथा उनका प्रशंसकलाई पटक्कै मन पर्दैन । सर्लक होम्सका प्रशंसकले लेखकको घरअगाडि गएर विरोध प्रदर्शन गरे ।
डोयलसँग भेट हुँदा अधिकांश व्यक्तिहरूले रोष प्रकट गर्न थालेपछि उनी पहिलेको कदम सच्याउन बाध्य भए । सर्लक होम्सको लोकप्रियता र पाठकको इच्छालाई सम्मान गर्दै त्यसको १० वर्षपछि डोयलले प्रकाशनमा ल्याएको 'द हाउन्ड अफ द बास्करभिल'मा होम्सलाई पुनर्जीवन दिन्छन् । सर्लक होम्सले पुनर्जीवन पाएपछि पाठकहरूबाट डोयललाई धन्यवाद र शुभकामनाको ओइरो लाग्यो । जतिसुकै ख्यातिप्राप्त भए पनि आखिरमा पाठकलाई उपेक्षा गरेर लेखकमात्र अगाडि बढ्न नसक्दो रहेछ ! जे लेखे पनि पाठकहरूले पढिहाल्छन् भन्ने लेखकका कृति पाठकले केही नभनी र नपढिकनै रसातलमा मिल्काएको धेरै उदाहरण हाम्रैसामु छन् । सायद त्यसैले भनिएको होला 'पाठकहरू भनेका भगवान् हुन् ।'
म्युजियमको तीनैतला घुमिसकेपछि भुइँतलाको शुभिनियर पसलमा प्रवेश गरेँ । डोयलले लेखेका पुस्तक र डीभीडी एक कुनामा सजाएर राखिएको थियो । बिक्रीमा राखिएका सर्लक होम्सको तस्बिर अंकित टिसर्ट, टोपी, प्लेट, कप, कलम, डायरी, म्याग्निफाइङ ग्लास, स्मोकिङ पाइप, ब्याग, क्यालेन्डर, पोस्टकार्ड आदि सामग्री घुमीघुमी हेरेँ । ती सामग्रीमा लेखक डोयलको कुनै नामनिसाना थिएन । हरेक सामग्रीमा सर्लक होम्समात्र व्याप्त थिए । पसलका सबै सामग्री चित्ताकर्षक थिए । सम्झनास्वरूप कुनै एउटा सानो चिनो लिनु पर्ला भनेर दोहोर्‍याएर चक्कर लगाएँ । अन्त्यमा 'बेकर स्ट्रिट २२१ बी' लेखेको 'कि रिङ' मन पर्‍यो र उठाएँ । पैसा तिरेर बाहिर निस्किँदा म्युजियम हेर्न चाहनेहरूको भीड प्रवेशद्वारमा उस्तै थियो । हातमा 'कि रिङ' खेलाउँदै बेकर स्ट्रिटको भीडमा मिसिएँ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 26 जेठ, 2074

लेखकका अन्य रचनाहरु