बजगाईंको ‘युरेसियाको स्पर्श’ मेरो समीक्षात्मक स्पर्श

- होम सुवेदी

१. विषय प्रवेशः
साहित्यमा मात्र हैन अन्य विषयहरुमा समेत विश्व नै एक ग्राम भएको युगमा विश्वका जुनसुकै कुनाबाट आफूले योगदान गर्न सकिने दिन आएका छन् । अमेरिका, बेलायत, अस्ट्रेलिया, जापान, चिन लगायतका मुलुकमा बसेर पनि नेपाल, नेपालीहरु र नेपाली साहित्य वा राजनीतिबारे आफ्ना धारणा, मन्तव्य वा बहसमा भाग लिन सक्छन् । जुनसुकै क्षेत्रको परिधिमा रहेर पनि आफ्ना धारणाहरु जहाँबाट पोख्न सकिने कुरा स्पष्ट छ । अनि साहित्यका लागि पनि नेपाल र नेपालीहरुकै मुख ताकिरहनु पर्ने अवस्था हराएको छ जहाँबाट पनि यस क्षेत्रमा सेवा पुगाउन सकिने भएको छ ।
अमेरिकामा बसेकाहरुले अस्ट्रेलियामा बसेर वा क्यानाडा र बेलायतमा बसेर नेपाली साहित्यको निकै रामरी सेवा गरिरहेका स्रष्टाहरु आज देखिन्छन् । कहाँ त्यति मात्र हो र इजरायल र खाडी मुलुकमा बसेर काम गरिरहेकाहरुले पनि नेपाली भाषा साहत्यको सेवा गर्ने काममा हात बसाएका छन् । डायस्पोरेली नेपाली साहित्यको निकै राम्रै विकास भएको छ । यसै मेसोमा देखिने नाम हो कृष्ण बजगाईंको । कृष्ण बजगार्इंं नेपाली साहित्यमा अब कुनै नौलो नाम हैन अरुका सन्दर्भका कुरा अरुतिर गरुँला अहिले यहाँ कृष्ण बजगाईंको सन्दर्भको कुरा छ । उनकै मात्र पनि कुरा गर्ने होभने उनी नेपाल भन्दा हजारौं कोष टाढा बेल्जियमा रमाएका र हाल बेलायतमा स्थापित भएका छन् । एक अर्थले उनलाई युरोनेपाली भने हुन्छ । तर यसो भएर पनि उनको मनमुटु, मस्तिष्क सबै नेपाली छ । नेपाली भाषा साहित्यको सेवामा समर्पित छन् । उनका धेरै कृतिहरु नेपालको बजारमा पाठकका हात हातमा देखिएका छन् । चर्चाको शिखरमा पाइएका छन् अनि पत्रपत्रिकाहरुको समाचारको शीर्षकमा यदाकता उनी छाएको देखिएका छन् । यसबाहेक उनी अब विश्वविद्यालयको पाठ्यसामग्रीमा पनि पुगेका छन् । उनी वास्तवमा आख्यान र निबन्धको क्षेत्रका चम्किला प्रतिभा हुन् यसमा दुविधा छैन । उनका अरु अरु कृतिहरुको बारेमा कुनै अर्कै अवसरमा म कीबोर्ड चलाउँला अहिले भने म उनको ‘युरेसियाको स्पशर्’ कृतिभित्र अलिकति पस्न चाहनु अघि केही सानो तथ्यतिर लाग्छु ।
२. यात्रा साहित्यको बारेमा केही प्राक् सन्दर्भमा कृष्ण बजगाईंः
कुनै स्थान विशेषको भ्रमणपछि वा भ्रमणकै अवसरमा तत्स्थानको वस्तुगत र ती वस्तुहरुले यात्राकारको मनमा पारेको प्रभावहरुलाई उतारेर भाषाको बाटोबाट लेखिएको रचना यात्रा कृति हुन पुग्छ । यसलाई हामी नियात्रा पनि भन्छौं । अङ्ग्रेजीमा ट्राभल एकाउन्ट भनिने यो साहित्यलाई भ्रमण साहित्य, यात्रा विनोद, यात्रा विवरण, यात्रालेख आदि नामले पनि चिन्ने गरिएको छ । यायावर मानव आफ्ना भ्रमणका अनुभवहरुलाई अर्काेका अघि पोख्तै आएको इतिहास छ । यसैलाई हामी यात्रा साहित्य भन्छौं । नियात्रा शब्दले निबन्धपरक यात्राकृतिलाई मात्र बुझाउने जस्तो देखिने हुँदा र यात्रा साहित्यको रचना निबन्धमा मात्र सीमित पनि नहुने हुनाले यात्रा साहित्य भन्नु उपयुक्त हुने कुरा मैले आफ्नो शोधमा ०३८ सालमै उल्लेख गरिसकेको विषय हो । हो यात्रा साहित्य नेपालीमा बढी निबन्धमा मात्र देखिन्छ तर अन्य विधामा छैन भन्ने होइन । कविता, खण्डकाव्य, महाकाव्य, उपन्यास, नाटक, कथाहरुमा पनि यात्रासाहित्यको फाँट फिंजिएको छ । यसैले यसलाई यात्रा वा यात्रापरक साहित्य नामबाट नै चिन्नु उपयुक्त छ ।
बजगाईंजीको यस फाँटमा पनि पदार्पण भएको छ । सबैलाई यात्राका अवसर पर्न सक्तैनन् अनि यात्राका अवसर परे पनि सबैले तिनका अनुभवलाई जीवन्त हुने गरी प्रकट गर्दैनन् । रसिक सचेत र सहृदयीले मात्र आफूले भोगेका कुराहरुको अनुभव साटासाट गर्दछन् । कृष्ण बजगाईं यस्तै सचेत सजग र रसिक तथा नेपाली भाषा साहित्यको उच्च दर्जाको भक्तका रुपमा देखापर्दै आएका एक सशक्त बुद्धिजीवीको नाम हो । ‘युरेसियाको स्पशर्’ उनकै यात्रा साहित्यिक कृति हो, भ्रमण नै विषय भएको कृति हो । यो निबन्ध विधामा रचित छ, यस अर्थमा यसलाई नियात्रा भन्दा पनि फरक छैन । कतिपय यात्रासाहित्यमा भ्रमण एक जनाको र लेखन अर्कैको समेत हुन्छ । तर यो कृति र यसका रचनाकार पनि उनै र यसमा भ्रमण गर्ने यायावर पनि उनै भएकोले यो आफैंमा केन्द्रित छ । यात्राकारकै राग, अनुभूति, सोच, पिर, बेथा, खुसी, रोमाञ्चकता, आवेग, धारणा तथा उनकै मातृभूमि, उनकोसंस्कार संस्कृति आदिहरुका स्मृति यसमा समाविष्ट छन् र जहाँ जहाँ यात्रा गरिएको हो त्यस स्थानका तथ्यहरु पनि यसमा छन् । नेपाली साहित्यमा जङगबहादुरको बेलायत यात्राबाट आरम्भ भएको यस क्षेत्रमा आज पौल उपलब्धिहरु भइसकेका छन् ।
यात्रा साहित्यका कोसे ढुङ्गाहरुमा लैनसिंह वाङ्देल, तारानाथ शर्मा, जनकलाल शर्मा, रमेश विकल, घनश्याम राजकर्णिकार, केदारमणि आदी, कमल दीक्षित, हेमराज पहरी, कोमलप्रसाद पोखरेल, टोपलाल ज्ञवाली, खडानन्द वाशिष्ठ लगायत असंख्य असंख्य सर्जकहरु छन् । यिनै र यस्तै धेरै धेरै यायावरहरुले यस क्षेत्रमा रचनाको पौल बिछइसकेका छन् । पछिल्लो चरणमा नारी पुरुष सबै यात्राकारहरुको दृष्टि यता गएको छ र भ्रमणको क्षेत्र विस्तार भएको छ । विशेष गरी भारतका तीर्थहरुको तीर्थाटन गरेर पद्यमा रचना गरिने यात्रा साहित्यको आज पृथ्वीको कुनाकुनामा पुगेर अनुभवका रुपमा उदाइरहेको छ । पद्यमा मात्र नभई उच्च गद्यमा निर्मित छ । विश्वका कुनै पनि उच्च भाषामा लेखिने यात्रा साहित्यसँग आजको हाम्रो यात्रा साहित्य कुममा कुन जोर्न सक्ने अवस्थामा छ ।
३. युरेशियाको स्पर्श कृतिका आधारमा कृष्ण बजगाईंंको मूल्याङ्कन ः
माथ्ल्लिो भनाइको साक्षी राखेर त्यसैका आधारमा आफ्नो यात्राकालका अनुभव र अनुभूतिहरुलाई पाठकहरुका सामु वितरण गर्ने यायावरका रुपमा कृष्ण बजगाईं आएका छन् युरेशियाको स्पर्श यात्राकृति लिएर । अरु कुरा छाडेर म अब उनैका कृतिमा परिक्रम गर्न लाग्छु । ‘युरेसियाको स्पशर्’ नामक कृति यात्रा निबन्धको बटुलो हो । यसमा जम्मा जम्मी १९ ओटा यात्रानिबन्धहरु छन् । यहाँ यसलाई नियात्राको सँगोलो भने पनि हुन्छ । युवावस्थाकै बजगाईंको युरोप र एसियाको भ्रमणबाट यसको निर्माण भएको छ । त्यसरी निर्मित यी रचनाहरुभित्र कुनमा केके छ, कता कता जाँदा के के फेला पारे, कससँग कस्तो व्यवाहार भएको थिायो र कुन ठाउँको यात्रामा उनलाई कस्तो अनुभव र हैरानी आदि बेहोर्नु परेको थियो, त्यहाँको यात्रामा पाएको रमाइलो र भुक्तमान वा पीडा रोमाञ्चकता आदि के के थिए भन्ने कुरा खोज्ने काम पाठकको हो । म खाली यिनबाट बजगाईंको यात्रा साहित्यिक शक्ति र सीमाका बारेमा मात्र कुरा उधिन्छु ।
यात्रामा यात्राकारको कलमसँग मन र विचार मिसिएको छ छैन, उसले कोरा वस्तुको वर्णन मात्र गरेको छ कि ? वस्तुको दृश्यावलोकनबाट भावकत्व व्यापार उद्दीप्त भएको छ छैन, वस्तुको दृश्यले यात्राकार वर्णनतिर लाग्छ कि वस्तुको प्रभावात्मकतातिर लाग्छ यी यस्ता कुरा हुन् जसले यात्रा साहित्यको रचनाकारको साहित्यिक वा खुबी छ्यानब्यान गर्न सघाउँछन् । भौतिक वा आँखाका अगाडिको कुराको नाप जोख र तौल मात्र गर्न थालेको अवस्थामा यात्रा साहित्यमा रसमयता भन्दा पनि विवरणात्मक मात्र हुन्छ । जब रागात्मकताले स्थान पाउँछ अनि मात्र यात्रा साहित्यको साइनो पाठकका लागि आकर्षक हुन्छ । भावप्रधान, वस्तुप्रधान र वर्णन प्रधान जस्ता प्राधान्यताका आधाहरुबाट यात्रा साहित्य सिर्जित हुन्छ । बजगाईंको रचना धर्म बढी भावप्रधान रहेको छ । उनी वस्तुको दर्शनबाट आत्मकेन्द्रित कथनहरु प्रकट गर्दछन् । तारानाथ शर्माको यात्रावृत्तिको कित्तातर्फ बजगाईंको यात्रा साहित्यको स्थान छ । उनका रचनाहरुमा जहाँ पुगे पनि देश छ, जाति छ र भाषाको स्नेह छ । आफ्नो देश नछाडी आफ्नो देशको माया बुझिन्न भन्ने उक्ति अनुसार मात्र नभई उनी साँचिकै देश भक्त र भाषासंस्कृतिका भक्तका रुपमा आएका छन् । उनका यात्रा रागात्मक भावहरुले भरिएको छ । भ्रमण थलोको कुरा गर्ने हो भने युरोपको बढी स्पर्श भएको छ र एसियाको स्पर्शबाट अलिक कम रचनाहरु तयार भएका देखिन्छन् । यिनमा पनि यस कृतिका एसियाली स्पर्शका रचनाहरुमा खास गरी चिनलाई केन्द्रित गरिएको छ । वास्तवमा कृतिको भावभूमि युरोप बढी एसिया कम बोध हुन्छ । एसियामा पनि चिन मात्र देखिन्छ । आफूलाई जता जसरी यात्राकोे अवसर प¥यो त्यही क्षेत्रतिरको अनुभव हुनु स्वाभाविक हो र रचनाहरुमा पनि तिनैको बाहुल्यता हुनु स्वाभाविक हुन सक्छ ।
यो कृति विभिन्न समयमा रचना गरिएका र विभिन्न पत्रपत्रिकाहरुमा पहिल्यै छापिएका नियात्राहरुको सङ्कनल मात्र हो । १९ ओटा नियात्राहरुमध्ये २, ५, ८, ९, १० क्रममा परेकाहरु चीनको यात्राक्रममा एसियाको स्पर्शबाट जनित रहेका छन् भने बाँकी १४ ओटा रचनाहरुले युरोपको स्पर्श पाएका छन् र स्वरुप कायम गरेका छन् । खास गरी तिनमा फ्रान्स, जर्मन, बेलायत, बेल्जियम, ब्रसेल्स आदि मुलुकमा रहँदा घुमफिर गरेको अवस्थाका, आफ्नो साहित्यिक यात्रा गरेको अवस्थाका, आफ्नो कृति आफैंले विमोचन गर्दाको अवस्थाका आदि अनुभव बाँकी रचनाहरुमा छन् । यात्राकार जताजता गएर वर्णन गर्न थाल्छ पाठक पनि त्यतैत्यतै एकोहोरियो भने यात्रावर्णनको उच्चताको छनक मिल्छ । तन्मयतका साथ पढ्दाको अवस्थामा बजगाईंले यात्रा गरेको स्थानमा पाठकलाई पनि सशरीर उपस्थित भएको बोध हुन्छ । यही नै यात्रा साहित्यको धनात्मक पक्ष हो । यस पक्षमा बजगाईंको यात्रा साहित्यको शक्ति उच्च छ । रोचक, सुस्वादु र आस्वाद्य एवम् प्रेय रचनाहरुमा बजगार्इंंले पाठकसामु पेस गरेका छन् । यसै अर्थमा यस कृतिको मूल्याङ्कन गरिएको र विश्वविद्यालयको पाठ्यक्रममा समेत स्थापित गरिएको हो भन्ने ठहर हुन्छ ।
४. निष्कर्श ः
बजगाईंको यात्रा साहित्यको सीमा उच्चतर छ । उच्चतम हुनतिर उन्मुख छ उच्चतम भने भइगएको यसमा देखिन्न । आउँदो कृतिमा त्यो उपलब्धि उनले हासिल गर्लान् भन्ने आशा गर्न सकिन्छ । भाषामा परिपाठ पार्न उनी चतुर छन् । आवश्यक र सामान्य चलेका तत्सम शब्दहरु मात्र उनले उपयोग गरेका छन् जुन बडो उचित हो । नेपाल भन्दा अनकन्टारमा बसेको दशौ वर्ष भएर पनि उनले नेपाली भाषालाई अरु भाषाको मिश्रण हुनबाट जोगाएका छन् । विशेष गरी यसमा वर्णनात्मक र यात्रास्थलको वर्णनमा प्रत्यक्ष वर्णनात्मक शैलीको पनि उनले उपयोग गरेका छन् । जे छन् खाँटी छन् । आकर्षक र मिठासिला रचनाहरुको बटुलाका रुपमा यसको स्थान छ । पाठकीय कौतूहलता जगाउन कृति सक्षम छ । युरेरियाको स्पर्शले पाठकको मर्मलाई पनि स्पर्श नगरी छाढ्दैन ।
के चालले हो साझाबाट प्रकाशित भइकन पनि केही भाषिक त्रुटिहरु देखिन्छन अलिक खट्किंदो विषय हो । चिन्तन शब्द चीनतन भएको छ धेरैतिर । यो कम्प्युटरबाट रिप्लेस गर्ने क्रममा भएको हो ।
कृतिः युरेसियाको स्पर्श
विधाः नियात्रा
नियात्राकारः कृष्ण बजगाईं
प्रकाशकः साझा प्रकाशन, पुल्चोक, ललितपुर
संस्करणः पहिलो, २०७३
मूल्यः रु. १९९

मेची बहुमुखी क्याम्पस, भद्रपुर, झापा ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 12 आसाढ, 2074

लेखकका अन्य रचनाहरु