लाखे नाच

- विश्व विनोद

जात्रा बिशेषमा लाखे नाच मनाईन्छ तर राष्ट्रिय जात्रामा भने लाखे नाचको छुट्टै महत्व हो कि भन्ने लख काट्न सकिन्छ । अझ राजनीतिक जात्रामा त मात्रा नपु¥याएर लाखे नाच नाचेर जनतालाई भुलाउने काम पटक पटक भएको पाईन्छ । आदर्शको मुखुण्डो ओडेर यि राजनीतिक बुख्याँचाले देशलाई अधोगतिमा लग्दा लग्दै पनि हामि निर्धक्क त्यही लाखे नाचको सेरोफेरोमा पटक पटक मेला भरिरहेछौं ।
यो राजनीतिक लाखे नाचको मुकुण्डो पनि सायद दक्षिणको कच्चा पदार्थले बनेको हुनु पर्दछ । ताल त्यतैको हुनु पर्दछ । खै आफ्नो मौलिक पनको नेपाली राजनीतिक लाखे नाच ? के यि लाखेहरु कस्को इशारामा नाच्छन् हँ ? तपाईले भेउ पाएर पनि के गर्नु तपाईलाई यि लाखेले नाचि नाचि पर छेउमा पु¥याई दिन्छन् । कहिले प्रजातन्त्रको नाममा यिनिहरुले लाखे नाच गरे । कहिले पंचायतको नाममा लाखे नाच गरे भने कहिले गणतन्त्र र राजतन्त्रको नाममा लाखे नाच गरिनै रहे यि नौटंकीवाजहरुले ।
बिद्यालयमा पढाउँदा सरले भन्नुहुन्थ्यो, गाई र भैंसी सजिलै छुट्याउन सकिन्छ तर यि मुकुण्डोधारी लाखेको लिंग, वर्ण, आदर्श, राष्ट्रियता केही गरि छुट्याउन नसकिने रहेछ । आखिर पशुलाई त यै हो भनेर छुट्याउन सकिन्छ तर मानव नामका यि कलंकलाई किन छुट्याउन सकिदैन हँ ?
गाउँमा लाखे नाच हुँदा गर्मी हुँदा लाखेलाई नाङ्लोले हम्किने र पानीले छम्किने गरिन्थ्यो । अझ लाखे बन्नेले केही दिन अघि बाट शुद्ध खानेकुरा खाएर लाखे बन्नको लागि तयार भएर बसेको हुन्थ्यो । यि राजनीतिक लाखे हेर्दा बिभिन्न पार्टीमा लाखे नाच नाच्न बिभिन्न बिशेषता बोकेका महामानवहरुको बाहुल्यता दिनानुदिन बढेको छ भने । यो लाखे नाच नाच्नलाई कुनै तिथि मितिको आवश्यकता नपरेको ठ्याक्कै थाहापाउन सकिन्छ । बिशेष गरि हरेक नौ नौ महिनामा गज्जबको लाखे नाच सिंहदरबारमा देख्न पाईन्छ भने , बेला बखत सडक, सदनमा पनि लाखेको अबतार देख्न पाईन्छ । कुर्सी भाँच्ने, रेलिङ तोड्ने, माईक फोड्ने यि लाखेलाई गर्मि भएको बेला पैसाको बिटोले हम्किन र हिन्दी गीतको शितलताले छम्किन सके शान्त भएको पनि देख्न सकिन्छ ।
लाखेले आफ्नो मुख नदेखाउने भएकोले जति उदण्ड हुन्छ, यि राजनीतिक लाखेहरु पनि नेपथ्यमा बसेर सडकमा मानिसलाई लाखे नाचको आमन्त्रण गर्दछन् । कहिले बम त कहिले रमको प्रयोगले यि लाखे नाचलाई उत्कर्षमा पु¥याउने काम भएको छ । अझ यिनै लाखेहरु सस्ता शहीदको खेतिमा तल्लिन हुन्छन् । मानव जीवनलाई बत्तिको पुतली झैं होमिन सिकाउने यि लाखेका मुख्य नेतृत्व कर्ताहरु मध्येका कोही जुँगा मुसारेर लाजिम्पाट महलमा अर्को लाखे जात्राको नाटक संरचना बनाउन र रिहर्सल गरिरहेका हुन्छन् भने बाल्कोट र सानेपा सम्म यो लाखे जात्राको प्रभाव देखिन्छ । अझ लैनचौरको राजदूतावासमा राष्ट्रियताको काट्टो खाएर तराईमा स्वायत्तताको लाखे नाचको ढोंग रच्नेहरुको बोलाबाला छुट्टै हेर्न लायकको हुन्छ ।
यो लाखे नाच हाम्रो राष्ट्रिय संस्कृति बनिसकेको छ । न यस्लाई समय चाहिन्छ न स्थान चाहिन्छ । सिंहदरबार देखि घरबारी र खरबारी सम्म गज्जबको लाखे नाचको मेलामा तपाई हामीले आफूलाई सरिक बनाई रहेका छौं । मुकदर्शक बनिरहेका छौं । आखिर यि लाखेको मुकुण्डो कहिले उतारिन्छ हँ ? जदौ

बेशीसहर नगर पालिका ३, लमजुङ

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 29 आसाढ, 2074

लेखकका अन्य रचनाहरु