हराएको कविता

- गोपाल झापाली

धेरै भयो परेलीको दैलो नटेकेको
हृदयको जंघार नतरेको
मदिराको मस्त मातका प्यालाहरुमा आउदिनौं
एकान्तको सुस्केराहरुमा पनि छाउदिनौ
सहरमा खोजेको त धेरै भयो, पाईन ।
गाउँको कञ्चन बतासमा पनि आउदिनौ
गिदिलाई उधिन्दा उधिन्दा थाकिसके,
मनलाई निचोर्दा निचोर्दा हारिसके ।
कहाँ हरायौ कविता ?

धेरैले सोध्छन् तिम्रो बारे
तिम्रो र मेरो सम्बन्ध बारे
एक्लै एक्लै म च्यापुमा हात लाएर घोरिँदा
पैतालाले घिसारेको ज्यान गल्लिमा टहलिँदा
म आँफैलाई थाह नभएको साईनो
तिम्रो र मेरो सम्बन्धको लक्ष्मणरेखा
कसरी बुझाउँ मलाई सोध्नेहरुलाई
मेरो साथमा तिमि खोज्नेहरुलाई ?
साईनो खोज्न शव्दकोष धेरै पल्टाई सकेँ,
डाटा किनेर मोवाईलमा गुगल सर्च गरि सकेँ ।
कहाँ हरायौ कविता ?

‘एसट्रे’ बाट उड्दै गरेको धुँवामा,
धुरीबाट चुहिएका तप्केनीहरुमा
बैशालू बतासका पिठ्युहरुमा
बाढिले उठिबास लगाएको उराठ बस्तिमा
जूनको चहक र ताराको चमकमा
कहाँ मात्र खोजिन मैले ।
सम्झि सम्झि खोजँे, बिर्सि बिर्सि खोजेँ
भो अब आउनु पर्दैन
मेरा पछि धाउनु पदैन ।
बरु, साँच्चै भन त मलाई
कहाँ हरायौ कविता ?

दमक

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 12 भाद्र, 2074

लेखकका अन्य रचनाहरु