कृष्ण बजगाईँको लघुकथाकारिता

- सुनिता सापकोटा

बेलायतमा रहेर नेपाली वाङ्मयको श्रीवृद्धिमा अनवरत् क्रियाशील कृष्ण बजगाईँ नेपाली साहित्यमा सुपरिचित नाम हो । साहित्यका विभिन्न विधामा क्रियाशील बजगाईँ लोकप्रिय डिजिटल पत्रिका समकालीन साहित्य डटकमका प्रधान सम्पादक पनि हुन् । बहुआयामिक प्रतिभाका धनी बजगाईँ विशेषगरी कथा, लघुकथा र यात्रानिबन्ध विधामा बढी क्रियाशील छन् । विभिन्न विधामा गरेर आधा दर्जनभन्दा बढी कृति प्रकाशन गरिसकेका बजगाईँको समग्र लघुकथाकारिताको छोटो चर्चा गर्ने प्रयास यहाँ गरिएको छ ।
यन्त्रवत् (२०६४), रोडम्याप (२०६७) र कवच (२०७२) गरी तीनवटा लघुकथा संग्रह प्रकाशित गरिसकेका कृष्ण बजगाईँ नेपाली लघुकथा लेखन परम्परामा आफ्नै किसिमको छाप छोड्न सफल भइसकेका छन् । भर्खर विधागत परिचय कायम गर्दै गरेको नेपाली लघुकथाको सम्मृद्धिका निम्ति गुणात्मक र संख्यात्मक दुवै हिसाबले उत्कृष्ट योगदान पुर्याएका छन् ।
कृष्ण बजगाईँ आफ्ना लघुकथामा समसामयिक जीवनका विकृति, बिसङ्गति र कमजोर पक्षहरुलाई प्रस्तुत गर्न रुचाउँदछन् । वर्तमानको खरा नेपाली राजनीति र अन्य क्षेत्रका नकारात्मक प्रवृत्ति र क्रियाकलापहरुलाई लघुकथाको विषय बनाउने बजगाईँ यस्ता बिसङ्गत पक्षहरुलाई सांकेतिक र व्यङ्ग्यात्मकरुपमा चित्रण गर्दछन् । घूसखोरी, भ्रष्ट, स्वार्थी एवम् अनुत्तरदायी राजनीति, अनैतिकता, शोषण आदि जस्ता नेपाली समाजमा पछिल्लो समयमा मौलाउँदै गएका विकृति र बिसङ्गतिहरुले राष्ट्र, समाज र जनताको वर्तमान र भविष्यमाथि कस्तो किसिमको कुठाराघात गरिरहेको छ त्यसको चित्र पनि उनका लघुकथामा उतारिएको हुन्छ । उल्लिखित सबै गलत प्रवृत्तिहरुको अन्त्यको चाहना पनि उनका लघुकथामा अभिव्यक्त भएको हुन्छ । उनी सुन्दर, सफल र बलियो नेपालको परिकल्पना गर्दछन् । त्यो नेपाल त्यतिबेलामात्र सम्भव छ जतिबेला यहाँको भ्रष्ट, अनैतिक, गैरजिम्मेवार एवम् असक्षम राजनीतिक नेतृत्वको अन्त्य हुन्छ । यो पक्षलाई उनले आफ्ना लघुकथामार्फत् संकेत गरेका छन् । राजनीतिबाहेक प्रशासनिक, शैक्षिक, स्वास्थ्यक्षेत्र, पत्रकारिता, साहित्य एवम् गैरसरकारी सामाजिक संस्थाहरु आदि क्षेत्रमा बढ्दै गइरहेका विकृति, बिसङ्गतिलाई पनि बजगाईँले आफ्ना लघुकथामा चर्चा गरेका छन् । यी तमाम विकृति र बिसङ्गतिको मूल मुहानचाहिँ खराब राजनीति नै हो भन्ने कुरामा बजगाईँ सहमत देखिन्छन् ।
राजनीति र प्रशासन संयन्त्रका दुर्बल पक्षहरुबाहेक कृष्ण बजगाईँले मानवीय पक्षहरुमाथि पनि असाध्यै रुचि राखेर लघुकथा लेखेका छन् । मानवीय संवेदना, मानिसका मनोवृत्ति, मानवीय भावनाहरु एवम् मानवीय सम्बन्धका उतारचढावहरु उनका लघुकथामा आएका छन् । उनी असल, संवेदनशील एवम् मानवताको भावनाले ओतप्रोत भएको मान्छेको कल्पना आफ्ना लघुकथामा गर्दछन् । आधुनिक जीवनले बढाउँदै गएको मानवीय जीवनको संकट र जटिलताहरुलाई उनले आफ्ना लघुकथामा चित्रण गरेका छन् । मान्छेको बढ्दो इच्छा, आकांक्षा र लालचले उसको मानवीयतालाई मात्रै संकटमा पारेको छैन, मानवीय सम्बन्धहरुलाई समेत जटिल बनाइरहेको यथार्थलाई बजगाईँले आफ्ना लघुकथामा औँल्याएका छन् । अहिलेको मान्छे भौतिक सुख र सम्पन्नताले त पुरिएको छ तर यही भौतिकताले उसको मानव हुनुको सुख र गौरवलाई समाप्त पार्दैछ जसका कारण मान्छे, मान्छे कम यन्त्र या रोबर्ट ज्यादा बन्दै गइरहेको परिस्थितिलाई बजगाईँले आफ्ना लघुकथामा संकेत गरेका छन् । भौतिक सुख प्राप्तिको मोहले मान्छेमा मानवीय आदर्श गुणहरुलाई समाप्त पार्दै उसमा स्वार्थ, लालच एवम् शोषक प्रवृत्तिलाई बढावा दिइरहेको तर्फ चिन्ता व्यक्त पनि उनका लघुकथामा गरिएको पाइन्छ ।
मानिसको दैनिक जीवनमा घटिरहने तर बाहिरबाट नदेखिएको जटिल पक्षलाई उद्घाटन गर्नमा पनि बजगाईँ रुचि राख्दछन् । सामान्य ठानिएका यस्ता कतिपय पक्षहरुले मान्छेको जीवन र उसका सम्बन्धहरुलाई नै कसरी जटिल बनाइरहेका छन् भन्नेतर्फ बजगाईँका कतिपय लघुकथाले सचेत गराउँदछन् । मानिसको मोह, लोभ एवम् प्राप्तिसँग जोडिएर आउने यस्ता समस्याहरुबाट पार पाउने एउटै बाटो प्रचलित मानवीय आदर्शको पालना र अनुशरणमा देख्दछन् । यस्ता कतिपय लघुकथामा बजगाईँ आध्यात्मिक अनि दार्शनिक आग्रह राख्दछन् ।
लघुकथा लेखनमा यसको प्रस्तुति र शैली एवम् शिल्पले महत्व राख्दछ । लघुकथामा विषयवस्तुलाई छोटो, सूक्ष्म र सांकेतिकरुपमा प्रस्तुत गर्नुपर्ने हुनाले विषयवस्तुको छनोटका साथमा प्रस्तुतीकरण शैलीले यसको सफलतामा विशेष भूमिका राख्दछ । बजगाईँका लघुकथामा विषयवस्तुको छनौट र त्यसको प्रस्तुतीकरण वा शिल्पशैली पक्षमा राम्रो संयोजन पाउन सकिन्छ । यसर्थमा लघुकथाको बनोट र प्रस्तुतीकरण शैलीका दृष्टिले बजगाईँ सफल लघुकथाकार हुन् ।
कृष्ण बजगाईँ आफ्ना लघुकथामा विभिन्न शैली अवलम्बन गर्दछन् । विषयवस्तुलाई उत्कर्षसम्म पुर्याउने क्रममा उनी कतै वर्णनात्मक, कतै नाटकीय त कतै सांकेतिक शैली प्रयोगमा ल्याउँदछन् । यिनका अधिकांश लघुकथामा वर्णनात्मक शैलीलाई अँगालिएको हुन्छ । कथानकको वर्णनका क्रममा कतै उनी लोककथात्मक शैलीलाई अपनाउँछन् भने कतै वक्रोक्तिलाई पनि प्रस्तुत गर्दछन् । वर्णनात्मक शैली नै भए पनि त्यसमा प्रचूर मात्रामा संकेतात्मकता, प्रतीकात्मकता वा बिम्बात्मकता पाउन सकिन्छ । मानवीय वा मानवेतर, परिचित वा अपरिचित जे जस्ता चरित्रहरुलाई लघुकथामा प्रस्तुत गरे पनि शैलीगत उत्कृष्टताले गर्दा बजगाईँका लघुकथाहरु उत्कृष्ट बनेका छन् ।
वैचारिक हिसाबले प्रगतिशील चिन्तन राख्ने बजगाईँ आफ्ना लघुकथामा पनि सोही विचारको पक्षपोषण गर्दछन् । उनका लघुकथामा हरेक किसिमका शोषण, असमानता, विभेद एवम् अन्यायपूर्ण व्यवहारहरुप्रति असहमति र विरोध जनाइएका हुन्छन् । उनी वर्तमान नेपाली परिप्रेक्ष्यमा देखा परेका सबै किसिमका बेथितिहरुको अन्त्य भई व्यवस्थित र सुन्दर समाजको चाहना राख्दछन् । आफ्ना लघुकथामा नेपाली राजनीति, समाज, प्रशासन एवम् अन्य सार्वजनिक क्षेत्रका विकृति र बिसङ्गतिहरुप्रति कटाक्ष गर्नुको पछिल्तिर सोही चाहना लुकेको छ भन्नुमा अत्यक्ति नहोला । बजगाईँको अर्को विशेषता मानवतावादी भावना हो । जीवन र मानवीय सम्बन्धहरुप्रति समतामूलक, कारुणिक एवम् संवेदनशील दृष्टि पोख्दै बजगाईँ आफ्ना लघुकथामा मानवीय भावनालाई सम्मानजनक स्थान दिन्छन् ।
बौद्धिकता कृष्ण बजगाईँका लघुकथामा पाइने अर्को महत्वपूर्ण प्रवृत्ति हो । दैनिकरुपमा देखिजानेका र भोगिआएका सन्दर्भहरुमात्र होइन जीवनजगत्का विभिन्न पक्षहरुलाई बौद्धिक दृष्टिकोण दिने प्रवृत्ति उनमा पाइन्छ । प्रायः लघुकथाको निष्कर्षमा उनी आफ्नो वैचारिक चिन्तनलाई प्रकट गर्न रुचाउँदछन् । उनको यो बौद्धिकताले कतिपय लघुकथामा दार्शनिकस्वरुप समेत ग्रहण गर्न पुगेको देखिन्छ ।
सारांशमा भन्दा कृष्ण बजगाईँ नेपाली लघुकथा परम्पराका एक छुटाउन नहुने नाम बनिसकेका छन् । आफ्ना लघुकथामा सामाजिक सरोकारका विषयलाई उठान गर्न मनपराउने बजगाईँ व्यक्तिगतदेखि सामुदायिक, राष्ट्रिय हुँदै अन्तराष्ट्रिय सरोकारका विषयका बहुआयामलाई आफ्ना लघुकथामा दृढतापूर्वक प्रस्तुत गर्दछन् । यिनका लघुकथामा राजनीति, धर्म, संस्कृति, समाज एवम् व्यक्तिमा मौलाएका नकारात्मक र गलत प्रवृत्तिहरुलाई चित्रण गर्दै तिनमाथि कटाक्ष गरिएको हुन्छ र त्याग, आदर्श र नीतिमा आधारित मानवीयताको सम्मान गर्ने समाज र राष्ट्रको परिकल्पना गरिएको हुन्छ । त्यसैगरी मानिसमा अनावश्यकरुपमा देखापरिरहेको भौतिकताप्रतिको आशक्तिले उसलाई तीव्र यान्त्रिकीकरण गरिरहेको प्रति चिन्ता व्यक्त गरिएको हुन्छ । छोटकरीमा यो भन्न सकिन्छ कि कृष्ण बजगाईँ समसामयिक सामाजिक र मानवीय सरोकारका लघुकथा लेख्ने लघुकथाकार हुन् जसका लघुकथा प्रस्तुतिगत हिसाबले संक्षिप्त, सूत्रात्मक, सांकेतिक, बिम्बात्मक, लाक्षणिक एवम् सम्प्रेषणीय छन् । यसर्थमा कृष्ण बजगाईँ नेपाली लघुकथा लेखनका एक प्रतिभाशाली लघुकथाकार हुन् ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 12 भाद्र, 2074

लेखकका अन्य रचनाहरु