सम्झना बितेका कुराको

- अर्जुन यावा

1993 सालको कुरा। राङ्का राईगाउँ पाठशालामा बुनियादीतहसम्म मात्रै पढाई हुन्थ्यो। तेस्रो श्रेणी उतीर्णपछि म राङका धजे स्कूलमा भर्ना भएँ। चौथो श्रेणीमा। अहिलेको उच्चमाध्यमिकतहको यो स्कूलमा त्यो समय दशौंश्रेणीसम्म मात्रै पढाई हुन्थ्यो। रे-मिन्दुदेखि लुइङ-थामीडाँडासम्मकै लागि ठूलो स्कूल यही थियो। दशौं श्रेणीपछिको पढाइका लागि गान्तोक घाउनुपर्थ्यो, हिनेरै। स्कूल भर्नाको उमेर अलिक बितिसकेपछि पढ्न थालेको म चौथो श्रेणीमा पढ्ने अरु साथीहरूभन्दा निकै ठूलै थिएँ। सँधै तेर्सै हिँडेर स्कूल जाने, राङ्का स्कूल जानथालेपछि उकालै-उकालो हिँड्नुपर्थ्यो। आधीघण्टाको बाटो। स्कूल पुग्दा जून-जुलाईको समय निधारमा पसिनाको धारा छुट्ने। ढाड्मा कमेज भिजेर छ्याप्प हुन्थ्यो। पानी परेको दिन टाउकैदेखि ओडेको प्लास्टिकले पनि कहिलेकाहीँ पार लाग्दैनथियो। पानी छिरेर खकने बनाएर बोकेको खादीको झोलाभित्रको खाता-किताबसम्म भिजेको हुन्थ्यो। लुगा भिजेको त पत्तै नपाइने।
एकदिन, पानी परिरहेको थियो। हामी स्कूलबाट घर फर्किँदै थियौं। फाट्न लागेको जुत्ताको साह्रै माया थियो मलाई। खाता-किताबभन्दा धेर माया। मायाभन्दा फाट्दै गरेको जुत्ता पानी र हिलोले अझै फाट्छ बन्ने डर हुनुपर्छ। स्कूछल जान साह्रै मन पर्ने मलाई। जुत्ता फाट्योभने उपाय थिएन। सायद, सबै साथीहरू स्कूल गएको देख्दा स्कूल जाने रहर भएपनि उमेर निकै छिप्पिसक्दा मात्रै स्कूल भर्ना हुन पाएको मैले पढ्नुपर्छ भन्ने कुरा बुझेको थिएँ। भनौं मेरी आमाले कुन्नि कसरी दिमागमा घुसारी दिइसक्नु भएको थियो। अहिले लाग्छ, सायद त्यसैले मलाई जुत्ताको साह्रै माया थियो भनौं स्कूल जानुको लालच।
अँ, म भन्दैथिएँ एकदिनको कुरा, म स्कूलबाट घर फर्किँदै थिएँ। पानी परिरहेको थियो। सडक छोडेर साम्तोङ जाने बाटो हुँदै आउँदा आधाबाटोदेखि छुजाङ झर्ने ओह्रालो हामी पानीको वास्ता नगरी दगुरीहरेका थियौं। तल्लो सडकको मुखैमा पुग्दा दुईपटी डील थियो। माझमा चेपारो बाटो। एकप्रकार आरसीसी कुलोजस्तै। रातोमाटोले त्यहाँ चिप्लिने कुरा हामीलाई थाहा थियो। तर, माथीदेखि नै हतारिएर दगुरीरहेका हामीलाई झट्ट जिउ थाम्म गाह्रो थियो। लड्न सकिन्छ भन्ने पूर्ण ज्ञान थियो हामीलाई। भयो पनि तेस्तै। म लडें। म पछि सायद अनिल हुनुपर्छ, लड्यो। अरु पनि थिए। नाम बिर्सिएँछु। तीन-चारजना एकैठाउँ थुप्रियौं। लडेकै भएपनि मैले हातमा बोकेको जुत्ता उच्छिटिएर नालीमा पसेको देखिरहेको थिएँ। लड्दाको दुखाई अनुभव गरेको थिइन। खकने लगाएको झोलाबाट उच्छिटिएको एउटा खाताको मलाई वास्ता भएन। हतार-हतार उठेर जुत्ताको पछि लागें। कुलोको पानीले बगाएर निक्कै पर पुर्‍याइसकेको थियो। टिपेँ। सँगैको साथी अनिलले जुत्ता खोलेकै थिएन। अलिक तल पुगेका थियौं। उ जोगिँदा-जोगिँदै पनि सडकको हिलोमा उसको खुट्टा ख्वाप्प भासिएकोले उ लड्यो। हिलोमा जुत्ता, खुट्टा बाहिर फुत्त निस्कियो। उ लड्दा हामी मरिमरि हासेका थियौं।
---
हाम्रो राङ्कामा पहिलोपल्ट 1997-मा कार्पेटिङ गरिएको सडक कहिले खनिएको थियो, त्यो थाहा थिएन। थाहा छैन। चौथो श्रेणीमा पढ्ने म फुच्चेलाई के वास्ता पनि। कहिलेकाहीँ गान्तोक आउने-जाने श्री फिगु भोटिया (फिगु सरदार)-को पेट्रेल जीप र निसान (वानटेन) बाहेक गाडी हिडेको साह्रै थाहा छैन। कहिलेकाहीँ सडकमा कुद्ने निसानको पछिपछि दगुरेर हामी डालामा झुण्डिने पनि गर्थ्यौं।
गाउँमा अरु गाडी कसैको थियो जस्तो लाग्दैन। शहरबाट बेलाबखत आउने गर्थ्यो। त्यत्ति हो। हुन पनि हिनेर एकघण्टामा गान्तोक पुगिन्थ्यो। गाडीमा चढेर दुई-अढाई घण्टामा गान्तोक आइपुग्नु भनेको समय नष्ट गर्नुमात्रै थियो। अहिले तेस्तै लाग्छ। सिच्छे गुरुजीको दोकानबाट चामल बोकाएर पुर्‍यिान्थो। एकबोरा चामल राङ्का पुर्‍याएको 15 रुपियाँ दिनुपर्ने। अलिअलि थाहा छ।
एकदिन आमासँग गान्तोक आएको थिएँ। गान्तोक अर्थात बजार। तीन-चार क्लाशमा पढ्ने स्कूले, अझै हामीजस्ता गाउँ-घरकाहरूलाई आमा-पापासँग बजार जानुभनेपछि कत्ति हर्कबढाई हुन्छ? तपाईं बुझ्नुहुन्छ नि! आइतबार बजार जानुपाउने कुराले हप्ताभरि घरको काम गर्ने जाँगर चल्थ्यो। त्यो समय, त्यो क्षण, त्यो रहर मेरो मानसपटलबाट कहिल्यै मेटिएन। मेटिने छैन। हामी बजार हिँड्दा बिहान 6 बजेको हुनुपर्छ। ‘बजार हिँड्दा’ भन्नुभन्दा ‘सागसब्जी बेच्नु’ भन्न उचित होला। गोर्खे डाँडादेखि अलिकति माथि सडक निक्कै उक्कालो थियो। छ। दाहिने र देब्रेतिरको चक्काले सडकमाझ बनाएको खाल्डालाई पछ्याउँदै गुड्नुपर्ने सडक। उकालो, त्यहीमाथि हिलोले न अघि जानु, नपछि सर्नु भइरहेको थियो। आमा र म हेरिराखेर आफ्नो बाटो लाग्यौं।
बरबिङ पुछारगाउँ भएर नौलेबस्ती हुँदै गोस्खान (त्यतिबेलाको) निस्किने बाटो साह्रै ठाडो, उकालो। आमाले राईगाउँ हुँदै सिच्छेको बाटो थोरै दम्साइलो, उताबाट जाउँ भन्नुहुन्थ्यो।
सायद 1992-मै हुनुपर्छ छिमेकी सोनाम डिकी, आडुप अरुहरूसित नौले बस्तीको ठाडो उक्कालो पनि सब्जीको भारी बोकेर हिँडेका थियौ। खै, साथीहरूसित बजार पुग्ने हर्कले नै हो कि, त्यत्रो उकालो हिँडेको, त्यो पनि भारी बोकेर। पत्तै नपाई लालबजार आइपुगेका थियौं। न उकालो बाटोको सुर्ता थियो, न रानीखोला बीचबीचमा दुई-दुई फट्टा भाँचिसकेको कोक्रोजस्तो हल्लिने पुल तर्ने सुर्ता थियो। हामीलाई सुर्ता हुन्थ्यो बजार पुग्न पाउनुको। लालबजार पुग्ग्नको। त्यसैले राम्रो लुगा, राम्रो जुत्ता केहीको पर्वाह नगरी हामी सब्जीको भारी बोकेर पुग्थ्यौं। बेलुका केही रुपियाँ लिएर फर्न्थ्यौं, स्कूल खर्च भएकोमा ढुक्क मन लिएर।
राईगाउँको बाटो भएर हामी रानीखोला तर्‍यौं बल्लबल्ल। पुल ठाउँ-ठाउमा निक्कैवोटा फट्ट मक्किएर भाचिएकोले तर्न निकै गाह्रो परेको थियो। फर्किँदा साँझ झमक्क परेकोले अझै कठिन परेको थियो पुल गर्न। सपना जस्तो पो लाग्छ अहिले आफैलाई।
---
हिजोआज हप्ता, महिना-डेड्महिनामा म राङ्का पुग्ने गर्छु। कहिले घर, कहिले साहित्यिक कार्यक्रम र कहिले अरु नै काम लिएर पुगेको हुन्छु। 18 अप्रेल 2015-को दिन गाउँ पुग्नु थियो। बरबिङ। रानीखोलाको किनारै भन्दा हुन्छ। सडक छोडेर निक्कै हिँड्नुपर्ने। मरौं कार्यमा पुग्नुथियो। सम्झे पाँचमाइलदेखि हिड्नु नजीक पर्छ। त्यसै गरें। 1992 तिर साथीहरूसित तरेको झोलुङ्गे पुल पूर्णरूपमा क्षतिग्रस्त भएपछि अलिक तल गाउँकाहरू मिलेर बाँसको फड्के लगाएका थिए। झण्डै दश वर्षअघि कै कुरा हो। धेरैपटक तरेको छु त्यो फड्के। मनमा चिउ-चिउ हुँदै। अच्चम्मै, यसपाली 18 अप्रेलमा जाँदा यो बाटो नहिँडेको निक्कै नै भएछ भन्ने कुराको ज्ञात भयो मलाई। त्यो फड्के बनाइएको ठाउँमा आरसीसी पुल बनिसकेको रहेछ। शुशी लाग्यो। सम्झे, हामी तर्ने गरेको त्यो पुरानो फड्के र त्योभन्दा पुरानो झोलुङ्गे पुल अब देखिन पाइँदैन होला।
म भन्दैथिएँ, कहिलेकाहीँ राङ्का पुग्नेगर्छु म। हप्ता, महिना, डेडमहिनामा। तर पहिले जस्तो म छुइन। सायद म मात्रै होइन। सबै म जस्तै लाग्छन्। किनभने हिँजोआज राङ्का र गान्तोकबीच झण्डै 50 वटाजति त ट्याक्सी सर्वेस गाडी गुड्छन्। टेन सिटर। साना-साना ट्याक्सीहरू त कति हो, हो। त्यसैले पहिले हिँडेर एक घण्टामा गान्तोक आइपुग्ने मलाई अहिले राङ्का पुग्नु एक घण्टा नै लाग्छ गाडीमा। गाडी पाउन नसकिए बरु जाँदिन। अर्को दिन पर्खन्छु। लाग्छ म निक्कै अल्छे भएको छु।
गाउँमा पनि हिँजाज धेरै परिवर्तन आएको देख्छु। मेरो भ्रम हुनसक्छ, हिनेर मान्छे कोही गान्तोक आइपुग्दैनन् राङ्काबाट। त्यसो सोच्नु पनि सायद मूर्खता हुन्छ। पहिले राङ्का स्कूलको दुईतले बिल्डिङबाहेक साम्तोङ-धजेमा एउटै बिल्डिङ हेर्न पाइन्थ्योे। अहिले जताततै बिल्डिङै-बिल्डिङ छन्। धेरैको घरमा टाटा, जाइलो, स्कर्पियो, बोलेरो, म्याक्स, स्पेसियो, गेट्ज, भेन, अल्टो अरु-अरु गाडीहरू देखिन्छ। अनि त गाउँका मान्छेहरू कसरी त्यत्रो उकालो-ओह्रालो हिड्न सक्छन्। हुँदैन नि सम्भव। दुई दशकअघि एउटा वानटन र एउटा पेट्रोल जीप मात्रै बेला-बखतमा गुड्ने राङ्काको हिले सडकको रूपरङ नै अर्कै भइसकेको छ। प्रत्येकजसो दिन हिँजोआज सयौं गाडी ओहोर-दोहोर गर्छन्। पहिले राङकाबाट गान्तोक हेर्न रमाइलो लाग्थ्यो। अहिले राङ्काका हेर्न र घुम्न आउनेहरूको लाम देखिन्छ राङ्कामा।
भन्दा, एउटा कुरा सम्झना भयो। अभियान साहित्य समितिको साहित्यिक कार्यक्रमका लागि राङ्का पुगेको थिएँ। तीन-चार महिनाअघि। गाउँ न हो, सडकमा एउटा बाख्रा थियो। गान्तोकबाट आएको कस्को ‘इनोभा’ हो, तीव्र रफ्तारमा थियो। झण्डै किचायो बाख्रा। दुई-तीनजना थियौं छेउमा। बाख्रापटी ध्यान गएछ। फेरि फर्केर हेरेको डाँडा काटिहाल्यो। नम्बर हेर्नसम्म भ्याइएन। टुरिस्ट भेकल नै हुनुपर्छ। मनमा लाग्यो, यहाँ स्पीड ब्रेकर बनाइदिए राम्रो हुनेथियो। हुन पनि अहिले राङ्कामा धेरै पर्यटकीय स्थलहरूको विकास भइसकेको छ।
पहिले प्लास्टिक ओडेर उकालो-ओह्रालो गर्नुपर्ने राङ्कामा देशी-विदेशी पर्यटकहरू रम्नसक्ने पर्यटकीय स्थानहरूको विकास भइसकेको छ। सिच्छेको बाटो भएर रानीखोला पुग्ने बित्तिकै ‘वनझाँक्री फल्स’-ले जो-कोहीको मन लोभ्याइदिनसक्छ। अलिक पर पुगेपछि बरबिङमा ‘खञ्चनजङ्घा टुरिष्ट भिल्ला’-ले अझ दिन कतिबेला बित्यो भन्नेसम्म थाहा नपाउन सक्छन् मानिसहरू। अझै माथि, लिम्दुङ गुम्बा, परबिङमा आनी गुम्बा, छेवैमा प्याराग्लाइडिङ टेकअप पोइन्ट..., सबैले अहिले स्थानीयहरूलाई आयश्रोतको सहयोगी बनेको पाइन्छ। घुम्न आउनेहरू तेसै रम्नसक्ने ठाउँ भएको छ राङ्का। स्कूलेहरू बाह्रौंश्रेणीसम्म गाउँमै पढ्न पाउँछन्। कत्ति भाग्यमानी। माध्यमिक र निम्न माध्यमिक तहसम्मका स्कूलहरू त ठाउँ-ठाउँमै छन्। निजी स्कूलहरू जताजतै छन्। हामी पढ्दा न निजी स्कूलहरू थिए, न पढ्न सक्ने सामर्थ्य थियो। सम्झँदा पनि दुःख लाग्छ अहिले।
---
हिजोआज म कहिलेकाहीँ आमालाई सोध्ने गर्छु- “आमा! पहिला तपाईं र म सब्जीको भारी बोकेर बजार गएजस्तो मेरी छोरी जानसक्छे होली?’’
जवाबमा आमा भन्नुहुन्छ- “गाउँमा अहिले धेरै विकास भइसकेको छ। मान्छेहरू धनी भएका छन्। गाउँमा पैसा-रुपियाँको खाँचो छैन। घर-घरमा सडक आइपुगेको छ। सबैको घरमा गाडी छ। पहिलाको जस्तो गाडीको आघी चक्का गाडिने हिले सडक छैन। हामी हिँडेर बजार पुग्ने अनि हिडेरै फर्किने कुरा मलाई त सपना जस्तो लाग्छ।’’ अनि उल्टै प्रश्‍न गर्नुहुन्छ, “तेरी छोरी तीन वर्ष पुग्दैछे। लु तँ नै भन त, यो बढिसक्दा समय कहाँ पुग्छ, अनि हिँड्छे तेरी छोरी?’’
साँच्चै यो दुई दशकभित्र हाम्रो गाउँ कति वकसित भएछ, पत्तै नपाई। गान्तोकमै बस्ने म कहिलेकाहीँ गाडीमा चडेर राङ्का-गान्तोक वारीपारी गर्दा सडकमा परेका खाल्डाहरू र सडक चौडादारका लागि ब्याक कटिङ गरिएकाले गाडीमा टाउको ठोक्किएको दुखाइमा मानिसहरूले गरेको गनगन सुन्ने गर्छु। केही भन्दिन तर।
*

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 17 कार्तिक, 2074

लेखकका अन्य रचनाहरु