यात्राविरत ट्राभल एकाउन्ट ‘युरेसियाको स्पर्श’

- दीपक सुवेदी

साँच्चै, लुसियस सेनेकाले भने जस्तै– ‘यात्रा र स्थान परिवर्तनले मनमा नयाँ शक्ति प्रदान गर्दछ ।’ एउटा यायावरको जीवन शैली र नवीनताको खोजी गर्ने स्वभाव भएका कृष्ण बजगाईं ग्रेटवालबाट जीवन भोगाइका अनुभूतिमा अलिकति कल्पना, अनि थोरै रङग भरेर युरेसियाको स्पर्श गर्न पुग्छन् । हो, स्पर्शले पनि आँखाको बाटो हुँदै गएर हृदयलाई छुँदो रहेछ । अनि त्यही स्पर्शले नै मान्छेलाई अभिभूत बनाउँदो रहेछ र लठ्याउँदो रहेछ ।
युरोपेली दार्शनिकहरुले पृथ्वीलाई आफ्नो दर्शनको कर्मभूमि बनाए । खै किन हो, कृष्ण बजगाईंले युरोप र एसियालाई नै कर्मसँगै भ्रमणको पनि भूमि बनाए । बैज्ञानिक दार्शनिक डार्बिनले त अप्रत्यक्षलाई प्रत्यक्ष बनाएर संसारलाई देखाइदिए । माक्र्स र नित्सेले मनुष्य समाजले देख्न सक्ने नाङ्गो यथार्थ देखाइदिए तर कृष्णले चीनका पाँच, बेलायतका चार, जर्मनी, फ्रान्स र लक्जेमबर्गका एक, एक अनि बेल्जियमका सात गरी १९ वटा यात्रा निबन्धका माध्यमबाट पाठकलाई युरेसियाको भावनात्मक यात्रा नै गराइदिएका छन् । लेखकको आफ्नो कर्मथलो बेलायतमा नै जन्मिएका प्रसिद्ध साहित्यकार सेक्सपियरको जन्मभूमिको भ्रमणबाट अधिकांश यात्राविरत नियात्राबाट सुरु भएर जर्मनी यात्राको लेखनमा कृति टुंगिएको छ ।
मोतेनले भनेका छन्– म नै मेरा निबन्धको विषय हुँ, किनभने मलाई सबैभन्दा राम्ररी चिन्ने व्यक्ति म हुँ । तर कृष्णका निबन्धका विषय भने अलिक फरक छन् । उनका निबन्धमा चीनको ग्रेटवाल, तियानमेन चोक, पेरिस, लण्डन, ब्रसेल्स, स्टार्डफोर्ड अपन एभन जस्ता विश्व प्रसिद्ध ठाउँहरु विषय बनेर आएका छन् । युरेसियाको स्पर्श पढिरहँदा पाठकलाई सिधा राजमार्गमा यात्रा गरे जस्तो लाग्दैन । अनि लाग्दैन दैनिकी वा वकपत्र जस्तो पनि । लाग्छ छ केवल पाठकलाई पनि उनलाई जस्तै विश्वमा नेपालीको शिर उच्च राख्ने बहादुर र इमानदार नेपाली सेनालाई उनले शिर निहुँ¥याएर सलाम गरे जस्तै । अनि, विदेशमा पहिलो पटक लन्डनमा पुगेर नेपाली हुनुको गर्वानुभूति गरे जस्तै ।
पाठकले पनि कृष्णको निबन्धानुभूति बोकेर हिँड्छन् युरेसियाको स्पर्शभरि नै । माओको पार्थिव शरीर अगाडि उभिएर रुने चिनीयाँ युवक, राधादेशमा भेटिएको चेक विद्यार्थी, ओस्टेन्डको समुद्री किनारमा चिनीयाँ अक्षर बेच्न बसेको चिनीयाँ विद्यार्थी यी अपरिचित र यात्राकै क्रममा अनायासै भेटिएका कतिपय पात्र यति प्रभावशाली छन्, जो पाठकको मस्तिष्कमा शिलाका अक्षर जस्तै जस्तै भएर रहिरहन्छन् ।
विश्वप्रसिद्ध लेखक शेक्सपियरको जन्मघरमा बनाइएको सङ्ग्रहालयको अवलोकनपछि लेखक भानुभक्त, देवकोटा, समजस्ता स्रष्टाहरूको नाममा सङ्ग्रहालय स्थापना गरेर लेखकहरूको सम्मान गर्ने परम्पराको थालनी नेपालमा पनि हुनुपर्ने चिन्तन गरिरहन्छन् । अनि प्रेम र विवाहको अमरताको लागि सेन नदीको पुलमा लाखौँ ताल्चा मारेर साँचो नदीमा फ्याक्ने युरोपियनहरूको अन्धविश्वासलाई सिस्नोपानी प्रयोग पनि गर्न पुग्छन् ।
युरेसियाको स्पर्शभित्रका निबन्धहरु रमरमता इतर निजात्मक रङ्गले रङ्गिएका र परात्मक चिन्तनले भरिएका अनौपचारिक कलात्मक रहेकाछन् । कृष्णले यात्रामा पाठकलाई नाम्चेबाट नै उठाउँछन् अनि चुचुरोमा पु¥याएर छोडिदिन्छन् जसले पाठक सन्तुष्ट चाहिँ हुँदैनन् । कति इच्छा र चाहनाहरु लेखकका परिस्थिति र बाध्यताका कैदी पनि हुँदारहेछन् । यति हुँदा हुँदै पनि छोटो र छरितो प्रस्तुतिका कारणले ती बोझिला र निन्द्राबाट उठे जस्ता चाहिँ पटक्कै छँदैछैनन् । कृष्णले पाठक समक्ष निजी जीवन अनुभूतिका वस्तु यथातथ्य प्रदर्शन गर्न खोजेका छन् ।
सन् १९१२ मा चीनका अन्तिम बादशाह पुुयीले नयाँ चीनको आन्दोलनकारीसँग एउटा सम्झौतागर्न बाध्य हुनु प¥यो । .......मोनालिसाको चित्र सन् १९११ मा चोरी भएको थियो । दुई वर्षपछि इटलीमा फेला परेछ । ......दार्शनिक कार्ल माक्र्सको समाधिस्थलको जग्गा जिन्दगीभर साथ दिएका उनका प्रिय मित्र र कम्युनिष्ट दर्शनका प्रवर्तक माध्येका एक एङ्गेल्सले किनिदिएका रहेछन् ।....पहाडमाथि नागबेली हुँदै पूर्वबाट पश्चिमतिर गएको छ ग्रेटवाल । लियाउनिङ प्रान्तको यालु नदीको किनारै किनार पश्चिम गान्सु प्रान्तको जियाउग्वानमा पुगेर टुङ्गिएको छ ।...... यसरी कृष्णका निबन्ध पाठकलाई कहिले लाग्न सक्छ विश्वको इतिहास पढे जस्तो त कहिले भूगोल । त्यसैले युरेसियाको स्पर्श केही भूगोल, केही इतिहास अनि थोरै तथ्याङक परकका साथै सूचनात्मक तथा विवरणात्मक निबन्धको संकलन पनि हो ।
सीमापारी पुगेको स्रष्टा लेखेकाछन् ‘‘.देब्रे हातले समुद्रको पानी छोएँ । मनमनै सोचें समुद्रको पानी नदीले बनेको हुन्छ । नदी हिमालले । हाम्रो हिमाल पग्लेर ठुलाठुला नदी बन्छन् । आखिर मेरो देशका नदीहरू कुनै न कुनै माध्यमले समुद्रमा मिसिन्छन् । ‘हिमाल सम्झिँदा त्यो पानी आफ्नै जस्तो लाग्यो । हत्केलामा लिएर हेरेँ । अहँ केही फरक थिएन ।’ कृष्ण नियात्राहरुमा कतै कतै देशप्रति नोस्टाल्जिक बनेका पनि छन् । युनेस्कोले विश्व सम्पदा सूचीमा समेत राखेका स्थान अनि पाश्चात्य साहित्यमा चम्किला नक्षत्र भएर रहेका स्रष्टा एवं द्रष्टाहरुको जन्मसँगै कर्म थलोमा पुगरे गरेको अनुभूतिले साँच्चै पाठकलाई पनि कतै कतै नौनी बनाइदिन्छन् ।
डायस्पोराको जीवन शैली, कोमल हृदय भएका कवि देशप्रेम, आफन्त वियोग, मातृभूमिको चिन्ताले कृष्णलाई निबन्धभरि सताएको पाइन्छ । पूख्यौली भूमिको चिन्ता र चासोले कृष्णले निबन्धमा लेखेकाछन्– हिमाल हेर्न र चढ्न आउने विदेशी पर्यटकहरुकालागि अन्नपूर्ण बेस क्याम्प, नाम्चेबजार आदि क्षेत्रमा हिउँ तथा बरफमा बनाइने कला प्रदर्शन गर्न सके कति पर्यटक आउँथे ? बरफको कला प्रर्दशनी हेर्दाहेर्दै हिमालको देश भनेर संसारमा चिनिने आफ्नै देशमा मन पुग्यो । साँच्चै, कल्पनाको सहायताले कवि कलाकार अविदितको यात्रा गर्छन् । कल्पना नहुनेहरुले जीवनलाई ढुङ्गाजस्तो देख्छन् र प्रकृतिलाई मोहनीरहित । कल्पना हुनेहरु पृथ्वीमा स्वर्गको मिठास अनुभव गर्छन् अनि कृष्ण पनि ।
आफू पुगेका विकसित देश, सहर वा अन्य व्यवस्थित ठाउँहरुसित आफ्नो देशलाई दाँजेर हेर्ने अनि आफ्नो देशको व्यवस्था, सम्भावना, अस्थिरता, गरिबी जस्ता पक्षहरुलाई बारम्बार सम्झने, नयाँ ठाउँ अजिव लाग्नु, अतितको स्मरण आदि नेपाली डायस्पोराको नियात्रा लेखनको साझा विशेषता नै हो । निबन्धकार बजगाईँ पनि यसको किनारै किनार हिँडेका छन् । निबन्धमा कृष्ण बजगाईंले अत्यन्त उन्मुक्त, स्वतन्त्र, स्वच्छ र लहडी किसिमले आफ्ना विचार र भावनाहरुलाई पहाड टाढाबाट मात्र राम्रो देखिन्छ, परदेशमा धर्म, जात र राजनीतिका बारेमा कहिल्यै बहस नगर्नू भन्दै कतै कतै सूक्तिमय रुप पनि प्रस्तुत गरेका छन् ।
संसारप्रसिद्ध आइफिल टावर कृष्णलाई भने ‘३३ केभी प्रसारण लाइन टावरको ठूलो रुप’ जस्तै आकर्षक नलागेपनि अभिव्यक्ति र तर्कहरुका लागि पुस्तक पढ्दा लाग्छ कृष्ण ट्रान्समिटर नै हुन् । यात्राहरुमा विषय, ठाउँ वा सन्दर्भलाई आफ्नो निजात्मक चेतले प्रस्तुत गर्नसक्नु नियात्राकारले आफू र नियात्रालाई फराकिलो राजपथका रुपमा विकसित गरेर लैजानु हो । युरेसियाको स्पर्श अध्ययन गर्दा यस कार्यमा कृष्णको अद्वितीय देन रहेको पाइन्छ । विभिन्न भूभागको रहनसहन, सांस्कृतिक, ऐतिहासिक, भौगोलिक अवस्थाको चिनारी गराउने निबन्धहरुले जमर्को गरेको पनि देखिन्छ । घटना, प्रसङ्ग आदिलाई मन र बुद्धिका कोमल रङ्गमा घोलेर निबन्ध रच्ने कृष्ण बजगाईंका निबन्ध पाठकले पढ्दै जाँदा मस्तिष्कमा उत्मन्न हुने वा मस्तिष्कको ज्ञान वा बुद्धिलाई निबन्धको वस्तुतत्वका रुपमा स्वीकार्नु पर्ने पनि हुन्छ ।
‘संसारको सबैभन्दा सानो सहर दुर्बीमा एक दिन’ निबन्धमा दुर्बी सहरमा भन्दा पनि त्यहाँको कृष्णमन्दिरमा बढी केन्द्रित देखिन्छन् । युरोपको एउटा सुदूर कुनामा रहेको हिन्दूहरुको मन्दिरले बढी तानेर हो वा किन हो कृष्ण शीर्षकलाई छाडेर अन्तै बरालिएका छन् ।
पुस्तकभित्र चीनाउने, चीनन, चीनता, बाह्रैय, बीर्सन्, चीनारी, चीनेजानेको, चीनापर्ची, चीनदछ, तीनीहरु, चाण्डाल, चीनेका, बीर्सेछु, भनको, तीनी, तीनतक, मिकनिकौ जस्ता शब्दहरुमा भएको सुसाङ्ख्य टङ्कणमा साझाबाट प्रकाशित भइकन पनि केही त्रुटिहरु देखिन्छन् । यो अलिक खट्किँदो विषय हो । तर पनि आशा गरौँ, उषाको आभासँगै सूर्योदयपछि नयाँ दिनको जन्म हुन्छ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 15 मङ्गसीर, 2074

लेखकका अन्य रचनाहरु