साहित्यकार विजयराज आचार्यको जीवनवृत्त

- प्रा. डा. कपिल लामिछाने

१. विषयप्रवेश
प्युठानमा जन्मेका साहित्यकार विजयराज आचार्य (२०३३) नेपाली साहित्यको समुत्थानमा समर्पित अग्रणी युवासाहित्य साधक हुन् । करिब डेढ दशकदेखि साहित्यमा समर्पित आचार्य नेपाली साहित्य, बालसाहित्य र यसको प्रकाशनप्रति प्रतिबद्ध देखिन्छन् । २०५८ सालदेखि बालसाहित्यमा कलम चलाउने आचार्य स्रष्टा, सम्पादक, अनुवादक र प्रकाशक पनि हुन् । उनको पहिलो मौलिक बालकृति शान्तिको आत्मकथा (२०५९, बालकथा) हो । यो अङ्ग्रेजी, हिन्दी, नेवारी, मैथिली र थारू भाषामा समेत अनुवाद भई प्रकाशित भएको छ । जीवनका अनेक आरोह–अवरोह र प्रतिकूलताका विरुद्ध जुध्दै उनले बालकथा, बालचित्रकथा, बालउपन्यास र बालनाटक जस्ता विभिन्न विधामा कलम चलाएका छन् । उनले दर्जनौँ पुस्तकाकार कृतिहरू सिर्जना तथा अनुवाद गरी नेपाली बालसाहित्यको समुत्थानमा उल्लेख्य भूमिका निर्वाह गरेका छन् । कुनै पनि व्यक्तिको साहित्यिक पृष्ठभूमि, उसको जीवनमा घटेका घटना, आरोह–अवरोह तथा जीवन सङ्घर्षका अनुभूतिहरूले साहित्य लेखनमा प्रत्यक्ष रूपमा प्रभाव पारिरहेका हुन्छन् । विजय आचार्यको साहित्यिक यात्रामा पनि उनको जीवनमा घटेका घटनाहरूको प्रभाव पर्नु स्वाभाविकै छ । यहाँ विजयराज आचार्य र उनकी जीवनसँगिनी पुष्पा आचार्यसँगकोे प्रत्यक्ष भेटघाट तथा केही पुस्तकालयीय विधिबाट प्राप्त सामग्रीको उपयोग गर्र्दै सङ्क्षेपमा बालसाहित्यकार विजयराज आचार्यको जीवनी, व्यक्तित्व र कृतित्वको रूपरेखा प्रस्तुत गरिएको छ ।
२. पुख्र्यौली
गर्ग गोत्रीय आचार्यका पुर्खाहरूको बसोवास जुम्ला जिल्लाको आचार्य वडा र दैलेखको भुर्तेल गाउँमा रहेको पाइन्छ । जुम्लाबाट बसाइ सर्ने क्रममा आचार्यहरू दैलेखको भुर्तेल गाउँ, अर्घाखाँचीको अर्घा हुँदै प्युठान जिल्लासम्म आइपुगेको देखिन्छ । यतिखेर गर्ग गोत्रीय आचार्यहरूको बाक्लो बसोबासका रूपमा प्युठानको साविकको दाङबाङ गाविस र रम्दी गाविसको तिग्रा गाउँ र माझीखोलाको केही भागलाई लिन सकिन्छ । प्राप्त भएसम्मको आचार्यको वंशावली हेर्दा सन्तु आचार्यसम्म पुग्न सकिन्छ । सन्तु आचार्यका सुपुत्र चन्द्रपति, चन्द्रपतिका सुपुत्र चिन्तामणि र चिन्तामणिका सुपुत्र पीताम्बर आचार्य हुन् भने यिनै पीताम्बर आचार्य र मनकला आचार्यका चोपनिधि, शान्ता, गुणप्रसाद, सुवर्ण, सुमन्त, चिन्तामणि, विजयराज, मनमोहन र गोमा गरी नौ सन्तान भए । यस हिसाबले हेर्दा साहित्यकार विजयराज आचार्य ठाहिँला सन्तति (सातौँ सन्तान) देखापर्दछन् ।
३. जन्म, जन्मस्थान र नामकरण
विजयराज आचार्यको जन्म बुवा पीताम्बर आचार्य र माता मनकला आचार्यका ठाईंला सुपुत्र (सातौँ सन्तान) का रूपमा २०३३ माघ ९ गते प्युठान जिल्लाको दाङवाङ. ४, च्यान्धारा गाउँमा भएको हो । न्वारान गर्दा उनको नाम ढुण्डिराज राखिए पनि उनको प्रचलित र औपचारिक नाम भने विजयराज आचार्य हो । उनका नागरिकता र शैक्षिक प्रमाणपत्रमा यही नाम रहेको छ । साथीभाइका बीचमा पनि उनी यही नामबाट सम्बोधित भइआएका छन् ।
४. बाल्यकाल
विजयराज आचार्यको बाल्यकाल औसत नेपाली बालकको जस्तै देखिन्छ । उनको बाल्यकाल जन्मस्थान प्युठानको च्यान्धारामा बितेको हो भने पारिवारिक आर्थिक स्थिति राम्रो भए पनि गाउँघरको चलनअनुसार उनले सानैमा गाईबाख्रा चराउन जानु प¥यो । त्यसैले उनले बाल्यकालमा केही समय च्यान्धाराका पाखाहरूमा गाईबाख्रा चराउँदै बिताए । स्कुले शिक्षा समाप्त नभइन्जेल उनले बिहान–बेलुका घरको काममा सहयोग गर्दै बुबाआमाको काखमा बिताएको देखिन्छ ।


५. शिक्षादीक्षा
विजयराज आचार्यले दाङवाङ गाउँमा रहेको दाङवाङ निम्नमाध्यमिक विद्यालयबाट कक्षा ७ सम्मको अध्ययन पूरा गरेका हुन् भने एस.एल.सी.सम्मको अध्ययन जनप्रिय माध्यमिक विद्यालय, असुरकोट, अर्घाखाँचीबाट गरेका हुन् । २०५० मा एस.एल.सी. उत्तीर्ण गरी उनी उच्चशिक्षा हासिल गर्न काठमाडाँैतिर लागे । २०५६ सालमा रत्नराज्य क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह र २०६६ सालमा स्नातक तह पूरा गरे भने २०७३ सालमा पत्रकारिता विषयमा स्नातकोत्तर तहसम्मको अध्ययन पनि पूरा गरे । उनले यस औपचारिक अध्ययनका साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय साहित्य र बालसाहित्यको अनौपचारिक अध्ययन गरेका छन् भने हिन्दी, अङ्ग्रेजी र नेपाली भाषामा लेखिएका साहित्यिक र राजनीतिक पुस्तकहरूको स्वतन्त्र रूपमा अध्ययन पनि गरेका छन् । माक्र्सवादी सिद्धान्तमा आधारित व्यावहारिक लेखन र जीवनवादी पुस्तक पढ्न मन पराउने आचार्य विदेशी लेखक म्याक्सिम गोर्की, लुसुन आदिका किताब पढ्न रुचाउँछन् ।
६. रुचि र स्वभाव
युवा साहित्यकार विजयराज आचार्य स्वतन्त्र जीवनशैली मन पराउने व्यक्ति हुन् । उनी आफू अन्याय, अत्याचार र शोषण सहन सक्दैनन् भने कसैले होच्याएको पनि मन पराउँदैनन् । परिश्रममा विश्वास गर्ने आचार्य बालसाहित्यमा प्रवेश गरी बालबालिकाका लागि अन्य भाषाका कथा र नाटकको अनुवादमा कटिबद्ध छन् । उनी साथीभाइ, इष्टमित्रसँग घनिष्ठ सम्बन्ध राख्न चाहन्छन् । उनी भनाइ र गराइमा भिन्नता राख्ने मानिसहरू मन पराउँदैनन् र आपूm पनि त्यसो गर्दैनन् । उनी आफ्ना कुरा स्पष्ट राख्छन् भने अरूबाट पनि त्यस्तै अपेक्षा राख्छन् ।
माक्र्सवादी विचारबाट प्रभावित भएकाले उनी जहिले पनि गरिब, दुःखी, असहायप्रति सहानुभूतिशील देखिन्छन् । उनी निम्नवर्गमाथि हुने अन्याय, अत्याचारको उनी खुलेर विरोध गर्दछन् । त्यसमा पनि बालबालिकामाथि हुने गरेका तमाम खाले श्रमशोषण, अन्याय, अत्याचार, दमन तथा मानवअधिकारको हननजस्ता अमानवीय क्रियाकलापको निर्मूल हुनुपर्दछ भन्ने उनको मान्यता रहेको छ ।
७. दाम्पत्य जीवन र परिवार
साहित्यकार विजयराज आचार्यले २६ वर्षको उमेरमा २०५६ सालमा अर्घाखाँची जिल्ला धरमपानी निवासी जनार्दन भुसालकी माइली छोरी पुष्पा भुसालसँग प्रगतिशील विवाह गरेका हुन् । मन परेपछि मौखिक रूपमा विवाहको प्रस्ताव राखे र पुष्पा भुसालले परिवारको स्वीकृतिमा सहमति जनाइन् र मौखिक सहमतिलाई नै विवाहको सबै प्रक्रिया मानी एकअर्कालाई पति–पत्नी स्वीकार गर्दै उनीहरू वैवाहिक जीवनमा बाँधिएका हुन् । यसरी एउटा पारिवारिक सहमतिको आधारमा पोते, सिन्दुर, जन्ती र बाजा बिना नै विवाह सम्पन्न भएको पाइन्छ ।
२०५८ मा जन्मिएका छोरा विवेक आचार्य तथा २०६२ मा जन्मिएकी छोरी विवेचना गरी उनीहरूका दुई सन्तान छन्् । अहिले उनीहरू शुभकामना एकेडेमी टौदह, कीर्तिपुरमा अध्ययनरत छन् । उनकी श्रीमतीले स्नातक तहसम्मको अध्ययन पूरा गरेकी छिन् र प्रकाशनको काममा सहयोग गरिरहेकी छिन् । उनी एक कुशल गृहिणी हुन् । दुवै जनाले एकअर्काबाट पाउनु पर्ने माया, सद्भाव र सहयोगबाट दाम्पत्य जीवन सुखद रहेको देखिन्छ ।
८. आर्थिक स्थिति
मध्यमवर्गीय परिवारमा जन्मेका विजयराज आचार्य दाङवाङमा पुख्र्यौली सम्पत्ति छोडी काठमाडौँ पसेका हुन् । खेतीपाती मात्र हुने उक्त पुख्र्यौली थलो छोडेर उनी अहिले आफ्नै आर्जनबाट कीर्तिपुरको टौदहमा १० आना जग्गामा घर बनाई बसोबास गर्दै आएका छन् । उनले पेसाको रूपमा पुस्तक प्रकाशन (विवेक सिर्जनशील प्रकाशन प्रा.लि.) लाई नै अघि बढाइरहेका छन् र त्यही प्रकाशनबाट प्राप्त आमदानी नै उनको मुख्य आयस्रोत देखिन्छ । यसका साथै टौदहमा सञ्चालित शुभकामना इङ्लिस बोर्डिङ स्कुलबाट पनि केही आम्दानी हुने गरेको छ । यिनै स्रोतबाट नै उनले आफ्नो खर्चको व्यवस्थापन गर्दै आएका छन् । यसका अतिरिक्त बालसाहित्य लेखन र प्रकाशनबाट पनि आम्दानी हुने गर्छ । अतः उनको आम्दानीको मुख्य स्रोत लेखन र प्रकाशन नै हो ।

९. साहित्यमा प्रवेश, प्रेरणा र प्रभाव
विजयराज आचार्यको साहित्ययात्रा २०५९ देखि भएको हो । उनको लेखनको पहिलो मौलिक कृति शान्तिको आत्मकथा (२०५९, बालकथा) हो । उनले साहित्य सिर्जनाको प्रेरणा आपूm बाँचेको परिवेश, समय, परिस्थिति, राजनीतिक वातावरण, दुःख, सङ्घर्ष र पीडाबाटै प्राप्त गरेका हुन् । आचार्यले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बालसाहित्य अध्ययन गरेका छन्, जसको प्रभाव उनमा परेको छ । त्यही प्रभावका कारण उनको बालसाहित्यतर्फ झुकाव रहेको हो । उनको रुचिको विषय पनि बालसाहित्य भएकोले यसप्रति प्रतिबद्ध हुने प्रेरणा प्राप्त भएको हो । देशको राजनीतिप्रति चासो राख्ने आचार्य देशको बिग्रँदो स्थिति देखेर निकै दुःखी देखिन्छन् । देशको राजनीतिक व्यवस्था अस्तव्यस्त रहेको अवस्थामा बालबालिकाको समस्या र तिनको समाधानतर्फ राज्यको ध्यान जान सक्दैन भन्ने भावनाले प्रेरित भई उनी बालसाहित्यमार्फत बालबालिकालाई स्वालम्बनको पाठ सिकाउन तम्सिएका हुन् । बालबालिकाहरू आफैँ आफ्नो अधिकार र कर्तव्यको बारेमा सजग भएपछि एक सचेत नागरिक बन्दछ भन्ने उनको विचार छ । त्यसैले पनि बालसाहित्यमा वास्तविक र जीवनवादी शिक्षा भित्रिनु पर्छ भन्नेमा उनको जोड छ । उनको जीवन दुःख र सङ्घर्षको बीचबाट गुज्रिएको देखिन्छ । लामो समय बिरामी परेर अस्पतालमा बस्दा म्याक्सिम गोर्कीको जीवनी र अन्य कृतिहरू पढेपछि निराश भएर होइन, आशावादी भएर जीवनमा केही राम्रो काम गर्नैपर्छ भन्ने भावनाले प्रेरित भएर उनी बालसाहित्यको लेखन र प्रकाशनमा अग्रसर भएका हुन् । शान्तिको आत्मकथा छापिएपछि त उनका कृतिहरू फटाफट देखापरिरहेका छन् ।
१०. प्रकाशित पुस्तकाकार कृति
विजयराज आचार्यले अहिलेसम्म थुप्रै कृृतिको रचना, सम्पादन र अनुवाद गरिसकेका छन् । यहाँ तिनको प्रकाशनका क्रममा निम्नअनुसार सूची दिइएको छ :
(क) सिर्जनात्मक कृति
१. शान्तिको आत्मकथा (२०५९)
२. झमककुमारी (२०६८)
३. चौध चम्किला कोपिला (२०६०)
४. नयाँ बस्ती (२०६१)
५. केवलपुरे किसान (२०६१)
६. हाम्रो आवाज (२०६१)
७. उज्यालोको खोजीमा (२०६१)
८. कान्छाकुमार (सन् २००७)
९. परिवर्तन (२०६०)
१०. श्यामप्रसाद (२०६६)
११. चितुवासँग जम्काभेट (२०६८)
१२. अग्रज स्रष्टाहरू (२०६७)
१३. बाटुली (२०६८)
१४. काँढे दुम्सी (२०६९)
१५. कोक्ले क्याँक ! कोकले (२०६९)
१६. म त स्कुल जान्न (सचित्र बालकथा) (२०६९)
१७. बुवाको माया (२०६९)
१८. रमाइलो स्कुल (सचित्र बालकथा) (२०६९)
१९. आआफ्नो सुर (सचित्र बालकथा) (२०६९)
२०. आमाको माया (२०७०)
२१. हजुरआमाको माया (२०७०)
२२. छोरीको माया (२०७०)
२३. छट्टु चङ्खे (सचित्र बालकथा) (२०७१)
२४. पाप पखाल्ने गङ्गा (बालकथासङ्ग्रह) (२०७१)
२५. बुधनी (२०७३)
२६. जेनिसको जन्मदिन (२०७३)
२७. स्मार्ट घर (बालकथासङ्ग्रह) (२०७४)

(ख) सम्पादित कृति
१. प्रतिनिधि बालनाटकहरू (२०६६)
२. प्रतिनिधि बालकथाहरू (२०६६)
३. विश्वका बालकथा (भाग २)

(ग) सम्पादित पत्रिका
१. नव प्रतिभा (मासिक बालपत्रिका)
२. हाम्रो बालबगैँचा (मासिक बालपत्रिका)

(घ) अनूदित कृति
१. बालबगैँचा (बालकथासङ्ग्रह)
२. एउटा नयाँ पुलको निर्माण (२०५८)
३. खरायोको पुच्छर किन छोटो भयो ? (२०५८)
४. कृतज्ञ बाघ (२०६२)
५. डल्फिनको रमाइलो कथा
६. विश्वप्रसिद्ध लोककथाहरू १ (२०६६)
७. विश्वप्रसिद्ध लोककथाहरू २, (२०६६)
८. विश्वप्रसिद्ध लोककथाहरू ३, (२०६६)
९. विश्वप्रसिद्ध लोककथाहरू ४, (२०६६)
१०. हितोपदेशका कथाहरू (भाग १) (२०६६)
११. हितोपदेशका कथाहरू (भाग २)
१२. प्रसिद्ध चिनियाँ बालकथासङ्ग्रह (खण्ड–१)
१३. प्रसिद्ध चिनियाँ बालकथासङ्ग्रह (खण्ड–२)
१४. प्रसिद्ध चिनियाँ बालकथासङ्ग्रह (खण्ड–३)
१५. विश्व प्रसिद्ध बालककथासङ्ग्रह (खण्ड–६) (२०६१)
१६. विश्व प्रसिद्ध बालकथा (खण्ड–७) (२०६४)
१७. रमाइला चिनियाँ बालकथा (२०६३)
१८. लियो टाल्सटायका उत्कृष्ट बालनाटक (२०६५)
१९. पञ्चतन्त्रका रमाइला कथाहरू (२०६५)
२०. विश्व प्रसिद्ध जापानी लोककथाहरू (२०६५)
२१. सफलताका सय सूत्र (२०६५)
२२. परी (...)
२३. अन्धी केटी र स्याल (२०६८)
२४. रमाइला चिनियाँ बालकथा (भाग २) (२०६९)
२५. आँटी पुतली (२०७०)
विजयराज आचार्यका केही १८ कृतिहरू अङ्ग्रेजी भाषामा अनुवाद पनि भएका छन् ।
११. संलग्नता
विजयराज आचार्य विभिन्न समयमा विभिन्न सङ्घसंस्थामा आबद्ध रहँदै आएका छन् । विशेषगरी उनी विवेक सिर्जनशील प्रकाशनमा दत्तचित भई काम गरिरहेका छन् । २०५४ सालदेखि सिर्जनशील प्रकाशनबाट प्रकाशनको काम थालेका आचार्यले १० वर्षसम्म उक्त संस्थाको संस्थापक कार्यकारी अध्यक्ष भई संस्थालाई अघि बढाएको देखिन्छ । २०५६ सालमा विवाह गरेपछि पुष्पा आचार्यको नाम पनि उक्त संस्थाको स्वामित्वमा गाँसियो र २०५८ सालमा उक्त प्रकाशन आचार्य दम्पतिको नाममा संयुक्त रूपमा दर्ता भयो । २०६७ मा विवेक सिर्जनशील प्रकाशन एकल स्वामित्वबाट साझेदारीमा परिणत भयोे । यतिखेर उनी यस संस्थाको प्रबन्ध निर्देशक पदमा रही संस्थाको जिम्मेवारी सम्हाल्दै आइरहेका छन् । यसका साथै विभिन्न समयमा विभिन्न संस्थामा पनि पदीय जिम्मेवारी निर्वाह गर्दै आएका छन् । यतिखेर उनी निम्नलिखित संस्थामा आबद्ध छन् :
विवेक सिर्जनशील प्रकाशन प्रा.लि. – प्रबन्ध निर्देशक
शुभकामना एकेडेमी, कीर्तिपुर – अध्यक्ष
अक्षर अध्ययन विन्दु – संयोजक र अध्यक्ष
निरन्तर नेपाल (साहित्यिक संस्था) – अध्यक्ष
नागार्जुन साहित्यिक प्रतिष्ठान – सचिवालय सदस्य
नेपाल बालसाहित्य समाज – आजीवन सदस्य
रमेश विकल साहित्य प्रतिष्ठान – आजीवन सदस्य
मध्यपश्चिमाञ्चल साहित्य परिषद् – सचिव
प्रगतिशील लेखक संघ – कोषाध्यक्ष

१२. सम्मान तथा पुरस्कार
विजयराज आचार्यले नेपाली बालसाहित्य जगत्मा महŒवपूर्ण योगदान पु¥याएका छन् । उनले गरेका प्रशंसनीय कामको उचित मूल्याङ्कन राज्यपक्षबाट नभएको भए पनि निम्नलिखित संस्थाहरूबाट उनी पुरस्कृत र सम्मानित भएका छन् :
सर्वोत्कृष्ट बालसाहित्य पुरस्कार – २०६० (नेबासास)
पुस्कर गौतम बालसाहित्य पुरस्कार – २०६७
पारिजात सर्वोत्कृष्ट बालसाहित्य पाण्डुलिपि पुरस्कार – २०७० (बुबाको माया कृतिको लागि)
दिलसरी–दल अतिरिक्त पुरस्कार – २०७१ (राप्ती साहित्य परिषद्)

१३. जीवनका अविस्मरणीय क्षण
विजयराज आचार्यले जीवनमा थुप्रै तीतामीठा अनुभव गरेका छन् । आपूm सानो छँदा बाख्रा चराउन गएको, आपूmलाई मन पर्ने पाठो चितुवाले खाएको र आपूm हेरेको हे¥यै भएको घटना उनको स्मृतिमा ताजै छ । त्यस्तै कक्षा १० को अध्ययनपछि नेपालमा बस्न मन नलागेर उनी भारततिर पसे र त्यहाँ सानोतिनो काम गरी बसे । एकदिन सानो गल्तीको कारण हाकिमको हातबाट थप्पड खानु प¥यो । त्यसपछि उनमा देशको ममता जागेर आयो र रूअको देशमा हेपिएर बस्नुभन्दा बरू नेपालमै गई आफ्नै गाउँको झिम्रुक खोलामा हाम फालेर मर्ने विचारले उनी नेपाल फर्के । उनी आपूm प्रगतिशील विचारका भएकाले २०५८ सालमा छोरा विवेक जन्मिदा न्वारान गरेनन् र यही निहुँमा घरबेटीले आपूmले छोएको नखाएपछि कोठा सर्न बाध्य हुनु परेको थियो । संस्थागत आबद्धताका साथ काम गर्दाका उनका यस्ता अरू थुप्रै अविस्मरणीय क्षणहरू रहेका छन् ।
१४. विजयराज आचार्यको व्यक्तित्व
विजयराज आचार्यको व्यक्तित्व आन्तरिक र बाह्य गरी दुई प्रकारको छ । यसको प्रभाव उनका मौलिक कृतिहरूमा परेको छ । उनको आन्तरिक र बाह्य दुवै खाले व्यक्तित्वले साहित्यिक व्यक्तित्व निर्माण हुनुमा निर्णायक भूमिका खेलेको पाइन्छ ।
१४.१ बाह्य व्यक्तित्व
विजयराज आचार्य औसत नेपालीभन्दा हृष्टपुष्ट र खाइलाग्दा देखिन्छन् । ५ फिट ३ इञ्च अग्लाइ भएका विजयराज आचार्य शारीरिक बनौटका कारण मझौला आकृतिका भएर पनि ठूला गाला र डम्मको मोटा देखिन्छन् । मोटो शरीर, ठूलो गोलो टाउको, तेजिला आँखा, फराकिलो निधार र गोरो वर्णका आचार्य सधैँ हँसिला देखिन्छन् । उनी रातो रङ मन पराउँछन् भने उनी कुनै पनि रङको साधारण कपडा प्रयोग गर्दछन् । उनको आवाज न मसिनो न खस्रो ठिक्क किसिमको छ । साधारण जीवन मन पराउने आचार्य खानपिनमा त्यति सौखिन देखिँदैनन् । भान्सामा पाकेको कुरा खोट नलगाई खाने उनको बानी छ ।
१४.२ आन्तरिक व्यक्तित्व
बहुआयामिक व्यक्तित्वका धनी विजयराज आचार्यमा साहित्यिक व्यक्तित्वमा बालकथाकार, बालउपन्यासकार, बालजीवनीकार तथा बालअन्तर्वार्ताकार व्यक्तित्व आदि विभिन्न मुख्य आन्तरिक व्यक्तित्व रहेका छन् ।
१४.२.१ साहित्यिक व्यक्तित्व
विजयराज आचार्य २०५९ सालमा शान्तिको आत्मकथा (सचित्र बालकथा) लिएर औपचारिक रूपमा नेपाली बालसाहित्यमा देखापरेका हुन् । यसअघि उनले पत्रकारिता गरेको र अनुवाद गर्ने गरेको देखिन्छ । बालकथाबाट साहित्यिक यात्रा सुरु गरेका आचार्य बालउपन्यास, बालनाटक, बालअन्तर्वार्ता, जीवनी आदिमा कलम चलाई उत्कृष्ट बालसाहित्यकारका रूपमा स्थापित भइसकेका छन् । उनको साहित्यिक व्यक्तित्वलाई विधागत रूपमा निम्नानुसार प्रस्तुत गर्न सकिन्छ :
(क) बालकथाकार व्यक्तित्व
विजयराज आचार्यको साहित्यिक यात्रा बालकथाबाट भएको पाइन्छ । उनका हालसम्म ८ वटा सचित्र बालकथा र केही बालचित्रकथाका कृति प्रकाशित भएका छन् । शान्तिको आत्मकथा (२०५९) नै उनको पहिलो सचित्र बालकथा हो । यसका साथै झमककुमारी (२०६०), केवलपुरे किसान (२०६१), कान्छाकुमार (२०६३), बाटुली (बालकथासङ्ग्रह २०६६), श्यामप्रसाद शर्मा (२०६६), चितुवासँग जम्काभेट (२०६८), पाप पखाल्ने गङ्गा (बालकथासङ्ग्रह), (२०७१), स्मार्ट घर (बालकथासङ्ग्रह) (२०७४) रहेका छन् । यी सबै कृतिमा मुख्यतया बालबालिकाका समस्यामाथि प्रकाश पार्ने काम भएको छ । शान्तिको आत्मकथामा एउटी गरिब परिवारकी बालिकाले शिक्षा पाउनको लागि गरेको सङ्घर्षको कारुणिक कथा छ । झमककुमारीमा शारीरिक रूपमा कमजोर भएपछि आपाङ्गताका बाबजुद पाएको सफलताको कथा छ । केवलपुरे किसानमा देशप्रेम, सामाजिक परिवर्तनका लागि गरेको सङ्घर्षको कथा छ । कान्छाकुमारमा गरिबीले प्रतिभालाई रोक्न सक्दैन भन्ने र श्यामप्रसादमा राणाविरुद्ध उनले गरेका आन्दोलन र सफल जीवनको चित्रण पाइन्छ ।
यस्तै, बाटुली (२०६८), काँढे दुम्सी (२०६९), कोक्ले क्याँक ! कोकले (२०६९), चितुवासँग जम्काभेट (२०६८), म त स्कुल जान्न (२०६९), रमाइलो स्कुल (२०६९), आआफ्नो सुर (२०६९), बुवाको माया (२०६९), हजुरआमाको माया (२०७०), छोरीको माया (२०७०), आमाको माया (२०७०), छट्टु चङ्खे (२०७१), बुधनी (२०७३) र जेनिसको जन्मदिन (२०७३) उनका सचित्र बालकथाका कृतिहरू हुन् ।
(ख) बालउपन्यासकार व्यक्तित्व
विजयराज आचार्य बालउपन्यास विधामा पनि चर्चित भएका छन् । उनका परिवर्तन (२०६०), नयाँ बस्ती (२०६१) र हाम्रो आवाज (२०६१) जस्ता उपन्यास प्रकाशित भएका छन् । यी बालउपन्यासमा उनले सामन्ती संस्कारका कारण नेपालीले पाउने दुःख, गरिबीका कारण बालबालिकाले सडकमा पुग्नुपर्ने र सडक बालबालिकाका समस्या, बालबालिकाका आँसु बेचेर महल बनाउन पल्केका गैरसरकारी संस्थाहरूको फोहोरी चरित्रलाई प्रस्तुत गरेका छन् । साथै यी बालउपन्यासमा बालबालिकालाई स्वावलम्बी र आत्मनिर्भर हुन सन्देश दिइएको छ ।
(ग) बालजीवनीकार व्यक्तित्व
विजयराज आचार्यले बालजीवनीमा पनि कलम चलाएका छन् । उनले खासगरी जनताका पक्षमा कलम चलाउने, जनताका लागि राजनीति गर्ने, देश र जनताको लागि सहिद हुने र नेपालको राजनीतिमा महŒवपूर्ण भूमिका खेलेका विभिन्न व्यक्तिको जीवनी लेखेका छन् । उनको यस्तो पहिलो कृति अग्रज स्रष्टाहरू (२०६७) हो । यसमा कवि युद्धप्रसाद मिश्र, साहित्यकार हृदयचन्द्रसिंह प्रधान, कलाकार कुलमानसिंह भण्डारी, आख्यानकार रमेश विकल, मुक्तियोद्धा कवि गोकुल जोशी, सङ्घर्षशील साहित्यकार पारिजात, जनताका साहित्यकार जनकप्रसाद हुमागार्इं, जनताको बोली बोल्ने लेखक रुद्र खरेल र शहीद कवि कृष्णसेन इच्छुकका जीवनी रहेका छन् । दोस्रो कृति हाम्रा आस्थाहरू (२०६८) हो । यसमा जनताका नेता पुष्पलाल श्रेष्ठ, प्रजातान्त्रिक नेता विपी कोइराला, सर्वमान्य नेता गणेशमान सिंह, श्रमिक नेता निर्मल लामा, जननेता मदन भण्डारी, पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी, विद्रोही नेता रूपचन्द्र विष्ट र गणतन्त्रवादी नेता गिरिजाप्रसाद कोइरालाको जीवनी समावेश गरिएको छ ।
(घ) बालअन्तर्वार्ताकार व्यक्तित्व
विजयराज आचार्य बालअन्तर्वार्ताकार पनि हुन् । चम्किला चौध कोपिला (२०६०) उनको बालअन्तर्वार्ताको पहिलो सँगालो हो । उनले यी अन्तर्वार्ताहरू प्रायः नवप्रतिभा पत्रिकाको सम्पादकका रूपमा काम गर्दा लिएका हुन् । यसमा नेपालका तराई, पहाड, हिमाल तथा प्रवास समेतमा बस्ने तथा सङ्घर्ष गर्दै सुनौलो भविष्यको सपना बोकेका नेपाली बालबालिकाको फोटोसहित तिनका चम्किला विचार र जीवनको लक्ष्य प्रस्तुत गरेका छन् ।
(ङ) नाटककार व्यक्तित्व
उज्यालोको खोजीमा (२०६१) आचार्यको एकमात्र बालनाटक हो । यस नाटकमा स्वयम्बर हाङका जीवन्त चित्रहरू पनि राखिएको छ । सुखशान्ति र स्वतन्त्रताका लागि जनताले लडेर ल्याएको प्रजातन्त्र धरापमा परेको परिस्थिति र बोलीको ठेगान नभएका अनुत्तरदायी नेताको चरित्रको चित्रण गरिएको छ ।
(च) अनुवादक व्यक्तित्व
विजयराज आचार्य एक अनुवादक पनि हुन् । उनले २५ भन्दा बढी कृतिको अनुवाद गरेका छन् । तिनको सूची माथि दिइएको छ । उनले अनुवाद गरेका कृतिहरू सन्देशमूलक, नैतिक र आदर्शवादी शिक्षा दिने खालका छन् ।
१४.२.२ सम्पादक व्यक्तित्व
विजयराज आचार्यले विभिन्न साहित्यिक पत्रपत्रिकाको सम्पादन गरेका छन् । उनले काठमाडौँबाट प्रकाशित हुने बालपत्रिका नवप्रतिभाको २०५५(५७ सम्म सम्पादक भई काम गरेको पाइन्छ । यसैगरी नयाँ परिवेश, झिमु्रक सन्देश जस्ता साहित्यिक पत्रिकाको पनि सम्पादक भई काम गरेको पाइन्छ भने हाल उनी विवेक सिर्जनशील प्रकाशनबाट प्रकाशित बालपत्रिका हाम्रो बालबगैंचाका सम्पादक रहेका छन् । आचार्यले पत्रपत्रिकाका साथै बालसाहित्य सम्बन्धी कथा र नाटकको पनि सम्पादन गरेका छन् । प्रतिनिधि बालकथाहरू र प्रतिनिधि बालनाटकहरू उनले सम्पादन गरेका बालकृतिहरू हुन् ।
१४.२.३ प्रकाशक व्यक्तित्व
सिर्जनशील प्रकाशकका रूपमा २०५४ सालमा माओत्सेतुङ्गद्वारा लिखित ‘जनताको सेवा गर र पर्वत पन्छाउने बूढो मान्छे’ शीर्षकको सानो पुस्तिका प्रकाशन गरी यस क्षेत्रमा प्रवेश गरेका आचार्यले २०५८ सालदेखि थुप्रै पुस्तकको प्रकाशन गरिसकेका छन् । बालसाहित्यदेखि राजनीतिक तथा विभिन्न विद्वान्का विश्वप्रख्यात कृतिको समेत अनुवाद र प्रकाशन गर्दै आइरहेका छन् । कम्युनिस्ट विचारधाराका पुस्तक प्रकाशन गरेको आरोपमा २०५७ साल पुस सत्ताइस गते गिरफ्तार गरी ३ दिन बेपत्ता पारी तत्कालीन प्रशासनबाट उनलाई तीन महिनासम्म हनुमान ढोकामा हिरासतमा राखी यातना दिइयो । उनले भने बालबालिकाको स्वच्छ छवि निर्माण गर्न सहयोग पुग्ने पुस्तकको प्रकाशन गरेँ भन्दै गिरफ्तारीको बेवास्ता गरे । त्यसपछि त झन् उनी प्रकाशनमै केन्द्रित हुन पुगे भने पछि आएर आफ्नो प्रकाशनलाई सामूहिक प्रकाशन संस्थाका रूपमा विकास गर्न पुगे । यसले उनको प्रकाशनप्रतिको प्रतिबद्धतालाई झल्काएको छ ।
१४.२.४ सामाजिक व्यक्तित्व
आचार्य सामाजिक छन् । उनले समाजमा व्याप्त अन्याय, अत्याचार, भ्रष्टाचार, हत्या, हिंसा, शोषण, दमन, पीडा र दुःख आदिलाई देख्ने र भोग्ने मौका पाए भने त्यसले उनमा विद्रोही प्रवृत्तिको जन्म दियो । समाजका हरेक विकृतिको निर्मूल गर्न चाहने आचार्यले बालसाहित्यमार्फत आफ्ना क्रान्तिकारी विचार प्रस्तुत गरेका छन् । सानै उमेरदेखि सामाजिक भावना भएका आचार्य समाजबाट अत्यन्तै प्रभावित देखिन्छन् । त्यसैले आफ्ना रचनामा सामाजिक बेथितिका नमुनाहरू यथार्थ रूपमा प्रस्ट्याएका छन् । समाजका लागि तन, मन र वचनले सहयोग पु¥याउने आचार्य विभिन्न साहित्यिक र सामाजिक संस्थाहरूमा आबद्ध भई क्रियाशील रहेको पाइन्छ । समाजमा रहेका कुरीति, विकृति र विसङ्गतिमाथि क्रान्तिकारी सुधार चाहने उनले मानव, समाज र राष्ट्रको सेवा नै सबैभन्दा ठूलो धर्म वा पुण्य मानेका छन् । उनमा समाजका हरेक वर्ग, जाति, धर्म, पेसा र लिङ्ग तथा आर्थिक स्तरको मान्छेसँग समान व्यवहार गर्ने प्रवृत्ति पाइन्छ ।
स्वर्गीय पिता पीताम्बर आचार्य र दाजु चोपनिधि आचार्यको सम्झनामा आफ्नो जन्मथलोमा रहेको स्कुल श्री दाङवाङ माध्यमिक विद्यालय अमिलीलाई सहयोग स्वरूप फर्निचर र पुस्तक दिएर पीताम्बर(चोपनिधि पुस्तकालय निर्माण गरेका छन् । उनी आपूm जहाँ रहे पनि आफ्नो जन्मथलो दाङवाङमा शिक्षाको राम्रो प्रबन्ध भएको र त्यहाँका बालबालिकाले सहजै शिक्षा आर्जन गरेको हेर्न चाहन्छन्् । हिमाल, पहाडका अँध्यारा कुनामा शिक्षाको उज्यालो पुग्नुपर्छ भन्ने उनको धारणा छ ।
१४.२.५ राजनीतिक व्यक्तित्व
राजनीतिप्रति गम्भीर चासो राख्ने आचार्य वैचारिक रूपले कम्युनिष्ट विचारसँग नजिक छन् । मुलुकको राजनीतिक चिन्तन सत्ताकेन्द्री र सुविधाभोगी बन्दै गएको वर्तमान सन्दर्भप्रति उनको असहमति रहेको छ । उनी आपूm प्रगतिशील लेखक भएकाले देश र जनताका पक्षमा कलम चलाएर समाज परिवर्तनमा सानै भए पनि योगदान दिन चाहन्छन् । २०४४ सालदेखि राजनीतिमा संलग्न आचार्यले नेपाल कम्युनिस्ट पार्टी मशालको जनवर्गीय सङ्गठन अनेरास्ववियू (छैठौँ) को सदस्यता लिई दाङवाङ निमाविको एकाइ समितिको सदस्य भई राजनीतिक जीवनको आरम्भ गरेका हुन् । त्यसपछि जनप्रिय मावि, खिल्जी असुरकोटको एकाइ समितिको सदस्य, त्यसपछि अध्यक्ष, इलाका सदस्य, जिल्ला समितिको सदस्य हुँदै उपाध्यक्षसम्म भएका र पछि केन्द्रीय प्रकाशन विभागको सदस्यसमेत भएका हुन् । क्याम्पस स्तरीय विद्यार्थी सङ्गठनको निर्वाचनमा अनेरास्ववियु (छैठौँ) का तर्फबाट २०५१ सालमा कोषाध्यक्षमा र २०५६ सालमा सचिव (अनेरास्ववियू क्रान्तिकारीसँग संयुक्त रूपमा) समेत उम्मेदवारी दिई विद्यार्थी राजनीतिमा प्रत्यक्ष रूपमा सहभागी भएको पाइन्छ ।
१५. विजयराज आचार्यको साहित्यिक योगदान
विजयराज आचार्य मुख्यतः बालसाहित्यिक फाँटमा समर्पित भएर लागेका स्रष्टा हुन् । तसर्थ उनको योगदान भनेको विशेषतः बालसाहित्यमै रहेको छ ।
उनको प्रथम प्रकाशित रचना शान्तिको आत्मकथा बालकथा हो । यो बाटुली कथासङ्ग्रहमा सङ्गृहीत छ । उनले ९ बटा सचित्र बालकथा, ३ वटा बालउपन्यास, एउटा बालनाटक, एउटा बालअन्तर्वार्ता लेखेका छन् भने सयौँ कथा र नाटकको अनुवाद तथा सम्पादन पनि गरेका छन् । उनका अरू बालकथाहरूमा झमककुमारी, श्यामप्रसाद, केवलपुरे किसान, कुमारकान्छा, चितुवासँग जम्काभेट जस्ता सचित्र कथाहरू रहेका छन् । उनका बालकथाहरूमा सामाजिक, राजनीतिक, आर्थिक र मनोवैज्ञानिक पक्षको चित्रण गरिएको पाइन्छ । उनका बालकथाले समाजमा व्याप्त कुरीति, कुुसंस्कार, अन्याय, अत्याचार, शोषण, अपहेलना, राजनीतिक खराबीको अन्त्य गरी आशावादी जिन्दगीको बीजारोपण गरेका छन् । छोटाछरिता, रोचक, ज्ञानबद्र्धक र सन्देशमूलक उनका बालकथाले अभाव, गरिबी, सङ्घर्ष, पीडा, अपमान र रुढिवादी प्रवृत्तिको विरोध गरेका छन् । उनका बालकथाहरू प्रायः सार्वजनिक जीवनमा ख्यातिप्राप्त गर्न सफल व्यक्तिहरूको जीवनीमा आधारित भएका हुँदा कथाको शीर्षक, कथ्य विषय र सन्देशको उपयुक्त संयोजन भएको पाइन्छ । उच्चवर्गीय र निम्नवर्गीय पात्रहरूको स्वाभाविक चित्रण गर्दै उच्चवर्गका पात्रमा देखिने शोषण र दमनको चित्रण र निम्नवर्गको गरिबी, अभाव, अशिक्षा र सङ्घर्षलाई उनले आफ्ना कथामा स्थान दिएका छन् । जीवनीमा आधारित कथाहरू बढी भएकाले उनका बालकथामा निश्चित परिवेशको चित्रण भएको पाइन्छ । पात्रको जीवनसंँग सम्बन्धित परिवेशमात्र कथामा आएका छन् । गरिब, दलित, सडक बालबालिका, मजदुर, किसान आदिका दुःख, अभाव, बाध्यता र जीवनसङ्घर्षलाई उनले कथामा उतारेका छन् । उनका बालकथामा वर्णनात्मक, संवादात्मक र आत्मगत शैलीको प्रयोग पाइन्छ । रैखिक ढाँचाका उनका बालकथाहरू प्रथम पुरुष कथनपद्धतिमा लेखिएका छन् भने कतै तृतीय पुरुष शैली पनि प्रयोग भएको छ । साधारण बोलीचालीको भाषा एवम् सरल र छोटा वाक्य गठन भएका उनका बालकथामा सङ्क्षिप्तता र गहनता पाइन्छ ।
विजयराज आचार्यका तीन बालउपन्यासमध्ये परिवर्तन (२०६०) नै पहिलो बालउपन्यास हो । यसका अतिरिक्त उनका नयाँ बस्ती (२०६१) र हाम्रो आवाज (२०६१) रहेका छन् । परिवर्तन उपन्यासले विविध कारणले अभिभावक र घरबाट टाढा भएपछि सडकमा जीवन बिताउन बाध्य सडक बालबालिकाको दिनचर्या, उनीहरूमाथि विभिन्न व्यक्ति र समाजले गर्ने अन्याय, दुव्र्यवहार, श्रमशोषण, अपमान आदिको चित्रण गरेको छ भने सकारात्मक सोच र एकता भएमा सडक बालबालिकाले पनि सम्मानित र मर्यादित जीवन बिताउन सक्छन् र समग्र जीवनमा परिवर्तन आउँछ भन्ने उदाहरण प्रस्तुत गरेको छ ।
दोस्रो उपन्यास नयाँ बस्तीले पनि समाजमा व्याप्त जातपातको भेदभाव, ठूला भनाउँदा जिम्मालहरूले गरिब र दलितमाथि गर्ने अमानवीय व्यवहार, गरिब दलितको आर्थिक अवस्था आदि विषयलाई समेटेको छ भने यसका विरुद्ध आवाज उठाई अर्काको मुख ताक्ने बानी छोड्न सकेमात्र पुरानो विचार र संरचना भत्काएर नयाँ बस्ती बनाउन सकिन्छ भन्ने सन्देश दिएको छ । द्वन्द्वका दृष्टिले वर्गीय द्वन्द्व सशक्त रहेको यस उपन्यासमा मिश्रित दृष्टिविन्दु रहेको देखिन्छ ।
त्यस्तै उनको तेस्रो बालउपन्यास हाम्रो आवाजमा पनि सडक बालबालिकाको समस्यालाई नै उठाइएको छ । यसका साथै यसले सडक बालबालिकाको नाममा डलरको खेती गर्ने गैरसरकारी संस्थाको घिनलाग्दो अनुहार प्रस्तुत गरेको छ । धनी वर्गको अन्याय सहन नसकी र अरू विविध कारणले सडकमा पुगेका बालबालिकाको अवस्था, समस्या र तिनका नाममा गैरसरकारी संस्थाले गर्ने गरेको ठगीको बारेमा सबैमा जानकारी पु¥याउनु नै यस उपन्यासको उद्देश्य रहेको छ । यसमा पनिसमाज र गाउँसहरमा घट्ने घटनालाई उपन्यासको विषयवस्तु बनाइएको छ ।
नेपालीमा बालनाटक कम लेखिएको अवस्थामा विजयराज आचार्यले उज्यालोको खोजीमा बालनाटकको रचना गरेका छन् । यहाँ नेताहरूले आफ्नो हक र अधिकारका लागि रगत र पसिना एक गरी हासिल गरेको शक्ति र स्वतन्त्रताको दुरुपयोग गरेपछि जनता फेरि आन्दोलनमा उत्रन बाध्य हुनुपर्दछ भन्ने विषयलाई नाटकीकरण गरिएको छ । नाटकमा बाबु, छोरा र नेता गरी तीन पात्रहरू छन् । आन्दोलनले रगताम्मे भएको सडकमा आन्दोलनका बारेमा बाबु र छोराबीच भएको संवादलाई नै नाटकको रूप दिइएको छ । यहाँ जनताको विश्वासलाई नेताहरूले कसरी तोड्छन् भन्ने देखाइएको छ । नेताले गरेको कुकर्मको प्रायश्चित स्वरूप जनतासामु सार्वजनिक रूपमा माफी मागे मात्र जनताले माफ गर्ने विचार व्यक्त भएको छ ।
यसरी विजयराज आचार्य मुख्यतः बालसाहित्यिक फाँटमा समर्पित भएर लागेका स्रष्टा हुन् भने त्यसमा पनि बालकथा, बालउपन्यास र बालनाटकमा उनको योगदान प्रस्ट देखिन्छ ।
१६. निष्कर्ष
यसरी विजयराज आचार्य २०३३ सालमा प्युठानको दाङवाङ–४, च्यान्धारामा पीताम्बर आचार्य र मनकला आचार्यका सातौँ सन्तानका रूपमा जन्मेका हुन् । मध्यम वर्गीय परिवारमा जन्मेका आचार्यको बाल्यकाल दुःखकष्टका साथ बितेको हो भने उनका रचनामा त्यसको स्पष्ट प्रतिबिम्ब देखिन्छ । २०५६ सालमा २६ वर्षको उमेरमा पुष्पा भुसालसँग प्रगतिशील विवाह गरेका आचार्यका एक छोरा र एक छोरी रहेका छन् । मध्यमवर्गीय परिवारमा जन्मेका आचार्यले पुख्र्यौली सम्पत्तिमा कुनै लोभ नगरी आफ्नै परिश्रम र मिहिनेतले कीर्तिपुरको टौदहमा घर बनाएका छन् । उनको आम्दानीको मुख्य स्रोत बालसाहित्य लेखन र प्रकाशन देखिन्छ । उनले आफ्नै जीवनका आरोह–अवरोह र अनुभवबाट साहित्यमा लाग्ने प्रेरणा पाएको देखिन्छ ।
जीवन र साहित्यबारे प्रत्येक साहित्यकारको आआफ्ना दर्शन र धारणा हुन्छन् । यिनै दर्शन र धारणाको आधारमा कुनै पनि साहित्यकारले साहित्य रचना गर्दछन् । व्यक्तिको सोच, समाज, परिवेश, संस्कार र मान्यता उसको रचनामा हावी हुन्छ भन्ने धारणा राख्ने आचार्य साहित्यमा समाजको वास्तविकतालाई उजागर गर्नु पर्नेमा जोड दिन्छन् । बालसाहित्यमा उडन्ते, परी, भूतप्रेतका कथा भिœयाएर बालसाहित्यको यथार्थलाई ओझेलमा पार्नुभन्दा समाजमा घट्ने वास्तविक घटनालाई साहित्यको विषयवस्तु बनाएमा सामाजिक यथार्थको बारेमा बालबालिका जानकार हुन्छन् र अगाडि बढ्ने मार्ग प्रशस्त हुन्छ भन्ने विश्वास गर्दछन् । समाजमा बसेपछि समाजको हितको भावना राखी साहित्य लेखिनु पर्दछ र आपूm समाजप्रति उत्तरदायी हुनुपर्दछ भन्ने उनको दर्शन रहेको छ ।
विजयराज आचार्यले बालकथा, बालउपन्यास, बालजीवनी, बालअन्तर्वार्ता, बालनाटकमा कलम चलाएका छन् भने उनले अनुवाद, सम्पादन, प्रकाशनको काम पनि गरेका छन् । उनले मुख्यतः आख्यानमा कलम चलाएको पाइन्छ । उनले रवीन्द्रनाथ टैगोर, लुसुन र टोल्सटोयजस्ता महान् नाटककारका बालनाटकहरू नेपाली भाषामा अनुवाद समेत गरेका छन् । आचार्यको बालसाहित्य लेखनको मुख्य स्रोत आफ्नै जीवनभोगाइ, समाज, परिवेश, राष्ट्रप्रेम, समाजमा व्याप्त विकृति–विसङ्गति, राजनीतिक अवस्था, मानवीय संवेदना र मनोविज्ञानजस्ता विभिन्न क्षेत्रहरू रहेका छन् । विजयराज आचार्यले बालकथाको रूपमा बालजीवनीको रचना गरेका छन् । उनले झमककुमारी, केवलपुरे किसान, कान्छाकुमार, श्यामप्रसादजस्ता कृतिमा प्रख्यात साहित्यकार र कलाकारको जीवनका यथार्थलाई आत्मकथा शैलीमा बालकथाको रूपमा प्रस्तुत गरेका छन् । यो उनको नयाँ र मौलिक विशेषता हो ।
यसरी सामाजिक, आर्थिक विषयका साथै गरिब, दलित, बालबालिका, बालश्रमशोषण, बालयौनशोषण, आर्थिक शोषण जस्ता विभिन्न विषयवस्तुलाई आफ्ना रचनामा प्रस्तुत गर्दै विजयराज आचार्य नेपाली बालसाहित्यमा निरन्तर क्रियाशील छन् । बालसाहित्यका क्षेत्रमा निरन्तर अगाडि बढिरहेका आचार्य अनवरत सक्रिय र क्रियाशील भएकाले उनलाई नेपाली बालसाहित्यका सशक्त र सक्रिय साधकका रूपमा लिन सकिन्छ । बालकृतिमा विवादित विषयभन्दा जीवनका तमाम सुन्दर विषय र पक्षको प्रयोग गरी बालबालिकासमक्ष प्रस्तुत गर्नु उपयुक्त हुन्छ । यसमा उनी कतै चुकेका पनि छन् । विषयगत, स्तरगत र तथ्यगत केही कमीकमजोरी रहे पनि उनका बालकृतिले उनलाई एक सक्रिय र सशक्त बालसाहित्यकारका रूपमा चिनाएका छन् । यस्तै पर्याप्त नभए पनि उनले बालसाहित्यमा गरेका यस्ता योगदानको परिणाम स्वरूप उनले विभिन्न संस्थाबाट बालसाहित्य पुरस्कार पनि प्राप्त गरेका छन् । उनी अद्यापि लेखनमा क्रियाशील रहिरहेकाले अहिल्यै उनका योगदानको अन्तिम मूल्याङ्कन गर्ने समय भइसकेको छैन भन्ने कुरा पनि उठ्न सक्छ, तापनि उनका अहिलेसम्मका साहित्यकर्मबाट उनी नेपाली साहित्यको समुत्थानमा समर्पित अग्रणी युवासाहित्य साधक हुन् भन्ने निष्कर्षमा पुग्न सकिन्छ ।
सन्दर्भसूची
आचार्य, विजयराज (२०५९). शान्तिको आत्मकथा. काठमाडौँ : विवेक सिर्जनशील प्रकाशन ।
..., ... (२०६०). चम्किला चौध कोपिला. काठमाडौँ : विवेक सिर्जनशील प्रकाशन ।
..., ... (२०६०). झमककुमारी. काठमाडौँ : विवेक सिर्जनशील प्रकाशन ।
..., ... (२०६०). परिवर्तन. काठमाडौँ : विवेक सिर्जनशील प्रकाशन ।
..., ... (२०६१). केवलपुरे किसान. काठमाडौँ : नागार्जुन साहित्यिक प्रतिष्ठान ।
..., ... (२०६१). नयाँ वस्ती, काठमाडौँ : विवेक सिर्जनशील प्रकाशन ।
..., ... (२०६१). हाम्रो आवाज. काठमाडौँ : विवेक सिर्जनशील प्रकाशन ।
..., ... (२०६३). कान्छाकुमार. काठमाडौँ : विवेक सिर्जनशील प्रकाशन ।
..., ... (२०६६). बाटुली. काठमाडौँ : साझा प्रकाशन ।
..., ... (२०६६). श्यामप्रसाद. काठमाडौँ : विवेक सिर्जनशील प्रकाशन ।
..., ... (२०६७). अग्रज स्रष्टाहरू. काठमाडौँ : विवेक सिर्जनशील प्रकाशन ।
..., ... (२०६८). चितुवासँग जम्काभेट. काठमाडौँ : विवेक सिर्जनशील प्रकाशन ।
..., ... (२०६८). हाम्रा आस्थाहरू,. काठमाडौँ : साझा प्रकाशन ।
कसजू, विनयकुमार (२०६३). बालकथा लेखन. काठमाडौँ : विवेक सिर्जनशील प्रकाशन ।
खड्का, शर्मिला (२०६६). ‘नेपाली बालसाहित्य र विजयराज आचार्य’.शब्दसंयोजन. (६:४), पृ. ४०–४६ ।
प्रधान, प्रमोद (२०६९). नेपाली बालसाहित्यको इतिहास. तेस्रो संस्करण. काठमाडौँ : विवेक सिर्जनशील प्रकाशन ।
..., ... (२०६५). नेपाली बालवाङ्मय परिचय कोश. काठमाडौँ : मार्टिन चौतारी ।
भट्टराई, डिजन (२०६७). ‘विजयराज आचार्यका बालसाहित्यमा समाजवादी अन्तर्वस्तु’. जनमत. (२७:११), पृ. ३०–३४ ।
भट्टराई, पूर्णकला (२०६९), ‘विजयराज आचार्यको जीवनी, व्यक्तित्व र कृतित्व’, त्रि.वि. पद्मकन्या बहुमुखी क्याम्पस, नेपाली विभागमा प्रस्तुत स्नातकोत्तर शोधपत्र (डि.भ.) ।
श्रेष्ठ, चंकी (२०६१), ‘सुन्दर संसारको परिकल्पना’. नयाँ बस्ती (भूमिका), पृ. ३ ।
..., ... (सम्पा.) (२०६२), शब्द, स्पर्श र अनुभूति. काठमाडौँ : विविध पुस्तक भण्डार ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 14 पौष, 2074

लेखकका अन्य रचनाहरु