तातेसिनामा हाइकु गोष्ठी र सौनाबाथ

- प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल

जापान यात्राको पृष्ठभूमि
हालसम्म स्वदेश र विदेशका अनेक ठाउँमा यात्रा गरियो । यसमा पनि विदेश यात्रा नै बढी गरियो होला । अहिलेसम्म गरिएका मेरा प्रायः सबै यात्रा पर्यटकीय ढाँचाका नभई औपचारिक प्रकृतिका रहेका छन् । कहिले अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन, कहिले विभिन्न विषयक प्रशिक्षण कार्यक्रम त कहिले विभिन्न विषयक कार्यपत्र प्रस्तुति आदिका सिलसिलामा विभिन्न ठाउँको यात्रा गरियो । विशुद्ध पर्यटक भएर चाहिँ आजसम्म कतै पनि यात्रा गरिएको छैन भने पनि हुन्छ । विभिन्न औपचारिक कार्यक्रममा जा“दा यसो अघिपछि पारेर मौका मिलेको बेला यताउति डुल्ने मात्र हो ।
अहिलेसम्म शैक्षिक–प्राज्ञिक गोष्ठी, भाषिक प्रशिक्षण, परीक्षा पर्यवेक्षण आदिका सन्दर्भमा नेपालका अधिकांश जिल्ला डुलियो भने साहित्यिक एवं भाषिक कार्यक्रमका सिलसिलामा बेलायत, अमेरिका, क्यानडा, अस्ट्रेलिया, बेल्जियम, नेदरल्यान्ड, लक्जेम्बर्ग, फ्रान्स, जर्मनी, डेनमार्क, स्विडेन, जापान, टर्की, हङ्कङ, बर्मा, बङ्गलादेश, चीन, भुटान, भारत, मध्यपूर्वका बहराइन, साउदी अरब, कतारलगायत नेपाली जातिको बसोबास रहेको संसारका थुप्रै देश डुलियो । यी अनेक देशमा आयोजित साहित्यिक एवं भाषिक कार्यक्रममा कतै प्रमुख अतिथि, कतै विशिष्ट अतिथि, कतै कार्यपत्र प्रस्तोता, कतै प्रमुख वक्ता आदि विभिन्न भूमिकामा पुगियो । यी सबैजसो ठाउ“मा यात्रा गर्ने बेला प्रायः हतपत नै भएको छ । यताका आफ्ना जिम्मेवारी मिलान गर्नुपर्ने र कहिले आफ्नै कार्यव्यस्तताले भिसा आवेदनमा ढिलाइलगायतका कारणले पनि यात्रा हतपतमै गर्नुपर्ने स्थिति पैदा भएको हो ।
विदेश यात्राकै सिलसिलामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा सन् २०१५ सेप्टेम्बर १८–२२ मा जापानको राजधानी टोक्योमा आयोजित चौथो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनमा जानुपर्ने भयो । जापानमा गरिएको यो यात्रा पनि हतपतमै गर्नुपर्यो । म अनेसासको केन्द्रीय सल्लाहकार तथा त्यस सम्मेलनको प्रमुख सल्लाहकार भएको नाताले सम्मेलनको समय मात्र होइन, सम्मेलनसम्बन्धी यावत् गतिविधिबारे सुरुदेखि नै पूर्ण परिचित थिएँ । तैपनि के–के गर्दागर्दै अन्त्यमा जान हतपत नै भयो । सम्मेलन तयारी समितिले सम्मेलनको मोटामोटी खाकासहितको सम्मेलन झलक पनि प्रकाशित गरिसकेको थियो । यस्ता अन्तर्राष्ट्रिय सम्मेलनका लागि छपाइलगायतका सामग्री तय गर्ने काम नेपालमै हुनेगर्छ र कार्यक्रममा सहभागी हुनेहरूले सबै सामग्री लिएर जाने प्रचलन छ ।

जापानमा लगेज हराउ“दाका छटपटी
१७ सेप्टेम्बरका दिन बेलुका ड्रयागन एयरबाट जापान प्रस्थान गरियो । यस पटकको जापान यात्राको टोली त्यति जम्बो थिएन । टोलीमा अनेसासका वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकाली, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, लक्ष्मीकान्त शर्मा पौडेल ‘लकाश’, सविता गौतम दाहाल र डिल्लीमाया सिटौला थियौँ । हामी ढाका हुँदै हङ्कङ पुग्यौँ । हङ्कङबाट क्याथे प्यासिफिक एयरमा जापान पुग्यौँ । जापानको हानेदा एअरपोर्टमा हामीलाई लिन अनेसासका उपाध्यक्ष एवं कार्यक्रम संयोजक प्रकाश पौडेल ‘माइला’, अनेसास जापान च्याप्टरका अध्यक्ष एवं कार्यक्रमका उप–संयोजक आलोक चालिसेलगायतका व्यक्तिहरू आएका थिए । समुद्रमाथि निर्मित एउटा अनौठै विमानस्थलमा पर्छ – हानेदा ।
जहाजबाट उत्रिएर इमिगे्रसनका सामान्य प्रक्रिया पूरा गरी सामान लिने ठाउँमा पुग्दा मेरो लगेज कतै छुटेर हराएको जानकारी प्राप्त भयो । मेरो मात्र होइन सविताको पनि लगेज हराएको रहेछ । नेपालबाट जहाजमा हालिएकै हो । हङ्कङमा ट्रान्जिट भएकाले त्यतै छुटेको हुनुपर्छ भन्ने अनुमान गरियो । त्यहा“का कर्मचारी अङ्ग्रेजी प्रायः बोल्दा रहेनछन् । आलोकले जापानीमै कुरा गरे । हामीस“ग उनीहरूले क्षतिपूर्ति दिने कुरा गरे । मैले क्षतिपूर्ति होइन आफ्नो ब्याग नै चाहिने कुरामा जोड दिए“ । त्यहाँ आलोकले कुटनीतिक सन्दर्भ पनि जोडेर के–के कुरा गरे । सामान तुरुन्त प्राप्त नभए तिमीहरूको लापरवाहीका बारेमा जापान सरकारस“गै कुरा गर्ने भनेपछि तिनीहरू अलि बढी गम्भीर भए । हङ्कङमा बुझ्दा त्यहाँ केही लगेज छुटेको कुरा पत्ता लाग्यो । त्यो कुरा उनीहरूले हामीलाई बताए । उनीहरूले सुटकेसको रङ्ग बताएपछि मेरै भएको जानकारी प्राप्त भयो । यसै बीचमा मैले कतै नेपालमै छोडियो कि भनेर सम्पर्क गरिसकेको थिए“ र नेपालमा नछुटेको जानकारी मलाई उच्च स्रोतबाट प्राप्त भइसकेको थियो । मेरा लगेजमा मेरा व्यक्तिगत प्रयोजनका सामग्री, कार्यपत्र, लुगाफाटो आदि मात्र नभएर सम्मेलनका लागि अत्यावश्यक सामग्री पनि थिए ।
लगेज आइपुग्नेबित्तिकै होटलमै ल्याइदिने सर्तमा हामी एअरपोर्टबाट बाहिरियौँ । थोरै अगाडि बढ्ने बित्तिकै त्यहाँ एकप्रकारको अनौठो वासना मेरो नाकले ठम्यायो । त्यसको लगत्तैपछि घा“टी खिसखिस गरेर बोल्न नै असजिलो हुन थाल्यो । काठमाडौँको यत्रो धुलोधुवाँ पचाइसकेको मान्छे मलाई त्यहाँको सामान्य दुर्गन्धले कसरी असर गर्यो पत्तो भएन । हामीलाई बस्ने व्यवस्था गरिएको होटेलमा सामान थन्क्याउनेबित्तिकै आलोक मलाई लिएर डाक्टरकहाँ गए । यहाँ भए त्यत्तिको घाँटी खिसखिस गर्दा यसो औषधि पसलमा गएर औषधि किनेर खाँदा भइहाल्थ्यो । त्यहाँ डाक्टरको प्रेस्किप्सनविना सामान्य औषधि पनि किन्न पाइँदैन । जापानको मात्र होइन अन्य विकसित मुलुकको स्थिति पनि यस्तै छ ।
आलोकले मलाई त्यहा“को राम्रै अस्पतालको डाक्टरकहाँ पुर्याए । ती डाक्टर अङ्ग्रेजी पटक्कै जान्दा रहेनछन् । डाक्टरले अङ्ग्रेजी नजानेको वा उनमा अङ्ग्रेजी भाषाप्रति घृणा रहेको भन्ने कुरा बुझ्न मलाई गारो भयो । जे होस् उनी अङ्ग्रेजी नजान्ने, म जापानी नजान्ने भएपछि परेन त फसाद । आलोकले सबै कुरा जापानी भाषामा बताए । डाक्टरले उनलाई जापानी भाषामै मलाई टिबी भएको हुनसक्ने सम्भावना भएकाले कडा निगरानीमा राख्नुपर्ने कुरा बताएछन् । भोलिपल्टको कार्यक्रममा सर्वप्रमुख भूमिका भएको मान्छेलाई डाक्टरले त्यसो भनिदिँदा आलोक निकै चिन्तित देखिए । मैले उनलाई चिन्ता नगर्नु सब ठीक हुन्छ भने“ । उनले डाक्टरसँग यो मान्छे नेपालको ठूलो प्रोफेसर हो आदि के–के भनेपछि डाक्टर थोरै कन्भिन्स भएजस्तो देखिए र औषधि लेख्न थाले । त्यसपछि हामी औषधि लिन निकै पर गयौँ । त्यहाँ हाम्रोमा जस्तो जताततै औषधि पसल रहेनछन् ।
कसो एक महिनासम्म त्यही कडा निगरानीमा परिएन । त्यतिको खोकी लाग्दा कडा निगरानीमा राख्नुपर्ने भए राज्यको ढुकुटीमा औषधोपचारका लागि विदेश जाने तथाकथित केही नेताबाहेक सबै नेपालीलाई राख्नुपर्ने हुन्छ ।
त्यहाँबाट औषधि लिएर हामी होटेलमा पुग्यौँ । ‘सरलाई निको भएन भने भोलिको कार्यक्रम सारै खल्लो हुने भो’ भन्दै आलोकले निकै चिन्ता व्यक्त गरे । सरका लुगा छुटेर केही छैन, सर निको हुनुभयो भने लुगा त तत्काल
किन्न वा सिलाउन पनि सकिन्छ । मेरै सुट पनि सरलाई ठीक हुनसक्छन् भन्दै उनी मेरो स्वास्थ्य र कार्यक्रमकै बारेमा चिन्तित थिए । चिन्ता नगरौँ सब ठीक हुन्छ भन्दै म उनलाई ढाडस दिइरहेको थिएँ । रमेश विकलका नाति, विजय चालिसेका छोरा आलोक निकै भलाद्मी रहेछन् । म उनका बुबाको मात्र नभई हजुरबाको समेत साथी भएकाले उनले मलाई निकै आदर गरे ।
लगेज छुटेकाले मसँग फेर्ने लुगासमेत थिएन । त्यहाँ नजिकै पसल पनि रहेनछ र उनीहरू बसेको ठाउँ पनि निकै टाढा रहेछ । त्यसै दिन अन्तर्राष्ट्रिय सहभागीहरूको स्वागतमा रात्रिभोज र परिचयात्मक कार्यक्रम राखिएको थियो । म एकछिन सहभागी भएर फर्किएँ र औषधि खाएर सुतेँ । त्यहाँको होटेलका कोठाचाहिँ नमुना लायक साना थिए । होटेलको एउटा कोठामा लकाश र म थियौँ । म केही बेर निदाएर बिउँझदा खासै फरक परेको लागेन । त्यसपछि मैले यतैबाट लगेको औषधि पनि खाएँ । कुनचाहिँ औषधिले काम गर्यो बिहान उठ्दा निकै ठीक भइसकेको रहेछु ।

चौथो सम्मेलनका गतिविधि
१९ सेप्टेम्बरका दिन बिहान पूर्वनिर्धारित बिहानी यात्रा स्थगित गरियो । बिहानै होटेलमै मेरो लगेज आइपुग्यो । त्यो ल्याउनाका लागि मेरी चेली इन्दु बरालका श्रीमान् केशव पोखे्रलले पनि सहयोग गरे । उनी मेरी चेलीका श्रीमान् भएको कुराचाहिँ पछि मात्र उनैबाट थाहा भयो ।
कार्यक्रम आयोजना गरिएको स्थल इकेगामी हल होटलबाट त्यति टाढा रहेनछ । लगेज आइपुगेकाले मैले दौरासुरुवाल लगाएँ । म विदेशमा आयोजित सबै औपचारिक कार्यक्रममा दौरासुरुवाल नै लगाउ“छु । मलाई कार्यक्रमस्थल इकेगामी हल इकेगामीमा पुर्याइयो । अरू को–को कताकता बसेका थिए पत्तो भएन । सबैसँग त्यहीँ भेट भयो ।
अनेसासका केन्द्रीय अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा प्रारम्भ भएको कार्यक्रमको पहिलो सत्र अर्थात् उद्घाटन सत्रमा राष्ट्रियगान, कार्यक्रमको उद्घाटनलगायतका औपचारिकता पूरा गरियो । यस कार्यक्रममा स्वागत मन्तव्य प्रस्तुत गर्ने काम अनेसासका केन्द्रीय उपाध्यक्ष तथा चौथो सम्मेलनका संयोजक प्रकाश पौडेल ‘माइला’ले र कार्यक्रमको उद्देश्य र महत्त्वमाथि प्रकाश पार्ने काम अनेसासका वरिष्ठ उपाध्यक्ष राधेश्याम लेकालीले गरेका थिए । यसै अवसरमा विभिन्न व्यक्तिहरूका शुभकामना पनि वाचन गरिए । यस कार्यक्रमको सञ्चालन अनेसास जापान च्याप्टरका महासचिव विष्णुप्रसाद घिमिरेले गरेका थिए ।
यही सत्रमा विभिन्न व्यक्तिहरूलाई अवार्ड र सम्मान समर्पण गरिएको थियो । अनेसास विशिष्ट सम्मानद्वारा प्रा.डा. खगेन्द्रप्रसाद लुइटेललाई सम्मानित गरियो । उनलाई विशिष्ट सल्लाहकार सम्मान पनि प्रदान गरियो । मोहन सिटौला, भवन भट्ट, माइकल हट, डा. कुमार बस्नेत, डा. रूपक श्रेष्ठ, भीमसेन सापकोटा र डा. कविता लामालाई अनेसास हिरो प्रदान गरियो । उत्कृष्ट च्याप्टर अध्यक्षमा नेपाल च्याप्टरका अध्यक्ष समेत रहेका राधेश्याम लेकालीलाई सम्मान गरियो । सोही अवसरमा विभिन्न कृतिहरूको विमोचनपश्चात् अनेसासको केन्द्रीय सल्लाहकार तथा त्यस सम्मेलनको प्रमुख सल्लाहकार प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल, जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराई, गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यÔ भवन भट्ट, संस्थापक अध्यक्ष होमनाथ सुवेदी, कुलपति गङ्गाप्रसाद उप्रेतीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संस्थाका अध्यक्ष पदम विश्वकर्माले अनेसास जापान च्याप्टरलाई प्रशंसापत्र प्रदान गरेका थिए । धन्यवादज्ञापन सोही च्याप्टरका अध्यक्ष आलोक चालिसेले गरेका थिए भने उद्घाटन सत्रको समापन पदम विश्वकर्माले गरेका थिए । यस सम्मेलनको संयोजक प्रकाश पौडेल ‘माइला’ र उप–संयोजक आलोक चालिसे थिए । कार्यक्रम सफल बनाउन यी दुवैको चिन्ता, चासो र सक्रियता प्रशंसनीय थियो ।
खानपिनपश्चात् कार्यक्रमको दोस्रो सत्र सुरु भयो । सो समारोहमा प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले ‘डायस्पोरा र नेपाली साहित्यको विश्वव्यापीकरण’ शीर्षक कार्यपत्र प्रस्तुत गरेका थिए । त्यस कार्यपत्रमाथि विशेष छलफल र विचारविमर्श पनि भएको थियो । अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीले ‘अनेक डायस्पोराको साहित्य र नेपाली साहित्यको विश्वव्यापीकरण’ शीर्षकको कार्यपत्र प्रस्तुत गरेपछि तिलक मल्लले ‘जापानमा नेपाली साहित्यको विकास’ शीर्षक कार्यपत्र प्रस्तुत गरेका थिए । यस सत्रको समापनपछि रात्रिभोजका साथ सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । राती सुताउन भने कताकता लगे पत्तो भएन, तैपनि टोक्योको रात्रि भ्रमण रमाइलै भयो । यस्ता विविध गतिविधिमा अरुण पौडेल, दीप पाठक, देवीलाल भण्डारी, धीषण निरौला, नारायण क“डेल, पुष्करजङ थापा, सालिकराम भण्डारी, गोविन्द थकाली, यम खड्का, पेम्बा लामा, दण्डपाणि कँडेल ‘राजु’, श्रवण सत्याल, रविन शर्मा, गिरिजा गैरे, जीवन अर्याल, पीताम्बर चापागाईं, रामकृष्ण बम मल्ल आदिको विशेष सक्रियता रहेको देखिन्थ्यो ।
त्यहाँ कार्यक्रमस्थलमै मलाई भेट्न निकै टाढाबाट उद्धव लुइटेललगायतका मेरा विद्यार्थी आएका थिए । विदेशी भूमिमा यसरी विद्यार्थीहरूस“ग भेटघाट हुँदा मलाई पनि निकै खुसी लाग्छ ।
२० सेप्टेम्बरको पहिलो सत्रमा ‘नेपाली साहित्यको अन्तर्राष्ट्रियकरण’, ‘डायस्पोरा नेपाली साहित्यको विकासमा अनेसास’, ‘अनेसासका गतिविधि’ आदि विषयमा सामूहिक छलफल र विचारविमर्श गरियो ।
दिवाभोजपश्चात्को दोस्रो सत्रमा विशेष काव्यगोष्ठी सम्पन्न गरियो । त्यस काव्यगोष्ठीमा थुप्रै कविहरूले कविता वाचन गरेका थिए र तिनको समीक्षा पनि गरिएको थियो ।
कार्यक्रमको तेस्रो सत्रमा टोक्यो घोषणापत्र जारी गर्दै प्रा.डा. खगेन्द्रप्रसाद लुइटेल, गङ्गाप्रसाद उप्रेती, पदम विश्वकर्मा, संयोजक प्रकाश पौडेल ‘माइला’ लगायतको सङ्क्षिप्त मन्तव्यका साथ कार्यक्रम समापन गरियो । घोषणा–पत्र समितिका संयोजक दिनेशराज ज्ञवालीले ६ बुँदे टोक्यो घोषणा–पत्र पढेर सुनाएका थिए ।
त्यसै दिन त्यही समय नेपालमा संविधान घोषणा हुँदै थियो । यो कार्यक्रम समापनको लगत्तैपछि त्यही ठाउँमा जापानमा बसोबास गर्ने नेपालीहरूका विभिन्न सङ्घसंस्थाहरूद्वारा आयोजित संविधान घोषणा खुसीयाली कार्यक्रममा पनि आमन्त्रण गरेकाले सहभागी भइयो । नेपालमा संविधान घोषणा हुँदै गरेको दृश्य पनि हेरिँदै थियो । त्यहाँ मलाई पनि मन्तव्य राख्ने अवसर दिइएको थियो । मैले त्यस अवसरमा ‘लामो समय लगाएर निर्माण गरिएको संविधान घोषणा हुनु रामै्र हो तर यो लागु कसरी गरिन्छ हेर्नु जरुरी छ । घोषणापूर्व नै संशोधनका कुरा आउनु सकारात्मक पक्ष होइन । नेपालमा संविधानभन्दा बढ्ता शान्ति र विकासको आवश्यकता छ...’ भन्ने मन्तव्य प्रस्तुत गर्दा हलबाट तालीको गडगडाहट गुन्जिएको थियो ।
संविधान घोषणासम्बन्धी कार्यक्रमको समापनपछि सबैजना रात्रिभोजमा सहभागी भइयो । यस कार्यक्रमलाई जापानमा पहिलो पटक भएको सबभन्दा ठूलो साहित्यिक मेला भनेको धेरैतिर सुनियो । त्यो भनाइ सत्य पनि थियो । आयोजकहरू निकै खुसी देखिन्थे ।

तातेसिनामा सौनाबाथ
२१ सेप्टेम्बरका दिन एनआरएनका केन्द्रीय उपाध्यक्ष भवन भट्टको सौजन्यमा टोक्योबाट २०० किलोमिटर टाढा नागोना जिल्लाको तातेसिना भन्ने ठाउँमा अवस्थित उनकै रिसोर्ट होटलमा हाइकुसम्बन्धी विशेष कार्यक्रम र सम्मेलनको समापन कार्यक्रम राखिएको थियो । आयोजकहरूले संसारका विभिन्न मुलुकबाट आएका पाहुना र जापानमै बसेका नेपालीहरू गरी पचासजना जतिलाई त्यहाँ पुर्याउने व्यवस्था गरेका थिए । म प्रकाश पौडेलको भागमा परेको थिएँ । साथमा प्रकाशकी श्रीमती भूमिका, राधेश्याम लेकाली र रिपेश गुप्ता पनि थिए । प्रकाशको ड्राइभिङमा हामी तातेसिनातर्फ प्रस्थान गर्यौँ । त्यो ठाउँ टोक्योबाट निकै टाढा भएकाले बेलुका मात्र पुगियो । खास लोकेसन थाहा नपाएर केही समय यताउता गर्नुपरे पनि मजै आयो । अरू केही अगाडि नै पुगिसकेका थिए । अन्तिममा पुग्ने हामी नै थियौँ । हामी पुगेपछि कार्यक्रमको उद्घाटन गरियो । त्यो पनि अलि अनौठै ढङ्गबाट । निकै ठूलो क्षेत्रमा फैलिएको रिसोर्टमा ताली बजाई एकैपटक सबैतिरको बत्ती बालेर कार्यक्रमको उद्घाटन गरियो ।
करिब एक हजार रोपनीमा फैलिएको तातेसिना रिसोर्ट होटलका मालिक भवन भट्ट नै रहेछन् । यो रिसोर्ट टोक्यो दरबारको क्षेत्रफलभन्दा पनि फराकिलो रहेछ । तातेसिना सामान्य मान्छेको पहु“चमा नपर्ने निकै स्तरीय पर्यटकीय स्थल रहेछ । भवन भट्टले मलाई केही दिन त्यही रिसोर्टमा बसेर घुम्ने गरी आउन आग्रह गरेका छन् र मैले अनुकूल मिलेका बखत आउने वचन दिएको छु । वचन मात्र होइन, अनुकूल पर्नेबित्तिकै जान्छु पनि ... ।
कार्यक्रमको उद्घाटनपछि सबै सहभागीलाई सौनाबाथका लागि जान
भनियो । सौनाबाथ गर्ने ठाउँ महिला र पुरुषका लागि फरकफरक थिए । तातोपानीको पोखरीमा समूहमा नाङ्गै नुहाउने काम हामी सबैका लागि अलि अनौठै थियो । बाहिरै सबै लुगा फुकालेर भित्र गएर समूहमा नुहाउनुपर्ने । समूहमा नाङ्गै नुहाएको यो मेरा लागि पनि पहिलो घटना थियो । यसरी त उहिले केटाकेटीमा खोलामा पौडी खेलिएको पनि थिएन । सुरुमा निकै असहज महसुस भए पनि एकछिनमा बानी पर्यो । यसरी मनतातो पानीमा बसेर नुहाउँदा निकै आनन्द आयो र जिउ पनि चङ्गा भयो ।
सौनाबाथको कार्यक्रम सकिएको लगत्तैपछि सबैलाई कालो रङ्गको अलि अनौठै प्रकारको लुगा दिइयो । त्यही लुगा लगाएर डिनर उद्घाटनतर्फ लागियो । एउटा भव्य हलमा अनेकौँ जापानी परिकारसहितको भव्य रात्रिभोजको आयोजना गरिएको रहेछ । ठूलो घ्याम्पोमा लगाइएको ढक्कनलाई काठको घनले ठोकेर फुटाई कार्यक्रमको उद्घाटन गरियो । कत्तिको हिर्काउँदा त्यो ढक्कन फुट्छ भन्ने थाहा नभएकाले अलि जोडसँगै ठटाइएछ । ढक्कन फुट्नु मात्र होइन त्यस घ्याम्पोमा भएको पेय पदार्थ नै छताछुल्ल भयो । त्यसबाट सबैमा हा“सोको फोहरा
छुट्यो । सेना, प्रहरी आदिका बडाभोजको समेत उद्घाटन गरिसकेको मान्छे भए पनि यसप्रकारको उद्घाटन मेरा लागि पनि अनौठो र पहिलो अनुभव थियो । सबैले निकै बेर लगाएर इच्छाभोजन गरियो । कोहीकोही ढल्नै आँटेका, कोहीकोही चल्नै आँटेका अनि कोहीकोही छल्नै आँटेका दृश्यहरू रमाइलै देखिन्थे ।
सबैलाई सुत्ने कोठा पहिले नै फिक्स गरिसकिएकै थियो । म भवन भट्टको कोठामा परेको थिएँ । कोठामा गएर पनि केही बेर रमाइलो गरियो । भवन भट्टले उता डिनरदेखि यता सुताइसम्म मेरा लागि विशेष व्यवस्था गरेका थिए । यस्ता मामलामा निकै परिपक्व र रमाइला मान्छे रहेछन् भट्टजी । केही बेरको रमाइलोपछि खुत्रुक्क सुतेको मान्छे बिहान जुरुक्क उठ्दा ब्रेकफास्ट तयार भइसकेको रहेछ । हत्तपत्त सौनाबाथ गरी ब्रेकफास्ट गरेर हाइकु विशेष कार्यक्रममा सहभागी भइयो ।
तातेसिनामा विशेष हाइकु गोष्ठी र कार्यक्रमको समापन
२२ सेप्टेम्बरका दिन बिहान भव्य विशेष हाइकु गोष्ठी गरियो । हाइकु जापानबाटै उत्पत्ति भएको कविताको सानो प्रकार हो । जापानबाट प्रारम्भ भए पनि अहिले नेपालीलगायतका विभिन्न भाषामा हाइकुले महत्त्वपूर्ण स्थान पाएको
छ । तीन पङ्क्तिमा संरचित हाइकुको पहिलो र तेस्रो पङ्क्ति पाँच अक्षरको अनि दोस्रो पङ्क्ति सात अक्षरको हुन्छ । यसरी अक्षर गणना गरी जे पायो त्यही लेख्दैमा चाहिँ हाइकु हुँदैन । यसले छोटो आयाममै प्रकृति एवं जीवनजगत्का महत्त्वपूर्ण पक्षलाई समेटेको हुनुपर्छ । यसर्थ हाइकु लेख्नु त्यति सजिलो काम पनि होइन । जापानी र नेपालीमा अक्षरगणनामा भने केही समस्या छ ।
तातेसिना रिसोर्टमा आयोजित यस हाइकु कार्यक्रमको संयोजन प्रकाश पौडेल ‘माइला’ले गरेका थिए । त्यस कार्यक्रममा उनले ‘हाइकु साहित्यको इतिहास र विश्वव्यापीकरण’ शीर्षकको कार्यपत्र प्रस्तुत गर्दै लामै व्याख्या गरे । वरिष्ठ हाइकुकारका रूपमा समेत परिचित प्रकाश हाइकुको सैद्धान्तिक स्वरूपका बारेमा पनि निकै जानकार नै रहेछन् । उनको अवधारणापत्रको प्रस्तुतिपछि मैले पनि हाइकुको सैद्धान्तिक र व्यावहारिक पक्षबारे लामै व्याख्या–विश्लेषण गरेँ । आफूले त्रिभुवन विश्वविद्यालयबाट नेपाली हाइकुसम्बन्धी शोध गराएको चर्चा गर्दा सबैले कर्तल ध्वनिका साथ खुसी व्यक्त गरे ।
सोही समारोहमा कार्यपत्रको प्रस्तुति र छलफलपश्चात् हाइकु लेखन कार्यशालाको पनि आयोजना गरिएको थियो । त्यहाँ उपस्थित सबैले तत्कालै आ–आफ्नो गच्छेअनुसारका हाइकु लेखेर वाचन गरेका थिए । यस्तो स्थलगत लेखन अर्थात् स्पट राइटिङ पनि रमाइलै हुन्छ । त्यतिबेला मैले पनि केही हाइकु लेखेको र वाचन गरेको थिएँ । मैले त्यस कार्यक्रममै लेखिएका र वाचन गरिएका हाइकुको समीक्षासमेत गरेको थिएँ । त्यहाँ लेखेर वाचन गरिएका सबै हाइकुलाई समेटेर किताब प्रकाशन गर्ने कुरा प्रकाशले त्यतिखेरै बताएका थिए । अहिले आएर सोही किताब तातेसिना हाइकु सङ्कलन नामले प्रकाशन हुन लागेकोमा मलाई अत्यन्त खुसी लागेको छ । यसले नेपाली हाइकु लेखनका क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा म विश्वस्त छु । त्यसो त डेढ दशक अगाडिदेखि नै प्रकाशले हाइकु लेखन र प्रकाशनमा महत्त्वपूर्ण समय खर्चिदै आएका छन् ।
हाइकुसम्बन्धी कार्यशाला गोष्ठी सकिएपछि समग्र चौथो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको समापनतर्पm लागियो । मैले त्यस कार्यक्रमको प्रमुख अतिथिका रूपमा टोक्यो सम्मेलनमा उपस्थित सबैलाई प्रमाणपत्र वितरण गरेँ । त्यस कार्यक्रमको संयोजन प्रकाश पौडेल ‘माइला’ले गरेका थिए । यसलाई जापानमा पहिलो पटक भएको सबभन्दा ठूलो साहित्यिक मेला भनिएको यस कार्यक्रममा उपस्थित सबैका अनुहार उज्याला देखिन्थे । चौथो सम्मेलनको सर्वाधिक महत्त्वपूर्ण र मनोरञ्जनात्मक कार्यक्रमका रूपमा यही तातेसिनाको कार्यक्रमलाई लिँदा अतिशयोेक्तिपूर्ण हुँदैन ।

टोक्यो फिर्ती
कार्यक्रमको समापनपछि हामी टोक्योतर्फ प्रस्थान गर्यौँ । कोही नागोयातर्फ लागे । विष्णुप्रसाद घिमिरेले मलाई पनि नागोया लाने कुरा गरेका थिए तर मलाई हिरोसिमा जाने रुचि भएकाले त्यतातिर गइनँ । फर्कंदा प्रकाश पौडेलको गाडीमा उनका मामा रामचन्द्र अधिकारी ‘झरीकान्छा’ थपिए । हामी सोझै प्रकाश बसेको ठाउँ योकोहामा सहरमा आइपुग्यौँ । पूर्वनिर्र्धारित कार्यक्रमअनुसार बेलुका नेपाली राजदूतावास जापानको आतिथ्यमा रात्रिभोजमा सरिक भइयो ।
सहभागीमध्ये कोही हिँडिसकेका थिए भने कोही हिँड्ने क्रममा थिए । मेरो फर्किने समय केही दिन बाँकी भएकाले प्रकाशले यताउता डुलाए । उनले जापान बसाइका क्रममा स्काइ ट्री, सि प्याराडाइज, योकोहामा, योकोसुका, सिन्जुकु, टोक्यो आदिका साथै नाम याद नगरिएका विचित्र–विचित्रका अनेक ठाउ“मा घुमाए । टोक्योको घुमाइ सकेर म हिरोसिमा जाने तर्खरमा थिएँ ।
हिरोसिमा यात्रा
मलाई हिरोसिमा जानका लागि भवन भट्टले गाडी दिने कुरा गरे तर ड्राइभर दुईजना चाहिने रहेछ । त्यो त्यति उपयुक्त लागेन र हामी बसमा जाने निधो गर्यौँ । प्रकाशले टिकट काटेर हामीलाई बसमा चढाए । रामचन्द्र अधिकारी ‘झरीकान्छा’ र म हिरोसिमातिर हुइँकियौँ । त्यहाँबाट रातभरिकै बाटो रहेछ ।
त्यहाँ हामीलाई लिन शिव खराल आइपुगेका थिए । उनी र विष्णु कँडेलले हामीलाई दिनभर हिरोसिमा डुलाए । त्यहाँ बम खसालिएको ठाउँदेखि वरपर निकै ठाउँ डुलियो ।
त्यहाँ एउटा युद्ध सङ्ग्रहालय पनि रहेछ । त्यहाँ प्रदर्शित एउटा वृत्तचित्र हेरेपछि आँसु नझार्ने मान्छे सायद मान्छेका कोटिमै पर्दैन ... । केही गोरागोरी त डाँको छोडेरै रोइरहेका थिए । वृत्तचित्रमा प्रस्तुत त्यस बेलाको हृदयविदारक दृश्य देख्दा जोकोहीका पनि आँखा रसाउँछन् नै । त्यसबाट म पनि अछुतो रहन सकिनँ । त्यो दृश्य देखेपछि जापानी डाक्टरहरूले समेत अङ्ग्रेजी भाषालाई किन घृणा गर्दारहेछन् भन्ने कुरा मलाई छर्लङ्ग भयो ।
त्यहा“ आगन्तुक पुस्तिका पनि राखिएको रहेछ । त्यसमा मैले पनि आफ्ना केही कुरा लेखेँ । त्यहाँ मैले यस्ता कुरा लेखेँः
All of the human beings must be in the fevor of peace never war.
I belongs to the country of LORD BUDDHA and I always support peace and hate war and terrorism. This is the great collection of that blackday… Prof.
Dr. Khagendra Pd. Luitel, Tribhuvan University, Kathmandu, Nepal.
त्यस पुस्तिकामा यसभन्दा अगाडि गिरिजाप्रसाद कोइरालाले केही लेखेका थिए रे । उनले के लेखेका थिए, त्यो त्यहाँ फेला परेन ।
त्यही परिसरमा मृतकका नाममा स्मारक पनि बनाइएको रहेछ । हामीले त्यहाँ श्रद्धाञ्जली पनि अर्पण गर्यौ“ । अमेरिकाले बम खसाएर ठाउँठाउँ भत्किएको तर पूरै ध्वस्त नभएको घर सुरक्षित रूपमा राखिएको रहेछ । यी सब दृश्य देख्दा मन खिन्न भयो । जे भए पनि हिरोसिमा डुलाइ अविस्मरणीय रह्यो । शिव खरालहरूले मलाई एकदुई दिन बस्नाका लागि आग्रह गरेका थिए तर हामी समयसीमामा भएकाले बस्न मिलेन र बेलुका रात्रिबसमा टोक्यो फर्कियौँ । खराल र कँडेल दुवैजना निकै रमाइला रहेछन् । तिनीहरूले हिरोसिमा डुलाएका क्षण अनि मप्रति देखाएको सद्भाव र सम्मान मेरो मस्तिष्कमा अभैm पनि ताजै छ ।

टोक्यो घुमघाम र नेपाल फिर्ती
हामी हिरोसिमाबाट रात्रिबसमा बिहान सिन्जुकु स्टेसन आइपुग्यौ“ । त्यहाँबाट विभिन्न ठाउँ घुमाउँदै प्रकाशले हामीलाई घरमा पुर्याए र खाना खाई डुलाउन लगे । कसैकसैले प्रकाशले लुइटेललाई मात्र घुमाए अरूलाई वास्ता गरेनन् पनि भनेछन् । त्यसमा हाम्रो खासै सरोकार थिएन । यस्ता कतिपय कुरामा व्यक्तिगत सम्पर्क र सम्बन्धले पनि प्रभाव पार्छ । यसपटकको जापान बसाइ छोटो भए पनि त्यसलाई विशेष अविस्मरणीय तुल्याउन प्रकाश र भूमिकाको भूमिका उल्लेख्य रह्यो ।
टोक्योका अधिकांश ठाउँमा नेपालीहरूका रेस्टुरेन्ट रहेछन् । भवन भट्टका रेस्टुरेन्ट त कति हुन् कति ? अङ्ग्रेजी भाषाको पटक्कै प्रयोग नहुने भएका कारण त्यहाँ जापानी भाषा नबुझ्नेलाई वरपर घुम्न पनि सकस नै हुने रहेछ । खाना खानचाहिँ यसो नेपालीका रेस्टुरेन्टतिर छिर्दा हुने रहेछ । घुमाइका क्रममा हामीले पनि लोकनाथ वस्ती, शालिकराम भण्डारी, दीपक सुवेदी, नारायणप्रसाद कँडेल, धु्रवकुमार थापालगायतका नेपालीका रेस्टुरेन्टमा खाना खायौँ ।
जापान घुमाइका क्रममा बेलाबेला सिमसिम पानी पथ्र्यो । त्यहाँ पानी पर्दा प्रायः छाता किन्नुपर्दाे रहेनछ । प्लास्टिकको छाता ठाउँठाउँमा राखिएका हुँदा रहेछन् । पानी पर्न थालेपछि त्यै टिपेर ओढ्यो अनि जहाँ पुग्दा पानी रहन्छ त्यहीँ राखिदिने गजबको चलन रहेछ ।
मेरो फर्किने दिन आइसकेको थियो । ३० सेप्टेम्बरका दिन बिहान नेपाल प्रस्थान गरियो । प्रकाश र आलोकले हानेदा एअरपोर्टमा ल्याएर बिदाइ गरे । जापानबाट हङ्कङसम्म क्याथे प्यासिफिक एयरमा र हङ्कङबाट ड्रयागन एयरमा ढाका हुँदै राती १०: ०० बजेतिर काठमाडौ“ आइपुगियो । यसपटकको जापान यात्राका स्मरणीय क्षणकै रूपमा रहे ।
त्रिभुवन विश्वविद्यालय,
नेपाली केन्द्रीय विभाग,
कीर्तिपुर, काठमाडाैँ, नेपाल

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 14 पौष, 2074

लेखकका अन्य रचनाहरु