संस्मरण लेखन कार्यशाला सम्पन्न

ललितपुर जेठ २१ गते ।
नेपालमा केही समय यता संस्मरणका पुस्तक प्रकाशित गर्ने क्रम उल्लेखनीय रुपमा बढेको छ । सेनाका प्रमुखहरू, राजनीतिक नेताहरू, राजदरबारका पूर्व कर्मचारीहरू, कलाकार, पत्रकार तथा विभिन्न पेशाका मानिसहरूले संस्मरण लेखेर, लेखाएर प्रकाशित गरेका छन् । व्यापारको हिसाबले पनि प्रकाशकहरू संस्मरमा आधारित पुस्तक छाप्न आकर्षित भएका छन् ।
तर अहिलेसम्म निस्केका अधिकांश पुस्तकहरू विवादास्पद छन् । पूर्व सेनापतिहरू रुक्मांगत कटुवाल र छत्रमान गुरुङ, नेता राधाकृष्ण मैनालीका पुस्तकहरूमा भएका तथ्यमाथि धेरैले शंका उठाएका छन् । दरबार हत्या काण्डका बारेमा पनि धेरै पुस्तक लेखिएका छन् । दरबारभित्रको आन्तरिक कुरा र राजनीतिक विषयमा दरबारको भूमिकाको विषयमा पनि संस्मरण प्रकाशित भएका छन् । तर कुनै पनि संस्मरण विवादमुक्त छैन ।
यसबीच एउटा कुरा के स्पष्ट भएको छ भने ती संस्मरणका वास्तविक लेखक अरू नै हुन्, जसलाई घोस्ट राइटर भनिन्छ । घोस्ट राइटर अर्थात् छद्म लेखकलाई एकमुष्ठ पारिश्रमिक दिएर संस्मरण लेखाउने काम नेपाली पाठकहरूले सामान्य रुपमा लिइसकेका छन् । कतिपय पुस्तकमा छद्म लेखकको उल्लेख घुमाउरो तरिकाले त कतिपयमा प्रत्यक्ष रुपले पनि गरिएको देखिन्छ । छद्म लेखकले संस्मरणमा लेखिएको कुराको जिम्मेवारी लिनु नपर्ने तथा पर्याप्त अध्ययन अनुसन्धानबिना कतिपय संस्मरण लेखिने हुँदा विवाद र समस्या बढेका छन् ।
नेपाली साहित्य जगतमा नियात्रा वा यात्रा संस्मरणको रुपमा बेग्लै साहित्यिक विधा मौलाएको छ । साथै राजनीतिक विषयभन्दा पर रहेर तीर्थ यात्रादेखि मुटु कलेजो फेरेका अनुभव संगालेर समेत विभिन्न विषयमा विभिन्न व्यक्तिले संस्मरण निकालेका छन् । कतिपय अखबार तथा पत्रिकाहरूमा पनि संस्मरणले महत्वपूर्ण ठाउँ पाउने गरेको छ ।
सस्मरण लेखकले जुन उद्देश्यले लेखे पनि त्यसले देखाउने मुख्य कुरा हो परिवर्तन । व्यक्ति, परिवार, समाज, राष्ट्र र विश्वमा भएका परिवर्तनहरू संस्मरणले प्रतिविम्बित गर्छ । वितेका सात दसकभित्र नेपाली परिवार र समाजभित्र, नेपालको राजनीतिक परिदृश्य, आर्थिक अवस्था तथा मुख्यतः चेतनाको अवस्थामा धेरै परिवर्तन आएकोले पनि संस्मरण लेखकहरूमा त्यो परिवर्तनलाई समेटेर अभिव्यक्त गर्ने हुट्हुटी लाग्नु स्वाभाविक हो । आगामी दिनहरूमा संस्मरण लेखनको विषय तथा लेखकको विविधता र व्यापकता अझै बढ्ने निश्चित छ ।
यसमयको यो आवश्यकतालाई बुझेर बालवाङमय तथा अनुसन्धान केन्द्रले तीन दिने संस्मरण लेखन कार्यशालाको आयोजना गरेको थियो । सकेसम्म विवादरहित, परिवार र समाजको लागि उपयोगी, परिवर्तनको इतिहास अंकित गर्न सहयोगी तथा बालसाहित्य सिर्जनामा योगदान दिने संस्मरण लेख्ने सीप र कलाक सिकाउनु कार्यशालाको उद्देश्य थियो । कार्यशालाका सहजकर्ता साहित्यकार विनय कसजूले आफूले हालै अध्ययन गरेको संस्मरण लेखन विषयको पाठ्यक्रमको आधारमा सहभागीहरूलाई संस्मरण लेखनका विविध पक्षबारे जानकारी दिनु भएको थियो । कार्यशालाको संयोजन बालवाङमका सदस्य, बालसाहित्य सर्जक शान्ति सापकोटाले गर्नु भएको थियो । कार्यशालामा नौ जना साहित्यकार र कलाकार एकाराम सिंह, गंगादेवी कसजू, गंगा कर्माचार्य पौड्याल, मञ्जु ज्ञवाली, मोहन कार्की, विजयराज आचार्य, विनय कसजू, शान्ति सापकोटा र हरिप्रसाद भण्डारी, सहभागी हुनुहुन्थ्यो । अन्तिम दिन सहभागीले विभिन्न विषयमा प्रकाशनयोग्य संस्मरणहरू तयार पार्नु भएको थियो । कार्यशालामा तयार भएका संस्मरणहरू संग्रहको रुपमा निकट भविष्यमा प्रकाशन गर्ने योजना छ ।

Friday, June 9, 2017