वनिता सम्मान तथा पुरस्कार कार्यक्रम सम्पन्न

काठमाडौं, आषाढ २५
विगत १९ वर्षदेखि नेपाली साहित्यको अनवरत सेवा गरिरहेको वनिता प्रकाशन तथा वनिता सहित्यिक पारिवरिक त्रैमासिकको १९ वार्षिकोत्सवको शुभ अवसरमा साहित्य, कला तथा समाज सेवामा योगदान पुर्याउनुहुने १३ जना व्यक्तित्वहरूलाई सम्मानित तथा पुरस्कृत गरियो ।

काठमाडौंको कमलपोखरी स्थित किस्ट कलेजको हलमा आयोजित उक्त कार्यक्रममा निम्न सम्मान तथा पुरस्कार क्रमशः निम्नानुसारका व्यक्तित्वहरूलाई प्रदान गरिएको थियोः
१. डा. नरेन्द्र चापागाईं स्मृति वनिता साहित्य सम्मान -२०७३ – वरिष्ठ समालोचक डा. लक्ष्मण गौतम
२. वनिताश्री देवकुमारी कथा विशिष्ट सम्मानपुरस्कार -२०७३ – वरिष्ठ कथाकार हरिहर खनाल (रु ५,००० राशि सहित)
३. गोपाल प्रसाद रिमाल काव्य वनिता सर्वश्री सम्मान -२०७३ – वरिष्ठ कवि वासुदेव अधिकारी
४. नमूना कला वनिता सम्मान -२०७३. – फेसन डिजाइनरप्रशिक्षक कुसमा श्रेष्ठ
५. भद्रकुमारी-प्रा. डा. उषा ठाकुर भाषा विशेष वनिता सम्मानपुरस्कार -२०७३ – वरिष्ठ साहित्यकार राजेन्द्र विमल. (रु १०,००० राशि सहित)
६. देवकुमारी थापा बालसाहित्य वनिता सम्मानपुरस्कार -२०७३ – बाल साहित्यकार ध्रुव घिमिरे (रु १०,००० राशि सहित)
७. व्यथित काव्य वनिता पुरस्कार -२०७३ – कवि मोमिला जोशी (रु ५,००० राशि सहित)
८. हरिमाया प्रसाईं वनिता आदर्श नारी सम्मानपुरस्कार -२०७३ – पहिलो पटक दिलशोभा श्रेष्ठ (रु १०,००० राशि सहित)
९. उन्नती शीला गीत वनिता पुरस्कार -२०७३ – रचनाकार कल्पना अधिकारी (रु १०,००० राशि सहित)
१०. वनिता विशेष वसुश्री-मधु पुरस्कार -२०७३ – क) समाजसेवी दिनेश तामाङ (रु ५,००० राशि सहित)
ख) सन्चारकर्मी उषा लोहनी (रु ५,००० राशि सहित)
११. जलेश्वरी बालप्रतिभा वनिता पुरस्कार -२०७३ – बालप्रतिभा रदिक्षा खनाल (रु ५,००० राशि सहित)
१२. वनिताश्री विशेष पुरुषोत्तम पाण्डेय प्रतिभा पुरस्कार -२०७३ – गायिका निशा देसार (रु १०,००० राशि सहित)
वनिता प्रकाशनले राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा ख्यातिप्राप्त नेपालीहरूलाई अभिनान्दन, सम्मान तथा पुरस्कार अर्पण गर्दै आइरहेको छ ।

वनिता सहित्यिक पारिवरिक त्रैमासिकको ६८औँ अङ्कलाई साहित्यकार जलेश्वरी श्रेष्ठको पहिलो उपन्यास नियति चक्रमाथि विभिन्न लेखक तथा समालोचकहरूको समीक्षा साथै उपन्यासकारको विचार सङ्गृहित विशेषाङ्कका रूपमा लोकार्पण समेत गरिएको उक्त कार्यक्रममा बालप्रतिभा रदिक्षा खनालले कालात्मक नृत्य प्रस्तुत गर्नुभएको थियो भने गायिका निशा देसारले आफ्ना लोकप्रिय गीतहरूमध्येबाट केही टुक्रा गाएर सुनाउनु भएको थियो ।

सम्मानित तथा पुरस्कृत व्यक्तित्वहरूले आफ्नो मन्तव्य राख्ने क्रममा देशको विषम परिस्थितिप्रति चिन्तासमेत व्यक्त गर्नुभएको थियो । एक जिम्मेवार नागरिकका रूपमा लेखक, कलाकार तथा साहित्यकारहरूको भूमिका प्रष्ट्याउँदै वरिष्ठ साहित्यकार प्रा. डा. राजेन्द्र विमलले भन्नुभयो, "जब राजनीतिले परिस्थिति सम्भाल्न सक्दैन तब साहित्य नै त्यो मियो बन्छ जसले देशलाई एकतामा बाँधिराख्छ "

स्मरण रहोस्, वनिता प्रकाशनले राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा ख्यातिप्राप्त नेपालीहरूलाई अभिनान्दन, सम्मान तथा पुरस्कार अर्पण गर्दै आइरहेको छ । हालसम्ममा वनिता मार्फत विविध विधाका १ सयभन्दा बढी कृतिहरू प्रकाशित भईसकेका छन् । वनिताका संस्थापक सम्पादक-प्रकाशक लक्ष्मी उप्रेती हुनुहुन्छ ।
-विदुर अधिकारी

Friday, July 14, 2017