स्याङ्जाको वालिङमा प्रथम पटक भजन प्रतियोगिता

नेपाली समाजमा युगौँदेखी गाइँदै आएका लोक भजनहरूको संरक्षण र आजका युबा पुस्ताका लागि जानकारी गराउने उद्देश्यले वालिङ नगरपालिकाको सहयोग र श्रवण कुमार प्रतिस्ठान नेपालको आयोजनामा यहि विजया दशमी २०७४ को पावन उपलक्ष्यमा खुल्ला लोकभजन/ चुड्का प्रतियोगिता आयोजना गरियो । स्याङ्जा जिल्ला र यस आसपासका छिमेकी जिल्लाहरूमा प्रचलित रामसीता, राधाकृष्ण, शिवपार्वती, हनुमान, दुर्गा भगवती सङ्ग सम्बन्धित भजनहरू सो प्रतियोगितामा प्रस्तुत भएका थिए ।
"हामी हाम्रो संस्कृतिमा गर्व गर्छौं ।"भन्ने उद्घोषका साथ आयोजित सो प्रतियोगितामा स्याङ्जा, कास्की, पर्वत र पाल्पा जिल्लाका गरि १४ भजन समूहको सहभागिता थियो । प्रतियोगितामा परम्परागत लोकबाजा, लोकभेषभुषा, लोकलयहरू प्रस्तुत भएका थिए । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी माननीय जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीले नेपाल र नेपालीलाई चिनाउने माध्यम भनेको हाम्रो लोक संस्कृति नै हो र यसको संरक्षणमा आयोजना गरिने यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने बिचार ब्यक्त गर्नुभयो । नेपाली लोकबाजा संग्राहलयक संचालक रामप्रसाद कंडेलले नेपाली संस्कृति बिश्वमै उत्कृष्ट रहेको र हालसम्म नेपालमा १३००लोकबाजा भेटिएको प्रसङ्ग उल्लेख गर्नुभयो । स्याङ्जा जिल्लाको इतिहासमै पहिलो पटक संचालन गरिएको यस लोकभजन प्रतियोगितामा जुनेली भजन किर्तन समूह, कालिकाकोटको खेलीभजन सहितको हनुमान नाच प्रथम, विश्व हिन्दु महासङ्घ, पोखराको समूह दोश्रो, शिव पार्वती मन्दिर भजन समूह, पाठखोला तेस्रो र दुर्गा भगवती भजन समूह, फौदिखोलाले सान्त्वना स्थान प्राप्त गरे ।
कार्यक्रममा श्रवणकुमार र आँधिखोलाको सम्बन्धमा स्वामी चैतन्य कृष्णज्यूबाट प्रवचन समेत प्रस्तुत भएको थियो । सो अवसरमा नगर प्रमुख दिलिप प्रताप खाँणले संस्कृति संरक्षणको अभियानमा वालिङ नगरपालिका सदैव साथ रहने कुरा व्यक्त गर्नुभयो । लामो समयदेखी स्याङ्जाको लोक सङ्गीतको बारेमा अनुसन्धान गरिरहनु भएका अनुसन्धानकर्ता तुलसी प्रवासको संयोजकत्वमा पं बन्धुराज खनाल र ऋषि राम सापकोटा सहितको मूल्यांकन समीतीले प्रतियोगिताको मूल्यांकन गरेको थियो । निर्णय सुनाउँदै अनुसन्धानकर्ता तुलसी प्रवासले हाम्रो ग्रामीण भेगमा बुढापाकाले युगौँदेखि गाउँदै आएको भजन, बाजा, भेषभुषा र झाँकीलाई मूल्यांकनको प्रमुख आधार बनाइएको जानकारी गराउनु भयो ।प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिने जुनेली भजन समूह, कालिकाकोटले आगामी कार्तिक महिनामा स्वरेक मैदानमा आयोजना हुने अन्तर्राष्ट्रिय स्तरको प्याराग्लाइडिङ प्रतियोगिताको उद्घाटन समारोहमा आफ्नो भजन प्रस्तुत गर्नेछ । श्रवणकुमार प्रतिष्ठानका अध्यक्ष समाजसेवी सीताराम अधिकारीको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

Friday, October 20, 2017