साझाको ताजा समाचार

२३ नोभेम्बर, २०१७, काठमाण्डौं
साझा प्रकाशनले एक अपिल प्रकाशित गरी नयाँ ढंगमा साझा अगि बढ्ने कुरा बताइएको छ । अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माद्धारा जारी अपिलमा भनिएको छ –
साझा प्रकाशन नेपाली भाषासाहित्य र कलासंस्कृतिलाई स्वराष्ट्रका साथै अन्तराष्ट्रिय स्तरमा पहँुच विस्तारका लागि सदैव क्रियाशील रहेको व्यहोरा विदितै छ । विगतको व्यवस्थापकीय तथा नीतिगत अन्यौलताका कारण साझा प्रकाशन आर्थिक रूपमा जीर्ण भएपछि यसका कामकारबाहीमा केही उतारचढाव भने पक्कै आएका छन् । तथापि संस्थामा देखिएका समस्यालाई नेपाल सरकार तथा सरोकारवाला निकायसँगको सहकार्य तथा समन्वयमा क्रमिक रूपमा सुधार तथा व्यवस्थापन गर्दैे साझा प्रकाशनलाई आत्मनिर्भर बनाई अविच्छिन्न निरन्तरता कायम गर्न हालको व्यवस्थापन प्रतिवद्ध छ ।
साझा प्रकाशनले अग्रज तथा पछिल्लो पुस्तामा स्थापित स्वदेश र विदेशमा रहेका लेखक तथा स्रष्टाको साझा चौतारीको रूपमा सबैलाई समान स्थान दिएको छ । केही वर्षदेखि रोकिएका पुरस्कार निकट भविष्यमा वितरण गर्न तयारी गरिएको छ । साझा र स्रष्टा एक सिक्का दुई पाटा हुन् । साझाको हरेक गतिविधिहरू स्रष्टासँग जोडिएका हुन्छन् । स्रष्टाका कृति प्रकाशन गरी जीवन्त राख्ने भएकाले साझाको अस्तित्व जोगाउन सबै क्षेत्रमा छरिरएर रहेका स्रष्टाहरूले हातेमालो गर्दै अगाडि बढ्नु अपरिहार्य रहेको छ ।
साझा प्रकाशनले लेखक तथा प्रकाशनको हक अधिकार संरक्षण गर्दै आएको छ । संस्थाले स्रष्टाहरूको दिन बाँकी लेखकस्व भुक्तानीलाई उच्च प्रथामिकतामा राखी रकमको व्यवस्थापन गरी भुत्तानी गर्दै आइरहेको कुरा सर्वविदितै छ । तसर्थ साझा प्रकाशनबाट प्रकाशन हुँदै आएका आफ्ना कृतिलाई संस्थाको स्वीकृतिवेगर अन्यत्र नलैजान र आफ्ना नयाँ महत्वपूर्ण कृति साझा प्रकाशनमार्फत प्रकाशन गराउन आम स्रष्टासमक्ष हार्दिक अपिल गर्दछु ।
साझा प्रकाशनमा आएको केही आन्तरिक समस्याको फाइदा उठाउँदै केही निजी प्रकाशकहरूले साझा प्रकाशनले नियमित प्रकाशन गर्दै आएका कृतिहरूलाई आफूखुशी अनधिकृत रूपमा प्रकाशन गरी बिक्रीवितरण गर्ने गरेको पाइएकाले तत्काल उक्त कार्य बन्द गर्नुहोला । साथै साझा प्रकाशनको स्वीकृत वेगर कुनै पनि पुस्तकहरूको आंशिक, पूर्ण अंश तथा पूरै पुस्तक नै डुब्लिकेट गरी अनधिकृत प्रकाशन गरी बिक्रीवितरण तथा प्रयोग नगर्नुहोला । यदि यस्ता अनधिकृत कार्य गरिएको पाइएमा प्रतिलिपि अधिकार ऐन तथा प्रचलित नियमबमोजिम हदैसम्मको कानुनी कारबाहीका लागि कानुनी बाटो अवलम्बन गर्न साझा प्रकाशन बाध्य हुने व्यहोरा जानकारी गराइन्छ ।
गोरखा भाषा प्रकाशिनी समिति हुँदै नेपाली भाषा प्रकाशिनी समितिको उत्तराधिकारीको रूपमा स्थापना भएको ऐतिहासिक धरोहर साझा प्रकाशनको अस्तित्व जोगाइ भावी सन्ततिलाई हस्तान्तरण गर्नु हामी सबैको दायित्व हो । तसर्थ यसको संरक्षण तथा जीवन्तताका लागि सबै क्षेत्रको सहयोग तथा सहकार्यको लागि हार्दिक अपिल गर्दछु ।

Friday, November 24, 2017