प्रसिद्ध प्रगतिवादी साहित्यिकार आनन्ददेव भट्टसँग कुराकानी

- ॠतु आसीक

प्रगतिवादी साहित्यिक आन्दोलनका अथक योद्धा आनन्ददेव भट्टको जन्म १९९३ असोज २५ गते शनिवार जुम्लाको खलङ्गामा भएको
थियो । उहाँको बाल्यकाल जुम्लाको खलङ्गा तथा पाल्पामा वित्यो । २०१७ सालतिर धनकुटा कलेजबाट (१७ महिना) प्राध्यापन शुरु गर्नुभयो । २०२२ साल माघ देखि २०३० असारसम्म नारायणघाटको तत्कालीन कलेजमा प्रिन्सिपल हुनुभयो ।

त्यस कलेजमा माओत्सेतुङ्गद्वारा लिखित “रेड बुक” को प्रचार प्रसार गरेको आरोप लगाएर तत्कालीन सरकारले उहाँलाई २०३० साल तिर ४ महिना १९ दिन जेल राखेको थियो । पछि आरोप प्रमाणित नभएर जेलबाट छुट्नु भयो । १९८१ देखि १९८३ सम्म लण्डन युनिर्भसिटीबाट अंग्रेजीमा एम.एड. गर्नुभयो । २०३० श्रावण १ देखि पाठ्यक्रम विकासमा २०४५ सम्म कार्यरत रहनुभयो । २०४५ देखि २०५० सम्म केन्द्रीय अंग्रेजी शिक्षण विभाग किर्तिपुरमा कार्यरत रहेर २०५० चैत्रमा स्वेच्छिक अवकाश लिनुभयो ।

हालसम्म उहाँका प्रकाशित पुस्तकको संख्या १९ थान रहेको छ । ती पुस्तकहरुमा कविता निबन्ध, समालोचना, दर्शन एवं राजनीति सम्बन्धी पुस्तकहरु छन् । उहाँ प्रगतिशील लेखक संघको अध्यक्ष समेत भैसक्नु भएको छ । शिष्ट, सौम्य तथा मृदभाषी मिलनसारका धनी आनन्ददेव भट्टको जीवन यापन सादगी रहेको छ । हामी र आउने पिढीका लागि उहाँ प्रेरणाको श्रोत हुनुहुन्छ । प्रगतिवादी साहित्यिक आन्दोलन एवं वामपंथी विचार धाराका उद्भट विद्वानसंग स्वतन्त्र पत्रकार ऋतु आसीकद्वारा लिइएको अन्र्तवार्ता ।

१) साहित्य लेखनका लागि प्रेरणा कसरी पाउनुभयो ? त्यस्तो रोचक प्रसंग बारे बताइ दिनुहुन्छ कि ?
मैले पाल्पा तानसेनको सिलखान टोलमा बस्दा त्यहाँ चालू एउटा भाषा पाठशालामा भर्ना भएको थिएँ । सम्भवत २००१ सालतिर । त्यहाँ श्री माधव प्रसाद देवकोटाज्यूले नेपाली पढाउनु हुन्थ्यो । पछि २००४ सालमा पाल्पाको अमरगञ्ज पौवामा पद्मोदय पाल्पा पब्लिक हाई स्कूल खुली २००६ सालसम्म मैले त्यस स्कूलमा क्रमश ६, ७ र ८ कक्षामा पढ्दा पनि नेपाली विषय गुरु श्री देवकोटाज्यूले नै पढाउनु हुन्थ्यो । उहाँको सप्ताह .... आदि भन्ने कला जति आकर्षक थियो त्यो भन्दा कम आकर्षक कक्षामा पढाउने कला थिएन । त्यसैले सम्पूर्ण कक्षाका विद्यार्थी उहाँले पढाएकोमा साह्रै रुची लिएर सुन्थे र गृह कार्य पनि गर्थे । त्यसमा थप म गुरु देवकोटाज्यू कहाँ थप नेपाली ट्युशन पढन (निःशुल्क) जान्थे र त्यहाँ मलाई स–साना संस्कृतका हरफहरु पनि वाचन गर्न लगाउनु हुन्थ्यो । त्यसैले मलाई साहित्यप्रति प्रत्यक्ष भन्दा पनि परोक्षरुपमा आकर्षित गर्ने व्यक्तित्व गुरु देवकोटा नै हुनु हुन्थ्यो भन्ने लाग्छ । थप उहाँका छोरा कुलमणि देवकोटाज्यू पनि कविता गर्ने हुनाले उहाँप्रति पनि म बेलाबेलामा आकर्षित हुन्थे ।

त्यसताका तानसेन बजारको टक्सार टोलमा धवल पुस्तकालय खुलेको थियो । त्यहाँ म पनि बराबर जाने र केही पत्रिका पढने गर्थे । मेरा सहपाठी इन्जीनियर सत्यमान श्रेष्ठ त्यस पुस्तकालयबाट भारतमा अनेक प्रसिद्ध व्यक्तित्वको जीवनी ल्याई हेर्ने गर्थे । त्यसप्रति पनि मेरो आकर्षण थियो । त्यही पुस्तकालयबाट मैले काठमाण्डौंबाट निस्किने “आँखा” साहित्यिक पत्रिका र दार्जीलिङबाट निस्कने “भारती” साहित्यिक पत्रिका पनि देखेको थिए । यी सबै बौद्धिक वातावरणले गर्दा हुनुपर्छ म शुरु देखिनै साहित्यप्रति आकर्षित भए हूँला र पछि २००६ साल मंसिरमा काठमाण्डौं आइसकेपछि २००७ साल र २००८ सालका दुई बर्षमा मैले काठमाण्डौं बस्दा जुन बौद्धिक र साहित्यिक व्यक्तित्वहरुको अनेक गतिशील गतिविधि देख्ने र उहाँहरुको सन्निकटतामा जाने समेत मौका पाएँ त्यसले मलाई साहित्यिक क्षेत्रतिर प्रकट हुन प्रेरित गरेको अनुभव हुन्छ । विशेषगरी २००७ साल उप्रान्त २००८–२०१७ साल सम्मकै जुन प्रजातान्त्रिक खुला वातावरणमा हुर्कन र भिज्न पाइयो त्यसले म जस्ता अति सु–सुप्तावस्थाका किशोर युवकहरुलाई पनि आफ्नो उत्सुकता चाख र आकर्षणका कुरामा सहर्ष अग्रसर हुन बल दियो ।

२) तपाईको दृष्टिमा साहित्य भनेको के हो ? साहित्यकला कसका लागि सिर्जना गरिन्छ ? साहित्य किन
लेखिन्छ ?
साहित्य कुनै पनि मानिसले आफ्नो जीवनको चेतना र व्यवहारले उत्पन्न गरेको एउटा अनुभूति वा भावनाको अभिव्यक्ति हो । त्यसमा उसको देश काल परिस्थितिको सीमाभित्रबाट उसले प्राप्त गरेको चेतना र अनुभूति प्रकट भएको हुन्छ । उसको अभिव्यक्ति वा विचार प्रतिगामी पनि हुन सक्छ, यथास्थितिवादी पनि हुन सक्छ र साथै अग्रगामी पनि हुन सक्छ ।
साहित्यकारको दृष्टिकोण अनुसार त्यो स्वान्त सुखाय पनि हुन सक्छ, परोपकारका निम्ति पनि हुन सक्छ, वर्तमानको यथास्थिति भत्काउन पनि प्रयोग हुन सक्छ र अझ सुदुर भविष्यको मार्ग चित्र अनुसार व्यापकतम परिवर्तनका उद्देश्यले पनि रचिएको हुन सक्छ ।

साहित्य लेखिन्छ नै लेखकको आफ्दो दृष्टिकोण, उद्देश्य, लक्ष्य र आकांक्षा अनुसार । अहिले सम्मको मानव सभ्यताको इतिहासलाई हेर्दा जबदेखि मानव जाति अति प्रारम्भिक समतावादी समाजबाट क्रमशः दास मालिक र दासहरु, भूमिपति र भूमिहीनहरु र पूँजीपति र पूँजीहीनहरु निरंकुश शासकवर्ग हुदै आए । त्यसपछि जन माक्र्सवादी दर्शनको उदय भई त्यसले राज्यसत्ता माथि हस्तक्ष्ँेप गर्न थाल्यो त्यसबेला देखि साहित्य ती निरंकुश, अत्याचारी शोषक वर्गका विरुद्ध शोषित दलित बर्गको विद्रोही साहित्यको रुपमा विश्व यात्रा गर्दै अगि बढिरहेको छ ।

अहिले पनि संसारका विकासोन्मुख गरीब देशहरुमा मात्र होइन, केही विकसित र विकासको पहिलो श्रेणीमा पुगेका देशमा समेत ती दुवै विरोधी वर्गहरुलाई प्रतिनिधित्व गर्ने दृष्टिकोण लिएर साहित्यकारहरु अगि बढिरहेका छन् । त्यसैले जबसम्म संसारमा कमसेकम सम्पूर्ण मानव जातिलाई तिनका आधारभूत आवश्यकता गाँस, बास, कपास, स्वास्थ्य शिक्षा, सुरक्षा र मनोरञ्जनको पूर्ण ग्यारेन्टी हुदैन तबसम्म साहित्यका क्षेत्रमा पनि शोषक शासक पक्षमा विरुद्ध शोषित, पीडित शोषित पक्षको साहित्यको वीचमा मतभिन्नता मेटिने देखिन्न । साथै अर्को एउटा खुला सत्य के हो भने किन कि संसारका बहुसंख्यक जनता अत्यन्त सानो प्रतिशत केही शोषक ÷ शासकबाट पीडित छन् त्यसैले अधिकांश साहित्यकारको उद्देश्य र लक्ष्य ती शोषक र शोषणबाट मुक्तिको साहित्य निर्माण गर्नु नै हो । यसै अर्थमा भनिएको हुनुपर्छ ... वर्ग विभाजित समाजमा साहित्य पनि वर्ग विभाजित नै हुन्छ वा वर्गीय नै हुन्छ ।

३) तपाईद्वारा लिखित रचनाहरुमा बढी मनपराउनु भएका रचनाबारे केही भनि दिनु हुन्छ कि ?
यस प्रश्नको उत्तर दिन निकै कठिन छ भन्ने लाग्छ । किनभने पहिलो कुरो त कसैलाई पनि आफ्नो मूल्यांकन आफैं गर्नुपर्दा बढी आत्मपरकताले मनोगत निष्कर्षमा पु¥याउने डर हुन्छ । कतिपय कुरा मान्छे आफैं अनेक कमी कमजोरीले गर्दा पनि प्रष्टसित अन्तिम सत्यको नजीक जान सक्दैन । तेश्रो कुरा कसैको पनि आफ्नो मूल्यांकन नै सर्वोपरी हुने भए त्यसबारे समाजको मूल्यांकनको धेरै ठुलो महत्व हुने पनि थिएन । त्यसैले म आफ्ना विभिन्न विधाका रचनाका सम्बन्धमा धेरै आधिकारिक रुपले भन्न सक्ने अवस्था वा मनस्थितिमा पनि छैन । तै पनि कुनै पनि लेखकले आफ्ना सबै रचनालाई उत्तिकै मनपराउँछ भन्ने पनि होइन ।

अब म आफ्ना रचनाबारे आफ्नो बढी रुचि कहाँ कस्तो देखिन्छ भन्ने बारे म के भन्छु भने मैले शुरुमा गद्य कविता लेखनबाट साहित्य लेखनको प्रारम्भ गरे । त्यसपछि म एकैपल्ट समीक्षा आलोचना÷समालोचनाको क्ष्ँेत्रतिर आकर्षित भएँ । त्यससंगसंगै मेरो लेखन आत्मपरक निबन्ध र केही विचार प्रधान निबन्धतिर पनि भयो । मैले कथा लेख्ने सानो प्रयत्न गर्दा नगर्दै म त्यसबाट टाढा जान पुगें । थोरै म एकांकी नाटकतिर पनि च्याउँदै थिएँ तर त्यसमा पनि मैले गति लिएको देखिएन । यसरी अहिले मेरो कविता लेखन पूरै सुकिसकेको अनुभव हुन्छ । अब मसित दुई विचार मात्र छन् गति दिनका निम्ति – समीक्षा÷समालोचना र आत्मपरक वा विचार प्रधान निबन्ध । विगत डेढ दशक देखि मेरो शारीरिक मानसिक र भावनात्मक उर्जा नै ज्यादै नै वेगले तल तल झन तल ओर्लेको अनुभव गरेकाले यी १५ बर्ष भित्र मेरा साहित्यिक गतिविधि एकप्रकारले निख्रिसकेका देखिन्छन् । त्यसैले अब मबाट साहित्य साधनाको सट्टा केही अध्ययन साधना बढन सकेमा मेरा निम्ति उपलब्धि मूलक हुँदो हो भन्ने लागेको छ । तैपनि मेरा आज सम्मका साहित्य लेखनमा विचार प्रधान र भावना प्रधान लेखन नै केही आकर्षक छन् जस्तो लाग्छ । त्यसैले मेरा रचनामा समीक्षा ÷ आलोचना र निबन्धहरुले नै केही अंशमा पाठकलाई आकर्षित गर्न सकेको हुनुपर्छ भन्ने मेरो सामान्य धारणा वा अवलोकन छ ।

४) कुनै बेला आफूलाई प्रगतिवादी हिमायती ठान्नेहरु जीवनको अन्तिम पटाक्षेपमा आइपुगेर तिनीहरुलाई दीव्यदृष्टि ज्ञान भएर हो वा या प्रगतिवादी साहित्यप्रति विष वमन (छाद्नु) त्यसप्रति मोहभंग हुनका कारण के के होलान् ? त्यसबारे केही भनिदिनु हुन्छ कि ?
यो प्रश्न धेरै महत्वपूर्ण र गहिरो छ । त्यसैले यो र यस्ता प्रश्नको जवाफ दिन पनि धेरै नै गम्भीर हुनुपर्ने म ठान्छु । संसारमा मानिस एक होइन अनेक किसिमका हुन्छन्, त्यसैगरी मानिस पिच्छेका दृष्टिकोण पनि एकमात्र नभएर अनेक हुन्छन् । त्यसैले सर्वप्रथम त मानिस मात्रका दृष्टिकोण एकै नभएकोमा अनौठो मान्नै पर्दैन । त्यसैगरी मानिस पनि विश्वका यावत निर्जीव र जीवात्मा झैं परिवर्तनशील हुने हुनाले उसमा दृष्टिकोणमा पनि कहिल्यै पनि एउटै कुरो जस्ताको तस्तै रहँदैन, बदलिरहन्छ । त्यसैले ती मानिस जो पहिले आफूलाई प्रगतिवादी ठान्थे र पछि तिनको दृष्टिकोण बदलियो भने पनि सर्वप्रथम त तिनले नयाँ कुरा पाउँदा पुरानोको सट्टा दिव्यदृष्टि पाएरै पनि त्यसो भनेको हुन सक्छ अथवा पहिलेको आफ्नो विचारलाई सोझैं नै गलत र त्याज्य ठानेरै त्यसरी विषवमन गरेको पनि हुन सक्छ । यस्तो अवस्थामा म के ठान्छु भने अमुक व्यक्तिमा त्यस्तो परिवर्तन किन, कसरी, के प्राप्तिका निम्ति वा कुन विचारका कारण आयो भनी अत्यन्त वस्तुवादी ढंगले हेर्नु आवश्यक हुन्छ । हो उसले वास्तवमै आफ्नो पहिलो दृष्टिकोणलाई (हाम्रो यहाँको उदाहरणमा प्रगतिवादी दृष्टिकोणलाई – आनन्द) अनेक किसिमले विचार्दा, जाँच पडताल गर्दा, आफ्नो राष्ट्रको जनजीवनमा एकदम कामनलाग्ने देखी बदलेको हो अथवा अरु केही पाउने खाने वा विरोध सुविधा लिने हिसाबले भनेको हो कि सो कुरा राम्ररी पत्ता लगाईसकेपछि मात्र त्यस व्यक्तिमा आएको वैचारिक परिवर्तनमा पक्षविपक्षमा छलफल गर्न सकिने हुन्छ । होइन, मेरो विचार मात्र सम्पूर्णतः ठिक हो अर्काको ठीक होइन भन्ने मात्र जिरह गरेका खण्डमा जसरी एउटालाई यो विचार मनपर्छ भने उ त्यसैको प्रशंसाको अनुयायी हुन सक्छ । तर त्यसैगरी अर्कोले अर्को विचारप्रति आफ्नो आस्थालाई व्यक्त गर्न सक्छ । त्यसमा अर्कोले त्यो विचार राख्नै पाइन्न भन्न सक्दैन वा भन्न पाउन्न । त्यसैले मैले माथि प्रश्नको २ को उत्तरको सिलसिलामा भने भैmं सबभन्दा पहिले त हामीले प्रत्येक मानिसको विचारको स्वतन्त्रताको अधिकारलाई मान्नुप¥यो दोश्रो चरणमा हामी भन्न सक्ने भयौंः अर्काको विचारमा के कति त्रुटिहरु छन र मेरो विचारमा कति सत्यता छन् । यसरी समानका सबैथरी विचारको स्वतन्त्रतालाई पहिले मानी तिनको आपसी आदान प्रदानको सन्दर्भमा भन्न सक्छौं कुन विचारको के कति कारणले श्रेष्ठ र संग्रहणीय छन् र कुन विचार कति कति कारणले निम्न स्त्तरका भएकाले, हानीकारक भएकाले ती त्याज्य छन् । त्यसैले सर्वप्रथम प्रत्येक व्यक्तिको चोखो निष्ठा र इमानदारीलाई हेर्नु प¥यो । उसको विचारको उपयोगिता र दुरुपयोगिताको आधारमा छलफल गर्नुप¥यो ।

हाम्रो समाजमा कतिपय व्यक्तिको दृष्टिकोण र आचरण दास मालिकको जस्तो पाइन्छ, कसैको सामन्तको जस्तो, त कसैको बुर्जुवा वा पूँजीपति शोषकको जस्तो त कसैको तीन सबैका असमानतावादी, हेपाहा, दमनकारी र अहंवादी विचार र दृष्टिकोणलाई अस्वीकार गर्ने जनमुखी दृष्टिकोण पाइन्छ । यसरी हाम्रो समाज अनेकथरी विभेदकारी विचारका मानिसले भरिएको हुनाले तिनका विचारका परिवर्तनलाई पनि के कस्तो कारणले अनुकूल प्रतिकूल विचार परिवर्तन भैराखेको छ भनी अध्ययन गर्नुपर्ने हुन्छ । कुनै मानिस धेरै स्वार्थीबाट कम कम स्वार्थी हुँदै गयो भने उसमा समतावादी दृष्टिकोणको र व्यवहारको विकास भएको पाइन्छ भने जुन मान्छे कम स्वार्थीबाट झन झन बढी स्वार्थी हुँदै जान्छ उसमा झन झन बढी असमानतावादी दृष्टिकोण र व्यवहारले दवाव दिदै गएको देखिन्छ । यसरी मानिसमा आएको परिवर्तन मात्र महत्वपूर्ण होइन कि त्यो परिवर्तन सकारात्मकतिर बढी उन्मुख छ कि नकारात्मकतिर बढी उन्मुख छ त्यो बढी महत्व राख्छ ।

४) माक्र्सवादी साहित्यप्रति तपाईको धारणा के छ ? भविष्यमा माक्र्सवादी साहित्यको कस्तो प्रारुप आंकलन गर्नु भएको छ ? यसका जीवन्तताका आधारहरु बारे संक्षेपमा चर्चा गर्नु हुन्छ कि ?
म किशोर कालदेखि माक्र्सवादी विचार दृष्टिकोण, दर्शन र यसको वैज्ञानिकतासित क्रमशः परिचित शिक्षित, दीक्षित हुँदै आएको व्यक्ति हुनाले माक्र्सवादी दर्शन र दृष्टिकोणलाई न पहिले जसरी अङगीकार गर्दै आए अहिले पनि त्यसै गरी स्वीकार गर्दछु । यस दर्शनले नै संसारमा पहिलो पल्ट द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण दिई दर्शनको काम केवल व्याख्या गर्ने मात्र होइन कि विश्वलाई नै प्रगति उन्मुख बनाउँदै लग्न प्रयत्नशील हुने पनि हो भन्ने कुरा सिकाएकोले त्यो आधारभूत सत्य हिजो, आज र भोलि सधैंका निम्ति समान सत्यताको आधार हो भन्ने ठान्दछु । माक्र्सवादी साहित्य यही माक्र्सवादी विश्व दृष्टिकोणमा आधारित भएकाले माक्र्सवादले विश्व मानव जीवनलाई जसरी राजनैतिक आर्थिक सामाजिक र सांस्कृतिक क्ष्ँेत्रमा एउटा व्यापकता प्रभाव दिदै विकासको पथमा अगि लम्कदै छ । त्यसैगरी साहित्यको क्षेत्रमा पनि यसले त्यस्तै प्रभाव दिदै अघि बढिरहेको छ । तर विचारको यात्रा जति छिटो विस्तारित हुँदो रहेछ त्यसको व्यवहारिक जीवन पद्धतिको स्थापना र त्यसको दूरगामी संस्कार मानव जीवनमा स्थापित हुन त्यति नै धेरै समय लाग्दो रहेछ । त्यसले मानव जीवनका पुराना संस्कारहरुलाई भित्रै मन मस्तिष्क र मुटुदेखि विदागरी नयाँ संस्कारलाई स्थापित गर्न त्यतिकै ठूलो साधनाको आवश्यक पर्दो रहेछ । यसरी मानव जीवनका स्थुलतालाई बदल्न धेरै सजिलो रहेछ तर त्यसको सुक्ष्मतालाई बदल्न एकप्रकारले प्रलयनै हुदो रहेछ ।

यस हिसाबले हेर्दा विश्वमा साम्यवादी समाज सम्म पुग्न, त्यस अघि समाजवादी समाजमा पुग्नुप¥यो, त्यस भन्दा अघि जनवादी समाजमा पस्नु प¥यो र त्यसभन्दा अगाडि वर्तमान समाजमा नेपाल जस्तो विकासोन्मुख तश्रो मुलुकको सन्दर्भमा त हाम्रो जस्तो समाजबाट पूँजीवादी, सामन्ती र दासत्वपूर्ण शोषणका विविध खाले अवशेषलाई समाप्त नपारी हामी जनवादी समाजमै प्रवेश पाउने छैनौं । त्यसैले हाम्रो जस्तो मुलुक र त्यसको सबभन्दा पछि परेको समाजको सन्दर्भमा हामीले हाम्रो समाजलाई क्रमशः आमूल परिवर्तन गर्दै लगी साम्यवादी समाजमा पुग्न कम्तीमा पनि अनेक सयवर्षहरुको यात्रा गर्नु पर्ने प्रष्ट छ । अहिलेको २ बर्षे शताब्दीमै हामी देख्दैछौं – नेपाली समाज विश्व समाज विश्व समाज भित्र क्रमशः गर्दैछ भने विश्वमा विभिन्न स्तरका समाजहरु पनि ज्यादै ढिलो ढिलो क्रमले भएपनि नेपाल भित्र प्रवेश गर्दैछन् । यो आदान प्रदान र अन्तरक्रियाले हाम्रो विश्व माक्र्सवादी चिन्तर र नेपालको सन्दर्भमा हामीले समाहित गराउनु पर्ने । नेपालमा फिट गराउनु पर्ने साम्यवादी चिन्तन । माक्र्सवादी संस्कृति कस्तो किसिमले प्रभावित हुनेछ यो कुरो त विश्व परिस्थिति र नेपाली परिवेशले नै निर्णय गर्ने कुरा हो । तर एउटा कुरो प्रष्ट छ । जब सम्म विश्वबाट शोषण, दमन, असमानता र भेदभावको राम्रै गरी विदाई हुँदैन त्यस दिनसम्म त्यस समयसम्म माक्र्सवादी दर्शन र संस्कृतिको अस्त हुने त कुरै आउन्न । वर्तमान दृश्यहरुमा वीच भविष्यको अदृश्यताबाट के कस्ता र कति कति नयाँ कुरा आउँछन त्यो त कसैका निम्ति पनि जानी नसक्नु नै छ । अनुमान सम्म गर्नु अर्कै कुरा हो ।

यस सन्दर्भमा एउटा उल्लेख गर्नैपर्ने कुरो के छ भने नेपाल भित्र माक्र्सवादी दर्शन र राजनीतिले सचेत सजग र सक्रिय रुपमा प्रवेश गरेको अहिले ६ दशक मात्र पूरा हुन थालेको छ । यति सानो समयावधिमा नेपाली माक्र्सवादी नेतृत्वले हाम्रो नेपाली समाजमा जति प्रभाव स्थापित गरिसकेको छ त्यस अनुसार भोलिका दशकमा यस माक्र्सवादी नेतृत्वको विकास अझ कति सघन, सवल र सशक्त होला यो जसले पनि स्वतः अनुमान गर्न सक्ने कुरा हो । त्यसैले सुदर भविष्यको त कुरै छोडौं निकट भविष्य मै पनि नेपाली माक्र्सवादी प्रभाव र विस्तार सांच्चैं नै अति उल्लेख्य डिग्री झैं देखा पर्नेछ । कसैलाई यो भनाइ मनको लड्डु घ्यूसित खानु झैं लाग्न सक्छ तर नेपालको माक्र्सवादी आन्दोलनले यस तथ्यांकलाई प्रति बर्ष धनधान स्थापित गर्दै लग्दैछ ।

५) अघिल्ला पिढीका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लेखकहरु मध्ये कसबाट बढी प्रभावित हुनु भएको छ ? प्रभावित हुनुपर्ने कारणहरु के के हुन् ?
अघिल्ला पिढी (पुस्ता) का लेखकहरुमा राष्ट्रिय स्तरमा सर्व श्री लक्ष्मीप्रसाद देवकोटा, गोपालप्रसाद रिमाल, युद्धप्रसाद मिश्र, हृदयचन्द्रसिंह प्रधान, कृष्णचन्द्र सिंह प्रधान, श्याम प्रसाद शर्मा र गोविन्द प्रसाद लोहनी र अन्तर्राीष्ट्रय स्तरमा म्यासिम गोर्की, चेखोभ, लिउ टल्सटाय, लुसुन, कोमोजो, विलियम सेक्सपियर शैली, वाल्ट हिटम्यान, प्रेमचन्द्र, रवीन्द्रनाथ ठाकुर, यशपाल आदि लेखकहरुले मलाई बढी प्रभाव पारेको अनुभव हुन्छ ।

प्रभावित हुनका मुख्य कारणमा ती लेखकका सम्प्रेषण शक्ति, तिनका यथार्थवादी दृष्टिकोण शोषित पीडित जनसमुदायप्रतिको असीम माया र सहानुभूतिको भाव, तिनको लेखकीय इमानदारी र विश्व मानवतावादी उदात्तम दृष्टिकोणहरु जिम्मेवार छन् । केवल माक्र्सवादी दार्शनिक मान्यताका हिसाबले हेर्दा ती मध्ये जो प्रगतिशील एवं प्रगतिवादी धारणा राख्दछन तिनको बढी छाप प्राप्त गरियो त्यो पनि पछि सम्म सम्झनामा रहने कुरो हुन्छ भन्ने लाग्छ । त्यसो त जतिजति हामीमा स्वयंको ज्ञान, अनुभव, चेतना, विवेक र विविधताको सौन्दर्यको बोध हुँदै जान्छ, त्यसले पनि मान्छेको दृष्टिकोणमा आधारभूत नै नभए पनि धेरै थोरै नयाँ प्रभावहरु प्राप्त हुँदै जान्छन् । फेरि कुनै मानिस कति विशद अध्ययन गर्ने क्षमताको छ त्यो हेरेर पनि मूल्यांकनको आधार क्रमशः फरक पर्दै जान्छ र भन्ठान्छु । मेरो अत्यन्तै सीमित अध्ययनका आधारमा वर्तमान प्रभाव उपरोक्त प्रकारको छ ।

६) सोभियत संघको पतनपछि संसारबाट साम्यवाद ढल्यो र प्रगतिवादी साहित्यको पनि भविष्य छैन भनेर बोलिरहेको सन्दर्भमा जीवनवादी सिर्जनकर्मीहरुलाई के भन्न चाहनुहुन्छ ?
यस प्रकारको उत्तर प्रश्न नं. ५ को उत्तरको व्यापक घेरासित मिल्दो जुल्दो भन्ने लाग्छ । कारण यो एक त दार्शनिक एवं राजनैतिक दृृष्टिकोणसित सम्बन्धित विषय वा प्रश्न प¥यो । दोश्रो यस्तो प्रचार प्रसार गर्नेहरुको नियतसित पनि घनिष्ट रुपले सम्बन्धित कुरो हो । जस्तो भनौं कुनै दुईजना व्यक्तिमा आ–आफ्नो विचारका विविधता बारे चर्को वाद विवाद प¥यो भनेता पनि यदि त्यसमा अनावश्यक रुपमा पूर्वमति मिसिएको छैन भने त्यस मत भिन्नताको प्रत्येक पक्षको पर्याप्त महत्व हुन सक्छ चर्को मतमतान्तर हुँदा हुँदै । तर त्यहाँ कुनै निहित उद्देश्यका स्वार्थमा वा नियत वा अनाहक आरोपित घृणा भाव पनि मिसिएको छ भने त्यसले स्वाभाविक भन्दा अस्वभाविक स्वरुप बढी लिने सम्भवना हुन्छ । सेभियत संघको पतन एक होइन अनेक कारण जोडिएका छन् । हुन्छन् । तर सत्य त तथ्यलाई नै उपेक्षा गरी प्रचारका निम्ति सोभियत संघको ध्वंसात्मक आलोचना गरिन्छ भने त्यस्तो आलोचनाले त्यस्तै प्रकारको प्रति जवाफ पाउन पनि असम्भव, आश्चर्यजनक र अपत्यारिलो हुँदैन ।

अव यथार्थमा आएर कुरा गर्ने हो भने “सोभियत सत्ता ढल्यो” । यो एउटा जीवित यथार्थ हो । तर अकारणैं त त्यो पक्कै पनि ढलेको छैन । जसरी अकारणै त्यसको स्थापना पनि त भएको होइन । त्यसैले कैयन मानिसलाई लाग्न सक्छ: ७४/७४ बर्ष सम्म अडिग किल्ला, स्थापित सोभियत संघ यसरी ढल्ला भनी कसले अनुमान गरेको थियो र ? तर ढल्यो त्यसैले अब त्यस्तो व्यवस्था टिक्दैन क्यारे । फर्कन्नथ्योरे । इत्यादी । तर जब हामी त्यसको ढल्नाका पछाडिको वास्तविक कारण नजीक पुग्छौं हामी के थाहा पाउँछौं भने सोभियत संघ भन्दा बलिया भनिने सत्ता पनि त ढलेका छन् । त्यसमा कति नै आश्चर्य मान्नुपर्छ र ? त्यसैले मुख्य कुरो दिन ढल्यो भनी त्यसका मुख्य मुख्य कारण जान्न सकियो भने त्यस्ता कमजोरी नपालेको भए वा हटाउन सके त्यो सत्ता ढल्ने थिएन भनी जस कसैलाई पनि प्रष्ट हुन्छ । सोभियत संघ ढले पनि बीसौं शताब्दीको सबभन्दा लोकप्रिय व्यक्तित्व माक्र्स नै मानिए र सोभियत संघको पतन पछि पनि त संसारका अनेक मुलुकमा सँम्यवादी विचारको आधारमा नयाँ नयाँ संगठनहरु खुल्दै गैरहेका छन् । त्यसैले कोही अमुक सिद्धान्तको व्यवहारिक प्रयोगमा फेल खायो भनेर त्यो सिद्धान्त सधैंको निम्ति अस्वीकृत भयो भन्ने प्रमाणित हुदैन । त्यसैले संसारका ती सबै मानिस जो कुनै पनि प्रकारको शोषण, दमन, अन्याय, अत्याचार असमानता र भेदभावका विरुद्ध छन् । ती त माक्र्सवादका अभिन्न साथीहरु छन् । हो माक्र्सवादी सिद्धान्तलाई मानव जीवनका सेवामा प्रयोग गर्दा आज सम्मको १५० बर्ष भन्दा बढी समयको इतिहासमा जहाँ जहाँ समान किसिमको आधारभूत गल्ती, कमीकमजोरी खरावी कार्यहरु गर्न पुगिएको छ त्यसमा परिष्कार ल्याउनै पर्छ । कुनै पनि सत्यको अनुयायीले सेतोलाई सेतो र कालो लाई कालो भन्नै पर्छ र कसै गरे पनि भन्न सक्नै पर्छ । जो भन्न सक्छ उसको अग्रिम यात्रा अघि बढछ जो भन्न सक्दैन उसलाई युगले परिवर्तनकारी समाजले असहयोग गर्छ, इन्कार गर्छ । हो स्वयं आर्थ संवाद भित्र पनि वादविवाद छन र हुन्छन् अनि हुनै पर्छ वाद विवाद नगरी वा नभए तत्वबोध कसरी हुन्छ ? तसर्थ म त खुल्ला शब्दमा भन्छु : जीवनवादी जीवन्तवादी सर्जकहरु खुल्ला मनले छाती खोलेर ÷ ताने अघि बढछन् र बढनु पर्छ ।

७) “लेखक समाजको ऐना हो” यदि यो कथनमा विश्वास गर्नुहुन्छ भने अमेरिकाले विश्वमा एक धु्रवीय युद्धको ऐलान गरिरहेको र आफ्ना प्रतिद्वन्द्वीहरु चाहनेप्रति गरिएका व्यवहार बारे के भन्नुहुन्छ ?
“लेखक समाजको ऐना हो” भन्ने अभिव्यक्ति पूर्णतः स्वीकार गर्न मतमतान्तर हुन सक्ने भएता पनि अमेरिकाले विश्वको एक धु्रवीय युद्धको ऐलान (घोषणा) गरिहेको तथ्यलाई ध्यानमा राख्दा जो उसको यस नीतिको कटु आलोचक छन् । तिनीहरुप्रति उसको व्यवहारलाई हेर्दा कुनै पनि निष्पक्ष मानिसले अमेकिराको आलोचना नगरी बस्न सक्दैन । कारण के भने कुनै पनि राष्ट्र जतिसुकै ठूलो शक्ति सम्पन्न वा बलियो भए पनि उसलाई अरु स्वतन्त्र राष्ट्रहरुप्रति विद्वैष र दमन नीति लिएको कुरालाई कसैले पनि समर्थन गर्न वा आलोचना नगरी बस्न सकिने कुरै होइन । जस्तो विगतमा अमेरिकाले कोरिया र भियतनामसित जस्तो आक्रमक र हस्तक्षेपकारी नीति लियो त्यसले गर्दा विश्व जनमत उसको विपक्षमा गयो र अन्तमा उसले ती ठाउँबाट÷ मुलुकबाट पछि हटंनै प¥यो । त्यस्तै वर्तमान समयमा उसले अफगानिस्तान र इराकका विरुद्ध जस्तो आधारहीन÷प्रमाणसहित आरोपमा हमला गर्ने र त्यहाँ अखडा जमाई बस्ने काम गरेको छ । त्यसलाई विश्व जनमतले प्रति बर्ष झन झन विरोध र भत्र्सना गर्दै गएको छ । यसबाट स्पष्ट छ उसको गति उत्तर कोरिया र भियतनामबाट पछि हटनु परे झैं चांडै नै पछि हटनु पर्नेछ । अझ लेखक त एउटा वस्तुवादी, यथार्थवादी सत्यवादी दृष्टिकोण राख्ने सचेत नागरिक भएकाले उसले संसारको जुनसुकै मुलुकमा अनावश्यक रुपले विदेशी हस्तक्षेप आक्रमण र दमन हत्या हिंसा र अत्याचार फैलाएपछि उसले त्यसको घोर विरोध र निन्दा नगर्ने त कुरै आएन ।

८) भारतमा पुस्तौदेखि बस्दै आएका नेपाली मूलका भारतीयहरुले भाषिक मान्यता पाएका छन् । नेपाली भाषाले आठौं सूचीमा मान्यता पाएको प्रसंगलाई तपाईले कसरी हेरिरहनु भएको छ ?
त्यसरी नेपाली मूलका भारतीयहरुका निम्ति आठौं सूचिमा नेपालीलाई मान्यता दिइएकोमा कुनै पनि नेपालीले स्वागत गर्नु र त्यो भारतको संवैधानिक पृष्ठभूमिमा एउटा आधारभूत अधिकार हो भन्ने कुरा स्वीकार नगर्ने कुरै आउन्न । बरु त्यस्तो भाषिक मान्यता संविधान मै दिइसकेर पनि विशेष गरी उत्तरपूर्वी भारतमा कैयन राज्यका नेपालीहरुले पक्षपात पूर्ण व्यवहार भोग्नु र त्यहाँबाट अत्यन्त अपमानजनक ढंगले अन्यायका साथ खेदिनु पर्ने स्थिति देख्दा धेरै नै दुःख र पीडा अनुभव हुन्छ । आखिर कुनै पनि भूमिमा कुनै पनि जातिको अधिकार किन स्वीकार गर्नुपर्छ भन्दा त्यस जातिले त्यस भूमिलाई आवद गुल्जार गर्न आर्थिक विकास गर्न, मानवीय सभ्यता र संस्कृतिले, भाषाले, साहित्यले, कलाले त्यस भूमिलाई सिगार्न र चिर स्मरणीय पार्न विशेष श्रम, पसिना र बुद्धि खर्च गरेकोले हुन्छ । त्यसैले भारतमा बस्ने नेपाली मूलका भारतीयले पनि आफ्नो उचित हक पाउनै पर्दछ ।

९) साहित्यकारले देशमा भइरहेका विकृति विसंगतिका विरुद्धमा कलम चलाउनु पर्छ भन्ने आदि मान्यताबारे कत्तिको अडिग हुनुहुन्छ ?
त्यस कुरामा अडिग नहुने कुरै आउन्न किन भने यो त कुनै पनि इमान्दार, देशभक्त, समाजप्रेमी राष्ट्रको भविष्य र संस्कृतिप्रेमी मानिसले यस आधारभूत सत्य र कर्तव्यलाई विर्सनै मिल्दैन । भनौं कुनै साहित्यकारले यस कर्तव्यलाई विर्सेमा यसमा गैर जिम्मवार भई वेवास्ताको भावना वा व्यवहार देखाउन थाल्यो भने एकातिर उसलाई उसको समाज र दशले आलोचना गर्न थाल्छ र अर्कोतिर स्वयं उसको आत्माले उसलाई भित्रभित्रै धिक्कार्न थाली एक न एक दिन आ–आफ्नो कर्तव्यरुपमा आउनै पर्छ । हो केही गरी त्यो लेखक हार्दिक नैतिक र वेचारिक रुपले नै पतनको मार्गतिर लागेछ भने उसले आफ्नो कर्तव्यको उल्लघंन गरेको गरेकै पनि गर्न सक्छ । तर यस अकर्तव्य वापत उसले आफ्नो जीवनमा जुन उपहार पाउँछ त्यो देखेपछि चाहिं उसको हृदय नरोई र उ आफ–आफैं धिक्कारनतिर अग्रसर नभई बस्न सक्ला झैं लाग्दैन । अपवाद अवस्थाको कुरो बेग्लै हो ।

१०) कवि गोकुल जोशीको रचना धर्मिता र उहाँको साहित्यप्रतिको लगन एवं उहाँद्वारा सिर्जित साहित्यप्रति तपाईका भावना के छन् ?
श्री गोकुल जोशीको आफ्ना रचनाप्रतिको धर्म, त्यसमा समर्पित उहाँको लगनशीलता त्यसबाट सिर्जित उहाँका रचनाहरुलाई अध्ययन गर्दा, म ठान्छु कुनै पनि विश्वसेवी, देशभक्त, संससनका एक एक शोषित पीडित जनताप्रति असीम माया र आत्मीयता भाव राख्ने पाठक, कविको प्रकृतिप्रतिको मानव मात्र प्रतिको संवेदनालाई गहिरो गरी अनुभूत गर्न सक्ने पाठकको निम्ति कविका एक – एक रचना अत्यन्त हृदयस्पर्शी लाग्ने खालका छन् । कवि गोकुल जोशी साझें प्रकृति, मानव र यथार्थको मुटमै प्रवेश गर्छन र त्यसबाट उनको आत्माले अनुभव गरेको यथार्थ वा अनुभूति जस्ताको तस्तै सरल भन्दा सरल तर मीठो भन्दा मीठो र चोखोभन्दा चोखो स्वरुपमा प्रदान गर्न सक्छन् । त्यसैले उनी नेपाल र नेपाली मात्रका महान र जीवन्त लोककवि बन्न सके । उनीलाई प्राकृतिक रुपमै आशु कवित्व प्राप्त थियो । प्रकृतिले बगैंचामा फूल फूलाए झैं बारीमा तरकारी फलाए झैं र खेतमा बाली पकाई पस्के झैं उनी आफ्ना काव्यात्मक सौन्दर्य र जीवनका अनूभूति पस्कन सक्थे । तर मलाई यस्तो अनुभव हुन थालेको छ – कुनै पनि मानिस समाजमा एक्र्लै प¥यो उसप्रति अस्वभाविक रुपमा ठूलो उपेक्षा खन्याईयो भने उसको प्रतिभा र सिर्जनाको त कुरै छाडौं उसको जीवनकै पनि घोर असामयिक अन्त समेत हुन सक्ने रहेछ । कवि गोकुल जोशी युवाकाल देखिनै एकलकाटे भएकाले र तत्कालीन बडो प्रबुद्ध भनाउदो समाजले पनि उनी प्रति आवश्यक मात्रामा पूर्ण हार्दिकता पूर्वक न्यूनतम सहानुभूति र सहयोग समेत बेलैमा उपलब्ध गराउन नसकेकोले ÷ अर्थात नगरेकाले उहाँ त्यस्तो कलकलाउँदो युवावस्थामै विक्षिप्त हुनु भयो र उहाँको असामयिक निधन नै हुन गयो । त्यसैले कुनै पनि व्यक्तिको उत्थान र पतनमा व्यक्तिकै आफ्नो अग्रसरता र लक्ष्य बाहेक पनि उसको परिवेशको न्यूनतम स्याहार सम्भार र सबभन्दा ठूलो कुरो अत्यन्त सहानुभूतिपूर्ण आड भरोस र सरसल्लाह अत्यन्तै निर्णायक कुरो हुँदो रहेछ ।

११) एकथरी मान्छे साहित्यबाट “वाद” मृत्यु हुनु पर्छ भन्छन । कोही साहित्यलाई जीवनसंग गाँसेर लान सक्रिय छन । “साहित्यकारले सिर्जनालाई राजनीतिद्वारा दख्खल दिनु हुन्न तथा साहित्यतर्फ मात्र ध्यान दिनुपर्छ” भन्छन तपाई के भन्नु हुन्छ ?
आ–आफ्ना ठाउँबाट हेर्दा दुवै थरीको भनाई एकदमै ठीक हो । किन भने कसैको पनि विचार आफ्नै वंश, वर्ग, परिवेश, शिक्षा दीक्षा निजी प्रकृति र स्वभाव वानी वेहोरा, सरसंगत र तत्कालीन समयको सामाजिक सांस्कृति, आर्थिक र राजनैतिक सन्दर्भबाट बन्ने गर्छ । त्यसैले म सर्वप्रथम के ठान्छु भने कसैको विचारलाई ठीक वा वेठीक भन्नु अगाडि त्यो भन्ने मान्छेको माथि भने झैं कुन पृष्ठभूमि र परिवेशबाट आएको छ भनी हेर्नु पर्छ । त्यसरी वस्तुगत रुपमा र साथै मनोगत रुपमा उसका विचारको आधार पत्ता लागेपछि उसले त्यो कुरा समाजलाई गतिदिन बलदिन परिवर्तन उन्मुख पार्ने त्यस्तो विचार लिएको रहेछ भने त्यसको समर्थन गर्नुपर्छ । होइन, त्यस्तो विचारले समाजलाई यथास्थितिमा जकडयाउँछ । वा वाध्छ वा अझ पछाडि पछाडि तान्न खोज्छ भने त्यसको विरोध गर्नुपर्छ । तर संसारको विचारको ऐतिहासिक विकास क्रमलाई हेर्दा के देखिन्छ भने धेरै जसो हामी कसैको विचारप्रति टिप्पणी गर्दा वा त्यसका पक्ष विपक्षमा बोल्दा अत्यन्त मनोगत ढंगले, आफ्नै रुचि र विश्वास अनुसार पूर्वमति राखेर बोल्ने गर्छौ । यो साह्रै असत्य कुरो छ, अव्यवहारिक कुरो छ र अत्यन्त हानिकारक कुरो पनि छ । उदाहरणका निम्ति भनौं कसैको विचार राजावादी छ, कसैको कांग्रेसवादी छ, कसैको वामपंथीवादी छ÷वा कम्युनिष्टवादी÷माक्र्सवादी छ भने हामी आ–आफ्नो ठाउँबाट अर्काको विचार लाई वेठीक भन्ने गर्छौ । यस्तो अवैज्ञानिक÷अवस्तुवादी÷मनोगतवादी÷शुरुमै पक्षपाती दृष्टिकोण लिनाले हाम्रो समाजका विचारशील जनता एक अर्का सित स्वस्थ रुपमा आदान प्रदान गरी सत्य विचार वा चिन्तनको खोज गर्नेतिर नलागी शुरुमै आफ्नो बाहेक अर्काको विचार गलत हो भन्ने निष्कर्षमा पुग्छौं । अब यस परम्परावादी, रुढीवादी, अयथार्थवादी, अवस्तुवादी, अव्यवहारिकवादी अव्यवहारिक चिन्तन शैलीलाई हामीले माक्र्सले हेगेलको विचारलाई टाउकोले टेक्नुको सट्टा खुट्टाले टेकाइ दिए झैं सुल्टाएर टेकाउनु छ ।

यस नौलो चिन्तन अनुसार म के भन्नु उपयुक्त ठान्छु भने जो साहित्यलाई “वाद” भित्र हुल्नु हुन्न र साहित्यलाई शुद्ध साहित्य भित्र नै राख्नुपर्छ वा रहन दिनुपर्छ भन्छन ती आफ्नो ठाउँमा त्यस कुरा वा दर्शन वा दृष्टिलाई ठीकै होला तर म ठीक ठान्दिन । त्यसैले उनीहरुले मेरो अर्को भनाइ त्यो के भने साहित्यले जीवनसित गाँसिएर अघि बढनुपर्छ र त्यसो गर्दा राजनीतिवाद जे जे आउँछन ती सबैलाई लिएर हिडन सकिन्छ भन्ने धारणालाई गलत ठान्न सक्छन र मेरो विचारलाई अस्वीकार गर्न सक्छन । ठीक छ उनीहरु मेरो विचारलाई गलतै भनून । तर वास्तविकता के हो भने यस विषयलाई ठीक या बेठीक भन्ने हामी दुई थरी लेखक वा विचारका मानिस मात्र छैनौं । हाम्रा दुई भिन्न विचार बाँकी पाठकले पनि पढ्छन । उनीहरु के भन्छन् ? त्यो पनि हेरौं म हुन सक्छ पाठकहरु हाम्रा दुई विचारमा मात्र बाँडिएलान । अथवा हुन सक्छ अरु दुई नयाँ विचार पनि व्यक्त हुन सक्छन । यसरी विचारसित विचारले आदान प्रदान गरे पछि वा वाद विवाद गरेपछि वा जुधाएपछि अनि जम्मै लेखक र पाठकका विचारलाई आपसमा मिसिन दिएपछि थाहा भै हाल्छ नि कसका विचार कतिलाई ठीक लाग्छन र कतिलाई बेठीक ।

यसरी म यति मात्रै भन्दैछु, सर्वप्रथम हामी के मानौं भने प्रत्येक व्यक्तिका आ–आफ्ना विचार हुन्छन । सबैलाई आफ्ना विचार नै सही लाग्छन । जस्तो कुन आमाबाबुलाई आफ्ना सन्तान सबभन्दा प्यारा र असल लाग्दैन र ? तर सांच्चै असल, नअसल, राम्रा वा नराम्रा त उनका बानी बेहोरा, चाल चलन, बोली वचनशील स्वभाव पढाई र काम गराईबाट मात्रै न थाहा हुने हो । त्यसैले हामी आफ्नो विचारलाई पूरा प्रेम र सम्मान गरौं तर साथैं अर्काले पनि आफ्नो विचारलाई त्यस्तै ठानेको हुन्छ, ठान्छ र ठान्न पाउनु पनि पर्छ भन्ने कुरा नबिर्सौ । हाम्रै देशको कुरा गरौं । नेपालमा राज्य व्यवस्था खडा भएदेखि २००७ साल फागुन ७ गते अघि सम्म शासकको हुकुमलाई दुनियाले आँखा चिम्लेर मान्नु पथ्र्यौ तर २००७ – २०१७ साल पुष १ गते अघि सम्म त जनताले उसको कुरालाई हाँक दियो । त्यस्तै २०१७–२०४६ सम्मको पंचायत कालमा फेरि शासकहरुले भने – हाम्रो कुरो मात्रै सुन्नु मान्नु पर्छ । तर २०४६ चैत्र २६ गते उप्रान्त २०५९ असोज १८ सम्म जनताले भने । हामी हाम्रा कुरा पनि सुनाउछौं । २०५९ असोज १८ देखि २०६३ बैशाख ११ सम्म देशको प्रतिगमन र निरंकुश तन्त्रले भन्यो ? मेरो मात्र कुरा सुन । तर २०६३ बैशाख १२ गते देखि फेरि जनता भन्दैछन हाम्रा कुरा पनि सुनाउँछौं । यसरी कस्तै राम्रोमा राम्रो शासकले पनि मेरो कुरा मात्र सुन भन्यो भने त्यो अनर्थ हुन्छ । त्यसैले जनताले सबैका कुरा सुन्छन र आफ्ना कुरा पनि सुनाउँछन । अन्तिम निर्णय फेरि सम्पूर्ण जनताले नै गर्छन । त्यसैले जनताले लोकतन्त्र ल्याएका हुन् ।

१२) साहित्यकारले कुनै आस्था र विश्वास बेगर कुनै जीवन्त साहित्य लेख्न सक्छ ? आस्थाप्रति विश्वास नभएका साहित्यकारहरु निश्चित गन्तव्य विन्दुमा पुग्न सक्छन् ?
यी प्रश्नलाई हामी अर्को कोणबाट पनि हेर्न सक्छौं । जस्तै, के कुनै साहित्यकार विशेष प्रतिभाशाली न भै विषय वा जन जीवनलाई अत्यन्त गहिरो सित हेर्न र देख्न सक्ने नभई जीवन्त साहित्य निर्माण गर्न सक्छ ? सामान्यतया कुनै पनि औसत क्षमता, सीप ज्ञान अनुभूति अध्ययन चिन्तन मनन भएको साहित्यकारले माथि प्रश्न उठाइएको जस्तो जीवन्त साहित्य सृष्टि गर्न सक्दैन नै । त्यसैले कुनै पनि साहित्यकार त्यसमा पनि जीवन्त साहित्यकार एउटा सुस्पष्ट, गहिरो, तीव्र र तर्कसंगत आस्था र विश्वास नभई जीवन्त वा युगान्तकारी साहित्य निर्माण गर्नै सक्दैन । तर त्यो भन्दा पनि विचारणीय कुरो अझ के हो भने अमुक खालको आस्था र विश्वास भएको साहित्यकारले मात्र जीवन्त साहित्य लेख्न सक्छ र अर्को दृष्टिकोणकोले लेख्न सक्दैन भन्ने कुरो चाहिं यथार्थ र तर्कसंगत हुन आउन्न । तर अर्कोतिरबाट एउटा सर्वमान्य वा बहुमान्य सत्य के मान्न सकिन्छ भने ज्यादै संकीर्ण र युग प्रतिकूल, शोषण, दमन र अत्याचारलाई पनि ठीकै हो भनी वकालत गर्ने विचारले भने पक्कै पनि जीवन्त साहित्य निर्माण गर्न सक्दैन । जस्तै दास मालिकका, ठूला–ठूला निर्दयी सामान्तका र अत्यन्त कपटी शोषकहरुका प्रशंसामा लेखिएको साहित्य जति सुकै सौन्दर्य, लालित्य, शिल्प, छाँट पारेर भनिए पनि त्यसले आम जनतामा दिने प्रतिकूल सन्देशले गर्दा त्यो साहित्य जनताबाट तिरष्कृत नभै छोड्दैन । यसरी के सम्म भन्न सकिन्छ भने अनेक कमी कमजोरी र त्रुटिले भरिएको भए पनि जनहितका पक्षमा लेखिएको साहित्यले लोकप्रियता र आर्शिवाद पाउन सक्छन । तर ती अत्याधिक बहुसंख्यक जनताको हितलाई लत्याई मुठ्ठीभर शोषक शासकको तारिफ गर्ने अति सुन्दर ठानिने साहित्य पनि जनताका नजरमा दुई कौडिका पनि ठानिन्न । त्यसैले जीवन्त साहित्य त्यो हो जसले अत्याधिक बहुसंख्यक पाठक र जनताको प्रशंसा पाउँछ र साथै जुन साहित्यले पाठक र श्रोता मात्रको मन मस्तिष्क र हृदयलाई चुम्बकले जसरी च्याप्प समात्न पुग्छ ।

१३) लेखन साहित्य र कलाले बर्गीय स्वरुपको प्रतिनिधित्व गरि रहेको हुन्छ कि हुँदैन ?
यस प्रश्नको आंशिक मात्र होइन २/३ उत्तर प्रश्न नं. २, ४, ८, १०, ११ र १२ को प्रश्न बारे चर्चा गर्दा नै आइसकेको छ भन्न सकिन्छ । तर पनि यस प्रश्नबारे थोरै अरु थप कुरा पनि भन्नु अत्यावश्यक ठान्दछु । त्यो के भने माक्र्सवादी/प्रगतिवादी । प्रगतिशील दृष्टिकोणबाट हेर्दा हाकाहाकी, सफासफी र खुलस्त रुपमा भन्न सकिन्छ साहित्यमा वर्ग पक्षीयता वा वर्गवाहिता राम्रैसित प्रतिविम्वित भएको देख्न सकिन्छ । तर त्यसो भन्दैमा त्यस कुरोलाई अति स्थूल रुपले, अत्यन्त सरल रेखाबाट बुझ्नु मिथ्याजनक हुन सक्छ । जस्तो कैयन हल्का वा सतही वा सस्तो किसिमले वर्ग र वर्गीय प्रभावलाई बुझ्न बुझाउन खोज्ने विचारका मानिसहरुले भन्न सक्छन भने समाजका मध्यमवर्ग देखि उच्च मध्यम र सत्ताका नजीक बसेका प्रत्येक मानिसले साहित्य रचे भने तिनले शोषक र शासक वर्गकै मात्र वकालत गर्छन । प्रतिनिधित्व गर्छन र निम्न मध्यम वर्ग गरीब किसान वर्ग, सुकुम्बासी ज्याली र सर्वहारा वर्गमा जन्मेको मानिसले साहित्य रच्यो भने त्यसमा शोषित पीडित वर्ग कै मात्र वकालत हुन्छ र शोषक वर्गको प्रशंसा हुन्न । तर कैयन व्यवहारमा वा अवस्थामा त्यसो नहुन सक्छ । अर्थात माथिल्लो वर्गको साहित्यकारले पनि तल्लो वर्गका पक्षमा सहानुभूति र समर्थन जनाएको हुन सक्छ र तल्लो वर्गबाट आएको साहित्यकारले पनि माथिल्लो थिचुवा वर्गको पक्ष लिएको हुन सक्छ । त्यसैले मसिनोसित हेर्दा के थाहा हुन्छ भने जुन सुकै वर्गबाट आएको साहित्यकार भए पनि उसले वास्तविकतामा शोषित वर्गको पक्ष लिएको छ भने त्यो शोषित वर्गको पक्ष लिने साहित्यकार रहेछ भन्ने बुझिन्छ र उसले गरीव र शोषित वर्गबाट आए पनि शोषक विचारको प्रशंसा र चाकरी गरेछ भने उसलाई शोषक वर्गीय साहित्यकार भन्नुपर्छ । त्यसका साथै वर्गीयता कहिले काही बोल्ने र लेख्ने सम्म सीमित भई व्यवहारमा चाहिं अझैं वर्गको स्वभाव देखिन जाने पनि हुन्छ । त्यसैले आदर्श वर्गीयता छुट्याउँदा लेखकको लेखाइको वर्गीयता मात्र नहेरी उसको जीवन पद्धतिको वर्गीयता पनि हेरिनुपर्छ ।

हाम्रो देश नेपाल जस्तो ज्यादै पछि परेको दासत्वपूर्ण, सामन्ती, अर्ध सामान्ती र विदेशीका दलाल पूँजीवादी दृष्टिकोण भएका मानिसहरुको व्यापकता भएको समाजमा साहित्य क्षेत्रमा मात्र होइन स्वयं साम्यवादी र प्रजातान्त्रिक समाजवादी भनिने राजनैतिक पार्टीका नेतृत्वमा समेत मुखमा “साम्यवाद र प्रजातान्त्रिक समाजवाद” यो जपना तपना हुन्छ तर व्यवहारमा चाहिं कहि अनेक मुखी शोषणपूर्ण व्यवहार देखा परि रहेको हुन्छ । यस विडम्बनापूर्ण व्यवहारलाई हाम्रो सचेत जनआन्दोलनले सही दिसामा डो¥याउन नसकेकाले हाम्रो समाजमा “भनाइ र गराइ” का वीचमा सधैं धेरै धेरै आनको तान फरक परेको पाइन्छ ।

१४)जीवन उद्देश्य, जीवनको मूल्य जीवनका अवसान यी तनी पहलुलाई कसरी हेर्नुभएको छ ?
आफ्नो छवि राम्रो देखियोस् भनेर जसले पनि जीवनको उद्देश्य महानतातिर यात्रालाई बनाएको हुन्छ । जीवनको मूल्य त्यसैगरी असल र राम्रो मानिस बन्न सकुँ भनी देखाएको हुन्छ । जीवनको अवसान बारे चै बरु धेरै मानिसले नसोचेको हुन सक्छ र सोच्नेले पनि धेरै जसो मेरो मृत्युपछि पनि मेरो हाई–हाई भै दिए हुँदो हो भनेको हुन्छ होला झै ठान्छु । म पनि यहि नेपाली समाजको, अझ वर्तमान विश्व मानव – समाजको एउटा सदस्यताका नाताले आफूलाई माथिका कामनाबाट टाढा छु, भिन्न छु, र त्यसका निम्ति मैले आज सम्मको – जीवनमा केही उल्लेख्य काम गरेको छु भन्ने दावी गर्न सक्दिन । त्यसैले म जस्तो सामान्य नेपालीले समाजमा अधिकांश मायामा पाइने कमी, कमजोरी गल्ती, खरावी र अन्य केही अंशमा त गैर जिम्मेवारपना पनि देखाएको हुन सक्छु । यो कुरा आजभन्दा आफ्नो शैष पछि विस्तारै देखिने कुरो हुन सक्छ । त्यति भएर पनि म के कुरोमा केही प्रष्ट हुँदै गएको छु झैं लाग्छ भने मान्छेले आफ्नो विचारलाई उचाल्नु ठूलो कुरो होइन रैछ, व्यवहारलाई नै बढी शुद्ध र गहकिलो पार्न सक्नु पर्दोरहेछ । जीवनको मूल्य पनि असल बनाउनु पर्छ भन्ने ठान्नु मात्र पर्याप्त रै न छ, दैनिक व्यवहारमै असल भएर देखिन सक्नु पर्दो रहेछ । जहाँ सम्म “अवसान” को कुरो हो त्यसबारे जबसम्म भयको अनुभव गरिरहिन्छ तव सम्म “अवसान” का बेला सजिलोसित विदा हुन पाइन्न भन्ने लाग्छ । यसरी जीवनमा सही अर्थमा महानतातिर अग्रसर हुनु, असल बन्ने कामना राख्नु वा प्रयत्न गर्नु र मृत्युदेखि सहर्ष आँखा जुधाउँछु भन्नु कम कठिन कुरो रहेनछ भन्ने अनुभव गर्दै गैरहेछु भन्ने लाग्छ ।

१५) अश्लील र श्लील साहित्यको मापदण्ड के हो ?
म ठान्छु, एक प्रकारले यस प्रश्नको उत्तर दिनु धेरै कठिन छ । कारण श्लील र अश्लीलको व्यख्या देश/काल परिस्थिति, मानिसको तत्कालीन चेतना र सामाजिकतामा भर पर्छ । त्यसैले संसारभरिको निम्ति समानरुपले लागू हुने गरी यसको आधारमा मापदण्ड बनाउन त धेरै नै गाह्रो पर्ला । त्यस अर्थमा असंभव प्रायः छ पनि भन्न सकिएला । तैपनि व्यवहार चलाउने हिसाबले के सम्म भन्न सकिएला भने कुनै एउटा निश्चित देश, काल, परिस्थित अन्तरगतको मानव समाजको जुन कुरालाई कुनै पनि हिसाबले ग्राह्य सैध्य र अनुकरणीय ठान्दैन त्यस कुरालाई अश्लील भन्नु पर्ला र जुन जुन कुरो सम्म त्यस समाजलाई स्वीकार्य छ त्यसलाई श्लील भन्न सकिएला । तर अझ मसिनोमा जाने हो भने यो प्रत्येक मानिस (नारी र पुरुष दुवै) को दृष्टिकोण रुचि आवश्यकता लाभ र त्यसबाट प्राप्त हुने सौम्य आनन्द र सन्तोष सित सम्बन्धित हुन्छ झैं लाग्छ । त्यसैले व्यवहारमा के देखिन्छ भने विवेकपूर्ण होस वा आफ्नो स्वार्थ र लहड पूरा गर्न होस कैयन व्यक्तिले समाजको कुनै पनि वन्धन मान्दैन भने कतिपय व्यक्तिहरु आफ्नो विश्वासको आधारमा सम्पूर्ण व्यक्तिहरुलाई अधीनमा राख्न चाहन्छन । त्यसैले समाजमा सबभन्दा बढी वादविवाद र द्वन्द्व भै रहने एउटो कुरो यही श्लीलता र अश्लीलताको विषय नै हो । तर एउटा द्वन्द्वात्मक रमाइलो के छ भने व्यक्ति एक्लो एक्लो परेको बेला श्लीलता र अश्लीलताको अर्थ नै लीक हुनपुग्छ र व्यक्तिहरु समाज बनाउनतिर लागे भने मानौं यो विषय सधैं नै अत्यन्त वादविवादको विषय बनिरहन्छ । तर धेरै गहिरो सित हेर्ने हो भने सके यस विषयको महत्व र मर्म बुझ्न मानिसले “विवेक” र संयमलाई बुझ्नैपर्छ ।

१६) तपाईले पढनु भएका कृतिहरुमा कुन कृतिले तपाईलाई बढी प्रभावित पारिरहेको छ ? जीवनमा ती कृतिका पात्रहरुप्रति सम्मान भाव जगाउने पात्रहरुको बारेमा केही भन्नुहुन्छ कि ?
म ठान्छु, मलाई सबभन्दा बढी प्रभाव पार्ने लेखक मध्ये पहिलो लेखक विलियम शेक्सपियर नै हुन र उनका दुखान्त नाटकका पात्रहरु जस्तै म्याकवेथ लेडी, म्याकवेथ लियर तिनकी कान्छी छोरी कर्डेलिया जस्ता पात्र मलाई अविस्मरणीय लाग्न्छन । घरि घरि तिनको सम्झना मात्र आउने होइन कि तिनलाई पढदा पनि जीवनमा उस्तै नवीनतम र दीव्यता आएझैं हुन्छ । त्यस्तै ह्यामलेर नाटकको पात्र स्वयं ह्याम्लेट । लिओ टाल्सटायको विश्व प्रसिद्ध असाधारण ठूलो मोटो उपन्यास “युद्ध र शान्ति” अझ त्यसलाई त महाउपन्यास भने बढी उपयुक्त होला, त्यसका देशभक्त लडाकु पात्रहरु र जीवनलाई अत्यन्त गहिराईमा गई चिने बुझेका पुरुष र नारी पात्र लाग्छन । गोर्कीको “आमा” उपन्यासका पावेल र आमा पात्रहरु, चेखवका कथा र नाटकका अति जीवन्त पात्रहरु । जहाँसम्म सम्मानभाव जगाउने भन्ने शब्दावली प्रयोग गर्नु भएको छ त्यसलाई मैले आदरको अर्थमा होइन कि ती पात्रहरुले पाठकको जीवनमा अत्यन्त अधिकतम आसन लिन सकेको अर्थमा लिएको छु । मलाई लाग्छ लक्ष्मी प्रसाद देवकोटाको मुनामदन काव्यका ती दुई पात्र पनि उस्तै बेजोड लाग्छन । यसरी म के ठान्छु भने कुनै पनि महान लेखकका ती अति जीवन्त र सशक्त पात्रपात्राहरु जसले जीवनको अति ठूलो सत्यता, वास्तविकता, हार्दिकता र निश्च्छलतालाई अति सरल र स्वभाविक रुपमा पाठकका हृदयमा प्रवेश गराउन सक्छन । त्यस्तो साहित्य नै युग युग सम्म अविस्मरणीय र हृदयको माझमा बसाउन मन लाग्ने हुन्छन् ।

१७) विशेषतः जनआन्दोलन–२ पछि नेपाली साहित्यमा आएको परिवर्तनलाई कसरी मूल्यांकन गर्नु भएको छ ?
विशेष गरि जनआन्दोलन–२ पछि भन्दा पनि त्यस अघिको २०५१ असोज १८ देखि शुरु भएको “प्रतिगमनको पाइलो र त्यसपछि २०६१ माघ १९ गते प्रारम्भ भएको निरंकुशतन्त्र” विरोधी अभियान देखि त्यस अभियानलाई २०६३ बेशाख ११ को सफलताको विन्दुसम्म पु¥याउन सफल अवधिमा नेपाली साहित्यमा आएको परिवर्तनतिर पहिले हामीले आँखा लगाउनुपर्छ । त्यसपछिका यी १९ महिनाको कुरा त बडो सजिलो र त्यस अर्थमा सस्तो समय भै हाल्यो । सजिलो र सस्तो वेलामा एक वित्ताको सट्टा दस वित्ता उचालिए झैं गरी आमूल परिवर्तनमुखी साहित्य निर्माण गर्न त के गाह्रो कुरा भयो र ? त्यसैले जनआन्दोलन–२ पछि लम्किदै गरेको नौलो आमूल परिवर्तनको भावधारालियुक्त साहित्य लेखनमा त कैयन राम्रा देखिने साहित्य उम्रदै “तीन पाते विरुवा” जस्ता पनि देखिएलान । तर प्रतिगमनकाल देखि निरंकुशकालसम्म जीवन र आफ्नो आस्था र विश्वासलाई बाजी थापेर जुन देशमा प्रत्येक चोक, डबली, चौतारी, सडक र गल्लीमा गाउँ देखि शहर सम्म र शहर देखि गाउँसम्म जुन साहित्यकारहरुले जति जीवन्त साहित्यको निर्माण गरे त्यसैका जगमा “२०६३ बैशाख ११” उप्रान्तका साहित्यको सिर्जना हुँदै आएको छ । यी पछिल्ला १९ महिनाका साहित्य केही होइनन भन्ने आशय होइन तर तिनमा जीवन कै र लेखकको अस्तित्वकै बाजी नपरेको हुनाले यहाँका साहित्यमा तिनका जीवन्त अनुभूतिको आधारमा केलाउनु समेत पर्छ मात्र भनिएको हो । नत्र त सुदूर पश्चिमतिर एउटा उखान छ “हरिलै दौड त भगिलै दौड” भन्ने । अर्थात यो शान्त र निरापद बेलामा के कष्ट उठाउनुपर्छ र ? क्रान्तिकारी साहित्य लेखन गर्न र अर्को चर्को स्वरमा पाठ गर्न मात्र भनिएको हो । त्यसैले म के ठान्छु भने एक त २०४६ साल चैत्र २६ गतेका दिन २०१७ साल पुष १ गते देखि २०४६ साल चैत्र २५ सम्म सत्तामा ढलिमली गर्दै निरंकुश पंचायती व्यवस्था विदा गरी जस्ता जनताका सुदिन आउलान् भन्ने नेपाली भोका, नाङ्गा शोषित पीडित दलित जनताले कामना गरेका छन् । त्यसलाई स्वात्तै विर्सी सत्ताधारीहरुले र त्यस सत्ताका मालिक विभिन्न पार्टीका नेताहरुले जनतालाई पीठ फर्काए र पुनः तिनै दीनहीन जनतालाई फेरि पनि दल्ने र पेल्ने काम शुरु गरे त्यसैबाट नै ती जनविरोधी, नीति विरोधी जनमुखी साहित्यले जग हाल्दै ल्याएको हो । तर २०५९ देखि २०६३ बैशाख ११ गतेसम्म जुन प्रतिगमन र निरंकुश राजतन्त्रले अर्को चरण ताण्डव नृत्य शुरु ग¥यो त्यसैले २०४७ देखि २०५९ सम्मको अवधिभित्र विकसित हुँदै आएको जनता विरोधी नीतिका विरुद्ध लोकतान्त्रिक गणतन्त्रमुखी साहित्यले गुणात्मक परिवर्तनको बाटो समातेको हो । त्यसैले यस साहित्यलाई अब कुनै राजतन्त्रले मात्र होइन कि कुनै पनि माक्र्सवादी वा प्रजातान्त्रिक समाजवादी नामको अधिनायकवादी दासत्वपूर्ण,सामन्ती र शोषक विचारलेयुक्त जनताकै सेवक हौ भन्ने सत्ताधारीले पनि हल्लाउन सक्ने छैनन । अब नेपाली जनताको आधारभूत एउटा यस्तो शक्ति नेपाली समाजका अगाडि देखा परिसक्यो जसलाई सत्ताधारीले मान्यता दिन र मर्यादा गर्ने कुरामा अलिकति पनि आनाकानी गरे भने ती शासकहरुको कुनै खैरियत रहने छैन । अबको नेपाली साहित्यले नेपालका सबै भाषाका साहित्यले, लोकतान्त्रिक...गणतान्त्रिक..आमूल परिवर्तनकामी चेतनालाई आफ्नो मूलधार बनाउने निर्णय गरिसके र अब भोलि आउने नेपाली साहित्य त्यसै जगमा खडा हुने देखिन्छ । अर्कोतिर क्रान्तिकारीताको नाममा पासविकता, जघन्य अपराध र प्रत्येक नेपालीको जन्मजात स्वतन्त्रताको सार्वभौमिकतालाई कुल्चन खोज्ने प्रवृत्तिको पनि त्यसैगरी एकएक गरी पर्दापास गरिदै जानेछ । अब मानव मात्राको आधारभूत स्वतन्त्रता समानता र वरावरीको सहभागितालाई कहिले पनि लत्याउने त के उपेक्षासम्म पनि गर्न पाउने छैन ।

१८)नेपाली मूलका भूटानी शरणार्थीले प्रजातन्त्र र मानव अधिकारका लागि संघर्ष गरेको स्थिति हिजैका अवस्थामा जहीको तही थन्किएको छ भनिन्छ । तपाइको प्रतिक्रिया के हुन सक्छ?
आज “नेपाली मूलका भूटानी शरणार्थीले विगत झण्डैं – २ दशक देखि आफ्नो जन्मसिद्ध अधिकारका निम्ति भूटानको निरंकुश राजतन्त्र र घोर अमानवीय राजतन्त्रका विरुद्ध जुन धैर्य, लगन, शान्ती सुझबुझ साथ आफ्नो लोकतान्त्तिक गणतान्त्रिक भविष्यका निम्ति संघर्ष गर्दै आएका छन् । त्यो आन्दोलन र त्यसको प्रभाव १७/१८ बर्ष अगाडिकै स्थितिमा छ भन्नु त वैज्ञानिक यथार्थ र चित्त बुझ्दो कुरो न होला । तर भूटानमा सामान्य भन्दा सामान्य प्रजातन्त्रको वैधानिक आधार खडा भैसकेको भए सके तिनले भूटानबाट यसरी जबरजस्ती डेढलाखको संख्यामा खेदिनै पर्ने थिए । तर पनि आज यति लामो शान्तिपूर्ण संघर्ष गर्दा पनि उनीहरुले आफ्नो न्यूनतम लक्ष्य भूटानमा फर्की अन्य नागरिक सरह बस्न समेत नपाउनु यो अत्यन्तै दुःख र आक्रोषको विषय बनेको छ, यसले कतिपय साहैं र यसले कतिपय साह्रै कम धैर्य भएका शरणार्थीहरुलाई सहि नसक्नुको अशान्त मनस्थितिमा ओरालेको पनि हुन सक्छ । तर दुष्ट र त्यो पनि अत्यन्त शक्तिशाली दुष्टसंग मुकाविला गर्नु कम गाह्रो पनि हुन्न र थोरै समयले पनि पुग्दैन ।

यति भन्दा भन्दै अति व्यक्तिगत रुपमा मलाई के एउटा तीतो सत्य नभनि नहुने अनुभव भएको छ भने यी नेपाली मूलका भूटानी शरणार्थीले यस्तो साह्रो कष्ट सहनु पर्दाको मूल दोषी भूटानको वर्तमान राजतन्त्रत्मक व्यवस्था नै हो । त्यसपछिको दोश्रो दोषी भारत सरकारको भूटानलाई सैद्धान्तिक रुपले परराष्ट्र र रक्षाको मामिलामा र व्यवहारिकरुपले सम्पूर्ण भूटानी मामिलामा भारत सरकारकै नीति र हुकुम वा आदेश वा चिप्लो भाषामा भन्दा सरसल्लाहमा हिडाउन पाए हुने भन्ने चर्को न चर्को इच्छा नै हो । तेश्रो दोषी चाहि नेपाल सरकारको (यो आजको नेपाल सरकार मात्र होइन, विगत २ दशक देखि कै श्री ५ को सरकार) आफ्नो सही र सफा परराष्ट्रनीतिको मेरुदण्ड नै नभएको “चिप्लोकिरे” वा गंडयौले नीति नै हो । तसर्थ यी सबै यथार्थलाई भूटानी शरणार्थी सबै विचार सिद्धान्त र रणनीति र कार्यनीतिका राजनैतिक नेताहरुले हृदयङ्गम गरेर अहिले सम्म विगत समयमा लिइदै आएका नीतिमा के कस्तो सुधार परिमार्जन र सत्यताको समायोजना गर्दै अघि बढने हो सो तिर ध्यान दिनाले यी दुःख कष्ट र अपमानका दिन चाँडो भन्दा चाँडो छोटिएलान भन्ने लाग्छ ।

१९) नेपाली प्रगतिवादी साहित्यिक आन्दोलनमा निरन्तर लागि पर्नेहरुका लागि के भन्न चाहनुहुन्छ ?
भन्न चाहने कुरा त एक होइन अनेक हुन सक्छन तर समस्या छ केवल उपदेश गरेर के गर्ने ? दोश्रो कुरो, उपदेश गर्नेको पनि हैसियत हुन्छ । म प्रगतिशील÷प्रगतिवादी क्षेत्रमा काम गर्ने कर्मीहरु मध्ये एउटा सामान्य अनुयायी मात्र हु । मैले मन वचन कर्मले आफ्नो सम्पूर्ण शक्ति यसमा सचेत सजग सक्रिय र निरन्तररुपले लगाउँदै आएको इतिहास पनि छैन । मेरो मुख्य जीवनका ३३ बर्ष आय आर्जनका निम्ति अध्यापन र प्राध्यापन गर्नमा लाग्यो । २२ बर्ष (पहिले २००८–२०१७ सम्म १० बर्ष र पछि २०५१–२०६३ बैशाख सम्म १२ बर्ष) कार्य क्षेत्र मै झोला बोकी जनताका वीच काम गर्ने वामपंथी राजनैतिक कर्ममा वित्यो । मैले २००८ देखि लेख्न रहर गरी २०१३ सालमा पहिलो कविता छपाई लेख्दै आएको झण्डै ६ दशक हुन थाले पनि विगत ११/२ दशक देखि (२०५१–२०६३) मेरो लेखन एक प्रकारले डुब्दो मानिसलाई त्यान्द्रोको सहारा झैं भएको अनुभव गरेकोले मेरा साहित्यमा जस्तै निरन्तर माने पनि जम्मा ४१/२ दशक भएको तर त्यसमा पनि गुणात्मकतालाई संख्यात्मकताले जितेको हुँदा मैले केही भन्नु त्यति मनासिव ठान्दिन । तर धेरै लामो अनुभवले के सिकाउँदो रहेछ भने जस्तै श्रेष्ठ कुरा चिताए पनि विचार गरेर पनि र बोले पनि त्यो भन्दा फलदायी र टिकाउ कुरा काम गरेरै देखाउन सक्दा मात्र हुने रहेछ । तसर्थ नेपालको प्रगतिशील प्रगतिवादी साहित्यिक आन्दोलनलाई सांच्चै उचाल्ने ज–जसलाई छ ती सबैले सक्दो बढी पढौं, बढी जनताको माझमा संगत गरौं, बढी आदानप्रदान गरौं र बढी जिम्मेवारी र लगनशील बनी साहित्य सिर्जना गरौं । धन्यवाद ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 21 फागुन, 2066

लेखकका अन्य रचनाहरु