मोदनाथ प्रश्रित : कवि–व्यक्तित्व एवम् कृतित्व एक विश्लेषण

- गोपाल विरही

मोदनाथ प्रश्रितको जन्म वि.सं. १९९९ असार ६ गते पिता घनश्याम पौडेल र माता बालिकादेवी पौडेलका कोखबाट अर्घाखाँची जिल्लाको खिदिम हर्राबोटमा भएको हो । बुटवलको गणेश जनता नि.मा.वि. (हालको कान्ति मा.वि.) मा वि.सं. २०२० तिर शिक्षक भएर आएका प्रश्रितले वि.सं. २००४ तिर हरिहर संस्कृत पाठशाला खिदिम अर्घाखाँचीबाट औपचारिक शिक्षारम्भ गरेका हुन् । उनले वि.सं. २०१६ मा हरिहर संस्कृत पाठशालाबाट स्व. गुरु महापण्डित दधिराम मरासिनी (१९३१–२०२०) का समीपमा रही वि.सं. २०१६ मा पूर्वमध्यमा र वि.सं. २०१८ मा उत्तरमध्यमासम्मको अध्ययन पूरा गरे । वि.सं. २०२० मा वाराणसेय संस्कृत विश्वविद्यालयबाट संस्कृत साहित्यमा शास्त्री उत्तीर्ण गरेका मोदनाथ प्रश्रितले त्यसपछि वि.सं. २०२१ मा निखिल भारतवर्षीय आयुर्वेद विद्यापीठसँग सम्वद्ध सन्यासी संस्कृत महाविद्यालयबाट आयुर्वेद विषयमा आचार्य उत्तीर्ण गरे । वि.सं. २०२४ मा प्राइभेट परीक्षार्थीका रूपमा त्रि.वि. बाट द्वितीय श्रेणीमा नेपाली विषयमा स्नातकोत्तर उत्तीर्ण गरे भने वि.सं. २०३१ मा बनारसको वाराणसेय संस्कृत विश्वविद्यालयबाट संस्कृत साहित्यमा आचार्य उत्तीर्ण गरे ।

वि.सं. २०१४ देखि राजनीतिमा लागेका प्रश्रित २०१४ देखि २०१९ सम्म नेपाली काग्रेससँग आवद्ध रहे भने २०१९ देखि २०२३ सम्म साहित्यसृजनातर्फ लागी वि.सं. २०२४ देखि माक्र्सवादी राजनीति र साहित्यतिर आकृष्ट भएर वि.सं. २०२६ देखि नेकपा एमालेमा संलग्न रहे । वि.सं. २०४८ को संसदीय निर्वाचनमा अर्घाखाँचीबाट सांसद पदमा उम्मेदवारी दिई पराजित भएका प्रश्रित वि.सं. २०५१ को माध्यावधि चुनावमा रूपन्देहीको क्षेत्र नं. ३ बाट नेकपा एमालेका सांसदका रूपमा निर्वाचित भए । एमालेको नौ महिने कार्यकालमा शिक्षा तथा संस्कृतिमन्त्री भएका प्रश्रितले राजनीतिक यात्राका क्रममा धेरैपटक गिरफ्तारी र जेल जीवनलाई भोगेका छन् ।

वि.सं. २०२१ देखि शिक्षण पेसा अँगालेका प्रश्रितले वि.सं. २०२४ देखि २०२६ सम्म लुम्बिनी कलेज (बुटवल), २०३० देखि २०३३ सम्म नेपाली संस्कृत महाविद्यालय बनारसमा पढाएका हुन् । ‘किरण’ (अर्घाखाँची २०१५), ‘छात्रप्रभा’ (वनारस २०१९), ‘गुराँस’ (भैरहवा २०२२), ‘मुक्तिमोर्चा सामयिक राजनीतिक पत्रिका’ (२०२९) आदि पत्रपत्रिकाको सम्पादन गरेका प्रश्रित रेलिमै सांस्कृतिक मण्डल (२०२४), मिर्मिरे मिलन केन्द्र (२०२४) आदिसँग सम्वद्ध थिए भने प्रलेसका केन्द्रीय महासचिव (२०४४), राष्ट्रिय जनसांस्कृतिक मञ्चका सल्लाहकार तथा प्रगतिशील लेखक कलाकार सङ्घका सल्लाहकारसमेत भएका छन् ।

स्व. महापण्डित दधिराम मरासिनी मोदनाथ प्रश्रितका हजुरवुबा थिए । उनका समीपमा रहन पाएकाले प्रश्रित प्रभावित भए र उनकै प्रेरणाले साहित्यतर्फ आकृष्ट भए । बाल्यावस्थामा नै विद्वान् हजुरबुवाको सामीप्य पाएका प्रश्रितले पछि माक्र्सवादी द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादको अध्ययन गरे र यसैलाई मन पराए । वि.सं. २००९ देखि नै कविता लेख्न थालेका प्रश्रितको पहिलो रचना ‘किरण’ पत्रिकामा ‘दशअवतार स्तुति’ (कविता २००९) शीर्षकमा छापिएको हो ।

उनले वि.सं. २०१३ तिर ‘हितोपदेश मित्रलाभ’ खण्डको नेपालीमा छायानुवाद गरेका थिए । यो वि.सं. २०१५ मा छापिएको थियो । त्यसपछि ‘आमाको आँसु’ शीर्षकको कवितासङ्ग्रह वि.सं. २०१९ मा प्रकाशित भएपछि उनी नेपाली साहित्यमा परिचित हुन पुग्छन् ।

मोदनाथ प्रश्रितका हालसम्म प्रकाशित पुस्तकाकार कृतिहरूको सङ्ख्या दुई दर्जनभन्दा बढी छ । ती हुन्–
१. हितोपदेश मित्रलाभ (कथाअनुवाद २००५)
२. आमाको आँसु (कवितासङ्ग्रह २०१९)
३. बुवा खै ? (शोककाव्य २०२०)
४. मानव (महाकाव्य २०२३)
५. पचास रुपियाँको तमसुक (सहलेखन नाटक २०२७)
६. देवासुर सङ्ग्राम (ऐतिहासिक काव्य २०३०)
७. जीवाणुदेखि मानवसम्म (जीवशास्त्रीय प्रबन्ध २०३२)
८. आमाको काखमा (एकाङ्की २०३२)
९. नारी बन्धन र मुक्ति (समाजशास्त्रीय प्रबन्ध २०३३)
१०. देशभक्त लक्ष्मीबाई (उपन्यास २०३३)
११. वैचारिक विकासको सन्दर्भमा देवकोटा (समालोचना २०३५)
१२. गोलघरको सन्देश (लामो कविता २०४०)
१३. भूतप्रेतको कथा (निबन्ध २०४२)
१४. अतीतका पाइलाहरू (संस्मरण २०४३)
१६. सहिदको रगत (कवितासङ्ग्रह २०४०)
१७. अतीतका पाइलाहरू (२०४१)
१८. चोर (नानी उपन्यास २०४४)
१९. आस्था र प्रथा (निबन्धसङ्ग्रह २०४४)
२०. हिन्दू धर्म र नारी (निबन्ध २०४६)
२१. केही ठट्टा केही मर्का (२०४७)
२२. केही सांस्कृतिक निबन्धहरू (निबन्ध २०४७)
२३. जब हुरी चल्छ (गीत सङ्ग्रह २०४९)
२४. सपनाहरू उपहार देशलाई (नाटक २०४९)
२५. मन्त्री जी (नाटक २०५१)
२६. मानसपटलका तस्वीरहरू (संस्मरण २०४९)
२७. नयाँ जनवादी संस्कृति (निबन्ध .. ?)
२८. जनसंस्कृतिको नयाँ दिशा (२०४८)
२९. जातपात र छुवाछुतको इतिहास (२०४७)
३०. गुटफुट विरुद्ध कम्युनिस्ट आन्दोलन र पार्टी एकताको पक्षमा (राजनीतिक लेखसङ्ग्रह २०५४)
३१. बुद्ध र चण्डाल युवती (गीति नाटक–२०५७)
३२. विचार अन्तर्संबन्ध (२०६१)

कविता
‘आमाको आँसु’ कवितासङ्ग्रह वि.सं. २०१९ मा प्रकाशित मोदनाथ प्रश्रितको पहिलो पुस्तकाकार कृति हो । छब्बीसवटा प्रगीतात्मक कविताहरू सङ्गृहीत यस कवितासङ्ग्रहले आध्यात्मिक, सामाजिक, सांस्कृतिक विषयवस्तुभित्र राष्ट्रप्रेम वा देशप्रेमलाई प्रकट गरेको छ । यस कवितासङ्ग्रहको शीर्षक ‘आमाको आँसु’ ले नै यसभित्र आमा, धर्ती, राष्ट्र वा माटोका आँसु वा पीडाको अभिव्यक्ति भएको छ भन्ने बोध हुन्छ । कवि भन्छन्–

जो जो भुल भए तँबाट सब ती सोचेर मात्र हिँडेस्
आमाका आँसु, हेरेर मात्र हिंडेस् ।

मानव अधिकार, स्वतन्त्रता, देशप्रेम, रुढिवाढी तथा भाग्यवादी चिन्तन, जातीय भेदभाव, छुवाछुत आदिको विरोध, आर्थिक न्याय, समानता, स्वतन्त्रता र भ्रातृत्व, विश्वशान्तिका साथै प्रजातान्त्रिक दृष्टिकोणको अभिव्यक्ति यस सङ्ग्रहका कविताका प्रमुख विशेषता हुन् ।

२०१९ मा ‘आमाको आँसु’ कविता–सङ्गालो, प्रकाशित गर्नुपूर्व प्रश्रितले पाँचवटा फुटकर कविता प्रकाशनमा ल्याएका थिए । ‘आमाको आँसु’ मा संस्कृत छन्दका उपजाति, बसन्ततिलका, शालिनी, मालिनी, वंशस्थ, इन्दिरा, अनुष्टुप, शार्दूलविक्रीडित, शिखरिणी, स्वागता र स्रग्धरा नामका लयहरू रहेका कतिपय कविताहरू पनि छन् । यसका साथै गद्यकविताको थालनी पनि उनले यसै संगालाका कविताबाट गरेका छन् । पहिले संस्कृत परम्पराबाटै विकसित भएका र दधिराम मरासिनीका निर्देशनमा रहेका प्रश्रितलाई संस्कृत छन्द र धार्मिक कथाको प्रभाव पर्नु स्वाभाविक
हो ।

मिश्रित लयविधानको प्रयोग, सामान्यतया सरल र सुबोध्य शब्दहरूको भाषिक प्रयोग, छोटो आयामको संरचना, विषयवस्तुगत अनेकता एवम् जीवनदृष्टिगत एकता आदि यस सङ्ग्रहको विशेषता हो ।

‘बुवा खै?’ लघुकाव्य मोदनाथ प्रश्रितको दोस्रो काव्यकृति हो । आफ्ना मावलीतर्फका हजुरबुवा महापण्डित दधिराम मरासिनीको निधनबाट शोकाकूल भई मोदनाथले यस शोककाव्य लेखेका हुन् । ६ घण्टाभित्रै तीस पृष्ठको यस काव्य लेखिएको हो ।

यस काव्यमा कवि प्रश्रितले पं. दधिराम मरासिनीप्रति आफ्नो अगाध स्नेह र श्रद्धाभावहरूलाई व्यक्त गर्नाका साथै उनको सङ्क्षिप्त जीवनवृत्त र शिक्षा, संस्कृति, समाजसेवा र साहित्यक्षेत्रमा उनले दिएका योगदानको समेत चर्चा गरी तिनलाई चिरस्मरणीय रूप दिएका छन् । करुणा र शोकका भावसंवेदनाहरू सजीव रूपमा व्यक्त भएकाले प्रस्तुत शोककाव्य मर्मस्पर्शी बनेको छ ।

‘बुबा खै?’ मा सबैजसो अनुष्टुप छन्दका पद्यहरू छन् र पूर्वाद्र्ध र उत्तराद्र्ध गरी यस काव्य दुई भागमा बाँडिएको छ । पूर्वाद्र्ध भागमा पण्डित दधिराम मरासिनीले शिक्षा, शास्त्रार्थ आदिका क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरिएको छ । उत्तराद्र्ध भागमा दधिराम मरासिनीको जन्मस्थल, उहाँको वंश, उहाँले गरेका सङ्घर्षजस्ता कुराहरू बयानमा आएका छन् । पण्डित दधिरामजी मावलीपट्टिका हजुरबा भए पनि उहाँसँगै बसेर शिक्षा लिने र मामाहरूले ‘बुवा’ भनेर उहाँलाई बोलाउने हुँदा प्रश्रितले पनि बुवा भन्नुहुन्थ्यो । यसैले हजुरबा भए पनि ‘बुबा’ भनेर उहाँद्वारा काव्यको नामकरण गरिएको
हो । कवि भन्छन्–

मेटिन्थ्यो कलिको ध्वाँसो बुवाको सामुमा हुँदा
जस्तै सुवर्णको मैला जान्छ तेजाबले धुँदा ।

हजुरबुवालाई भेट्न भनी रामघाट आश्रममा पुगेका कविले अकस्मात् हजुरबुवा बितिसकेको सुन्न पुग्छन् र शोककाव्य ‘बुवा खैं ?’ जन्मन्छ । मोदनाथ प्रश्रितका विचारमा पं. दधिराम मरासिनीको मृत्यु नेपाली आध्यात्मदर्शनका विद्यार्थीहरूका लागि अपूरणीय क्षति थियो र यस क्षतिको पूर्ति अरू कसैले गर्न सक्ने छैन ।

‘मानव’ मोदनाथ प्रश्रितको प्रंथम महाकाव्य हो । यो महाकाव्य प्रश्रितको चौथो प्रकाशित पुस्तकाकार कृति पनि हो । पहिलो संस्करण वि.संं. २०२३ मा पसिना प्रकाशन लुम्बिनीबाट र दोस्रो संस्करण लुम्बिनी प्रकाशन काठमाडौंबाट वि.सं. २०४७ मा छापिएको यो महाकाव्य वि.सं. २०२३ को मदन पुरस्कारद्वारा पुरस्कृतसमेत भएको हो । ‘उद्बोधन’, ‘सङ्कल्प’, ‘साहुको ब्याज’, ‘देउता’, ‘चिहान बोल्दैन ?’, ‘एक भूत एक वर्तमान’, ‘उनकै सपना, उनकै विपना’ जस्ता अठ्ठाईसवटा शीर्षकमा संरचित यस महाकाव्यमा कवि प्रश्रितले आफ्नै युगको, आफ्नै धर्तीको, आफ्नै माटोको, आफ्नै इष्टमित्रको गीतलाई आफ्नै युगको लयमा गाउने काम गरेका छन् ।

मोहन, काले, सरिता, शम्भु, पुतली, कृषक, लाहुरे, कान्छी, गजानन, बेलपाटे, भारी बोकाउने साहु आदि यस महाकाव्यका प्रमुख पात्र हुन् भने यसमा सामन्ती र निम्नवर्गीय पात्रका साथै नारी पात्रहरू पनि उभिएका छन् ।
‘मानव’ महाकाव्य कवि मोदनाथ प्रश्रित गान्धीवादी विचारधाराबाट प्रभावित भएका समयमा लेखिएको महाकाव्य हो । संस्कृत परम्पराबाट आएका र नयाँ चिन्तनलाई अँगाल्न लागेका कवि प्रश्रितको शिल्पशैली र विचारधारा यस महाकाव्यमा देखापर्छ । यसको कथावस्तु नेपालको परिवेशलाई समेटेर बुनिएको छ ।

गजानन पण्डितले काले कामीकी बहिनी पुतलीलाई पेट बोकाएपछि पण्डितको विरोध गर्दा काले कामी मारिन्छ र उसको गर्भ देखाउने पुतली पनि मारिन्छे । पुतलीले पाएको शिशु जङ्गलमा फालिन्छ, तर छोराको रहर भएको गजाननकै श्रीमती सरिताले जङ्गलमा त्यस बच्चा फेला पार्छे र घरमा ल्याउँछे । लोग्नेले त्यस बच्चा घरमा राख्न नदिएपछि सरिता घरै छाडेर निस्कन्छे र बुटवलमा गई चियाको पसल चलाएर त्यस शिशुलाई बढाउने पढाउने गर्छे । सामान्य रूपमा पढे पनि भारी नबोकी आयको बाटो नदेखेर ऊ भरियाको काम गर्छ । भारी बोकेर जीवन निर्वाह गर्ने क्रममा त्यस शिशु मोहन नाम गरेको भरिया बन्छ । यतिबेलासम्म उसकी आमा सरिताको पनि मृत्यु भइसकेको हुन्छ । यसै क्रममा भारी बोक्दै जाँदा एकपटक बनारसमा पढेर आएका शम्भु नाम गरेका विद्यार्थीको भारी बोक्न पुग्छ । बाटामा कुराकानी र शोधखोज हुँदा गजननकै छोरो शम्भुको दाजु मोहन भरिया भएको रहस्य खुल्छ र शम्भुले आफ्ना बद्मास बाबु गजाननको आफैले हत्या गर्ने अठोट गर्छ । यस परिवेशमा शम्भुलाई सम्झाएर बाबुलाई मार्नुभन्दा बाबुभित्रका दानवी प्रवृत्तिलाई मार्नुपर्छ भनेर शम्भुलाई बाबुको हत्या गर्न रोकेकाले मोहन मानव ठहरिन्छ । यसरी मोहनका उदारवादी रूपलाई काव्यमा मानव बनाइएको छ ।

यस काव्यमा कवि मोदनाथ प्रश्रितले समाजका निरीहवर्गको उत्पीडन र शोषणको चित्कारमा आफ्नो सहानुभूति, अज्ञानता र यातना जस्ता पीडाहरू देखाई निम्नवर्गको कारुणिक जीवनको सुधारको पक्षमा आफ्नो मत प्रकट गरेका छन् । मानवले मान्छेका व्यक्तिवादी, पुँजीवादी र सामान्ती संस्कारका विरुद्ध सङ्घर्षको हाँक दिंदै शोषणग्रस्त, युद्धत्रस्त, जर्जराक्रान्त एवं पीडित मानवताका पक्षमा गाढा सहानुभूति र सम्वेदनाका मार्मिक स्वरहरू अलाप्छ । कवि भन्छन्–

सास झुँडाउने तिर्सनाहरू
गास जुटाउने विवशताहरू
ओइरिएका छन्, ताँती लागेका छन् ।
असंख्य संख्यामा यस ठाऊँमा
तै पनि रमाइलो छ बटौली
तै पनि बसौं बसौं जस्तो छ बटौली

काव्यको कथावस्तुबारे कवि स्वयम् भन्छन् “प्रस्तुत काव्यका कथा–वस्तुको मुख्य मुख्य हिस्सा हाम्रै जनजीवनमा घटित घटना, जसलाई मैले प्रत्यक्ष देखेको छु–बाट उद्धृत गरिएको छ । म यसलाई बढी काव्यात्मकता दिनको निम्ति अलिकति परिवर्तित गर्न चाहन्थेँ । तर यसलाई यथार्थ रूपमा ज्यौंका त्यौं दिएमा आफ्नै जीवनले यस काव्यको जीवित अभिनय गर्नेहरूका आँखा खुल्ने आसा राखी त्यसै गरेको छु ।”

यस महाकाव्यको परिवेश मुख्यतः बुटवल हो । बुटवललाई यसमा ‘बटौली’ भनिएको छ । बटौली, दोभान, सुनौली, मस्याम, कुहिरे भीर, रेसुङ्गा, तम्घास, लुम्बिनी, बोटे गाऊँ र रानीबास आदि ठाउँहरू यसमा परेका छन् ।
मानव महाकाव्यको दोस्रो संस्करण प्रकाशित हुनुअघि नै कवि प्रश्रित कम्युनिस्ट पार्टीका सदस्य भएका थिए । उनी भन्छन्– “समयको दृष्टिले पाँच बर्ष लामो नभए तापनि बैचारिक दृष्टिकोणले ‘मानव’ र मेरा बीचमा निकै लामो फासला बढेको पाएँ । यद्यपि ‘मानव’ को बैचारिक दिशा र आजका सोचाइको दिशा पूर्व पश्चिमझै ठ्याम्मै विपरीत त हैनन् तर त्यस बेलाको हिँडाइमा स्पष्ट मूल बाटामा, निश्चित लक्ष्य लिई निर्भीकतासाथ हिँडेको गति मैले भेटाइनँ, बरु एउटा अनुमानित गोरेटामा, धरमर लक्ष्य लिई सशंकित हुँदै आलस्यले गहु्रँगिएका पाइला चलाउँदै हिँडेको पाएँ ।

श्रमिकवर्गले स्वतन्त्रताको लागि सङ्घर्ष नगरी बुद्ध, ईसाई, महम्मद र गान्धीको पछि लाग्नु र दयावादी र अहिंसावादीलाई एवम् शोषक र शोषितलाई मान्छेकै रूपमा हेरी उदारतावादी अहिंसावादी मानवतावादलाई व्यक्त गर्नु यस महाकाव्यको उल्लेख्य पक्ष हो, यस दृष्टिले ‘मानव’ महाकाव्यमा माक्र्सवादी सौन्दर्यदर्शनको अनुपस्थिति देखिन्छ । अुनुष्टुप, शार्दूलविक्रीडित, मन्दाक्रान्ता, वियोगिनी जस्ता शास्त्रीय छन्दका साथै लोकछन्द र गद्यलयको समेत प्रयोग गरिएको यस महाकाव्यमा गिद्ध, कौवाजस्ता प्राकृतिक बिम्ब, दुर्वासाको सराप, रुद्रका आँखाजस्ता मिथकीय बिम्ब तथा उपमा, दृष्टान्त, रूपक, उत्प्रेक्षा आदि अर्थालङ्कार पनि प्रयुक्त छन् । आदि, मध्य र अन्त्यानुप्रासको श्रुतिमधुरता, रमणीय अर्थ प्रदान गर्ने सरल, सुबोध्य र सलल बग्ने शब्दहरूको प्रयोग पाइने ‘मानव’ महाकाव्यमा तत्सम्, तद्भव, अनुकरणात्मक र झर्रा शब्दहरूमध्ये झर्रा नेपाली शब्दहरूकै आधिक्य देखिन्छ । चित्रात्मक, प्रतीकात्मक र बिम्बात्मक भाषाको प्रयोग भएको यस महाकाव्यमा सहिष्णुता र उदारतायुक्त मानवतावादी आदर्शलाई जीवनदृष्टि बनाइएको छ ।
गीतिकविताको सङ्गीतात्मकता, गद्यकविताको उन्मुक्तता, वार्णिक छन्दको सफल निर्वाह र लयात्मकताले ‘मानव’ को सरसता र रोचकता बढ्न गएको देखिन्छ । वर्ग समन्वयवादी–मानवतावादी आदर्शबाट मुक्त हुन नसके पनि व्यङ्ग्यविद्रोह र यथार्थवादी प्रवृत्तिको प्रमुखता छ ।

पूर्व र पश्चिमका लाक्षणिक मान्यतालाई बामपृष्ठमा राखी नयाँ काव्यगत् परिपाटीको आरम्भ गर्न खोज्ने प्रश्रित कतैका पनि महाकाव्यीय सिद्धान्तमा आश्रित छैनन् । प्रश्रितले महाकाव्यमा उपन्यासलाई बोलाएका छन्, उपन्यासको माझमा महाकाव्यको भव्य मन्दिर खडा गरिदिएका छन् ।

‘देवासुर सङ्ग्राम’ मोदनाथ प्रश्रितको छैटौं प्रकाशित पुस्तकाकार कृति र दोस्रो महाकाव्य हो । वि.सं. २०३० मा प्रकाशित यस महाकाव्यको दोस्रो संस्करण वि.सं. २०४४ मा प्रगतिशील अध्ययन केन्द्र काठमाडौंद्वारा प्रकाशित छ । ‘सत्ययुग’, मातृतन्त्र’, ‘ढुङ्गे हतियार’ आदि अठार सर्गमा संरचित यस महाकाव्यले वैदिक–औपनिषदिक एवम् पौराणिक–पूर्वीय युगलाई द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादी ढङ्गले बुझ्ने र व्याख्या गर्ने चेष्टा गरेको छ ।
यसमा कविले ‘वैदिक युगदेखि पौराणिक–सामन्ती युगसममको ऐतिहासिक समाज–विकासक्रममा आधारित’ भनेर काव्यको पाठ्यविषयको सङ्केत गरेका छन् । पौराणिक विषयमा आधारित काव्य भएकाले पुराणमा जस्तै यसमा पनि अनुष्टुप छन्दको प्रयोग गरिएको छ । संस्कृत भाषामा लेख्दा संस्कृत छन्दमा अन्त्यानुप्रास मिलाउने परम्परा थिएन । नेपालीमा संस्कृत छन्द लेख्दा अन्त्यानुप्रास मिलाउने परम्परा बस्यो । नाटककार बालकृष्ण समले अुनष्टुप छन्दलाई अन्त्यानुप्रासविहीन बनाएर आफ्ना कविता नाटकहरूमा प्रयोग गरे । यसमा यसै परम्परालाई प्रश्रितले पछ्याएका छन् । ‘जनवादी साहित्यको सेवामा जीवन अर्पेका साथी हृदयन्द्रसिंह प्रधान र गोकुलप्रसाद जोशीको सम्झनामा’ भनेर समर्पण गरिएको प्रस्तुत कृति संवादात्मक शैलीमा लेखिएको छ । रोपाइँको काम सकेर साँझ घर फर्केका खेतालाहरूले मास्टरसँग गरिबीको दिग्दारी बताउँदा र ‘पहिले सत्ययुग थियो रे’ भनेर पुराणको पण्डितजीहरूको कुरो सोद्धा बाटाका चौतारामै मास्टरले खेतालाहरूलाई दिएको उत्तर प्रस्तुत महाकाव्य हो । यो ललित महाकाव्य नभएर विकासात्मक महाकाव्य हो ।
यहाँ प्राग्वैदिककालीन आदिम साम्यवादी सत्ययुग, मातृयुग, पितृयुग, प्रजापति युग हुँदै देवासुर वा आर्यअनार्यका सङ्ग्राम र अनार्यको पराजयका साथै दास–मालिक प्रथाको आरम्भ, सामन्तीयुगको अभ्युदय र सामन्ती निरङ्कुश राजतन्त्रात्मक पद्धतिका विरुद्ध नेपाली गरिब किसानहरू पनि सचेत हुँदै सङ्गठित समेत बन्न लागेको समयसान्दर्भमा आधारित करिब चारहजार वर्षभन्दा बढीको समयावधिलाई ढाक्ने विषयवस्तुगत सन्दर्भ प्रकट भएको छ । द्वन्द्वात्मक भौतिकवादी मानवसभ्यताको विकासलाई देखाउन अनुकूल वर्गीय पात्रहरूको संयोजनले यस महाकाव्य सफल देखिन्छ । ऐतिहासिक मोडहरूबाट समाजमा क्रमिक रूपले कसरी पौरोहित्यावाद जन्म्यो भन्ने कुराहरूको विषद् चर्चा यस महाकाव्यमा भएको छ ।

‘देवासुर सङ्ग्राम’ महाकाव्यमा अनुष्टुप, वंशस्थ र उपजातिजस्ता वर्णमात्रिक छन्दका साथै संस्कृत स्रोतको गद्य छन्द ‘दण्डक’ को पनि प्रयोग गरिएको छ । यसको मूल छन्द ढाँचा अनुष्टुप छन्द नै रहेको छ । उपमा, रूपक, अर्थान्तरन्यास, प्रश्न, समानान्तरता, उत्प्रेक्षा आदि अर्थालङ्कार, तत्सम्, आगन्तुक र झर्रा शब्दहरूको समानान्तर मिश्रित प्रयोग, वैदिक, औपनिषदिक र पुराणकालीन पद र पदावलीको समेत प्रयोग, समासबहुल शब्दको प्रचुर प्रयोग, अनुकरणात्मक, द्वित्व, विस्मयवोधक आदि निपात शब्दका साथै उखान, टुक्काको समेत प्रयोगले यस महाकाव्य वैविध्यपूर्ण–सौन्दर्यपूर्ण हुन पुगेको छ । समग्रमा समाजविकासको सम्बन्धमा प्रचलित पौराणिक–ऐतिहासिक अवधारणाको द्वन्द्वात्मक–भौतिकवादी इतिहासदर्शनमा आधारित व्याख्या नै ‘देवासुर सङ्ग्राम’ महाकाव्यको विषयवस्तु हो । मानव–मानव, समूह–समूह, स्त्री–पुरुष, देव–दानव, दास–मालिक आदि द्वन्द्वशील पक्षहरूबीचको वर्गीय सम्बन्धको उद्घाटन यस महाकाव्यले गरेको छ । कवि भन्छन्–

बस्दैनौं पुर्पुरो ठोकी भाग्यको नाममा अब
गरिबहरू भै एक लड्नको निम्ति आउँछौं ।

एउटै वेगमय रमणीय छन्द र वीर रसको निरन्तर समायोजनले यस महाकाव्यको सौन्दर्य पक्षलाई थप उच्चता प्रदान गरेको छ ।

‘गोलघरको सन्देश’ वि.सं. २०४० मा पैरवी प्रकाशनबाट प्रकाशित मोदनाथ प्रश्रितको पाँचौं काव्यरचना हो । जेलभित्र जे–जस्ता दारुण दुःख वा शारीरिक मानसिक प्रताडना खप्नु परे पनि मुक्तिसङघर्षमा आफूलाई समर्पित गरिसकेको एउटा क्रान्तिकारी राजबन्दीका आस्था र विश्वासको सगरमाथा विरोधी शक्तिको सामु कहिल्यै झुक्दैन भन्ने कुराको घोषणा यस काव्यले गरेको छ । ‘म’ पात्रलाई दृष्टिविन्दु बनाएर आत्मकथनात्मक शिल्पपद्धतिमा रचिएको यस लघुकाव्य राजनीतिक प्रपञ्चमा परी थुनिएका कवि मोदनाथ प्रश्रितकै आत्म–जीवनको प्रतिच्छाया हो । कविले यसमा आफ्ना अन्तपीडा, आक्रोश, रोष र विद्रोहका अग्नी बीज पोखेका छन् ।

‘गोलघरको’ सन्देश मा कविको सन्देश यस्तो छ –

काटे शरीर ढल्छ तर विश्वास ढल्दैन मेरो
मारे हाडखोर गल्छ तर विचार गल्दैन मेरो

जेलभित्र राजवन्दीलाई दिइने कठोर यातनाको त्रासद–करुण चित्र उपस्थित गराइएकाले एकातिर काव्य संवेदनात्मक भएको छ भने अर्कातिर व्यापक प्रशासनिक धरपकड र दमनका विरुद्ध पनि देशका न्यायप्रेमी जनतामा उर्लेर आएको उत्साहबद्र्धक क्षमताको झझल्को समेत प्रस्तुत गरेकोले काव्य विचारोत्तेजक पनि छ । समग्रमा मुक्तलयमा रचित यस काव्य भाषाशैलीगत सरलता र सहजताका कारण सुबोध्य र संवेद्य देखिन्छ । यसले कविको राजनीतिक जीवनका सङ्घर्षका क्षणहरूलाई प्रतिबिम्बित गरेको छ ।

‘सहिदको रगत’ वि.सं. २०४० मा गुराँस पब्लिकेशन, काठमाडौंले प्रकाशित गरेको कवि मोदनाथ प्रश्रितको छैटौं कविताकृति हो । ‘पानी थोपा’, ‘सङ्कल्प’, ‘क्यै काम गर्न सक्दैन मर्न डराउने लाछीले’, ‘बादल र हामी’ लगायतका सातवटा कविताहरू सङ्कलित यस कवितासङ्ग्रह जम्मा चौध पृष्ठको रहेको छ । आफूले जनतामाथि नै आस्था र विश्वास गरेको देखाउँदै कवि प्रश्रितको यस कवितासङ्ग्रहका कविताहरूमा सर्वसाधारणमा जागरण फैलाउने र माक्र्सवादी चिन्तनलाई अभिव्यक्त गर्ने उद्देश्य निहित रहेको देखिन्छ । कवि भन्छन्–

क्यै काम गर्न सक्दैन मर्न डराउने लाछीले
हाँक्दछ युग तोपको मुख जो ढाक्छ छातीले

यस सङ्ग्रहका सर्वसाधारणका लागि सुबोध्य भाषामा लेखिएका विद्रोहका सन्देश दिने कविताहरूले कविको सामाजिक मुक्तिको आकाङ्क्षा, विभिन्न क्षेत्रमा देखिएका भ्रष्टाचारसँगको असहमति र परिवर्तनको चेतनाको उद्घोष गरेका छन् ।

‘जब चल्छ हुरी’ वि.सं.. २०४९ मा पसिना प्रकाशन काठमाडौंबाट प्रकाशित कवि मोदनाथ प्रश्रितको सातौं कृति एवम् गीतसङ्ग्रह हो । ‘कसैले मेरो....’, ‘फर्केर हेर साथी’ लगायतका जम्मा चौवन्नवटा गीतहरू सङ्गृहीत यस गीतसङ्गृहमा वि.सं. २०१७ देखि २०४८ सम्म लेखिएका प्रश्रितका राजनीतिक विचार र आकाङ्क्षाहरू प्रकट हुने रचनाहरू समाविष्ट छन् । गीतकार भन्छन् ।

बहिनी ः गरीबको बुकुरीमा सधै भरी छायाँ
तिमीलाई यो देशको लाग्दैन के माया ?

दाजु ः यो देशको माया लाग्छ तर कस्तो गरुँ ?
ढुङ्गा हैन मानिसै हुँ कहाँ गई मरुँ ।

मोदनाथ प्रश्रितका गीतहरूमा समाज, व्यक्तिमन र आर्थिक खराबीको तस्वीर खिँचिएको हुन्छ । यी गीतहरूले नेपालीहरूको भर्ति हुन विदेश जाने प्रवृत्ति, महल र झुपडीका बीचको खाडल, किसान, श्रमिक र असहायहरूको दारुण दिनचर्या एवम् विदेशी भूमिमा विदेशीकै सीमारक्षा गर्दागर्दै मर्नुपर्ने अवस्था आदिलाई विषयवस्तु बनाएका छन् । कलात्मकता, श्रुतिमाधुर्य तथा रमणीय अर्थ आदिको समुच्चय नै वास्तवमा मोदनाथका गीतहरू हुन् ।

समग्रमा मोदनाथ प्रश्रित सातवटा पुस्तकाकार काव्यकृतिहरूमा देखापर्ने मूलतः प्रगतिवादी सौन्दर्यदर्शनका कवि हुन् । उनिभित्रको कवि–मानस महाकाव्यदेखि लिएर लोकगीतसम्म फैलिएको छ । माक्र्सवादी राजनीतिक दर्शनको प्रभावलाई साहित्यमा प्रतीकात्मक प्रयोग गर्ने कवि मोदनाथ प्रश्रितका कवितामा क्रान्तिकारी मानवतावादी स्वर पाइन्छ । उनका प्रायः रचनाहरू सरल छन्, सुबोध्य छन् र काव्यका औजारहरूले सुसज्जित छन् ।

बागबजार, काठमाडौं

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 6 श्रावण, 2067

लेखकका अन्य रचनाहरु