मानव संवेदना नै कविताको आदर्श हो

- मोहन कोइराला

नेपाली कवितामा शास्त्रीय परम्परालाई पन्छाएर प्रयोगवादी दृष्टिकोणसहित आफ्नो कवितायात्रा प्रारम्भ गर्नुभएका कविवर मोहन कोइराला मुलुकका श्रद्धेय स्रष्टा हुनुहुन्छ । कलात्मकरूपमा माझिएको प्रभावशाली कविता मानव कल्याणका लागि हुनुपर्ने प्रबल धारणा राख्नुहुने कविवर कोइराला क्रान्तिउत्तरकालीन आधुनिक नेपाली साहित्यमा प्रयोगवादी काव्यधारालाई पर््रवर्तन र सर्म्बर्द्धन गर्दै उत्तरोत्तर समृद्धितर्फडोर्‍याउँदै लैजाने प्रतिनिधि गद्यकवि हुनुहुन्छ । वि.सं. २००३ तिर कविता लेख्न थाल्नुभएका कविवर कोइरालाको पहिलो कविता 'बुझिसके' वि.सं. २००६ मा 'शारदा' पत्रिकामा प्रकाशित भएको थियो । कवितालाई हृदयदेखि आत्मसात् गरेर उहाँ कवितामा नै बाँचिरहनु भएको छ । कविताले नै परिचय, प्रसिद्धि र प्रतिष्ठा कमाउनु भएका कविवर कोइराला नेपाली प्रज्ञाप्रतिष्ठानको उपकुलपति -२०५६-६१) जस्तो साहित्यकारहरूको सर्वोच्च गरिमामय पद सम्हाल्न सफल हुनुभयो । वि.सं. २०३० र २०४७ मा प्रज्ञा परिषद्को सदस्य बनिसक्नुभएका कविवर कोइराला 'नदी किनाराको माझी' कवितासङ्ग्रहका लागि २०३८ मा मदन पुरस्कारबाट सम्मानित हुनुहुन्छ । वि.सं. १९८३ मङ्सिर १९ गते काठमाडौँको डिल्लीबजारमा जन्मनुभएका मोहन कोइरालाले वि.सं. २०१८-१९ तिर हेटौंडामा शिक्षण कार्य पनि गर्नुभएको थियो । त्यसपछि २०२० तिर कविवर केदारमान व्यथितको अध्यक्षतामा सञ्चालित नेपाली साहित्य संस्थानको अफिस सेक्रेटरी, वि.संं. २०२१ तिर व्यथित यातायात मन्त्री हुनुहुँदा यातायात संस्थानमा सुब्बाको जागिरेसमेत हुनुभएको थियो । लामो समयदेखि बिरामी पर्नु भई अस्पताल भर्ना हुनुभएका कविवर मोहन कोइराला हाल घरमा नै स्वास्थ्य लाभ गरिरहनु भएको छ । वि.सं. २०६३ माघ ८ गते उहाँसँग गरिएको सङ्क्षिप्त कुराकानी प्रस्तुत गरिएको छ ।

अहिले स्वास्थ्य स्थिति कस्तो छ ?
-पहिलेको भन्दा धेरै राम्रो भइसक्यो । पहिले बेडमै थिएँ अहिले विस्तारै कोठामा हिँड्न थालेको छु । घरबाट बाहिर निस्कन अझै केही समय लाग्ला ।

खास भएको के हो ?
-यो मुटुको पुरानो रोग हो । वि.सं. २०४२ तिर भारतको र्एर्स्कट हस्पिटलमा गएर अप्रेसन गरेको थिएँ । अहिले अर्कैरूपमा बल्भिmएको छ । अहिले पेसमेकर हालेको छु  ।

कति भयो यस्तो भएको ?
-छ महिनाजति हुन लाग्यो ।

यसरी बिरामी हुँदा सरकार र साहित्यिक क्षेत्रबाट के कस्तो सहयोग र सद्भाव पाउनुभयो ?
-तपाईंहरूजस्ताबाट पर्याप्त सद्भाव पाएँ तर आर्थिक सहयोग केही पनि पाएको छैन । कहिलेकाहीँ अलिकति फिल त हुन्छ नै तर कसैले सहयोग गरेन भनेर देशमा जन्मिएकोमा, कविता लेखेकोमा अलिकति पनि फिल हुँदैन । त्यसैले धेरै फिल नगर्न खोजिरहेको छु ।

तपाईंका कविताका मूल आधार के हुन् ?
-भौतिक, मानसिक र बाहृय प्रभाव नै कविताका आधार हुन् । मानिसको जीवन, बाध्यता र सामाजिक परिस्थितिले नै मलाई कविता लेखाउँछ ।

कविताको आदर्शचाहिँ के हो ?
-मानव संवेदना नै कविताको आदर्श हो । कवितामा मानव संवेदना भएपछि मात्र कविता हुन्छ । मानव संवेदना नभएको कविता प्राणहीन हुन्छ । यसो भनेर संवेदनामात्र पनि कविता हुँदैन । कविताको भाषा संवेदनशील हुन्छ, त्यसैले रङ्गीन मात्र पनि कविता हुँदैन ।

तपाईंले कवितामा पर््रबर्द्धन गर्नुभएको नयाँ प्रयोगको कुनै परिकल्पना थियो ?
-मेरो भित्री परिकल्पना अवश्य थियो । कविताहरूको भीडमा मेरो कविता स्पष्ट छुट्टनिर्ुपर्छ, जहाँ फ्याँके पनि नौलो देखिनर्ुपर्छ भन्ने मेरो मान्यता थियो । जुद्धशमशेर, मोहनशमशेर, लेखनाथ, समहरूलाई भेट्ने म मान्छे त पुरानै हुँ नि । पुरानै भए पनि देशलाई नयाँ प्रकारले माया गर्न खोजेको हुँ । साहित्यका पाठकले पनि कविताको नयाँ स्वाद पाउन सकून् भन्ने मेरो भित्री इच्छा थियो ।
शास्त्रीयताबाट मुक्त क्लिष्ट कविता लेख्न थाल्दा सुरुमा कत्तिको अप्ठेरो भोग्नु परेको थियो ?
शास्त्रीयतामा मात्रै विश्वास गर्नेहरूसँग त मज्जाले नै परेको थियो । उनीहरूले मेरो कवितालाई कविता नै मानेनन् । गद्यका कविता नै हुँदैनन् भन्थे । हाम्रो विवाद भयो । कवितामा नयाँपन दिने मेरो सोचअनुसार नयाँपन दिएको पनि छु । वस्तुस्थिति त्यही भए पनि त्यसलाई नयाँ ढङ्गले प्रयोगमूलकरूपमा अभिव्यक्त गरेको छु ।

तपाईंको कवितालाई कवितै होइन भनेर प्रतिकार गर्ने को को थिए ?
-प्रतिकारै गर्नेहरूभन्दा पनि हाम्रो बाटोमा नआउनेहरू प्रायः सबैको विरोधमै थियो । नामै किटेर त भन्दिन । पुरानाहरूले नयाँ कुरालाई नमान्नु अस्वाभाविक पनि हैन । त्यसैले म कसैको विरोध गर्दिन । जसले जस्तो ढङ्गले कविता लेखे पनि देशको सेवा गर्ने नै हो ।

कविताबाहेक अन्य विधामा तपाईंले किन कलम नचलाउनुभएको ?
-मैले कविताबाहेक अन्य विधामा कलम चलाउनेहरूको रूप देखेको छु । देवकोटाजस्तो सबै विधामा सफल हुने व्यक्तित्व पनि छन् तर सबै देवकोटा हुन सक्दैनन् । म पनि सबै विधामा कलम चलाएर सफल हुन सक्छु जस्तो नलागेर नै कवितामा मात्र सीमित बसेको हुँ । एउटा खोला तरेपछि खोला पार भइहाल्छ नि । मैले कवितालाई कति दिएँ, थाहा छैन तर मलाई कविताले धेरै दिएको छ । कविताले नै मलाई प्रज्ञाप्रतिष्ठानमा पठायो, कविताले नै मलाई सानाठूला सबैले चिन्ने भएको छु ।
तपाईंले कवितालाई र कविताले तपाईंलाई सफल बनायो त ?
-समुद्रमा तैरिएँ भन्नु र कविता लेखेर सफल भएँ भन्नु उस्तैउस्तै हो ।

पछिल्लो समयमा कवितामा भइरहेका प्रयोगलाई कुन रूपमा लिनुभएको छ ?
-प्रयोग सबै ठीक ठाउँमा भइरहेका छैनन् । कतिपय प्रयोग केवल प्रयोगमा मात्रै सीमित भइरहेका छन् । परिणामहीन प्रयोगको कुनै अर्थ छैन । त्यसैले प्रयोग हुनुमात्र ठूलो कुरो होइन ।

तपाईंका कविता पनि सुरुमा प्रयोगजस्तै थिए नि, हैन र ?

-सुरुमा मात्र हैन, अहिले पनि मेरा कविताहरू प्रयोगमै छन् । मेरा कविता रुचाउने, नरुचाउने अहिले पनि छन् । नयाँ विचार मन नपराउनेहरू अहिले पनि छन् ।   
 
साभार: मधुपर्क

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 11 कार्तिक, 2064

लेखकका अन्य रचनाहरु