असम पूर्वाञ्चल भारतको नेपाली कविताको विकासक्रम

- देवब्रत घिमिरे

भारतवर्षको प्राचीन कालको इतिहासमा आजको असम, कामरूप नामले प्रसिद्ध रहेको पाइन्छ । यसलाई कतै कतै आसाम पनि भनिएको पाइन्छ । अङ्ग्रेजहरूले भारतमा आफ्ना उपनिवेश सुरु गरेपछि असम ब्रिटिस शासनअन्तर्गत चल्न थालेको तथ्यहरू पनि पाइन्छ । सम्पूर्ण भारतको ७.७ प्रतिशत भूमि ओगटेको मानिने असम सन् १९४७ मा भारत स्वतन्त्र भएपछि भारतको एउटा राज्यको रूपमा स्थापित भएको थियो र त्यस बेला यसको राजधानी सिलाङ बनाइएको थियो, वर्तमान दिशपुर बनाइएको छ । सन् १९५७ देखि असम राज्य टुक्रिएर विभिन्न राज्यमा विभाजित हुने क्रम सुरु भयो। सन् १९५७ मा मणिपुर असमबाट छुट्टिएर बेग्लै राज्य बन्यो भने १९६३ मा नागाल्यान्डले पनि छुट्टै राज्यको अस्तित्व प्राप्त गर्‍यो । यसपछि मेघालय, त्रिपुरा, अरुणाचल, मिजोरमजस्ता राज्यहरू पनि क्रमशः असमबाट अलग भई स्वतन्त्र राज्यका रूपमा स्थापित हुन गएका पाइन्छन् । यसरी अघि एउटै सिङ्गो राज्यका रूपमा रहेको असम राज्य हाल असम, मेघालय, नागाल्यान्ड, मणिपुर, अरुणाचल, त्रिपुरा र मिजोरम गरी सात राज्यमा विभक्त भएको पाइन्छ । अहिले यी सात राज्यको समूहलाई उत्तरपूर्वी भारत पनि भन्ने गरिन्छ । प्रस्तुत कार्य-पत्रमा असम भन्नाले प्रशासनिक दृष्टिले विभाजित वर्तमान असम राज्य नभएर उत्तरपूर्वी भारतमा अवस्थित सम्पूर्ण राज्यको समूहलाई समेटिएको छ।


विषय प्रवेश
नेपाली साहित्यको इतिहासमा, नेपाल तथा भारतले दिएको योगदानहरूलाई परम्परागत रूपमा एउटै स्थानमा राखेर तिनको वर्गीकरण तथा विभिन्न कालहरूमा विभाजन गरिएको पाइन्छ। अझ भन्नपर्दा यस भेकका थुप्रै साहित्यकारहरू साहित्येतिहासकारहरूको दृष्टिमा पर्न आएका छैनन्। विश्वका अन्य भाषाहरूमा जस्तै नेपाली साहित्यको आरम्भ कवितावाट नै भएको पाइन्छ अनि हाल प्राप्त शिलालेखअनुसार यसको प्रारम्भिक इतिहासलाई ईश्‍वी ९८१ सम्म पुर्‍याउन सकिन्छ।१ यदि यो इतिहासलाई असमको सन्दर्भमा हेर्नु हो भने, यहाँ नेपाली साहित्य लेखनको शुरूआत भनेको नै नेपाली कविताको शुरूआत हो। अझ भन्न पर्दा, कविता असमको नेपाली साहित्यको मात्र अगुवा नभएर यो सम्पूर्ण उत्तर-पूर्वाञ्चलको नेपाली साहित्यको अगुवा बन्न पुगेको देखिन्छ। १८९३ मा सवाईको रचना भएपछि नै वास्तविक रूपमा उत्तर-पूर्वाञ्चल भारतमा नेपाली साहित्यको प्रारम्भिक इतिहास थालिएको पाइन्छ।२

डा० भीमकान्त उपाध्याय, लील बहादुर क्षत्री, दुर्गाप्रसाद घिमिरे, डा० खेमराज नेपाल प्रभृति विद्वान्‌हरूले असम-पूर्वाञ्चलको नेपाली कविता साहित्यको विकासक्रमलाई निम्न तीनवटा कालखण्डमा विभाजन गरेका पाइन्छन्३-
(क) पहिलो चरण( आदिदेखि सन् १९५०सम्म)
(ख) दोस्रो चरण (सन्१९५१ देखि १९८०सम्म) र
(ग) तेस्रो चरण(१९८१ देखि हालसम्म)

असम पूर्वाञ्चलको नेपाली कविता साहित्यको विकासमा सन् १८८३, सन् १९५०र सन् १९८० तीनवटा यस्ता मोडहरू हुन् जसले यस भेकको नेपाली कविता साहित्यको विकासमा निकै प्रभाव पारेका छन्।(यी बारे पछि यथास्थानमा चर्चा गरिनेछ) साहित्यको काल विभाजन गर्नु एउटा चुनौतीपूर्ण कार्य हो अनि यो विभाजन सय प्रतिशत सही हु्न्छ भनेर किटान गर्न पनि सकिँदैन अनि यसलाई सर्वमान्य कहलाउन पनि मिल्दैन।विवाद र अपवादहरू सदैव रही नै रहन्छन्। अध्ययन सुविधाको निम्ति माथि विद्वान्‌हरूले मान्यता दिएका कालविभाजनलाई नै आधार मान्न सकिन्छ तापनि सन् १९३०को दशकदेखि हालसम्म हरेक दशकहरूमा पूर्वाञ्चलको नेपाली साहित्यमा नयाँ-नयाँ प्रवृतिहरू देखा परेका हुनाले यस कार्य-पत्रमा कालविभाजन नगरी कालक्रमिक रूपमा अध्ययन प्रस्तुत गर्ने धृष्टता राखिएको छ। साथै यी तीन चरणमा देखिएका प्रवृत्तिगत विशेषताहरू बारे लेखको अन्तिम पृष्ठमा उल्लेख गरिने छ।


नेपालीहरू आरम्भदेखि नै कृषिप्रधान समाजमा आफ्ना जीविका निर्वाह गर्दै आएका छन्। असम पूर्वाञ्चलमा पनि अधिकांश नेपाली जातिहरू विशेष गरेर खेती- किशानबाट नै आफ्ना जीवन गुजारा गरिरहेका छन्। यसर्थ, यहाँ नेपाली साहित्यको पृष्ठभूमिका रूपमा लोक साहित्यका विभिन्न उपादानहरू रहेको अनुमान लगाउन सकिन्छ। डा० खेमराज नेपालका अनुसार ‘उन्नाइसौं शताब्दीको उत्तरार्द्धसम्म यस भेकको नेपाली साहित्य लोकसाहित्यका विभिन्न उपादान- लोकगीत(सँगिनी, माँगल, रत्यौली, सिलोक, कवित्त आदि) लोक गाथा( सवाई, देउसी, भैली आदि), लोकनाटक(बालुन, मारूनी आदि) मै सीमित थियो।४ यिनै पृष्ठभूमिमा १८९३मा उत्तरपूर्वाञचलबाट सर्वप्रथम लामो सिङ्गो सवाई काव्य देखा पर्‍यो । त्यो थियो तुलचन आलेको मणीपूरको लडाईँको सवाई। अझसम्म प्राप्त जानकारीका आधारमा तुलचन आलेको मणीपूरको लडाईँको सवाई असम पूर्वाञ्चलको कविता साहित्यको पहिलो नमुना मान्न सकिन्छ, जसलाई आजसम्मको पूर्वाञ्चलीय नेपाली साहित्यको नै आधारकृति मानिएको छ।

समालोचक कमल दीक्षितले पनि मणिपुरको लडाईँको सवाई विoसंo१९५० (तदनुसार सन्१९८३)को रचना ठानेका छन्।५ यसमा सन् १८९१मा गोर्खासहित ब्रिटिस फौजले मणीपूरका राजामाथि गरेको आक्रमणबारे वर्णन गरिएको पाइन्छ। कवि स्वयं त्यस फौजमध्येका एकजना थिए।६


त्यसैकारण एउटा लडाकु सिपहीले आफ्ना आँखाले देखेको तथा भोगेको युद्धको वातारण नै उनको काव्य-साधनाको प्रेरणाश्रोत बन्न पुगेको पाइन्छ। उक्त काव्यमा जम्मा अट्ठाइसवटा श्‍लोक वा पदरू रहेका छन्। काव्यका अन्तिम हरफहरूमा कविले उक्त कृतिको रचनाकाल र रचनाकारका नाम इत्यादि उल्लेख गरेका पाइन्छन्-
तृयानब्बे सन्मा सत्ताइस तारिख थियो।
त्यसैदिन हुकुम सबलाई दियो।।२७।।
नाम मेरो लेन्स नायक तुलचन आले।
जानी नजानी अलीकती कथा जोरीहालें।।२८।।


यसरी यस कृतिलाई आधार मानेर हेर्दा पूर्वोत्तर भारतमा नेपाली कविताको थालनी वा उठान वीर रसपूर्ण सवाई काव्यबाट भएको पाइन्छ। यससाई पछि यस खेमाका धेरै सवाईहरूले पछ्याएका पाइन्छन् जो आज सवाई पच्चीसा पुस्तकाकार रूपमा प्रकाशित पाइन्छ।७


परवर्ती कालमा धनवीर भण्डारीले अब्बर पहाडको सवाई (१८९४) र भूँइचालोको सवाई (पहिलो भाग, १८९७) आदि रचेका पाइन्छन्। यी सवाईहरू व्रिटिस फौजले अब्बर पहाड ( जो आज अरूनाचल प्रदेशको पूर्व सियाङ र अप्पर सियाङमा पर्दछ)मा गरेको आक्रमण र शिलाङमा १८९४ मा भएको ध्वंशात्मक भूकम्पका प्रत्यक्षदर्शी हुन्।८ अब्बर पहाडको राम्रो भौगोलिक वर्णन गरिएको पहिलो सवाई काव्यमा जम्मा १२७ श्‍लोकहरू छन्। कविले सवाईको थालनी यसरी गरेका छन्-
शिलाङ्‌को छाउनीमा सिपाहीको गीर्दा
सवाई बाँध्ने धनवीर निर्धा

असममा केही बर्षसम्म यस खेमाका कविता यात्रा कायम रहेको पाइन्छ। यसका केही उल्लेख्य उदाहरणहरू हुन्- आत्माराम मगरको भैचालोको सवाई(दोस्रो भाग, १९०५), कृष्ण बहादुर उदासको आसामको सवाई (१९०८) र गजवीर राणाको नागा हिल्सको सवाई (१९१३) इत्यादि। यी सबै सवाईहरूमा कविहरूले उत्तरपूर्वाञ्चललाई व्रिटिस सरकारले भारतमा गाभ्न गरेको चडाइमा संलग्न भएका नेपाली सिपाहीहरूको रवाफको रेखाचित्र धेरै ओजस्‍वी रूपमा गरेका पाइन्छन्। यी सवाईहरूमा भूँइचालोले मच्चाएको तहल्का तथा तत्कालीन असमेली समाजको वस्तुगत वर्णन गरिएका पाइन्छन्।९

वीसौं शताब्दीको दोस्रो दशकतिर यस भेकको कविता साहित्यमा एउटा प्रवृति देखा परेको पाइन्छ, त्यो हो- छन्दोबद्ध तथा केही रूपमा गीतिकविताको प्रादुर्भाव हुनु। हरिनारायण विद्याभुषण असमका पहिला कवि हुन् जसले १९१०तिर नै छन्दोबद्ध काव्य रचेका थिए। उनका केही कविताहरू गोर्खा संसार(१९२७)मा प्रकाशित भएका पाइन्छन्। उनका केही गीति कविताहरू संगीत चन्द्रोदय (१९२७), तथा विपिन देव ढुंगेलको सम्पादनमा प्रकाशित गीतमाला (१९५७)मा संकलित छन्।१० शोनितपुर जिल्लाअन्तर्गत वेहाली भन्ने ठाँउका निवासी गंगाधर खतिवडाले पनि यस्ता किसिमका कविताहरू रचेका पाइन्छन्, जो तत्कालीन माझगाँउ थेटर पार्टीसँग पनि संलग्न थिए।११

१९३० दशकसम्म असममा केही कविहरू मात्र थिए। तीमध्ये शिलङका पद्म प्रसाद उपाध्याय ढुंगानालाई यस दशकका प्रमुख कवि मानिन्छन्। तिनका केही काव्यकृतिहरू हुन्- कर्तव्य शिक्षा (१९३७),रामायण शिक्षा पद्म प्रकाश (१९३८), धनुष भङ्ग(१९३९), रामायण सप्तरथ (१९४१)। कविले आफ्ना काव्यकृतिहरूमा श्री रामचन्द्र र श्री कृष्णजस्ता हिन्दू अवतारका अदर्श पुरूषहरूको चित्रण गरेका पाइन्छन्। यसै सन्दर्भमा रामचन्द्र उपाध्याय ढुंगानाको कानिको सवाई(१९३५-३६) उल्लेखयोग्य हुन आउँछ।

१९४० को दशकमा गुवाहाटी निवासी रत्‍नबहादुर कार्कीको विवेक रत्‍नावली प्रकाशित भएको पाइन्छ। यसै कालमा देखा परेका अर्का कवि हुन् नित्यनन्द उपाध्याय। उनको पद्यात्मक शैलीमा लेखिएको दानवीर भीमबहादुर श्रेष्ठको जीवनी (१९४७) र नेपालीको पुर्ख्यौली असमको नेपाली साहित्यको इतिहासमा एउटा महत्त्वपूर्ण खुँड्‌किलो मान्न सकिन्छ।

कलियुगी ब्रिद्धा विवाहको माहा संकल्प(१९४७), गोर्खा एटोम बम(१९४८)जस्ता हास्य-व्यङ्ग्यात्मक कविताकृतिहरूको प्रकाशन गरी यस प्रवृत्तिको थालनी गर्ने श्रेय पनि उनैलाई जान्छ।

शोनितपुर जिल्ला निवासी जगन्नाथ उपाध्यायका गुणरत्‍नमाला र नम्रनिवेदन आदि कविता संकलनहरू पनि यस कालका अपूर्व उपलब्धिहरू मान्न सकिन्छ।१२ असमको नेपाली कविता साहित्यको इतिहासमा नीति उपदेशात्मक विषयवस्तुका निम्ति यी ग्रन्थहरू प्रसिद्ध रहेका पाइन्छन्। यस कालका अन्य कविहरू हुन्- हरिप्रसाद शर्मा बास्तोला, टिकाराम शर्मा लुइटेल, भीम प्रसाद उपाध्याय, राम प्रसाद शर्मा ऱ पुष्पलाल उपाध्याय आदि।१३

यिनीहरूले पत्र-पत्रिकाद्वारा नेपाली साहित्यलाई योगदान दिएका पाइन्छन्। तर पुषपलाल उपाध्यायबाहेक अरूले धेरै समयसम्म आफ्ना लेखन कलालाई निरन्तरता दिन सकेका पाइँदैन। पुष्पलाल उपाध्यायको कविता यात्रा प्रायः आधा शताब्दि सम्म निरन्तर रहेको पाइन्छ। उनले प्रसिद्धि प्राप्त गरेका दुइ संकलनहरू हुन्- बिराटनगरको हिमालचुली प्रकाशनद्वारा प्रकाशित पुष्पाञ्जली (१९६८) अनि गान्तोकको अँकुर(आँकुरा?) प्रकाशनद्वारा प्रकाशित उषा मञ्जरी(१९८७)।(यी पुस्तकहरूका प्रकाशन पछिल्ला दशकहरूमा भए तापनि उपाध्यायले चालीसको दशकदेखि नै कलम चलाउन थालेका थिए) उनको कवि प्रतिभाको उचित कदर गर्दै साहित्य अकादमी नयाँ दिल्लीले उषा मञ्जरीको निम्ति १९८८मा उनलाई साहित्य अकादमी पुरष्कारले पुरष्कृत गरेको पाइन्छ। माथि उल्लेख गरिएका संकलनका कविताहरू प्रायः परिष्कारवादी शैलीमा रचिएका तथा आदर्शवादद्वारा प्रेरित भएका पाइन्छन्।

यस कालका अन्य दुइ कवि प्रतिभाहरू हुन् –नलबारी जिल्ला निवासी पण्डित शिवराज बराल र कोहिमा(नागाल्याण्ड) निवासी हरिप्रसाद गोर्खा राई, जसलाई यहाँ उनीहरूको काव्यशैलीको सन्दर्भमा सम्झिन सकिन्छ। शिवराज बरालका कविताको प्रवृत्ति परिष्कारवाद हो भने गोर्खाका काव्यगत प्रवृत्ति आधुनिकतातिर ढल्किएको पाइन्छ। पण्डित शिवराज बरालका विभिन्न काव्यकृतिहरूमध्ये अचार मञ्जरी (१९५९), सिङ्घालद्विपमा महाभारत (१९६१) पर्शुराम महात्मय (१९७१), तीर्थयात्रा (१९७१) अदि अद्वितीय छन्।१४


हरिप्रसाद गोर्खा राईका रचनाहरू सन् १९३० देखि नै विभिन्न पत्र पत्रिकहरूमा प्रकाशित हुँदै आएका थिए। उनले नेपालीका साथै असमीया काव्य-साहित्यको विकासमा पनि धेरै योगदान दिएका पाइन्छन्। उनका कविता संकलनहरू हुन्- बाबरी(१९७४) र मनचरीको बोली (१९७८). उनका प्रायः सबै नै कविताहरू आधुनिक शैलीमा रचिएका तथा पाठकका हृदयलाई छुने भावनात्मक विषय वस्तुका छन्।


सन् १९५०को दशकमा आइपुग्दा यस भेकको नेपाली कविता यात्राले निकै बाटो अतिक्रमित गरेको अनुभव हुन्छ, यद्धपि दार्जिलिङ, नेपाल आदिको तुलनामा भने यसको विकास धिमा गतिमा नै अगि बडिरहेको भान हुन्छ। असममा नेपालीहरू विभिन्न इलाकामा छरिएर बसेका थिए, शिक्षाप्रति पनि त्यति चासो थिएन, प्रकाशन संस्था तथा बिक्री-वितरणको अभावको कारणले पनि साहित्य त्यति मौलाउन सकेको थिएन। यसो हुँदाहुँदै पनि भारतवर्ष स्वाधीन भएको उमंग र नयाँ आशा जो देश भरि नै छरिएको थियो त्यसबाट यहाँको नेपाली साहित्य भने अछुत रहन सकेन।15) त्यसैले यस कालका कविताहरूमा यो नौलो आशा-उमंग मुखरित भएको पाइन्छ। यस कालमा देखा परेर काव्यकृतिहरू यस प्रकार छन् चूडामणि शास्त्रीको विश्‍वोद्धारक सन्मार्ग शिक्षा (१९५४),गोकुल प्रसाद जोशीको नेपालको भविष्य(१९५४)र बाँच र बाँच्न देउ (१९५८) प्रेमसिंह सुवेदीका तीजको मैदानमा बहिनीको आँशु (१९५५), भवानी शंकर उपाध्यायको सन्त मनोरञ्जनी कवितावली (१९५५) नरनाथ शर्मा दंगालको बोधरत्‍न चेतावनी (१९५५) तेजप्रसाद निरौलाको ज्ञानोदय (१९५६) नरध्वज लिम्बूको ज्ञानज्योति (१९५६) गोविन्द शर्माको हिमालको फूल (१९५८) गौतम प्रसाद गौतमको पहाडी गफ (१९५८) कविराज शास्त्रीको कर्तव्य कर्म पुकार (१९५९)

१९५०को दशकको अन्त र १९६०को दशकको शुरूवातलाई अविभक्त असमको नेपाली साहित्यको क्षेत्रमा एउटा संक्रमणकालको रूपमा लिन सकिन्छ। यस कालमा आएर असमको नेपाली कविता साहित्यमा स्वच्छन्दतावादको प्रवेश भएको पाइन्छ। अर्थात, यसै कालावधिदेखि यस क्षेत्रको कविता साहित्यको इतिहासमा स्वच्छन्दतावादी प्रवृति भित्रिन्छ। 16 यस नयाँ प्रवृत्तिका प्रणेताका रूपमा हरिभक्त कटुवाल अघि आउँदछन्। कटुवाल एकजना वेजोड आधुनिक कवि हुन्। सम्झना (१९६०) उनको पहिलो प्रकाशित गीतिकाव्य हो।यसपछि उनका भित्री मान्छे बोल्न खोज्छ (कविता संकलन) (१९६२),सुधा (१९६४) (खण्डकाव्य), यो जिन्दगी खै के जिन्दगी (१९७२),(कविता संकलन) आदि प्रकाशित भएको पाइन्छ।

उनको अर्को कविता संकलन बदनाम मेरा यी आँखाहरू (१९८७), उनको मृत्यु पछि प्रकाशित भएको पाइन्छ। कटुवाल आफ्ना कवितामा निर्धा र तिरस्कृत जनताका पक्षमा बोलेका छन् । उनको कवितामा प्रयोग गरिएका बिम्ब तथा प्रतिकहरूले कटुवालको कवि प्रतिभालाई उच्च स्थानमा पुर्‍याएको पाइन्छ। उनका कवितामा भरतीय नेपालीहरूको देशभक्ति र अधिकारका स्वरहरू मुखरित भएका पाइन्छन्। यस दृष्टिले कटुवाल नेपालीका एकजना अद्वितीय कवि हुन्।

सन् (१९६०)मा गुवाहाटीको तीनतारा प्रकाशनद्वारा प्रकाशित तीनतारा कविता संकलनले तत्कालीन नवोदित कविहरू- पद्म ढकाल, लक्ष्माप्रसाद तिम्सिना र डम्बर नेपाली आदि कविहरूलाई प्रेरणा प्रदान गरेको पाइन्छ। उक्त कविता संकलन असमको नेपाली कविता साहित्यको इतिहासमा पहिलो संयुक्त समकलन मानिएको छ। त्यही बर्ष डिग्बोइबाट के.बी नेपालीको कविता संकलन नव अश्रु (१९६०)र शिलाङबाट विरही सुब्बाको खण्डकाव्य अतृप्त (१९६०) प्रकाशित भएको पाइन्छ। यही प्रवृत्तिको अनुसरण गर्दै नौगाउँ जिल्लाअन्तर्गत लंका निवासी हरिप्रसाद खनालद्वारा रचितत तथा संकलित दुइवटा कवित संकलनहरू आँशुको थोपा (१९६२),तिम्रो यादमा (१९६४) तथा चन्द्रेश्‍वर दुवेको भानुभक्त र घाँसी (१९६२), सदानन्द शर्माको मनको प्रकाश (१९६५),कुलबहादुर छेत्रीको चिन्तन माला (१९६५),चोकबहादुर थापाको हृदयको उद्‌गार (१९६६), यज्ञ प्रसाद सुवेदीको कल्पना (१९६९),महाराज वसन्त गिरीको वसन्त मञ्जरी (१९६९) प्रकाशित भएको पाइन्छ।

सन् १९६४मा नै हरिभक्त कटुवालको सम्पादनमा आठजना कविहरूका कविता संकलन पूर्व किरण प्रकाशित भएको पाइन्छ। कविहरू हुन् हरि प्रसाद गोर्खा राई, कृष्ण प्रसाद ज्ञवाली,राजेन्द्र छेत्री, लक्ष्मी प्रसाद तिम्सिना, गुरुभक्त जैसी, हरिश पुरी, विरही सुब्बा र हरिभक्त कटुवाल। हरिभक्त कटुवालका कविताबाट थालिएको परम्परालाई कालान्तरमा नव सापकोटा, भविलाल लामिछाने, अविनाश श्रेष्ठ, युद्धवीर राणा, दुर्गा घिमिरे आदिले निरन्तरता दिएका पाइन्छन्। दिल साहनीको नौलो माटो चाहिएको छ (१९७०),धर्मलाल भूसालको युगको घेराभित्र मलिन अनुभवहरू (१९७१) तुलबहादुर छेत्रीको मालेमाको चेतना (१९७२), भूपेन निशादको अनुभूतिहरू यी मेरा (१९७७) आदिले यस परम्परालाई पछ्याएको पाइन्छ। सत्तरको दशकमा प्रकाशित अन्य केही उल्लेखयोग्य काव्यकृतिहरू हुन्-टि.डि जिम्बाको तथागत(१९७२), टिकाराम निर्भिकको खण्डकाव्य चम्पा (१९७३), गितीसंग्रह रागअनुराग (१९७३),
वास्तविक रूपमा प्रगतिशील प्रवृति, वस्तुगत यथार्थवादको मूर्त रूपमा स्वच्छन्दतावाद तथा आदर्शवादको विरोधका रूपमा असमको नेपाली कवितामा सन् १९७०को दशकमा भित्रिएको पाइन्छ। यस कालका कविहरूले वर्गसंघर्षका विचारधारालाई आफ्ना कविताकृतिमा स्थान दिएका पाइन्छ। यस क्षेत्रमा शुरूका प्रयासहरू शिलाङका गोपीनारायण प्रधान र दिल साहनीबाट भएको पाइन्छ। पछि यसलाई गुवाहाटीका तुलबहादुर मालेमा, टि. कार्की र नारद खतिवडाले निरन्तरता दिए भने यसलाई ठोस रूप भने सन्१९९०को दशकमा आएर विश्‍वनाथ चाराली निवासी धरनी रिजालले दिएको पाइन्छ। यस प्रवृत्तिलाई टेवा दिन गोपीनारायण प्रधानको साइलक आइरहेछ (१९७५), यस्तो भूल पो गरेछु (१९७८) र धरनी रिजालका छनौट गरिएका केही कवितहरूकोधरनी रिजाल रचना संकलन (२००१) आदि प्रकाशित भएको पाइन्छ।

समाजमा सत्य र न्यायको आवश्यकतामाथि जोड दिने विषय वस्तुलाई अँगालेर कमल चम्लागाई, कुल प्रसाद शर्मा, कृष्ण छेत्री, गोपाल बहादुर नेपाली, जय प्रसाद दाहाल टुङनाथ नेपाल, बि. एम. प्रधान र हेमकुमार लुइटेलको संयुक्त प्रयासमा सन् १९७९मा कविता संगम नामक कविता संकलन प्रकाशित भएको पाइन्छ।

असमको नेपाली कविता साहित्यले १९८०को दशकमा आएर निकै मौलाउने र फस्टाउने वातावरण प्राप्त गरेको देखिन्छ। यसकालका कविहरूले आधुनिकताबाट निकै प्रभावित भएर य़थार्थवादमा आधारित कविताहरू रचेका पाइन्छन्। यस कालका कविताहरूमा आन्तरिक तथा वाह्य दुवै वातावरणका द्वन्द आर्थात्, सामाजिक र भावनात्मक विषयबीचका द्वन्द्व प्रतिद्वन्द्वका अभिव्यक्ति पाइन्छ। धेरै पत्र-पत्रिका तथा समाचारपत्रहरूमा यस्ता भाव-विचार बोकेका कवितहरू प्रकाशित भएका पाइन्छन्। यस दशकमा प्रकाशित भएका केही उल्लेखयोग्य कृतिहरू हुन्- नव सापकोटाको युक्लिप्टस: आउने पिढीलाई आशीर्वाद(१९८०),अविनास श्रेष्ठको संवेदना ओ संवेदना (१९८१), युद्धवीर राणाकोचिता नपाएका तक्माहरू (१९८१),तुल बहादुर मालेमाको बलिदानको प्रतियोगितामा लम्केका पाइलाहरू (१९८२),भविलाल लामिछानेको अनगता (१९८३), दिल साहनीको नौलो मान्छे (१८८३), दुर्गा प्रसाद घिमिरेको (गिती संगालो)धुक्‌धुकी (१९८३), तुंगानाथ नेपालको यहां यस्तै छ (१९८३),अनिरुद्ध गौतंकोचश्‍माभित्रका धायल आँखा (१९८३),अविनाश श्रेष्ठको परेवा:सेता काला (१९८४),के.बी. नेपालीको प्ल्याटफर्म (१९८४),पदम छेत्रीको आदिम सडक (१९८५),डम्बर ढकालको अँध्यारो उज्यालो (१९८५),अनिरुद्ध गौतमको अज्नन शब्दको पछि पछि (१९८६),खेमलाल पोख्रेलको विश्‍वशान्ति (१९८६),खड्गबहादुर कौशिकको गिनी पिग (१९८६),बालकृष्ण उप्ध्यायको कलेज (१९८६),गोपाल बहादुर नेपालीको विश्‍ववोध (१९८७),मोहन सुबेदीको पृथ्वी जसरी भोक्दैछु (१९८७),गुरुभक्त धितालको मेरा पीर मेरा गीत(१९८८),चोक बहादुर थापाको एउटा नयन बिहानको प्रतीक्षामा (१९८८),लोकनाथ उपाध्याय चापागाईँको खण्डकाव्य विवर्तन (१९९०), छविलाल उपाध्यायको खण्डकाव्य पावनदूत (१९९०) र अस्तीत्वबोध (१९९१), तुङनाथ नेपालको माधुरी(१९९१), लोकनाथ उपाध्याय चापागाईँको कविता संकलन अन्तरालl(१९९२), ,रमेश दवादीको टाउको खोज्दै (१९९२),खड्गबहादुर कौशिकको औँसीका रातहरू : पूर्णिमाका रातहरू (१९९२),नव शापकोटाको काव्यान्तर (१९९३),दुर्गा प्रासाद घिमिरेको शतभीशा (१९९३), खेमराज नेपालको खण्डकाव्यमेरो देश : हिजो आज र भोलि (१९९३),चन्द्रकला नेवारको चक्रव्यू (१९९३),छविलाल उपाध्यायको खण्डकाव्य कामरूप (१९९४), भवीलाल लामीछानेको शब्द हुन् यी मेरा (१९९५),गोपाल बहादुर नेपालीको एक मुठी जीवन खोज्दै (१९९८), कुमार नेपालको बसन्तका कोपिला(१९९९) आदि।
यस कालमा आएर विभिन्न कविका कविताहरूलाई एकट्ठा पारी संकलनहरू प्रकाशित गर्ने परम्पराको पनि विकास भएको पाइन्छ।ती हुन् हिमाली साहित्य समिति, नलबारी जिल्लाको पक्षमा कविता कुञ्ज(१९९३3), गोपाल बहादुर नेपालीद्वारा संकलित सन्तावन्न कविताहरूको संकलन, पूर्वाञ्चलीय नेपाली कविता (१९९४), डा० गणेश भण्डारी र गोपाल बहादुर नेपालीद्वारा सम्पादित असमेली नेपाली कविता (१९९७) इत्यादि।

सन् २०००को दशकमा अइपुग्दा असमको नेपाली कविता साहित्य निकै नै पल्लवित भइ सकेका पाइन्छन्। यस कालमा यस भेकबाट प्रकाशित भएका प्राप्त केही कविका कविता संकलनहरू यस प्रकार छन्-
डा० लालुप्राद उपाध्यायको ओझेलमा परेका कविता (२०००), बद्री गुरागाईँको गीतायान(२०००),हरि गुज्रेलको शब्द बटुल्दै(२००१), छबीलाल लामीछानेको छवी कविता संग्रह (२००१) नव सापकोटाको मदिरा होइन मेरो पसिना (२००१) अनामिका राईका अन्तद्वन्द्व (सन् २०००) र नीलकण्ठ (सन् २००१), राम दाहालको लच्किएका अनुभव (२००१), प्रदीप गुज्रेलको पोको (२००२), कर्णबहादुर छेत्रीको प्रतिदान(२००३), नारायण उपाधायायको सयपत्री (हाइकू)(२००४), ज्योतिष मञ्जरी(२००७) गोविन्द शण्डिल्यको मेरो मुटु मेरो देश(२००२),गान्धार जल(२००६),फूल फिलिङ्गनाहरू(हाइकू)(२००८),किर्तीमणि खतिवडाको म(लामो कविता)(२००३), होमबहादुर छेत्रीको पर्खौ हामी(२००४),),डा. भीमकान्त उपाध्यायको सम्पादित एवं साहित्य अकादमीद्वारा प्रकाशित केही अनुदित असमीया कविता(२००४),तारानाथ शाण्डिल्यको शैलवती(खण्ड काव्य)(२००५), लक्ष्मी ‘मीनु’का मिर्मिरेको अनुभूतिहरू (सन् २००६) कविता सङ्ग्रह, गोपीनारायण प्रधानको आकाशले पनि ठाँउ खोजिरहेछ (२००७), इन्दुप्रभा देवीको सपनाको जरो पैल्याउँदै(खण्डकाव्य)(२००७), बलराम उपाध्यायको छेडका(२००८), रिजु देवीको वर–पीपल (सन् २००८) शीर्षक कविता सङ्ग्रह, आलोक गौतमको मान्छे भित्रको मान्छे(२००८),रूद्र ढुंगेलको अनुराग अक्षरहरू(२००८), खड्गराज गिरीको स्याक्टसका हात(२००९), लक्षमण अधिकारीको माटो र मानिसको कविता(२००९), गीता लिम्बूको बिहानी (२००९), खेमराज नेपालको सृष्टि (महाकाव्य)(२००९), शिलानाथ शर्मा अधिकारीको यात्रा (२०१०) इन्दु प्राभा देवीको एकसय लीमारिक (20११),खगेन शर्मा र रोहित गौतमको सम्पादन तथा एच. एम. एस पब्लीकेसनद्वारा प्राकाशित पच्चीसजना कविहरूको संकलन अनुभवको साइनो (20११), डा. सीताराम अधिकारीको आधुनिक मान्छे (२०११)इत्यादि।
यी बाहेक, यस अध्ययनकर्तालाई हालसम्म प्राप्त भएका कृतिहरू यसप्रकार छन्- कृष्ण बहादुर रावतको तारा नरोएको रात छैन, गोविन्द सन्दिल्याको कुरूक्षेत्र, सीता देवीको तिम्रो स्मृतिमा, नारायण प्रधानको यसै ब्रह्मपुत्रको बगरमा, पुष्पधर शर्माको हाम्रो धुक्‌धुकीi: जराहरू, कर्ण बहादुर छेत्रीको मुठीदान, हस्त सुब्बाको कविता कुञ्ज,कृष्ण प्रसाद भट्टराईको फेरि किन यो कुरूक्षेत्र र बन्दी कारागारभित्र यो जिन्दगी, इन्द्र अधिकारीको काव्यमाला, विद्यापति दाहालको काम्या, गोमा शर्माको तिम्रो निम्ति, दिलिप सिटौलाको जीवनादर्श, शिव आचार्यको मुटुको ज्वालाका झिल्काहरू, बद्री गुरागाईँको गीतायान,सिरण कार राईको आत्मा सम्मोहन र घाइते शब्दहरू, मैना थापाको कस्तुरी, होमनाथ सुवेदीको नवोदिता सूर्य, शिव शास्त्रीकोखागो, हरी गुज्रेलको शब्द बटुल्दै, शशी कुमार शर्माको कविता संकलन, लालुप्रसाद उपाध्यायको विस्मृतिका कविता ओझेलमा परेका कविता, लीलानन्द उपाध्यायको लाली पोतिएको ओठ, जयन्त कृष्ण शर्माको सदनको मझेरीमा माटाको वास्ना(२००१), रन बहादुर छेत्रीको तीन दशक तीस अभिव्यक्ति, के.बी. नेपालीको अनियन्त्रित मन, तोया चापागाईँको आजको बिहान इत्यादि ।
सवाईबाट प्राम्भ भई वर्तमानसम्म आइपुग्दा असमको नेपाली कवितासाहित्यको विकाशमा निकैवटा उल्लेखनीय मोडहरू आएका देखिन्छन्। यसरी यी विभिन्न मोडहरू पार गर्दै यसले समयानुकूल विविध प्रवृत्तिहरू आत्मसात गर्दै आएको पाइन्छ। माथि विद्वान्‌हरूले गरेका विभाजनलाई नै आधार मानेर यस भेकको नेपाली कविता साहित्यको प्रवृत्तिगत विकासक्रमलाई तीनवटा चरणमा विभाजन गरेर ती चरणमा देखा परेका विशेषताहरूलाई यहाँ बुँदागत रूपमा प्रस्तुत गरिन्छ-
पहिलो चरण- (सन् १९५० , सम्म)

क. असम पूर्वाञचलको कविता साहित्य शास्त्रीय छन्दयुक्त नभएर वीररसपूर्ण सवाई काव्यबाट थालिएको पाइन्छ।किन भने स्रष्टा शास्त्रादि अध्ययन गरेका पण्डित नभएर एकजना अल्प पठित सिपाही थिए।
ख. यस चरणको प्रमुख विशेषता भनौ वा प्रमुख विधा नै नेपाली लोक छन्दमा रचित सवाई काव्य हो।
ग. सवाईकाव्यका अतिरिक्त यस चरणका कविताहरूमा नीतिशिक्षामूलक तथा सुधारवाधी भावनाले भरिएका कविताहरूको पनि प्राधान्य देखिन्छ।
घ. रामायण, महाभारत, पुराण आदिका आधारमा अनुदित तथा मौलिक कृति औ फुटकर कविताहरू पनि यस कालमा प्रकाशित भएका पाइन्छन्।
ङ. यस चरणको अन्त्यतिर आदर्शवादी भावधारामा रचित वार्णिक छन्दको प्रयोग गरिएका कविताहरू पनि प्रकाशित भएका पाइन्छन्।
च. यस कालमा यस भेकमा देखा परेका केही हस्तलिखित तथा प्रकाशित पत्रिकाहरूले पनि नेपाली कविताको विकासमा टेवा पुर्‍याएको देखिन्छ।

दोस्रो चरण - (सन् १९५१ देखि १९८०सम्म)

क. भारतले स्वतन्त्र पाएको सन्धिकालदेखि प्रारम्भ भएको यस चरणका आदिकालका कविताहरूमा आभावहरू पूर्ति हुने आशा, आकांक्षा, सहज-सरल जीवन शैलीप्रतिको आदर्शवादी चाहनाहरू झल्किएका पाइन्छन्।
ख. साठीको दशकमा विशेष गरेर हरिभक्त कटुवालका कवितामा भने आशा-आसांक्षा पूर्ति नभएकोमा गुनासो मात्र नभएर प्रतिवादको स्वर पनि मुखरित भएका पाइन्छन्।
ग. समग्र भारतमा हुँदै आएको नेपाली भाषा मान्यताको टड्कारो स्वर यस भेकका कविताहरूमा पनि गुञ्जयमान हुन गएको पाइन्छ।
घ. दोस्रो विश्‍वयुद्धको कारणले जनमानसमा आएको त्रास तथा जीवनप्रतिको बिरक्ति आदिको चित्रण गर्न पनि यस चरणका कविताहरू आछुत रहेका पाइन्नन्।
ङ. सन् 1979 देखि असममा आरम्भ भएको विदेशी बहिष्करको आन्दोलनले गर्दा यहाँका नेपाली जनताका जीवनलाई पनि निकै प्रभावित पार्‍यो जसको फलस्वरूप यस कालका नेपाली कवितहरूमा जातीय अस्मिताका स्वर प्रखर हुनुका साथै कविताहरू प्रतिकात्मक पनि भएका पाइन्छन्।
च. यस चरणका जम्मैजसो कविहरूले केही न केही मात्रामा कुनै न कुनै प्रत्यक्षाप्रत्यक्ष रूपमा जातीय चिन्हारीको भावबोधका कविता लेखेका छन्
छ. यसै चरणमा आएर असम पूर्वाञ्चलको नेपाली कवितामा स्वच्छन्तावादी तथा स्वच्दतावादी-प्रगतिवादी प्रवृत्ति भित्रिन आएको पाइन्छ।
ज. अर्को उल्लेखनीय विशेषता के हो भने यस चरणका कविहरूले आफ्ना कविता कृतिहरू सामुहिक रूपमा प्रकाशित गर्न थाले।
झ. यस चरणमा कतिपय खण्डकाव्यहरू पनि प्रकाशित भएका पाइन्छन्-(टिकाराम उपाध्याय निर्भिकको-चम्पा)

तेस्रो चरण- (१९८१ देखि हालसम्म)

क. यस चरणको आरम्भमा दोस्रो चरणको अन्त्यतिरको कविताले अँगालेका विशेषताहरू नै कायम रहेका पाइन्छन्।
ख. पछि गएर यस चरणका कविताहरू अधिक जटिल र समाजसचेत बनेका पाइन्छन्।
ग. कवितामा कल्पनाचित्र, बिम्ब-प्रतिबिम्ब, प्रतीक अथवा लक्षणा-व्यञजना तथा रूपक आदि आलंकारिक प्रयोगले गर्दा कविताहरू निकै जटिल भएका तथा पाठकलाई बुझ्न गाह्रो पर्ने किसिमका पनि देखिन्छन्।
घ. वर्तमान भारतीय नेपाली कविताको एउटा ठूलो भङ्गालो आर्थिक विसंतिजन्य कष्टबोध र असहायपनका अभिव्यक्तिले ओतप्रोत छ,यस कुरादेखि असम पूर्वाञ्चलको कवितासाहित्य पनि अछुत भने रहेको पाइन्न।
ङ. राजनैतिक - आर्थिक असुरक्षाबोधबाट उत्पन्न सङ्कटापन्न मनोबिम्ब अनि यसको मूर्त - अमूर्त अभिव्यक्ति पनि वर्तमान असम पूर्वाञचलको नेपाली कविताको केन्द्रिय रूप रहेको पाइन्छ।
च. मणिपुर, मेघालय, नागाल्याण्डमा भएका नेपाली - उच्छेद क्रियाकलाप प्रक्रियाजस्ता समस्याले गोर्खा जाति सधैँभरि गाँस र वासको डोहोडोहोमा पर्नुपरिरहेछ यस भेकको कवितामा यस्ता युगीन विसङ्गतिको टड्कारो चित्रण पनि पाइन्छ।
छ. यी बाहेक विभिन्न स्थानीय समस्याहरूको समाधानको आशय व्यक्त गर्दै समाजको उत्तरोत्तर उन्नतिको कामना पनि वर्तमान असम पूर्वाञ्चलका नेपाली कविताहरूमा ध्वनित भएका पाइन्छन्।
ज. आधुनिक भारतीय नेपाली कविताको क्षेत्रमा इन्दु प्राभा देवीको एक सय लीमारिक(हास्य व्यङ्ग्य) सायदै यस भेकबाट देखा परेको एउटा नौलो कवितात्मक विशेषता हो।

उपसंहार

समग्रमा भन्न पर्दा, असम पूर्वाञ्चलको नेपाली कविता साहित्यले प्रायः एकसय अठार वर्षको दीर्घायु पुरा गरिसकेको पाइन्छ। वीररसपूर्ण लोकलयमा आधारित सवाई छन्दमा रचिएका कविताहरूबाट नै यस भेकको साहित्य लेखनको श्रीगणेशः भएको पाइन्छ। भषिक दृष्टिकोणमा यी कविताका भाषाहरू सुगठित हुन सकेनन् किन भने यी कविताहरू अल्प पठित सिपाहीहरूका भोगाइका अभिव्यक्ति हुन् र यिनै काव्यहरूला नै भवी स्रष्टाहरूलाई पनि साहित्य लेखनमा प्रेरित गरे। जसको फलस्वरूप दार्जिलिङबाट पनि केही सवाई काव्यहरू रचिएका पाइन्छन्। कालान्तरमा असम पूर्वाञ्चलको नेपाली कविता साहित्यमा समयानुकूल विविध प्रवृत्ति (आदर्शवादी, स्वच्छन्तावदी, प्रगतिवादी, उत्तरआधुनिकतावादी)हरू भत्रिएका पाइन्छन्। सम्पूर्ण भारतीय नेपाली कवितासागरको बहाइमा यस क्षेत्रको ब्रह्मपुत्ररूपी कविता नदी पनि एउटै धारामा बगिरहेको पाइन्छ, केही अघि-पछि तल-माथि होलान्। यस भेकमा आज नेपाली भाषाको निम्ति सञ्चारसुविधाहरू तथा स्नातकोत्तरसम्मको उच्च शिक्षा( दूर तथा खुल्ला शिक्षण, गुवाहाटी विश्वविद्यालय 2010) पनि उपलब्ध हुन थालेका छन् अनि नेपाली भाषामा दैनिक समाचारपत्र तथा पत्र-पत्रिकाहरू प्रकाशित हुनथालेकाले यस भेकको नेपाली कवितामा गीत, गजल, हाइकू, हास्य, चुटकिलापरक व्यङ्ग्य तथा अन्यान्य नौला बान्कीका कविताहरू पनि प्रशस्तै देखिनथालेका छन्। अब नेपाली कविता पाठकमुखी, सरल र व्यङ्ग्यधर्मी बन्दै गइरहेको पाइन्छ, जटिलताबाट सरलतातिर बगिरहेछ असम पूर्वाञचलको नेपाली कविता। नेपाली कविताको राष्ट्रिय मूलधारामा सलल बग्न थालेका छन्, कविहरू राष्ट्रिय स्तरका पुरष्कारले सम्मानित पनि भइरहेका छन्(साहि। यसले के जनाउछ भने आज प्राय लाख जति नेपालीहरू छरिएर बसोबास गरेको असमको नेपाली साहित्यले जतिको उन्नति गरेको छ त्यो उन्नतिको सराहना गर्नैपर्ने देखिन्छ। किन भने अचानाको पीर खुकुरीले जान्दैन, दुइ ढुंगाबीचको तरूलले मात्र आफ्नो विकासको गतिमा खाएको खापको अनुभूति गर्न सक्छ।

१. घनश्याम नेपाल-(१९९१): नेपाली साहित्यको परिचयात्मक इतिहास ; नेपाली साहित्य प्रचार समिति, सिलगडी, पश्चिम बङ्गाल, पृ. २१-२९
२. लील बहादुर क्षत्री(२०००): पूर्वोत्तर भारतीय नेपाली साहित्य र समाजको ऐतिहासिक दिग्दर्शन;पंकज- पल्लव प्रकाशन, डा० बी.डी बरूवा रोड,गुवाहाटी, आसाम; पृ.२
३. डा. खेमराज नेपाल, पूर्वोत्तर भारतको नेपाली कविताको विकासयात्रा, रचना, वर्ष ५१
पूर्णाङ्क११२, वैशाख-जेठ २०६८, पृ-६८
४. ऐजन पृ-६८
५. कमल दीक्षित(सम्पा) बुइँगल, साझा प्रकाशन, काठमाण्डौ वि.सं २०२८, पृ ४०१)
६. सवाई पच्चीसा : प्रकाशक: श्री गोपाल चन्द्र सर्व हितैसी कम्पनी,जल्पदेवी रोड, वणारस सहर पृ-१६७
७. ऐजन: पृ. १६७
८. ऐजन: पृ. ८८-१३९
९. ऐजन: पृ.८८-१३९ र २९५-३३१
१०. लीलबहादुर क्षत्री, पृ.३
११. ऐजन, पृ ४
१२. परिषद्-पत्र २/२, १९८६-८७: सम्पा. अविनाश श्रेष्ठ; नेपाली साहित्य परिषद्, आसम: गुवाहाटी, आसाम, पृ.२०३.
१३. लीलबहादुर क्षत्री, ऐजन (२०००): पृ. ५-६
१४. युवराज भट्टराई: पण्डित कवि स्वर्गीय शिवराज बराल; हाम्रो साहित्य (२००१), सम्पा. बद्री गुरागाईँ; नेपाली साहित्य परिषद्, नलबारी , असम ; पृ. २३-२४
१५. डा0 खेमराज नेपाल, ऐजन, पृ ७१
१६. धनश्याम नेपाल, ऐजन, पृ २२,८९-१०६


सन्दर्भ तथा सहायक ग्रन्थ सूची:-

1. कमल दीक्षितः(सम्पा) बुइँगल, साझा प्रकाशन, काठमाण्डौ वि.सं २०२८

2. के. बी. नेपालीः(सम्पा.)बिन्दु नेपाली साहित्यिक त्रैमासिक, वर्ष-47, अंक 111+112+113, बिन्दु प्रकाशन, लामडिङ 2008

3. घनश्‍याम नेपाल-(1991): नेपाली साहित्यको परिचयात्मक इतिहास ; नेपाली साहित्य प्रचार समिति, सिलगडी, पश्‍चिम बङ्गाल

4. डा. खेमराज नेपाल, पूर्वोत्तर भारतको नेपाली कविताको विकासयात्रा, रचना, वर्ष ५१
पूर्णाङ्क११२ वैशाख-जेठ २०६८

5. डा. दयाराम श्रेष्ठ. प्रा. मोहनराज शर्माः नेपाली साहित्यको परिचयात्मक इतिहास, साझा प्रकाशन, सातौं संस्करण 2061.
6. डा. जमदग्नी उपाध्याय(सम्पा.)- हिस्टोरी एन्ड कल्चर अफ आसामीज नेपालीः डिपार्टमेन्ट अफ हिस्टोरिकल एन्ड एन्टीक्वेरियन स्टडिज, असमद्वारा प्रकाशित,2009

7. डा. लक्ष्मी प्रसाद पराजुली, कुल प्रसाद शर्मा- नेपाली पोएट्री इन असमः ए हिस्टोरिकल आउटलाइन्

8. परिषद्-पत्र 2/2, 1986-87: सम्पा. अविनाश श्रेष्ठ; नेपाली साहित्य परिषद्, आसम: गुवाहाटी, आसाम

9. युवराज भट्टराई: पण्डित कवि स्वर्गीय शिवराज बराल; हाम्रो साहित्य 2001, सम्पा. बद्री गुरागाईँ; नेपाली साहित्य परिषद्, नलबारी , असम

10. रोचक घिमिरे(सम्पा) रचना, असमे नेपाली विशेषाङ्क, वर्ष 51 पूर्णाङ्क 112 बैशाख-जेठ सन् 2008
11. लील बहादुर क्षत्री(2000): पूर्वोत्तर भारतीय नेपाली साहित्य र समाजको ऐतिहासिक दिग्दर्शन;पंकज- पल्लव प्रकाशन, डा0 बी.डी बरूवा रोड,गुवाहाटी, आसाम

12. सवाई पच्चीसा : प्रकाशक: श्री गोपाल चन्द्र सर्व हितैसी कम्पनी,जल्पदेवी रोड, वणारस सहर


पूर्वोत्तर क्षेत्रीय भाषा केन्द्र, गुवाहाटी, असम

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 25 मङ्गसीर, 2068

लेखकका अन्य रचनाहरु