‘अग्निस्पर्श’का निबन्धमा पुस्तान्तर चेतना

- बिन्दु शर्मा

१. निबन्धकार शारदा शर्माको परिचय
शारदा शर्मा वैचारिक निबन्धकार हुन् । उनको जन्म वि.सं. २०१५ कार्तिक ४ गते स्याङ्जा जिल्लाको झारखोलामा भएको हो । प्राणी– विज्ञानमा बी.एस्सी. र नेपालीमा एम्.ए उत्तीर्ण गरी नेपाल परिवार नियोजन सङ्घ र परिवार कल्याणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था (आइपिपिएप्m) मा काम गरिसकेकी शर्माको साहित्यिक लेखन वि.सं. २०३९ को प्रज्ञा पत्रिकामा प्रकाशित ‘नहार्ने योद्धालाई मेरो बधाई’ शीर्षकको कविताबाट सुरु भएको हो । हालसम्म उनले नेपाली साहित्यका कविता, कथा, समालोचना र निबन्ध विधामा कलम चलाएर गहकिला कृतिहरू प्रदान गरेको देखिन्छ । उनका सीमान्त अनुभूति (२०४४), युद्धोपरान्त (२०४९) र स्वर्णसूत्र (२०५३) जस्ता कवितासङ्ग्रह तथा आस्थाको भग्नावशेष (२०४८) कथासङ्ग्रह प्रकाशित छन् । विश्वेश्वरप्रसाद कोइरालाका नारीपात्र (२०५३) चाहिँ उनको समालोचनात्मक कृति हो । त्यसैगरी वि.सं. २०६३ मा प्रकाशित अग्निस्पर्श उनको बहुचर्चित निबन्धसङ्ग्रह हो । अहिलेसम्म निबन्धको प्रकाशनमा सक्रिय रहेकी शर्माले नियोजन पत्रिकाको कुशल सम्पादन पनि गरिसकेकी छन् ।
शारदा शर्माको निबन्धलेखन साप्ताहिक विमर्श र रूपान्तरण मासिक पत्रिकाहरूका स्तम्भमार्फत सार्वजनिक भएको हो । अग्निस्पर्शमा सङ्कलित उनका अधिकांश निबन्धहरू पनि पूर्वप्रकाशित हुन् र तिनले नारीसंवेदनाको प्रस्तुतिलाई मूल आधार बनाएका छन् । नारी र पुरुषप्रतिको परम्परागत धारणा प्रस्तुत गरी त्यसबाट मुक्त हुने चाहना पनि तिनमा व्यक्त भएको छ । आख्यानको स्पर्शसहित यथार्थको रोचक प्रस्तुति रहेका उनका निबन्धहरूमा परम्परागत सामाजिक संरचनाले मानसिकतामा पारेको प्रभावको सूक्ष्म विश्लेषण गरिएको छ । नारी, पुरुष, धर्म, कविता, अध्यात्म आदिप्रतिको आफ्नो धारणालाई जीवनका अति सामान्य लाग्ने घटना र प्रसङ्गसित जोडेर व्यावहारिक तथा तर्कपूर्ण ढङ्गले पुष्टि गरी गम्भीर चिन्तन प्रस्तुत गर्नु उनका निबन्धको सामथ्र्य हो । जुनसुकै सन्दर्भ र विषयलाई अध्यात्मसँग जोडेर हेर्ने प्रवृत्ति पनि तिनमा देखिन्छ । रूढ र अन्धो रूपमा नभई धर्मलाई लोककल्याणकारी तŒवसित जोडेर धार्मिकताको चाहना राखी त्यसलाई प्राप्त गर्ने आकाङ्क्षासहित उनका निबन्ध रचिएका छन् । उनी तार्किक र सूक्तिमय भाषाका माध्यमबाट निबन्धमा पनि कवितात्मक अनुभूति प्रकट गर्दै पाठकमा विषयवस्तुप्रतिको स्पष्ट विचार प्रवाह गराउन सक्षम निबन्धकार हुन् । प्रस्तुत लेखमा चाहिँ शारदा शर्माको अग्निस्पर्श निबन्धसङ्ग्रहमा सङ्गृहीत निबन्धहरूमा व्यक्त वैचारिकतामध्ये पुस्तान्तरको चेतनालाई मात्र पहिल्याउने प्रयास गरिएको छ ।
२. पुस्तान्तर के हो ?
शाब्दिक अर्थमा भन्नुपर्दा दुई पुस्ताका बीचमा पाइने फरक नै पुस्तान्तर ९नभलभचबतष्यल नबउ० हो । पुस्तान्तर शब्दले अघिल्लो र पछिल्लो पुस्ताका बीचमा देखिने विचार र शैलीको भिन्नतालाई बुझाउँछ । समय र उमेरको अन्तर बढ्दै जाँदा व्यक्तिको स्वभाव, चाहना र जीवनशैलीमा नवीनता देखिँदै जान्छ । यसले गर्दा फरकफरक समयका व्यक्ति तथा पुस्ताका सोचाइ पनि भिन्दाभिन्दै हुन पुग्छन् । यही भिन्न सोचाइका कारण अघिल्लो र पछिल्लो पुस्ताका बीचमा अन्तर देखा पर्छ । वास्तवमा फरकफरक पुस्ताका मान्छेको अवधारणा वा सोच्ने÷अनुभूति गर्ने तरिकाको भिन्नता नै पुस्तान्तर हो ।
पुस्तान्तर खासगरी बालबालिका र आमाबाबुका बीचबाट प्रकट हुन्छ । वर्तमानमा युवाहरू पश्चिमी संस्कृति र मापदण्डअनुसार सभ्य र धनी बन्न चाहनुलाई नै यसको मूल कारण ठानिएको छ । इन्टरनेट र अन्य उच्च प्रविधिको उपयोगले गर्दा समाजसँगको घुलमिल कम हुन गई युवाहरू अघिल्लो पुस्ताका कुरा बुझ्न र सुन्न चाहँदैनन् । यसले दुई पुस्ताका बीचको मानवीय मूल्यको खोजी विपरीत ध्रुवतिर फर्काउँछ र बुझाइमै गल्ती हुन पुग्दछ । आध्यात्मिकताको अभावले पनि यस्तो अन्तर हुने गरेको पाइन्छ ।
पुस्तातर शब्द सन् १९६० देखि पाश्चात्य समाजमा किशोरकिशोरी र आमाबाबुको सांस्कृतिक भिन्नता देखाउने क्रममा बढी प्रचलित भएको हो । वर्तमानमा चाहिँ पुस्तान्तर अत्यन्त छिटोछिटो भइरहने सांस्कृतिक परिवर्तनका कारण बढी देखिन थालेको छ । त्यसमा पनि सांस्कृतिक रुचि, फेसन, विषयलाई ग्रहण गर्ने प्रवृत्ति र राजनीतिमा यो टड्कारो हुन्छ । सन् १९६० पछि यो फरक अकल्पनीय ढङ्गले बढेको छ । यसले व्यक्तिलाई पूर्वस्थापित मूल्यमान्यतासित लड्न र छुट्टै अस्तित्व प्राप्त गर्न असीमित र विस्तृत इच्छाशक्ति उपलब्ध गराएको छ ।
पुस्तान्तरकै कारण अमेरिकामा ‘बिट जेनेरेसन’को जन्म भई राष्ट्रिय सामाजिक नैतिकतामाथि नै गम्भीर प्रहार भएको पाइन्छ भने ज्याज र रक सङ्गीतको लोकप्रियता बढेको देखिन्छ । छोराछोरी र बाबुआमाबीचको भिन्नता टेलिभिजनको प्रचलन तथा फिल्मको प्रदर्शनले बढाउँदै लगेको छ । सीमान्तीकृतहरूले भिन्न शैलीमा पीडा अभिव्यक्त गर्नका लागि प्रचलनमा ल्याएको ‘ज्याज’ तथा ‘रक’ सङ्गीतमा ठूलो स्वर र ठाडो ताल शक्तिशाली हुने भएकाले यसले टिनएजरहरूमा तुरुन्तै प्रभाव पार्दछ । यस्तै क्रममा अमेरिकामा हिप्पी तथा नेपाली साहित्यमा पनि राल्फा, अस्वीकृत जमात, भोको पिँढी, बुटपालिसजस्ता आन्दोलनहरू जन्मिएका हुन् ।
यसै क्रममा The Who नामक बेलायती रक समूहले गाएको My generation शीर्षकको गीत सन् १९६५ मा विश्वभरि नै अत्यन्त लोकप्रिय भएको थियो, जसमा पुस्तान्तरको स्पष्ट चित्र कोरिएको छ । यसले पुस्तान्तरका कारण कति भयावह समस्या उत्पन्न भएको छ भन्ने देखाउँछ । उक्त गीतको प्रारम्भिक अंश हेराँै ः
People try to put us down
(Talkin about my generation)
Just because we get around
(Talkin about my generation)
Things they do look awful cold
(Talking about my generation)
I hope I die before I get old
(Talking about my generation)

यहाँ अघिल्लो पुस्तालाई नयाँ पुस्ताको प्रगतिप्रति ईष्र्यालु, आफूहरूलाई माथि जान नदिने, आफूहरूमाथि क्रोधपूर्ण व्यवहार गर्ने र मार्नसमेत तत्पर रहने कुरा सङ्केत गर्दे त्यो पुस्ताप्रतिको तीव्र असन्तुष्टि प्रकट गरिएको छ । यसमा पुरानो पुस्ताको समाजका नीतिनियमका कारण नयाँ पुस्तामा आक्रोश र निराशा छाएको पनि देखिन्छ ।
यौनसम्बन्धी अवधारणा, नयाँ प्रविधि, राजनीतिक भिन्नता, कामको स्थान र व्यवहार, दायित्वबोधको उमेर, शैक्षिक प्रणाली, टेलिभिजन च्यानलहरूको बढ्दो प्रभाव आदिका कारण छोराछोरीको सोचाइ र व्यवहार फरक हुँदै जान्छ र उनीहरू मातापिताबाट टाढिई आपूm एक्लिएको पीडा पनि अनुभुत गर्दछन् । यसै क्रममा उनीहरूमा सामाजिक संरचनाका कारण उत्पन्न डर र भविष्यप्रतिको वितृष्णाले नैतिक पीडा हुने गर्दछ । सामाजिक तनाव र मतभिन्नताले पुस्ताका बीचमा विमर्श बढाउँछ र नैतिक बन्धनका बारेमा उनीहरूमा खुल्ला ढङ्गले छलफल हुन पाउँदैन । त्यसैले किशोर–किशोरीको समूहमा उग्र व्यवहार देखिन थाल्छ र यो उग्रता बढ्दै जाँदा ‘मास हिस्टेरिया’ समेत जन्मन सक्ने मनोवैज्ञानिकहरूको ठहर छ । विशेष गरी चिन्तन, संस्कृति (मूल्य र प्रवृत्ति), लिङ्ग, विवाह, प्राप्यता, शरीर विज्ञान, पारिवारिक एकाइ, नैतिकता, व्यक्तित्वजस्ता पक्षहरूमा पुस्तान्तर स्पष्ट देखिन्छ ।
३. ‘अग्निस्पर्श’ निबन्धसङ्ग्रहमा प्रकटित पुस्तान्तरको स्वरूप
निबन्ध मूलतः विचारप्रधान विधा भएकाले लेखकले यसमा आफ्नो सोचाइ तथा चिन्तनलाई सबलताका साथ स्थापित गर्न खोजेको हुन्छ । यसका लागि उसले आफ्नो शैलीअनुरूप विभिन्न किसिमका तर्क र व्यावहारिक मीमांसाको पनि प्रयोग गर्दछ । निबन्धकार शारदा शर्माले चाहिँ आफ्ना अनुभूतिलाई वैचारिकताका साथ प्रस्तुत गर्नका लागि तार्किक, आख्यानात्मक तथा विश्लेषणात्मक शैली अवलम्बन गरेकी छन् । यस क्रममा उनले आफ्ना वैयक्तिक धारणा प्रतिपादन गर्न प्रयोग गरेका तर्क र आख्यानमा दुई पुस्ताको भिन्न उपस्थिति रहेको छ । एउटै विषयवस्तुप्रति फरक पुस्ताका धारणा एवम् मान्यताहरू प्रस्तुत गर्दा तिनमा विचारको स्पष्ट अन्तर देखिएको छ । यस सन्दर्भमा यहाँ ‘अग्निस्पर्श’ शीर्षकको निबन्धबाट केही पङ्क्ति उद्धृत गर्नु सान्दर्भिक हुन्छ ः
पुरानो संरचना र मूल्यमान्यतालाई पनि छोड्न नसक्ने र नयाँलाई यसका आधारभूत विशेषतासहित खुला हृदयले स्वीकार गर्न पनि नसकेको असन्तुलनको अवस्था अहिलेको मूल समस्या प्रतीत हुन्छ ।.... हाम्रा घरघरमा पुरानो र नयाँ पुस्ताका बीचको दूरी निरन्तर बढिरहेछ । नयाँ पुस्ता संसारका अद्यतन परिस्थितिहरूसँग सम्पर्कमा छ, हाम्रा पुराना मूल्यमान्यताले त्यसलाई बाँध्न सक्ने स्थिति छैन । यो पुस्ता जिज्ञासु छ, वैज्ञानिक दृष्टिकोणको छ र स्वभावतः विद्रोही पनि छ । हर समस्याको चित्तबुझ्दो तर्कपूर्ण समाधान चाहन्छ । (पृ.२२९)
यसरी प्रस्तुत सङ्ग्रहको शीर्ष निबन्धमै लेखक शर्माले दुई पुस्ताका बीचको अन्तर पहिल्याउन खोजेकी छन् । यसबाट पनि प्रस्तुत सङ्ग्रहमा पुस्तान्तरको चेतना सशक्त रहेको देखिन्छ । त्यसैले अग्निस्पर्शका निबन्धहरूमा देखिएको पुस्तान्तर चेतनाको खोजी गर्नु प्रस्तुत लेखको उद्देश्य हो । यसका लागि यहाँ चिन्तन, संस्कृति, लिङ्ग र पहुँचमा देखिएको अन्तरलाई विश्लेषणका मुख्य बुँदा बनाइएको छ ।
३.१. चिन्तनको अन्तर
कुनै पनि विषय, परिस्थिति, घटना, प्रसङ्ग आदिका बारेमा गम्भीर रूपले सोचेर निष्कर्षमा पुग्ने प्रक्रिया नै चिन्तन हो । यसअन्तर्गत एक किसिमको सोचाइको तरिका र विचार गर्ने पद्धति पनि पर्दछ । विचारको प्रक्रियामा देखा पर्ने भिन्नतालाई चिन्तनको अन्तर ९ष्मभययिनष्अब िनबउ० भनिन्छ । फरक सामाजिक–सांस्कृतिक पृष्ठभूमि, उमेरसमूह, शिक्षापद्धति आदिका कारण एउटै व्यक्तिका विभिन्न उमेरावस्था तथा दुई फरक पुस्ताका व्यक्तिको सोचाइ पनि भिन्न हुन पुग्दछ । यो प्रवृत्ति शारदा शर्माको अग्निस्पर्शमा सङ्गृहीत निबन्धहरूमा देख्न सकिन्छ । निबन्धकारका भिन्दाभिन्दै उमेरावस्थाका सोचाइमा रहेको रामायणको प्रेमकथाबारेको फरक धारणा ‘प्रेमयात्री’ निबन्धमा आएका दुई अंशबाट यसरी प्रकट भएको छ—
शास्त्रका रूपमा मैले पहिलोपल्ट पढेको प्रेमग्रन्थ भानुभक्तको रामायण थियो । त्यो ग्रन्थ पढ्दा लाग्थ्यो— राम र सीता बडो प्रेमी थिए होलान्, बाध्यताले तिनले दुःख पाए, छु्ट्टिनुप¥यो । सीतालाई बारम्बार परीक्षा लिँदा वा गर्भवती अवस्थामा घरबाट निकालिदिँदासमेत मैले रामलाई दोष दिइनँ, परिस्थितिलाई दोष दिएँ । (पृ.३८)
यो लेखकको किशोरावस्थाको सोचाइ हो । त्यतिबेला उनी प्रेमलाई सजिलैसँग बुझेजस्तो ठाने पनि वास्तवमा तत्कालीन पितृसत्तात्मक मानसिकता र त्यसमा नारीले भोग्नुपरेका पीडाहरूप्रति अनभिज्ञ थिइन् । वर्तमान अवस्थासम्म आइपुग्दा उनले सामाजिक–सांस्कृतिक मूल्य– मान्यताको व्यावहारिक अध्ययन तथा अनुभवबाट समेत आफ्नो तत्कालीन सोच गलत भएको निष्कर्ष निकालेकी छन्—
यतिखेर वाल्मिकी रामायणका पाना पल्टाउँदा मेरो यो विश्वास सन्देहको घेरामा परेकोमा म दुःखी छु । रामायण, रामको उग्र अहङ्कार र सीताको उग्र तपस्याको कथा रहेछ भन्ने निष्कर्षमा पुगेकी छु म ।... आफूप्रति यति अन्यायी, क्रूर र निष्ठुर पुरुषका प्रति सीता कसरी निरन्तर निष्ठाशील र समर्पित रहिरहन सकिन् ? आपूmलाई प्रेम नगर्ने मान्छेलाई यति एकोहोरो भएर प्रेम गरिरहन कसरी सम्भव छ ? (पृ.३८)
लेखकका यी अभिव्यक्ति वर्तमानको परिपक्व र प्रौढावस्थाको चिन्तनका उपज हुन् । यहाँ एउटै ग्रन्थ र पात्रहरूप्रतिको लेखकका दुई उमेरावस्थाका भिन्न चिन्तन प्रस्तुत भएका छन् । यस्तो हुनुको प्रमुख कारण लेखकको किशोर र प्रौढावस्थाबीच समयको लामो अन्तर हुनु नै हो । त्यसैले यहाँ एउटै व्यक्तिका फरक–फरक पुस्ताबीचमा अन्तर देखा परेको छ । त्यसै गरी ‘सुखसत्ता’ शीर्षकको निबन्धमा लेखकले आफ्नो बाल्यकालीन अवस्थामा गुरुले पढाएका गौतमबुद्धका उपदेशहरूबाट आपूm सन्तुष्ट हुन नसकेको बताएकी छन्—
एकफेरा गुरुले गौतमबुद्धका उपदेशहरू पढाउनुभएको थियो । उपदेशहरू राम्रा लागेका थिए मलाई । तर जन्म र मरणको चक्रबाट मुक्ति पाउने भन्ने कुरामा भने मेरो चित्त बुझेको थिएन ।... ठूल्ठूला वृक्ष, पाङ्ग्राका लहरा, हरियाली, ढुङ्गै ढुङ्गाले चिटेको लामो सिँढी, रुद्राक्षका रूख,... । यी सबै अत्यन्त रमाइला, प्रिय कुराहरू थिए मेरा निम्ति । म नजन्मेकी भए कसरी साक्षात्कार हुन्थ्यो यो सुन्दर पृथ्वीसँग मेरो ? (पृ.९१)
यी पङ्क्तिमा शर्माको सातबर्से बाल्यकालीन सोचाइ प्रस्तुत भएको छ, जसमा उनले शरीर, सौन्दर्य र पुनर्जन्मप्रति मोह राखी भौतिकवादी चिन्तनलाई समर्थन गरेकी छन् । यही निबन्धको अन्त्यतिर तथा ‘सिद्धार्थ साधना’ शीर्षकको निबन्धमा चाहिँ उनले आत्मसात गरेको विचार पृथक् रहेको देखिन्छ—
हुँदो–खाँदो, उमेरदार, क्षमतावान् मान्छेले भौतिक प्रतिस्पर्धामा रुचि देखाउन छाडेर वैराग्य ग्रहण ग¥यो वा आध्यात्मिक मार्गतर्फ उन्मुख हुन थाल्यो भने तिनलाई बिग्रेको, ओरालो लागेको भन्ने गरिन्छ ।.... तर जीवनमा मान्छेको सही उन्नतिको आधार भौतिकभन्दा पनि आध्यात्मिक हुनुपर्ने होइन र ?... (पृ.१५१)
यहाँ उनले स्पष्ट रूपमा अध्यात्मवादलाई समर्थन गरेको देखिन्छ । विभिन्न उमेर समूहको सोचाइमा रहेको भिन्नताले गर्दा नै एउटै व्यक्तिका पनि फरक समयका चिन्तन र दर्शनमा यस्तो अन्तर देखिएको हो । ‘समयको छाप’ निबन्धमा चाहिँ दुई पुस्ताको प्रतिनिधित्व गर्ने दुई व्यक्तिका भिन्दाभिन्दै सोचाइहरू यसरी प्रस्तुत भएका छन्—
पूmलको क्यारीमा गोलभेँडा उम्रेर ठूलो भएछ । हात उखाल्न अघि सरे, मनले रोक्यो । सासूज्यू हुँदा मैले गोडीमेली बनाएको क्यारीमा बेलाबखत यस्तै अनेक बिउ–बिरुवा रोपिदिनुहुन्थ्यो र म रिसाउँथे ।... म बिरुवा उखालिदिन्थेँ र बारीमा लगेर रोप्थेँ । सम्भवतः उमेरको एउटा बिन्दुमा पुगेपछि हामी सबैको मानसिकता उस्तै हुन्छ । मैले आज पूmलको क्यारीमा उम्रेको गोलभेँडाको बोट उखालिनँ,... त्यहाँ आज मैले घिरौँला ल्याएर रोपेकी छु ।... यसअघि पनि हामी घिरौँलाको तरकारी खान्थ्यौँ, तर यसरी सोचेकी थिइनँ मैले कहिल्यै । त्यतिखेर भए घिरौँलाको सट्टामा म यस ठाउँमा बेगमबेली रोप्थेँ होला, बेली चमेली रोप्थेँ होला र छानासम्म पु¥याएर दङ्ग पर्थैंं होला । (पृ.८७)
यसरी सुरुमा पूmलको क्यारीमा तरकारी रोप्ने सासूको कार्यप्रति विरोध जनाउने शर्माले सासूकै उमेरमा प्रवेश गरेपछिचाहिँ आपूmले पनि पूmलको सट्टा तरकारी रोप्न थालेको बताएकी छन् । अझ उनलाई ‘... फर्सीको मुन्टाले तरकारी टर्छ, पूmल खान हुँदैन क्यारे !’ (पृ. ८९) भन्ने यथार्थबोध पनि भएको छ । यहाँ सुरुमा वृद्धावस्थाकी सासूको उपयोगितावादी सोच र युवावस्थाकी शर्माको सौन्दर्यपरक सोच फरक भएकाले उनीहरूको चिन्तनमा पनि मतान्तर देखिएको हो । यो युवापुस्ताको ‘कला कलाका लागि’ भन्ने स्वच्छन्दतावादी मान्यता र प्रौढ तथा वृद्धपुस्ताको ‘कला जीवनका लागि’ भन्ने उपयोगवादी मान्यताका बीचको फरक पनि हो । त्यसैले यहाँ चिन्तनको अन्तर स्पष्ट देखिन्छ ।
दायित्वबोध लिने उमेरका कारण पनि आमाबाबु र छोराछोरीमा मतभिन्नता देखिन्छ । ‘आकाङ्क्षाको गति’ शीर्षकको निबन्धमा छोरी अनामिकाले केही ‘स्पेसल आउटस्ट्यान्डिङ’ गर्न वा विशिष्ट क्षमता देखाउन नसकेर जीवन निरर्थक बितिरहेको बताउनु तथा अर्की छोरी अपराजिताले ‘लाइफमा बडो फेमस र पपुलर’ बन्ने चाहना राख्नु यसकै परिणति हो किनभने यहाँ उनीहरू दायित्वबोधको उमेरमा अझैँ प्रवेश गरिसकेका छैनन् । साथै यस प्रसङ्गमा अनामिकालाई भविष्यप्रतिको वितृष्णाले नैतिक पीडा दिएको छ । यसबारेमा आमासँग उसको खुल्ला छलफल पनि हुन पाएको छैन । तलको सन्दर्भबाट यसको पुष्टि हुन्छ—
‘उसले आफ्ना निम्ति कल्पना गरेको ‘स्पेसियालिटी’ के हो भनेर सोध्न भने मन लागेको थियो मलाई । यस्तो विशेष क्रियाको रूप कस्तो हुन्छ ? जीवनमा कहाँ पुगेपछि भेटिन्छ त्यो ? अथवा के हो त्यसको सुरुवात र के हो त्यसको सीमा भन्ने कुरा यो केटीले कसरी विचार गर्दिरहिछ भन्ने उत्सुकता भए पनि मैले उसलाई केही सोधिनँ । (पृ.१०४)
वास्तवमा पुस्तान्तरको मतभिन्नताकै कारण छोरीको निर्णयप्रति त्यत्रो जिज्ञासा हुँदाहुँदै पनि उनीहरूमा खुल्ला छलफल नभएको हो । त्यसैले छोरीहरूको आकाङ्क्षाको गति ठम्याउन नसकी लेखक उनीहरूका सामान्य अभिव्यक्तिप्रति पनि अनावश्यक रूपले चिन्तित बनेकी देखिन्छिन् ।
त्यस्तै, ‘जिज्ञासा समापन’ शीर्षकको निबन्धमा पनि दुई फरकफरक पुस्ताका व्यक्तिहरूको विचार प्रस्तुत भएको छ—
एकजना विद्यार्थी युवकले केही समयअगि ‘गरिमा’ मा प्रकाशित मेरो ‘दुःख’ शीर्षकको कविताका सम्बन्धमा गुनासो प्रकट गरेर मलाई टिप्पणी पठाएका थिए । हामीजस्ता केही गरौँ भन्ने भावना भएका व्यक्तिहरूमा आशा, उत्साह, प्रेम, आनन्दको विस्तार गर्ने कविता तपाईं लेख्ने गर्नुस्, यस्ता दुःखका, निराशाका, द्वन्द्व र विरोधाभासका कविता लेखेर हामीलाई भ्रान्त नबनाउनुस् भन्ने उनको आशय थियो । (पृ.५९)
यी पङ्क्तिहरूमा युवकले आफ्नो उमेर र चाहनाअनुरूप कवितामा उत्साह प्रेम र सौन्दर्यसहितको आनन्दानुभूति खोजेको छ । वास्तवमा यो आजका युवाहरूको आन्तरिक चाहना पनि हो । त्यसैले उसको विचारले यहाँ समग्र युवापुस्ताको प्रतिनिधित्व गरेको छ । केही जोस र जाँगरका साथ अघि बढ्न चाहने हुनाले युवाहरू स्वभावैले बढी आशावादी हुन्छन् । अर्कातिर प्रौढावस्थाका व्यक्तिहरूको विचार भने उमेरको लामो भोगाइका कारण न त वृद्धावस्थाका व्यक्तिहरूसँग मिल्दछ न त युवाहरूसँग । यही मतान्तरका कारण उनीहरूमा आपूmलाई एक्लो महसुस गर्ने र युवाहरूका हरेक क्रियाकलापलाई नकारात्मक र शङ्कास्पद ढङ्गले हेर्ने प्रवृत्ति हाबी हुँदै जान्छ । अन्त्यमा युवा र वृद्धा दुबै पुस्तालाई आपूmअनुकूल बनाउन नसकेपछि उनीहरूमा तीव्र निराशाको भाव पैदा हुन्छ । यही प्रवृत्तिका कारण पचास वर्ष पुग्न लागेकी शारदा शर्माका कवितामा पनि निराशा, दुःख र असन्तुष्टिको अभिव्यक्ति भएको हुन सक्छ । माथिका पङ्क्तिमा युवकले लगाएको आरोप पनि यही नै हो ।
‘जिन्दगी अझैँ बाँकी छ’ भन्ने तथ्यबोध गर्ने भएकाले युवाहरूमा सकारात्मक सोचाइ बढी हुन्छ तर प्रौढहरूमा ‘जिन्दगी सिद्धिन लागिसक्यो’ भन्ने त्रासका कारण कहालीलाग्दो निराशा पैदा हुने गर्दछ । यसरी पुस्तान्तरका कारण चिन्तन तथा सोचाइको प्रक्रिया नै भिन्न हुने भएकाले यहाँ युवक र लेखकका विचारमा विरोधाभास देखिएको हो ।
३.२. सांस्कृतिक अन्तर
विश्वास, रीतिरिवाज, चालचलन, मूल्यमान्यता आदिमा देखा पर्ने भिन्नता नै सांस्कृतिक अन्तर ९अगतिगचब िनबउ० हो । यसलाई प्रवृत्ति र मूल्यको भिन्नताका रूपमा पनि लिन सकिन्छ । विभिन्न सांस्कृतिक पृष्ठभूमिका टेलिभिजन च्यानलहरूको प्रदर्शन, सांस्कृतिक घुलमिल, प्रविधिका कारण अत्यन्तै छिटोछिटो भएको सांस्कृतिक परिवर्तन आदिले गर्दा यस्तो अन्तर बढी हुन्छ । यो एउटै पृष्ठभूमिमा हुर्केका दुई पुस्ताका बीचको संस्कृतिलाई हेर्ने दृष्टिकोणको अन्तर तथा दुई भिन्न संस्कृति अँगालेका पुस्ताका बीचको अवधारणामा रहेको भिन्नता पनि हो । अग्निस्पर्शका निबन्धहरूमा यी दुबै किसिमका अन्तरहरू देखिन्छन् ।
‘मार्गनिष्ठा’ निबन्धमा एउटै सस्कृतिका दुई पुस्ताबीचको अन्तर देखिएको छ । यसमा हिन्दू सांस्कृतिक मान्यताअनुसारको समाजमा हुर्केका पूर्वपुस्ताका व्यक्तिहरू स्वास्नीमान्छेबाट मृत्युलाई समेत जितेर आफ्नो पतिलाई जीवित राख्न सक्ने सावित्रीको जस्तो अटल पतिव्रता धर्मको अपेक्षा राख्तछन् । यही सोच र मान्यता स्थापित गराउनका लागि उनीहरूले सावित्री र सत्यवान्का कथा लेखेर पतिव्रता धर्मप्रतिको आफ्नो सांस्कृतिक धारणा प्रस्ट पारेका छन् । यही संस्कारमा हुर्केकी निबन्धकार शर्माचाहिँ उपर्युक्त सोचाइप्रति विमति प्रकट गर्दछिन् । सावित्री र सत्यवान्ले आम नारी–पुरुषको प्रतिनिधित्व नगर्ने बताउँदै उनले अस्वाभाविक मान्छे भएकाले सत्यवान् सावित्रीको निष्ठा आरोपित हुनका लागि सत्पात्र मात्र भएको वा हुन सक्ने अनुमान लगाएकी छन् । यसका साथै सावित्री पनि अस्वाभाविक किसिमले सरल, निष्कपट, प्रशान्त, गरिमामयी र उग्र अहङ्कारिणी भएको हुन सक्ने उनको आशङ्का छ (पृ.४८) । त्यसैले निबन्धकारले सबै नारी सावित्रीजस्ता हुन नसक्ने र नहुने विचार पनि व्यक्त गरेकी छन् ।
यहाँ एउटै सांस्कृतिक पृष्ठभूमिमा हुर्केका दुई पुस्ताको सावित्री र सत्यवान्को चरित्रप्रतिको अवधारणामा स्पष्ट भिन्नता देखिएको छ । निबन्धकारले पाएको आधुनिक शिक्षापद्धतिको प्रभावका कारण यस्तो अन्तर देखिएको हो ।
पुनर्जन्ममा विश्वास गर्ने हिन्दू संस्कृतिमै हुर्केको एउटा बालक रामको अवधारणाले पनि सांस्कृतिक अन्तर देखाएको छ । उसका स्वाभाविक अभिव्यक्तिहरू ‘मृत्योर्मा अमृतं गमय’ निबन्धमा यसरी व्यक्त भएका छन्—
केही वर्षअधि हाम्रो घरमा एउटा सानो ठिटो बस्न आएको थियो— राम । उसलाई मैले स्कूल हालिदिएँ । पढ्न बडो गाह्रो लागेछ क्यारे ! एक दिन उसले मलाई सोध्यो “म मरेँ भने क्यै गरी अर्कोपल्ट जन्मँदा अहिले पढेको जति याद भइरहन्छ अथवा हुँदैन ? नहुने भए त यत्रो दुःख बेकार हुने भयो ।” (पृ.१०२)
यसमा बाबुआमाको दबावका कारण अर्काको घरमा काम गरेर पढ्न बसेको रामलाई पढाइप्रति त्यति रुचि देखिँदैन । त्यसैले ऊ आपूmले दुःख गरेर अलिकति जानेको कुरा पनि अर्को जन्मसम्म याद रहिरहोस् भन्ने चाहन्छ । यहाँ उसले पुनर्जन्मको प्रक्रियालाई अमरतासँग जोडेको छ । ऊ पटकपटक जन्म लिनु भनेको एकपटक मरेपछि पनि पहिलेका सबै कुराहरू सम्झन सक्नु हो भन्ने ठान्छ । त्यसैले आत्माको अमरतामा स्मरणशक्ति पनि अमर रहिरहनुपर्ने उसको आग्रह छ । उसको यो मान्यता आत्माको अमरता र पुर्नजन्ममा विश्वास गर्ने हिन्दू संस्कारको प्रभावबाट अज्ञानताको अवस्थामै विकसित भएको हो । उही संस्कारमा भिजेकी निबन्धकारचाहिँ शरीर र स्मरणशक्तिको भन्दा पनि आत्माको अमरता तथा मुक्तिमा विश्वास राख्छिन् । उमेरको अवस्था र धर्मदर्शनको अध्ययनबाट प्राप्त ज्ञानका कारण उनको धारणा परिपक्व बनेको छ । यसरी फरकफरक पुस्ताबीचको संस्कारलाई हेर्ने दृष्टिकोणमा रहेको अन्तर यसमा प्रस्ट देखिन्छ ।
आधुनिक युगमा देखा परेको सांस्कृतिक मिश्रण, तीव्र गतिमा भइरहेको सांस्कृतिक परिवर्तन तथा विभिन्न समयका राजनीतिक आन्दोलनले पनि जातीय र सांस्कृतिक अन्तरलाई खुकुलो बनाउँदै लगेका छन् । निबन्धकारका यस्ता अनुभवहरू एकपटक जहाजमा भेटिएकी फ्रेन्च युवतीसँगको कुराकानीमा यसरी प्रस्तुत भएका छन्—
... कुराकानीका क्रममा उनले आपूmलाई बिहे गर्ने रुचि छैन तर बच्चा पाउने योजना छ भनेर ढुक्कले भनिन् र म छक्क परेँ । उनले अर्को मान्छेसँग बस्न झीँजो लाग्छ, अरूले हस्तक्षेप गरेको मन पर्दैन भन्थिन् । (पृ.३०)
फ्रेन्च युवतीको उक्त चाहना फ्रान्समा भएको महिलामुक्तिको आन्दोलनले दिएको आत्मविश्वासको परिणति हो । बिहे नगरीकन सन्तान जन्माउने चाहनासम्म पनि राख्न नमिल्ने संस्कारकी निबन्धकार शर्मा युवतीका कुरा सुन्नेबित्तिकै छक्क परेकी छन् । यो फरक संस्कार भएका फरक पुस्ताबीचको अन्तर हो । यसमा एकातिर महिलामुक्ति आन्दोलन तथा फ्रान्सेली राज्यक्रान्तिले त्यहाँको संस्कारलाई परिवर्तन गर्दै लगेका कारण फ्रेन्च युवतीको सांस्कृतिक मान्यतामा भएको परिवर्तनलाई देखाइएको छ भने अर्कातिर यसले हिन्दू संस्कारको कठोर अनुशासनमा हुर्किएकी लेखक शारदा शर्माको सांस्कृतिक मान्यतालाई पनि परिवर्तन गर्न खोजेको देखाइएको छ । बिहे गर्न रुचि नभएका स्वास्नीमान्छेलाई त्यति मात्रै कारणले बच्चा पाउन प्रतिबन्ध लगाउने कुरामा पनि त न्याय देखिन्न (पृ.३०) भन्ने भनाइले पनि निबन्धकारको अवधारणा हिन्दू संस्कारभन्दा प्रगतिशील हुन खोजेको देखिन्छ । यसबाट शारदा शर्मा र उही संस्कृतिमा हुर्किएको पूर्वपुस्ता तथा लेखक र फरक संस्कृति अँगालेकी फ्रेन्च युवतीको पुस्ताबीच मतान्तर देखिएको छ । त्यसैले यसमा सांस्कृतिक अन्तर अत्यन्त टड्कारो बनेको पाइन्छ ।
३.३. लैङ्गिक अन्तर
लिङ्का आधारमा नारी र पुरुषलाई हेर्ने दृष्टिकोणमा रहेको भिन्नतालाई लैङ्गिक अन्तर ९नभलमभच नबउ० भनिन्छ । यो व्यक्तिको मानसिकतामै रहेको हुन्छ । लिङ्गलाई प्रमुख ठानेर व्यक्तिको मूल्याङ्कन गर्ने र यही आधारमा कामको विभाजन गर्ने परिपाटी वर्तमान युवापुस्तामा कम हुँदै गएको पाइन्छ तर उनीहरूको चेतनामै रहेको नारी र पुरुषप्रतिको विभेद भने पूर्णतः समाप्त भइसकेको छैन । वर्तमानको यही स्थितिलाई अग्निस्पर्शका निबन्धले प्रस्ट्याउन खोजेका छन् ।
नारीप्रतिको परम्परागत र आधुनिक मान्यता प्रस्तुत गरी स्वास्नीमान्छेलाई हेर्ने दृष्टिकोण पूर्वाग्रही भएको ठहर ‘उत्तराधिकार’ शीर्षकको निबन्धमा गरिएको छ । यहाँ छोरालाई मात्र उत्तराधिकारी बनाउनुपर्छ भन्ने पूर्वपुस्ताको मान्यता र लिङ्गका आधारमा भेदभाव नगरी छोरीलाई पनि छोरासरह शिक्षा र उत्तराधिकार दिनुपर्छ भन्ने युवापुस्ताको लैङ्गिक अवधारणामा फरक देखाइएको छ । आमाले जन्माएका सन्तान पनि बाबुको नामले चिनिने तथा बाबु नचिनिएका सन्तान नाजायज हुने पुलिङ्गकेन्द्री प्रवृत्तिका विरुद्ध यहाँ यस्तो विचार प्रस्तुत भएको छ—
सत्य कुरा के हो भने कुनै पनि आमाका निम्ति आपूmले जन्माएका सन्तान कहिल्यै नाजायज हुँदैनन् र ती सन्तान कुन लोग्नेमान्छेका हुन् भन्ने कुराभन्दा ती मान्छेका सन्तान हुन् भन्ने कुरो नै बढी महŒवपूर्ण हो । (पृ.१४९)
यी पङ्क्तिहरूमा नारीलाई हेर्ने युवापुस्ताको नयाँ लोकतान्त्रिक मान्यता प्रस्तुत भएको छ र यसबाट युवापुस्ता र सामन्ती पुस्ताबीचको लैङ्गिक अन्तर पनि टड्कारो देखिन्छ । परम्परागत पितृसत्तात्मक समाजको धुरीखाँबोका रूपमा रहेको पूर्वपुस्ता र त्यसका विसङ्गतिहरू समाप्त गर्न प्रयासरत युवापुस्ताबीचको लैङ्गिक भिन्नता केलाइएको ‘उत्तराधिकार’ निबन्ध नयाँ लोकतान्त्रिक मान्यतामा आधारित छ ।
त्यसै गरी पुरुसत्तामा भएको लैङ्गिक विभेदका कारण अपमानित भइने डरले आफ्ना सन्तानहरू बगरमा मिल्काउन बाध्य भएका अविवाहित नारीहरूको तीतो यथार्थ ‘आमाको मन’ निबन्धमा व्यक्त भएको छ । पुरुषहरूको सत्ता र वंशको रक्षार्थ छोरा पाइदिनुपर्ने विवशताका कारण लाखौँ छोरीहरू आमाको गर्भमै मारिने गरेको वर्तमान सन्दर्भचाहिँ ‘असुरक्षित कोख’ निबन्धमा देख्न सकिन्छ । ‘अंशयुद्ध’ मा छोरालाई मात्र अंश दिनुपर्छ भन्ने मान्यता राख्ने पूर्वपूस्ता र छोरीलाई पनि अंशियार बनाउनुपर्छ भनेर आवाज उठाउने उत्तरपुस्ताका अवधारणाहरू व्यक्त भएका छन् । त्यसैले यी निबन्धहरू पुरुष एकाधिकार कायम रहेको परम्परागत सोचाइ राख्ने र नारीपुरुषमा समान अधिकार हुनुपर्छ भन्ने आधुनिक मान्यता राख्ने दुई पुस्ताबीच देखा परेको लैङ्गिक अन्तरको अभिव्यक्तिका नमुना हुन् ।
३.४. प्राप्यता अन्तर
कुनै पनि वस्तु, सेवा, अवसर आदि प्राप्त गर्न सक्नुलाई प्राप्यता भनिन्छ तर सबै व्यक्तिहरूको सबै वस्तु तथा क्षेत्रमा प्राप्यता नहुन सक्छ । त्यसैले वर्ग, क्षेत्र, शिक्षा, प्रविधि, राजनीतिजस्ता विविध पक्षहरूमा सेवा र सुविधा प्राप्त गर्न सक्ने र नसक्नेका बीच सोचाइ, अवधारणा, जीवनशैली, मूल्यमान्यता आदिमा भिन्नता देखिन्छ । यही अवधारणामा देखिने भिन्नता नै प्राप्यता अन्तर ९बअजष्खझभलत नबउ० हो ।
मान्छेको आम्दानी, महŒवाकाङ्क्षा, विदेशी शिक्षा आदिका कारण प्राप्यतामा अन्तर देखा पर्दछ । शिक्षा, स्वास्थ्य, राजनीति, रोजगारी आदिका क्षेत्रमा प्राप्यता भएका व्यक्तिहरू ती सेवा उपलब्ध नहुनेभन्दा शक्तिशाली बन्दछन् । त्यसैले उनीहरूको सोचाइ पनि अग्रगामी देखिन्छ । अग्निस्पर्शमा सङ्गृहीत ‘आमाको मन’ शीर्षकको निबन्धमा यो प्रवृत्ति टड्कारो देखिएको छ । आपूm नौ वर्षकी हुँदा तेह्र–चौध वर्षकी मैयाँले सरको पेट बोकेको घटनाबाट आश्चर्यचकित बनेकी निबन्धकार शारदा शर्माको संस्मरणमा रहेको तत्कालीन सन्दर्भ यसमा प्रस्तुत भएको छ—
... विष्णुमतीको फोहर बगरमा एकाबिहानै सालनालसहित दिनहुँ कीरा–फट्याङ्ग्रासरी मान्छेका शिशुहरू मिल्किरहेका देख्थेँ म पुलबाट । यस्तो बेलामा म मैयाँलाई सम्झन्थेँ र उसको बच्चा पनि यसै गरी मिल्काइयो होला भन्ने म कल्पना गर्थें । (पृ.२९)
आधुनिक प्रविधिबाट वञ्चित युवतीहरूको बाध्यता यसमा चित्रण गरिएको छ । यही घटना र सन्दर्भले वर्तमान समयमा चाहिँ केही फरक रूप लिएको देखिन्छ, जस्तै—
मेरी एउटी परिचित नर्स साथी छन् । उनी एउटा क्लिनिकमा काम गर्छिन् । हालसालै एउटा प्रसङ्गमा उनले भनेकी थिइन्— “अचेल तेह्रवर्ष उमेरदेखिका स्कूल पढ्ने प्रशस्त ठिटीहरूलाई लिएर तिनका आमाहरू क्लिनिकमा आउँछन् र रुन्छन् । भनेजति पैसा तिरेर गर्भपतन गराएर लैजान्छन् आफ्ना छोरीहरू । स्थिति तीस वर्षअगि र अहिले पनि उस्तै छ । त्यतिखेर जन्मिसकेर विष्णुमतीको बगरमा मिल्किने शिशुहरू यतिखेर गोप्य किसिमले क्लिनिकका बाल्टीहरूमा नजन्मँदै मिल्किँदा रहेछन् । (पृ.२९–३०)
यसरी माथिका दुई उद्धृतांशहरूमा एउटै समस्यालाई दुई समयका नारीहरूले फरकफरक ढङ्गले समाधान गरेको देखिन्छ । आधुनिक चिकित्सापद्धतिको सेवासुविधा प्राप्त गर्न सक्षम उत्तरपुस्ता र उक्त सुविधाबाट वञ्चित पूर्वपुस्ताबीचको प्राप्यता अन्तर तिनमा पाइन्छ । यहाँ यो अन्तर प्रविधिका कारण देखा परेको छ । यसका साथै व्यक्तिले आफ्नो विद्वता, निष्ठा र सदाचारका माध्यमबाट हासिल गरेको इज्जत, मान–सम्मान र प्रतिष्ठाको अवस्थाबाट पनि यस्तो फरक देखिन्छ । यसलाई ‘गुरु–गरिमा’ निबन्धको यो अंशबाट प्रस्ट पार्न सकिन्छ—
... मलाई पौराणिक कथाहरूमा उल्लिखित राजा र ऋषिहरूको सम्बन्धको सम्झना हुन्छ । ऋषिको तपःक्षेत्रबाहिरै सम्राट्हरूले रथ अड्याउँथे र खाली खुट्टा, विना हतियार, विना अङ्गरक्षक आश्रममा गएर गुरु चरणमा शिर राख्ने गर्थे तिनले । ऋषिहरू राजालाई सही सल्लाह दिन्थे, राजाबाट भौतिक प्राप्तिको लालच नराख्ने हुँदा ती सत्य बोल्न डराउँदैनथे र राजाले पनि सत्पात्र गुरुको निर्देशन र सल्लाहअनुसार राज्यसञ्चालन गर्थे ।... समयक्रममा गुरुवर्गले त्यो गरिमामय गुरुत्व आफ्नो लालचकै कारण गुमाएका रहेछन् । (पृ.१८४–८५)
बिनालालच राजालाई सही सल्लाह दिएका कारण पौराणिक कालका राजगुरु (ऋषि) को प्रतिष्ठा र गरिमा अहिलेसम्म पनि उच्च रहेको पढ्न र सुन्न पाइन्छ तर आधुनिक कालका गुरुहरूले चाहिँ भौतिक प्राप्तिको लालचाका कारण नै उक्त प्रतिष्ठा गुमाउँदै गएका छन् । नैतिक आचरण र ज्ञानको सही उपयोग गर्न सकेकाले नै ऋषिहरूले सामाजिक, सांस्कृतिक, धार्मिक र राजनीतिक क्षेत्रमा प्रभुत्व कायम गरी सम्राट्लाई समेत आफ्नो वशमा राख्न सकेका थिए । त्यो सामथ्र्य उनीहरूको महŒवपूर्ण प्राप्ति हो । यही सद्गुण नभएकाले वर्तमान गुरुहरूले उक्त अवसर प्राप्त गर्न सकेका छैनन् । यसरी राज्यसत्तामा पहुँच भएका र नभएका दुई कालखण्डका गुरुहरूको हैसियतबाट यहाँ प्राप्यता अन्तर स्पष्ट देखिएको छ ।
पारिवारिक वातावरण, शिक्षादीक्षा, तालिम, सहपाठी समूह आदिले व्यक्तिको आचरण निर्माणमा महŒवपूर्ण भूमिका खेल्दछ । उसको क्रियाकलाप र बानीव्यवहार पनि आचरणबाटै निर्धारण हुन्छ । त्यसैले एउटै पृष्ठभूमिका मान्छेहरूमा पनि शिक्षापद्धति र पालनपोषणको भिन्नताका कारण कतिपय साझा र अपेक्षित गुणहरूमा फरक पाइन्छ । यही तथ्य निबन्धकारले ‘अग्निस्पर्श’ शीर्षकको निबन्धमा यसरी प्रस्तुत गरेकी छन्—
हिन्दू मूलबाट निःसृत अनेकानेक धर्मसम्प्रदायभित्र पर्ने राज्यका सुदीक्षित राजकुमारहरूले विगतमा आर्यावर्तका भूमिमा तीव्र विषादको सीमामा पुगेपछि सन्यासी बनेका उदाहरण छन् । संसारको क्षणभङ्गुरता, भोगको निःसारताको अनुभवपछि सन्यस्त राजकुमारहरूले संसारलाई मार्गनिर्देशन गरेका छन्, मृत्यु जितेका छन् तिनले । यतिखेर भने नेपाली हिन्दू राजखलकको यो संहारका निम्ति हिन्दू राजाका उत्तराधिकारी तत्कालीन युवराज दीपेन्द्र आरोपित हुनु एउटा व्यङ्ग्यपूर्ण विडम्बना बनेको छ ।... त्यस निम्ति उनको लालन–पालन, शिक्षा–दीक्षा, तालिममा संलग्न कोही पनि र वर्तमानका सहयोगीसमेत कुनै पनि आ–आफ्नो भागको जिम्मेवारीदेखि मुक्त हुन सक्तैनन् । (पृ.२२८–२९)
उपर्युक्त निबन्धांशमा वर्णित विगतका राजकुमार र दीपेन्द्र हुर्किएको राजकीय संस्कारयुक्त पारिवारिक पृष्ठभूमि एउटै हो । राज्यका उत्तराधिकारी भएकाले जनताबाट अपेक्षित उनीहरूका कतिपय गुणहरू समान हुनुपर्ने हो । यहाँ आफ्नो चाहना पूरा नभएर विरक्तिएपछि विगतका राजकुमारहरू सन्यासी बनेर रचनात्मक कार्य गरी संसारलाई मार्गनिर्देशन गरेको बताइएको छ भने दीपेन्द्रचाहिँ वंशहत्याका आरोपी बनेका छन् । त्यसैले सन्न्यासी बनेका राजकुमारहरूले मृत्युलाई जितेर अमरता प्राप्त गरे तर दीपेन्द्रले त्यो सौभाग्य प्राप्त गर्न सकेनन् । यसबाट यहाँ दुई फरक पुस्ताका राजकुमारहरूका बीचको प्राप्यता अन्तर देखिएको छ । यो परम्परागत शिक्षापद्धति र आधुनिक शिक्षापद्धति तथा वैदिक संस्कृतिको भोगमुक्त पारिवारिक वातावरण र पश्चिमी संस्कृतिको भोगयुक्त पारिवारिक वातावरणले सिर्जना गरेको भिन्नता पनि हो ।
४. निष्कर्ष
शारदा शर्माको अग्निस्पर्शका अधिकांश निबन्धहरूमा पुस्तान्तरको चेतना सशक्त रहेको छ । तिनमा युवाहरूका गतिविधिका कारण असन्तुष्ट प्रौढहरूका छटपटी एकातिर प्रकट भएका छन् भने अर्कातिर अघिल्लो पुस्ताको हस्तक्षेप र दमनात्मक स्वभावबाट निसास्सिएको युवापुस्ताका असन्तुष्टिहरू पनि त्यत्तिकै सबल छन् । कतिपय सन्दर्भमा एउटै व्यक्तिका भिन्दाभिन्दै उमेरावस्थाका सोचाइ पनि यहाँ प्रस्तुत भएका छन् । तिनमा पनि समय, उमेर र चिन्तनको भिन्नताका कारण देखा पर्ने दुई फरक पुस्ताका अवधारणाको अन्तर बढी देखिएको छ ।
विगत र वर्तमानका पुस्ताहरूको विचार प्रस्तुत गरी तिनका बीचको फरक पनि स्पष्ट रूपले केलाइएको हुँदा प्रस्तुत सङ्ग्रहमा सङ्कलित ‘समयको छाप’ र ‘अग्निस्पर्श’ निबन्ध अत्यन्त सबल देखिन्छन् । स्वभावतः पहिलोभन्दा पछिल्लो पुस्ताका विचारहरू बढी समसामयिक, अर्थपूर्ण र वैज्ञानिक पनि हुन्छन् । त्यसैअनुरूप प्रस्तुत सङ्ग्रहमा निबन्धकारले आफ्नो अर्थात् पछिल्लो पुस्ताका मतहरू स्थापित गरेकी छन् तर आपूmभन्दा पछाडिको पिँढीका सन्दर्भमा भने उनी त्यति उदार हुन सकेकी छैनन् । त्यसैले यसमा उनका मान्यताले नवपुस्ताका विचारलाई विस्थापित गरेको स्पष्ट देखिन्छ तापनि वर्तमानमा सक्रिय रहेका दुई पुस्ताका दृष्टिकोण, मूल्यमान्यता, विचार एवम् चाहनाहरू प्रस्तुत गर्न सक्नु नै यी निबन्धहरूको महŒवपूर्ण प्राप्ति हो । यसरी परम्पराका साथै वर्तमानका परिवर्तित मूल्य र मान्यतालाई समेट्न सक्षम आधुनिक अवधारणा र नवीन दृष्टिकोण प्रस्तुत भएका अग्निस्पर्शका निबन्धहरू पुस्तान्तर चेतनाका दृष्टिले विशिष्ट रहेका छन् ।

प्रमुख सन्दर्भसामग्री
आचार्य, नरहरि (२०६३) ‘लेख्न नसकिएको भूमिका’, अग्निस्पर्श, लेखक शारदा शर्मा, काठमाडौँ ः एकता प्रकाशन, पृ.९—१८ ।
एटम, नेत्र (२०६४ फागुन) ‘समसामयिक नेपाली निबन्धको प्रभेदगत स्वरूप’, मिर्मिरे, ३६ः११, पृ.११३—१२६ ।
शर्मा, शारदा (२०६३), अग्निस्पर्श, काठमाडौँ ः एकता प्रकाशन ।
Generation gap http://en.wikipedia.org/wiki/generation_gap.
Study : Generation gap in US. http://www.msnbc.msn.com/id/31598018/ns/us_news life.
Generation gap : Who is to blame? http://www.merinews.com/catfull.jsp?articleID=128332.

रत्नराज्यलक्ष्मी क्याम्पस, काठमाडौं

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 25 आसाढ, 2069

लेखकका अन्य रचनाहरु