रोल्पा जिल्लाको गजल परम्परा

- डी.वी. टुहुरो

नेपाली साहित्यको लेख्यपरम्परालाई अध्ययन गर्दा वि.सं. १८३० को दशकसम्म फर्केर हेर्नुपर्ने हुन्छ । वि.सं. १८२६ मा कवि सुवानन्द दासद्वारा रचित ‘पृथ्वीनारायण शाह’ शीर्षकको कविता नै नेपाली साहित्यका लागि लेख्यपरम्पराको उद्गम विन्दु हो । यसर्थ, नेपाली साहित्यको सबैभन्दा पुरानो विधा कविता नै हो । त्यसै गरी रोल्पा जिल्लाको साहित्यिक पृष्ठभूमिलाई हेर्दा पनि कविता विधाबाटै विजारोपण भएको पाइन्छ । स्वर्गद्वारी महाप्रभुका नामले परिचित नारायण छेत्री (वि.संं १९१६–१९९७) द्वारा रचित ‘ककारादिकीर्तन’ शीर्षकको कविता नै रोल्पा जिल्लाको लेख्य–साहित्य परम्पराको आधारविन्दु हो । उक्त कविता कहिले लेखिएको हो भन्ने प्रमाण नभए पनि वि.सं. १९९७ पूर्व नै लेखिएकोले यसैलाई पहिलो लेख्य रचना मानिएको छ ।
नेपाली साहित्यको लेख्य परम्परा थालनी भएको झण्डै शताब्दी पछि नेपाली साहित्यको धरातलमा गजलपरम्परा भित्रिएको पाइन्छ । वि.सं. १९४० को दशकतिर नेपाली साहित्यमा प्रवेश गरेको गजलपरम्पराले नेपाली साहित्यको माध्यमिक काललाई नेतृत्व पनि प्रदान ग¥यो, जसको श्रेय युवाकवि मोतीराम भट्टलाई दिइन्छ । नेपाली साहित्यको माध्यमिक कालमा प्रभुत्व जमाएको गजल आधुनिक कालको सुरुवातसँगै सुषुप्त बनेर बस्यो । वि.सं. २०३० को दशकपछि भने विस्तारै फेरि गजलले पुनर्जीवन प्राप्त ग¥यो । गजल फेरि नेपाली साहित्यको फाँटमा देखा पर्नुका पछाडि गजलकारहरू ललिजन रावल, ज्ञानुवाकर पौडेल, मनु ब्राजाकी, बूँद राना, डा.कृष्णहरि बरालजस्ता स्रष्टाहरूको महत्वपूर्ण भूमिकालाई भुल्नै मिल्दैन ।
रोल्पा जिल्लाको साहित्यिक धरातलमा गजलपरम्पराको थालनी भने झण्डै वि.सं. २०५० को दशकबाट भएको पाइन्छ । हालसम्म जानकारी भएअनुसार वि.सं. २०४९ मा स्याङ्जा जिल्लाबाट प्रकाशित हुने ‘विचार’ साप्ताहिकमा प्रकाशित टीकाराम उदासीको गजल नै रोल्पाली स्रष्टाको पहिलो प्रकाशित गजल हो । यही गजलबाट नै रोल्पाली साहित्यिक फाँटमा गजलपरम्परा सुरु भएको मान्न सकिन्छ । गजलसङ्ग्रह प्रकाशनका हिसाबले पनि टीकाराम उदासी नै पहिलो मानिन्छन्, जसका ‘वर्तमान बाँच्न खोज्दा’ र ‘परिवेशका धूनहरू’ नामक २ वटा गजलसङ्ग्रह प्रकाशित भएका छन् । यति मात्र नभएर उदासीको ‘गजल सिद्धान्त र नेपाली गजलको इतिहास’ नामक समालोचना पुस्तक वि.सं. २०५९ं मा प्रकाशित भएको छ । यस अर्थमा रोल्पाली साहित्यिक धरातलमा गजलपरम्पराको प्रवर्तक टीकाराम उदासीलाई नै मानिन्छ । रोल्पा जिल्लाको गजलपरम्परालाई निरन्तरता दिने क्रममा वि.सं. २०५० को दशकपछि रमेश सुवेदी, उदय जी.एम., दामु मर्सिफुल, नवीन विभास, टेकेन्द्र जी.एम., डी.बी. टुहुरो, इन्द्र यात्री, ओम पंक्षी, दयाबहादुर बुढामगरजस्ता स्रष्टाहरू सक्रिय भएको पाइन्छ । त्यसै गरी वि.सं. २०६० मा वैवाहिक बन्धनमा बाँधिएर रोल्पालाई कर्मथलो बनाएकी कविता उपाध्यायले पनि विवाह पूर्व नै गजल लेखनमा सक्रिय रहेको पाइन्छ ।
वि.सं. २०६० को दशकपछि रोल्पाली साहित्यिक धरातलमा गजल लेखनको परम्परा थप गतिशील, आयामिक र समृद्ध बन्दै आएको छ । गजल लेखनबाटै कतिपयले राष्ट्रिय छवि कायम गराइसकेका छन्, कतिले बनाउँदैछन् भने धेरै नयाँ प्रतिभा जन्मिसकेका छन्, जसको ज्वलन्त प्रमाण प्रस्तुत ‘रोल्पाली गजल र गजलकार’ नामक प्रतिनिधि गजलसङ्ग्रह पनि हो । जसरी वि.सं. २०६० को दशकपछि गजल लेखनमा बाढी आएको छ, त्यसरी नै गजलसङ्ग्रह प्रकाशनमा पनि एक किसिमको होडबाजी छ भन्दा अत्युक्ति नहोला । यद्यपि गजलसङ्ग्रहका अलावा अन्य विधाका सङ्ग्रह प्रकाशन गर्ने स्रष्टाहरू पनि थुप्रैै छन्, तर यहाँ गजलसङ्ग्रहलाई मात्र प्रकाशन वर्षका आधारमा प्रस्तुत गर्ने प्रयत्न गरिएको छ । जानकारीमा आएअनुसार वि.सं. २०५० मा प्रकाशित टीकाराम उदासीको ‘वर्तमान बाँच्न खोज्दा’ गजलसङ्ग्रहदेखि वि.सं. २०६९ को वैशाखमा प्रकाशित प्रेमप्रकाश मायालुको ‘अनुभूति’ संयुक्त गजलसङ्ग्रहसम्मका प्रकाशित गजलसङ्ग्रहहरू यस प्रकार छन्–
– वर्तमान बाँच्न खोज्दा (२०५०), टीकाराम उदासी
– परिवेशका धूनहरू (२०५६), टीकाराम उदासी
– उनका गजलहरू (२०५९), उदय जी.एम. र नवीन विभास
– मनको तरेलीमा (२०६०), रमेश सुवेदी
– तरङ्ग (२०६०), ओम पंक्षी
– स्पन्दन भाग–१ (२०६०); डी.बी. टुहुरो, इन्द्र यात्री र ओम पंक्षी
– आत्मकथा (२०६१), कृष्ण निर्जन ‘आँसु’
– जिन्दगी (२०६२), गायत्री घर्तीमगर
– स्पन्दन भाग–२ (२०६२); डी.बी. टुहुरो, इन्द्र यात्री, ओम पंक्षी, कृष्ण डी.सी. निर्जन, के.वी. विरही, मिलन, उपहार पुन, सुशील जलन, कूल अवशेष र मोहन विवश
– जिजीविषा (२०६३), इन्द्र यात्री
– युद्धका पीडाहरू (२०६३), नवीन डी.सी. अनमोल
– चञ्चल मन चुलबुल हुँदा (२०६४), रक्ष क्षेत्री
– कथा कहानी (२०६४), निमबहादुर घर्तीमगर
– तड््पिएका मनहरू (२०६४), धिरज बी.एम. ‘अथाहसागर’
– विरहीका गजलहरू (२०६५), केवी विरही
– मरुभूमिको साहित्य यात्रा (२०६५), केशव पुनमगर लगायत २० जना
– आफ्नै देशको माटो प्यारो (२०६६), दीपेश पराइ विष्ट
– पलपलको याद (२०६६), विचरा वसन्त विष्ट अलपत्र
– निशानी (२०६६), विवेश सेन
– क्रान्तिकारी हातहरू (२०६७); दीपेश पराइ विष्ट, डोर मुस्कान विष्ट, एल.बी. सुवास महरा, धानमाला विष्ट, लक्ष्मी विष्ट ‘सिम्पल कान्छी’, भूपेश समर्पण, खगेन्द्र विष्ट, रेसम संगीत पुन, घनश्याम गिरी ‘पहाडी’, खेमराज गाउँले र माणिक विष्ट
– त्रिवेणी (२०६७); रमेश सुवेदी, दामु मर्सिफुल र कविता उपाध्याय
– त्रि–सिन्धु (२०६८); प्रेमप्रकाश मायालु, प्यास एम.जी. र व्योम जी. अवतार
– समर्पण (२०६८), जलजला रोकामगर
– एक यात्रा अनेक मोड (२०६८), डी.बी. मगर स्वेद
– कोसेली (२०६८); टकबहादुर रोकामगर, अमर बुढामगर, सुकबहादुर बाठाँमगर र कमलराज बुढामगर
– सपना र संकल्प (२०६८); विष्णु सन्यास मगर, खबपु चञ्चल मगर, प्रकाश अभाव मगर
– जीवन उपदेश (२०६८), रेशम संगीन पुन
– बोल्दैछ आफै मौसम (२०६८), टीकाराम उदासी
– अनुभूति (२०६९), प्रेमप्रकाश मायालु
यसरी वि.सं. २०५० को दशकदेखि हालको अवस्थामा आइपुग्दा रोल्पा जिल्लाको गजल लेखन परम्पराले राम्रैसँग मौलाउने अवसर पाएको छ । जिल्लास्तरमा मात्र नभई राष्ट्रिय स्तरमा पनि पछिल्लो समयमा गजल लेखनले एउटा बाढी नै ल्याएको छ । संक्षिप्त, सरल, सहज, श्रुतिमाधुर्य, गेयात्मकता, सुकोमल भावजस्ता वैशिष्ट्यले गर्दा गजल विधा सबैको प्रिय पनि बनेको छ । यिनै विशेष गुण र संरचनागत आकर्षणले अन्य विधाहरू ओझेल पर्न लागेको गुनासो पनि यदाकदा सुन्न पाइन्छ । छुट्टै संरचनागत शैली, भावशैली, विधागत विशेषताहरू हुँदाहुँदै पनि गजललाई कतिले कविता विधाभित्र समेट्ने गरेको र कतिले गीत विधाभित्र राख्ने गरेको पाइन्छ । तसर्थ गजललाई एउटा स्वतन्त्र विधाको रूपमा स्थापित गराउनुपर्छ भनी केही वरिष्ठ गजलकारहरूले गरेको आन्दोलन स्वाभाविक छ र हुनुपर्छ पनि । श्रृङ्गारिक धाराबाट नेपाली साहित्यमा भित्रिएको गजलपरम्परा समयको गतिसँगै विषयगत विविधतामा आकार ग्रहण गर्दै आएको छ । गजल लेखनमा आएको यो परिवर्तन समयको माग भए पनि यसले प्रत्यक्षतः कवितालाई असर पारेको दुखेसो पोख्नेहरूको संख्या पनि कम छैन । जेजस्तो भए पनि गजललाई एउटा छुट्टै विधाको रूपमा स्थापित गरी विषयगत सीमा र परिधिभित्र सजाएर गजललाई सभ्य, शिष्ट, र विशिष्ट बनाउन सकियो भने गजलको बाढीसँगै आउने विकृति–विसंगति र मनपरी साहित्यलाई केही हदसम्म कम गर्न सकिन्छ ।

रोल्पा

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 31 भाद्र, 2069

लेखकका अन्य रचनाहरु