उपन्यास लेखन र पारिजात

- शक्ति लम्साल

यता केही वर्षदेखि नयाँ कविताका सम्बन्धमा जति खुल्दुली, छलफल एवं आलोचना र प्रत्यालोचना भइरहेछ, त्यति कहानी र उपन्यासको क्षेत्रमा भने हुन सकिराखेको देखापर्दैन। यसको कारण त्यस्ता रचनाहरूको न्यूनता पनि हो भन्नुमा कुनै भूल हुने छैन होला। यसैको सन्दर्भमा सुश्री पारिजातज्यूद्वारा लेखिएको शिरीषको फूल निस्सारतावादलाई प्रतिनिधित्व गर्दै अत्यन्त संगठित र बलियो किसिमबाट बौद्धिकताको पाराले छोएर उपन्यासको रूपमा पहिलोपल्ट हाम्रो दैलोभित्र पदार्पण गरेको छ। यसभन्दा अघि निस्केको अनुराधा उपन्यासले पनि पुरानो परम्परालाई तोड्न खोजेको हो तापनि खाली सामाजिक पृष्ठभूमिको आधारमा आजका शिक्षित बुद्धिजीवीहरूको यौन विकृतिलाई उदांग पार्नमा मात्र त्यो सीमित रहन पुग्यो। यथार्थतालाई राम्रोसँग बुझ्दा बुझ्दै एवं अनुभव गर्दागर्दै पनि परिस्थितिलाई सम्झने र त्यसलाई विश्लेषण गर्ने कोसिसमा लेखकको जुन प्रतिभा लाग्नुपर्ने हो, त्यो लाग्न सकेन। अर्काे व्यवस्थाले अनुराधा र उसको लोग्नेमाथि ल्याएको जुन परिस्थिति र उसमाथि परेका मारहरू छन्, ती मारहरूलाई हटाउन स्वयं त्यो व्यवस्थाको प्रतिरोध गर्नका लागि जागरुक र चिन्तनशील लेखक विजयबहादुर मल्लज्यूले अलिकति वैज्ञानिक दृष्टिकोणले काम लिनमा चुक्नु भएझै लाग्दछ, जसले गर्दा अनुराधा उपन्यास स्वयं उहाँकै विरुद्धमा खडा हुन पुग्यो र त्यसले आफ्नै हितलाई निषेध गर्योि। साहित्यमा कुनै पनि विषयवस्तुमाथि जोड दिनुको अर्थ हुन्छ आत्मसत्य भन्ने कुरालाई पूर्णतः स्वीकार गर्नु। जबसम्म त्यसलाई स्वीकार गरिन्न, अझ त्यसलाई स्वीकार गर्ने आत्मबल संगठित तुल्याइन्न, तबसम्म त्यो आस्था भन्ने वस्तु पनि राम्रोसंग देखा पर्दैन, जसले रचनालाई यथार्थता र सत्यको आधारमा कलात्मक सौन्दर्य प्रदान गर्न सकोस्। किनभने विभिन्न परिस्थितिको बीचमा सबै तत्वहरू व्यक्तित्व विकासको लागि साधकको रूपमा प्रयत्नशील रहेको देखा पर्दैनन्, किनकि यस्तो बेला केही बाधक तत्वहरू पनि उपस्थित रहेका हुन्छन्। यी देखा परेका बाधक तत्वहरू विरुद्ध जुधी सत्य र यथार्थ जगत्को बाटोलाई खोजी हिंड्नका लागि जुन लेखक प्रयत्नशील रहेको हुन्छ, त्यसको व्यक्तित्व नै राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका लाखौंलाख, अरबौं अरब जनताको आँखामा सधैं आँखामा सधै आँखाको नानीझैं सुरक्षित भइरहेको हुन्छ।
तर जेहोस् विजय बहादुर मल्लले अनुराधा लिएर आउनुमा कुनै आकस्मिक घटना नभएर एउटा ऐतिहासिक परिस्थितिको परिणाम थियो। त्यस्तै सुश्री पारिजातको शिरीषको फूल उपन्यासलाई पनि एउटा निश्चित परिस्थिति र त्यसैभित्र हुर्केर आएको परम्पराको उत्पत्तिको नै देन हो भन्नुपर्दछ।
जहाँ अनुराधाजस्तो उपन्यास शहरिया शिक्षित मध्यमवर्गीय युवकहरूको यौन विकृतिलाई उदांग पार्नमा नै सीमित रह्यो भनी मैले अगाडि भनिसकें, त्यस्तै शिरीषको फूलले पनि अझ केही त्यस्तो नेपाली साहित्य जगत्मा राम्रैसंँग जरैदेखि हल्लाएर अत्यन्त आश्चर्यमा डुबाउने र जिब्रो टोक्नको लागि पाठकहरूलाई बाध्य तुल्याउने स्थिति खडा गर्न सबल हुन नसके तापनि नेपाली साहित्यको उपन्यासजगत्मा यसले एउटा चमत्कार गरेको चाहिं पक्कै पनि छ। त्यो हो, प्रथमपल्ट नेपाली महिला उपन्यासकारले दार्शनिक पृष्ठभूमिको आधारमा बौद्धिकतालाई चरम शिखरमा पुर्यापएर चास्नीझैं अत्यन्त मीठो शैलीमा अभिव्यक्तिको कहिल्यै बिर्सन नसक्ने पारा लिएर, शब्दहरूलाई गमलाका फूलझैं राम्रोसंग सजाएर उपन्यास तयार पार्नु। यस्तै यसले अवश्य पनि एउटा ठूलो काम पनि गरेको छ, त्यो हो– वैचारिक मान्यता र पुरानो परम्पराको दुवै बारलाई यसले नराम्र्रोसंग भत्काएको छ। अब यसैको बीचैबीचमा निस्सारतावादको प्रतिनिधि उपन्यासकार पारिजातकै मुखबाट यससम्बन्धी दर्शन र यसका विभिन्न पृष्ठभूमिसम्बन्धी विषयमा पढ्नु हुनेछ। निस्सारतावादी दर्शनका प्रतिनिधि लेखकहरूले मानवीय धारणा, मूल्यांकन, विधि र मान्यताहरूलाई खण्डन गर्दै व्यक्तिहरूको निजी अनुभवलाई व्यक्त गरेका छन्। उनीहरूले आजसम्मको मानिसको इतिहास, उसले गरेको जीवनका विभिन्न पक्षका ज्ञानका महान् उपलब्धिलाई बिसेमिराका कथासंग तुलना गर्न पुगेका हुन्छन्। निस्सारतावादीहरूको मानव विवश छ र विवशता चिरन्तन छ। उसको उन्नतिले विवशता खतम हुने छैन। त्यसो हुनाले नै जीवनको उद्देश्य नै निरुद्देश्य हो भनी आफ्ना साहित्यमा यिनीहरू व्यक्त गर्दछन्। अर्काे कुरा यिनीहरू यो भन्दछन् कि मानिस केवल एउटा भावनाको पोको मात्र हो, भावनाको साथसाथै उसका सबै मानवीय क्रियाकलापहरू चल्दछन्, त्यसपछि ऊ अरु केही होइन, सिर्फ खिया परेर घिसि्रएर सोतर परिराखेको एउटा मेशिनको कल–पुर्जा मात्र हो, यसमा माटोमा झै कुनै पनि वस्तु जन्माउन सक्ने शक्ति चाहिं छैन। यस्ता निरुद्देश्यको प्रचार गर्नु नै उनीहरूको प्रमुख उद्देश्य हुन पुगेको छ। यसरी एकातिर पूर्ण सत्यको निषेध गर्दै अर्काेतिरबाट चाहिं उनीहरूले पूर्ण सत्य भन्ने वस्तुलाई फेरि कायम नै गरिराखेका छन्। उनीहरूको निमित्त व्यक्ति समाजमा रहेर पनि ऊ एक्लो छ। अझ अर्काेतिर व्यक्तिको आफूले चाहेको रोज्ने स्वतन्त्रता र स्वतन्त्र रूपले रोजेकोमा बाधा पु्र्या्उने शत्रुको रूपमा समाजलाई हेर्दछन्। यसरी व्यक्तिको चरम निरंकुशता नै उनीहरूको निम्ति प्रयोजनीय कार्य हुन आउँछ। तर व्यक्तिको म तिमी विना असम्भव छ र व्यक्तिको सुख पनि समाजको अभावमा असंभव छ भन्ने कुरालाई चटक्क बिर्सिदिन्छन् र एक अर्कासित बाझ्ने यिनका विचारहरूलाई यिनीहरू स्वाभाविक ठान्दछन्। उनीहरूको लागि त साँच्चिकै भन्ने हो भने मानिसहरूको जीवन नै बेटुङ्गोको र सारहीन छ।
वास्तवमा आज केही नेपाली साहित्यकारहरूमा निस्सारतावादको प्रभाव परिरहेको छ। हाम्रो सामाजिक परिवेशमा यस्ता विचारहरूलाई फक्रने आधारहरू पनि विद्यमान रहेका छन्। अर्काेतिर साहित्यकार र पाठकहरू पनि प्रायः शहरिया हुनुको कारण पनि यही नै हो। विचार–भिन्नता रहुञ्जेल साहित्यिक चिन्तनमा पनि मतान्तर हुनु स्वाभाविकै छ। कुनै पनि विचार पूर्णरूपले पाठकहरूको समक्ष व्यापक रूपमा नपुगेसम्म कति ग्राह्य हुन सक्दछ भन्ने कुरा चाहिं जाँच्न सकिन्न। कारण साहित्यका वास्तविक न्यायाधीश पाठकबन्धुहरू नै हुन्।
निस्सारतावादी साहित्यिक जगत्की एक ख्याति प्राप्त लेखिका सुश्री पारिजातज्यूले स्पष्टरूपले गम्भीर रही, खुला हृदयले मधुरो मुस्कानका साथ, अलिकति पनि गाह्रो, साँघुरो र अप्ठ्यारो नमानी त्यस्तो संकटमा बिमारीको अवस्थामा पनि खाटबाट तल भूईम उत्रेर, एकै थलोमा चार घण्टासम्म एकनाससंँग बसेर हाम्रा प्रश्नहरूको राम्रोसंँग जवाफ दिएर नेपाली साहित्यको लागि साह्रै समयोपयोगी र उचित काम गर्नु भएको छ। कारण आज हामीलाई विचारको तीब्र वाद–विवाद र आदान–प्रदान चाहिएको छ। नेपाली साहित्यमा चलिरहेको यो निस्सारतावादी (अस्तित्ववादी–शून्यवादी) धारालाई तुलनात्मक चिन्तन्मा ल्याउन आवश्यक छ।
वर्तमान नेपाली साहित्यमा चलिरहेका विभिन्न धाराहरूमध्ये यो निस्सारतावादी धारा पनि एउटा प्रमुख धारा हो। यी सबै देखापर्दै गइराखेका भिन्नभिन्न धाराहरूलाई छुट्टाछुट्टै अध्ययन गरेर यसप्रति चिन्तन् र मनन् गर्नु मेरो विचारमा अत्यन्त आवश्यक भइसकेको छ। तसर्थ विभिन्न धाराका प्रतिनिधि लेखकहरूको विचार पाठकहरूका लागि उपयोगी र रुचिकर हुने कुरामा दुई मत हुने छैन।

(शिरीषको फूल र त्यसको मूलप्रवृत्ति निस्सारतावादमा केन्द्रित भई सुश्री पारिजातसंग त्यतिवेला लिइएको एक अन्तर्वार्ताको भूमिका)

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 2 आसाढ, 2066

लेखकका अन्य रचनाहरु