लेखनमा किनारीकरण : बहसको सन्दर्भमा

- मनोज बोगटी

आत्मनिर्णयको अधिकारमा ताला ठोकेर हाम्रो आवाज ठण्डा पार्ने जुक्तिले टाउको उठाइसकेको बेला जस्तो 1988 मा उता गायत्री चक्रवर्ती स्पीभाकले can the subaltren speak? भनेर सोधिसकेका थिए। स्पीभाकले उत्तर औपनिवेशिक सैद्धान्तिकीलाई खुल्ला मैदान प्रदान गर्दै सबाल्टर्नको धारणालाई बहसको टेबलमा ल्याइसकेका थिए। त्यो बेला हाम्रो बोली फुट्‌दै थियो। हामी जस्तै मूलधाराबाट धकेलिएकाहरूलाई लिएर आफ्नो चिन्तनको, सैद्धान्तिकीको मूलबाटो पक्रिने स्पीभाकलेcan the subaltren speak? भनेर सोधिरहेको बेला यता राजनैतिक आवाज उठेर सेलाउँदै गरेको थियो। अहिलेसम्म हामी थाहा मात्र गरिरहेका छौं त्यतिबेला हाम्रो ठाउँबाट को बोलिरहेका थिएछन्‌। अहिले आएर फेरि हामीले राजनैतिक मञ्चबाट बोल्न शुरू गरिरहेका छौँ। तर अघिसम्म स्पीभाकले देखेको सबाल्टर्नलाई हामीले साहित्यमा सचेतरूपले थाहा गरेका थिएनौं। उत्तर उपनिवेशवादी चिन्तक एडवर्ड सइदले मार्क्सको उपनिवेशवादी धारणालाई तिखो आलोचना गर्दै लेखेका पुस्तक ओरिण्टलिज्म-को सन्दर्भमा स्पीभाकले मार्क्सवादको ग्राम्यपन्थी सैद्धान्तिकीबाट मौनतालाई फुटाउन सबल्टर्न अवधारणालाई प्रयोग गर्दै सवल्टर्न बोल्न सक्छन्‌ अनि उनीहरूको निम्ति बोलिन्छन्‌ भन्ने निचोड़ दिएका थिए। स्पीभाकको सबाल्टर्न जस्तै अहिले दार्जीलिङबाट कवि मनप्रसाद सुब्बा अनि रेमिका थापाले देशको मूलधाराबाट सँधै बाहिर राखिएका नेपाली भाषी गोर्खा नागरिकहरू पनि बोल्न सक्छन्‌ अनि उनीहरू यसरी बोल्छन्‌ भन्न किनाराका आवाजहरू काव्य पुस्तक प्रकाशित गरेका छन्‌। उनीहरूले यस पुस्तकमा किनारीकरण र किनारीकृत सैद्धान्तिकीलाई प्रमुखता दिएका छन्‌। यो सैद्धान्तिकी यताकै हुनुपर्ने उनीहरूको आग्रह देखिएको छ। नेपाली साहित्यमा किनारीकरण शब्दलाई सोद्देश्य र सचेत रूपले प्रयोग गर्ने कविहरू पनि उनीहरू नै प्रथम हुन्‌। किनारीकरणको धारणालाई अघि राखेर अहिलेसम्म सचेतरूपले नछुएको पर्यावरण साहित्यभित्र पनि किनारीकरणको सम्भाव्य थोकहरू हेरेर उनीहरूले गतिलै बहसको ठॉंउ छोड़ेका छन्‌।
1986-88, हाम्रो इतिहासमा निक्कै ठूलो स्वरमा बोलेको र बोलेको त्यो आवाजलाई शाषकले राजनैतिक प्रपञ्चभित्र खॉंदेर दबाउन खोज्दै गरेको मिथ-को रूपमा यहॉं हेरिन्छ। हामी दबिएको, थिचिएको, मिचिएको बोध त्यतिबेला सबैले थाहा पाएका थियौं,लाग्छ। हामीले त्यसबेला जातीय उन्मुक्तिलाई शीरमा राखेका थियौं। हामी बोल्न सक्छौं-लाई चिनाएका थियौं। हामीले ठूलो स्वरमा बोल्न थालेको प्रारम्भ विन्दु थियो त्यो। यहॉं बोल्नु, कुनै एक व्यक्तिको न्यायको निम्ति होइन तर सामुहिक र सर्वसमावेशी छ। किनाराका आवाजहरू पुस्तकमा जातीय उन्मुक्ति मात्र होइन, सांस्कृतिक, राजनैतिक , भाषिक उन्मुक्तिसित नै प्रकृति दोहनबाटको उन्मुक्तिको प्रश्न अघि राखिएको छ,लाग्छ। यता दोस्रो चोटि फेरि जातीय मुक्तिको आवाज बुलन्द बन्दै गरेको बेला, लेखक, साहित्यकार, कविहरू जातीय उन्मुक्तिको आवेगले रापिएर रोषको, विद्रोहको, आलापको, रोदनको र नाराको कविता लेखनमा झुत्तिरहेको बेला लामै लेखकीयसित अनि किनारीकरण सम्बन्धी थुप्रै प्रस्तावनाहरू अघि राखेर किनाराका आवाजहरू बजारमा दुइ संस्करण र अङ्‌ग्रेजी भाषामा अनुवादमा आउँदा हाम्रा समालोचकहरू भ्रममा पर्नु ? प्रस्तावकहरूको किनारीकरणको विचारलाई गलतरूपमा इन्टरप्रिटेशन गर्ला (अथवा कतिले गरिसकेकै भय) भन्ने सचेतताले मनप्रसाद सुब्बा अनि रेमिका थापा दुवैले लेखनमा किनारीकरण देखाउनुभित्र मलाई गतिलै बहसको मसला लुकेको लागेको छ। लेखनमा किनाकीकरणको विभिन्न प्रस्तावना राख्ने दुवै कविहरूको विचारलाई एकपल्ट आजको आवश्यक पाठकोरूपमा ग्रहण गरेर त्यसलाई चिरफार गर्ने समालोचकहरू खै? आफ्नो धारणालाई गलतरूपमा इन्टरप्रिटेशन गगिदेला भन्ने भय प्रस्तावक कविहरूलाई किन? कवि मनप्रसाद सुब्बाले दुइएक वरिष्ट लेखकहरूले किनारीकरणलाई केवल गोर्खाहरूको चिन्हारीको सङ्‌कटसम्म मात्र जोड्न खोजेको र आफूहरूलाई गतलबुझेको बताउन खोज्दै किनारीकरणभित्र लुकेको सम्भावनाहरूको चर्चा गरेका छन्‌। अचम्म लाग्दो विषय हो भारतीय नेपाली साहित्यको क्षेत्रमा समालोचकहरू नहुनु। हामी छौं भन्ने समालोचकहरूले के उनीहरूको उपस्थिति दिन कुनै प्रमाणिक कार्य गरिरहेका छन्‌? कति भयो सर्जकहरू चिहानमा कराउन थालेको ? अहिले यसै पनि हामीसित कति समालोचक छन्‌? यो प्रश्न तड़कारो बनेको समयमा उहिल्यैदेखि समालोचकको लेबल टॉंसेर बस्नेहरू भ्रममा परेर कविहरूको प्रस्तावलाई गलत अर्थ नदिइयोस्‌को त्रास-मा कवि मनप्रसाद सुब्बा अनि रेमिका थापाले भटाभट लेखनमा किनारीकरणको कुरा गर्न परेको, पढ्दा छ्‌याङ्गै होइन्छ। कविद्वयले किनारीकरण शब्द चलाएर आफ्ना प्रस्तावनाहरू अघि राखेपछि स्पीभाकको सबल्टर्न र उपनिवेशवाद, उत्तरउपनिवेशवाद, दलित साहित्य, नारी लेखन, डेरिडा र उत्तराधुनिकता पढ्नेहरू धेरै होलान्‌ तर किनाराका आवाजहरू दुइ संस्करण नेपाली र अनुवाद अङ्‌ग्रेजीमा आइसक्दा पनि समालोचकहरूले बहसको निम्ति किनारीकरणमा विषय नभेट्‌नु भारतीय नेपाली साहित्यको समालोचना क्षेत्रको एउटा विडम्बना नै मान्नुपर्छ। भारतीय नेपाली नभनौं भन्नेहरू पनि छन्‌ तर धर कहॉं नपाइँदो रहेछ भने नेपालमा हुनु हो भने मैले यो लेखिरहनु पर्दैन थियो। मैले समालोचकहरूले बहसको निम्ति किनारीकरणमा विषय नभेट्‌नु (अहिलेसम्म) को कुरा गर्न भारतीय नेपाली उल्लेख नगरी हुँदैन। किनारीकरण धारणाकै समकक्ष रहेको दलित साहित्यलाई पाठको रूपमा लिएर त्यसलाई केलाउने, हेर्ने, पचाउने र डकार्ने उपक्रममा हिन्दी भाषामा मात्र नै हजारौं पुस्तकहरू लेखिएको छ। उता विदेशमा देश सुब्बाले आदिवासी-उपन्यास लेख्दा त्यहॉं भयवाद-को अवधारणाको विकास भइसकेको देख्न स्वदेशका गोविन्दराज भट्टराईलाई समय नै लाग्दैन। यता विचलन चलनमा आइसक्दा अनि अहिले किनारीकृतहरूको आवाजलाई वैस्थानिक बनाउने प्रस्तावना आइसक्दा पनि समाचोलक, आलोचकहरू आफू हुनुको आभाष आफैलाई मात्र दिएर टुलुटुलु हेेरिरहँदा अचम्म लाग्दैन? पानी फिटेको दूध पनि दूध नै हो अनि पानी नफिटेको दूध पनि दूध नै, असली दूध छुट्याउने जॉंगरलाई पानी फिटेको दूधले किनारीकृत गरिसकेको पनि पत्तै नपाउनेहरूले आफैलाई समालोचकको रूपमा बँचाइराख्नु लरतरो अज्जीरवाद होइन। स्पीभाकले भनेको सबल्टर्न, मनप्रसाद सुब्बाल र रेमिका थापाले भनेको किनारीकृत को हुन्‌ त? तिनीहरूले अहिलेसम्म लेख्दै आइरहेका साहित्यको परम्परा अहिले आएर कसरी भत्काइने प्रस्तावहरू अघिआएका छन्‌, हामीलाई हाम्रै स्वरको, हाम्रै बोली व्यवहारको, हामीसित बॉंचेको सांस्कृतिक चेतनासित नै अरूले किनारीकरणको अवधारणाले पाठ गर्दा त्यो वैस्थानिक (सुब्बा र थापाको भाषा) हुन्छ कि हुँदैन। के किनारीकरणको कुरा नेपालीभाषी गोर्खाहरूको चिह्नारीको प्रश्नमा मात्र अल्झिन्छ? किनारीकरणको प्रस्तावना समालोचकहरूको निम्ति कस्तो पाठ हो? कवि सुब्बा र थापाको आग्रहसित सबाल्टर्न, मार्क्सवाद ,उत्तरऔपनिवेशित सैद्धान्तिकी जोड़िएर कसरी वैस्थानिक हुसक्छ? त्यो वैस्थानिकमा भारतीय गोर्खाहरूको सांस्कृतिक, भाषिक, सामाजिक, राजनैतिक, शैक्षिक आभाष कसरी थाहा गरिने हो? उनीहरूले गरिरहेको किनारीकरणको आधारस्रोतहरू त्यही नै हुन्‌, जो उनीहरू बताइरहेका छन्‌। उनीहरूले गरिरहेका पर्यावरणिक किनारीकरण र पर्यावरण साहित्यमा कस्तो सम्बन्ध छ? मान्छेबाट प्रकृतिमा भइरहेको दमन, सांस्कृतिक चेतनाको कुरा किनारीकरणको धारणालाई बलियो राख्ने कतिको दह्रो कुरा हुन्‌ त? सुब्बा र थापाले भनिरहेका किनारीकृतहरूको भाषा, उनीहरूले कविताको संरचनामा समेत गरेका किनारीकरणको सचेतता, के भनेका हौं होइन कसरी भनिरहेका छौं हेर्नु पर्ने प्रस्तावना, उनीहरूको कथ्य र कथानकमाथि बहस हुनुपर्दैन? स्पष्ट छ, यो प्रश्न आलोचक र समालोचकहरूतिर फर्किएको छ। कुनै पनि विचार दिन, कुराको निर्क्यौल गर्न अहिले नै हतार हुन्छ भन्नेहरूको जमात पनि छन्‌। उनीहरूलाई मेरो भन्नु छैन हतार नहुनेलाई कहिल्यै हतार हुँदैन चाहे समय जति नै चिप्लियोस्‌। जिब्रो नहुनेलाई स्वाद हुन्छ? किनारीकरणको प्रस्तावकहरूले दुइ संस्करण र अङ्‌ग्रेजी अनुवाद समेत गरेर बहसको टेबल खुल्ला राखेका छन्‌, लाग्छ। विचलनवादीहरूले जस्तो पत्रिकामा प्रशंसा र फितलो अभिव्यक्तिहरूको सङ्‌ग्रह गर्नु पर्ने बाध्यता किनारीकरणका प्रस्तावहरूलाई छैन, लाग्छ। उनीहरू स्पष्ट छन्‌ कि हामी किनारीकृत समुदाय हौं,हामीले पनि हाम्रो कथालाई बलियो गरी उठाउनु पर्छ।
अहिलेसम्म अरूले(शासकले)च्यातच्यात पारेको कथालाई जोड़ेर ठूलो ऐवाज बनाउनु पर्छ।हामीले पनि विश्वमा आफ्नो उपस्थिति हिनु पर्छ,उनीहरूले भनिरहेको,लाग्छ। हामी जस्ता किनारीकृत समुदाय विश्वभरि नै छन्‌। उनीहरूको पनि साहित्य छ। किनारीकृत भाषाबाट नै उनीहरूले लेखेर विश्वलाई पढ़्‌न लगाउने उनीहरूको कोशिष सफल छन्‌। निग्रोहरू, यहुदी, रेड इण्डियन, एङ्गलो इण्डियन, आदिवासी दलितहरूको साहित्य हामीले पनि पढ्यौं। अब अरूले हाम्रो साहित्य पढ़ुन्‌। हामीलाई हाम्रो साहित्यमा उनीहरूले देखुन्‌। अब विश्वका अरूले आफ्नो कथा लेख्दा हाम्रा सन्दर्भहरू टिपुन्‌ (रे. था.) हाम्रो साहित्यलाई वैस्थानिक बनाऔं अझ पर्यावरण साहित्यलाई पनि किनारीकरणको आँखाले देखौं, लेखौं, उनीहरूले आग्रह गरिरहेको लाग्छ। किनारीकरणको सन्दर्भ जताततैबाट टिप्न सकिने र यसलाई बृहत सैद्धान्तिकीको रूपमा विस्तार गर्न सकिने प्रस्तावना पनि प्रस्तावकहरूसित छन्‌। उत्तर आधुनिकताबाट नै छुटिएको डिसेन्टर, विखण्डन, सर्वसमावेशी थोपामा हामी हाम्रै क्षेत्रीय रङहरू चोबेर वैस्थानिक आवाज बनाउने उनीहरूको प्रस्तावना समय सचेतनाको उज्यालो अनुहार हो, लाग्छ अहिले। ज्याक डेरिडाले डिसेन्टर-को धारणा जुन दिएका छन्‌, किनारीकरणले त्यसलाई आत्मसात गर्दै किनारले केन्द्रको विरोध गरेको छ। आफ्नो अस्मितालाई अकेन्द्रित रूपमा पढ्ने र बुझ्ने धारणालाई किनारीकरणले दह्रो समातेको छ। किनारा नभइ केन्द्र छैन भन्ने कुरा अब किनाराबाट नै बोलिनुपर्छ। अहिलेसम्म केन्द्रको हकडग, थिचोमिचो, हुंकार, हुकूमको आधारभूमि रहेको किनारीकृतहरूले आफ्नो मकथाफ (उपस्थिति)लाई अग्लो उठाउनु छ, जुन कथालाई सँधै छोपिने गरेको थियो, उनीहरू भन्छन्‌। किनारीकृतहरूले बोल्नु पाउनुपर्छ जस्तो विनय केन्द्रित आवाज तर प्रस्तावकहरूको होइन। उनीहरूले किनारीकृतहरू बोलिसकेको अनि कसरी बोलिरहेको छ-लाई व्याख्या दिँदै अभिधामा पनि प्रभावी रूपले कवितामा भन्ने, सकेजति बिम्वप्रतीक छॉंट्‌ने, भन्नेकुरा सोझो, सरलमा तर प्रभावी रूपले भन्ने, किनारीकरणलाई भन्न कवितामा वाक्य, शब्द संयोजना समेतमा सचेतता राखिने हामीले सुन्दा यतैको आवाज बन्ने यो किनारीकरणको आवाज अरूले सुन्दा पनि उसले त्यहॉं आफूलाई भेट्‌ने , स्थानीय र वैश्विकको फ्यूजनबाट वैस्थानिक आवाज, कथा दिइने र यताको साहित्यलाई अरूले सन्दर्भ बनाउन सकिने बनाउने जस्ता अनेक सचेतता अप्नाइएको तथा प्रस्तावना राखिएको यो लेखन आजको बहसको प्रमुख पाठ बनिसकेको छैन? किनारीकरणका कुरा गर्नेहरू स्पष्ट छन्‌ अनि जहॉं जति शङ्‌काहरू उठ्‌ने सम्भावना देखिएको छ, सबैलाई स्पष्ट पार्ने कुरामा उनीहरू लागिपरेका छन्‌। किनारीकरणको सैद्धान्तिकी नयॉं होइन कि, यो मार्क्सवाद, दलित लेखन, नारीवाद उत्तराधुनिकतावाद, सबल्टर्न, उपनिवेशवाद, उत्तरउपनिवेशवाद इत्यादिबाट लिइएका ज्ञानु सासन हो कि, लाग्दैन? किनारीकरणले समताको कुरा गर्छ, विश्वमा अलगै पहिचान स्थापनाको सचेतता यसमा छ, लाग्छ। किनारीकरणलाई जति बुझ्ने र अनुभूत गर्ने कोशिष गरिन्छ, यो त्यति नै गहिरो बन्दो छ, लाग्छ। मान्छेबाट मान्छे किनारीकृत हुनु पनि एउटा ठूलै पाठ छ, त्यसको अनेक अन्तर पाठहरू छन्‌, मान्छेबाट किनारीकृत भइबस्ने प्रकृति र त्यसबाट उठेका पर्यावरणीय सवालहरूभित्र अनेकौं अन्तपाठ रहेको थाहा भइरहेको लाग्छ। तर यसमाथि हुनुपर्ने बहसमा ढिल्याईंको कारण, किनारीकरणको सही चिरफारको कमीले किनारीकरणको सैद्धान्तिकी खुलिएर प्रकट नभइरहेको पनि थाहा गरिन्छ।
यस अघि पनि विचलन नामक पत्रिकाले समालोचक र अध्येता भन्नेहरूमा ठूलै हलचल मच्चाएको हो। पत्रिकाको नामलाई मात्र नै लिएर धेरैले धेरै टेबलगफ पिटेको, उकुसमुकुस बनेको तर मानसिक रोगी जस्तो पत्रिकाको नाममाथि सपाट विचार पालेको देखिएको हो। विचलन एउटा पत्रिका मात्र थियो। पछिबाट त्यहॉं सिर्जना भन्दा अलग कुरा गर्नेहरूले अन्योलता खड़ा गरेका थिए। त्यो अन्योलता अझ छ। विचलन पत्रिकामा प्रकाशित रचनाहरूले कुन कुरामा विचलन भनेको स्पष्ट नपारेको कारण नै पनि भ्र्रमको खेती सप्रिएको हो। भ्रामक कुरा गर्नु विचलन हो र? विचलनको जन्म अनि त्यसले बोकेको विचारको प्रारम्भिक इतिहास भिन्नै छ र पछि त्यसलाई एकल अध्ययनबाट विस्तार गर्दै विज्ञापनवादी बन्न खोजिएको , सिर्जनाले दिशा फेर्न (चलनबाट बाहिरिन)नसकेको पठन आजसम्म नै गरिँदै आइएको छ। विचलनले बोकेका सम्भावनाहरू छोप्दै,बौह्रिएर फेरि पाठकउन्मुखी (पाठकको कुनै स्तर हुन्छ की?,पाठक को हुन्‌?)बनेको घोषणा सम्मेत गर्दै आइरहेकोे विचलनमाथि पनि बहस हुन सकेन। जे जति भयो त्यो भाइहरूको मन नदुखाइदिने रोगले विक्षिप्त बनेकाहरूको सचेतता धेर पढ़ियो। विचलन पनि आफैमा स्पष्ट बन्न सकेन। यता साहित्यिक बहसको क्षेत्रमा देखा परेको भ्वाङ भर्ने नयॉं पुस्ताको कमी पनि उत्तिकै देखिन थालेको छ। केही त छन्‌ तर विचलनको चश्मा नलगाई केही देख्नै नसक्ने। आफ्नो सांस्कृतिक उपस्थिति, क्षेत्रीय अवस्थितिबाट, यतै बोलिने भाषाको कलात्मकरूपबाट, सिर्जनालाई सर्वग्राह्य बनाउन नै नसकिने अनि आजको जति सर्जकहरू छन्‌ सबै विचलन हुनुपर्ने र विचलनले आफैमा विचलन थाहा गर्नै नसक्ने जस्तो भ्रम, हल्लावाद, विज्ञापनका भक्तहरूको आरतीहरूबाट केही अग्लो उठेको यो किनारीकरण आजको साहित्यिक पाठको निम्ति कति सान्दर्भिक हो त्यसले बहसको अपेक्षा गरिरहेको छ। भारतमा नै दलित साहित्यमा स्वानुभूति (दलित) सहअनुभूति (गैरदलित) बीचको द्वन्द्व सेलाउन सकेको छैन। यसमाथि अझ व्यापक बहस चलिरहेको नै छ तरै पनि दलित साहित्य विश्वभरि नै पढ़िने गरेको छ। हाम्रो साहित्य विश्वमा त्यति प्रभावीरूपले कहॉं पढ़िन्छ? कति पढ़िन्छ? कसको पढ़िन्छ? के पढ़िन्छ? छ, यसमाथि कुनै समालोचकको पुस्तक? अझै पनि देवकोटा, रामायणतिर नै के के खोजिबस्ने नाफाखोर प्राध्यापकीय समालोचकहरूलाई किन पाठ गर्ने नयॉं थोकहरूको अभाव? भाषिक एकरूपताको निहुँमा व्याकरणलाई व्यापार बनाउनेहरू के छैनन्‌ हामीसित? यता डा.हरूको पनि गतिलै जमात छन्‌, जो गजधम्म बसेका छन्‌। कति डा.हरू छन्‌ जसले डा. पाइएको प्रमाण स्वरूप शोध ग्रन्थ छापेका छन्‌। उनीहरूले कस्तो शोध गरेर डा. भए? पढ़्‌न पाइरहेका छौं र हामीले? यहॉं कस्ता डा.हरूको खेती हुँदैछ त? यसला कसलाई नाफा छ त? हामीसित त यस्ता डा.हरू पनि छन्‌ कि उनी के कारण डा. भए त्यसको सुइँको पनि पाइँदैन। उनीहरू नै छन्‌, भविष्यका डा.हरूलाई बाटो देखाउनेहरू। जसले आफै बाटो बिराएका छन्‌, उनीहरूले नै बाटो देखाउने? तेस्रो आयाम यतैको, लीला लेखन यतैको (यतैको?) भए पनि यतैकाहरूले त्यसलाई कत्ति चिरफार गरेर देखाउन सकेका छन्‌? साहित्यिक बहसको अपेक्षा यस्तो समयभित्र गुटमुटिएको छ। तीभित्र कति उर्जाशील समालोचकहरू अवश्य नै छन्‌, जसले विश्वमा चलिरहेका कुराहरू यताका लेखनतिर खोज्छन्‌।
आख्यानदेखि पराख्यान-मा समालोचक पेम्पा तामाङले एउटा ठूलो भरोसा रोपेका छन्‌। समसामयिक लेखनलाई बहसको रूप दिन सक्नेहरूको कमी दार्जीलिङे साहित्य टाक्सिनु(?)को कारण हो कि कतै? दार्जीलिङका सर्जकहरू तर नयॉं ज्ञानानुसाशनसित लेखनमा निरन्तर छन्‌। हाम्रा समालोचकहरू यति ज्ञानी छन्‌, यति सर्वज्ञानी छन्‌, कि उनीहरूले यतैको लेखनमा बहस गरिरहनुपर्ने क्षेत्र पाउँदैनन्‌‌‌। तैपनि मनप्रसाद सुब्बा र रेमिका थापाहरूको निरन्तरता र विचारको खुल्ला फाटकले केही सम्भावनाहरूको सङ्‌केत दिइरहेकै लाग्छ। चिनौं कि त्यो सङ्‌केतलाई?

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 11 भाद्र, 2066

लेखकका अन्य रचनाहरु