'छुई...पकन्दी भनेको के हो बूबा ?'

- नवराज सुब्बा

'यो ज्यानको माया के माया
जन्मेको भूमि ठूलो रैछ
हिमाली छाया देशको माया
परन्तुसम्म लाग्दो रैछ' ...
मैले गाउने पालामगीतको अंश हो यो । यो गीत गाउँदा मेरो एक वर्षीय नाति 'अनुभव' कम्मर भाँचेर, टाउको हल्लाई हल्लाई खुशीले नाच्ने गर्दछ र यता हामी परिवार उसको यो चर्तिकला देखेर थपडी बजाउँदै औधि रोमाञ्चित हुन्छौं । तर यही गीतको अन्तमा जब म 'छुई पकन्दी' भनेर लामो लेग्रो तान्दछु तब ऊ एकाएक अनुहार खुम्च्याएर आँखा चिम-चिम गर्दै बरर आँशु झारेर रुन थाल्छ । यो घटना संयोग मात्र हो कि भन्ठान्यौं । तर गीतको अन्तमा हरेक पटक जब 'छुइ पकन्दी' गीत बज्छ तब ऊ रुन थालेपछि भने हामीले गीतको यो अंशलाई गाउन र बजाउन छाडिदियौं ।
यसको केही दिनमा जेठो छोरा कौशलले मलाई सोध्यो - 'छुई पकन्दी भनेको के हो बूबा -' मैले तत्कालै स्फूर्त जवाफ दिएँ - नेपालीगीतमा 'ल है' भने जस्तै हो । यो मेरो जवाफले कान्छो छोरा निश्छलको चित्त बुझेन छ क्यार † उसले केही दिनपछि फेरि उही प्रश्न सोध्यो । मैले भनें- 'हेर बाबू यसको अर्थ धेरै हुन्छ । ए साथीभाई हो भन्ने पनि हुन्छ, तन्देरी भए हे जोडी π भन्ने अर्थमा आफ्नो प्रियतम म यहाँ छु है ! भन्ने पनि हुन्छ' भनेर सम्झाएँ ।
यसरी मैले पटक पटक जवाफ दिएर सम्झाए पछि भने मैले नै दिएको जवाफप्रति मलाई शंका लाग्न थाल्यो । र मेरा जवाफले मेरा दुइ छोराहरूको चित्त बुझ्यो बुझेन भनेर निन्तित भएँ । आज यो सवाल हाम्रो संस्कृतिको सारै मीठो अनि प्यारो शव्दावली टिपेर मेरा संततीले मलाइ सवाल गर्दैछन् जसको जवाफ मैले वास्तवमा चित्तबुझ्दो ढङ्गले दिनुपर्दछ यो मेरो दायित्व हो भन्ठानें मैले । कतै मैले बुझेको अर्थ भन्दा अरु कुनै अर्थ पो छ कि यो शव्दावलीमा भनेर म घोत्लिन थालें । सवालको जवाफले मेरा सन्ततीमा कस्तो विम्व बन्यो होला भनेर म भित्रभित्रै छट्पटाएँ । लाग्यो यो सवाल मेरा दुइ छोराहरुको मात्र होइन, मेरा नाति अर्थात् आउने सन्ततीले सोध्ने वा सोध्नै पर्ने प्रश्न हो जसको जवाफ मुख टाल्ने हिसाबले मात्र हैन चित्तबुझ्दो किसिमले दिइनुपर्दछ भन्ने लाग्यो ।
मैले लिम्बूभाषा र संस्कृतिका विज्ञहरुसंग सोधखोज गरें । केही सन्दर्भसामग्री हेरें । इन्टरनेटको पनि सहयोग लिएँ । लिम्बूसंस्कृतिका विज्ञ वैरागी काइँलासंग पनि भलाकुसारीमा यसबारे जिज्ञासा राखें । अर्का लिम्बूभाषा तथा संस्कृतिविद् येहाङ लाओतीसंग पनि सम्पर्क राखें । यसरी मेरो जिज्ञाशाको लहरो यहीँ टुङ्गिएको छैन तापनि हालसम्मको मेरो अध्ययनको आधारमा 'छुई पकन्दी' को अर्थ निम्नानुसार पाएँ ।
हाम्रो मुलुक पहाडै पहाडले बनेको छ । लेक वेशी गर्नु हाम्रो दिनचर्या नै हुन्छ पहाडमा । हेर्दा पहाड जति शुन्दर छ त्यहाँ हिड्दा मात्र हिड्नुको दुःख थाहा हुन्छ । कुनै पहाडको फेदबाट माथि पहाडको टुप्पो हेर्दा एउटा हिमाल जस्तै काहाली लाग्दो चुनौती देखिन्छ त्यहाँ । यस्ता पहाडहरू दिनमा कतिओटा हो कति π कतिपटक हो कति छिचोल्नु पर्छ हामीले । जब एउटा लिम्बू यूवक यस्तै एउटा पहाड छिचोलेर पहाडको टुप्पोमा पुग्छ तब त्यहाँ भएको कुनै ढुँगोमा चढेर वा ढिस्कोमा उक्लेर त्यो पहाडै उराल्ने गरि कर्ुलन्छ- 'छुई...पकन्दी' । यो विजयको उद्घोषणा हो । कुनै हाटमेला जाने बेलामा यसरी नै कुर्लिएको हो भने आफ्ना तरुनीलाई म यहाँ आई पुगें है लुङ्गाज्यू भन्ने एकप्रकारको जनाऊ हो यो । जे होस् यो कुर्लाइमा जत्ति जोश छ, उत्ति नै प्रेम छ अर्थात् जीवन छ । यसैले यो शव्दावली लिम्बूसंस्कृतिको अति नै प्यारो भावनाको प्रतीक हो जसलाइ हामीले हाम्रा सन्ततीलाइ सम्पदाको रुपमा हस्तान्तरण गर्दै जानुपर्दछ ।
यही 'छुई पकन्दी' सुनेर आज मेरो नाति यसरी रोएको देख्दा मैले मेरो बाल्यकाल पनि सम्झें । गाईवस्तु चराउन जाँदा मेरी कान्छीफूपू रुखको फेदामा बसेर लामो लेग्रो तान्दै पालाम् गाउनु हुन्थ्यो । मसंग मुन्टो फर्काएर कतै डुबेर धेरैबेर गाइरहनु हुन्थ्यो । वरिपरि रुखका पात र हाँगाहरुमा बसेर किराहरू अर्थात् झ्याउकीरी एक सुरले कानै खानेगरि कराइरहेका हुन्थे । अलि पर चूँवाखोला सुसाइरहेको हुन्थ्यो । म बालक अलमल्ल परेर यी संगीत सुन्न बाध्य थिएँ । लाग्छ मलाई त्यसबेला त्यो गीत अर्थात् संगीतले आनन्द भन्दा पनि एकप्रकारको डर, त्राश, दुःख वा पीर जस्तो भावको सिर्जना गरेथ्यो । मेरा कान्छा काका जो आज यस दुनियाँमा हुनुहुन्न म उहाँलाइ पनि सम्झन्छु । उहाँ घाँसका भारी बिसाएर पसिना पुछ्दै चौताराको अग्लो ढुँगामा बसेर लामो स्वर तान्दै पालाम् गाउनु हुन्थ्यो । शायद उहाँको श्रोता त्यहाँ म नै हुन्थें जसले संगीतको भावार्थ केही पनि बुझेन उसबेला । तर उहाँको लामो लेग्रो तनाइ तल तम्मरको सुर्साई जस्तै लाग्दथ्यो म डराउथें । यो दुनियाँमा म एक्लो रहेछु भन्ठान्थें पालामको भावार्थ केही नबुझे पनि किन किन म मनमनै रुन चाहन्थें । आज मेरो नाति सायद यो लामो लेग्रो तान्दा सायद त्यही भाव उत्पन्न भएर रोएको होला, म केवल अनुमान गरिरहेछु । र, आज यसको अर्थ खोज्ने प्रयत्न गरिरहेछु ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 22 भाद्र, 2066

लेखकका अन्य रचनाहरु