थोरङला पासको ठिहिरोमा कविता

- मणि लोहनी

'हामीलाई अक्सर डर देखाइरहने

यही हिउँ

यही पहिरो

र यही मस्र्याङ्दीमा सौन्दर्य देख्नुहुन्छ, तपाईहरु

तर कहिल्यै देख्नुहुन्न

चिसोले सुन्निएका हाम्रा मन

र सुकेका हाम्रा आँखाहरु ।'

अन्नपूर्ण फेरोको शिखर थोरङला-पासमा ठिहिरो हावाबीच कवि गोष्ठी । एउटा रमाइलो र अद्भूत क्षण थियो यो । पत्याउनै पनि गार्‍हो लाग्ने । पाँच हजार ४१६ मिटरको उचाइमा हामीहरु कविता पाठ

गरिरहेका थियौं- श्रीओम श्रेष्ठ रोदन, भीष्म उप्रेती, रमेश श्रेष्ठ, साम्ब ढकाल, ठाकुर वेल्वासे, दुर्गाबहादुर शाह, यज्ञ पौडेल र म । यति अग्लो उचाइमा कवि गोष्ठी भएको संभवतः यो पहिलो घटना हुनु पर्छ । कान छोपिने बाक्लो टोपी खोलेर मैले कविता भन्न थालेपछि थोरङला पासको स्तम्भ नजिकै एक अर्कालाई चुम्बन गरिरहेका इटालियन जोडी हाम्रो नजिकै आएर हाम्रो फोटो खिच्न थाले । उनीहरुलाई यो अजिव लागेको हुनुपर्छ । एकजना जर्मन बुढोले त मेरो कविता वाचन सकिनासाथ मलाई च्याप्प समातेर सोधी हाले, 'के गरेको ? भाषण गरेको हो ?'

'होइन कविता भनेको ?'

'तिमीहरु कवि हौ ?' जर्मन बुढा उत्साहित बन्यो । 'हो, हामी कविहरु हौं । यो यात्राभरि हामीहरुले ठाउँ ठाउँमा कविता लेख्दै र भन्दै हिँड्यौं ।' बुढाको उत्साहले मलाई पनि रोमाञ्चित बनायो । त्यसपछि उनले हामी सबैसँग फोटो खिच्ों- कविता यात्राको तुल नै आउने गरी । बुढा पेसाले रेस्टुरेन्ट व्यवस्ाायी

रहेछन् तर कलाकार र कवि भनेपछि उनलाई सार्‍है श्रद्धा लाग्छ रे ।

जर्मन बुढाको श्रद्धाले मलाई अझ रोमाञ्चित बनाउँछ । त्यसो त यहाँ रोमाञ्चित बनाउने कुरा अरु धेरै छन् ।

हिउँको श्वेत साम्राज्य । हिउँ नै हिउँ । त्यही हिउँमा टल्किएको बिहानी घाम । र यही घामलाई पच्छ्याउँदै दौडिएका असङ्ख्य पदयात्री । उचाइमा पुग्नुको मजा बेग्लै हुँदोरहेछ । जति माथि पुग्यो मनमा अर्को उचाइको तृष्णा जाग्ने । यहाँबाट यति राम्रो देखिएको छ, त्यँहाबाट कस्तो देखिएला ? पहिले यही थोरङला पास चढ्न महाभारत भइरहेको थियो, अहिले यहाँ टेकेपछि अझ माथि उक्लिने नशा चढेको छ ।

बिहान साँढे पाँच घण्टाको हिँडाइ पछि ९ बजेर ३० मिनेटमा हामी यहाँ आइपुगेका । थोरङला पासमा । दुई हिमाल थोराङ पिक र याकावाको बीचमा रहेको हिमाली भज्याङ हो यो । पदयात्राको सफलतामा एक अर्कामा विदाइ साटिरहेका विदेशीहरुबीच हामी पनि बधाइ साटासाट गर्छौं । यो र यस्ता पासमा दर्जनौं चोटि टेकिसकेको यामलाई त बधाइले पुग्ला तर के म जस्तो पहिलो चोटि उत्साह र जोखिम एक साथ बोकेर यहाँ आइपुगेकोलाई बधाइले मात्र पुग्छ ?

थोरङलामा रहेको एउटै मात्र कफिसपमा कफि पिइसकेपछि म डिजिटल क्यामरा हातमा झुण्ड्याउँदै माथि उक्लें । मेरो आँखामा हिमाली शृङ्खला अझ फराकिलो भयो । अलि पर अर्को ढिस्को । चौतर्फी हिउँ नै हिउँमा अर्को सेतो ढिस्को - हिउँको । जहाँ एक विदेशी पर्यटक क्यामराको लेन्सबाट हिमाल छुन खोज्दै थिए । म त्यहीं पुगें - भूँइभरि डम्म ढाँकिएको हिउँमाथि गमगम टेक्दै । हिमाली चुचुरोमा भेटिएका ती विदेशी बिहान बाटामा भेटिएका इटालियन साइकल यात्री रहेछन् । उनले मलाई चिनिहालें । र बधाइ स्वरुप ग्वाम्लाङ अँगालो हाले ।

'तिम्री प्रेमिका खोई ?' मैले सोधेँ । अघि तल बाटामा मैले भेट्दा यी आफ्ना जोडीसँग साइकलमा थिए र मैले उनको साइकल मागेर फोटो खिचेको थिएँ । उनले आँखाले इसारा गरेतिर मैले हेरेँ । त्यहाँ उनको प्रेमिका आकाशतिर फर्किएर हिउँमा सुतिरहेकी थिई । अग्ली र मिलेको ज्यान भएकी यो गोरी केटीसँगै म पनि पल्टिए- थोरङला पासको उचाइमा ।

थोरङला पुग्ने बेला हिँड्दा हिँड्दै म एक्लै परेको थिए । ठाकुर र भीष्म दाइ अलि अगाडि थिए भने श्रीओम दाजु र साम्बजी निकै पछाडि । म हिउँको चउरमा मसिना पातला पाइलाका डोबहरु पच्छ्याउँदै हिँडिरहेथें । अलि माथि फराकिलो खुला ठाउँ देखियो । केही ध्वजा पताका । मानिसका सानो झुण्ड । एउटा सानो छाप्रोजस्तो घर र एउटा सिँगारिएको स्तम्भ । क्यामराको लेन्सले नजिक ल्याएर म त्यो दृश्य र त्यहाँ देखिएको स्तम्भलाई हेर्छु । स्तम्भमा लेखिएको छ - 'मनाङ भ्रमण गर्नुभएकोमा धन्यवाद । थोरङला पास ५४१६ मिटर । सफलताको बधाइ छ । तपाईंको मनाङ पदयात्रा सुखद् रहृयो भन्ने हामी आशा गछौर्ं । फेरि भेटौंला ।' त्यही थियो थोराङला पास ।

'यहाँ धेरै बस्न हँुदैन है ।' फेरि आइपुग्छन् याम । भीष्म दाइ हिँडिसक्नु भएछ । मसँगै पल्टिएकी इटालियन यौवना र उसको प्रेमी अलि तल साइकल बोक्दै

हिँडिरहेकेा देखें । उनीहरु हाँस्दै मलाई हात हल्लाइरहेका थिए । श्रीओम दाजु, साम्ब ढकाल, ठाकुर, रमेश दाइ र म पनि अव यहाँबाट ओर्लिन्छौं ।

'हिमालको उचाइमा धेरै बस्न सकिँदैन रहेछ ।' श्रीओम दाजुले भन्नुभयो । 'हिमालको मात्र होइन, जीवनको कुनै पनि उचाइमा धेरै बस्न सकिँदैन ।' मैले भनें । कवि साम्ब ढकालले मेरो भनाइमा सहमति जनाउनु भयो, 'उचाइमा टिकिरहने प्रयास नै जीवन हो ।'

करिव करिव २५ मिनेटको बसाइँले हामी सबै थाकिसकेका छौं । आधा घण्टा बढी बस्न हुँदैन भन्ने उर्दी थियो । हिमाली पठारको ठाडो ओरालोमा म विजयी खुशीमा ओर्लिन्छु । थोरङला पासको यो सफल यात्रा चानचुने थिएन ।

'अब यहाँबाट जीउ थाम्नै नसक्ने ओरालो छ । पूरै ओरालो, पाँच हजार ४१६ मिटरबाट एकैचोटि तीन हजार ८१६ मिटरको मुक्तिनाथसम्म ।' याम हामीलाई होसियार बनाउँदै थिए । यिनी हाम्रो यात्राको पथप्रदर्शक मात्र होइन, थोरङला पासका लागि सचेत अभिभावक पनि हुन् ।

म यामलाई स्यालुट गर्छु । तीन घण्टाको हिमाली पठार पच्छ्याउँदै हामी मुक्तिनाथ आइपुग्छौं । अरुले आँट गर्दैनन्, ठाकुर र म मुक्तिनाथको १०८ वटै धारामा नुहाउँछौं । पूजा गछौर्ं ।

साँढे एक घण्टाको जीपको यात्रापछि हामी जोमसोममा साँझ सँगसँगै पुग्छौं । पिडुँला कट्कटाउन थाल्छ । हिजोको चिसो हामीसँग छैन यतिबेला । कलेज सकिएपछि साथीहरु छुटेजस्तो छुटेकेा छ चिसो ।

गोरखापत्रबाट

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 8 आश्वीन, 2066

लेखकका अन्य रचनाहरु