लक्ष्मीप्रसाद देवकोटा: वैचारिक पक्षको अध्ययन

- मोहनविक्रम सिंह

देवकोटाले सुलोचनालाई उनको प्रेमका विरूद्ध उनका पिताले गरेको हस्तक्षेपका विरूद्ध “कण्ठ खोल्न” र “वीरांगना” भएर बोल्न आह्वान गर्दछन् र उनी बोल्छिन् पनि:

के अंनग पनि मानिस हैन?
के धनै नभई चैन हुँदैन?
चित्तको करमको वस छैन

अन्तमा दुवैजनाको विवाह हुन्न र सुलोचनाको एउटा कर्णेलको छोरा, विलाससित विवाह गरिन्छ। महाकाव्यको महत्त्वपूर्ण पक्ष यो हो: विवाहपछि पनि दुवैले एक अर्काप्रति प्रेमभाव राख्दछन्। स्वयं अन149 सुलोचनाको घरमा जैमानेकोरूपमा गुप्त रूपले नोकर भएर बस्दछन्। सुलोचनाको पतिले आफ्नी पत्नीले अर्कै मानिसलाई प्रेम गरेको थाहा पाएर हप्काउँदा जैमानेले बीचको मान्छेले बोले झैं सल्लाह दिन्छन्: “सके मिलाउनु पर्ने उनका प्रिय साथमा जिन्दगी दान गर्दै भै उदार दिलका बनी” यो कम महत्त्वपूर्ण कुरा थिएन कि देवकोटाले अन्यत्र विवाह भएपछि पनि पूर्व प्रेमी र प्रेमीकाका बीचमा विवाह र उनीहरूका बीचमा पुनः वैवाहिक सम्बन्ध कायम गर्ने कार्यलाई उचित ठान्दछन्। त्यस सोचाईले विवाह प्रेममाथि नै आधारित हुनु पर्दछ र प्रेमको अन्त भए दाम्पत्य जीवनको पनि अन्त हुनु पर्दछ भन्ने मार्क्सवादी सोचाईसित मेल खान्छ। देवकोटाले “सुलोचना”मा नै त्यस प्रकारको विचारलाई व्यवहारिक रूप दिन हिम्मत गर्दैनन्। त्यसका लागि हामीले “लूनी” खण्डकाव्यलाई पर्खनु पर्दछ, जसको चर्चा हामीले पछि गर्नेछौं।

सुलोचनाले त्रिभूवनलाई “सरापुला सारै” भन्दछिन् र त्यसबाट सारा “त्रिभूवन” ध्वस्त हुने कुरा गर्दछिन्। उनले सारा “श्रृजना” आगो बन्ने कुरा गर्दछिन्। त्यो महाकाव्यमा विद्यमान विवाहप्रथाभित्र “अत्याचार, अनाचार, व्याभिचार” भएको कुराको पनि उल्लेख गरिएको छ। महाकाव्यका एकजना पात्र तिमिर मर्दनले “ईश्वर नामको कोहीं जीव, कुनै चीज, कोही सत्ता कतै पनि” छैन भनेर खुलेआमरूपमा अनीश्वरवादी विचार प्रकट गर्दछन्। उनले आफ्ना भौतिकवादी विचारहरूलाई सत्य बताउँछन् र अन149लाई “सत्यमा” आउन र “दुनियाँको हिडाइमा” आउनका लागि आह्वान गर्दछन्। त्यस महाकाव्यमा “उमेर साथ हकले ओरालो र वैसले उकालो लिन्छ” भनेर पुराना पुस्ता वा पुरानो समाजका ठाउँमा नयाँ पीढिको हक र दावी बढ्ने कुरा गरिएको छ। त्यस प्रकारको सोचाईले पुरानाका ठाउँमा नयाँले अर्थात्, मरणशील समाज वा शक्तिलाई नयाँ उदीयमान शक्तिले विस्थापित गर्दछ भन्ने ऐतिहासिक भौतिकवादी सिद्धान्तलाई अनजानरूपमा भए पनि स्वीकार गर्दछ। त्यस महाकाव्यकी एउटी पात्र कलाले हुङ्कार गर्दै अन149लाई आह्वान गर्दछिन्: “जीवनले भन्छ, आँट जीवन बन्दछ।” त्यसरी कविले “आँट” र साहसले नै जीवन अगाडि बढ्ने र बढ्न सक्ने विचार प्रकट गर्दछन्। त्यस विचारले निराश र पलायनको सोचाइलाई दृढतापूर्वक निषेध गर्दछ। त्यस क्रममा देवकोटा घरघरमा लाखौं “वेस्याहरू” भएको कुरा पनि बताउन हिचकिचाउन्नन्। अन149द्वारा प्रेमको “भाव” दवाएर वा “यौटा वरण छाडेर विवाह अर्को” गर्ने सबैलाई बेस्या बताउन लगाएर यो प्रश्न उठाउँछन्। “को छ यो जगमा सच्चा शुद्ध स्फटिक निर्मल?” साँच्चि नै विद्यमान समाज व्यवस्था, परिवारको ढाँचा वा प्रणालीमाथि त्यो अत्यन्त कडा र निर्मम प्रहार हो। सायद अहिलेसम्म अन्य कुनै प्रगतिशील साहित्यकार, लेखक वा क्रान्तिकारी नेताहरूले पनि विद्यमान समाज व्यवस्थामाथि त्यसरी आक्रमण गर्ने आँट गर्न सकेका छैनन्। त्यस राणाकालीन र पिछडिएको समाजमा देवकोटाको महाकाव्यमा प्रकट गरिएका त्यस प्रकारका विचारहरूले अत्यन्त ठूलो प्रगतिशील महत्त्व राख्ने कुरा प्रस्ट छ।

देवकोटाले करिब तीन दर्जन खण्डकाव्य लेखेका छन्। ती खण्डकाव्यहरूमध्ये कुनै प्राचीन कथासित सम्बन्धित भएपनि अधिकतर विद्यमान सामाजिक जीवनसित नै सम्बन्धित छन्। तिनीहरूका कथाहरूको विषयवस्तु मध्ये कतिपय पौराणिक वा काल्पनिक छन्। तर, तिनीहरूलाई पनि विद्यमान सामाजिक परिवेशमा नै खडा गर्ने प्रयत्न गरिएको छ। सबै खण्डकाव्यहरूमा एक वा अर्को प्रकारले विद्यमान सामाजिक जीवनका विभिन्न पक्षहरूको पनि चित्रण गरिएको छ। त्यसबारे मोदनाथ प्रश्रितले लेख्दछन्: “सावित्री सत्यवान्, शाकुन्तल र महाराणा प्रताप बाहेक अरू सबै कथावस्तुमा नेपाली जनजीवनबारे टिपिएका छन्।”९ (देवकोटा: मुनामदन केही झर्रो केही खर्रो) प्रश्रितले अगाडि लेख्दछन्: उनका सबैजसो खण्डकाव्यहरूमा प्रेम तत्त्वको मुख्य स्थान छ। उहाँका
(देवकोटाका) प्रायशः झन्नै समान स्वरमा गाईएका दुई मुख्य तत्वहरू भेटिन्छन्। ती हुन् – मानव जीवनमा प्रेम तत्वको भूमिका र नारी व्यक्तिको आदर्श। त्यस सिलसिलामा उनले अगाडि लेख्दछन्: “महाकविले आफ्ना प्रायः सबै कृतिहरूमा प्रमुख नारी पात्रलाई अत्यन्त नै उच्च कोटीको आदर्श चरित्रले सिगार्नु भएको छ। तर प्रायशः सबैमा हामी यथार्थको भन्दा आदर्श कल्पना बढी पाउँछौं।”१० (प्रश्रित, उही) उनका खण्डकाव्यहरूमा प्रेम अधिकतर अवस्थामा दुःखान्तमा टुङि्गने गरेका छन्। त्यसका पछाडि दुईवटा कारणले काम गरेको देखिन्छ: प्रथम, विद्यमान सामाजिक परिवेशमा सच्चा प्रेम सफल हुनसक्ने स्थिति हुँदैन। द्वितीय, देवकोटाले जीवन होइन, मृत्युपछि नै सच्चा प्रेम सफल हुने र आनन्द प्राप्त हुन्छ भन्ने दार्शनिक दृष्टिकोण राख्दछन्। त्यसरी देवकोटाको मुनामदन, कुञ्जिनी, म्हेन्दु आदिका प्रेमहरूको दुखान्त भएको छ। तर त्यसको अर्थ देवकोटा प्रेमलाई हेय दृष्टिले हेर्दछन् भन्ने होइन। उनले सबै खण्डकाव्यहरूमा प्रेमलाई अत्यन्त उच्चस्थानमा राख्ने गरेका छन्। उनले सबै खण्डकाव्यहरूमा यो देखाउने प्रयत्न गरेका छन् कि सच्चा प्रेमले “राजा र कालमाथि समेत विजय प्राप्त” गर्दछ। त्यसका पछाडि देवकोटाको यो विचारले काम गरेको पाइन्छ: “प्रेमको राज्यमा कालले हार्दछ” म्हेन्दु खण्डकाव्यमा उनले यो विचार पनि प्रकट गरेका छन्: “ढुंगो प्रीति गर्दैन र प्रीति गर्ने मर्दैन” कतिपय अवस्थामा विद्यमान सामाजिक व्यवस्थाका कारणले आफ्नो प्रेम सफल हुन नसकेकाले प्रेमी–प्रेमीकाहरूले आत्महत्या गरेका हुन्छन्। त्यस प्रकारको आत्महत्याको सोंचाई कहाँसम्म स्वभाविक वा स्वाभाविक छ? हामी त्यसबारे छलफल गर्नेपट्टि लाग्दैनौं। तैपनि प्रेमी–प्रेमीकाहरूको त्यस प्रकारको आत्म–हत्याका पछाडि देवकोटाको यस भावनाले काम गरेको हुन्छ कि मृत्युपछि पनि प्रेम अमर हुन्छ। त्यसरी उनले सच्चा प्रेमको अमरत्वमाथि विश्वास गर्दछन्। देवकोटाले यस मान्यतामाथि पनि विश्वास गरेको पाइन्छ कि सच्चा प्रेमीहरूले सामाजिक दवावले गर्दा अन्यत्र विवाह गरे पनि त्यो विवाहलाई तोडेर पुनः सच्चा प्रेमी–प्रेमिकाका बीचमा विवाह हुनुपर्दछ। “लूनी” खण्डकाव्यमा विवाह भइसकेकी लूनीको उनको पूर्व प्रेमी चाङ्नासित विवाह हुन्छ। प्रेमसम्बन्धी देवकोटाको त्यस प्रकारको सोचाइ त्यस बेलाको सोचाइमा धेरै नै प्रगतिशील सोचाइ थियो।
****

“पहाडी पुकार” खण्डकाव्यको प्रकाशनका साथै देवकोटाको चिन्तनमा एउटा नयाँ मोड आयो। त्यो खण्डकाव्यमा उनले राणाशासनको विरूद्ध खुलारूपले विद्रोहको आह्वान गर्दछन्:

अन्न र बस्त्र घर लिइ छाड्छौं
इन्साफको नाउँमा
ज्यानै पो जाओस्, प्राणै पो जाओस
पर्वाह गर्दनौं
मानिसलाई चाहिने हक
नलिइ छाड्दैनौं !
मर्नु त एकदिन अवस्यै पर्छ,
पशु झैं न जिउँ
मानिस हुँ भने, मानिस झैं जिउँ,
मासिको हक लिउँ !

यहाँ यो उल्लेखनीय छ कि देवकोटाले “मानिसलाई चाहिने हक” अन्तर्गत अन्न र बस्त्रको पनि कुरा उठाएका छन्। उनले “पहाडी पुकार”मा जुन प्रकारको विचारहरू प्रकट गरेका छन्, ती अकस्मात् देखापरेका विचारहरू होइनन्। त्यस प्रकारका विचारहरूको लामो पृष्ठभूमी छ। १९८७ मा पुस्तकालय खोलेकोमा राणाशासकले उनलाई गिरफ्तार गरेको थियो र उनलाई सजाय पनि भएको थियो। १९९७ मा प्रजापरिषद्का नेताहरूलाई गिरफ्तार गरेर उनीहरूलाई मृत्युदण्ड दिने, जेल हाल्ने वा कपाल मुड्ने समेत काम गरिएको थियो। त्यस बेला देवकोटाले त्यस प्रकारको दमनका विरूद्ध अशन्तोष प्रकट गरेका थिए।

त्यसको लगत्तै प्रकाशित “वन” कवितामा उनले लेखे:

अन्तकरणको स्वतन्त्रता यो
तर छ यहाँ अनमोल

१९९७ सालको काण्डपछि लेखिएको त्यस कवितामा उल्लेख गरिएका “वीरहरूको बलिदान भएको ठाउँ” को गंगालाल, धर्मभक्त, दशरथ चन्द र शुक्रराज शास्त्रीहरू सहिद भएका ठाउँहरू नै थिए भनेर बुझन गाह्रो पर्दैन। त्यस बेलाको परिस्थितिमा प्रजातन्त्रका लागि बलिदान गर्ने सहिदहरूप्रति त्यति उच्च सम्मान प्रकट गर्नुको अर्थ परोक्षरूपले राणाहरूको निरङ्कुश शासनको भर्त्सना गर्नु नै थियो। राणाहरूको क्रुर दमनको पृष्ठभूमीमा “अन्तकरणको स्वतन्त्रता”को कुरा गर्नु पनि सामान्य कुरा थिएन। त्यही सालको फागुनमा देवकोटासित भेट हुँदा भवानी भिक्षुले सोधेका थिए: “तपाईंलाई केको व्यथा छ?” त्यसको जवाफमा देवकोटाले भनेका थिए: “कहिले काहीं मेरो मनमा बज्रको प्रवेश हुन्छ, सारा संसारलाई च्यातेर चकनाचुर पारिदिने मेरो प्रवल इच्छा हुन्छ... तर संसार मभन्दा धेरै दृढ र चामि्रएको छ के गर्नु?”११ (भवानी भिक्षु, “देवकोटा पहिलो भेट” प्रहरी, १ः३) त्यस अभिव्यक्तिले बताउँछ, १९९७ मा राणाहरूले गरेको दमनका विरूद्ध उनका मनमा देखापरेको त्यो क्षोभ कति उग्रप्रकारको थियो? त्यो क्षोभ पछि उनका बेग्ला–बेग्लै रचनाहरूमा प्रकट हुँदै जान्छ र त्यो सबैभन्दा उच्चरूपमा “पागल” कविता र “प्रमिथस” महाकाव्यमा प्रकट भयो।

देवकोटाले “वरपर, घर, बन र चौर” कवितामा उनी युवकहरूलाई “लम्क न लम्क” भन्दै “छाती खोली” अगाडि बढ्न आह्वान गर्दछन्त्र “प्रभूजी मलाई भेडों बनाऊ” कवितामा सामन्ती व्यवस्थामाथि आक्रमण गरेका छन्। उनले “साँढे” कवितामा प्रतिकारात्मक रूपमा “शक्तितन्त्र”को जनसाधारण, मानव सभ्यता वा जनताका अधिकारहरूका विरूद्धको चरम प्रकारका प्रतिक्रियावादी, अधिनायकवादी वा ध्वंसात्मक नीति वा भूमिकाको आलोचना गरेका छन्। कविले प्रतिक्रियावादीहरूको शक्तिलाई “पशुवल” सित तुलना गर्दछन्। उनीहरूले पृथ्वीलाई उजाड्दछन्त्र मानव सभ्यतालाई नै निल्दछन् वा संसारमा प्रलय मच्चाउँछन्। यहाँ यो उल्लेखनीय छ कि यस कवितामा उनले सारा संसारमा नै भएका त्यस प्रकारका तान्डव नृत्यको उल्लेख गरेका छन् र तिनीहरूका विरूद्ध आगो ओकलेका छन्।
हाँकबाट

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 29 माघ, 2066

लेखकका अन्य रचनाहरु