तीजको कथा

- शर्मिला खड्का दाहाल

नेपाली हिन्दूनारीहरूको महान चाड तीज यसरी आउँछ नेपालको शहरमा, शहरको के भन्नु नाम मात्रको शहरलाई गाउँघरमा तीजको रमझम यसरी सुरु हुन्छ -

सुरूमा नारी सामाजिक सँघ, सँस्थाबाट तीजको कार्यक्रम सुरु हुन्छ ।
पहिलो दिन - दर खाने
दोस्रो दिन- नृत्य प्रतियोगिता
तेस्रो दिन- नारी शक्तिकरण विषयमा वक्तृत्वकला प्रतियोगिता
चौथो दिन- रक्तदान कार्यक्रम
पाँचौ दिन- नारीहरूको अधिकारबारे कानूनी सल्लाह गोष्ठी
पाँचौ दिने कार्यक्रम मिटिङ्गबाट पारित हुन्छ ।

'तीजमा नाच्नलाई चुरा र धागो चाहिँ एउटै मिलाएर किन्नु पर्छ है साथी हो !'

'दिदी, यसपाली तपाईको रातो साडी छ भने दिनोस् है । कति एउटै साडी लगाएर माइत जानू, पूरानो डिजाइन भइसक्यो । नयाँ किन्न सकिएको पनि होइन । '

'यसपाली त हाम्रो तीज मान्नै भएन जेठाजू खस्नु भएको छ ।'

'साहुजी, तिलहरी चाहिँ चाँडै सकिदिनु है । पोते उन्न ढिला हुन्छ नि !'

'आफू त पन्ध्रदिन देखि तजिको दर खाँदाखाँदा घर भात राम्ररी खान पनि पाएको नै छैन ।'

'काकी तपाईँको त छोराको बिहे गरेको पहिलो वर्षएक सेट लुगा त सासूलाई ढोग्न दुलहीले ल्याउँछिन होला नि ।'

'तीजको लागि नयाँ नेकलेसको सेट किनी दिनुपर्छ है् हजूर । सबै दिदी बहिनी कस्ता बनिएर आँउछन् । आफ्नो त उही पुरानो बिहेको नेकलेस कति लगाउनु हाउ । '

'आ अब त सुन लगाउने जमाना पनि गयो । ग्यारेन्टीवाला किन्यो नयाँ नयाँ डिजाइनको अनि फेरिफेरि लगायो ।'

'पोहोर पशुपतिको भीड मेरो भाउजुको नेकलेस झण्डै फुस्काएर लगेनछ चोर मोराहरूले ।'

'मेरो श्रीमान्को त तीजमा म माइत गए भनेघरमा बास नै हुँदैन । त्यसैले मलाई माइत जान नै मन लाग्दैन ।'

'भाउजू तपारइँको माइतबाट लिन को आउँछन् -'

'आफ्नो त भएको एउटा दाजू पनि विदेशमा हुनुहुन्छ अरु को आउथे र -'

'म माइत गएको बेला टिल्ल खाएर मातेर घर आउने चाहिँ होइन नि बुझ्यिस्यो थाहा छ कि - '

तीज आयो कि मेरो बूढाको त मुख नै अँध्यारो हुन्छ । तिम्रो तीजले मेरो वर्षदिनको बजेट नै डामाडोल हुन्छ भन्नुहुन्छ । '

'रमिला भाउजूले तीजमा लाउन पाँच हजारको साडी किनेकी छिन रे ।'

' साडी मात्र के कुरा गछ्यौ- साडीलाई सुहाउने अरु गरगहना त केके हो केके । '

'कमाइ हुने श्रीमानले त किनी दिन्छन् नि । आफ्नो त के गर्नु चाडबाड पनि नआए हुन्थ्येा जस्तो लाग्छ । आफूलाई किन्यो छोराछोरी नाङ्गै हुन्छन् भने जस्तो लुगा नै हुँदैन । छोराछोरीको मुख हेर्‍यो आफ्नो रहर नाङ्गै ।

' आफ्नो त माइत पनि यति टाढा छ मेची र महाकाली छ कसरी तीजमा जानु नि बन्द र चक्काजामले हैरान पार्छ ।'

'होइन यो दर खाने दिन चाहिं किन विदा नदिएको होला सरकारले । दर नखाई कसरी भोकै बस्न सकिन्छ व्रत ।'

'पहिला पहिला यही शरीर हो दिनभरी पानी सम्म नखाई व्रत लिइन्थ्यो । अहिले त साह्रै हम्मे पर्छ बा । उमेरले डाँडाँ काटेर पो हो कि । '

'कहाँ उमेरले मात्र हुन्थ्यो - अहिले खाना पिनामा हेनोर्सन कस्तो मिसावट छ । चोखो र शुद्ध केही खान पाइदैन । '

'हो त दिनभर केही नखाइ त बस्न नै सक्दिन बा । हल्का जूस र फलफूल खाइनँ भने भुतुक्कै हुन्छु बा ।
'को नखाइ भनेको छ कोल्डडि्रङ्कस त खान भइ हाल्छ नि ।' पानी पो खान हुदैन नि !'

'म पनि हल्का जूस र फलफूल खान्छु तर अरूलाई चाहिँ ढाँटेर खादिनँ भन्छु अहिलेको जमानामा पनि को भोकै बस्छ । के गर्नु खान्छु भन्यो भने खिल्ली उडाउँछन् । उनीहरू प्नि खाँदा होलान् नि ।'

'पुरुषहरू हाम्रो नाममा व्रत लिएर भोकै बस्छन् र - म त टन्न खान्छु । मेरो श्रीमानले मलाई कति माया गर्नुहुन्छ । तीजमा भोकै बस्नै दिनुहुन्न । तिमीलाई ग्याष्टिकले सारो पार्छ भन्नु हुन्छ ।'

'लोग्नेको आयू बढ्छ । शिवजीको आराधना गरेर भोकै बसेर व्रत लियो भने तर अहिलेको आइमाइहरू कस्ता खरा कुरा गर्छन् हाम्रो जस्तो समय हो र -'

'अनि पति नहुनेले चाहि किन व्रत लिएका त -'

'उनीहरूले शिवजीलाई खुसी पार्न लिएका नि ।'

'श्रीमानको परलोक पनि सुखमय होस भनेर रे ।'

'ए लोग्ने मान्छेले हाम्रो यही जुनीलाई नर्क बनाएर मोजमस्ती गर्दै हिँडछन् अनि हामीचाहिँ उनीहरूको परलोक पनि र्स्वर्गै होस् भनेर व्रतलिने ।'

'भो । भो । यो व्रत पूजापाठको जमाना गयो । अब समानताको जमाना आएको छ ।'

'यो नारी पुरुष समान भन्ने कुरा, कुरा मात्र होला व्यवहार मा त खोई ।'

'ब्यवहारमा ल्याउने हो भने तीज मान्नै हुँदैन नि '

'तीज मानिएन भने हाम्रो दिदी बहिनीको भेटघाट चाहिँ कहिले हुने नि । अनि मीठो खाने राम्रो लाउने कहिले नि !'

'खै यस्ता कुरा गर्दै गयो टाउको दुख्छ बरु केही नसेाच्यो लोग्नेले कमाएर ल्याएकै छन् । उनीलाई पनि कमाउन छोराछोरी पढाउन कति धौ धौ छ । मीठो खायो । खुसी भन्यो रमायो आनन्दले बस्यो ।'

'यी जाड्याहा लोग्नेले कहाँ पाल्छन् र दुइचार पैसा कमाउन थाल्यो कि वियर र सेकुवामा सक्छन् । अनि तरुनीलाई खुवाएर सक्छन् । हैन तरुनी भनेपछि चाहिँ कति मरेहत्ते हालेको यी लोग्नेमान्छेहरू, झन तीजको बेला तँ मीठो खान्छस् म चाहिँ खानु रमाइलो गर्न नपाउनु भनेर निहुँ खोज्नु पो थाल्छन् ए गाँठे ! '

'ए दिदी तपाईँका तीजका चुरा धागो र व्लाउजको सेट मिल्यो - '

'सुशीलाका जेठानी देउरानी त देखासिकी गरेर लाउँछन् । को भन्दा को कम भएर '

'गायत्रीको अगाडि त कसैले राम्रो साडी र गहना लगाउनै हुँदैन मुख लेपारीहाल्छे बई । '

'हैन अहिले घरमा हो कि कहाँ - गीत बजिरहेछ त -'

'हैन डार्लिङ घरमा नै हो यो हल्ला त टिभीको हो - '

'टिभी बन्द गर्दा हुदैन त - कि रेष्टुरेन्टमा हो - '

'हृोइन, होइन तिमीलाई किन ढाटनु -

'अनि भुजा खाइस्यो । फि्रजमा चिकेन रोष्ट राखिदिएछु नि ! '

'ए ! त्येा खाइसकेर टिभी हेर्दैछु । तिमी चिन्ता नगर न तीज राम्ररी मानेर आउ ।'

'चाडै मन्दिरमा दर्शन गरेर कार्यक्रममा नाच्नु पुग्नु पर्छ है ।'

'पोहोरको भन्दा राम्रो नाच्नु पर्छ नि !'

'ए ! केटा हो मन्दिर जाने होइन क्या च्वाक केटीहरू आउँछन् । साइड मार्न मजा आउँछ ।'

'यी तरुनीहरू पनि किन भाङ धतुरो खाने शिवजीको मन्दिर धाएका होलान् । हामी सद्धे केटाहरू हुँदाहुँदै ।'

'ए यार ! पोहोर त एउटी क्या च्वाक सँग साइड मारेथे । के गर्नु बोल्ने मौका नै परेन । अप्सरा जस्तै थिई ।'

' त्यो केटीलाई शिवजीले जोगाएछ् त जस्तो मरनाच्यासे सँग त फसिनछे ।'

'ओई नकरा ! कति जना भुतुक्क हुन्छन् तलाईँ के थाहा आफू छस् पशुपतिको बाँदर जस्तो अनि अरूलाइ पनि त्यस्तै देख्छस् ।'

'यो तीजमा त बाटाघाटा मन्दिर, बजार चारैतिर रातै हुन्छ । मलाई त यो रातो रङ्गदेखि एलर्जी हुन्छ ।

'ए ! यो साले कस्तो कुरा गर्छ रातो रङ्गमा एलर्जी हुन्छ रे । त्यही रातो रङ्गमा कत्रो शक्ति छ । 'भैगो छोडदे यो हिजडा जस्तो कुरा गर्छ । मलाई चाहि' तीजमा दिदी लिन जान एलर्जी हुन्छ । दिदीकी सासूले नानाथरी गफ गरेर क्या वोर गर्छिन । लिन नजाऊ भएन । पोहोर त उनको आफन्तको एउटी छोरीसँग कुरा मिलाउन ठिक्क परेकी थिइन् ।'

'जे होस् तीजको बहानामा हाम्रो घरमा चाहिँ मीठामीठा खानेकुरा पाक्छन् ।'

'के गर्नु तीजमा आफू माइत गइन्छ । छेारा छोरी र श्रीमानको चाहिँ विदा हुँदैन घरमा हेरिदिने कोही हुदैनन् ।

'ए हजूर बेलुका आउदा छेाराछोरी लिएर माइत आइसक्यो है । मैले नानीहरूका फेरफार गर्ने कपडा बोकेर गएकी छु ।'

'यो तीजमा कहिले चेलीबेटीलाई खुसी पार्न सकिएन बा । जस्तो राम्रो साडी किनिदियो मुख खुम्चाउँछन् । हामीले बाउको सम्पत्ति खाएको रिस गर्छन । '

'आफ्नो त दाजूभाइ पनि कोही छैनन । तीजमा माइत जान रहर लागेर उधूम हुन्छ कहाँ जानू र ।'

'ए तरुनीवरुनी हो नाच है हामी ताली मार्र्छौ हाम्रा नाच्ने दिन गै गए ।

तयार छौ हैन ?

भगवानको भजन पो गाउनुपर्छ त यो फिलीमसिलीमको गीतमा के नाचेका होलान् ।

मादल बजाउने तयार छौ हैन ?
ल ल सुरु गर
... ..तीजको लहर आयो बरी लै ........




प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 2 फागुन, 2066

लेखकका अन्य रचनाहरु