साहित्यको स्वरुपबारे

- नरेश शाक्य

साहित्यको स्वरूपको चर्चा गर्दा त्यसको कुनै स्वरूप, निश्चित आकार प्रकाश हुँदैन । जुन भाँडोमा राख्यो त्यसले त्यही आकार ग्रहण गर्छ । तर यो स्वयममा आकार होइन । समयानुसार साहित्यको परिभाषा, यसले लेखिने विषयवस्तुमा परिवर्तन आउँछ । परिवर्तन आएको छ । एउटै पे|mमभित्र साहित्यलाई बाँधेर राख्न सकिन्न । एउटा फर्मुला तयार पार्न सकिन्न । भिन्न भिन्न साहित्यकारहरूका एउटै समयमा पनि आ-आˆनै विषय र शैली हुन्छ । साहित्य एउटै कारखानामा उत्पादित माल वा वस्तु होइन । एउटै ब्रान्ड वा मोडलमा तयार पार्न सकिन्न । प्रत्येकको आˆनो शिल्प, कल्पना शक्ति र सिर्जनशीलता त्यसमा निहित हुन्छ ।

एक समय थियो जब साहित्यमा भक्ति रसको प्राधान्यता थियो । लेखक कविहरू भगवानको, भाग्य आदिको विषयमा लेख्दथे । परमेश्वरप्रति अनन्य भक्ति जाहेर गर्दथे र आफूलाई अकिंचन, निरीह प्राणीको रूपमा प्रस्तुत गर्दथे । मान्छेको भूमिका नगण्य थियो । त्यसपछि पालो आयो वीर रसको । राजा महाराजा वा त्यस्तै वीर विरांगनाहरू विरत्व, ऐश्वर्य र प्रताप आदिको प्रशंसा गरी लेख्ने । गुणगान गर्ने । त्यसपछि करूण, रौद्र र विभत्स भावका कृतिहरू रचिए । साहित्यमा मान्छेको उपस्थिति वा भूमिका धेरै कालपछि आएर मात्र स्थापित भयो आम मानिसको ।

आज त्यो समय छैन । आजका साहित्यकारहरूको, आजको विषयमा लेख्नुपर्छ । आफू बाँचेको समयलाई प्रतिबिम्बन गर्नुपर्छ साहित्यमा । त्यो आज भनेको विश्वको विषय परिस्थिति, युगीन जटिलता, द्वन्द्व र समस्या हुन् । भूमण्डल विश्वव्यापीकरण भएको आजको अवस्थामा न हामी साँगुरो राष्ट्रवादमा अल्मलिन सक्छौँ न वैदेशिक हस्तक्षेपको । राजनैतिक आर्थिक, सांस्कृतिक हस्तक्षेपको विरूद्ध आँधीबेहरी उठिरहेको बेला हामी मूकदर्शक बनेर बस्न सक्दैनौँ । न हामी अन्तर्राष्ट्रिय मानववादको भावनालाई नै उल्लङ्घन गर्न सक्छैाँ । तसर्थ भूमण्डलको यो तस्वीर साहित्यमा उत्रन आवश्यक छ । आज भनेको ज्यूँदो वर्तमान हो । वर्तमानको तस्वीर छर्लंङ्गनिु पर्छ । हिजो मरिसक्यो र भोलि अनिश्चय, अन्धकार र द्विविधा मै छ । भोलि भोलिका साहित्यकारहरूले लेख्नेछन् । यो अवसर उनीहरूलाई हामीले दिनुपर्छ । आज नै भोलिका लागि लेख्छु भनेर दाबी गर्नु कोरा कल्पना, मनगढन्ते कुरा हो । हामी आˆनो समयको सीमाले बन्धित छौं । वर्तमानको आधारमा भविष्यको केही सङ्केत सम्म गर्न सकिन्छ, पुरै रूपरेखा कोर्न सकिन्न । आजको समस्यालाई नलेख्नु, भूत र भविष्यमा भाग्नु भनेको कायरता हो । वर्तमानको जिम्मेवारीबाट पन्छिनु हो । आˆनो युग प्रति सचेत र इमान्दार नरहनु हो ।

साहित्य सर्वकालीक र निरपेक्ष हुँदैन । त्यो सापेक्षित नै हुन्छ । समयानुसार साहित्यको रूप र भावपक्षमा परिवर्तन आउँछ । हाम्रै देशमा पनि साहित्यको रूप, बिम्ब विधान, प्रतीक विधान आदिमा परिवर्तन आइरहेको छ । यो खुशी र स्वागत योग्य कुरा हो । साहित्यले जीवनको विलट क्षितिजलाई उधार्नै पर्छ । सङ्गीतका विभिन्न धुनहरू एकाकार भई समवेत स्वरमा गुन्जित भए जस्तै साहित्यले मानवमनका हरेक पक्षहरूलाई उद्घाटित गर्नुपर्छ । कलापूर्ण हुनु, कल्पनाशील हुनु साहित्यको धर्मिता हो । आज साहित्यले वैचित्र्यको रूप धारण गर्दै गइरहेको छ ।

साहित्यमा सङ्गीत, चित्रकला र गणितको सम्म समायोजन भएको छ । साहित्यले सङ्गीत र चित्रकला समेतको स्वाद पस्किन थालेको बेला हो यो । यसका निम्ति हामीले स्रष्टाहरूसित आभारी हुनैपर्छ । विषयवस्तुमा पनि आज विविधता आइरहेको छ । हिजोको नछोइएको, अछुतो विषयवस्तुहरूमा आजका साहित्यकारहरूले कलम चलाइरहेका छन्, उजागर गरिरहेका छन् । यो निक्कै उत्साहप्रद र फलदायी रहेको छ । तसर्थ उनीहरूलाई उत्साहित तुल्याउनु न कि निरूत्साहित पार्नु हाम्रो दायित्व हो ।
गोरखापत्रबाट

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 5 जेठ, 2067

लेखकका अन्य रचनाहरु