विनिर्माणवादको सैद्धान्तिक स्वरुप

- डा. खगेन्द्रप्रसाद लुइटेल

१. विनिर्माणवादको नामकरण र परिचय
विनिर्माण शब्द अङ्ग्रेजी deconstruction को नेपाली रूपान्तर हो । यससँग सम्बद्ध अन्य शब्द विनिर्माणवाद (deconstructionism) र विनिर्माणवादी (deconstructionist) हुन् । नेपालीमा विनिर्माणवादलाई विसंरचनावाद, विरचनावाद, विसङ्घटनावाद, विनिर्मितिवाद आदि पनि भनिएको पाइन्छ ।

विनिर्माण शब्दका निर्माता तथा प्रयोक्ता प्रसिद्ध फ्रान्सेली चिन्तक, दार्शनिक तथा भाषाविज्ञानी जाक डेरिडा (१९३०) हुन् । खासगरी साहित्यिक कृति वा पाठको पठन तथा सामान्यतः समालोचनाको नयाँ सिद्धान्तलाई जन्म दिँदै उनले नै यसको नामकरण विनिर्माणवाद गरेका हुन् ।
सन् १९६६ मा जोन हप्किन्स विश्वविद्यालयमा आयोजित संरचनावादसम्बन्धी कार्यशाला गोष्ठीमा डेरिडाले Structure, Sign and Play in the Discourse of the Human Sciences शीर्षक कार्यपत्रमा संरचनावादको आलोचना गरी उत्तरसंरचनावादको थालनीका साथै विनिर्माणवादसम्बन्धी नयाँ सिद्धान्तको स्थापना गरेका हुन् । विनिर्माणसम्बन्धी धारणालाई सन् १९६७ मा प्रकाशित Of Grammatology, Speech and Phenomena, Writing and Difference नामक तीन पुस्तकहरूमा डेरिडाले संरचनावादको आलोचना तथा विनिर्माणवादको व्याख्या गरी समालोचनाको नयाँ आन्दोलनका रूपमा विनिर्माणवादको प्रारम्भ र विकास गरेका हुन् । यसपछि उनको यस सिद्धान्तलाई विभिन्न विद्वान्हरूले ग्रहण गर्दै गएपछि यो युरोप तथा अमेरिकामा पैmलिँदै विश्वव्यापी हुन पुगेको छ ।

उत्तरसंरचनावादअन्तर्गत विभिन्न सिद्धान्त, मान्यता, पद्धति आदि समाविष्ट रहे तापनि यसको खास थालनी विनिर्माणवादबाट भएको हो । विनिर्माणवादलाई उत्तरसंरचनावादको मुटु नै मानिन्छ । त्यसैले उत्तरसंरचनावाद र विनिर्माणवादलाई कसैकसैले पर्यायवाची र कसैकसैले परस्पर विनिमेय शब्द मानेका छन् । यी दुवैमा घनिष्ठ सम्बन्ध भए तापनि उत्तरसंरचनावाद भनेको विनिर्माणवाद मात्र नभई अरू सिद्धान्तहरूको समष्टिसमेत हो ।

२. विनिर्माणवादको प्रवर्तन र विकास
विनिर्माणवादको प्रवर्तन सन् १९६६ मा भएको हो । यसका प्रवर्तक फ्रान्सेली विद्वान् जाक डेरिडा हुन् । यिनले विनिर्माणसम्बन्धी चिन्तनको प्रारम्भिक बीज पूर्ववर्ती दार्शनिक एवं चिन्तक फ्रेडरिक नित्से तथा मार्टिन हाइडेगरबाट प्राप्त गरेको मानिन्छ । नित्सेको यस जगत्मा निर्विकल्प सत्य केही छैन, तसर्थ कुनै पनि व्याख्या अन्तिम हुनसक्दैन भन्ने धारणा तथा हाइडेगरको भाषाले वस्तुको प्रकृतिबारे अनेक कुराको बोध गराउँछ भन्ने धारणाबाट डेरिडा प्रभावित भएका देखिन्छन् । यही आधारशिलामा उभिएर डेरिडाले विनिर्माणवादसम्बन्धी अत्यन्त नवीन तथा व्रmान्तिकारी चिन्तन अगि सारेका हुन् । विनिर्माणवादसम्बन्धी उनको चिन्तनले विभिन्न विषय तथा विद्वान्हरूमा अत्यधिक प्रभाव पारेको छ । यस वादलाई अगि बढाउने अन्य प्रखर चिन्तकहरूमा पौल डि म्यान, जेफ्री हार्टम्यान, जे. हिलिस मिलर र हेराल्ड ब्लुम हुन् ।

डेरिडा तथा उपर्युक्त चारजना येल विश्वविद्यालयका प्राध्यापकहरूले सन् १९७० को दशकमा येल सम्प्रदायको स्थापना गरी विनिर्माणवादी चिन्तनलाई विकासतर्पm डो¥याएका हुन् । सन् १९७९ मा प्रकाशित Deconstruction and Criticism ग्रन्थमा यी पाँचैजना विद्वान्का लेखकहरू सङ्कलित छन् । यसैलाई विनिर्माणवादको येल घोषणापत्र मानिन्छ । यी पाँचबाहेक विनिर्माणवादसँग सम्बद्ध अन्य विशिष्ट विद्वान्हरू युजिनियो डुनेटो, जोसेफ रिडेल, सोसना फेलम्यान, बार्बरा जोन्सन, जेफ्री मेहलम्यान, गायत्री चव्रmवर्ती स्पिभाक आदि हुन् ।

विनिर्माणवादी चिन्तन एवं समालोचनाको विकास निम्नलिखित तीन चरणहरूमा भएको छ ः
(१) पहिलो चरण (१९६६–१९७८) ः स्थापनाकाल— यस अवधिमा विनिर्माणवादी सिद्धान्तको प्रवर्तन र व्याख्या गरी यसलाई संस्थागत रूप प्रदान गरिएको छ ।
(२) दोस्रो चरण (१९७८–१९८२) ः उत्कर्षकाल— यस अवधिमा थप छलफल, व्याख्या, स्पष्टीकरण तथा टिप्पणी गरी विनिर्माणवादसम्बन्धी अनेक ग्रन्थहरू प्रकाशित गरिएको छ ।
(३) अन्तिम चरण (१९८२– पछि) ः विस्तारकाल तथा ह्रास— यस अवधिमा राजनैतिक, धार्मिक, मनोवैज्ञानिक, माक्र्सवादी, नारीवादी आदि विचारधाराहरूमा सम्पर्क विस्तार भएको छ ।
आप्mनै जटिलता, अतिवादिता तथा अन्य नवीन सिद्धान्तको प्रादुर्भावका कारण विनिर्माणवाद सन् १९८० पछि नै ह्रासोन्मुखी भएको मानिन्छ । विनिर्माणवादलाई कसैले अत्यन्त नवीन र व्रmान्तिकारी सिद्धान्त भनेका छन् भने कसैले जटिल, अर्थहीन, आतङ्कवादी, भयावह एवं छिन्नभिन्नकारी सिद्धान्तका रूपमा लिएका छन् ।

३. विनिर्माणवादका मूलभूत मान्यता
विनिर्माणवादका मूलभूत मान्यता, स्थापना वा विशेषताहरू निम्नलिखित छन् ः

(१) शब्दकेन्द्रवादको विरोध
डेरिडाले पश्चिमी परम्परामा शब्दकेन्द्रवाद (logocentrisim) को प्रभुत्व छ भन्ने देखाउँदै यसको विरोध गरेका छन् । शब्दकेन्द्रवाद भनेको शब्दले आपूmभन्दा बाहिरको अर्थ दिन्छ भन्ने धारणा हो । पश्चिमेली सम्पूर्ण विचारधारा, मान्यता, वाद र सिद्धान्तले यस कुरालाई मान्ने हुँदा ती सबै एउटै व्यवस्था अर्थात् शब्दकेन्द्रवादमा बाँधिएका छन् । शब्दकेन्द्रवाद अर्थात् शब्दका पछाडि भाव, विचार वा अर्थ छ भन्नु उपस्थिति (presence) लाई स्वीकार्नु हो । यसलाई उपस्थितिको अध्यात्मवाद (presence of metaphisics) भनिन्छ । डेरिडाले यस शब्दकेन्द्रवादी अर्थात् उपस्थितिको धारणालाई उल्टाएर अनुपस्थिति (absence) वा भिन्नता (difference) को धारणा प्रस्तुत गरेका छन् ।

(२) विभेद सिद्धान्तको प्रतिपादन
उपस्थितिको धारणालाई अमान्य गर्दै डेरिडाले अनुपस्थिति वा विभेद वा भिन्नताको धारणा अगि सारेका छन् । उनका विचारमा भाषिक चिहृनका पछाडि भाव वा अर्थको उपस्थिति नभएर अनुपस्थिति रहेको छ । भाषिक चिहृनको निश्चित अर्थ नहुने हुँदा कुनै पनि पाठको एकदमै मिलेर आएको अर्थ हुँदैन भन्दै यिनले अनिश्चितता देखाई अनुपस्थितिलाई महत्व दिएका छन् । उपस्थितिको अभाव अर्थात् अनुपस्थितिलाई व्यक्त गर्न यिनले नयाँ शब्द (difference) को निर्माण गरेका छन् । फ्रान्सेली शब्द (difference) ले निम्नलिखित दुई भिन्न अर्थ दिन्छ ः
(१) विभेद हुनु, भिन्न हुनु (to differ) यसको तात्पर्य यो जस्तो छ त्यस्तो अर्को छैन भन्ने हो । ढाल र साल शब्दमा पहिलो (ढाल) जस्तो दोस्रो होइन र दोस्रो (साल) जस्तो पहिलो होइन । विभेदको अवस्थिति दिक् (space) मा हुन्छ कालमा हुँदैन ।
(२) स्थगित हुनु, पर सार्नु (to defer) यसको तात्पर्य त्यो पाठमा नभई पर सारिएको वा विलम्बित गरिएको छ भन्ने हो । पाठमा प्रयुक्त ढाल शब्दले रक्षा उपकरण भन्ने अर्थ नदिई अन्य अर्थ (गर्भ निरोधक आदि) दिँदा त्यस्तो स्थितिलाई स्थगन मानिन्छ । स्थगनको स्थिति काल (time) मा हुन्छ, दिक्मा हुँदैन ।

डेरिडाले विभेदका निम्नलिखित तीनवटा विशेषता बताएका छन् ः
(१) भाषाका तत्वहरूमा विभेदका कारण अर्थोत्पत्तिको खेल भइरहन्छ ।
(२) भाषाका उपस्थित तत्वले अर्थ दिन्छन्, तर अदृश्य तत्व अर्थात् अवशेष (trace) ले पनि विभेद स्थापित गरेर अर्थोत्पत्ति गर्छन् । उपस्थितिमा अनुपस्थिति जनाउनु नै अवशेष हो ।
(३) भाषाका तत्वहरूका बीचमा रहने अन्तराल (spacing) लाई विराम वा मौन वा दूरत्वका रूपमा लिइन्छ, तर अन्तरालले पनि अर्थको विभेद र स्थगन प्रव्रिmयामा महत्वपूर्ण भूमिका खेल्छ ।

डेरिडाको विभेदले पहिचान, एकत्व र निश्चयात्मकतालाई पन्छाएर अनुपस्थिति, बहुत्व र अनिश्चयलाई जन्म दिन्छ । पाठको आप्mनै अर्थ नभई विभेदका कारण अर्थको उत्पत्ति हुने हुँदा भाषामा उपस्थित र अनुपस्थितको खेल उत्पन्न हुन्छ । डेरिडाका अनुसार अन्तिम अर्थ सदैव अनन्त स्थगनमा रहन्छ । (an infinite deferral of any final meaning) .

(३) लेख्यकेन्द्रवादको स्थापना
भाषाका क्षेत्रमा शब्दकेन्द्रवादको ज्वलन्त उदाहरण कथ्यकेन्द्रवाद (phonocentrism) हो । कथ्यकेन्द्रवाद भनेको भाषाको कथ्य वा उच्चार्य रूपलाई प्रामाणिक, मूल, महत्वपूर्ण र पूर्ण रूप मान्ने धारणा हो । भाषाको अर्को प्रकार लेख्य रूप हो र परम्परित धारणामा यसलाई गौण, अवास्तविक, अपूर्ण र छायारूप मानिन्छ । डेरिडाले यस मान्यतालाई उल्टाएर कथ्यभन्दा लेख्य रूपलाई बढी महत्व दिई लेख्यकेन्द्रवाद (graphocentrism) को स्थापना गरेका छन् । परम्परित ढङ्गमा भाषाको कथ्य रूपलाई मूल ठानी लेख्य रूपलाई त्यसका ठाउँमा आउने पूरक (supplement) मानिएकोमा डेरिडाले भाषाको उद्गम स्रोत नै लेख्यभाषा हो भनेका छन् । उनका अनुसार लेखन (ecriture) भाषाको उत्पादक हो र सास वा आवाज भाषाको वाहक होइन । लेखन नै अर्थका दृष्टिबाट महत्वपूर्ण कुरा हो र त्यसमा पर्याप्त अवशेषहरू रहन्छन् । अर्थको खोजी यिनै अवशेषहरूका आधारमा गर्नुपर्छ । यसरी उनले परम्परागत कथ्य/लेख्य, मानिस/जनावर, चेतन/अचेतन, वयस्क/बालक, वर्तमान/अतीत, प्रकृति/सभ्यता, पुरुष/नारी, उज्यालो/अँध्यारो आदि द्विचर विरोध (binary opposition) को प्राथमिकताव्रmमलाई उल्टाएर लेख्य÷कथ्य... आदिका रूपमा प्रस्तुत गरेका छन् ।

(४) आलङ्कारिकताको महत्व स्थापन
डेरिडाले भाषाका सबै रूपलाई आलङ्कारिक मानेका छन् । साहित्य मात्र होइन दर्शन, इतिहास, विज्ञान आदिमा प्रयुक्त भाषा पनि वस्तुपरक तथा निश्चयात्मक अर्थ दिने भाषा नभई तिनमा पनि अर्थगत अनिश्चय रहने हुँदा अलङ्कारमयता हुन्छ । तसर्थ साहित्यलगायत वाङ्मयका सबै शाखाहरू उत्तिकै लेखन (writing) र पाठ (text) हुन् । उदाहरणका लागि अर्थशास्त्रमा प्रयुक्त हुने आर्थिक तरलता, राजनीतिको शिशु प्रजातन्त्र आदिलाई आलङ्कारिक भाषाका रूपमा लिन सकिन्छ । रूपक, अतिशयोक्ति आदि आलङ्कारिक भाषाको प्रयोग नभएको पाठ हुँदैन भन्ने डेरिडाको धारणा रहेको छ ।
(५) दोहोरो पठनप्रव्रिmयाको निर्धारण
डेरिडाले कुनै पाठको समालोचना गर्दा दोहोरो पठनप्रव्रिmया अँगाल्ने अवधारणा प्रस्तुत गरेका छन् । पहिलो पठन कृतिको बाहृयतलीय पठन हो । यसमा कृति जस्तो छ त्यसको यथारूप पठन गरिन्छ । दोस्रो पठनप्रव्रिmया कृतिका मुख्य तत्वलाई यताउता सारी त्यसको आधारशिला बदलेर पढिन्छ । यस पठनबाट कृतिगत विभेद, स्थगन, अवशेष आदि स्पष्ट हुन्छन् । डेरिडाले समालोचनाका लागि यी दुवैथरी पठन आवश्यक मानेका छन् । विनिर्माणवादीहरूका अनुसार पाठका मुख्य तत्वलाई उल्टोपाल्टो गर्नु वा वरपर सारेर विस्थापित गर्नु नै विनिर्माण हो । पाठबाहिर कुनै कुराको अस्तित्व नहुने हुँदा पाठबाहिर नभई त्यसभित्रकै तत्वहरूलाई यताउता सार्ने प्रव्रिmया निर्धारण गरिएको हो । विनिर्माणवादीहरूका अनुसार पाठबाहिरका सारा कुरा भ्रमपूर्ण र अस्तित्वहीन हुन्छन् ।

(६) अपव्याख्या र अपपठनसम्बन्धी दृष्टिकोण
पाठको प्रत्येक पठन वा समालोचना अपव्याख्या (misinterpretation) हुने हुँदा विनिर्मणवादीहरूले प्रत्येक पठन अनिवार्यतः अपपठन (misreading) हुन्छ भन्ने मान्यता अगि सारेका छन् । यसको तात्पर्य अशुद्ध वा बेठीक पाठ गर्नु नभएर पठनव्रmममा अनिश्चितता र विचलनलाई स्वीकार गर्नु हो । पाठ र समालोचनाका बीचमा आलङ्कारिकता पस्ने हुँदा पाठात्मकता (textuality) का दृष्टिले साहित्यिक कृति र समालोचनामा कुनै अन्तर हुँदैन, दुवै अपपठन हुन्छन् भन्ने यिनीहरूको मान्यता रहेको छ ।
४. विनिर्माणवादका उपलब्धि र सीमा
(१) विनिर्माणवादका उपलब्धि वा शक्ति
(१) विनिर्माणवादले समालोचनाका सबै परम्परित दृष्टिकोणलाई उल्टाएर सर्वथा नयाँ दृष्टिकोण सामुन्ने ल्याएको छ ।
(२) यसले एउटै पाठको अनेक पठन र व्याख्या हुनसक्ने मार्ग प्रशस्त गरेको छ ।
(३) यसले पाठकभन्दा बढी पाठ र त्यसको पठनतर्पm ध्यानाकर्षण गराएको छ ।
(४) यसको दृष्टिकोण पूरै वस्तुवादी भएकाले यसले विषय वा व्यक्तिको महत्व घटाई पठनको महत्व बढाएको छ ।
(५) यसले पाठको संरचनालाई विखण्डित गर्दैन, बरु यसको संरचना स्वतः विखण्डित छ भन्ने प्रदर्शित गर्छ ।
(६) यसले अर्थ पाठबाहिर नभएर पाठभित्रै हुन्छ र त्यो अनिर्धारित, अनिश्चयात्मक तथा अनुपस्थित वा स्थगित हुन्छ भन्ने मान्छ ।
(२) विनिर्माणवादका सीमा
(१) विनिर्माणवादले समालोचनाको कुनै पद्धति, प्रारूप वा नियम दिएको छैन । यसले प्रारूप वा नियमबद्धता भन्ने कुरालाई अस्वीकार गर्छ । यसले एकातिर ऐतिहासिक, समाजशास्त्रीय, भाषिक आदि यावत् प्रारूपहरूलाई अमान्य गरेको छ भने अर्कातिर आप्mनै प्रारूप पनि खडा गरेको छैन ।
(२) यसले अनिश्चयात्मकतालाई महत्व दिने हुँदा समालोचनालाई अनुपस्थितको घनघोर जङ्गलमाझ पु¥याई अन्तिम छेउ नभेट्टाउने गरी रिङाएको छ ।
(३) यो ज्यादै जटिल प्रकारको सिद्धान्त हो । यसका पारिभाषिक शब्दावली पनि स्पष्ट नभएर अनेकार्थी र जेलिएका छन् ।
(४) यसले विधाहरूलाई भत्काएको छ र विषयको सत्ता समाप्त पारेको छ ।
(५) यसले जुनसुकै (साहित्यिक वा दार्शनिक आदि) पाठको समालोचना गर्दा समान शब्दावलीमा व्याख्या गर्ने हुँदा यसमा यान्त्रिक एकसरताको मात्रा बढी हुन्छ ।

यिनै त्रुटि वा कमीकमजोरीहरूका कारण विभिन्न विद्वान्हरूले विनिर्माणवादलाई अराजकतावादी, आतङ्कवादी, अधिनायकवादी, ध्वंशवादी, अव्यवस्थावादी, भ्रामक, जटिल, अस्पष्ट, अनिश्चयात्मक, मूल्यशून्य÷मूल्यहीन सिद्धान्त भनी तीव्र आलोचना गरेका छन् । यति हुँदाहुँदै पनि विनिर्माणवाद साहित्य–समालोचनाको सर्वथा नवीन दृष्टि हो । यसले पाठको अर्थलाई सहस्र सौन्दर्यछटा भएकी सुन्दरीजस्तो मान्छ र विभिन्न पठनद्वारा ती सबै अर्थ प्राप्त गर्न प्रेरित गर्छ ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 22 जेठ, 2067

लेखकका अन्य रचनाहरु