ट्युमेनको किनारमा

- मणि लोहनी

'ऊ त्यही हो उत्तरकोरिया । जहाँ हाम्रा मित्रहरू पक्राउ परेका थिए ।' चीन र उत्तरकोरियाको सीमामा रहेको ट्युमेन नदीको बीचमा पुगेपछि लाराले भनिन् । लारा अमेरिकी नागरिक हुन् । लामो समयदेखि उनी एक अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थामा कार्यरत छिन् । अहिले उनको क्षेत्र यही हो । चीन र उत्तरकोरियाको सिमाना ।

मानवअधिकार हनन सम्बन्धी रिपोटिङका सिलसिलामा रहेका दुई अमेरिकी पत्रकार लउरा लिङ र युना लिलाई उत्तरकोरियाको सुरक्षाकर्मीहरूले यही ट्युमेन नदीको किनारमा पक्राउ गरेका थिए । अहिले उत्तरकोरियामा बन्दी जीव्ान बिताइरहेका लिङ र लिले आफूहरूले चिनियाँ भूभागबाट नै दृश्य खिचेको बताए पनि त्यसको कुनै सुनुवाई भएन । बरु उल्टो पोङयाङ अदालतले उनीहरूलाई दोषी ठहर गर्दै १२ वर्ष श्रम शिविरमा पठाउने फैसला सुनायो । यी दुवै अमेरिकी पत्रकारले गैरकानुनीरूपमा उत्तरकोरिया प्रवेश गरी अस्वीकार्य काम गरेको पोङयाङ अदालतको फैसलामा उल्लेख थियो ।

यो घट्नाले विश्व्ाभरिका पत्रकारहरूमाझ सनसनी नै फैलियो । प्रेस स्वतन्त्रता र निर्वाध समाचार सङ्कलन गर्न पाउने विश्वव्यापी मान्यतामाथि यो दुःखद आक्रमण थियो । ती दुवै पत्रकार लिङ र लि मानव तस्करहरूले उत्तरकोरियाली महिलामाथि गर्ने दुव्यवहारका बारेमा अनुसन्धान गर्दै थिए ।
पोङयाङ अदालतको फैसलाको तीन महिनापछि अमेरिकी एक संस्थाले दक्षिण एसियाका पत्रकारहरूको टोलीलाई ट्युमेन नदी किनारमा पुर्‍यायो । पाकिस्तान, श्रीलङ्का, भारत र नेपालका पत्रकारहरू सम्मिलित त्यो टोलीमा म पनि थिएँ । र मेरो साथमा थियो, क्यामरामेन अशोक सिलवाल ।

गाढा हरियो, आकर्षक र चीसो देखिने पहाडी खोँचमा अवस्थित ट्युमेन नदीले दुई देश चीन र उत्तरकोरियालाई छुट्याएको थियो तर यहाँको भौगोलिक बनावटले सीमासुरक्षा फितलो लाग्थ्यो ।

उत्तरकोरिया छिर्न हामीलाई अनुमति थिएन । पुलको पल्लो छेउमा पुगेर पाकिस्तानको जीओ टिभीकी उज्मा र मैले फोटो खिच्यौँ । उत्तरकोरियाको पिच छोएको आभाषले हामी तर्सियौँ । यतिखेर लिङ र लि श्रम शिविरमा के गर्दै होलान् ? हामी दौडेर ट्युमेनको वल्लो किनार आइपुग्यौँ । यो कथा लेखिरहँदा अमेरिकी पूर्व राष्ट्रपति विल क्लिन्टनको प्रयासमा ती दुई अमेरिकी पत्रकार छुटे ।
'यही नदी किनारले लोभ्यायो हामीलाई ।' जिङ लि सुनले भनिन्, 'उत्तरकोरियाको यो कुनामा हामीसँग दुःख र अभाव मात्रै छ । चीन हाम्रो लागि स्वप्नदेश हो । त्यहाँ काम र दाम दुवै छ । त्यही भएर उमेरले तन्नेरी नेटो नकाट्दै हामी ट्युमेन तर्न हतारिन्छौँ ।'

'हाम्रो लोभ र हतारले हामीलाई यही ट्युमेनको किनारमा डुबाई दियो ।' जिङ लगभग रोइसकेकी थिइन्, 'अब हामीसँग हाम्रो जीवन रहेन ।' लाराले हामीसँग परिचय गराएकी यी महिलालाई लाराकै संस्थाले उद्धार गरेको रहेछ ।
पहिले त मैले जिङका कुरामाथि विश्व्ाास गरिहालिन् । काठमाडौँका विभिन्न अधिकारवादी संस्थाहरूले महिला र बालबालिकालाई घोकाइघोकाइ रुन र बोल्न सिकाए जस्तो त यो होइन, भन्ने पनि लाग्यो तर जब जिङको आँखामा सत्यताको चीसो स्केच देखेँ तब मलाई विश्वास भयो । पीडालाई जति नै लुकाउन खोजे पनि साना दुई आँखाका किनारमा पीडाहरू प्रष्टिहाल्दा रहेछन् । भएको पीडालाई आँखामा लुकाउनु र नभएको पीडालाई आँखामा देखाउनु कहाँ सकिन्छ र ?

उमेरले ३० ननाघेकी यी महिला सन् २००२ मा उत्तरकोरियाबाट गैरकानुनीरूपमा चीन पसेकी रहिछिन् । उनीजस्ता थुप्रै उत्तरकोरियाली महिला सन् १९९० को दशकदेखि नै त्यसरी चीन पस्दै आएको उनले बताइन् । खाद्यान्न, औषधि र इन्धनजस्ता अत्यावश्यक वस्तुको अभावमा उनीहरू उत्तरकोरिया छोड्न बाध्य भइरहेका रहेछन् ।

'ट्युमेन नदी तरेपछि हामी चीनको एक घरमा आइपुग्यौँं ।' जिङले उत्तरकोरिया छोड्दाको क्षण सम्भिmन्, 'त्यो परिवारले हामीलाई स्वागत गर्‍यो । उनीहरूको कुराले मैले काम पाउँछु भनेर खुसी पनि लागेको थियो ।'
तर काम मिलाई दिनुभन्दा त्यो चिनियाँ परिवारले जिङलाई मानव तस्करको जिम्मा लगाई दियो । तस्करले एक चिनियाँ किसानसँग मोटो रकम लिएर जिङलाई बेचिदियो । जिङले आˆनो इच्छाविपरीत त्यो किसानसँग बिहे गर्नुपर्‍यो ।

'मेरो चिनियाँ श्रीमान् मभन्दा १५ वर्ष जेठो थियो र उसको एउटा खुट्टा चल्दैन थियो । त्यसबेलादेखि नै म उसको दासी भएकी हुँ । उसले भनेको मानेन भने मलाई कुट्थ्यो ।' गुलाफकै पत्रजस्ता पातला जिङका ओठ थरर्र कापेँ ।

घरेलु हिंसा र गरिबीका कारण भाग्ने दसौँ हजार उत्तरकोरियाली महिलाको कथा पनि जिङको जस्तै रहेको लाराले बताइन् । उनले बताएअनुसार महिलाहरू आफैँ चीनसम्म पुग्दा रहेछन् र अपहरणमा पर्दा रहेछन् । चिनियाँ व्यापारीहरू पनि उत्तरकोरियामै गएर त्यहाँका व्यापारीको सहयोगमा केटीहरू फसाउँदा रहेछन् । 'हामीसँग तपाइँको छोरीका लागि सीमापारिको गाउँमा निक्कै राम्रो काम छ । उनले तलब पाउँछिन् र तपाइँलाई पैसा पठाउन सक्नेछिन्' भन्दै झुक्याउँदा रहेछन् ।

महिला बेचबिखनले आक्रान्त मुलुकको म सामान्य पत्रकार । विकसित र शक्तिसम्पन्न भनिएका देशका महिलाहरूका पीडाले स्तब्ध हुन्छु ।
महिला हुनु नै के दोष हो ? विश्व्ाभरिका महिलाका समस्यामा किन यति धेरै समानता ? महिला भनेको के पीडाका पुञ्ज हुन् ? हे दैव, महिलामाथि यति धेरै अन्याय किन ? नेपाल, भारत, पाकिस्तान या ट्युमेनको किनार सबै स्थानका महिलाका पीडा किन उस्तै र एउटै ?

आधुनिक युगको यो दासप्रथाबाट विक्षिप्त महिलाहरूलाई सहयोग गर्दै चीन र उत्तरकोरियाको सिमानामा चार वर्ष बिताइसकेकी लाराले भनिन्, 'व्यापारीले पसलमा सामान सजाएझैँ हुन्छ । महिलाहरूलाई लहरै राखिन्छ ।

उमेरअनुसार मिलाइन्छ । मेकअप र राम्रा लुगामा सजाएपछि मान्छेहरूले मोलतोल गर्न थाल्छन् । सबैभन्दा बढी मोल जसले दियो उसैले रोजेको महिला पाउँछ । ती महिलालाई पहिले तस्करले बलात्कार गर्छन् । त्यसपछि बाँचुन्जेल किन्ने मान्छेको यौनदासी बन्नुपर्छ ।'

'उत्तरकोरिया नर्फकने ?' म जिङलाई सोध्छु ।

'ट्युमेन पार गर्न निक्कै दुःख गरियो र यहाँसम्म आइयो । यहाँ पनि दुःख मात्र पाइयो । फेरि दुख्ख नै लिएर किन फर्किनु ? अब यतै मर्ने' उनले आँसु पुछिन् । आफैँसँग आˆनै भाषामा बोलिन् -सुस्तरी, 'साल्याजुनुङ्गो आन्न साल्याजुनुङ्गो मुग्रेस्सोनिकान् ।'

'के भनेको यो ?' मैले लारालाई सोधेँ ।

'यो जिङको थेगोजस्तै नै हो । आˆनो जीवनका बारेमा बोल्नुपर्‍यो कि उनी सधैँ यसै भन्छिन् । उनको यो कोरियन लबजको अर्थ हुन्छ- हामी बाँचेको नबाँचेको केही थाहा छैन ।'

कस्तो दार्शनिक शैलीको जवाफ । सायद पीडाले मानिसलाई दर्शनको नजिक पुर्‍याउँछ । मलाई यो वाक्य पहिले कतै सुने जस्तो लाग्छ । सम्भिmने कोसिस गर्छु । कोरियाली लवजमा नै मैले यो वाक्य यसैगरि कतै सुनेको छु । एक कोरियाली किशोरीबाट ।

'जिङ, तिमी नेपाल आएकी छौ ?'

'के तिमी नेपाली हौ ?' उनले मलाई सोधिन् । जिङको यो लवजमा म उनलाई ठम्याउँछु, 'हो, म नेपाली हुँ । राप्तीको किनार र उडेका चराहरू याद छ, तिमीलाई ? त्यही चराहरू देखेर एक शीतल साँझ तिमीले वाङलाई सम्झेकी थियौ ।' म रोमाञ्चित हुन्छु, जिङसँगको भेटले । यो कस्तो संयोग ।

'तिम्रो वाङ, कम्पनीमा तिमीलाई काम खोजिदिने वाङ । तिम्रो धनी हुने सपना । मलाई सब याद छ, जिङ ।'

जिङ थरर्र काप्छिन् ।

'तिमी त्यो मसँग नाच्ने झ्याप्पुले केटा हौ ?' उनी डर र खुसीले एकसाथ चिच्याउँछिन् ।

आजभन्दा सात वर्ष अगाडिको समय हुनुपर्छ त्यो । राप्तीको किनारमा एक साँझ हामी सँगै नाचेका थियौँ । त्यतिखेर उनले भर्खरै विद्यालयको पढाइसकेकी थिइन् र स्कुलको छनोटमा परेर नेपाल घुम्न आएकी ।

सौराहामा बेच्न राखेको नेपालको नक्शा भएको टिसर्ट उनले खुब मन पराएकी थिइन् । मैले किनेर लैजाउ न त भन्दा उनले निरीह स्वरमा भनेकी थिइन्, 'मसँग पैसा छैन ।'

'किन ?' मैले सोधेथेँ ।

'म चीनको सीमा नजिकैको एक कोरियाली गरीब किसानकी छोरी हुँ । मसँग पैसा छैन । पढाइ राम्रो थियो र यहाँसम्म घुम्न आउन पाएँ ।'

अघिल्लो रात हाम्रो राम्रो परिचय र दोस्ती भइसकेको थियो । हामी सँगै नाचेका पनि थियौँ तर हिजोको रोमान्टिक स्वरूप आज उनीमा थिएन । उनी अलि भावुक र थकित देखिन्थिन् । एक किसिमको अप्ठेरोपन थियो उनको बोलीमा ।

'बाँच्ने क्रममा गरिबीसँग हामीले ट्युमेनको किनारमा मृत्यु साँटिरहेका छौँ ।' उनी आफैँसँग बोलेकी थिइन्, 'साल्याजुनुङ्गोयो आन्न साल्याजुनुङ्गोयो मुग्रेस्सोनिकान् ।' मैले त्यति नै खेर त्यसको अर्थ सोधेको थिएँ । कोरियन त्यो बोलीको नेपाली अनुवाद यस्तो हुँदो रहेछ- हामी बाँचेको नबाँचेको केही थाहा छैन ।

'तर अब केही महिनामै म धनी हुन्छु ।' उनी केही उज्याली भएकी थिइन्, 'म छिट्टै वाङ लिसँग बिहे गर्दैछु र जोनचुङमा सर्दैछु । त्यहाँ उसले आˆनै काम भएको कारखानामा मेरो लागि काम खोजिदिइसकेको छ ।'

त्यसपछि मैले उनले मन पराएको टिर्सट तीनवटा किनिदिएको थिएँ । एउटा उनको लागि, अर्को वाङको लागि र अर्को एउटा सानो टिर्सट भविष्यमा उनीहरूबाट जन्मने बच्चाका लागि । मेरो दुवै हात उनले 'खाम्सामिदा' भनेकी थिइन् । खाम्सामिदा भनेको धन्यवाद रहेछ । कोरियनहरूले आˆनो पि्रय मानिसलाई धन्यवाद भन्नुपर्‍यो भने दुवै हात समातेर खाम्सामिदा भन्ने गर्दारहेछन् ।

'तिमीसँग यसरी यहाँ भेट हुन्छ मैले सोचेकी थिइन ।' जिङ रुन थालिन्,

'तिमीले किनिदिएको तीनवटै टिसर्ट त्यत्तिकै छ । अहिलेसम्म कसैले लगाएको छैन ।'

'वाङसँग तिम्रो बिहे भएन ?'

जिङ निकैबेर रोइरहिन् । जब रुन छाडिन् । तब उनले धेरै कुरा बताइन् । मानिसका जीवनमा दुःखहरू एकसाथ आउँदा रहेछन् ।

जोनचुङमा सन् २००१ को अन्तिमतिर आएको भीषण पहिरोमा वाङले काम गर्ने गरेको कम्प्ानीलगायत सयौँ घर पुरिएछ र त्यही पहिरोले बगाएछ जिङको प्रेमी वाङ लीलाई.....जिङको सपना र रहरहरूलाई ।

पहिरोले बगेको सपनाको पीडादायी सम्झना लिएर उनी सन् २००२ मा चीन छिरेकी रहिछिन् - काम र माम खोज्दै ।

निकै पछि उनी केही शान्त र स्वाभाविक देखिइन् । बेलुका ट्युमेनको किनारमा बसेर हामीले सँगै कफी पियौँ । उनी मेरो नजिकै आइन्, 'तिम्रो त्यो झ्याप्प्ाुले कपाल खोई त, मणि ?'

'उमेरको पहिरोले बगायो नि, जिङ ।' ट्युमेन नदीमाथि उडेका चराहरू हेर्दै मैले भनेँ ।

बल्ल हाँसिन् उनी- फिस्स ।

तर उनको अनुहारमा त्यो हाँसो धेरैबेर रहेन ।

प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 30 जेठ, 2067

लेखकका अन्य रचनाहरु