‘पाइला छोडेर अस्ताएको घाम’ का रापिला किरणहरू

- शर्मिला खड्का दाहाल

पृष्ठभूमि–
अहिले विश्वसाहित्य लेखन नै विधाभञ्जनको अवस्थामा छ । विदेशी साहित्यको हजारवर्षको पृष्ठभूमिमा हाम्रो साहित्यको शतवार्षिकीलाई वामे सरेको अवस्था मान्न सकिन्छ । विश्वसाहित्यमा देखिएको नयाँ चेतना किनाराचेत वा मार्जिनलता हो जसले धेरै किसिमले छेलिएका, पीडित अवस्थामा रहेका, किनारिएका बारेमा लेखिने नयाँ दृष्टिकोण हो । एक्काइसौं शताब्दीको ग्लोबलाइजेसनले विश्वलाई एउटा गाउँमा परिणत गरेको अवस्थामा नेपाली साहित्यमा यसको प्रभाव पर्छ । विशेषगरी निबन्ध विधा अन्तर्गत पर्ने जीवनी, संस्मरण, नियात्रा आदि गैरेआख्यानका विधाले आख्यानतत्त्वलाई आत्मसात् गरेर नयाँ विधाको रूपमा विकास गर्दै आएको छ । त्यसरी लिने क्रममा आत्मजीवनी साहित्य पर्दछ । विश्वसाहित्यमा आत्मजीवनी लेख्ने परम्परा धेरै अघिको हो । केही आख्यानका तत्त्व मिलेर बन्ने आत्मजीवनी ठुलठुला अन्तर्राष्ट्रिय छवि बनाएका ब्यक्तिहरूको पढ्न पाइन्छ । कतिपय यस्ता आत्मजीवनीहरू विशिष्ट व्यक्तिहरूको मृत्युपश्चात् प्रकाशित भएका छन् भने कतिपयले आफै लेख्ने वा लेख्ने लगाउने पनि गरेका छन् । यसरी लेख्ने र लेखाउनेहरूमा खेलाडी, नेता, राजनेता, कलाकार, संगीतकार र गीतकार र साहित्यकारहरू छन् । हाल सालै भरत भुर्तेलद्घारा लेखिएको राष्ट्रपति रामवरण यादवको आत्मजीवनी पनि प्रकाशनमा आएको छ । हाल नेपाली साहित्यमा आत्मसंस्मरणका पुस्तकहरू निकै आएका छन् । तीमध्ये वीपी कोइरालाको जेलजर्नल लाई प्रमुख मान्न सकिन्छ । किनभने राजनितिज्ञ र साहित्यकारको रूपमा आफूलाई सफल व्यक्तित्वका रूपमा चिनाएका विशिष्ट व्यक्तित्वका धनी वीपी कोइरालाको आत्मलेखन वा डायरीलाई निकै महत्वपूर्ण मानिन्छ, नेपाली साहित्यिक क्षेत्रमा । त्यसपछिका कृतिमा कृष्णचन्द सिंह प्रधानका जिन्दगीका टिपोटहरू, डा. दयानन्द बज्राचार्यको वैज्ञानिकको गोरेटोमा, गणेश रसिकको दसगजामा उभिएर, अम्बर गुरुङ्गको कहाँ गए ती दिनहरू, गोविन्दराज भट्टराईको गोधूलिमा दसपाइला, तुलसी भट्टराईको फडके तर्दातर्दै हुन् । साहित्यिक माहौलमा निकै चर्चा बटुल्न यी पुस्तकहरू सम्पूर्णरूपले आत्मजीवनी भनि हाल्न नमिले पनि यसमा लेखकले आफ्नो जीवनमा भोगेका सुखदुख, सफलता, असफलता, सङ्घर्षका कथाहरू कलात्मकरूपले प्रस्तुत गरेका छन् । मृत्युवोधको चिन्तनमा लेखिएको साहित्यकार जगदीश घिमिरेको आत्मलाप भनिएको अन्र्तमनको यात्रा नेपाली साहित्य उत्कृष्ट पुस्तक मानिन्छ । नेपाली साहित्यमा अधिक चर्चामा मात्र नरही मदन पुरस्कार जस्तो गरिमामय पुरस्कार र उत्तम शान्ति पुरस्कार प्राप्त गरेको छ यस कृतिले । त्यस्तै कृष्ण धरावासीले आत्मजीवनीलाई आधाबाटो शीर्षकमा अनुभवोन्यास भनी प्रस्तुत गरेका छन् । यिनै आत्मसंस्मरण पुस्तकको माझमा अहिले चर्चा गर्न खोजिएको छ राजनीति तथा साहित्य क्षेत्रमा समानान्तर सफलता हासिल गरी राष्ट्रिय व्यक्तित्वको रूपमा स्थापित सक्रिय साहित्यकार प्रदीप नेपालको ‘पाइला छोडेर अस्ताएको घाम’मा ।


विषयप्रवेश–
झन्डै तीन दशक साहित्य र राजनीतिमा आफ्नो जीवनलाई समर्पित गर्ने प्रखर व्यक्तित्व हुन–प्रदीप नेपाल । स्पष्ट वक्ता, चिन्तनशील, सक्रिय र जुझारु व्यक्तित्वको रूपमा उनलाई जति राजनीति क्षेत्रमा पनि चर्चित मानिन्छ त्यति नै साहित्यिक क्षेत्रमा पनि मानिन्छ । नेपाली इतिहासमा राजनीति र साहित्य दुवैलाई अँगालेर विशिष्ट स्थान बनाउनु हुने बहुआयामिक व्यक्तित्वका धनी वीपी कोइराला पश्चात प्रदीप नेपाललाई मान्न सकिन्छ । हुन त यसअघि मोदनाथ प्रश्रितज्यू पनि नेपाली राजनीति र साहित्यिक क्षेत्रमा उत्तिकै सफलता हासिल गरिसक्नु भएको व्यक्तित्व हुनुहुन्छ । साहित्यकारहरूले राजनीतिको भाषा कमले बुझेका हुन्छन् भने राजनीतिज्ञले साहित्यको रस कमले लिन सकेका हुन्छन् । दुवै विधालाई लिएर अघि बढनु र सफलता पनि हासिल गर्नु यो प्रदीप नेपालको व्यक्तित्वको वैशिष्यटता मान्नु पर्दछ । यसरी धेरै राजनीतिज्ञले साहित्यको मर्म बुझिदिने हो भने नेपाली साहित्यले निकै लामो विकासको फड्को मारिसक्थ्यो होला । सायद अहिले महाकवि लक्ष्मीप्रसाद देवकोटा र वीपी कोइरालाको सङ्ग्रालय बनिसक्यो होला । वीपी कोइरालाको नाममा अनेकौँ विद्यालय, अस्पताल, बाटो बने तर उनले डायरी जेलजर्नल लेखिएको सुन्दरीजलको स्थान सङ्ग्रालय बन्न सकेको छैन अझ पुस्तकका संयोजक श्री गणेश शर्मा ज्युले वीपीको पुस्तक छाप्ने बेलामा परिवारले देखाउनु भएको उदासीनताले यो देखाउँछ की नेपालमा साहित्य प्रवुद्धवर्गको हृदयमा नै स्थान पाउन सकेको छैन भने सर्वसाधारणको कसरी पाउँला ? जेलजर्नलमा लेखिएको यो वाक्यांश पदौँ– “शैलजा बाहेक वीपी कोइरालाको जीवनी लेख्ने विषयमा मैले उहाँहरू कसैसँग कुनै सामाग्रीको सहयोग आजसम्म पाएको छैन । त्यस विषयमा कुनै खोजखबर पनि आजसम्म कसैले लिएको छैन । परिवारका अतिरिक्त उहाँको पार्टीको नेताहरू प्नि कसैले कहिले पनि यस विषयमा सहयोग गर्ने आसय पनि व्यक्त गरेनन् ।” हाम्रो देशमा साहित्यको अवस्था यति कमजोर भएको स्थितिमा राजनितिज्ञले साहित्यलाई माया गरेर आफ्नो जीवनलाई डो¥याउँदै लानु नेपाली साहित्यको सौभाग्य मान्नुपर्दछ । यो सौभाग्य प्रदान गर्ने व्यक्ति हुन साहित्यकार प्रदीप नेपाल । वि.स. २०१० साल भोजपुरेको पोखरेमा जन्मेका प्रदीप नेपाल निरकुश राजतन्त्र समाप्त गर्न कटिवद्ध भई लाग्ने महान योद्धा हुन । उनी चिन्तनशील, स्रष्टा, स्पष्टवक्ता, आत्मस्वाभिमानी, सङ्घषर््ाशील व्यक्ति तथा कुशल र अनुभवी राजनीतिज्ञका रूपमा नेपाली जनताबीच आफ्नो मौलिक परिचय बनाइसकेका व्यक्तित्व हुन । उनले वि.स. २०२६ साल देखि सगरमाथा स्वतन्त्र विधार्थी युनियनबाट औपचारिक राजनितिक यात्रा प्रारम्भ गरेका हुन् । राजनितिको प्रारम्भिक चरणमा २०२६ सालमा माक्र्सवाद अध्ययन केन्द्र (काठमाडौँ) को स्थापनामा उनको महत्वपूर्ण भूमिका रहेको थियो । वि.स. २०३२ सालदेखि कम्युनिष्ट पार्टीको पूर्णकालीन राजनितिक कार्यकर्ताका रूपमा रहेर नेपालका विभिन्न जिल्ला र अञ्चलहरूको जिम्मेवारी सम्हाल्दै वि.स. २०३५ सालदेखि नेपाल कम्युनिष्ट पार्टी (माले) को केन्द्रीय संस्थापकसदस्यका रूपमा सक्रिय रहेका थिए । निरङ्कुश पञ्चायती कालमा पटक—पटक जेलजीवन भोग्दै वि.स. २०३३ सालको नख्लु जेलविद्रोहमा पनि निकै चर्चित रहेको उनको राजनितीक जीवन त्याग र सङ्घर्षका कथाले भरिएको छ । उनले आफ्नो लामो र निरन्तर अविश्रान्त राजनीतिक जीवनमा तत्कालीन नेकपा (माले) र पछि नेकपा (एमाले) को केन्द्रीय नेतृत्वमा रही देश र जनताको मुक्ति र आत्म सम्मानका लागि जिम्मेवारीपूर्ण दायित्व वहन गर्दै आएका छन् । बि.स. २०४२ साल देखि काठमाडौं उपत्यकाको राजनीतिमा केन्द्रित प्रदीप नेपालले उपत्यका विशेष प्रमुख पिपुल्स भोलेन्टियर्सका महानिर्देशक, प्रचार विभाग प्रमुख, स्थानीय निकाय विभाग प्रमुख जस्ता पार्टीगत जिम्मेवारीका अतिरिक्त वि.स. २०४८ साल देखि वि.स. २०५८ सालसम्म दुइ पटक राष्ट्रि«य सभा सदस्य तथा संसदीय दलको सचिवका रूपमा विशेष भूमिका निर्वाह गरेका छन् । त्यस्तै उनी वि.स. २०५१ देखि वि.स. २०५२ सम्म सूचना तथा सञ्चार र जलस्रोत मन्त्री बनेका छन् भने वि.स. २०५५ देखि वि.स. २०५६ सम्म जलस्रोत र स्वास्थ्य अनि वि.स. २०६३ देखि वि.स. २०६५ सालसम्म शिक्षा तथा खेलकूद मन्त्री भई राष्ट्रको राजनितीमा सक्रिय भई सेवा गरेका छन् ।

राजनीति क्षेत्रमा आफ्नो विशेषस्थान बनाउनु हुने प्रदीप नेपालको नेपाली साहित्यलाई झण्डै डेढ दर्जन कृति समर्पित गरेका छन् । उनका आख्यान विधा अन्तर्गत खुइते कडेरिया (२०४), मुक्ति(२०४७) पार्टीको आमा (२०४२), देउमाईको किनारमा (२०४७), नओइलाउने फूल (२०४५), पूर्वतिर (सन.१९८७), बुङ्ग्लाका साँझहरू (२०४६) आकाशगंगाको तीरैतीर (२०५६), नन्दीता (२०५६) एक्काइसौं शताब्दीकी सुम्निमा (२०५८) दुर्गा हजुरआमाको भूत –बालउपन्यास–२०६१) स्वप्तिल सहर (२०६३), अनौठो प्रेमकथा (२०६३) उपन्यास छन् । त्यस्तै कथासङ्ग्रहमा सूर्यमानको कथा शृङ्खला (२०४९) कथाभित्रका नारी अनुहारहरू ( २०४७ ) परोपकार यात्रा (२०५०), बेचिएका चेलीहरू (२०४८), धरहराको सहर (२०६२) बाधमारेको लालसलाम (२०६४) छन् । सस्मरण सङ्ग्रहमा इलामको तारा (सन १९८६) मुक्त आकाशको खोजी (चारभागमा) छन भने नियात्रा सङ्ग्रहमा अमेरिका बास मातृभूमिको सम्झना (२०६१), बाल्यकालीन सस्मरण (२०६२), नेपालको जङ्गल (२०६२) छन् ।

अन्य फुटकर रचनाहरू र पत्रपत्रिकाको सम्पादनबाट उनको साहित्यप्रतिको लगनशीलता देख्न सकिन्छ । आफ्नै ओजस्वी व्यक्तित्व बोकेका प्रदीप नेपालले पाइला छोडेर अस्ताएको घाम मा नितान्त निजात्मक भावव्यक्तिलाई विभिन्न घटनाहरूमा जोडेर संस्मरणको रूपमा प्रस्तुत गरेका छन् । यो कृति पढदै जा“दा बामपन्थी आन्दोलनताका गरिएका विभिन्न घट्नाहरू यथार्थबोध र तिनीहरूको संगति र विसंंगतिलाई नजिकबाट हेर्न, छाम्न र बुभ्mन सकिन्छ । ती घटेका सत्य घटनालाई उनले साहित्यिक जलप लगाई दिएर अझ जाज्ल्यमान बनाइदिएका छन् । सत्यका ती रापिला रापले कतिपय ठाउँमा पाठकको अन्र्तचक्षु नै घरमराउन पुग्छन् । यसलाई लेखकको विशेष साहित्यिक प्रतिभा मान्न सकिन्छ । राजनीतिसँग मिसिएका ती सत्य घटनाहरू लेखक निर्भीक भई पाठकलाई चलचित्रझँै आँखा अगाडि नचाउन सफल भएका छन् । कतै पनि आफूलाई नढाँटी आफ्नो स्वभाव अनुसार निर्भीक भई अझ साहित्यिक हृदय खोलेर राम्रालाई प्रशंसा गरेका छन् भने नराम्रा कामप्रति निराशा व्यक्त गरेका छन् । प्रत्येक पाठ पढ्दा घन्द्रुक बजारबाट अन्नपूर्ण हिमाल छर्लङ्ग देखिएझैँ देखाएका छन् ।

राजनीति विसंगतिबाट ग्रस्त भई कतिपय छोपिएका सत्य घटनाहरूको लेखकले यहाँ उद्घाटन गरेका छन् । जुन किनारिएका सत्य कथाहरू यहाँ उद्घाटन गरिएको छ त्यसलाई विश्वसाहित्यमा चलेको मार्जिनलता हो भन्न सकिन्छ । सानो घटनाबाट कम्युनिष्ट राजनीतिको इतिहास खोतल्न सक्नु अथवा सानो दृश्यबाट विराट राष्ट्रि«य तथा अन्तर्राष्ट्रिय अवस्थाको चर्चा गर्न सक्नु लेखकको ठूलो वैयक्तिक प्रतिभा मान्नु पर्छ । केही सामान्य घटनाका शीर्षकबाहेक प्रायजसो शीर्षकका लेखले पाठकलाई चुम्बकीय शक्तीले तानेझै तानिरहन्छ । वाल्यकालदेखि वयस्क हुँदै अहिलेसम्म जीवनले भोगेका महत्वपूर्ण पक्षलाई उनले अत्यन्त साहित्यिक गीतिमयता, कलात्मकता र हार्दिकताका साथ प्रस्तुत गरेका छन् ।
भूमिकामा वरिष्ठ समालोचक डा. गोविन्दराज भट्टराई भन्छन् – ‘यो आत्मजीवनीका अनेक अंशले, आत्मस्वीकृतिका कोलाजहरूले निर्मित सुन्दर सङ्ग्रह हो । राजनीतिक चेतनाले निर्मित दर्शन गहिरो छ, तर यसलाई साहित्यिकताले डोमिनेट गरेको छ, तर परिष्कृत लेखन शक्तिले, साथै विचारले पनि थिचिरहन्छ । राजनितिक विचारले सञ्चालित धेरै मानिसमा कट्टरता अधिक हुन्छ र ती अन्यप्रति असहिष्णु हुन्छन्, वैचारिक मान्यताप्रति आहिष्णु हुन्छन् । तिनीहरूको साहित्यप्रति एक थरीको लागि मात्र पठनीय लाग्छ, तर प्रदीप नेपालको उदारतामा त्यो सीमा छ्रैन, त्यसैले यो सबैको निम्ति एक उदाहरणीय पाठ हो । यसमा इमान्दारिता छ– आफ्ना भुल, त्रुटि र ग्लानिबोध छन् , भाँचिएका आकाङ्क्षा र अपसोच यथावत छन्, आफूले भोगेका बञ्चना र दुःख सास्तीहरू यथावत छन् , आफ्नो धरातललाई कुनै आडम्बरले नछोपी राखिएको छ । भित्रभित्रै लेखकको मन एक परिपक्क जीवन जगतका अनेक रहस्यतिर फर्केर हेर्ने भएको छ ।’

उनी सर्वत्र जडताको विरुद्धमा छन्, निरन्तरता गतिमयता र उदारताको पक्षमा छन् । उनी अहिंसाका पुजारी छन् त्यसैले माओवादीका कतिपय विचारप्रति असहमति जनाउँदै उनले आफ्ना विचार पोखेका छन् । विशेषगरी उनी राजनीतिक विचारमा स्पष्ट वत्ताको रूपमा प्रस्तुत भएका छन् । आफ्नो जीवनको महत्वपूर्ण समय राजनीतिमा होमेका उनी स्पष्ट वत्ताको रूपमा ठाउँठाउँमा अब आउने नयाँ राजनीतिक युवा पुस्तालाई नौला र चाखलाग्दा घटनाका साथै विचारहरू पस्केका छन् । साहित्यिक स्वादसँगै उत्खनन् गरिएका सत्यका तीता कथाहरू धेरैको लागि प्रेरणादायी, वोधगम्य हृदयस्पर्शी र मार्मिक हुन पुग्छ । वि.स. २००७ सालमा ल्याएको प्रजातन्त्रको घाँटी वि.स. २०१७ सालमा राजा महेन्द्रले निमोठे पछि गाउँगाउँबाट जनचेतनाको लहर बग्न थालेको थियो । त्यस लहरमा कम्युनिष्ट विचारधारा बोकी उनी पूर्वी पहाडी इलाकामा देश र जनताको लागि आफ्नो ज्यानको माया नगरी होमिएका थिए । त्यसबेलाको भूमिगत लडाईमा उनले गरेका साहासिक कार्यको र आफूले गर्न नसकेको कार्यहरूको पनि स्पष्ट वत्ताको रूपमा कथाकारले कथा भनेझै वर्णन गरेका छन् । उनी भन्छन् – त्यसबेला कुनै पद लिनु भनेको ठूलो जिम्मेवारी वहन गर्नु थियो तर अहिलेका कामरेडहरूले पद लिनु भनेको आइडीकार्ड बनाउनु हो । भनेर अहिलेको विसँगति र विदु्रपताग्रस्त राजनीतिलाई झटारो हान्न पुग्छन् । उनका यस्ता झटाराहरू अस्ताउन लागेको घामले छोडेका रापिला किरणझँै लाग्छन् । यस पुस्तकका यस्तै रापिला किरणहरूको विशेषता केलाउदै मैले चारवटा विचारखण्डमा राखेको छु । जसरी सूर्यको प्रकाशले सन्ध्या, मध्यान्ह, साँझ र रात्रिको यात्रा गर्छ त्यस्तै उनका यी सस्मरणहरूले यात्रा गरेका छन् । तिनलाई निम्नानुसार मैले राखेको छु –

१) नितान्त वैयक्तिक भावव्यक्तिले भरिएको निजात्मक सस्मरणले भरिएका स्तम्भहरू – यस स्तम्भमा निम्नानुसारको शीर्षक छन् – मेरो बदरीनाथ यात्रा, अब नेपाली आमासँग भेट हुदैन, कस्तो थाहा नपाइदो रहेछ, लेखक र नेतामा रुमाल्लिएको परिचय, उदास यात्राको रमाइलो समाप्ति, खाटा उक्किएको मनको घाउ, माल्दिप्समा पानीको अनिकाल, नमिल्दो हवाइयात्राको कष्ट, बाइसवर्षपछि सयपत्री फक्रिदा, भुटानी शरणार्थी होइनन् दशैको शुभकामना, होलीको दुखद सम्झना, आफ्नो खासै परिचय नदिनु है । यस स्तम्भमा नितान्त वैयक्तिक विचारधाराहरू कतिपय ठाउँमा यात्रासँगसँगै र कतिपय ठाउँमा विना यात्रा नै प्रस्तुत गरिएका छन् । पुस्तकको पहिलो शीर्षकमा रहेको बदरीनाथ यात्रामा रोमाञ्चकारी यात्रा सँगसँगै लेखकले आफ्नो बाल्यजीवनको संस्मरण कलात्मक पाराले व्यक्त गरेका छन् । यो शीर्षकमा पाठकलाई बदरीनाथको यात्रासँगै आफ्नी सानीमा भेटाउन पुग्छन् । नेपालको बराह भगवानको महत्व कति रहेछ भन्ने कुरा उनले बदरीनाथ पुगेर विभिन्न तीर्थयात्रीहरूसँग भेट हुँदा थाहा पाउँछन् । जब पाठकले यो कुरा थाहा पाउँछ उनको अभिव्यक्ति कलाले पाठक स्वयम् झस्कन पुग्छ । नजिकको तीर्थ हेला भन्ने उखान चरितार्थ हुनपुग्छ । त्यस्तै उनले बदरीनाथमा आफ्नी सानीमा जसलाई उनको आमाले जन्मबित्तिकै छोरो मर्छ भन्ने त्रासले काखमा सुम्पेकी हुन्छिन् उनीसँग एकतीस वर्षमा भेट हुनु एउटा रोमाञ्चकारी क्षण हुन पुग्छ । यो स्तम्भ कतै कथा, कतै नियात्रा र कतै संस्मरण जस्तो लाग्छ । भाषिक कलात्मकताले भरिएको उत्कृष्ट नियात्रा मान्छु म यसलाई । त्यस्तै अब नेपाली मातासँग भेट हुँदैन मा तिनै सानीमा बदरीनाथमा नेपाली माताको नामले निकै ख्याति आर्जन गरेको र उनको मृत्युहुँदा भारतीय समाचारपत्रमा छापिएको तर नेपाली पत्रपत्रिकाले कुनै टिप्पणी नगरेको दुखेसो लेखकले पोखेका छन् । यहाँ लेखक अलिकति राष्ट्रियता, अलिकति आत्मीयताले दुखेको पाइन्छ । त्यस्तै नास्तिक विचारधारा अँगालेका उनी आफू ईश्वरको अस्तित्व नस्वीकार्ने विचार प्रष्टसँग राखेका छन् । भुटानी शरणार्थी होइनन् शीर्षकमा उनले भुटानीहरू नेपालबाट ससम्मान झिकाएर लगिएको र अहिले मानवीय दुव्र्यवहार गर्दै लखेटन नहुने विचार प्रष्टसँग राखेका छन् । इतिहासको मितिसम्म उल्लेख गरिएको यो लेखमा लेखिका शुशीला मानन्धर फिसरले भुटानी शरणार्थीको बारेमा लेखेको पुस्तकको चर्चा गरेका छन् । त्यस्तै भेषबहादुर थापाले भुटानी शरणार्थी समस्याको नेतृत्व लिई थिम्पु गएको प्रसङ्गलाई राष्ट्रियतामाथि लागेको अपमानको प्रश्न चिन्ह खडा गरेका छन् । बाइसवर्ष पछि सयपत्री फक्रिदामा दिल्लीमा उपचारको क्रममा नेपाली कलाकारले दिल्लीको कमानी अडिटोरियममा प्रस्तुत गरेको कलाकारिताबारे प्रशंसा गरेका छन् । एउटा साहित्यकारको हृदयलाई कलाको भाव र अनुभुतिले कसरी ढाक्दछ र राष्ट्रियताका भावानुभुतिका छालहरू कति हृदयस्पर्शी हुन्छन् भन्ने कुरा हृदय खोलेर देखाएका छन् । राष्ट्रियताले पोलेको हृदयले बोलेका छुरा जस्ता कुराले पाठकको हृदय घोचिरहन्छ । दसैको शुभकामनाको नयाँ अनुरोध शीर्षकमा माओवादीले आफूलाई जनयुद्धमा होमेकोे र त्यसबाट समाजमा घटेको विभिन्न हृदयविदारक दृश्यहरू उपस्थित गराएका छन् । त्यसबेलाको शाही घोषणाले देशको राजनीतिमा प्रतिकुल असर पारेको कुरा र जनताहरूको पीडा आफ्नो कलमले उजगार गरेको कुरा व्यक्त गरेका छन् । कठै ती दिन गैगएमा उनले आफ्ना पुराना रमाइला दिनहरूको संस्मरण गरेका छन् । त्यो बेलाको गाउँघरको रहनसहन आत्मीय भावहरू कसरी प्रकट हुन्थे भन्ने देखाएका छन् । बढ्दो शहरीकरण र समाजमा देखिएको विसँगतिपूर्ण व्यवहारले उनी फतक्क गलेका देखिन्छन् । ती दिनका कष्टपूर्ण क्षणहरूपनि कति रमाइला र रोमाञ्चक थिए भन्ने कुरा आफ्नो स्मृतिको क्यानभासमा कलात्मक पाराले भरेका छन् ।

उदासयात्राको रमाइलो समाप्तिमा राजनीति जोडघटाउले एउटा स्वामिमानी लेखक विरक्तिएर लामो यात्रामा हिडेको यथार्थ छ । यसमा काठमाडौदेखि कुतिको यात्रामा भएका घटना र ठाउँविशेषको विशेषताहरू व्याख्या गरिएका छन् । यात्रा सस्मरणझँै सलल बग्ने यो लेखमा ठाउठाउँमा राष्ट्रियताले लेखकलाई पछ्याइरहेको पाइन्छ । कुती खासाको यात्रा सँगसँगै ठाउँठाउँमा भेटिने यात्राका साथी र घटनाहरूको वृतान्त सलल खोला बगेझैँ बगेका छन् । कस्तो थाहै नपाइँदो रहेछ मा लेखकले आफ्नै गाउँठाउँमा माओवादीले जनवादी रेडियो कार्यक्रम संचालन गरेको कुरा थाहा पाउँदा अचम्म मानेका छन् । लेखक र नेतामा रुमाल्लिएको परिचयमा लेखकले देशको पूर्वीक्षेत्रमा यात्रा गर्दा आफ्नो परिचय लेखक र नेतामा दुवैमा भएको प्रसङ्ग सस्मरणको रूपमा व्यक्त गरेका छन् । जलवायु परिवर्तनले मालदिप्स र नेपाललाई धेरै असर पारेको छ । मालदिप्सको सानो टापुमा अवस्थित देशको धेरैजसो भाग पानीमा डुबिसकेको छ भने नेपालको हिउँ नै हिउँले ढाकेको हिमाल नाङगै भइसकेको छ । लेखकले यस लेखमा आफू खेलकुद मन्त्री भएको बखत मालदिप्समा खेलाडीहरू लिएर गएको प्रसङ्ग राखेका छन् । देशको प्रतिनिधित्वरूपमा गएको भएपनि आफूले नजानेका कुरा र नसकेका कुरा सस्मरणको रूपमा जस्ताका तस्तै राखेका छन् । उनी एकठाउमा भन्छन् – शिक्षा मन्त्रालयमा नै अङ्ग्रेजी शब्दको सङ्क्षेपीकरणले मेरो सातो लिएको थियो । ओलम्पियालीले त मेरो मनमा भुइचालै ल्याइदिए । नढाँटी भन्नु पर्छ मैले व्यान्डोज पुग्नुअघि मैले त्यस्ता शब्द कतै सुनेकै थिइनँ । एकछिन मेरै अङ्ग्रेजी ज्ञानप्रति अविश्वास जाग्यो मभित्र, सोधौ खेलकूद मन्त्री नसोधौ लाटाले पापा हेरे जस्तो हुने । यस लेखमा मालदिप्सबारे धेरै कुरा थाहा पाउन सकिन्छ । पढ्दा रोचकलाग्ने यो लेखमा यात्रा संस्मरणसँगै रोचक जानकारीहरू छन् ।

खाटा उक्किएको मनको घाउ यो पुस्तकको. अन्तिम लेख हो । यो लेखमा लेखकले आफ्नो हृदयमा लागेका घाउ सविस्तार व्याख्या गरी यसका पीडाहरूलाई पत्रैपत्र गरी उक्काएका छन् । यो लेख पढ्दा एउटा स्वाभिमानी देशभक्तको हृदयपनि लेखकसँगै दुखिरहन्छ । जसले आफ्नो जीवन राष्ट्र«, पार्टी र जनतामा सुम्पिएर आफू रित्तो भएको छ उसलाई सरकारले गरेको सहयोगको केही रकमलाई भष्ट्राचार गरेको भनी अपब्याख्या गर्नुलाई मार्मिक पाराले आफ्नो वेदना पोखेका छन् । यहाँ लाखौ करोडौको भ्रष्टाचार हुन्छ । जुन कुराप्रति सरकार उदासिन हुन्छ तर एउटा राष्ट्रसेवकले केही रकम उपचारको लागि सुविधा लिदा विभिन्न प्रपोगण्डा मच्चाइन्छ । यस लेखमा लेखकले यिनै कुरा राखेका छन् । लेखकलाई ब्रेन ट्युमर जस्तो खर्चालु र खतरनाक विमार लागेपछिका घटनाहरू यहाँ सविस्तार व्याख्या गरिएका छन् । रोगको निदानका लागि गरिएका प्रयास र तनावका घटानाहरूलाई लेखकले एकएक वटा पीडाको पत्रबनाई उप्काउँछन् । लेखकले आफूसँग पाठकलाई पिडीत बनाउन पुग्छन् । यति ठूलो रोग लागेको बेला सरकारले उपचार खर्चको रूपमा दिएको छ लाख साठी हजार रूपैयालाई भष्ट्राचारको रूपमा प्रयोगण्डा मच्याउदा लेखक विमारले भन्दा नेपाली अव्यवस्थित र गैर जिम्मेवारी सस्कारले अझ बढी विमार भएको मामिर्क लेखनले पाठकलाई नै विमारी बनाउन पुग्छन् । यो लेखमा नेपाली सरकारी प्रवृत्ति र उपचारका विभिन्न घटनासँग पाठक साक्षात्कार हुन पाउँदा रोमाञ्चक र मार्मिक भावका कुहिराले पाठकलाई ढाकिरहन्छ ।

२) राजनैतिक विचारधाराबाट अभिप्रेरित भावव्यक्ति र कम्युनिष्ट आन्दोलनको इतिहास बोकेका सस्मरणहरू –लेखक प्रदीप नेपाल जीवनको महत्वपूर्ण समय कम्युनिष्ट आन्दोलनमा होमेका छन् । त्यसैले पनि यस पुस्तकका धेरै जसो स्तम्भहरूमा उनले माक्र्सवादी चिन्तनलाई कसरी चिने अनि पार्टी, देश र जनताप्रति गरिएको निष्ठा, त्याग, बलिदानका प्रसङ्गहरूको चर्चा गरेका छन् । धेरैजसो स्तम्भहरू विस्मृतको गर्तमा भासिएका कम्युनिष्ट आन्दोलनका ऐतिहासिक प्रसङ्गहरू उल्लेख गरिएका छन् । राणाकालीन शासनले पोषित सामन्ती संस्कारका विरुद्ध उठेका आवाज र तिनलाई दबाउन गरिएका निर्मम अपराधिक घटनाहरू यहाँ उत्खनन गरिएका छन् । यस्तै तीतो सत्यका घटनाहरू जुन इतिहासमा नकोरिएका तथ्यहरू उल्लेख गरेका छन् । कम्युनिष्ट, आन्दोलनको इतिहासले लेख्न नसकेकोमा लेखक यहाँ आफ्नो पार्टीको कमीकमजोरीहरू सर्जन डाक्टरले चिरफार गरेर देखाएझै देखाएका छन् । कम्युनिष्ट पार्टीभित्र भएको विसँगति र विकृतिले माओवादी विचारधारालाई सहयोग गरेको कुरा गरेका छन् । कम्युनिसट आन्दोलनताका आफ्नो हृदयमा अविस्मरणीय बनाई कारेका तीतो सत्य हो – माओवादी युद्धमा थैले खत्रीको सम्झना । थैलो खत्री पंचायतीकालमा सामन्त विरुद्ध आवाज र हतियार उठाउने वीर योद्धाको नाम हो । ऊ आफू कम्युनिस्ट भएको र सामन्त विरुद्ध हतियार उठाएको कुरा गर्दथ्यो । जसले गर्दा ऊ प्रशासनको आँखाको कसिगर भयो । निर्मम यातना दिइ उसलाई मारिएको थियो । यस्ता कतिपय वीर योद्धाको जीवन गाथा इतिहासमा नकोरिई भेटिएका होलान् । यदि लेखकले जेलमा एकजना भोजपुरको कैदीबाट यी सबकुरा थाहा नपाएको भए थैले खत्रीको इतिहास भोजपुरको पिखुवा खोलामा पानी सँगै बगेर जान्थ्यो होला । तर लेखकले बाल्यकालमा थैले खत्रीलाई देखेको र बुवाआमाबाट चर्चा सुनेको र कैदीबाट पनि थाहा पाएपछि वीर सहिद थैले खत्रीलाई जसलाई नरबहादुर खत्री पनि भनिन्थ्यो उनको जीवनीलाई अमर बनाएका छन् । आज थैले खत्री जस्तै धेरै वीर सपूतले आफ्नो ज्यानको बाजी लगाएर सामान्तीको विरुद्ध आवाज उठाएको हुनाले नै देशमा लोकतन्त्र आएको छ । थैले खत्री शारीरिक रूपले मात्र वीर नभई बौद्धिक रूपले पनि उनका विचारहरू महान थिए । भन्ने कुरा लेखकले लेखेका यी गद्यासबाट थाहा पाउन सकिन्छ –

मेरो पिताजी भन्नुहुन्थ्यो– “ज्याद्रो थियो थैले गाउँबाट जिम्दार जति सबैलाई उठी बास लायो । राजै गरेको थियो तेवारी भन्ज्याङउता पुलिसलाई त ढिमिकनै दिदैनथ्यो । सेनाले पनि लडाई जित्न सकेन । आखिरमा सरकारले उसकै सासूलाई किनेर झुक्याएर पक्राउ ग¥यो । साह्रै सज्जन थियो त्यो । कम्युनिस्ट पार्टीको मान्छे हुँ बाजे म, सजिलै ढल्दिनँ भन्थ्यो । जेलको हल्दारले दुइटा ढुङ्गा टाँड पार्न लाएर, पाखुरामा बुटले हानेर हात ठनक्कै भाचिदिदा पनि त्यसले ऐया भन्न मानेन । हामीले मलमपट्टी गरायौ । हवल्दारलाई कारवाही गर्ने कुरो पनि चलेको थियो , तर थैलेले प्रतिशोधको झिल्को पनि देखाएन । फराकिलो छाती भएको मान्छे थियो त्यो । आफूलाई पक्राउनेलाई पनि सराप्न मान्दैनथ्यो । गरिब मान्छेले कुरा बुझेन भने यस्तै हुन्छ, ठालुहरूले हाम्रो समाजलाई चुसेर जर्जर बनाएको छन् भन्थ्यो । मेरो लडाई सामन्तसँग हो, तिनको बहकाउमा परेका गरिबसँग होइन भन्थ्यो ।”

यस स्तम्भमा लेखक थैले खत्रीको वीरगाथा सँगै माओवादीको जनयुद्धप्रति असहमति प्रकट गर्छन् । उनी माओवादीले माक्र्सवादको चर्को भाषण गरेर अमाक्र्सवादी भएको चर्चा गर्छन् । मान्छे मारेर विचार मर्दैन भन्ने उनको भनाई रहेको छ । उनी अन्त्यमा आफ्नो विचार यसरी राख्छन्– “अहिलेका माओवादी पार्टीका महान नेता भन्दा हाम्रो गाउँको थैले खत्री मै विचारको शुद्धता थियो, क्षमाको फराकिलो छाती थियो । आफ्नो हात ठनक्कै भाँिचिदिने हल्दालाई धनीकन छोरा रहेछौ भने रमाउला, गरिबको छोरा रहेछौ भने पछुताउला भन्दै प्रतिशोधको सानो सङ्केतसम्म नदेखाउने थैले खत्रीका अघिल्तिर अहिलेको सिङ्गो माओवादी जनयुद्धको कमान्डरहरू जनताका सन्दर्भमा अर्थहीन एवम् प्रयोजनहीन देखिन पुग्छन् ।” त्यस्तै वीरगाथाले भरिएको शक्तिशाली स्तम्भ रहेको छ– नबिर्सने सम्झनाहरू । यस स्तम्भमा लेखकले आफू कम्युनिस्ट आन्दोलनताका पूर्वमा गरेका गतिविधिहरूलाई कलात्मक ढङ्गले उनेका छन् । प्रत्येक घटनालाई विचारसहित क्रमबद्ध रूपमा फूललाई उनेर माला बनाएझँै बनाएका छन् । अन्त्य त्यो पवित्र संस्मरणात्मकरूपी मालालाई निरकुश सत्ताबाट निर्ममतापूर्वक हत्या गरिएका कम्युनिस्ट आन्दोलनका महान योद्धा इलामका सहिद रत्नकुमार वान्तवाप्रति सहृदय श्रद्धाले समर्पित गरेका छन् । थैले खत्री झै देशभक्त रत्नकुमार कम्युनिस्ट आन्दोलनताका प्रशासनबाट मारिएका थिए । जसको मृत्युलाई पार्टीले नै धेरै गम्भीरतापूर्वक लिएको थियो । साँच्चै भाषा र सँस्कृतिका नै दरिलो खम्बा थिए रत्नकुमार वान्तवा । त्यस्तै उनको मातृभाषप्रति प्रेम, समाजप्रति स्नेह र महान् जीवन दर्शन बोकेका व्यक्ति थिए । अन्त्यमा उनी रत्नकुमार वान्तवाप्रति यी श्रद्धासुमन चढाउछन्– “रत्नकुमार वान्तवाले इमाङमा आफ्नो शरीर त्याग्नुप¥यो । देउमाईको शिरले उहाँकोे जन्म देख्यो, देउमाईकै पुछारले उहाँको निधन भोग्यो । निरङ्कुशतन्त्रका गोलीहरूले उहाँलाई त्यहीँ लडाए । वान्तवाको अपमान होस् भनी पञ्चायती शासकहरूले स्यालले खोस्रिएर उहाँको लासलाई छताछुल्ल पार्न सकोस् भनेर सिहंबाहिनीमा लगेर गाडेजस्तो गरेका थिए । त्यतिबेला इलाम बजारमा सङ्गठित नौजवान स्याहारेको थियो र राता फूलका गुच्छाहरूले श्रद्धाञ्जली दिएको थियो । त्यतिबेला शासक वर्गका लागि श्रद्धाञ्जली पनि वर्जित भैदियो । दमन भयो, तर सङ्घर्षशील चेतनामा उनिएका युवाहरूले त्यो दमनलाई चिरे । दमन र प्रतिशोध सँगसँगै राष्ट्रव्यापी आन्दोलन चर्कियो । क्षणलाई क्रमबद्ध रूपमा रोमाञ्चक ढङ्गले प्रस्तुत गरेका छन् । राजनैतिक इतिहासमा झापाको कम्युनिस्ट आन्दोलनलाई महत्वपूर्ण रूपमा हेरिन्छ । कम्युनिस्ट आन्दोलनताका झापामा भएका हत्या पक्राउ र कठोर यातनाले आन्दोलनलाई अझ चर्को बनाएको थियो । लेखकले झापाको आन्दोलनमा एउटा कर्तव्यनिस्ट जुझारु र अनुशासित भएर आन्दोलनको भूमिका गहनरूपमा पूरा गरेको सस्मरण पञ्चघाटको श्रद्धाञ्जली स्तम्भमा पोखरेका छन् । त्यसताका निरकुश पंचायती शासनले सुखानी जङ्जगमा वीर सहिदहरू सोमनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठलाई निर्ममतापूर्वक हत्या गरेको प्रसङ्ग उठाएका छन् । सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै लेखकले आफू अत्यन्त भावुक भएको भावहरू पोखेका छन् । पुस्तकका अधिकांश स्तम्भमा लेखकका राजनैतिक संस्मरणहरू यत्रतत्र छरिएको पाउँछौ । राजनीतिमा भूमिगत भएर गरिएका साहसिला कामहरू, अविस्मरणीय क्षणहरू ऐतिहासिक दस्तावेज भएर लेखकको हृदयमा मात्र बाँचेका छैनन् पाठकको मस्तिकभरि छाउन सफल भएका छन् लेखक । त्यस्तै राजनीतिमा लाग्दा भूमिगत रूपमा काम गर्दा आफूसँग अत्यन्त निकट भएका मित्र वासु शाक्यको जीवनकथालाई उनले दुःखैदुःख को उपन्यास–वासुशाक्यमा जीवित बनाएका छन् । जीवन युद्ध हो । यहाँ हार र जीत भइरहन्छ । जीवन जीत्नेको मात्र होइन हार्नेको पनि हो भनेर कुनै दार्शनिकले भनेका छन् । त्यस्तै जीवनको युद्ध हार्ने व्यक्तिको नाम हो –वासु शाक्य । कम्युनिष्ट आन्दोलनमा लागेर लामो समयसम्म भूमिगत भएका मित्र वासु शाक्यलाई उनको स्वाभाव अनुसार भूमिगत राख्न नसक्दा विभिन्न उपाय गरेर बचाए पछि पार्टी छाडेर माओवादीमा लागेपछि जीवनप्रति निराशभई मृत्युको मुखमा पुग्ने मित्रको कथालाई सविस्तर व्याख्या गरेका छन् लेखकले यस स्तम्भमा । आर्यघाटमा पु¥याएको मित्र वासु शाक्यको संस्मरणबाट शुरु भएको यस स्तम्भमा लेखक चालीस वर्ष अघिको संस्मरणलाई कलात्मक ढङ्गले उघार्न सफल भएका छन् । त्यस्तै अर्को सहिदप्रति समर्पित स्तम्भ छ — हरि नेपाललाई सम्झिदा । पार्टीले खटाएको काम गर्न संखुवासमा जाँदा निरकुश प्रशासनले हत्या गरेको क्रान्तिकारी योद्धा हरि नेपालको सहादतलाई उल्लेख गरेका छन् । यस स्तम्भमा निरकुश निर्दलीय विरुद्ध कसरी युवाहरू आक्रोसित भए र कसरी पंचायत ढल्यो भन्ने कुरा पनि लेखकले निर्धक्क आफ्नो अनुभव र विचारसहित यसरी पस्केका छन्– हामीलाई क्रान्तिमा होम्ने विषयहरूमा माक्र्सवादी चेतनाको गहिराइभन्दा पनि परिस्थिति जन्य कारणहरू नै बढी हुन्थे । सानो कुरामा प्रशासनको मारमा पर्नु, पुलिसले लगातार दुःख दिइरहनुजस्ता कारणहरूले हामीलाई विद्यमान सत्ताप्रति कठोर बनाउँदै जान्थे । पञ्चायतमा अलिकति मात्रै लचिलोपना, उदारता र जनतालाई सम्मान गर्ने गुण भएको भए सायद पञ्चायत त्यति चाँडै र त्यति अपमानजनक ढङ्गले घरायसी हुने थिएन होला । पञ्चायती व्यवस्था समाप्त हुनुमा पञ्चायती सत्ताभित्रका भुरेटाकुरे राजाहरूको सामन्ती राजनितिक उत्पीडन र उनीहरूबाट खुलैरूपमा हुने भष्टाचार, भ्रष्ट कर्मचारीहरूको अयोग्य प्रशासन तथा मानवीयताबाटै च्युत भएको प्रहरी चेतनापूर्ण रूपले जिम्मेवार थियो । लेखक अन्त्यमा सहिद हरि नेपाल प्रति यसरी श्रद्धाञ्जली अर्पण गर्दछन्– सहित्यमा सहिद भएर बाँचिरहन भएका कमरेड हरि नेपाललाई आउने पिँढीले पढोस् र उहाँको सादा जीवन उच्च विचारको जीवनवादी मान्यतालाई आफूमा लागु गरोस् । जसले राजनीतिको प्रतिदान मागेन— तीत्तो सत्यको यथार्थ उद्वोधन हो । नेपाली कम्युनिस्ट पार्टीलाई लागेको धमिरामात्र नभई काङ्ग्रेस पार्टीमा भएका विसँगतिहरूलाई यिनले यहाँ उदाहरणसहित स्पष्ट पारेका छन् । काङ्ग्रेस पार्टीकै एकजना निष्ठावान, कर्मठ र जुझारु कार्यकर्ता अझ भनू ठूलै नेता प्रजातन्त्र आएपछि आफ्नै पार्टीबाट वेवास्ता गरी लत्याइएको मार्मिक कथा छ । कृष्णप्रसाद भट्टराईले समेत ठूलै नेता भनी सम्मान गरिएका हरिप्रसाद नेपाललाई काङ्ग्रेस सरकारमा हुँदा कुनै सम्मानीय पद नदिनु कुनेै सुविधा नदिनुलाई लेखकले यहाँ घटनाक्रम मिलाएर व्याख्या गरेका छन् । त्यस्तै अर्को शक्तिशाली संस्मरणको स्तम्भ छ– मित्रको नाममा दुइ थोपा आँसु । यो स्तम्भ राजनीति आन्दोलनमा नभएँ जीवनको आन्दोलनमा विजयी हुने योद्धाको जीवनकथा । विस. २०४६ सालमा देशमा बहुदलसँग आएको कर्मचारीतन्त्रको कथा हो यो । कर्मचारी कुन पार्टीको भन्ने लालमोहर लाग्न थाल्यो बहुदल व्यवस्थामा । यस्तै विसँगतिग्रस्त राजनीतिले एउटा कुशल कर्मचारीलाई मृत्युको मुखमा पु¥याएको मार्मिक कथाको उद्वोधन हो यो स्तम्भ । धेरैअघि सचिव पदमा बढुवा हुनुपर्ने व्यक्ति प्रशासनिक विकृति र विसगतिले हुनसक्दा जीवन मृत्युको मुखमा पुग्दासम्म इच्छाको घिटघिटो लिएर बाँचेका लेखकका मित्र नारायण भट्टराईको कारुणीक कथा हो यो । लेखकले धरै प्रयास गर्दा पनि सचिव पदमा वढुवा गराउन नसक्दा आत्माग्लानीले गलेको कुरा लेखक यहाँ कलात्मकरूपले प्रस्तुत गर्दछन् । जीवनको धिपधिपे चाडै निम्दैछ भन्ने थाहा पाउँदापाउँदै पनि विधावारिधि गरेपछि सचिव पदमा वढुवा हुन सकिन्छ भन्ने झिनो आशाले बाँचेका नारायण भट्टराईलाई सरकारले अन्तिम अवस्थासम्म बढुवा नगर्दाको क्षणलाई मार्मिक ढङ्गले व्याख्या गरेका छन् ।

३) विशिष्ट साहित्यिक व्यक्तित्वहरू द्धारा प्रभावित भावव्यत्तिहरूः–
लेखकको जीवनको आधा पाटो राजनैतिक दिनचर्या, घटना, प्रसङ्ग र साहसिक कार्यले छोपिएको छ भने आधा पाटो साहित्यिक कार्य, उत्पेरणा, भेटघाट प्रसङ्ग, भाव र चेतनाबाट प्रभावित छ । सानैदेखि लेखकको साहित्यप्रति प्रगाढ आत्मीयता रहेको हुनाले उनी विशिष्ट साहित्यकारहरूको व्यक्तित्वबाट पनि उत्तिकै प्रभावित भएको कुरा उल्लेख गरेका छन् । उनले आफ्नो जीवनमा निकै निकटता पाएका साहित्यिक व्यक्तित्वहरूमा रमेश वकिल, बालकृष्ण पोखरेल धनुषचन्द्र गौतम, अम्वर गुरुङ आदि छन् । नेपाली साहित्यको इतिहासमा रमेश विकलको योगदान अवर्णनीय छ । राष्ट्र«कै गौरव, प्रसिद्ध साहित्यकारको कृतिको चर्चा गर्दै लेखकले युगजीवी कथाकारको नाम रमेश विकल हो भनेका छन् । उनले तिनै रमेश विकलसँगको भेटघाट र सत्सङलाई स–सम्मान स्वरूप शब्दमा उनेका छन् । त्यस्तै उनी पारिजात दिदी, शंकरलामिछाने भूपी शेरचनसँग पनि साक्षात्कार भएको कुरा उल्लेख गरेका छन्— युगजीवी कथाकारको नाम– रमेश विकलमा । त्यस्तै अर्का महान् भाषाशास्त्री तथा साहित्यकार बालकृष्ण पोखरेलको नेपाली भाषाप्रतिको त्याग र उपलब्धिको चर्चा गरेका छन्– बालकृष्ण पोखरेल भौतिकवादी पुराणवाचकमा भाषाशास्त्री बालकृष्ण पोखरेल नेपाली भाषाका गहन अध्येता मात्र नभई प्रणेता पनि हुन् भन्ने द्रष्टान्त राखेका छन् । उनले लामो समयसम्म गुप्तवास बसी गहन अध्ययन गरी तयार गरेका कृति पाच सय वर्ष र खस जातिको इतिहासलाई नेपाली भाषा इतिहासमा ठूलो उपलब्धि मान्नु पर्छ । नेपाली भाषाका भाषिकालाई विभिन्न भाषाशास्त्री विद्धानले आ–आफ्नो तार्तिक तथ्य प्रस्तुत गरे पनि भाषाशास्त्री बालकृष्ण पोखरेलको वर्गीकरणलाई विश्वविद्यालयले मान्यता दिनुलाई नै उहाँले नेपाली भाषामा दिएको योगदानको मूल्याकन हो भन्न सकिन्छ । लेखकले भाषाशास्त्री बालकृष्ण पोखरेलको केके मनुच्यको नामले साहित्य पढेको भएता पनि भाषाविद्को व्यक्तित्वले थिचेको अनुभव व्यक्त गरेका छन् । पाइला छोडेर अस्ताएको घाम मा लेखकले साहित्यकार धनुषचन्द गौतमबाट आफू प्रभावित भएको कुरा उल्लेख गरेका छन् । साहित्यकार धनुषचन्द गौतमको घामका पाइलाहरू र यहाँ देखि त्यहाँसम्मको सस्मरणले लेखिकलाई तानेर उनलाई भेटने तीव्र इच्छा भएको भावव्यक्त गरेका छन् । कलात्मकता र घटनाक्रम निकै कम भएको यो स्तम्भ पाठकलाई सामान्य लाग्न सक्छ । नेपाली कलासाहित्य र सगीत क्षेत्रमा दाजिलिङ्गका प्रवासी नेपालीहरूको पुनरागमनले विशिष्ट स्थान आंगटेको छ । त्यस्तै संगीतकार अम्बर गुरुङ नेपाली सांगितीक क्षेत्रमा एउटा सम्माजनक नाम हो । तीनै संगीतकारले साहित्य लेखनमा पनि आफूलाई अव्वल दर्जामा दर्ता गराउन सफल भएका छन् पुस्तक– कहाँ गए ती दिनहरूमा । लेखक वरिष्ठ संगीतकार र साहित्यकारबाट आफू अत्यन्त प्रभावित भएर उहाँप्रति स–सम्मान केही शब्द सुमन पोखेका छन् ।


४ं)जीवन दर्शन र नास्तिक विचारधाराले जीवनमा पारेका प्रभावका केही उल्लेखनीय प्रसङ्गहरू– पाइला छोडेर अस्ताएको घामको अन्तिम पदक्रम भनौ चौथो पदक्रममा घामले पाइला छोडिसकेको सन्ध्याकालीन अवस्था छ । जति दिनको महत्व हुन्छ । उति रातको पनि महत्व हुन्छ । तर त्यो अँध्यारो पक्षको महत्व जहिले पनि ओझलमा परेको हुन्छ । रात नभई दिन कहिले हुदैन । त्यस्तै जीवनदर्शन बोकेर बाँचेको छ यो स्तम्भ । लेखकले सत्यलाई आफ्नो जीवनको संस्मरणसँगै सर्वे भवन्तु खिन मा प्रस्टाएका छन् । भने नास्तिकवादी धारणालाई आस्तिकवादी घटनाहरूले कसरी प्रभाव पार्छन् भन्ने कुरा देखाइएको छ— ज्योतिष ज्ञानको वैज्ञानिक खोजमा वाल्यकालीन संस्मरणसगै ज्योतिष विज्ञानले आफ्नो भविष्यवाणि गरेका केही कुरा सावित भएको र केही कुरा असावित भएको तथ्यसहित प्रसङ्ग व्यक्त गरेका छन् । कुनै वैज्ञानिक आधार नभए पनि हाम्रो समाजले ज्योतिष विज्ञानलाई नकार्न सकेको छैन । हामी यिनै नास्तिकतावाद र अस्तिकतावादकोे वरिपरि पृथ्वीले दिन र रात बनाएर घुमेझै घुमिरहेको छौँ । लेखकले यसरी आफ्नो जीवनको महत्वपूर्ण घटना सँगै जीवनदर्शन व्यक्त गरेका छन् ।

निष्कर्षः–
पाइला छोडेर अस्ताएको घाम अस्ताउन लागेको घामले छोडेका रापिला किरणझैँ लाग्छन् । राजनैतिक चेतनाले भरिएको, जीवनको भोगाइले खरिएको, हृदयको गहिराइदेखि लेखिएको यो कृति नेपाली साहित्यिक क्षेत्रमा मात्र नभई राजनैतिक क्षेत्रको लागि पनि उत्कृष्ट पुस्तक ठहरिएको छ । छोटा तर धारिला वाक्य लेखकको आफ्नै लेखन शैलीले पाठकलाई तानिरहन्छ । त्यस्तै उत्कृष्ट र कलात्मक अभिव्यक्तिले साहित्यिक रस्वास्दनमा पाठकलाई डुबुल्किलगाइ रहन सक्नु यस कृतिको वैशिष्टता मान्नुपर्दछ । वाक्यपिच्छे आत्मस्वीकृति प्रकट गर्दै विश्वासको अग्लो पहाडमा लगेर पाठकलाई उभ्याएर सत्य र तथ्य घटनालाई साक्षात्कार गराउन सक्नु निबन्धकार प्रदीप नेपालको प्रमुख विशेषता मान्नुपर्दछ । राष्ट्रियस्तरमा एउटा विशिष्ट स्थान बनाइसकेको राजनैतिक क्षेत्रको व्यक्तिले कसरी जीवन र जगतसँग सङ्घर्ष गर्दै सफलता हासिल गर्दछ भन्ने कुराको ऐतिहासिक दस्तावेज हो यो कृति । साहित्यिक लेखनले पनि उच्चता हासिल गरेको यो कृति नेपाली साहित्य क्षेत्रमा मानक कृति ठहरिएको छ । उत्तमशान्ति पुरस्कारद्धारा पुरस्कृत यो कृति नेपाली साहित्यमा अत्यन्त पठनीय र सग्रहणीय छ ।

सन्दर्भ सामाग्री:
डा. गोविन्दराज भट्टराइ – कार्यपत्र एक्काइसौँ शताब्दीको विश्वसाहित्यका परिप्रेक्ष्यमा नेपाली साहित्यको गन्तव्य – एक सिंहावलोकन
प्रदीप नेपालका प्रकाशित सम्पूर्ण कृतिहरु
कोइराला वीपी – जेल जर्नल



प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 13 आसाढ, 2067

लेखकका अन्य रचनाहरु