तिमी र म, मात्र तिमी र म

- शर्मिला खड्का दाहाल

प्रेम शक्तिको निकास बन्छ । प्रेम बहाव हो । सिर्जनात्मक हो प्रेम । त्यसैले ऊ बहन्छ र तृप्ति ल्याउँछ । त्यो तृप्ति यौनको तृप्तिभन्दा अधिक धेरै मूल्यवान र गहिरो हुन्छ । जसलाई त्यो तृप्ति मिल्यो ऊ फेरि पत्थर खोज्दैन, जसलाई हीरा जवाहरात प्राप्त हुनसक्छ ।
– आचार्य रजनीश

हृदयमा प्रेमको ताजमहल थियो । प्रेम नै नभए कसरी ताजमहल बन्दथ्यो होइन र ? वरिपरि प्रेमको सुगन्धसहित ताजमहलको सौन्दर्य मगमगाइरहेको थियो । म सोही सुगन्ध लिएर तिम्रो सामु उपस्थित थिएँ । म प्रेषित गर्न चाहन्थे तिमीलाई मेरो ताजमहलको सौन्दर्य । तर त्योभन्दा पहिलो तिम्रा गहिरा के बोलुँला के बोलुँलाझैँ गर्ने आँखाहरूको परिभाषा बुझन् चाहन्थेँ म । म प्रतीक्षारत थिएँ । धेरै बेर बाटो हेरेँ, ती एक जोर आँखाले केही भन्नेछ । पर्खे, सोचेँ, कल्पेँ । तिमीले भन्नेछौ – “तिमी मेरो आर्दश हौ । तिमी मेरो सिद्धान्त हौ । यी दुई आँखा सधै भोका र अतृप्त रहनेछन् । जबसम्म तिम्रो तस्विर यो हृदयमा प्रतिबिम्बित हुने छैनन् । तिमी हावामा पदचाप लिएर कुन बेला आउँछ्यौ मलाई थाहा हुन्न । लाग्छ तिमी यतै कतै घुमिरहेकीछ्यौ । अलिकति वायुको कण भएर सम्झनाको तन्द्रामा अल्झिरहन्छ्यौ । अलिकति दिनको प्रकाश भएर कोठाभरी छरिन्छ्यौ । तिम्रो आकृति जो मेरो स्मृतिबिम्बमा ठोक्किरहन्छ बटुलिन पाएँ भने म आफै आकार लिने थिएँ, तिम्रो स्वरूपसँगै खै कसरी व्याख्या हुन्छ तिम्रो त्यो उपस्थितिको !”

म तन्द्राबाट झस्कन्छु । म अलिकति फुक्छु, तिमी अलिकति खुम्चन्छौ । तिमी अलिकति फुक्छौ म अलिकति खुम्चन्छु । प्रेमको ताजमहल त्यसै बनेन होला । सेता संगमर्मरमा खोपिएको प्रेमको ध्वनि त्यसै बजेनन् होला – एक अर्कामा ठक्कर खाँदै । खै तिमीले सुनेको ? मेरा कानमा यिनै आवाज गुन्जिरहेका थिए । म प्रतीक्षारत थिएँ, तिमीबाट सुनिन । तर मेरो प्रतीक्षा बन्धित बने । प्रेम उत्कर्षको परीक्षामा उत्तीर्णाङ्क पनि पाउन सकेन विशिष्टताको त के कुरा रह्यो र ? कुरा मोडियो । तिमी मोडियौ । म उही आत्माकाङ्क्षाको दियो कलश बोकेर आरती उतार्ने धुनमा थिएँ । तर खै शुभमुर्हतको कुनै शुभघन्टीसम्म सुनिएन । तिमी यति चिसा हुन्छौ भन्ने मैले कल्पना पनि गरेको थिइनँ। लाग्थ्यो तिमी पग्लने छौ । यी औलाहरूलाई ती हातहरूले कसेर च्याप्नछौ अनि बेस्सरी चुम्नेछौ । आँखाका परेलीले खुसीको वर्षा गराउनेछन् । अनि हामी दुवै फूलमा, साँच्चै फूलको सौन्दर्यमा हराएको हुनेछौँ । साँच्चै फूलको सौन्दर्य कति राम्रो छ हगि ? हामी ढकमक्क भएर फूलहरूमा फुलिरहेका हुनसक्थ्यौ । तर फूलसँगै प्रकृतिले काँडा त्यसै राखिदिएका रहेनछन् । जहाँ फूल छ त्यहाँ काँडा अवश्यै हुन्छ । फूलको अनुभूतिमा काँडालाई बेहोर्न सक्ने क्षमता मानिसमा हुनुपर्छ । सायद यही शिक्षा दिन प्रकृतिले फूलसँगै काँडा पनि राखेका होलान् । साँच्चै काँडाको अनुभूतिले घोच्यो मलाई अहिले पनि तिमी चिसै थियौ । मैले सोचेको थिएँ, साँच्चै तिमीलाई म भन्नेछु – “म नै तिम्रो बिम्ब हु अनि आकृति हुँ । मैले तिमीलाई चिनेको रहेनछु , तिमीले मलाई । यो हृदय सधै खालीखाली रहन्छ । यहाँ तिम्रै गीत कोर्न चाहन्छु अनि यो हृदय तिमीलाई फुकाएर पढ्न दिन चाहन्छु । ती गीतलाई संगीत भराएर गाउन चाहन्छु । तर खै तिमीले कलम चलायौ ? म लेखिन तम्तयार थिएँ । सायद तिमीले ठूलो नदी देख्यौ, तैरन गारो छ । पारि पुग्न गारो छ । पानीमा बाटो कोरिँदैनन् । हिँडिएको बाटो बिलिन भएर हराउन सक्नेछ । त्यसैले तिमीले हृदयलाई दिशाविहीन र आवाजविहीन बनाउन चाहेनौ । किनभने खोलामा जति गीत गाए पनि निरर्थक हुन्छ । खै † तिमी आफ्नै जीवनको धुन बजाउन मस्त थियौ क्यार । म मेरो हृदयलाई सफा कागज बनाउदै थिए । तर तिमी पटक्कै लेखिएनौ । मन निराशनिराश भएर ठूलो खाड्लभित्र भासिँदै थियो । तिमीले एक्कासि आँखामा गहिरो वेदना पोख्यौ । मैले उठाएर अलिकति सँगालेँ । सायद यही हो कि जीवनमा लेखिनु पर्ने कुरा ? मन त्यसैमा अलमलियो । यस्तै जीवनको गति हामी नापिरहेका थियौ“ । नत्र त यहाँ कसको लागि को बनेको छ र ? लाग्यो तिम्रा आँखाले बोलेका कुरा शब्दमा परिणत गरु र हृदयमा लेखूँ । तिमी र म, मात्र तिमी र म अनि यी जीवनका गीतहरू । कतिपय धुन कम्पोज भएर गाइसकेका छन् । कतिपय त्यसै कागजभित्र शब्दमा सीमित छन् । म वारि सडकमा छु । तिमी पारि सडकमा छौ । ट्राफिकले कुनै सिग्नल देखाएन । सायद तिमी बाटो क्रश गर्न रातो बत्तीको प्रतीक्षामा थियौ ।

समय उड्दै गयो, हातबाट छुटेको चङ्गझैँ। सडक व्यस्त रह्यो मेशिन चलेझैँ । तर अझै रातो बत्ती बलेको थिएन । यो समयमा जे घटना पनि हुन सक्थ्यो । तिमी ममा रुपान्तर हुन सक्थ्यौ म तिमीमा । कतै नबलेको ट्राफिकको नयाँ सिग्नल बाल्न सक्थ्यौ । छातीलाई क्षितीज बनाएर सन्ध्या र साँझ दुवैलाई समेट्न सक्थ्यौँ । यो हृदयमा खुसी लहर उठाएर सगरमाथालाई निहुराउन सक्थ्यौँ । बोल्न नसकिएका धेरै कुरा बोल्न सकिन्थ्यो, समेट्न नसकेका धेरै कुरा समेट्न सकिन्थ्यो । अनुभूतिको पहाड बोकेर कतै बिसाउन सकिन्थ्यो । समुद्रका विशाल छालहरूलाई समेट्न सकिन्थ्यो । विद्युतीय तरङ्गले शरीरभरी एक्युपञ्चर गराएर नयाँ तरङ्ग दिन सक्थ्यौ । एउटा आनन्दको भाव, एक उपलब्धिको भाव, शरिरको नशानशामा प्राण भरिन सक्थ्यो । शरिरले एउटा तृप्तिको रस लिन सक्थ्यो धर्ती आकाश एक गरेर । त्यो तृप्ति खै अरु केमा तुलना गर्र्न सकिन्छ र ? म भन्न सक्दिन । ती क्षणहरु कणकणमा बिलाएर त्यो समय जीवित हुनसक्थ्यो ।

तर ––––– तर –––– समयले लोडसेडिङ्गको गीत गाइरह्यो । मेरा भावना अन्धकारमा रुमलिरहेका थिए । हामी शून्य र स्थीर थियौ । म फैलदै गए । अझै पनि मैले मेरो ताजमहलको सौन्दर्य तिमीमा प्रेषित गर्न सकिनँ । मनलाई अधुरो इच्छाको पहाडले थिचिरहयो । मैले मेरा आवाज प्रेषित गर्न सकिन । म इच्छाका हाँगा फैलाएर विस्वासको जरामा उभिरहेकी थिएँ । तिमी कतै बेरिन आउछौ कि भनेर चौबाटो कुरिरहेँ । अहँ पटक्कै तिमी चलायमान भएनौ ।

सायद तिमी पनि ट्राफिक सिग्नलको प्रतीक्षामा थियौ । तर अझै रातो बत्ती बलेको थिएन । तिमी पनि सायद कुनै क्षेप्यास्त्रको प्रहारको आशामा थियौ क्यारे जसले तिम्रो मुटु हल्लाइदिनेछ । तर त्यहाँ युद्धको कुनै शंङ्खधोष भएको थिएन । खाली हात र रित्ता आँखा बाझिरहे बिनाप्रयोजनको हतियार बोकर । तिमी सोच्दै थियो क्यार – ‘यो समयको आव्हान हो । म अलिकति झुक्नुपर्छ, तिमी अलिकति उठ्नुपर्छ ।’ मैले सोचेकी थिएँ – ‘तिमी अलिकति झुक्नुपर्छ म अलिकति उठ्नुपर्छ ।’ तर सबैलाई झुक्नु कहाँ मन् लाग्छ र ? सजिलै आफ्नो हृदय फुकाउन कहाँ मन लाग्छ र ? हृदय पनि त एउटा कम्प्युटर हो नि । कति धेरै जीवनका फाइलहरू छन् । विचारको सफ्टवेयर नमिलाई खोलियो भने भाइरस पस्न सक्छ । सबै फाइलहरु डिलिट हुनसक्छन् । त्यसैले मैले स्वीच अन गरिनँ । तिमीले पनि गरेनौ । समय घुमिरह्यो कम्प्युटर ह्याङ्ग भएर क्रसर घुमेझैँ ।

एकछिन पछि मोबाइल बज्यो । कतै युद्धको वा विस्फोटको कुरा भयो । यो प्रेममय आकाशमा विस्फोटको धुवाँ कहाँबाट आयो ? म अन्यमयस्क बने । यो प्रेमिल संसारमा द्धेष, घृणा, अहंकार र युद्धले कसरी प्रवेश पायो ? यो विज्ञानको उपकरण पनि कोहीबेला निष्प्रयोजन भइदिए हुने नि । मनले मनसँग संवाद गर्यो । ‘मृत्यु ओहो !’ तपाईको मुखबाट निस्क्यो । म डराएँ । मृत्यु अकाट्य सत्य हो तर पनि हामी डराउँछौ किन ? यो भय मृत्युको थिएन आतंकको थियो । भय, आतंक, अहंकार विलिन हुनुपर्दछ, प्रेमोत्सवमा । समय उभिरह्यो । तिमी मलाई हेरिरह्यौ मैले तिमीलाई हेरिरहे । सायद यही नै हाम्रो नलेखिएको गीतको परिभाषा थियो कि ? न सजिलै तिमी मलाई विदाइ गर्न सक्थ्यौ, न सजिलै म तिमीबाट छुटिन सक्थेँ । तिमी सोच्दै थियौ होला – ‘म हिँडेपछि यहाँ मेरो पदचापको मीठो धुन बज्नेछ । मेरो आकृति तिमीसंगै हुनेछ – खाली कोठामा । मुटुको ढुकढुकी बढनेछ । आकृति संजीवतामा परिणत हुनेछ । तिमी मेरो गीतको धुन बजाइरहेको हुनेछौ मेरो अङ्ग्प्रत्यङ्ग लाई संगीतको औजार बनाएर । त्यो मीठो सितारको धुन । यही नै त जीवनको शाश्वता हो कि ! यो प्रेम हो कि यौन ? यौन हो कि प्रेम ? अमरता केमा छ ? यो क्षणिक सत्य अमर हुन सक्ला र ? हामी यसको परिभाषाको अनुसन्धानमा लीन हुनेछौ अनि एउटा अध्यात्मिक तपस्यामा । कतै मीठो संगीतको सा रे ग म बजेको हुनेछ । तिमी ममा, म तिमीमा । यो पल, यो क्षण, यो समय सबै हामीभित्र एकाकार हुनेछ । अनि हामी तृप्तिको आकाशमा निराकार हुनेछौ अनि समय हामीसगै अदृश्य भएर बिलाउनेछ । धेरैले धेरै समय खर्च गरेका छन् यसको परिभाषा खोज्नमा । सायद तिमी पनि परिभाषा खोज्न तल्लीन थियौ क्यार । त्यसैले त तिमी समयको नदी बगाइरहेका थियौ ।

मैले बिदा मागेँ । तिमी छटपटायौ, केही भनुँलाझैँ, केही गरुँलाझैँ गरेर । मैले बाटो हेरेँ । अहिले पनि तिम्रो मानसिकता उही थियो – स्थीर र प्रतिक्रियाविहीन । मैले धेरै बाटो हेरेँ । म रोकिनेछु । समय रोकिनेछ । किनकी यो समय त्यसै आएको थिएन । हामीले धेरै खनजोत गरेका थियौ उर्वरताको लागि । यहाँ उभिनुपर्छ एउटा कल्पवृक्ष । आस्था, विश्वास र प्रेमका प्राङ्गारिक मल प्रयोग गरेका थियौ । मेरो हृदयमा कतै हरायो त्यो कल्पवृक्ष । सायद यही कल्पवृक्षले डो¥याएको थियो मलाई तिमीसम्म । के अब यो गोरेटो यसरी नै कोरिरहला ? म फर्कन तयार थिएँ । मैले बिदा मांगेँ । तिमी फेरि मोडिायौ, अलिकति पोखियौ । म अझै पनि आशाको आंचल फिजाएर उभिइरहेकी थिएँ । तिमीले गहिरो दृष्टि फयाक्यौ – मेरो आशाको आँचलमा । तर तिम्रा आँखा रित्ता थिए । तिमी फेरि रोकियौ । मनको कल्पवृक्ष मनमा नै थियो । अझै मनमा आशाको दियो निभेको थिएन । तर तिमी अन्तिम पटक मोडियौ फेरि नफर्कनेझै गरी । तिमी सडक पारि थियौ म सडक वारि थिएँ । अझै पनि रातो बत्ती बलेको थिएन, सायद तिम्रो हृदयमा पनि ।

अचानक म मोडिए । मलाई जोडले प्यास लागिरहेको थियो । मभित्र तृष्णा थियो, छटपटी थियो । मैले पानी पिउने आग्रह गरेँ । तिमीभित्र पस्यौ । फ्रिज खोल्यौ । अहिले चिसो पानीको गिलास मेरो हातमा थियो । यो अर्को तृप्ति थियो । तिमीले मलाई हेरिरह्यौ, खै किन हो मैले बुझ्न सकिनँ । सायद आँखा नै सबै कुराको प्रस्थानविन्दु हो कि ! त्यहाँबाट तिमी मेरो हृदयमा लेखिदै थियौ । सायद तिमी पनि समयको त्यो पर्खाइमा थियौ क्यार । मैले आँखा चिम्म गरे । अहिले अघिका कल्पनाका तरङ्गहरू विद्युतीय उर्जा पाएर चलायमान हुन थाले । जीवनको एउटा शाश्वतामा, सत्यतामा हामी रुपान्तरित हुँदै थियौँ । अहिले रातो बत्ति बलेको थियो । सडकहरू सुनसान थिए आवाजविहीन भएर । लगातार बगिरहने हावाबाहेक केही थिएन ।

अचानक दर्के झरि प¥यो । सावनले नौलानौला आकृति लिँदै थोपाथोपामा परिणत ग¥यो हाम्रा खुसीहरूलाई । म रुझिरहे, तिमी बर्षिरहयौ । म वर्षिरह्यौ, तिमी रुझिरहे । धेरै टाढा, अनन्त क्षितिजसम्म हामी भिजिरह्यौ । हामी कही एकान्तमा हराउन पुग्यौँ । आकाश र धर्तीको समागमझैँ । शरीर पानीको कणकणमा रोमाञ्चित भइरह्यो । तिमी र म मात्र तिमी र म । यो धर्तीमा हामी दुइकोमात्र उपस्थिति थियो । बाँकी सबै अस्तित्वविहिन थिए । यो समय रोकिन सक्ला ? अहँ सक्दैन । यो प्रकृतिको नियम हो । तर हाम्रा प्रवृत्तिको अगाडि प्रकृति पनि पराजित भयो । समय एकछिन रोकियो, पर कतै क्षितिजमा फेरि साउने झरीको प्रतिक्षामा । तृप्तिको मीठो उडानमा हामी कही एकान्तमा हराउन पुग्यौँ । साँच्चै तिमी ममा रुपान्तर भएका थियौ र म तिमीमा । तिमी र म, मात्र तिमी र म, सांसारिक अलौकिक आनन्दमा डुबिरहेका थियौँ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 25 आसाढ, 2067

लेखकका अन्य रचनाहरु