भाषाको राजनीतिक पक्ष

- दीनानाथ शर्मा

नेपालमा राजनीतिक परिवर्तनपछि भाषिक अधिकारबारे विभिन्न आवाज उठ्दैै आएका छन् । भाषाबारे मधेसवादी दलहरू बढी उत्तेजित देखिन्छन् । संविधानसभाभित्र पनि भाषिक प्रश्न कसरी हल गर्ने भन्नेबारे विवाद छ । भाषाप्रतिको आग्रह वा दुराग्रहले पनि भाषिक प्रश्नलाई हल गर्न झन् समस्या पैदा गरेको छ । उपराष्ट्रपतिले हिन्दी भाषामा सपथ खाएपछि ठूलै विवाद भएको थियोे । भाषाबारे स्पष्ट नीति, मूर्त कानुनी व्यवस्था र सही सैद्धान्तिक समझदारीको अभावमा विवाद झन् जटिल बन्नु स्वाभाविकै हो । विवादको हल विवादभित्रै हुन्छ भन्ने कुरा पनि भुल्नु हुँदैन ।

भाषा समाज विज्ञानको एउटा शाखा हो भन्ने कुरा स्वीकार्य छ । समाज छ, त्यसैले भाषा छ । समाज भाषाको उर्वर भूमि हो । मानिस भाषा निर्माणको खजाना । 'भाषा विज्ञानबारे माक्र्सवाद' भन्ने कृतिमा स्टालिन भन्छन्, 'समाजको उत्थान र विकाससित समाजको मृत्युमा भाषा पनि मर्छ । समाजदेखि अलग्गै भाषा नै हुँदैन ।' त्यसैले भाषाको विकासको ऐतिहासिक उत्खनन समाज विकासको अध्ययनसँगै हुन्छ । उनी अगाडि भन्छन्, 'भाषा एउटा माध्यम हो, एउटा औजार हो, जसको सहायताले मानिसहरू एकअर्कासित कुरा गर्न, विचार विनिमय गर्न र एकअर्कालाई बुझ्न सक्छन् ।'

भाषा सामाजिक जीवन र व्यवहार दुवै हो । मानवजातिको विकासको महत्त्वपूर्ण औजार पनि हो । भाषाको अभावमा सामाजिक उत्पादन सम्बन्ध बिग्रन र भत्कन सक्छ । त्यसैले भाषाको निर्वर्गीय, निष्पक्ष तथा तटस्थ चरित्रलई लाञ्क्ष्िात गर्न मिल्दैन । भाषाले सबै वर्गको सेवा गर्छ । सबै जाति, धर्म र संस्कृतिको सेवाका लागि तयार रहन्छ । यसले कसैप्रति पक्षपात र भेदभाव गर्दैन । भाषा स्वतन्त्र र सार्वभौम छ ।

वर्ग समाजमा मानिसले भाषालाई आफ्नो वर्गस्वार्थ अनुसार प्रयोग गर्न प्रयत्न गर्छ । कुलीन, सम्भ्रान्त परिवार वा दरबारियाले प्रयोग गर्ने भाषाको रूप पक्षलाई हेरेर भाषाको पनि वर्गीय चरित्र हुन्छ भन्ने तर्क भेटिन्छ । जनताबाट आफूलाई अलि फरक र माथि देखाउन केही शब्द र वाक्य संरचनालाई सापट लिएर भ्रष्टीकरण र यान्त्रिक प्रयोग गरिन्छ । त्यसैका आधारमा भाषाको निर्वर्गीय चत्रिमा औंला ठड्याउन मिल्दैन । उनीहरूको अलग्गै शब्दकोश र व्याकरण छैन । भाषाको एउटै वंश, परम्परा, व्याकरण र शब्दभण्डारबाट छानिएका शब्द र वाक्य संरचनाको उपयोगका आधारमा भाषा वर्गीय हुन्छ भन्न मिल्दैन ।

समाज विकासका क्रममा सबै भाषाको क्रमिक विकास हुन्छ । तर समाजको आधार र उपरिसंरचनामा मौलिक र गुणात्मक परिवर्तन भए पनि भाषाको परिवर्तन हुँदैन । किनकि भाषा कला, संस्कृति, साहित्य, कानुन तथा राजनीतिशास्त्रजस्तै उपरिसंरचना होइन । समयसापेक्ष शब्दभण्डार र प्रयोगमा नवीनता आउन सक्छ, अनुपयुक्त शब्द र प्रयोग हट्न सक्छन् । तर भाषामा मौलिक र तात्त्विक परिवर्तन हुँदैन । भाषा व्याकरण पद्धति र मूल शब्दभण्डारलाई सुरक्षित राख्दै वंशानुगत रूपले विकसित हुँदै जान्छ । भाषाको चरित्र अपरिवर्तनशील छ भन्न खोजिएको भने होइन । व्याकरणका नियम परिमार्जित र उन्नत बन्दै जान्छन् । भाषाको आकस्मिक विकास पनि हुँदैन र अनयास मृत्यु पनि सम्भव छैन । त्यसैले यसको उन्नत, विकसित र परिवर्तित चरित्र हुन्छ भन्ने कुरा भुल्नु हुँदैन ।

भाषा जातीय हुँदैन । जाति समूहको बीचबाट भाषाको विकास भए पनि सामाजिक आवश्यकताको आधारमा त्यसले सार्वभौम सामाजिक चरित्र ग्रहण गर्छ । र सामाजिक पृष्ठभूमिमा त्यसको विकास हुँदै जान्छ । भाषालाई जाति समूहको परिधिभित्र कैद गर्ने संकीर्ण प्रयत्न भयो भने त्यो भाषाले विकास गर्ने अवसर पाउँदैन । भाषाको विकास पनि सामाजिक चेतना, उत्पादन सम्बन्धको विकास र विस्तारको आधारमा हुँदै जान्छ ।

नेपालको तराई क्षेत्रमा बोलिने अवधी, भोजपुरी, मैथिली, कोच आदि भाषा ती समूहको मात्रै हो भनेर सोच्नु भाषिक संकीर्णता हो । ती भाषाहरूको प्रयोगको क्षेत्र विस्तारकोे समान अवसर राज्यले दिनुपर्छ । नेवारी भाषाको जन्म नेवार समुदायबाट भए पनि नेपाली समाजको एउटा महत्त्वपूर्ण भाषा हो भनेर अन्य भाषा समूहका व्यक्तिले सम्मान गर्न सक्नुपर्छ । भाषा पक्षपाती नभए पनि सत्तारूढ वर्गको भाषाप्रतिको अनुदार र भेदभावपूर्ण नीतिले केही भाषाले विकास गर्ने अवसर पाउने र कतिपय पछि पर्नुपर्ने स्थिति भने शोषणप्रधान समाजको वर्गीय विशेषता नै हो । त्यसैले भाषाप्रतिको भेदभावपूर्ण नीतिको अन्त्य र भाषाको विकासमा राज्यकोतर्फबाट समान अवसर आजको आवश्यकता हो ।

समाजमा धेरै भाषा समूह हुन्छन् र आपसी हेलमेल पनि हुन्छ । एउटाले अर्कोबाट आवश्यकताअनुसार शब्द सापट लिन्छ र आफ्नो भाषालाई समृद्ध गर्छ । भाषाको हेलमेलले एकैचोटी एउटा अर्कोमा बदलिने सम्भावना छैन । नत हेलमेल र चलखेलपछि तत्कालै तेस्रो भाषाको विकास सम्भव छ । भाषाबीच हेलमेल हुँदै जाँदा एउटा भाषाको गुणसहितको भाषा विकसित हुन्छ । अर्को लोप हुन्छ । नेपाली भाषा संस्कृत, प्राकृत हुँदै विकसित भए पनि संस्कृत वंश परम्पराको जीव बोकेर आएको देखिन्छ ।

भाषा र संस्कृतिलाई एउटै जालोमा राखेर हेर्ने प्रचलन छ । यी तीनैमा अन्योन्याश्रति सम्बन्ध छ, तर भाषाको चरित्रगत विशेषता मौलिक रूपले भिन्न छ । राजनीति, कला, साहित्य, संस्कृति, कानुनको वर्गीय पक्षधरता हुन्छ । यी सबै उपरिसंरचना हुन्, तर भाषा न आधार हो नत उपरिसंरचना नै । आधार र उपरिसंरचनाको बीच समन्वय गर्ने र दुवैको सेवा गर्ने काम भाषाले गर्छ । त्यसैले भाषालाई संस्कृतिको समकक्ष राखेर अन्याय गर्न मिल्दैन ।

भाषा राजनीतिभन्दा माथि छ । राजनीतिक प्रणाली फेरिन्छ, तर भाषामा तात्त्विक परिवर्तन हुँदैन । राजनीतिक परिवर्तनका साथै भाषिक परिवर्तनको माग गर्नु युक्तिसंगत छैन । एउटा भाषाले अर्को भाषाप्रति भेदभाव वा अन्याय गर्दैन । बरु एकआपसमा मेलजोल गर्छन् । शब्दहरू औंचोपैंचो गरेर आफूलाई समृद्ध गर्न प्रयत्न गर्छन् । अर्को भाषालाई शब्द सापट दिएर कुनै भाषा गरिब हुँदैन । बरु अरूलाई जति बढी दिन सक्यो, त्यति नै त्यो भाषाको विकास भएको छ । संस्कृत शब्द गुरु नेपाली हुँदै अंग्रेजी भण्डारमा प्रवेश पाउँदा कुनै भाषाको ओज घटेन ।

नेपालमा राजनीतिक परिवर्तनपछि भाषाविज्ञान बारेको सुस्पष्ट दृष्टिकोण विकास भइनसकेको सन्दर्भमा कतिपय विवाद खडा भएका छन् । राजतन्त्रको अन्त्यपछि नेपाली भाषा पनि उनैसित सती जानुपर्छ भन्ने अत्यन्तै निम्छरो असहिष्णु सोच देखापर्‍यो । नेपाली भाषालाई दैनिक कामकाजको भाषा मान्नुहुन्न भन्ने विवाद पनि देखिन्छ । भाषिक भेदभाव, आग्रह-पूर्वाग्रहबाट सबै भाषासमूह माथि उठ्नुपर्छ । भाषालाई जातीय वा साम्प्रदायिक धरातलमा गिराउनु यसप्रतिको ठूलो अन्याय हो । भेदभावपूर्ण भाषा नीति र भाषिक उत्पीडनको अन्त्य गरी सबै भाषालाई उचित सम्मान र विकास गर्ने अवसर प्रदान हुनुपर्छ । कुनै भाषाको विरोध वा अरूको शिर ६ इन्च छोटो पारेर आफूलाई उँचो देखाउन खोज्नु मूर्खता हो । भारतबाट बि्रटिस साम्राज्यवाद हटेपछि भारतीय समाजले अंग्रेजी भाषालाई निषेध होइन, सम्मान गर्‍यो । भाषा सामाजिक व्यवहारको महत्त्वपूर्ण माध्यम भएकाले युगसापेक्ष विकसित भाषालाई स्वीकार्नुपर्छ ।

नेपाली भाषाको विकास एउटा लामो ऐतिहासिक कालखण्डमा भएको छ । त्यस्तै नेपाली समाजमा बोलिने नेवारी, तामाङ, मगर, भोटे, तमु, अवधी, भोजपुरी, मैथिली, उर्दू, थारु वा अन्य दर्जनौं भाषाभाषीको समान ऐतिहासिक पृष्ठभूमि छ । त्यसैले ती सबैको समान सम्मान गर्न सक्नु र सिक्नुपर्छ । तराई र पहाडमा समेत अंग्रेजी भाषाका साथै हिन्दी भाषाको प्रभाव बढिरहेको छ । ती कुनै पनि भाषाप्रति पूर्वाग्रह राखेर सत्तोसरापतिर लाग्नुभन्दा पनि आफ्नो भाषाको विकास र रक्षाका लागि प्रयत्न गर्नु बुद्धिमानी नै हुनेछ ।
कान्तिपुरबाट

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 1 श्रावण, 2067

लेखकका अन्य रचनाहरु