जिउँदो साँढे

- नन्दलाल आचार्य

भयावह समय तेर्सिएको हुन्छ । जताततै मुखौले कानूनले जरा गाडेको हुन्छ । बोल्न र भन्न पाइन्न । सुन्नु मात्र पर्छ । सुन्दासुन्दा कान पाक्छन् । जुन प्रश्न सोधिन्छ त्यसकै मात्र सटिक जवाफ पस्कनुपर्छ । राणाकालीन शैली, निरंकुशताको पराकाष्ठा जताततै व्याप्त हुन्छ । मनभरि कुराहरू गुमस्याएर र भित्रभित्रै कुड्याएर धर्तीमा पाइला टेक्नुको विकल्प हुन्न । मानौंं जनताहरू धर्तीमा उत्पन्न भएका गुहेकीरा हुन् र मुखौले कानुनका निर्माता एवं संरक्षकहरू चाहिँ कथित स्वर्गबाट इन्द्रका आदेशले खटिएका देवदूत हुन् ।

तराईको ठाउँ । फागुन महिनाको न्यानो घाम तापेर किसन किताबका पानाहरू उल्टाइरहेछ । सडक सुनसान छ । एकाध मान्छेहरू साइकल गुडाइरहेका छन् । पैदल यात्रुहरू यात्रामा छन् । यातायातका अन्य साधनहरू रत्तिभर सडकमा देखिदैनन् । चारैतिर बन्दको हल्ला छ । किसनले पनि सुनेको छ– सरकारको अप्रजातान्त्रिक कार्यको विरोधस्वरुप जनयुद्धरत् शक्तिले बन्दको आयोजना गरेको हो । बन्दले सरकारको ध्यान खिचिदैन । सरकार जनताको आवाज सुन्न तयार हँुदैन । कुर्सीको मोह प्रदर्शन मात्र गरिरहन्छ । सनातनी परम्परामा रत्तिभर सुधारको संकेत देखाउँदैन । उल्टै मुलुकमा संकटकाल थोपरिएको छ । जनताको मौलिक हक शासकको पोल्टामा परेको छ । जोसुकै जुनसुकै बखतमा पनि गिरफ्तार हुन सक्छ । कारणले वा अकारणले जोसुकै जुनसुकै बेला मृत्युको मुखमा पस्न सक्छ । मन आतङ्क र त्रासदीले नराम्ररी गाँजेको अवस्था छ । किसन किताबका पानातर्फ ध्यान खिच्न खोज्छ तर सक्दैन । उसले टेकेको धर्ती जलिरहेको छ । त्यही धर्तीमा जल्नेहरू अढाई करोड छन् भने धर्ती जलेको तापले तात्तिएका, मात्तिएका, र पात्तिएका मुठ्ठीभर शासकहरू छन् । मुठ्ठीभर शासकहरू र अढाई करोड निमुखाहरू बीचको फरक तुलना गर्नमा नै किसनको ध्यान खिचिन्छ ।

एकाएक किसनको मनमा स्कूल जाने कुरा मनमा आउँछ । साँढे नौ बजे स्कूल पुग्नुपर्ने नियम छ तर साँढे एघार बजिसकेको हुन्छ । बन्दको कारणले स्कुल पनि बन्द छ भन्ने सोच्न उसले भुलेको छैन । जताततै बन्द छ , राष्ट्रकै स्पन्दन बन्द छ स्कुलका झ्याल, ढोका बन्द नहुने कारण नै भएन । उसले यही कुरा सोचेर ढिलाई गरेको थियो । एक मनले उसलाई भनिरहेको थियो– शासकहरू चेत्दैनन्, शासितहरू कत्ति जल्नु र पलपल ढलपल भइरहनु ! आफ्ना हक अधिकार र स्वाधिनताका लागि नेतृत्व दिन सकिन्न भने पनि नेतृत्व दिनेको छहारीमा बस्न कन्जुस्याइँ गर्नहुन्न ।

मनभरि कुराहरू खेलाउँदै किसनका पाइलाहरू स्कुलतर्फ मोडिन्छन् । बीच बाटोमा नै एक सहकर्मी शिक्षकको मलिन स्वर उसको कानमा ठोक्किन पुग्छ –“सर ! किसन सर, भाग्नुस् । यो शहरबाटै भाग्नुस् । सेनाले स्कूल घेरेको छ । तपाईंलाई खोजिरहेछ । मलाई तपाईंलाई बोलाउन पठाएको हो । तपाईं भाग्नु भयो भने मैले सरलाई भेटिन भनिदिन्छु । तपाईँ बच्नुहुन्छ । कृपया भाग्नुस् ।” सहकर्मी शिक्षकको कुराले उसको मनमा आँधी आउँछ । उसलाई ठूलो अनिष्टको पहाड थाप्लामा नै बज्रेजस्तो हुन्छ । परिस्थितिलाई अंगाल्नु नै पर्छ भन्ने ठान्न वाध्य हुन्छ । उसले भाग्ने कुरालाई रत्तिभर पचाउन सक्दैन । पचाउनुपर्ने कारण हुनुपर्यो । उसले कारण नै भेट्दैन । उसका पाइला अझ छिटोछिटो स्कूलतर्पm लम्किन्छन् ।

क्षणभरमै ऊ स्कूल पुग्छ । सैनिक मेजर विद्यालयका निर्देशक सरलाई केरकार गर्दै हुन्छन्् ।

–आज स्कूल किन बन्द ?

–स्कूल बन्द छैन, सरहरू–मिसहरू हुनुहुन्छ । विद्यार्थीहरू चाहिँ आएकै छैनन् ।

–उसो भए तपाईँको किसन सर खोई ? किन भगाउनुभयो ?

–भगाएको छैन, भगाउनु पर्ने कारण पनि छैन । सायद आउँदै हुनुहुन्छ होला ।

–किसनको आनीबानीको एकएक रिपोर्ट दिनुस् ।

“सर नियमित स्कुल आउँनुहुन्छ । लगातार ५ वर्ष यस विद्यालयमा सेवा दिइसक्नुभयो । श्रेष्ठ शिक्षकको रुपमा गनिनुहुन्छ । मर्यादित कुरो गर्नुहुन्छ । यस वाहेक कुनै कुरा उहाँको बारेमा अरु छैन ।” निर्देशक सरको कुरा सकिनासाथ मेजरको नजर किसन माथि पर्र्छ । उनी भन्न थाल्छन्, “उसो भए तपाईँको शिक्षकलाई सोधपुछ गर्नुछ । अहिले म उहाँलाई लग्छु । तपाईँको अनुमतीले अर्थोक केही गर्छु । बुझ्नुभो ?” निर्देशक सर अक्कनबक्क परे । हेडम्याडमले घृर्णित नजर मेजर तर्फ फ्याक्दै मुख खोलिन्, “किसन सर पनि आइपुग्नुभएछ । जे सोध्नुछ यहीँ सोध्दा भै गयो नि । शिक्षकलाई बाहिर लग्ने कुरा नगर्नुस् ।”

“कुन कुरा मिल्छ, कुन कुरा मिल्दैन । त्यो शिक्षा मैले माथिबाटै प्राप्त गरेको छु । मलाई नपढाउनुस् । मेरो अनुसन्धानमा भाँजो हाल्ने काम गर्नु भयो भने बुझ्नुस् । तपाईँहरूले पनि मतियारको रुपमा दर्ता हुनुपर्छ । यो संकटकाल हो । यसबेला हक अधिकारको वकालत नगर्नुस् । यो संकटकाल निम्त्याउने तपाईँकै किसन सर जस्ता बुझ्झक्कडहरू हुनुहुन्छ । बुझ्नुभो ?” मेजरले कुरो टुङ्गयाउँछन् ।

किसनलाई अघि लगाएर मेजर बाहिरिन्छन् । पछिपछि ५,६ जना सशस्त्र सैनिक जवानहरू छन् । सैनिक गाडीमा किसनलाई अगाडि बसाइन्छ । अरु सबै सैनिक जवानहरू गाडीको पछिल्लो भागतर्फ बस्छन् । मेजर आफैँ ड्राइभरको रुपमा गाडी हाँक्छन् । गाडी विस्तारै गुड्छ । मेजर पनि विस्तारै कुरा कोट्याउँदै अघि बढ्छन् । सडकका पेटीमा, घरका छतमा विद्यार्थी, अभिभावक र अन्य शुभेच्छुकहरू कालोनीलो मुख लगाएर यो दृश्य हेरिरहन्छन् । गाडी गुडिरहन्छ । हरेकका मनमा हरेक थरीका प्रश्नहरू, आशंकाहरू जन्मिरहन्छन् ।

किसन अबुझ व्यक्तिजस्तो भएर मेजरको मुहार नियाल्छ, वरपरको दृश्यको अवलोकन गर्दछ । करिव १० मिनेटको यात्रापछि मेजर यात्रा मन्द पार्छन् । प्रश्नको थुप्रो ठड्याउन थाल्छन् । करिव २० मिनेटसम्म प्रश्नको झटारो आइरहन्छ । उत्तर पनि गइरहन्छ । मन्दगतिमै यात्रा पनि अघि बढिरहन्छ । त्यसै बीच मेजरले मनको मैलो देखाउँदै भन्छन्,“हेर्नुस् किसन सर ! तपाईँहरू जस्तो विद्वान् मान्छेको कलिलो ज्यान निमोठ्ने मन मलाई छैन । म कर्तव्यले बाँधिएको मान्छे हुँ । राष्ट्रका सिन्दूर पहिरेको छु । माथिका मनोकांक्षालाई बुझेर मैले काम फत्ते गर्नुपर्छ । मलाई सहयोग गर्नुस् । मेरो मन मानव मन हो । वाध्यतावस् यो मनलाई पत्थरको मनमा परिणत गर्न नलगाउँनुस् । चाँडै सत्य बक्नुस् । तपार्इँ कुन पदमा बसेर काम गर्नुहुन्छ ? तपाईँका हेड कमाण्डरहरू र सहयोगीहरू कुन ठाउँमा बसेर काम गर्छन् ? सबै नालिबेली बताउनुस् । नत्र पत्थर मनले नामोनिसान मेट्न सक्छ ।

मेजरका कुराले किसनको मथिङ्गल रन्थनिन्छ । उसका आँखाका सपनाहरू एकाएक च्यातिन थाल्छन् । ओठ तालु जम्मै सुक्न थाल्छन् । गरुडपुराणमा वर्णित रौरव नरकको नालिबेली ऊ सम्झन्छ । पढेको कुरा यथार्थमा परिणत भएको आभाष हुन्छ । त्यही विभत्सकारी दृश्यहरू दोहोरिदै गएर आफूकहाँ आइपुगेको आभाष हुन्छ उसलाई । ऊ मृत्युको भयले असाध्यै विचलित हुन्छ । ऊ आफ्नो भूत, वर्तमान सम्झन थाल्छ । भविष्य विहीन रुपमा आफू दुई दिने पाहुनाको रुपमा मेजरको सामु उपस्थित भएको ठान्छ । मनमा कुरा खेलाएको तर ओठ नखोलेको देखेर मेजरका मुखरावृन्दबाट पुनः बोली फुट्छ, “किसनजी, हतास नबन्नुस् । सास रहेसम्म आश गर्नुस् । तपाईँका निम्ति म कसाई मात्र होइन हैन, सहयोगी पनि हुँ । राष्ट्रका कलंकका निम्ति म कसाई हुँ, राष्ट्रका भविष्यका ताराका निम्ति म सेवक हुँ । तपाईँलाई कलंक र तारामध्ये कुन दर्जामा राखूँ भन्ने सबालमा तपाईँकै मुखबाट खुल्ने गोप्य रहस्यबाट ज्ञात हुन्छ । राष्ट्रलाई बचाउन सहयोगी भूमिका खेल्नुभएमा म पनि सहयोगी पात्रकै रुपमा उपस्थित हुनेछु ।”

मेजरले उसलाई सकेजति नचाउन खोज्छन्, तड्पाउन खोज्छन् । ऊ भने चुप नै रहन्छ । तेजविहीन, उत्साह विहीन मात्रै हैन ज्यान विहीन स्वरुपझै उसको शरीर देखिन्छ । किसनको मौनतालाई चिर्दै मेजर नै अघि सर्छन्, “किसनजी, निरास बन्दै नहुनुस् । यत्रो उमेर हुँदासम्म पनि विवाह भएको रहेनछ । विहे भएको भए घरभरि लालाबालाहरू हुन्थे । यत्रो उमेर कसरी एकलरुपमा विताउन सक्नुभएको हो ? सडकमा हिँड्ने राम्रा तरुणी देख्नासाथ तरुणो मनले माया खन्याइहाल्छ रे । तपाईँको मन पनि त्यस्तै भयो होला । कि तपाईँ कुनै तरुणीबाट धोका खाएको बबुरो हुनुहुन्छ ?”

यस्तो अनावश्यक प्रश्नले किसनलाई अचम्भित पार्यो । मेजर कुन बाटोबाट आफ्नो मनका कुराहरू बुझ्न खोजिरहेछन् भन्ने कुरा किसनले बुझ्न सक्दैन । ऊ अझै मौन हुन्छ । मेजर एकोहोरो बोल्दै जान्छन्, “म मात्र बोल्ने, तपाईँ श्रोता मात्र हुने हो भने तपाईँको पक्षमा निर्णय कदापी हुन्न । तपाईँ आरोपित व्यक्ति हुनुहुन्छ । आफ्नो सफाइ पेस गर्न कन्जुस्याईँ गर्ने हो भने जरुर तपाईँ दोषी हुनबाट चोखिनुहुन्न । जो दोषी छ, जो कलंकित छ, उसले अस्तित्व सुरक्षित बनाउन हम्मे पर्छ । आफूलाई जोखिममा नपार्नुस् । म पुनः भन्छुु सत्य बक्नुस् । यो संकटकाल छोट्याउन मद्दत गर्नुस् ।”

किसनलार्ई खपिनसक्नु हुन्छ । ऊ अब मुख नखोलीकन थेगिने अवस्थामा रहन्न । उसका मुखबाट पनि आक्रोशयुक्त झिल्का देखिन थाल्छन्,“मलाई तपाईँ जे भन्नुस्, जे देख्नुस् । मैले कुनै गलत काम गरेको छैन । मैले राष्ट्रका निम्ति कलंकित सावित हुने कुनै काम गरेको छैन । म युद्ध मैदानमा बम, बन्दुक बोकेर खटिएको योद्धा पनि होइन । म कलमजीवि हुँ । कलमकै पौरखले बाँचेको छु । मेरो कलमले समयको तीतो क्षणप्रति आक्रोश पोख्यो होला । सत्यमा चल्ने, न्यायमा विश्वास राख्ने र प्रगतिशील समाजको निर्माणका लागि मेरो कलमले थोरै मसी चढाउने कोशिस गर्यो होला । त्यो तपाईँहरूले नै ठम्याउनु भएको होला । अर्थोक मैले केही गरेको छैन । मैले कतै मेरो नैतिक समर्थन दिएँ होला । त्यो मेरो नैसर्गिक हक पनि हो । तपाईँ राम्रो काम गर्नुस्, मेरो मन जित्ने काम गर्नुस् । मेरो पूर्ण समर्थन त्यस कामका लागि हुनेछ । मैले (वा अरुले) नै समाजका निम्ति पच्य काम गरेँभने तपाईँ समर्थन गर्नुहोला । यस्ता कुरा बाहेक मबाट केही काम भएकै छैन । कसैको गलत कामलाई आँखा चिम्लेर समर्थन गर्दै, प्रचारप्रसार गर्दै हिँड्ने काम मबाट भएको छैन । मेरा यी हातले अक्षर कोर्नु बाहेक अर्थोक जानेका छैनन् । मेरा यी ओठहरूले स्वच्छ, हराभरा, सुखी, शान्ति र प्रगतिन्नोमुख समाजको निर्माण बाहेक अर्थोकको चाहना राखेका छैनन् । समाजमा व्याप्त विकृति, विसंगति र पूरातनवादी संस्कृतिलाई संसोधन गर्नु आवश्यक छ भन्न पनि म नपाउने ? हेर्नुस्, मेजर साहव, म मात्र भुसुनो हुँ, म मान्छे बन्न लालायित भुसुनो मात्र हँु । मबाट यस राष्ट्रका लागि केही हुनसकेको छैन । म कलमले बाँचेको र राष्ट्रको समुन्नतिमा थोरै भए पनि देन होस् भन्ने चाहना संगाल्ने व्यक्तिलाई राष्ट्रकै कलंकित व्यक्तिको रुपमा चित्रण गर्नुहुन्छ भने सुन्नुस्– मेरो कुरा पनि सुन्नुस् । मेरो मनको कुरा सुनेर, बुझेर र गुनेर मात्र अर्थोक कुनै निर्णय गर्नुस् । हेर्नुस्, मैले २८ वर्षे जीवन विताइसकेँ । संसारलाई धेरै नजिकबाट चिनिसकेँ । यत्तिञ्जेलसम्म म न घर भित्रकाको भएको छु, न वनभित्रकाको भएको छु । म मात्र भुसुनो हुँ । म भुसुनोले राष्ट्रलाई संकटको दलदलमा भसाएको हुँ भन्ने प्रमाण पेश गर्नुस् । मेरो हृदय सानो छैन, म असाध्यै डरपोक पनि छैन । मलाई मृत्युदेखि पनि डर लाग्न छाडेको छ । मेरो चित्त बुझाउँनुस् । मलाई राष्ट्रको कलंकको टीकोको रुपमा सावित गर्नुस् । अनि तपाईँलाई नियम कानूनले जे गर्न अधिकार दिएको छ त्यही गर्नुस् । नत्र भने यसरी तड्पाई तड्पाई नमार्नुस् । पलपल मर्नु साह्रै दुःखदायी हुँदो रहेछ, एकै पटक मर्नु बरु सुखदायक हुँदो हो ।”

उसको लामो कथनपछि मेजर तीन छक्क पर्छन् । चुपचाप रहन्छन् । किसनले पनि आफ्ना कुरा माथि परेको अनुभव गर्र्छे र पुनः मुख खोल्छ–“तपाईँ भ्रममा हुनुहुन्छ । तपाईँ सरकारी धन बेक्कारमा नष्ट गर्दै हुनुहुन्छ । मलाई यो सरकारी गाडीमा बसाएर यात्रा गराइरहनुको कुनै औचित्य छैन । मेरो बारेमा भएको भ्रम पनि हटाउँनुस् र मलाई आफ्नै सार्वजनिक जीवन विताउन दिनुस् । म अर्थोक....।” उसका कुरा टुङ्गिन नपाउदै मेजरले गाडी किनारामा अड्याए र कुर्लन थाल्छन्,“ए तपाईँ मात्र विद्वान् । मलाई मूर्ख नै सम्झनु भएको । याद गर्नुस्– म मूर्ख हैन । मूर्ख त तपाईँहरू जस्तै व्यक्ति हुनुहुन्छ । २०, २२ जना विद्वान् शिक्षक, शिक्षिकाहरू मध्ये तपाईँलाई चुनेर ल्याउँनु मेरो रहर हो ? तपाईँलाई यो १६ लाखको सरकारी गाडीमा शहरको सैर गराउँदा मलाई व्यक्तिगत के लाभ हुन्छ ? म मेरो ड्युटी गरिरहेछु । मेरो ड्युटीमा अवरोध पुर्याउने व्यक्तिका लागि एक गोली नै काफी छ । यस्ता एक गोलीका शिकार हुनेहरू धेरै छन् । तपाईँलाई पनि तिनकै पंक्तिमा उभिने मन छ भने त ठीकै छ । नत्र झुटको खेती गरेर मलाई अन्धकारमा नराख्नुस् । हैन, उज्यालोको खेती गर्ने व्यक्ति हुनुहुन्छ भने सत्य बक्नबाट टाढा नरहनुस् । सम्झनुस्, सुकरातले सत्य बकेर र सत्यकै लागि हेमलेट नामक विष पियर मृत्यु वरण गरेका थिए । त्यसैले पो उनको नाम संसारले लिइराखेको छ । विद्वान् भएर पनि मूर्खता प्रर्दशन गर्दै सबै नेपालीलाई भ्रममा नपार्नुस् ।”

मेजर आफना तर्कहरू राख्दछन् । किसन पनि आफना मतले आफू निष्कलंकित भएको पुष्टि गर्दछ । करिब ४ घण्टे प्रश्नोत्तर पछि मेजर गाडी लिएर किसनको डेरामा पुग्छन् । बाकस खोलिन्छ, ट्रङ्क उघारिन्छ । एक एक किताब, कापी, पत्रिकाहरू उल्टाइन्छ । ओछ्यानमुनि भएका कागजपत्रहरू खोतलखातल पारिन्छ र ५ धोक्राहरू ठड्याइन्छ । ती धोक्राहरूमा खाली किताब, कापी र पत्रिकाहरू मात्र हुन्छन् । तिनमा पनि कुनै किसन आफैले लेखिसकेका कापीहरू हुन्छन्, कुनै प्रकाशोन्मुख कृतिका पाण्डुलिपीहरू हुन्छन्, कुनै आफ्ना रचनाहरू प्रकाशित भएका पत्रिकाहरू हुन्छन् तर धेरै जसो आई.ए., बी ए., एम.ए. र शाखा अधिकृत परीक्षाका निम्ति संकलित पुस्तकहरू हुन्छन् । एकाध पुस्तकहरू मात्र कम्युनिष्ट पार्टी, राजनीति राजदरबार हत्याकाण्ड सम्बन्धी हिन्दी, अंग्रेजी भाषामा लेखिएका पत्रिकाका कटिङ्ग र नेताहरूका बारेमा हुन्छन् । ती पुस्तकहरूमा पनि धेरै जसो साझा प्रकाशन र प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित पुस्तकहरू हुन्छन् । सैनिक जवानहरू यी सबै आतङ्ककारी दस्तावेज हुन् भन्दै धोक्रामा हाल्ने गर्छन् । किसनको असहमतीका कारणले केही पुस्तकहरू छाडिन्छन् । आखिरमा किसनलाई पुर्याइन्छ, जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा र नाम खुल्न नसकेको आतंकारीको कोठाबाट तीन बोरा आतङ्ककारी दस्तावेज र पाँच थान नयाँ पुराना हतियार बरामत भएको झ्याली पिटान्छ ।

सानो कोठा । १५ जना मुस्किलले सुत्न हुने कोठा । कल त्यहीँ, ट्वाइलेट त्यहीँ जताततै हिलै हिलो । मच्छडको ठूलो हुलले आतङ्क मच्चाएको हुन्छ त्यहाँ । कालकोठरी नामाकरण गरेको ठीकै रहेछ भन्ने हुन्छ उसलाई । पडका पड्काएको आरोपमा पक्राउ परेका १२ वर्षका केटाहरूदेखि लिएर नाती भगाएको आरोपमा गिरफ्तार गरिएका ७७ वर्षिय बूढासम्मका त्यहाँ हुन्छन् । आशाराम चौधरीजस्ता हतियार सहित पक्राउ परेका र भोजपुर–धनकुटा जिल्लाबाट आतङ्ककारीको आरोपमा जेल चलान गर्दै ल्याइएकाहरू पनि हुन्छन् त्यहाँ । पक्राउ गर्नु परेपछि खान, बस्न र सुत्न दिनुपर्छ तर ती कुनै कुराहरू पनि त्यहाँ उपलब्ध हुन्न । मानव अधिकारकर्मीहरू त्यहाँको बिजोग हेर्न कहिल्यै पुग्दैनन्् । उसले पनि मान्छेको दशा नजिकैबाट हेर्न पाउँछ । प्रायः जसो सबै कैदीका शरीरभरि निलडाम हुन्छ । अर्को कोठामा महिलाहरू थुनिएका हुन्छन् । तीमध्ये अधिकांस थारु समूदायका हुन्छन् । उनीहरूका औंलाका नङहरू उक्काइएका हुन्छन् । हाम्रो हविगत यस्तो बनाए, हेर्नुस् न भन्दै उनीहरू रोइरहेका हुन्छन् । पुरुषहरूमा पनि धेरैजसो थारु समूदायका हुन्छन् । जताततै विजोग वाहेक अर्थोक हेर्न, बुभm्न र सुन्न पाइने अवस्था नै हुन्न । अरुहरूजस्तै प्रत्येक रात आधा पाउण्ड जति खुन मच्छडलाई चढाएर रात कटाउँछ किसन पनि । दिनहरू पनि उस्तै नमीठो तवरले वित्छन् । कैदी कोठा बाहिरका कसैले बोलाई हालियो भने पनि भन्ने गरिन्छ, “ए आतङ्ककारी ! खुब पुलिस, सेना मारिस् हैन, बाहिर ? अब भित्रभित्रै मर्ने पालो तेरो ।”

एक रात १२ बजे किसन डाकिन्छ । सोधपुछ, केरकार गरिन्छ । आतङ्ककारी हुँ, आतङ्कक मच्चाउँदै हिँडेँ भन्न कर गरिन्छ । किसनको मनले मान्दैन । उसले ठाडै भन्दिछ, “म मेरो मनले नस्वीकारेको कुरा भन्न सक्तिन ।” उसको शब्दकोषमा आतङ्ककारीले देश र जनताको कुभलो मात्रै गर्दै हिँड्छन्, उनीहरू राजनैतिक शक्ति हु्ँदै होइनन् भन्ने हुन्छ । ऊ आफूलाई सचेत नागरिक भन्न मन पराउँन्छ, मुलुकको कुभलो चिताउने नागरिक कदापी हैन भन्ठान्छ । दिनरात सोधपुछको कार्यक्रम भई नै रहन्छ । प्रश्नहरू नाना थरीका हुन्छन् तर उसको जवाफ एकै थरीको हुन्छ । “आस्था मर्दैन, विश्वास हराउँदैन । आस्था जता पनि ढल्कन सक्ला । बुझ्नेहरू असल कर्मतर्फ आस्था ढल्काउँछन् । अबुझहरू आँखा चिम्लेर जता पायो त्यतैतिर आस्था र विश्वास खन्याउँछन् ।” किसन बेलाबखत यिनै कुराहरू दोहोर्याउँछ ।

पाँच दिनपछि किसन मुक्त हुन्छ तर उसका प्रमाणपत्रहरू मुक्त हुँदैनन् । हप्ता दिन नवित्दै मेजरले सैनिक क्याम्पमा नै बोलाएर भन्छन्,“विद्वान् मान्छे भएर पनि विश्वले नै आतङ्ककारीको सूचिमा सूचिकृत गरेकोे संगठनको छहारीमा किन बस्नुहुन्छ ? त्यस्ता विनासकलाई मलजल किन पुर्याउँनुहुन्छ ? तपाईँ र तपाईँको संगठन दिवास्पना देखिरहेछ । यो साँढेको राजखानी लिने दाउ तपाईँहरूको हो । यसका लागि ५ वटा घेरा तोड्नुपर्छ । एउटा, दुइटा तोड्दैमा साँढे नजिक पुग्यौँ भन्ने भ्रममा नबस्नुस् । जनपथ पछि पर्ला, सके सशस्त्रलाई पनि पछि नै पार्ने योजना होला तर कदापि हामीलाई हराउन सक्नुहुन्न । जबसम्म हामी छौँ तबसम्म साँढेको कसैले केही विगार्न सक्दैन । विश्व इतिहासमा कतै आतङ्ककारीहरूले सैनिकलाई हराएर राज्य कब्जा गरेका छन् ? त्यही पनि मान्नुस् कि हाम्रो घेरा पनि तोडिहाल्नु भएछ भने पनि त्यस साँढेलाई केही गर्न सक्नुहुन्न । साँढे जिउँदो छ । आफना तीखा सिङले सबलाई चटनी पारिदिन्छ किनकि जिउँदो साँढेको स्वभाव नै यस्तै हुन्छ । तसर्थ आउँनुस् हामी सबै मिलेर उसकै छहारीमा बसौँ अनि आतङ्ककारीहरूका हरेक आतङ्ककारी गतिविधिहरू निर्मूल गरौँ । शक्तिको उपासक बनौँ ।”

मेजर बोल्दाबोल्दा थाक्छ र उसलाई बोल्न कर गरिन्छ । उसलाई मेजरको कुरामा दिलचस्पी हुन्न । उसले उही पुरानो भनाइ दोहयाउँछ । अरु केही बोदैन । दुई घण्टे बसाइलाई ऊ टुङ्गयाउन चाहन्छ । मेजरको पनि मुण्टो हल्लिन्छ । नागरिकता र केही शैक्षिक प्रमाणपत्रहरू मात्र ऊ फिर्ता पाउँछ । केहीे वर्ष वित्न नपाउँदैमा किसन परिणाम पाउँछ– जनमतका अघि सारा शक्ति र अहम्ताहरू निर्मूल हुने रहेछन् । शताब्दियौंदेखि जरो गाडेका हरेक जिउँदा साँढेहरू, उसका हरेक मतियारहरू र उसका गार्डहरू पनि मुर्छित हुँदै जाँदा रहेछन्, ढल्दै जाँदा रहेछन् ।

राजविराज–९, सप्तरी

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 20 श्रावण, 2067

लेखकका अन्य रचनाहरु