डा. गोविन्दराज भट्टाईको ‘गोधुलिमा दस पाइला’ लाई पछ्याउँदा

- शर्मिला खड्का दाहाल

डा. गोविन्दराज भट्टराई (२०१० ) समालोचना क्षेत्रमा साथै मौलिक कृति लेखनमा विशिष्टता हासिल गरिसकेका व्यक्तित्व हुन् । मेची अञ्चलको विकट पहाडी जिल्ला ताप्लेजुङ मा जन्मेका उनी सङ्घर्ष, लगन र धैर्यका पचार्यवाची बनेका छन् । जीवनमा खेपेका घोर सङ्घर्षका दिनले उनलाई धेरै माझ्न र परिष्कार गर्ने समय दियो । आज उनी आफै एउटा दर्शन बनेर बाँचेका छन् । जुनबेला धेरै नेपाली युवाहरू विदेशी भर्तीकेन्द्रहरूमा भर्ना हुन लालायित थिए त्यस बेला उनी ज्ञानको ज्योतिको लागि लालायित भए । झापाको आदर्श विद्या मन्दिरमा वार्षिक ६०० रुपैयाको छात्रवृत्ति पाएर अध्ययन गरे । एसएलसी पास गरिसकेपछि अगाडिको अध्ययनको लागि खर्च नहुँदा कमाइ गर्न भुटान जानुपर्दाको क्षणलाई उनी जीवनको सबैभन्दा दुखदायी क्षण मान्दछन् । त्यहाँबाट केही कमाएर ल्याएर उनी अध्ययनको क्रममा निरन्तर लागि रहे । प्राध्यापक र डाक्टरको उपाधिले मात्र उनको जीवनको यात्रा पूरा भएको थिएन । जीवन अतृप्त तृष्णा बनेर तडपाइरहयो उनलाई । अतृप्तिको आगोले अधभरो भएको उनको हृदयलाई उनले जनजाति, मोफसल, डायस्पोराका लेखकहरूको सेवाले मलहमपटी गर्न पुगे ।

भाषा अनुवादमा विद्यावारिधि गर्ने पहिलो नेपाली डा. गोविन्दराज भट्टराई हाल त्रिभुवन विश्व विद्यालयअन्तर्गत केन्द्रीय क्याम्पसमा कार्यरत छन् । जीवनको लामो समय राष्ट्रको भाषाशिक्षणमा र साहित्यमा समर्पित गरको डा. भट्टराई जीवनलाई बेग्लै अर्थमा बुझ्न खोज्छन् । नयाँ प्रयोग , नयाँ सिद्धान्तमा आफूलाई समपिर्त गरेर साहित्यिक माहौलमा सबैभन्दा चर्चित बन्न पुग्नु कुनै चानचुने खेल होइन । जब देशले जनयुद्धको पीडा भोग्यो उनी ‘सुकरातका पाइला’(२०६२) लिएर आए । जब धेरैअघि भुटानी नेपाली जनताको जीवन अन्धकारमा कुण्ठित भएको आफ्नै आँखाले देखे त्यसबेला ‘मुग्लान’(२०३१) बोकेर आए । विश्वमा चलेका विभिन्न धार, बादको विभिन्न कलमी हाँगा ल्याउदै नेपाली साहित्यमा रोप्न थाले ।

देशको चौधरा काट्न नसकेको नेपाली भाषालाई ‘सेलेक्टेड नेपाली एसेज, सेलेक्टेड स्टोरिज फ्रम नेपाल, डिक्लेश्सन अफ न्यु गड र स्टोरिज अफ कनाप्लिक्ट एण्ड बार’ मार्फत विश्वको साहित्यमा पुर्याउन अथक परिश्रम गरेँ । उनलाई विदेशीया भन्ने आरोप पनि लाग्यो । विश्वमा चलेको उत्तर आधुनिकताको थोत्रो सिद्धान्तलाई पोलिश लगाएर चम्काएर नेपालीलाई झुक्याउने भन्ने आरोप पनि लाग्यो । नयाँ कुरा नयाँ सिद्धान्त अनौठो हुन्छ । विदेशीका धेरै थोत्रा कुरालाई हामी नयाँ मानेर स्वीकारिरहेका हुन्छौ । त्यहाँ पचास वर्षअघि चलेका कुरा यहाँ भर्खर आउनु कुनै नौलो कुरो होइन । हुन त अहिले विकासको चरम विन्दुमा पुगेको सञ्चारले तुरुन्त ल्याइदिन्छ तर त्यसलाई भोग्ने छाम्न र बुझ्न हामीलाई वर्षौ लाग्न सक्छ । त्यही बुझाइ, छमाइ र भोगाइका सिद्धान्त रटाइरहेका छन् डा. गोविन्दराज भट्टराई ‘उत्तर आधुनिक ऐना’ र ‘उत्तरआधुनिक विमर्श’ सिद्धान्तका पहाड ल्याएर ।

देशले जनयुद्धको महामारी खेपिरहेको बेला जीवनलाई बन्दुकको नालमा राखेर मोफसलका विभिन्न कार्यक्रममा सरिक हुन पुगे उनी । के गर्मी के जाडो । के बन्द के नाकाबन्दी, सबै बिर्सिएर जीवनको कठिन यात्रामा लागिरहे । ‘सँगै बसौ यो रात भोलि यहाँ जे पनि हुन सक्छ’ जीवन कति निसहाय र निरुपराय छ । उनी भोगाइले जीवनलाई छाम्न पुग्छन् अनि हाम्रो आँखामा चित्र प्रतिबिम्बित बनाउन पुग्छन् ‘सँगै बसौ यो रात’मा । उनी पूर्वको सिक्किमसम्म पुग्छन् । साहित्यिक कार्यक्रम सकेर फर्कदा मेची खोलामा अबर परेर भौतारिन्छन् अनि भन्छन् – ‘म जोडले कराए ‘जय लिम्बूवान’ ।’ विदेशमा अर्को नेपाल तयार हुँदैछ भनेर उनी डायस्पोरा सम्बन्धी अध्ययन र अनुसन्धानमा लागी पर्छन । देशको माया भावना र अनुभूतिलाई पगारेर विदेशिनुको पीडालाई शब्दमा परिणत गर्ने डायस्पोरिक लेखनको ढुकढुकी छाम्न पुग्छन् । उनी उत्कृष्टता रुचाउँछन् , उत्कृष्टतामा रमाउन चाहन्छन् । त्यसैले उनी उत्कृष्ट पुस्तक हुनु पर्नेमा जोड दिन्छन् । मोफसलको मात्र नभई काठमाडौँको सर्जकहरूको स्तरिय कृतिको भूमिका उनैले लेखेका हुन्छन् । निबन्धकार गोविन्दराज भट्टराई विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कार तथा सम्मान दारा सम्मानित छन् । ‘एक्लै एक्लैएक्लै’, ‘विश्वविद्यालयमा अग्निपूजा’ जस्ता निबन्धसङ्ग्रह नेपाली साहित्यमा समर्पित गरिसकेका तिनै निबन्धकारको ‘गोधूलिमा दस पाइला’लाई अहिले म पछ्याउँदै छु ।

जीवन समय हो । समय निरन्तर बगिरहेको हुन्छ । त्यो बगाइमा कहाँ कति खेर उतारचढाव आउँछ अनि हामी कतिखेर ठोक्किन पुग्छौँ हामीलाई थाहा हुँदो रहेनछ । हो, मेरो जीवनको निरन्तर बगाइमा जब म गोधूलि भन्ने शब्द जहाँ देख्छु त्यहाँ म अलिकति ठोक्किन्छु र मलाई लाग्छ त्यहाँ मेरो समय केहीछिन अडिन्छ । मैले पहिला पनि कतै भनिसकेको छु गोधूलि मेरो लागि अति प्रिय समय हो । यो समयमा जहिले पनि म अलिकति अल्झिन्छु । बिहे भएपछि मैले श्रीमान्सँग विभिन्न ठाउँ घुम्ने अवसर पाएँ । हाम्रो पहिलो बसाइ चितवनको रामपुर थियो । त्यहाँ मैले धान कसरी रोपिन्छ र कसरी काटिन्छ भन्ने कुरा प्रत्यक्ष आँखाले देख्न पाएँ । हामी एउटा सानो गाउँमा बसेका थियौँ । बिचमा लामो पिचरोड बगेको थियो । छेउछाउमा दुई चारवटा सिमेन्टका घरहरू थिए । टाढाटाढासम्म लामा खेतका फाँटहरू देखिन्थे । त्यहाँ धेरै जसो किसान बस्दथे र केही विद्यार्थी पनि बस्दथे । जब साँझ पर्दै जान्थ्यो टाढा क्षितिजमा घाम डुब्न लागेको दृश्यले मलाई तानिहाल्थ्यो । अनि म देख्दथे टाढाटाढा किसानहरू गाईबस्तु लिएर घर फर्कदै गरेका हुन्थे । ती गाईवस्तुका गोडाले उडाएको धूलोलाई गोधूलि भनेको होला भन्ने म अनुमान लगाँउथे । बिरानो देशमा चिनजान नभएको ठाउँमा मेरो प्रिय साथी त्यही गोधूलि भएको थियो । त्यसपछि हामी रंगेली भन्ने ठाउँमा आइपुग्यौँ । त्यो ठाउँ नेपालको अन्य ठाउँ भन्दा अलिक फरक मान्छु म । त्यहाँ पनि साँझ पर्न लागेपछि मानिसहरू हतारहतार गर्दै घर फर्कदै गरेको दृश्यले मलाई तानिहाल्थ्यो । धूलो उडाउँदै चर्न लागिएका गाईवस्तु फर्काएको दृश्य म मन्त्रमुग्ध भएर हेर्ने गर्दथे । किनमेल सकेर हतारहतार गर्दै घर फर्केका मानिसहरूको अनुहारमा बेग्लै किसिमको सन्तुष्टि पढ्दथे म । घरका जहान, छोराछोरीका लागि किनिएका चीजबीजहरू, मिठो मसिनो खानेकुरासँगै बसेर खाने मिठो तृष्णा कस्तो आनन्द होला त्यो धैर्यमा, त्यो मिलनमा । त्यस क्षणलाई कतै बेहुलीझै बनाएर सजाएर राख्न पाए हुने भन्ने मृगतृष्णा म हुन्थेँ । अझ गोधूलिमा हल्का पानी परेको होस अनि सामान बेच्नेलाई पनि हतार , किन्नेलाई पनि हतार र किनिसकेकालाई घर पुग्न हतार जीवनको यो रङ्गलाई कतै कोलाज बनाएर सजाउन पाए कस्तो हुन्थ्यो होला ? त्यस क्षणलाई सुन्दर मूर्ति बनाएर सजाउन पाए कस्तो हुन्थ्यो होला ? अझ त्यसमा धेरै लामो समयपछि भेट हुने मायालुको प्रतीक्षाको क्षण होस् । त्यो क्षण म व्याख्या गर्न सकुला र ? मनमा खुसीका हजारौँ किरणहरू फुलिरहेका हुन्छन् गोधूलिमा सूर्यास्तले फैलाएको किरणजस्तै । मन आफै बासना भएर मगमगाइ रहेको हुन्छ । फूल फुल्दा सुन्दर देखिन्छ टिपेर सजाउनु भन्दा । तर त्यो फुलेको क्षणको आनन्द खै के सँग तुलना गर्न सकुँला र ? त्यो समय त्यो खुसी मलाइ मात्र हैन जीवनको रङमा भिज्ने शायद सबैलाई हुन्छ होला ।
जीवनको त्यो व्यावहारिकतामा डुबेको, सांसारिक मोहमा फसेको जीवनले गोधूलिमा अरू पनि खुसी छ भनेर अनुमान लगाउन कसैले सक्ला र ? व्यवहारिक जीवनको आर्दश, सोचाइ र खुसीको विपयर्यको रूपमा गोधूलिको त्यो खुसीभन्दा बेग्लै खुसीका रङ्ग हुन्छन् भनेर कसैले कल्पना गरेको होला र ? तर त्यो खुसी कोरेका छन् निवन्धकार गोविन्दराज भट्टराईले ‘गोधूलिमा दस पाइला’ मा । मौलिक कृतिमा विशेषत उपन्यासलेखन, संस्मरणलेखन, निबन्धलेखनमा उत्कृष्ट शैली लेखनको दक्षता हासिल गरेका निबन्धकार भट्टराई ‘गोधूलिमा दस पाइला’ मा हास्य , करणा, व्यङ्ग्य बौद्धिकताका नयाँ रङ्ग भर्न सफल भएका छन् । सांसारिक व्यवहारबाट पर सर्दै गोधूलिमा अर्को खुसी खोज्दै हिडँनु उनको अथक साधनाको प्रतिबिम्ब बनेको छ । भाषा साहित्यको प्रेमले घरको रोटी छोडेर गोधूलिमा देश देशान्तर घुम्दै खुसी खोज्नु सामान्य जीवन बाँच्नेको लागि कल्पना पनि गर्न नसकिने कुरो हो । तिनै, कुरा उनले साकार पारेका छन् ‘गोधूलिमा दसपाइला ’ मा ।

आज म सोच्छु, मेरो जीवनको खुसीले कोल्टे फेरिसकेको छ । समयको काँटीले जीवनमा भोगिसकेका खुसीहरू खरानी पार्दो रहेछ र नभोगिएका नयाँनयाँ खुसीहरू जलाउदै जाँदो रहेछ । आज मभित्र पनि गोधूलिको त्यो अघिको खुसी मेटिइ सकेको छ । मलाई लाग्छ अब मलाई गोधूलिले अर्कै खुसी दिनुपर्छ । घरपरिवारभित्र मात्र होइन , समाज, राष्ट्र र विश्वको खुसी मभित्र जलाउन सक्नुपर्दछ । त्यसैले मेरा पाइलाहरू अब बन्धित हुने छैनन् ती जहाँ जसरी जान खोज्छन् जान सक्छन् । सायद मलाई लाग्छ म पनि निबन्धकार भट्टराईको जस्तै गोधूलिको खुसीमा रमाउन चाहन्छु किनभने मेरा पाइलाहरूले घरका सँघार काटिसकेका छन् । खुसीहरूले कुम्लो कसिसकेका छन् लामा यात्राको लागि त्यसैले म पछ्याउदै छु ‘गोधूलिमा दस पाइला’ लाई .......।..तर म भित्र एउटा डरले डेरा जमाइसकेको छ त्यो के भने के डा. भट्टराईको बौद्घिकताको हकाइलाई म पछ्याउन सकुला ? अथवा उनको अनुभूतिको खराइलाई म न्याय गर्न सकुला र ? तर मेरा पाइलाले उन्मुक्ति खोजेका छन् त्यसैले सीमित घेरामा ती बाधिन सक्दैनन् । भावानाको ससारमा दाइँ गर्दै अघि बढ्न चाहिरहेका छन् । त्यसैले म पछ्याउँदै ती पाइलाहरू ....। उनको लेखनको प्रवृत्तिगत वैशिष्टता तथा निबन्धको विषयगत आधारमा उनको सङ्ग्रहलाई दसवटा पाइलामा बिसौनी बनाउँदै पछ्याएको छु मैले यहाँ ।

पहिलो पाइलाः- बाल्यकालीन सस्मरणात्मक तथा कलात्मक भावाव्यक्तिले भरिएका भावहरूः—
निबन्धकार भट्टराइको बाल्यकालीन सस्मरणले भरिएको यस पाइलाले सवेदनाको भित्री तहसम्म हल्लाउन सक्षम छ । यस पाइलामा मन भाच्ने लौरा र सिर्कनाहरूको सम्झनामा र यो हृदयको कुनामा दुख र उज्यालो मिसिएको बत्ती शीर्षकमा निबन्धकारको बाल्यकालको कारुणिक दृश्य चित्रित भएको छ । मन भाच्ने लौरा र सिर्कनाहरूको सम्झनामा म अत्यन्त सवेदनशील बन्न पुग्छु । मलाई लाग्छ ,मलाई प्रत्येक पल प्रत्येक क्षण यसका घटना, शब्द र शिल्पले मलाई पछ्याइरहेको छ । बालकको हृदय कति कोमल छ । बालमनोभावनाको भित्री तहसम्म पुगेर त्यसका प्रत्येक ढुकढुकीलाई सजीव रूपले उतार्नसक्नु एउटा कला, शिल्पको उत्कृष्ट नमुना मान्छु म । लाग्छ यो निबन्ध होइन कथा हो । कथा पनि होइन लोककथा हो । निबन्धकार आफूसँगै भावकलाई प्रत्येक घटनासँग साक्षात्कार गराउँदै संवेदनाको भित्री तहसम्म पुर्याउँछन् । त्यहाँ एउटा कारुणीक दृश्य सजीव भएर उत्रन्छ । भित्री हृदय वेदना र संवेदनाले उच्छवास लिन आइपुग्छ । आजभन्दा पचास वर्ष अघिको हाम्रो देश त्यसमा पनि अझ पहाडी भेगका बालबालिकाको बाल्यकाल कस्तो थियो ? त्यसको साक्षी प्रमाण सहित निबन्धकार यहाँ उभिन्छन् । घरको दयनीय अवस्था विद्यालयमा शिक्षकले प्रत्येक दिन कतिवटा लौरा भाचे भन्ने पाशविक याताना सहनुपर्ने वाध्यता, कल्पना गर्दा पनि आजको पुस्तालाई कहाली लागेर आउँछ । त्यसबेला अभिभावकले बालबालिकाप्रति राख्ने धारणा यो वाक्यले बुझौँ – ‘यो नयाँ गुरुजी साँच्चै तगडा रहेछ । उसले चाहिने दिनको एघार– वटा बाँसका सिर्कना भाच्तोरहेछ । बज्या केटाहरू त डरले छुलछुली । हाम्रा नसेले पनि पाठ बुझाएनछ हिजो । मजाले ताजन दिएछ गुरुजीले । रातभरि बज्या जोरो आयो भनेर काम्दै थियो । बिहान फेरि लप्सी मा झट्टी हान्दै थियो ।’ यी वाक्यांशमा त्यस बेलाका बालबालिकाको अवस्था कस्तो थियो होला भन्ने अनुमान लगाउन सकिन्छ । सायद बालमनोविज्ञान कुन चरो को नाम होला भन्ने थियो त्यसबेला । आजका सहरीक्षेत्रका केही बालबालिका सुविधाजनक विद्यालयमा अभिभावकको माया ममतामा हुर्कदै छन् । तर पहाड र गाउँका अधिकाँश बालबालिकाको अवस्था आज पनि उही छ । अभाव, गरिब र अशिक्षाले उही भोक्तान भोग्न बाध्य छन् । यो निबन्धलाई आजका दुर्गम क्षेत्रका अधिकांश बालबालिकाका प्रतिनिधि कथा मान्छु म । एक ठाउँमा गएर म मजाले अल्झन्छु – ‘हिउँदको चिसो सिरेटो र ठिडीले घरभित्र पसेर छेड्न खोज्थ्यो । फिलफिले दौरा छेडेर छाती र करङ्ग सम्म पुग्दथ्यो । म आज पनि बेलाबेला छाम्दछु अझै यो ढाड चिसै लाग्छ ।’ यो वाक्यमा कति करुणिकता छ , कति मर्मस्पर्शी वेदना छ । यहाँ निबन्धकार गरिवी र अभावमा तडपेका बालबालिकाको कारुणिकताको प्रतिनिधि बनेर उभिएका छन् । नहुनु जस्तो सारो संसारमा के छ ? जनयुद्धले विध्वश पारेको हाम्रो देशमा अस्थिर राजनीतिले विपन्न वर्गको आर्थिक अवस्था दिनपरदिन गिर्दो अवस्थामा छ । महङ्गी बढेर सगरमाथा नाघिसकेको छ । सर्वसाधारणको जीवन कति कष्टमय बनेको छ । आज हजारौ बालबालिका उही भोको पेट र चिसो ढाड लिएर सुत्न बाध्य छन् । संवेदनाको भित्री तहसम्म हल्लाउन सक्ने यो पाइलाले कुनबेला पाठकको मनमा हाँसोको फोहरा उठाउँछ थाहा पाउन सकिदैन । पाठकलाई रुनु कि हाँस्नु दोधारको स्थितिमा पु¥याउँछ । यो वाक्य पढौँ – ‘मलाई देखेर ऊ हिसिक्क हाँस्यो अनि अर्गेलीमा डोरीले पाटी भिरेर दौराका फेर फिलिलि पार्दै हामी चिहान डाडातिर उड्यौ ।’ यस वाक्यमा फिलिलि पार्दै भन्ने शब्दले बेग्लै हास्य मिश्रित भाव दिएको छ । बालकको मन पानीका फोका जस्तै हुन्छ छिनभरमा नै हराइजाने । जस्तो सुकै परिस्थितिमा पनि ऊ समयसँग तुरुन्त आफुलाई समायोजन गरिहाल्छ । यो बालकको मुख्य विशेषता हो । यहाँ राँके भन्ने केटो आफनो सम्पूर्ण पीडा भुलेर पढ्नलाई दौडन्छ । वास्तवमा जीवनको सानो कला यहाँ सिर्जिएको छ । त्यस्तै कवि दामोदर पुडासैनी ‘किशोर’ को विद्यालय सम्बन्धी कविता र कवि तिलक चाम्लिङको मातृभाषामा अध्ययन गर्न नपाउँदा कोरिएको कविताले यो पाइलालाई सार्थक र भावुक बनाउन सफल भएको छ । उत्कृष्ट भाव, शैली र शिल्पमा व्यक्तिगत अनुभूतिलाई विभिन्न रङ्गले रङ्गाइएको यो पाइलाले पढिसक्ता पनि प्रत्येक हृदयलाई पछ्याइरहन्छ ।
त्यस्तै यस पाइलाको दोस्रो शीर्षक छ — यो हृदयको कुनामा दुख र उज्यालो मिसिएको बत्ती । बाल्यकालीन सस्मरणको कलात्मक अभिव्यक्ति हो । यस निबन्धमा निबन्धकारको जीवनको एउटा नोस्टाल्जिया मान्छु म । वाल्यकालको जीवनले भविष्यको एउटा ठोस आकार कसरी लियो भन्ने कुरा यहाँ देखाइएको छ । यो निबन्धकारको एउटा मीठो इतिहास हो । त्यसैले मैले यसलाई नोस्टाल्जिया भन्न रुचाएँ । जीवनले नयाँ कुरा देखेको, नयाँ कुरा भोगेको अनि भविष्यका लागि अनगिन्ती सपनाहरूले आकार लिएको समय हो यो । यहाँ सुदुर भविष्यका लागि प्रत्येक पल समयले जग बसाउन थालेको जीवन हो । पहाडबाट भर्खर मधेश झरेको केटोले मधेशको धेरै चालचलनसँग परिचित हुँदै नयाँ कुरा सिक्दै जीवनको पाठ पढेको समय हो यो । आफनो सफल भविष्यको बलियो जग धैलाडुब्बा को श्री आर्दश विद्या मन्दिरले स्थापना गरिदिएकोमा निबन्धकार त्यस विद्यालय र त्यहाँका गुरुहरूप्रति हार्दिक श्रद्धाभाव अर्पण गर्दछन् । त्यहाँ बस्दा सैद्धान्तिकज्ञान मात्र नभई आफूले धेरै व्यवहारिक ज्ञान भोगेको कुरा निबन्धकार उत्कृष्ट भाषाशिल्पमा व्यक्त गर्दछन् । नौलानौला घटना र विगतको तराईको दृश्यले अब के होला भन्ने उत्सुकता र अभिव्यक्तिको उच्च कलाले पाठकलाई यो पाठ पढिरहुजस्तो लाग्छ । व्यक्तिको वाल्यकालमा के कस्ता घटना घटेका हुदाँ रहेछन् त्यस घटनाले उसको मानवीय संवेदनामा के कस्तो असर पारेको हुन सक्छ ती कुराहरू हामीले सोच्नै नसक्ने अवस्थामा उद्भाषित भएका छन् । कतिपय ठाउँमा घटना र विषयवस्तु को कारुणिकताले हामीलाई मजाले बाध्दछ । आफूलाई त्यो क्षणमा लगेर पछार्दछ र आफैसँग तुलना गर्न मन लाग्दछ । सबैको जीवनमा एउटा नोस्टाल्जिया हुन्छ तर त्यो नोस्टाल्जिया पुस्तक भएर बाँच्न सक्ला र निबन्धकार गोविन्दराज भट्टराईज्यूको झै ? यो प्रश्नले मलाई यो पाठ पढुञ्जेल लखेटिरह्यो सायद अरू कसैले यो पाठ पढ्यो भने उसलाई पनि यो प्रश्नले लखेटिरहनेछ नथाकुञ्जेलसम्म ।

दोस्रो पाइला :- विश्वविद्यालय तथा शिक्षणसम्बन्धी सचेतनाले भरिएको विचारशील अनुभवका छलाङ्गहरूः
निबन्धकार भट्टराईको कही भनेका छन् – ‘म चाहेर पनि यो विश्वविद्यालयभन्दा टाढा जान सक्दिनँ ।’ हुन पनि हो यो निबन्धसङ्ग्रहका अधिकांश पाइलाबाट यो लाग्छ उनी विश्वविद्यालयभन्दा टाढा जान सकेका छैनन् । उनको रातको चारपहर मध्ये अन्य समय विश्वविद्यालयको भाषा शिक्षण र साहित्यमा नै बितेको छ । प्रत्यक्षरूपले वा अप्रत्यक्ष रूपले प्रत्येक निबन्धमा उनी विश्वविद्यालयसँग जोडिएका छन् । शिक्षा क्षेत्रमा राष्ट्रको नै केन्द्रीय विश्वविद्यालयमा बसेर विभागीय प्रमुख भई काम गर्दा सँगालेका अनुभव विचारहरू अत्यन्तै पठनीय छन् । अझै शिक्षाक्षेत्रमा लागेका व्यक्तिहरूले यो पुस्तक एक पटक पढ्नै पर्छ । शिक्षामा देखिएको विसँगति र विकृतिको उनले खुलेर विरोध गरेका छन् । कुनै पूर्वाग्रह वा अनुग्रह नराखी आफनो ब्रहमज्ञानले देखेको र बुझेका कुरा यहाँ निर्धक्क राखेका छन् । पाठ्यक्रमको स्तर, परीक्षाको स्तर र उच्च मा.वि. र त्रि.वि.ले गर्ने कामको यहाँ विश्लेषण गरेका छन् । शिक्षा क्षेत्रले कस्ता निर्णय गर्दैछ र तिनले विद्यार्थीको भविष्यमा कस्तो असर पार्दछ भन्ने कुरा आफनो विवेकले भ्याएसम्मको तार्तिक सत्य खोलेका छन् । विश्वविद्यालय सम्बन्धी पाइलामा — यी डरलाग्दा अपारदर्शी निर्णयहरू, विदेशी पुस्तक चाहिदैन, लाठा फयाक्न पाइदैन, त्रिविमा सुधारको कल्पना छन् । यी शीर्षकमा विश्वविद्यालयसम्बन्धी घटनाका अनुभव र तार्किक विचारहरू छन् । यी मध्ये विदेशी पुस्तक चाहिदैन, लाठा फयाक्न पाइदैन मा तत्कालीन शाही सरकार्ले विद्यार्थीले पढने पुस्तकमा कर लगाएको कुरा विरोधाभासको रुपमा झल्काएका छन् । तत्कालीन सरकारले शिक्षा क्षेत्रमा अविवेकी निर्णय गर्यो । त्यो निर्णय थियो विदेशी पुस्तकमा लगाइएको कर । यस विषयमा देशका कति नागरिकले थाहा पाए वा पाएन अथवा शिक्षा क्षेत्रमा काम गरेकाले पनि थाहा नपाएको हुन सक्छ तर यो अविवेकी निर्णयलाई उनले ‘विदेशी पुस्तक चाहिँदैन ! लाठा फ्याँक्न पाइदैन !! भन्ने ब्यञ्जनात्मक शैलीमा जीवन्त बचाएका छन् । देशले जनयुद्ध खेपेको समय, सरकारलाई बन्दुक र गोली किन्न पैसाको आवश्यकता परेको बखत विद्यार्थीको पढ्ने पुस्तकमाथि कर लगाएर भाटा किन्न उठाइएको करप्रति निबन्धकारले तीखो आलोचनात्मक ब्यङ्ग्यवाण हानेका छन् । यहाँ लाग्छ साँच्चै निबन्धकारले विदेशी पुस्तक चाहिदैन भनेका हुन् कि तर यर्थाथमा लेखनको भाव गहिरिएर बुझदै जाँदा उनले कति मीठो ब्यङ्ग्यवाण हानेका रहेछन् भनेर पाठक आफै दङ्गदास पर्दछन् । साहित्यिक शब्द शिल्पले राजनीतिप्रति हानिएको मीठो व्यङ्ग्यवाणले निबन्धकारको भाषाशिल्पको हृदयदेखि नै प्रशंसा गर्न मन लाग्छ । त्यस्तै त्रिविमा सुधारको कल्पना शीर्षकमा निबन्धकारले त्रिभुवन विश्वविद्यालयमा घटेका घटनाहरू सचित्र व्याख्या गरेका छन् । त्रिभुवन विश्वविद्यालय देशको उच्च प्रांज्ञिक अङ्ग हो । देशका मुख्य बौद्धिकक्षेत्रको काम गर्ने अनुसन्धान गर्ने थलो हो । तर त्रिवि आफै कमजोर अवस्थामा रहेको र यसले सुधार हुनुपर्ने ठाउँ प्रशस्त छन् भन्ने कुरा यहाँ देखाइएको छ । दिनपरदिन त्रिवि आर्थिक अवस्था, र भौतिक अवस्था र निर्णय गर्ने क्षमता घटदै गएकोमा निबन्धकार चिन्तित देखिन्छन् । यहाँ निबन्धकार प्राध्यापकहरूको दयनीय अवस्था, विद्यार्थीहरूको भविष्य र देशको शिक्षा क्षेत्रप्रति कति संवेदनशील रहेछन् भन्ने कुरा देख्न सकिन्छ । त्रिविले गर्ने अपारदर्शी निर्णय र यसले विद्यार्थीको भविष्यमा पर्ने असरप्रति पनि खुलेर विरोध गरेका छन् ।

तेस्रो पाइला :- समसामायिक राजनैतिक चेतना र भावानाले भरिपूर्ण भएको हास्यव्याङ्ग्यात्मक भावशैलीले भरिएका छालहरू :—
निबन्धकार भट्टराई जति राष्ट्रको शिक्षा, भाषा र साहित्यप्रति संवेदनशील छन्, त्यति नै देशको राजनैतिक अवस्थाप्रति सचेत देखिन्छन् । सङ्ग्रहका केही निबन्धहरू राजनैतिक घटना र उपघटनाबाट उत्प्रेरित भई निजात्मक अनुभूतिहरू पोखिएका छन् । यी निबन्धहरू हस्यव्यङ्ग्यात्मक भाव शैलीमा तत्कालीन शाही सरकारले गरेको निर्णय र राष्ट्रले भाग्नु परेको अत्यन्तै भयानक द्वन्द्वको अवस्थाको जीवन्त चित्रण छ । यस विषयवस्तुका निबन्धहरू - एउटा अमर नाटकका केही दृश्यहरू, यसरी ढल्यो वर्लिन पर्खाल, फ्रिडम एट मिडनाइट, नीलडाम कम्पनीमा एक रातमा, मन्त्रीहरू त्यहाँ मुस्कुराइ रहेका थिए हुन् । यी पाइला अन्तर्गत एउटा अमर नाटकका केही दृश्यहरूमा देशमा जनयुद्ध भइरहेको समय राजा ज्ञानेन्द्रले शासनसत्ता हातमा लिइ आफैले शासन चलाएको समयताकाको राजनैतिक झल्को छ यस पाइलामा । राजा ज्ञानेन्द्रले शाही सत्ता टिकाउन स्थानिय चुनाव गराउदाको क्षणले भाषिक अभिव्यक्ति दिदै सुन्दर ढङ्गले प्रस्तुत गरेका छन् । देशमा अशान्ति मच्चिएको समय शाही सरकारले आफनो शासनसत्ता टिकाउन गरेको निरङकुश खेलको मीठो भाषा शैलीमा व्यङ्ग्य हानेका छन् । त्यस्तै नीलडाम कम्पनीमा एक रातमा शाही सरकारले आफ्नो सरकार चलाउन चाहिने उच्च कर्मचारी जनतालाई प्रभोलन देखाएर डाकिएको बारे व्यङ्ग्यवाण हानिएका छन् । जनतालाइ प्रभोलन देखाएर उच्च पद दिन खोजिएको बारे रोचक भाषा शैलीमा व्यङ्ग्य हानिएको छ ।त्यस्तै अर्को अति सुन्दर भाव शैलीमा लेखिएको निबन्ध छ ।
यहाँ अझै आगो निभेको छैन यस शीर्षकमा पनि उनी त्यससमयमा भएको अराजकताप्रति अत्यन्त असन्तुष्ट छन् र ती असन्तुष्टिलाई भावको एउटै बगाई नभई बिभिन्न बिचारको धाराबाट बगाउँछन् र अन्त्यमा एक मुस्टखोलो रूपमा बगाउँछन् । जुन खोलोको वेगले पाठकलाई पढुञ्जेल बगाएको बगायै गर्छ । यस पाइलाका प्रत्येक निबन्ध राजनैतिक व्यङ्ग्यवाण हानिएका छन् । यी मध्ये फ्रिडम एट नाइट, अत्यन्त उन्मुक्त भावशैलीमा लेखिएको शक्तिशाली निबन्ध हो । वि.स. २०६३ बैशाख ११ गते मध्यरातमा नेपालको इतिहासमा एउटा ऐतिहासिक खुसी कोरिएको समय थियो । मध्यरातमा २०७ वर्षसम्म चलेको शाही सरकार ढलेको थियो । मध्यरातमा देश निरङरकुश शाही सत्ताबाट मुक्त भएको घोषणा भयो । चारैतिर खुसीको लहर फैलिएको थियो । यहाँ उनाइसौँ दिनसम्म चलेको आन्दोलनको झल्काहरू पाइन्छन् । जनताले रगतको होली खेलेर, ज्यानका बाजी थापेर ल्याएको लोकतन्त्रको खुसीयाली यहाँ झल्कन्छ । राजैतिक सचेतनालाई निबन्धकारले बिम्बात्मक रूपमा निबन्धकारले यसरी पोखेका छन् :- विहान पाखा निस्केर हेर्छु ,कतै ठोकिने भीर छैन, पहरो छैन, पर्खाल छैन , घोचाभाटा छैनन् , सीमाहीन उन्मुक्तिजस्तै । यहाँ लडाईको मैदान छैन । हामीले फेर्ने सास कसैले नछेकेको, हाम्रो घाम कसैले नछेलेको , हाम्रो बतास सिरसिर चलिरहेको । कता जाऔ के गरौ जस्तो भयो । निर्बन्ध भएपछि , कहीँ ठाकिदैन भन्ने भएपछि उन्मुक्तिको नीलो दहमा हामफालौँ जस्तो भयो तर मध्यरातमा यो घडी आएको सुन्नै नपाइँ , देख्नै नपाई प्राणको आहुति चढाउनेहरू.. ।’ यस पाइलामा निबन्धकारले कुनै पनि कुरा सोझै नभनी प्रत्येक घटना , र विचारहरूलाई बिम्बात्मक अभिव्यक्ति दिएका छन् । लाग्छ यो उनको विम्बमा प्रस्तुत हुने विशेष खुबी हो ।

चौथो पाइलाः हास्यात्मक भाव अभिव्यञ्जनाले भरिएको नितान्त वैयक्तित कलात्मक अभिव्यक्ति
निबन्धका भट्टराइको नितान्त वैयक्तित अभिव्यक्ति कला दुई प्रकारका छन्— एउटा कला पाठकलाई बौद्घिक ज्ञान र सीपको अभिव्यञ्जनाले अत्यन्त गम्भीर बनाउने छ भने अर्को कला हास्यात्मक रूपले गम्भीर बनाउने कला । हास्यात्मक रूपले व्यक्त गरिएको निबन्धलाई यस पाइलामा समावेश गरिएका छन् ती हुन् — फित्कौलीसितको जम्काभेट र एक अपसकुन फिलिङ्गेबारीमा दावासँग उड्दा । फित्कौलीसितको जम्काभेट र एक अपसकुन यो हास्यरस मिश्रित कलात्मक अभिव्यक्ति हो । निवन्धकारको आफनै जीवनमा घटित घटनाझैँ लाग्ने यो पाइला काठमाडौं सहरमा पैसाको वचावका लागि दौडने साहित्यकारहरूको मार्मिक मनोदशा हो । हास्यरस मिश्रित यसमा साहित्यकारको टिढलाग्दो जीवनप्रति व्यङ्ग्य हानिएको छ । त्यस्तै फिलिङ्गेबारीमा दावासँग उड्दा विश्वविद्यालयको काम लिएर खाँदवारीको विकट पहाडी बाटोमा मोटरसाइकलमा यात्रा गर्दाको सस्मरणसँग यहाँ साक्षात्कार गर्न पाइन्छ । यो हास्यात्मक भावाव्यक्ति भएको उच्च भाषिक कलाले शृङ्गारिएको उत्कृष्ट निबन्ध हो । कतै ब्यङ्ग्य नहानी हास्यात्मक अभिव्यक्ति दिन सक्नु निबन्धकारको विशेष प्रतिभा मान्नुपर्दछ । यहाँ निबन्धकार पाठकलाई हास्यको मोटरसाइकलमा गुडाएको गुडायै गर्छन जसरी उनी यात्रामा दगुर्छन् । पढुञ्जेल पाठकलाई शिल्प र शैलीले तानिरहन्छ र पाठ पढुञ्जेल अझै नसकिए हुन्थ्यो जस्तो भइरहन्छ ।

पाचौँ पाइलाः गम्भीर भावअभिव्यञ्जनाले भरिएको नितान्त वैयक्तित अभिव्यक्ति
उनका बौद्घिक ज्ञान सीपद्वारा पाठकलाई अत्यन्त गम्भीर बनाउने खालका निबन्ध यस पाइलामा छन् जस्तै :- पुरानो घडीको लङ्गुर जस्तै घुमिरहेछु यो ससानो वृत्तमा– स्वान्त सुखाय लेख्छु भन्नेहरूका लागि ः चाहिदैन , अब हामीलाई केही पनि चाहिदैन –– कसले भत्काइरहेछ हाम्रो इतिहास । यी निबन्धहरू निबन्धकारको नितान्त वैयक्तित भावाव्यक्तिले भरिएको शक्तिशाली निबन्ध हुन् । यसमा निबन्धकारको आफ्नै निजात्मक अनुभूतिहरू पोखेका छन् । यहाँ पुरानो घडीको लङ्गुर जस्तै घुमिरहेछु यो ससानो वृत्तमा— निबन्धकार विश्वविद्यालयलाई घडी र आफूलाई त्यसको वरिपरि घुम्ने लङ्कुरको रूपमा स्वीकार्दछन् । तीसवर्षसम्म उनले आफ्नो जीवन सुम्पे विश्वविद्यालयलाई । यहाँबाट उनले के पाए, के गुमाए र के अनूभव गरेँ ती सबै कमाएका फलहरूको मिठो रस यहाँ पाठकलाई पिउन दिएका छन् । विश्वविद्यालयमा धेरै प्राध्यापक, धेरै सिद्धान्त र धार बोकेका होलान् तर यसरी ठूलो साहसका साथ आफूले देखेका भोगेका विसँगति र विकृतिलाई यसरी पोख्ने कतिजना पो होलान् र ? यो उनको कार्यक्षेत्रको ठूलो योगदान हो । उनले प्राध्यापकहरूका हक अधिकारका कुरा पनि बोलेका छन् भने प्राध्यापकहरूले पनि विश्वविद्यालय र विद्यार्थीप्रति गर्नुपर्ने उत्तरदायी कार्यको पनि दिल खोलेर प्रस्तुत गरेका छन् । कतिपय प्राध्यापकहरू व्यक्तिगत स्वार्थमा बगेर त्रिवि र विद्यार्थीहरू को भविष्यमाथि खेलवाड गरेको कुरालाई आक्रमक रूपमा प्रस्तुत भएका छन् । त्यस्तै विद्यार्थीहरूले खोज्ने सर्वसुलभता , सरलता , अनियन्त्रित र सहजताप्रति पनि कलात्मक अभिव्यक्ति पोखेका छन् । त्रिभुवन विश्वविद्यालय भित्र देखिने विसँगति र विकृतिलाई उनले आफनो भाषिक कलाले आर्दशता र नैतिकतालाई पालना गर्नु पर्ने सुझाव दिदै व्यक्त गरेका छन् । प्रत्येक विद्यार्थी प्राध्यापक र शिक्षकले पढ्नै पढने यो पाठ जीवनको अनुभूतिले खारिएको बौद्धिकताको कसीले माझिएको एउटा आर्दश व्यक्तिले पोखेको अत्यन्त मर्मस्पर्शी भावहरूको उच्चकोटीको निजात्मक निबन्ध हो । वास्तवमा सम्पूर्ण पुस्तकबाट नै यो थाहा हुन्छ कि निबन्धकार नेपाली मात्र नभई पाश्चात्य भाषा साहित्यका पनि गहना अध्येता हुन् । हुन त यो कुरा उनको महत्वपूर्ण पुस्तक काव्यिक आन्दोलनको परिचय, उत्तरआधुनिक विमर्श, उत्तरआधिुनिक ऐनाबाट थाहा हुन्छ तर त्यहा पोखिएका उनका वस्तुपरक सिद्धान्त यहाँ आएर आत्मपरक निबन्धका रूपमा पोखिएका छन् ।

चाहिदैन , अब हामीलाई केही पनि चाहिदैन निबन्धमा उनले आत्मपरकताले ती भावहरू यहाँ पोखेका छन् । प्रथम विश्व युद्धपश्चात विश्वमा जन्मिएको दादावादको यहाँ व्याख्या गरेका छन् । स्वान्त सुखाय लेख्छु भन्नेहरूका लागि –मा उनले नेपाली उपन्यास लेखनको कुरा उठाएका छन् र यससम्बन्धी केही जानकारी प्रस्तुत गरेका छन् । नेपाली उपन्यासलेख्ने उपन्यासकारको नामावलीसहित विश्वसाहित्यमा उपन्यासलेखनको कतिको महत्व छ भन्ने कुरा यहाँ देखाएका छन् । अन्त्यमा म किन लेख्छु भन्ने प्रश्नको उत्तर लेखकहरूले आ–आफ्नै तरिकाले दिने कुरा यहाँ उल्लेख गरिएको छ । त्यस्तै कसले भत्काइरहेछ हाम्रो इतिहास यस शीर्षकमा निबन्धकारको राष्ट्रियता झल्केको छ । साथमा हाम्रो देशको इतिहास, संस्कृति , सिमानामा भएको अतिक्रमणप्रति तिखो आलोचनात्मक टिप्पणी छ । शक्तिशालीले जे बोले पनि ठीक र सही हुने, निर्धाले शक्तिहीनले जति चिच्याए पनि केही नहुने अहिलेको अन्र्तराष्ट्रियस्तरमा नै मानवताको भन्दा शक्तिको पुजारीको बोलवाला रहेको यथार्थ पोखेका छन् । गौतम बुद्ध नेपालमा जन्मिएका सबुत प्रमाण हुँदाहुँदै पनि भारतले आफनो बनाइरहदा हामी मूख दर्शक बनेर केहीगर्न नसकेको स्थितिमा ब्यङग्य वाण हानेका छन् । निबन्धकारले बेलाबेलामा वाक्यलाई चोटिलो बनाउँदै राष्ट्रियताप्रति सबैलाई सजग रहन आव्हान गरेका छन् । उनको भाषाशिल्पले पढ्दै जाँदा कतैनकतै आफूलाई राष्ट्रियताको भावले च्वास्सच्वास्स घोचिरहन्छ । यो उनको लेखनको मुख्य विशेषता मानेको छु मैले । यस पाइलाका निबन्धहरू उनका नितान्त वैयक्तित गम्भीर भावाव्यक्तिले भरिएका छन् ।

छैटौँ पाइलाः महान् साहित्यकारप्रति श्रदाभावले भरिएको अभिव्यक्ति :—
यस पाइलामा निबन्धकारले महान साहित्यकारहरूप्रति गरिएका श्रदाभावले युक्त निबन्धहरू राखिएका छन् । यस विषय अन्तगर्त एथेनाका मन्दिरबाट महाकविलाई सम्झदा र जोराको समाधिस्थलमा दुई थुगा फूल निबन्ध छन् । एथेनाको मन्दिरबाट महाकविलाई सम्झिदा मा एथेन्स शहरको यात्रासंस्मरणको साथसाथै यूरोपिय साहित्यमा रचिएको पौराणिक कथा प्रमियसको चर्चा गरिएको छ । प्रमियसले कसरी स्वर्गबाट आगो चोरेर मानवताको कल्याण गरे भन्ने व्याख्या यहाँ गरिएको छ । यस पाइलामा निबन्धकारको मानवतावादी स्वरहरू प्रमियसको कथासँगै महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रशंसामा अवतरित भएका छन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाले राष्ट्रको भाषा, साहित्यको क्षेत्रमा गरेका योगदानको यहाँ चर्चा गरिएको छ । त्यस्तै जोराको समाधिस्थलमा दुई थुंगा फूलमा निबन्धकार अमेरिकी भ्रमणमा रहदा अमेरिकाको अत्यन्त शक्तिशाली व्ल्याक लेखिका जोराको समाधिस्थलप्रति हार्दिक श्रद्धाञ्जली अपर्ण गर्न पुग्दछन् । कालाजातिले आफ्नो हक अधिकारको लागि अमेरिकामा धेरै लडाइ लडनु प¥यो । अन्त्यमा उनीहरूले आफ्नो सार्वभौमिकता प्राप्त गर्न सफल भए । यसरी उनीहरू लामो समयसम्म दबिएर रहे । ती मध्ये व्ल्याक लिटरेचरको अध्ययनको रुची बढ्न थालेपछि उनको पुस्तक देअर आइजलाई उत्कृष्ट पुस्तक मानियो । उनको मृत्यु भएको १५ वर्षपछि एलिस वाकरले उनलाई उत्खनन गरेर निकालिन र विश्व समक्ष चिनाइन् । तिनै जोरा प्रति र उनको पुस्तकप्रतिको प्रेमले नतमस्तक निबन्धकारको विचारधारा यहाँ पढन पाइन्छ ।

सातौँ पाइला :- भुटानी शरणार्थीप्रति समर्पित बौदिक भावव्यक्तिः—
यस पाइलामा अन्तराष्ट्रियस्तर मा नै भुटानी शरणार्थी ठूलो राजनैतिक वहस र समस्याको रुपमा देखिएको विषयमा निबन्धकार गम्भीर भावव्यक्ति व्यक्त गर्दछन् । भुटानी शरणार्थीप्रति अत्यन्त संवेदनशील निबन्धकारले भुटानी नरेशको निरकुशताप्रति अत्यन्त मीठो भाषाशैलीमा आक्रोश व्यक्त गरेका छन् । निबन्धकारले यहाँ मानव सहअस्तित्व, मानवअधिकारको बारेमा उच्च स्वर सुनिन्छ । भाषिक कलाले छोपिएको ती स्वरहरू पढ्दा सामान्य लागे भएपनि त्यसको अर्थव्यन्जना गहिरो रहेको पाइन्छ । लेखेटिएका हजारौ शरणार्थीहरूले आफ्नो भूमिको लागि लड्नुपर्ने संदेश दिएका छन् । भूटानी शरणार्थीहरूको सार्वभौमिकताप्रति नै हृदय छुने भावव्यक्ति पाइन्छ । भुटानी शरणार्थीहरूको समस्याको उच्चस्वर अन्तराष्ट्रियस्तरमा उठेपनि यसको खास निकासा हुन नसकेपछि अमेरिकाले आफ्नो देशमा बोलाएको निर्णयबारे यहाँ तातिर्क अभिव्यक्ति छ । भुटानी शरणार्थीले अमेरिका जस्तो महाराष्ट्रको निम्तो स्वीकार्ने कि भुटानमा नै आफ्नो अस्तिक खोज्ने भन्ने बारे निबन्धकारले वैचारिक तर्क पेश गरेका छन् । त्यसैले उनी भन्छन् – तिमी अन्तिम मोडमा उभिएका छौ । यस पाइलामा :- तिनीहरू हाम्रो सम्झनाका कम्प्युटरबाट क्लिक, डिलिट र ओके हुनेछन् तिमी अन्तिम मोडमा उभिएका छौ निबन्ध छन् ।

आठौँ पाइला :- विदेश भ्रमणमा जाँदाका केही सस्मरणहरु —
सङ्गहका केही निबन्ध विदेशभ्रमणसँग सम्बन्धित छन् । त्यसैले यस पाइलामा ती निबन्धहरूलाई समावेश गरिएका छन् । यसअन्र्तर्गत दुखान्तहरूको रङ्गमञ्चमा पाइला टेक्ता र– एउटा अवोध गाउँले सहर पसे जस्तै छन् । एउटा अवोध गाउँले सहरमा निबन्धकारले अमेरिका भ्रमणमा रहदाको क्षणलाई आत्मगत रूपमा व्यक्त गरेका छन् । अमेरिकाले गरेको इलेक्ट्रोनिक विकास र त्यसले शिक्षण क्षेत्रमा पारेको प्रभाव देखेर निबन्धकार चकित बनेका छन् । साँच्चै एउटा अवोध गाउँले सहर पसेर अलमलिएको जस्तो भावव्यक्ति दिएका छन् । वास्तवमा नै हाम्रो देशको शैक्षिक अवस्था कस्तो छ र यहाँका विद्यार्थी र शिक्षकको मनोवृत्ति कस्तो छ भन्ने कुरा यहाँ निबन्धकारले प्रष्टाएका छन् । उनले शैक्षिक क्षेत्रमा लागेका व्यक्तिलाई संदेश मूलक अभिव्यक्ति दिएका छन् । यहाँ कतैकतै निबन्धकार मानवीय प्रवृत्तिमा दानवीय प्रवृत्ति बढ्दै गएको हाम्रो देशको वर्तमान अवस्थाप्रति तिखो आक्रोश पोख्न चुकेका छैनन् ।
त्यस्तै दुखान्तहरूको रङ्गमञ्चमा पाइला टेक्तामा उनी हामीलाई विकासशील राष्ट्रको सभ्यताको बारेमा वैचारिक अवतरण गराउन पुग्छन् । हाम्रो देशमा जब शिक्षाको ढोका उध्रियो त्यस बेला पश्चिमी मुलुकले विकासको लामो फड्को मारिसकेको थियो । सभ्यताको सही पथप्रदर्शनले विकासको लामो फड्को मार्नसकेका थिए पश्चिमाहरूले, जसको पृष्ठभूमि थियो तीनहजार वर्ष अघिको एथेन्सको सभ्यता । आफ्नो देशको सभ्यता अधभरो भएको बेला निबन्धकार ग्रीसको सभ्यतासँग आफ्नो देशको सभ्यता तुलना गर्न पुग्छन् । आफ्नो देशमा जनयुद्ध छेडिएको बेला, दानवीय प्रवृत्तिले साम्राज्य फैलाएको बेला पश्चिमी सभ्यता, सँस्कृति साहित्य र ज्ञानको अथाह भण्डार देखेर अचम्म मान्दै तुलनात्मक अभिव्यक्ति दिन पुग्छन् । देशमा चलेको द्वन्दले क्षतविक्षत उनको विवेकशील चिन्तन पश्चिमी मुलुकको सभ्यता र विकास देखेर छटपटाउँछ । उनी विवेक र भावलाई यही प्रस्तुत गर्छन् – ‘अब यो इ–लर्निङ हाम्रोमा प्रयोग गर्न सकिएला ? हामीले धेरैबेर सोच्यौ । हामीलाई शंकाले छोप्यो । त्यसबेला मेरो मनमा केही घटनाहरूको रिल फनफनी घुम्यो । हातमा लाठा बोकेर विनाशका गीत गाउँदै विद्यार्थीहरू मच्चिए । तीस वर्ष लगाएर गुरुहरूले जोडको एउटा ओएचपी धूलो पारिदिए, कम्प्युटर पडकाए ; कुर्सीहरू खरानी पारे, टेबुल ढुट्याए, पुस्तकालय बाले अझै बाँकी रहेकामा आगो झोस्न खोजिरहेका छन् । पाँच वर्ष भित्र कीर्तिपुरमा मात्रै कम्तीमा पचास लाखको सम्पत्ति स्वाहा भयो । कति गुरुहरूले राजीनामा ठोक्दै भाग्दै गरेका छन् र कति गोजीमा बोकेर काम्दै क्याम्पस पुगेका छन् । यस्ता डरलाग्दा कुरा आजानमा कसैलाई भन्न चाहिनँ तर सुकरातलाई सुनाउन पायो , अरस्तुलाई भन्नुपयो र प्लेटोसँग संवाद गर्नु पर्यो भनी म पनि ग्रीस सम्म पुगेको थिएँ । यहाँ निबन्धकारको उच्च आर्दश र विवेक प्रकट भएको पाइन्छ । ’

नवौँ पाइलाः मोफसलको सिर्जनाप्रति आत्मीय भाव पोखिएका निबन्धहरू
वास्तवमा केन्द्रमा बसेर मोफसलको साहित्यप्रति यति धेरै स्नेह प्रकट गर्नु निबन्धकारको भाषा साहित्यप्रतिको विशेष लगाव नै मान्नु पर्दछ । मोफसलको सहित्यलेखनको कम चर्चा हुने मोफसलका साहित्यकारहरूको सधैँ गुनासो रहने गरेको छ । यसलाई अपवादको रूपमा लिँदै सर्जक गोविन्दराज भट्टराईले मोफसलको साहित्यप्रति विशेष लगाव रहेको भनी यहाँ चर्चा गरेका छन् । उनले पूर्वको मेचीको दुई थुँगा फूललाई टिपेर यस पाइलामा सजाएका छन् । पूर्वका अन्य साहित्यकारहरूको नाम लिदै विशेषगरी श्यामकृष्ण श्रेष्ठ र गोपाल कुमार बस्नेतको क्रमश ‘मेरो जागिरे जीवन’ र ‘आफनै सेरोफेरो’ चर्चा गरेका छन् । दुबै साहित्यकारको लेखनमा उत्कृष्टता रहेको र झापाको ऐतिहासिक , प्रशासनिक, आर्थिक र सामाजिक अवस्थाको उजागर गर्ने यी कृति अत्यन्त महत्वपूर्ण रहेको व्याख्या गरेका छन् । यो पाइला कलात्मकता भन्दा बढी विवरणात्मकरूपमा पाठकलाई स्विकार गर्न सजिलो पर्दछ ।

मोफसलको सिर्जना र केन्द्रसँगको मुठभेड सधैँ ओझलमा परिरहने मोफसल साहित्य लेखनको आफनै पीडा हुन्छ । यस शीर्षकमा मोफसल साहित्यप्रेमी समेत रहेका निबन्धकार पश्चिमाञ्चलको साहित्यिक गतिविधिको चर्चा गरेका छन् । धवलागिरि बाङ्मय मञ्चले स्थापना गरेका कार्यक्रममा धवलागिरिमा भएका साहित्यकारहरूको साहित्यिक उत्साहलाई दिल खोलेर प्रशंसा गरेका छन् । निबन्धकारले यहाँ साहित्यिक क्षेत्रमा पनि साहित्यकार स्वयम् ले विकेन्द्रीकरण सिद्धान्त लगाउनुपर्ने र एकलताबाट बहुलतातिर लाग्नु पर्ने दृष्टिकोण राखेका छन् ।

दसौँ पाइला:- अङ्ग्रेजी भाषाको सङ्क्रमणले क्लान्त पारिएका केही घटनासहितका विचारहरूः—
निबन्धकार विश्वविद्यालयमा अङ्ग्रेजी भाषाशिक्षक रहेका हुनाले उनीसँग अङ्ग्रेजी भाषासम्बन्धी धेरै घटना र अनुभव रहेको यहाँको निबन्धबाट बुझिन्छ । ती निबन्धलाई यस पाइलामा समावेश गरेकी छु । ती हुन् - त्रिवि दिवसमा भानुको सम्झना , कुनै ढोका खुलेन । कतै उज्यालो देखिएन , त्रिवि दिवसमा भानुको सम्झनामा यो पाइला कवि कालीप्रसाद रिजालले गरेका पश्चातापका अभिव्यक्तिबाट प्रभावित भएको छ । उनले भनेका छन् – ‘हाम्रो देश कहिल्यै पनि अङ्ग्रेजहरूको गुलाम भएन तर हामी अङ्ग्रेजीको भने सधैँ गुलाम रहँदै आएका छौँ । अङ्ग्रेजी स्कुलमा पढ्न पाएको भए अङ्ग्रेजीमा लेख्न सकेको भए म कत्राकत्रा पुरस्कार जितिसक्थेँ हुलाँ ।’ यो अभिव्यक्तिबाट थाहा हुन्छ अङ्ग्रेजी भाषाको लोकप्रियताको कुहिरोले हामीलाई कसरी ढाकिसकेको छ भन्ने र यहाँ निबन्धकार त्यो कुहिरोको घुम्टो यसरी उधार्न खोज्छन् – ‘उनले अङ्ग्रेजीमा लेखेर प्रसिद्धी कमाएका सम्राट उपाध्यायलाई हेरेर त्यो भनिरहेका थिए, मञ्जुश्री, डिबी गुरुङ आदिले कमाएका प्रशंसालाई हेरेर बोलिरहेका थिए अन्य भाषामा लेख्नु अतिरिक्त क्षमताको कुरो हो । त्यसको हामी प्रशंसा गर्दछौ तर त्यो भनेको अरूको गोठमा बाधिएका जर्सी गाई दुहिन्जेलको आनन्द हो । आखिर त्यो दुध पनि उतै जान्छ ।’ उनले यहाँ आफनो भाषाप्रति वितृष्णा जगाउने अभिव्यक्ति र कामप्रति नै तिखो व्यङ्ग्य छानेका छन् । अङ्ग्रेजी भाषाको मोहले विश्वविद्यालयका प्राध्यापकहरू मातृभाषाको आस्तित्व कसरी उखेल्न खोजिरहेका छन् त्यो पनि यहाँ देखाइएको छ । नेपालभित्र रहेका विभिन्न भाषालाई भाटाहरूको रूपमा नेपाली भाषालाई राष्ट्रको खाँबोको रूपमा उनले प्रतिकात्मक ब्याख्या गरेका छन् ।

कुनै ढोका खुलेन । कतै उज्यालो देखिएन – यो पाइलामा निबन्धकारले नेपाली समाजमा मात्र नभई विश्वमा नै अङ्ग्रेजी भाषा कसरी भूतजस्तो बनेर सबैलाई तर्साइरहेछ भन्ने कुरा देखाएका छन् । अङ्ग्रेजी भाषाको कारणले नै एउटा प्रेमीले प्रेमिका गुमाउनु परेको र अङ्ग्रेजी भाषाको कारण नै विद्यार्थीले आत्महत्या गर्नु परेको कुरा यहाँ खुलाएका छन् ।

समग्रमा भन्नुपर्दा निबन्धकार गोविन्दराज भट्टराईको यो कृति नेपाली साहित्यको एउटा मानक कृति हो । यहाँ विचारको उग्र हकाइ छ, , भावको निस्छलन प्रभाव छ , भाषाशिल्पको अनुपम कला छ र विवेक र आर्दशको उच्च मूल्य छ । जीवनको अनुभूतिले खरिएको, बौदिकताले माझिएको भाषा कलाले शृगारिएको, आर्दश जीवनले पस्केको यस्ता कृति नेपाली भाषा साहित्यमा विरलै पाइन्छन् ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 5 भाद्र, 2067

लेखकका अन्य रचनाहरु