नेपाली समालोचनामा देखिएका समस्या र समाधानका उपाय

- नेत्र एटम

नेपाली समालोचना जीवन्त भएकाले यसमा विभिन्न मतमतान्तर, विमर्श समस्याहरू देखिइरहन्छन् । कलासाहित्यको समालोचनाका केही स्थापित शास्त्रीय आधारहरू पाइए पनि साहित्य निरन्तर परिवर्तनशील, प्रयोगशील र विद्रोही प्रवृत्तिको हुने हुँदा समालोचकले आफ्नो व्यावहारिक ज्ञान र व्यापक पठनशीलताको जगमा उभिएर नयाँनयाँ मान्यताहरू विकास गर्न सक्नुपर्छ । टी.एस्. इलियटले भनेजस्तो नयाँ कृतिको सन्दर्भलाई मूल्याङ्कन गर्न तम्सने समालोचकले चित्त बुझाउन सक्ने मापदण्ड आफैँले पनि निर्माण गर्न सक्नुपर्छ र आफ्नो मूल्याङ्नमा दृढ रहन सक्नुपर्छ अनि मात्र ऊ पहिलो दर्जाको समालोचक बन्न सक्छ । अन्यथा रवीन्द्रनाथ टैगोरले भनेजस्तो कच्चा समालोचकको समालोचना काँचो आँपजस्तो हानिकारक हुन्छ । यिनै अवधारणालाई मूलमा राखेर नेपाली समालोचनामा देखिने केही समस्याहरू र तिनलाई समाधान गर्ने उपायहरू केलाउन सकिन्छ ।

समालोचक साहित्यको सहृदयी पाठक हुनुपर्छ अन्यथा कृतिको मर्म पहिल्याउन र कृतिकारको संवेदना अनुभूत गर्न गाह्रो पनि पर्दछ । नेपालीका मोतीराम भट्ट, रामकृष्ण शर्मा, कृष्णचन्द्रसिंह प्रधान, इन्द्रबहादुर राई, वासुदेव त्रिपाठी, मोदनाथ प्रश्रित, रामलाल अधिकारी, मोहनराज शर्मा, लक्खीदेवी सुन्दास, कृष्ण गौतम, ऋषिराज बराल, कृष्णहरि बराल, सुधा त्रिपाठी, गोविन्दराज भट्टराई आदि समालोचकहरू स्रष्टासमेत भएकाले उनीहरू संवेदनशील र सिर्जनाप्रक्रियाका ज्ञाता हुन्छन् । यसले समालोचनामा सकारात्मक प्रभाव पारेको हुन्छ । अर्कातिर समालोचक नै स्रष्टा भएका कारण अन्य स्रष्टा र कृतिको मूल्याङ्कनमा स्पष्टता नहुन वा पूर्वाग्रह पनि सक्तछ । यसका लागि समालोचकको नैतिकता, इमानदारी तथा तटस्थताको भूमिका सर्वोपरि हुन जान्छ र यसले नै विश्वसनीयताको आधारभूमि तयार पार्दछ ।
नेपाली समालोचनामा कतिपय कृतिको मूल्याङ्कन नबुझेर वा क्षणिक प्रभावमा परेर गरिएको पनि देखिन्छ । यसले समालोचनामा अस्वस्थ गालीगलौज गर्ने वातावरण सिर्जना हुन्छ । रामकृष्ण शर्मा र यदुनाथ खनालको सूक्तिसिन्धुसम्बन्धी विवाद वा तानासर्माले बालकृष्ण सम तथा सिद्धिचरण श्रेष्ठबारे गरेको अवमूल्यनलाई यसै सन्दर्भमा हेर्न सकिन्छ ।

पाठकका रुचि, स्तर र समालोचना–प्रक्रियाको कत्ति वास्ता नगरी आफ्नो विद्वत्ता प्रदर्शनमै रमाउने समालोचकले अत्यन्त क्लिष्ठ हुने गरी समालोचना लेख्ने गरेको पनि पाइन्छ । त्यसैले ईश्वर बराल, इन्द्रबहादुर राई वा वासुदेव त्रिपाठीका समालोचना सशक्त हुँदाहुँदै पनि तिनको पुनः समालोचना गर्नुपर्ने आवश्यकता पर्न सक्तछ । यसो हुनु समालोचकको आत्मसम्मोहनका कारण उत्पन्न ऋणात्मक पक्ष हो । यसले समालोचनालाई बौद्धिक विलास मात्र बनाउने डर हुन्छ । गहन विषयलाई सरल भाषामा बुझाउन सक्नु नै सफल समालोचकको लक्षण हुनाले व्यक्तिगत आग्रह त्यागेर समालोना गर्नु आवश्यक छ ।

समालोचकले आफ्नै सङ्कीर्ण विचारलाई जुनसुकै कृतिमाथि पनि लाद्न खोज्ने प्रवृत्तिका कारण कतिपय स्रष्टाहरू लेखनबाटै विचलित बन्न सक्तछन् । व्यक्तिगत अहम्, अनावश्यक लिँडेढिपी, वैचारिक आग्रह वा अज्ञानताका कारण यस्तो समस्या उब्जेको हुन्छ । प्रगतिवादी साहित्यकारहरूमा यस्तो सङ्कीर्ण प्रवृत्ति बढी देखिएको छ । बहुल विचारलाई स्वीकार गर्न नसक्ने सङ्कुचित मानसिकता समालोचकले बदल्नै पर्छ । निरङ्कुश र एकाधिकारवादी समालोचक भएको साहित्यमा विविध विचार कसरी फस्टाउलान् ?

समालोचक न्यायाधीशजस्तो न्यायकर्ता त हो तर उसमा कसैलाई पनि कठोर सजाय दिने अधिकार हुँदैन, उसले त्यस्तो प्रक्रिया अपनाउनु पनि उचित हुँदैन । उसले सुधारका उपाय बताउन सक्तछ तर स्रष्टासित द्वेष बढाउने गरी कठोर भएर मात्र साहित्यको हित हुँदैन । एउटा स्रष्टाले समालोचनामा आफ्नो प्रतिबिम्ब हेर्न पाउने अवस्था नेपालीमा कमै उपलब्ध छ । बुझक्कड समालोचकले मूल्यहीन कृतिमाथि कलम नचलाउनु नै वेश हो ।

अग्रगामी साहित्यलाई अधिकांश नेपाली समालोचकले उदारतापूर्वक सम्मान गर्न सकेको पाइँदैन । सौन्दर्य भनेको नवीनता नै हो । उही विचार, उही शैली, उस्तै विषय र संरचनाबाट साहित्य अघि बढ्न सक्तैन भन्ने चेत समालोचकमा आउनुपर्छ अनि त्यस्ता साहित्यलाई मुख्य धारमा ल्याएर चर्चा गर्नुपर्छ र नवीनताका लागि वातावरण बनाउन मद्दत गर्नुपर्छ ।

समालोचनामा धेरैजसो प्राध्यापन पेसाकै प्रतिभा संलग्न हुन्छन् तर केवल पाठ्यक्रममा रहेका कृतिलाई विद्यार्थीका लागि भनेर हल्का ढङ्गले मात्र विश्लेषण गर्ने प्रवृत्ति पनि हुर्कंदै छ । बिनाक्षमता एउटा संरचना अनुकरण गरेर जबर्जस्ती गरिने यस्तो समालोचना अत्यन्त प्रत्युत्पादक हुन सक्तछ । नेपाली समालोचनाका पाठकको सङ्ख्या कम भएकाले पनि यसले प्रश्रय पाएको हो । यसका लागि प्राध्यापक तथा पाठकलाई एउटै मञ्च दिएर वैचारिक विमर्शमा संलग्न गराउनु जरुरी छ ।

समालोचकको काम विवरण, सूची वा उदाहरण दिने मात्र नभई त्यसलाई विश्लेषण गर्दै औचित्य पुष्टि गर्नु र सौन्दर्यको निष्कर्ष दिनु हो । भाषा र साहित्यिक कलाको सहसम्बन्ध देखाउन नसक्ने समालोचना अर्थहीन हुँदै जान्छ । त्यसैले यसलाई बौद्धिक विलास वा प्राज्ञिक क्रियाकलाप मात्र नठानी सामाजिक अन्तक्र्रियाका रूपमा विकास गर्नुपर्छ ।

संस्कृत समालोचनालाई नेपालीमा आधार मानिए पनि त्यसलाई अन्तरविषयक बनाउन नसक्ता यो अलि कृत्रिम, वर्गीकरणप्रधान र बौद्धिक विलासलाई प्राथमिकता दिने दिशातिर हिँडेर समसामयिक एवम् सक्षम बन्न नसकेको देखिन्छ । पाश्चात्य समालोचनाका पद्धति प्रयोग गर्दा पनि अधिकांशतः नेपाली साहित्यलाई हुबहु त्यसैमा ‘फिट’ गर्न खोज्दा नेपाली समालोचनाको मौलिकतामा बारम्बार प्रश्नचिन्हहरू उठ्ने गरेका छन् । यसका लागि अन्य सन्दर्भलाई सहयोगी बनाई नेपाली कृतिहरूबाटै विश्लेषणका प्रारूपहरू तयार पार्नु जरुरी छ ।

समावेशिताको आधार लिएर सीमान्तीकृत वर्ग, लिङ्ग, क्षेत्र, जाति, भाषा आदिका साहित्यलाई उठाउनु छुट्टै कुरा हो तर उत्तरआधुनिकताका निहँुमा साहित्य, भाषा, इतिहास, सौन्दर्यमान्यता एवम् मूल्याङ्कनमा हिलो छ्याप्नु र गन्जागोल उत्पन्न गर्नुलाई नै समालोचना मान्ने गैरजिम्मेवार प्रवृत्ति पनि देखिएको छ । यसले नेपाली साहित्यको पठनशीलता, समालोचना र स्रष्टाको योगदानलाई नै बिरूप पार्न सक्तछ । आक्रोश र ध्वंस कहिल्यै पनि समालोचनाको साध्य हुन सक्तैन ।

लेनदेनको लाभ वा व्यक्तिगत सान्निध्यका आधारमा समर्थन, प्रशंसा गरेर वा लाञ्छना लगाएर राजनीतिक गुटउपगुट बनाउने गरी समालोचना हुनु दुर्भाग्यपूर्ण हो । यसले एकापसमा शङ्का, अविश्वास सिर्जना गर्छ र स्रष्टा तथा समालोचक दुबैलाई कुण्ठित पार्दछ । यस्तो असन्तुलनले नयाँ साहित्य र सैद्धान्तिक विमर्शको मुहान नै अवरुद्ध पार्दछ ।

कतिपय नेपाली समालोचकहरूले समालोचनाका न्यूतम सिद्धान्त र तत्त्वहरू पनि पूरा नगरी समालोचना नाममा सधैँ एकै प्रकारका दिक्कलाग्दा लेखहरू लेख्ने गरेको देखिन्छ । असल समालोचनाका लागि चारओटा पक्ष अनिवार्य हुन्छन् ः मूल्यनिर्णय, व्याख्याविश्लेषण, सैद्धान्तिकीकरण र शोधपरकता । अर्काको अध्ययनबाट पर्याप्त सामग्री लिने तर त्यसको उल्लेख सन्दर्भका रूपमा गर्न नसक्ने कायरता समालोचक सुहाउँदो होइन । आफूलाई ज्ञानको मूल स्रोत ठान्नु तर लेखनमा उही शैली, पद्धति र सिद्धान्तको पुनरावृत्ति गरेर कत्ति पनि मौलिकता दिन नसक्नु समालोचकको व्यर्थ अभिमान हो । यसलाई हटाउन समालोचकमा अरूका कुरा पढ्ने, अरूलाई स्वीकार गर्ने र ज्ञानलाई परम्पराको निरन्तरताका रूपमा बुझ्ने क्षमता, धैर्य र उदारता सिर्जना हुनुपर्छ अन्यथा उसको समालोचना काँचो आँप मात्र ठहर्छ ।

समकालीन साहित्यिक कृतिहरूको मूल्याङ्कनमा समालोचकहरूले कम महŒव दिएको देखिन्छ । अध्ययन ‘अप–टु–डेट’ हुन नसक्ता वा नयाँलाई परख गर्ने क्षमता नहुँदा पनि समकालीन रचनालाई तिरस्कार गर्ने समस्या आउँछ । समालोचकलाई पनि सैद्धान्तिक आधार, विभिन्न धाराका दृष्टिकोण तथा उदार ग्रहणशीलताको उचित वातावरणको पनि अभाव छ । त्यसैले समालोचनाबाट सिर्जना प्रबोधित, संशोधित वा परिष्कृत हुने क्रम शिथिल भई प्राज्ञिकता नै शुष्क बन्न थालेको देखिन्छ । यसरी पाठकमा साहित्यप्रति विश्वास जगाउन सकिँदैन ।

लेखकहरू अधीर छन्, त्यसैले उनीहरू आफ्नो कृतिलाई प्रशंसापरक ढङ्गले तुरुन्तै समालोचना भएको हेर्न चाहन्छन् । त्यसो नहुँदा समालोचनालाई मृत घोषित गर्नु वा समालोचक नै छैनन् भन्न उनीहरूलाई सहज छ । उपयुक्त प्रतिभा वा कृतिलाई भन्दा पनि आफैँ मात्र पुरस्कार, चर्चा र ‘ग्ल्यामर’ हत्याउनका लागि गलत प्रक्रिया अपनाउन खोज्ने प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ ।

यी समस्याहरूबाट मुक्तिका लागि नेपाली समालोचकहरू समकालीन साहित्यप्रति सचेत, दृष्टिकोणको बहुलता स्वीकार गर्ने तथा साहित्यको सैद्धान्तिक, व्यावहारिक र अग्रगामी पक्षहरूमा स्पष्ट हुनु आवश्यक छ । सच्चा समालोचकमा हरेक खालका कृतिप्रति व्यापक र सकारात्मक दृष्टिकोण रहनुपर्छ ।
[email protected]

प्रमुख सन्दर्भसामग्री
अधिकारी, गोपालप्रसाद र वीरेन्द्र शाही (सं.). मध्यपश्चिमका समालोचना. नेपालगन्ज ः नेपाली साहित्य परिवार, २०६६ ।
अधिकारी, बाबुराम. समालोचना सिद्धान्त र नेपाली समालोचना. काठमाडौँ ः भुँडीपुराण प्रकाशन, २०६१ ।
अधिकारी, रविलाल. नेपाली समालोचनाको रूपरेखा, पोखरा ः लेकाली प्रकाशन, २०५१ ।
प्रगतिवादी नेपाली समालोचना. पोखरा ः लेकाली प्रकाशन, २०५६ ।
एटम, नेत्र. समालोचनाको स्वरूप. ललितपुर ः साझा प्रकाशन, २०६१ ।
नेपाली डायस्पोरा र अन्य समालोचना.. काठमाडौँ ः एकता बुक्स, २०६७ ।
प्रसाईं, नरेन्द्रराज. नेपाली साहित्यका प्रमुख समालोचक. काठमाडौँ ः एकता प्रकाशन, २०५४ ।
श्रेष्ठ, कृष्णप्रकाश. नेपाली समालोचक र समालोचना. काठमाडौँ ः तन्नेरी प्रकाशन, २०५७ ।
श्रेष्ठ, दयाराम. साहित्यको इतिहास सिद्धान्त र सन्दर्भ. काठमाडौँ ः त्रिकोण प्रकाशन, २०५७ ।
सुवेदी, राजेन्द्र. नेपाली समालोचना ः परम्परा र प्रवृत्ति. वाराणसी ः भूमिका प्रकाशन ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 1 आश्वीन, 2067

लेखकका अन्य रचनाहरु