'स्मृतिमा भीमू' एक उत्कृष्ट पीडा विरेचक प्रकाशन

- शर्मिला खड्का दाहाल

परिचय-
प्रवासमा बसेर नेपाली साहित्य फाँटमा सक्रियरूपमा लाग्नु भएकी नारी स्रष्टाहरू मध्ये भारती गौतम एउटा उज्यालो तारा भएर चिनिएको नाम हो । पूर्वाञ्चलको धनकुटामा जन्मनु भएकी गौतमले त्रिभुवन विश्वविधालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेकी छन् । विवाहपश्चात अमेरिकामा प्रवास जीवन बिताईरहेकी गौतमले अमेरिकाको केन्ट स्टेट युनिभासिटीबाट सोसियोलोजीमा ब्याचलर्स र टेनेसी स्टेट युनिभर्सिटीबाट विजिनेसमा ब्याचलर्स गरेकी छन् । उनी गोरखापत्र संस्थानको पहिलो नारी उपसम्पादक भएर विशेष परिचय बनाइसकेकी छन् । नेपाली साहित्यक्षेत्रमा विभिन्न कार्यमा संलग्न रही विशेष योगदान दिइसकेकी गौतमको 'आकाश माथिको शहर' कवितासङ्ग्रह प्रकाशित छ । देशभित्रमात्र नभई विदेशमा पनि विभिन्न पत्रपत्रिकाको सम्पादन कार्यगरी अन्तराषिट्रय नेपाली साहित्य समाजजस्तो स्थापित र प्रतिष्ठित सस्थामा रही आफ्नो विशेष प्रतिभाको परिचय मात्र नदिई मनग्गे योगदान पनि दिइसकेकी छन् । नारीका विभिन्न दायित्वलाई पूरा गर्दै प्रवासमा बसेर साहित्यिक तथा सामाजिक कार्यमा लागि पर्नु उनको विशिष्ट कार्य मान्नु पर्छ । प्रवासमा हुने विभिन्न समस्यालाई झेल्दै आफ्नो लेखन प्रतिभालाई जीवितै राख्नु कुनै चानचुने कुरा होइन । विशेषगरी उनीभित्र रहेको प्रतिभालाई श्रीमान र छोराछेारीको भविष्य उज्ज्वल बनाउँदै जीवितै राख्नु मात्र नभई त्यसलाई अझ प्रज्वलित बनाएर धेरै पाठकको हृदयमा स्थान पाउनु अति सह्रानीय कार्य मान्नुपर्छ । हाल उनी 'स्मृतिमा भीमू' नामक दुई आत्मीय मित्रताको वियोगान्त कथाले भरिएको शोककृतिबाट अमर बनेकी छन् ।

विषयप्रवेश-
ग्रीक सभ्यताका प्रणेता दार्शनिक अरस्तुले आज भन्दा झन्डै २ हजार ३ सय वर्षगाडि विरेचन सिद्धान्तको प्रतिपादन गरेका थिए । मानव सभ्यताको आरम्भका अवस्थामा गुरु प्लेटोबाट उनले धेरै ज्ञानविज्ञानका कुराहरू सिक्ने अवसर पाएका थिए । उनले आफ्ना बुवा चिकित्सकको संगतबाट मानवको पेटमा हुने विकारलाई विरेचन गरी निकोपारे जस्तै मन र मस्तिष्कमा हुने विभिन्न किसिमको भावनालाई त्रास र करुणा जगाई विरेचन गर्नुपर्छ भन्ने सिद्धान्त प्रतिपादन गरे । अहिले मानव विकासको तीव्र हकाइमा लगातार समाज परिवर्तन हुने प्रक्रियामा मानिसको मनमस्तिष्क, व्यवहारमा तीव्र परिवर्तन आइरहेको छ । जसरी अहिले विश्वमा नै उत्तरआधुनिक सिद्धान्तले राजनैतिक, कला, साहित्य, संगीतलाई प्रभाव पारेको छ , त्यसरी त्यो समयमा पनि ग्रीक सभ्यतामा विरेचन सिद्धान्तले निकै असर पारेको थियो । त्यसबेला विरेचन सिद्धान्तले विभिन्न कला, संगीत, साहित्यमा प्रभाव पारेको देखिन्छ । मानिसभित्र रहेको त्रास र करुणलाई विभिन्न कला, संगीत -साहित्यका माध्यमबाट उद्वीपन गराइ त्यसलाई बाहिर ल्याईब्यक्त गरिएमा मानिसको मस्तिष्क स्वच्छ रहन्छ भन्ने यस सिद्धान्तको मान्यता पाइन्छ । यसका धार्मिक मान्यतामा इ.पू. ३६१ तिर रोममा हाल नामक देवी प्रकोपको महामारी फैलिएको थियो यसलाई मानिसहरूको त्रास र करुणालाई उदिप्त पारिन्थ्यो जसबाट मानिसहरू आनन्द र शान्ति, शुद्धि महसुस गर्दथे । यसरी ग्रीक सभ्यताको प्रारम्भिक कालमा शोककाव्य, शोकधूनहरूको जन्म भएको थियो । यसले विशेषगरी नाटक र काव्यमा मुख्य स्थान पायो । यसलाई दुःखान्तक अवस्था पनि मानिन्छ । यसले धेरै लामो समयसम्म स्थान पाएको देखिन्छ । आज पनि यस सिद्धान्तलाई उत्तिकै प्रभावकारी मान्न सकिन्छ । नेपाली साहित्यमा शोककाव्य गाइएको पाइन्छ । लोकगाथामा बालाचन्द्र, चेली, कलस सरुमै रानी, मनोकोइली रानी छन् । त्यस्तै लोकगाथाबाट आधुनिक गाथामा शोकगाथाको विकास भएको पाइन्छ ।

विरेचन सिद्धान्तबाट प्रभावित 'स्मृतिमा भीभू' एक उत्कृष्ट पीडा विरेचक प्रकाशन हो । 'स्मृतिमा भीमू'मा गौतमले दुःखान्तकको अवस्था सिर्जना गरी भावकलाई विरेचित बनाएकी छन् । आफ्नी प्रिय साथी जसलाई उनले आफ्नो हृदयमा एउटा विशिष्ट स्थान दिएर राखेकी हुन्छिन्- तीनै साथीको मृत्यु हुदा आफू कसरी विचलित भइन भन्ने कुरालाई उपन्यासमा कलात्मक रूपले भरेकी छन् । साथी भीमूको स्मृतिसँगसँगै आफ्नो विगतका जीवनका तीतामीठा घटना -फलेशवैक) उजगार गर्दै जानु, पढ्दै जाँदा पाठकलाई अब के हुन्छ भन्ने जिज्ञासाको भुमरीले घेरिराख्नु उनको यो लेखनको ठूलो क्षमता मान्नुपर्छ । पढ्दै जादा कत्तिखेर मनमा नमिठो विरहको धून बज्दछ भन्ने कुरा पाठकलाई थाहा नै हुँदैन । लेखकको आफ्नो पीडासँगसँगै भावकलाई वेदनाको बाढीले बगाएर लानु उनको ठूलो प्रतिभा मान्नुपर्छ । उनले पुस्तक 'स्मृतिमा भीमू’ लाई तेह्र खण्डमा विभाजन गरी घटनालाई शीर्षक अनुरूप राखेकी छन् । त्यसै पनि तेह्र अङ्क अग्रेजीमा अशुभ मानिन्छ भने उनको वियोगान्त कथाले भरिएको यो पुस्तक एउटा दुखान्तक परिणतिको अशुभ संकेत मान्न सकिन्छ । पुस्तक पढदै जादा लाग्छ लेखिकाले पाठकलाई साहित्यको एउटा कुदिरहेको मेट्रो ट्रेनमा चढाएकी छन् हातमा प्रिय मित्र भीमू तस्वीर बोकेर प्रत्येक तेह्र वटा अध्यायमा स्टेशन झै अडिदै आफ्ना विगतका नोस्टाल्जिया देखाउँदै लादै छिन् । प्रत्येक अध्यायलाई उनको कुदिरहेको ट्रेनको स्टेशन मान्न सकिन्छ । किनभने प्रत्येक अध्यायमा विश्रामका साथ आफ्नो बेग्लै विषयवस्तु लिएर आएकी छन् । त्यसैले उनी आफ्ना जीवनका दुःखसुख सबै कलात्मक रूपले पाठकलाई चलचित्रझै परिदृश्य गराउन सफल भएकी छन् ।

नेपाली साहित्यमा यस खाले मित्रको वियोगमा कुनै पनि कृति नलेखिएको अवस्थामा गौतमको यस शोकगाथालाई विशिष्ट प्राप्ति मान्नुपर्छ । यहाँ विरेचनको दुखान्तक अवस्थाको साथसाथै एउटा साँस्कृतिक, परम्परागत, जीवनका भोगाइहरू छन् । नेपालीले विदेशिनु पर्ने अप्ठेरो पक्षहरू र एउटा नारीले स्वदेशमा तथा विदेशमा गर्नुपर्ने सम्पूर्ण भूमिकाहरू कसरी निर्वाह गरिएका हुन्छन्, ती कुराहरूलाई चलचित्रझैँ भावकको आँखामा स्पष्ट पारिदिएकी छन् । आजभन्दा तीस वर्षअगाडिको नेपालीको राजनीति, सामाजिक अवस्थाको बारेमा धेरै कुराहरू र्छलङ्ग भएका छन् । आजका नयाँ सोच विचारले आक्रान्त पारेको नेपाली समाजमा एउटी छोरी मान्छेले कति आदर्श बोकेर बाँचेको हुन्छ भन्ने कुरा उनले यहाँ आफ्नो जीवनी साहित र्छलङ्ग पारेकी छन् । बुवाआमाको आर्दश छोरीभई बाँच्ने इच्छाको अगाडि आफूलाई अति मन पराउने पुरुषको प्रेमप्रस्तावलाई पनि उपेक्षा गरिदिने कुरा आजको पुस्तालाई प्रेरणादायी कथा हुनसक्छ । त्यस्तै गरी आदर्श बुहारीको भूमिका त्यसपछि पत्नीको भूमिका अनि सफल आमाको भूमिका निर्वाह गर्दै एउटा प्रतिभावान जीवन कसरी सङ्र्घर्ष गर्दै, हुर्कदै, मौलाउदै गएको हुन्छ भन्ने कुरा यहा साथी भीमूको स्मृति सँगसँगै कलात्मक रूपले उजागर हुन्छन् । पाठकलाई पढ्दै जादा एउटा कुराले अचम्मसाथ घेरिरहन्छ त्यो के हो भने लेखिकाद्वारा भीमूको सस्मरण लेखिनु पर्ने भएर नै होला उनको जीवनमा भीभूसँग यति धेरै घटनाहरूको सयोजन मिलेको हो कि भन्ने लाग्छ । लेखिका भारती गौतममा लेखकीय मानासिकता अथवा कलात्मक अभिव्यक्ति हुनु, उनको धेरै जसो ऐतिहासिक सँस्मरण भीमूसँगै जोडिनु, भीमूमा उच्चकोटिको व्यक्तित्व हुनु अनि भीमूको रोगग्रस्त भई असामयिक निधन हुनु । यी सबकुराको संयोजनलाई एउटा अद्भूत संयोजन मान्नुपर्छ । जुन संयोजनले नै आज शोकगाथामा धेरै कम लेखिने पुस्तक मध्ये उत्कृष्ट पुस्तक जन्मेको छ । लेखिका भारती गौतमले नेपाली वाङ्मयमा एउटा अमर कृति उपहार चढाएकी छन् । नेपाली नारी लेखन क्षेत्रमा सस्मरण अथवा आत्मकथा लेखन कम भएको अवस्थामा यसरी एउटा नारीको आत्मकथासहित मित्रको विछोडको पीडामा आफूभित्र रहेको त्रास र करुणालाई भाषाद्धारा विरेचित गराइ, भावकलाई पनि विरेचित गराइ मनलाई शान्त र शुद्ध पार्नसक्नु लेखिका गौतमको ठूलो प्रतिभा मान्छु म । त्यसैले मैले विरेचन सिद्धान्तलाई विषयप्रवेशमा छोटो परिचय सहित राखेकी छु । लेखिकाका प्रत्येक अध्यायहरूलाई मैले यहाँ छोटकरीमा यसरी व्याख्या गरेकी छु ।

पहिलो अध्याय - त्यो तिज
यो पहिलो अध्यायको शीर्षक हो । यसमा लेखिकाले आफू प्रवासमा रहदा धेरै समयसम्म तिज मनाउन नपाएको गुनासो गरेकी छन् । जब उनी तिज मनाउन पहिलो पटक बोस्टनबाट न्युयोर्क जाने तयारीमा हुन्छिन् त्यही समयमा एकै पटक उनलाई दुइटा दुःखको समाचारले लखेटछन् । कत्रो हर्ष उमङ्गका साथ तिज मनाउन गइरहेको अवस्थामा एकतिर अभिन्न मित्र भीमूलाई क्यान्सर लागेको समाचारले शिथिल हुन्छिन भने अर्कोतिर छोरीको साथीले आत्महत्या गरेको समाचारले पीडित बन्छिन । नेपाली नारीहरूको महान पर्व तिज जस्तो पर्वमा यस्तो दुखद समाचारलाई आत्मसात गरी उनी साथीहरूसँग तीजको रमाइलोमा सामिल हुन्छिन यसरी दुखद घटनाबाट सुरु भएको उनको यो शोक गाथाका अन्य कथाहरू फ्लैशवैकजस्तै बिस्तारै सुरु हुँदै जान्छन् । त्यसपछि अन्य अध्यायमा सबै भीमू सम्बन्धीका स्मृतिका घटनाहरू एकएक गर्दै उघ्रदै जान्छन् । यही पहिलो अध्यायलाई म लेखकको मेट्रो ट्रेन मान्छु । जुन अध्यायमा उनी पाठकहरूलाई राखेर भीमूसम्बन्धी सस्मरणका परिदृश्य देखाउँदै जान्छिन् ।
दोस्रो अध्याय- भीमूसँग सुरु भएको मेरो जीवन

अब लेखिकाले भीमू मेरी को हुन भन्ने कुरा बिस्तारै बताउँदै जान्छिन् । हुन त भूमिकामा नै उनले भनेकी छन् - 'भीमू मेरो कोही नभएर पनि सबै थोक थिई मेरो सबैथोकभन्दा पनि अझ झन्डै तीन दसकसम्मको मेरो जीवनको महत्वपूर्ण अंश थिई ।' यस अभिव्यक्तिबाट थाहा हुन्छ उनी भीमूको कति नजिक थिइन् भन्ने कुरा उनको भीमूसँगको निकटतालाई यसरी यो अध्यायबाट सुरु गरेकी छिन् । यस अध्यायबाट अपरिचित भीमूसँग उनको इश्वरी कन्या छात्रावासमा पहिलो पटक भेट भएको थियो । यहाँ लेखिकाले आफू काठमाडौ पढ्न आउदाको साथसाथै भीमूसँग भेट भएको कुरालाई रोमाञ्चकता साथ प्रस्तुत गरेकी छन् । हुन त भीमूको प्रभावशाली व्यक्तित्वबाट उनी पहिलो भेटमा नै प्रभावित हुन्छिन् । अत्यन्त मायालु मिलनसार स्वभावकी भीमूले पहिलो भेटमा नै लेखिकाको हृदयमा स्नेह छाप छोडिसकेकी हुन्छिन् । छात्रावासमा अर्कै साथीलाई खोज्दै पुगेकी लेखिकालाई पहिलो भेटमा भीमूले आत्मीयता साथ चिया बिस्कुट खुवाउँछिन । यसरी अपरिचित अवस्थादेखि लेखिकाभन्दा केही दुई-तीन वर्ष कान्छी बहिनीसमान भीमूले उनको हृदयमा एउटा आत्मीयताको जरो गाड्न सफल हुन्छिन् ।

तेस्रो अध्याय- अर्थ्याउनै नसकिने त्यो संयोग
यस अध्यायमा लेखिकाले छात्रावासमा बस्न जाँदा कसरी भीमूसँगै एउटै कोठामा बस्न पुगिन भन्ने कुरा यसरी व्यक्त गरेकी छन्- 'भित्र गएर त्यहाँ काम गर्ने अनुराधा दिदीलाई मेरो नाम बताएपछि उहाँले बहिनीको कोठा नम्बर १६हो भन्नुभयो । मैले त्यो कोठा नम्बर 16 लाई अरू कुनै तरिकाले त्यसबेला सम्झिन सकिनँ, सबै सामान बाहिर राखेर, टयाक्सीलाई विदा गरेर, एउटा पोको लिएर माथि चढेपछि मात्र त्यो कोठा नम्बर १६ मा केही दिन अघि बिन्दु र म आएर इन्दिरा मास्केलाई खोजेको सम्झना भयो । कोठाभित्र पस्नेबित्तिकै छेउको खाटमा बसेर केही लेखिरहेकी तीनै अस्ति हामी सारै नै मोहित भएकी भीमू देखेर मलाई आर्श्चर्य लाग्यो, तर त्यसको अर्थ अहिले यत्ति पछि सोच्दा पनि लाग्न सकेको छैन । गन्तव्य भनौ या नियति भनौ या आफूभन्दा माथिकाको शक्ति भनौ या पूर्वजन्मको कमाइ भनौ या त सामान्य संयोग भनौ त्यत्रो छात्रावासमा मलाई खटाइएको कोठा भीमू बसिराखेको परेछ ।'

"दिदी ल कस्तो राम्रो भयो, तपाई यही कोठामा पर्नु भयो, जाऊ म पनि सामान ल्याउन मद्दत गर्छु , यति भनेर भीमू म सँगै भर्‍याङ्ग ओर्लिएर सघाउन लागि। त्यसरी बाहिर सम्म जाँदा भेटिने सबैले भीमूसँग बोलेको र उ पनि सबैसँग बोलेको र उ पनि सबै सगै नजिकिएर बोलेको देख्दा छात्रावासमा भीमू सबै सँग राम्ररी घुलमिल भएको जस्तो लाग्थ्यो ।

त्यो १६ नम्बरको कोठामा म पसेका दिन सुरु भएको भीमू र मेरो निकटता आगामी तिन दशकसम्म एउटा सहेदर दिदी बहिनी र मिल्ने साथीको रूपमा फस्टाइ रह्यो, गहिरिइरह्यो । परिचयको पनि आवश्यकता परेन हामीलाई, किनभने म त एक हप्ता अगाडि नै कहिल्यै बिर्सिननसक्ने गरी भीमूसँग परिचित र प्रभावित भइसकेकी थिएँ, पछि भीमूलाई पनि म आफ्नो लाग्न थालिरकेको रहेछ । यो एउटा ठूलो संयोजन मान्नूपर्छ कि यत्रो ठूलो छात्रावासमा लेखिका भीमूको नै कोठामा पुग्नुलाई। यसरी एउटै कोठामा परेपछि उनीहरूको मित्रता दिन पर प्रगाढ हुदै गयो । यही घटनालाई भीमूसँगको निकटताको प्रवेसद्धार मान्न सकिन्छ । त्यसपछिका समयहरूलाई लेखिकाले विश्वविद्यालयमासँगै विताएका ताजा सस्मरणसँगसँगै कलात्मक पाराले पस्केकी छन् । दसैमा घर जानुपर्दाको त्यस समयका यातायातको असुविधा सँगसँगै आफ्नो घर धनकुटाका वाल्यकालीन सस्मरणलाई यहाँ उतारेकी छन्।

चौथो अध्याय- काठमाडौमा विधार्थीहरूमा राजीतिक लहर
देशमा पंचायती शासनको विरुद्ध राजनीतिले विश्वविद्यालयमा कसरी घरजुवाइ भएर प्रवेश पायो भन्ने कुरालाई लेखिकाले यहाँ आफ्नै भोगाइबाट स्पष्ट पारेकी छन् । वि.स. २०४६ मा आएको बहुदल व्यवस्थाको पूर्वसन्ध्याको झलकको रूपमा वि.स. २०३६ सालमा भएको विधार्थी आन्दोलनको चित्रण गरेकी छन् । पाकिस्तानका अपदस्थ प्रधानमन्त्री जुल्फीकर अलि भुट्टोलाई तत्कालीन सैनिक शासकले फँासीको सजायदिई हत्या गरेको विरोधमा विधार्थीहरूमा आन्दोलन भडकिएको थियो । त्यसपछि देशभरि आन्दोलन भई वि.स. २०४६ सालमा पंचायत शासन खतम भई बहुदल व्यवस्था आएको थियो । बहुदल व्यवस्था आएपछि विधार्थीहरू माझ राजनैतिक छाप लाग्न थाल्यो । २०३६ को राजनीतिक चेतनाको आरम्भ संगै विधार्थीहरू दुइ राजनैतिक धारमा गएपछि कसरी मिल्ने साथीहरु वीचको सम्वन्धमा पानी वारावारको समेत परिस्थिति आयो भन्ने कुराको व्याख्या लेखिकाले यहाँ गरेकी छन् । यसबेला भीमू राजनीतिमा त्यो पनि अखिलमा लागेर निकै ठूलो नेता भइसकेकी हुन्छिन् । भीमूको व्यक्तित्व निकै राम्रो भएको हुनाले उनले धेरै लोकप्रियता प्राप्त गरीसकेकी हुन्छिन्। राजनीतिले विश्वविद्यालयको पठनपाठनका साथै कतिपय क्रियाकलाप पनि असर पारेको कुरा यहाँ उल्लेख गरिएको छ ।

पाँचौँ अध्याय- मेरो जीवनको सबैभन्दा प्रमुख निर्णय भीमूको भूमिका
भीमूले लेखिकाको जीवनको महत्वपूर्ण समयमा साथ दिएकी थिइन् । यसलाई पनि एउटा ठूलो संयोजन मान्नुपर्छ । कीर्तिपुर पढ्न आउनुभन्दा अघिदेखि चिनजानभई आफूले मन पराएको केटा र केटाले पनि आफूलाई मरिहत्ते हालेको तर गतिलो निर्णय लिन नसकेको बेलामा भीमूले लेखिकाका विचारमा आत्मविश्वास थप्दैलानु एउटा महत्त्वपूर्ण परिस्थिति मान्नुपर्छ। लेखिका आफ्ना कुरा यसरी राख्छिन् -

'दिदी, त्यसरी आफूलाई चाहने मान्छे हो भने त्यो कोढी भए पनि अनि झयालखानामा परेको अपराधी भए पनि म स्वीकार गर्ने थिएँ । तपाईले मेरो लागि कसैलाई मारेर लिएर आइज भने पनि मान्ने गरी दाईले तपाईँलाई चाहनु हुन्छ । भीमूले शिव गौतमका बारेमा यी कुरा धेरै पटक भनेकी थिई । मलाई उसले यसो भनेको सारै निको लागेको थियो किनभने शिव गौतम र मेरो जीवनबारे मैले भित्र भित्र बनाउँदै गएको आँटको पर्खालको लागि सबैभन्दा अन्तिम इटाँहरू भीमूका यस्ता बलिया विचारहरू नै थिए ।'

यसरी भीमूले नै लेखिकाको भावी पतिसंग जीवन जोड्ने निर्णयमा आफ्ना बलिया विचारहरूले आड भरोसा थपिदिएकी थिइन् ।
छैठौ- निर्णायक दिन र भीमू

लेखिकाको जीवनमा ठूलो घटना घटनु थियो त्यो घटनाको साक्षात्कार, टिप्पणीकार र निर्णायक हुनलाई भीमू नै आइपुगेकी छिन् । यी सबै हुनुलाई भविष्यमा स्मृतिमा भीभू लेखिनुको पृष्ठभूमि मान्नुपर्छ । लेखिका एक आर्दश छोरी भएर बस्ने अनि बुवाआमाको इच्छा विपरित आफूलाई मन पराउने शिव गौतम भन्ने व्यक्तिसँग विवाह नगर्ने भन्ने विचारमा बसेकी हुन्छिन् । तर यहाँ यस्तो एउटा घटना अचानक लेखिकाको जीवनमा अकल्पनीयरूपले घट्छ जुन घटनाले एउटा निर्णायक मोड लिन्छ र उनको लामो समयसम्म भूमिगत रहेको प्रेमले र्सार्वजनिक हुने मौका पाउँछ र त्यो लगनगाँठोमा गएर जोडिन्छ । यहाँ पनि भीमूले लेखिकाको जीवन भावी पतिसँग मिलन गराइदिन एउटा महत्वपूर्ण भूमिका निर्वाह गरेकी छन् । आफ्नो सफल वैवाहिक जीवनको लागि पृष्ठभूमि तयार गरी दिने मात्र नभई त्यसलाई उर्वर बनाइ हराभरा गराई दिने पनि भीमू नै भएकी छन् । यो जीवनको महत्वपूर्ण निर्णायकक्षणमा पनि भीमूले उल्लेखनीय भूमिका खेलेकी हुनाले पनि भीमू लेखिकाको स्मरणमा एउटा सधै ताजा नहराउने बिम्ब भएर बसेकी छन् । यो अध्यायमा लेखिकाले आफूसँग घटेको अकल्पनीय घटनालाई रोचक पाराले प्रस्तुत गरेकी छन् ।
सातौ अध्याय- म धानकुटा फर्किए ।

यस अध्यायमा भीमू लेखिकासँग अलिक टाढा भएकी छन् । शिव गौतमसँग हुने विवाहको टुङ्गो पछि उनी विवाह वन्धनमा गाँसिन्छिन् । यसै समयमा भीमू र लेखिकाले छात्रावासीय जीवनबाट अलग हुन्छन् । लेखिकाले आफ्नो वैवाहिक जीवनपछि भोगेका नयाँ नौला अनुभवहरू यहाँ व्यक्त गरेकी छन् । उनी घर विराटनगरमा जाँदा र त्यहाँ भोगिएका कुराहरू त्यस समयको नेपाली समाजको यहाँ केही मैलिक चित्रण गरेकी छन् । गैातमसँग जोडिएको लामो जीवनयात्रामा प्रारम्भिक क्षणमा कस्ताकस्ता अप्ठेरा अवस्था आए र ती अप्ठेरा क्षणहरूलाई एउटा अपरिपक्क र व्यवहार सिक्तै गएको नवदुलहीले कसरी साक्षात्कार गरिने भन्ने कुरा उनले यहाँ सबिस्तार व्याख्या गरेकी छन् । यस समय भीमू लेखिकाको सस्मरणमा मात्र रहेकी हुन्छिन् साक्षत्कार हुन पाएकी थिइनन् । लेखिका काठमाडौ आएर बस्न थालेर गोरखापत्रमा उपसम्पादक भएर काम गर्न थालेपछि भीमूसम्बन्धी केही जानकारीहरू मात्र प्राप्त भएको उल्लेख गरेकी छन् । व्यवहारिक कठिनाइ यहाँ यसरी खोलेकी छन् ।

आठौ अध्याय- भीमू फेरि सर्म्पर्कमा
त्यससमय अहिलेको जस्तो मोबाइलको सुबिधा नभएको र फोनको सुविधा पनि प्रचुर मात्रामा नभएकोले काठमाडौ भित्र पनि मानिसहरू वर्षौ दिन पछि भेट हुदो रहेछ भन्ने कुरा यो अध्यायबाट थाहा हुन्छ । यहाँ लेखिकाको भीमूसँग केही समयको लागि भेट हुन्छ लेखिकाको जीवन यात्रा पनि कष्टमय साथमा बितिरहेको हुन्छ । लेखिकाको प्रवासमा जानु अघिका केही सस्मरण यहाँ यसरी खोलेकी छन् -

'समय बित्यो, शिवजी त्यसको अर्को साता अमेरिका तर्फलाग्नु भयो । तीन वर्षो छोरो, दुइ महिनापछि जन्मिने छोरी र मलाई हजारौ माइल टाढा छोडेर आफ्नो सपना साकार पार्न कल्पनाको खाली झोला लिएर त्यो अगस्टको बिहान त्रिभुवन विमानस्थलको तुवाँलामा थाई विमानसँगै माथि माथि हुँदै आखिर शिवजी बादल भित्र हराउनु भयो । त्यसको दुइ हप्तापछि जन्मिएकी छोरीको स्याहारसुसार, धनकुटा आमासँग गएको छोरो र कता हो कता पातालमा रहनु भएको श्रीमान् आदिले ओगटेको मनले भीमूलाई फेरि केही महिनासम्म सर्म्पक गर्न पाएन बीचमा लेखिकाको भीमूसँग भेट भएको र केही आत्मीयता बढेको उल्लेख गरेकी छन् । त्यसको केही समय लेखिका श्रीमान् सँगै अमेरिका गएको र दसवर्षपछि काठमाडौ आउँदा भीमूसँग भेट भएको हुन्छ ।

नवौँ अध्याय- अर्को संयेाग
यस अध्यायमा लेखिकाको काठमाडौमा आएको बेला बाटोमा हिँडदाहिँड्दै भीमूसँग भेट भएको प्रसङ्गबाट सुरु गरिएको छ । अकस्मात् दुइ अभिन्न मित्रको धेरै समयपछि भेट हुदा दुवैका विगतका आत्मीय सम्बन्धहरू सस्मरणको भकारीमा भरिन हाल्छन् । दुवै आत्मीय मित्रहरू फेरि एकपल्ट पुराना दिनहरू सम्झेर रमाउन थाल्छन् । आफ्ना रुची, विगतका जीवनका उतारचढावहरू, सफलता असफलता दुःख, पीडाहरू साटासाट गर्दै आत्मीयताको गहिरो बन्धनमा बाधिन पुग्छन् । अमेरिका आएर काठमाडौ बसेको थोरै दिनमा दुइ आत्मीय मित्रहरू धेरैभन्दा धेरै माया पूनर्जिवित गर्दै मायाको गहिरो बन्धनमा बाँधिन पुग्छन् । आफूभन्दा सानी भएपनि भीमूको कुराले र व्यवहारले लेखिका प्रभावित भएकी हुन्छिन् । उनैले नै लेखिकालाई विभिन्न विषयमा सरसल्लाह र सुझावहरू दिएकी हुन्छिन्। सायद उनीहरूको यसरी भेटघाट नभएको भए स्मृतिमा भीमू जन्मदैन्थ्यो कि भन्ने कल्पना गर्न सकिन्छ ।

दसौँ अध्याय- हाम्रो निकटताको निरन्तरता
स्मृतिमा भीमूको लेखनलाई प्रभाव पार्ने अर्को महत्वपुर्ण तत्वमा डिजिटल कल्चरलाई पनि मान्न सकिन्छ । डिजिटल कल्चर दुइमित्रलाई एउटै कोठामा भेट गराएपछि मित्रताको रङ्ग अझै गाढा हुन गएको प्रसङ्ग यस अध्यायमा छ । डिजिटल कल्चर मार्फत नै एकअर्को वारेका सम्पूर्ण स-साना घरायसी कुराहरू सुख दुख साटासाट भएपछि दुइ मित्रहरू मित्रताको उच्च उडानमा उडेको पाइन्छ । छोराछोरी श्रीमान र घरव्यवहारका कुराहरू आदान प्रदान गर्न सजिलो भएपछि कहिले नटुट्ने मायाको बन्धन गाँसिसकेको हुन्छ ।

लेखिकाको बहिनीको असामायिक निधन अनि पछि बुबाआमाको देहान्त जस्ता घटनाहरुले गर्दा पनि भीभूसँग अझ आत्मीयता गासिएको छ । यसै अध्यायमा लेखिएकाले आफ्ना सम्पूर्ण फ्लैशर्वैकलाई छोडेर पाठकलाई वर्तमानमा व्युँझाउँछिन् । उनी यसबेला आफ्ना शब्दमा यसरी व्यक्त हुन्छिन् - 'भारती अब उठनु पर्दैन?, नुहाएर मन्दिर जानुपर्छ आज त्यो नियमित ट्रेन नजाने भएकाले बसहरू बदल्दै जानुपर्छ ।' मेरी साथी शारदाको अलिक चर्को स्वरले म ब्युँझिएँ। न्युयोर्कको त्यो सानो एपार्टमेन्टको पाँचतला माथिको झ्यालको छेउमा रहेको त्यो सानो ओध्यानमा पल्टिएकी मैले तीस वर्षपुरानो अतीतको यात्रा गरेछु । म साँच्चै नै कीर्तिपुरको कन्या छात्रावास १६ नम्बरको कोठामा थिए, भीमूसँगै थिए । मेरो त्यो लामो अतीतको यात्रा सकिएछ र वर्तमान मेरो आँखामा तिजको बिहान भएर ब्युझिसकेछ । नढाँटी भन्दा त मलाई त्यही अतीतमा हराउन मन थियो, वर्तमानसँग जतिसक्यो लामो समयसम्म छलिन मन लागेको थियो । यो वाक्य लेख्नुभन्दा एकदिन अघि लेखिकाले भीमूलाई क्यान्सर भएको थाहा पाएकी थिइन् ।

समय आफ्नै वेगमा चलिरहेको थियो । भीमूले क्यान्सर निको पार्न कीमो लिदै गरेको जानकारी बेला बेला दिदै थिइन् र निको हुने आशामा थिइन् । लेखिका यस कुराले ढुक्क भएपनि मन केही खिन्नता रहेको व्यक्त गरेकी छन् । आफ्ना नीजि सस्मरणसँगै भीमूसँग बारम्बार भएको डिजिटल भेटले मित्रतालाई जीवन्त बनेको छ । उनी अध्यायका अन्तिममा छोरीलाई लिएर नेपाल आएको प्रसङ्गलाई कलात्मकता साथ ब्यक्त गरेकी छन् - अब केही घण्टा मात्र बाँकी रह्यो हाम्रो हवाइजहाजले नेपालको भूमि टेक्न । नेपाल र हामी रहेको दूरीको निकटताले मलाई म हुनुको प्रमाण दिएको थियो, मेरो हराउनै लागेको अतीतको वास्तविकताको पुष्टि दिएको थियो । मेरो जीवनको धमिराले खाइसकेको केही पानाहरू टड्कारिन लागेका थिए । निश्चितताको निर्मल आकाश मेरो मानस पटल भरि पोखिएको थियो भने उता मेरी छोरीको मानसपटल भरि अनिश्चितता, भय, र तरहतरहको उत्सुकता देखिन्थ्यो । बाहिर देख्ता त ऊ स्वभाविक भावमा देखिन्थी, तर उसको मनमा पक्का पनि भुइँचालो गएको हुनुपर्छ । दुइ दसक पहिले त्यही छोरीलाई दश महिने बालकका रूपमा लिएर यता अमेरिकाको आकाशमा छिर्दा मलाई लागे जस्तै उसलाई भएको हुनुपर्छ । उनले यहाँ अमेरिकामा हुर्केको मानिसहरू नेपालमा आउँदा शान्तिसुरक्षा र अन्य कुराले कति असुरक्षित महसुस गर्छन् । भन्ने कुरालाई लाक्षणिक अर्थमा देखाएकी छन् ।

एघारौ अध्याय- भीमूसँगको साक्षात्कार
यस अध्यायमा लेखिका छोरी लिएर काठमाडौ आइपुग्छिन् । काठमाडौ भाइवुहारी हुँदाहुदै पनि धेरैजसो उनी आफ्नी प्रिय साथी भीमूको घरमा नै बस्न रुचाउछिन् । किमो दिँदादिँदै गरेर शिथिल भएको साथीको अनिश्चित भविष्य भोलि के होला भन्दै साथी सँगै केही समय बिताउँछिन् । उनी थोरै जिन्दगी बाँची रहेकी भीमूको विमारी अवस्थामा पनि देखिएको आत्मविश्वास खुलेर प्रशंसा गर्छिन । त्यस्तै उनको श्रीमान पन्ना र छोरीलाई परेको भावानात्मक दुःखका कुराहरू कतै नहडबडाइकन सविस्तार वर्णन गरेकी छन् । मानिसको जीवन पनि कति कमजोर हुदो रहेछ । कसैको हातमा उडिरहेको चङ्गा जस्तै। कति आकाङ्क्षा लिएर उडिरहेको चङ्गालाई विधाताले कुन बेला धागो चुडाइदिन्छन् थाहा हुदैन रहेछ । यसबेला लेखिकाले भीमूसँगै बसुन्जेल बारम्बार आफ्ना मनका यिनै कुराहरूलाई कलात्मकरुपले व्यक्त गरेकी छन् । अमेरिकामा हुर्केको छेारीले नेपालमा आएर के कस्ता अप्ठेरो पक्षहरूलाई जुध्नुपर्‍यो भन्ने कुरालाई पनि सविस्तार ब्याख्या गरेकी छन् ।
बाह्रौ अध्याय- भीमूसँग बिताएका दुइ हप्ता

यो अध्याय निकै कारुणिकताले भरिएको लामो अध्याय हो । दसैको बेला भएकोले भीमूलाई टीका लगाउन गएको र भीमूले आफ्नो गम्भीर अवस्थामा पनि सबैसँग सामान्यरूपले बोलचाल गर्ने व्यवहार गरेको देखेर अचम्म लागेका घटनाहरू व्यक्त गरेकी छन् । मित्रताको डोरी सानो कुराबाट प्रष्ट पारेको कुरा यहा उल्लेख गरिएको छ । जस्तै त्यो संवाद पढौँ-

यो मेरो चिनु, तिमीले सधैँ लगाइराख है, अस्पतालमा जाँदा पनि न छोडनू । मलाई ती सामान मार्फत भीमूको साथैमा रहिरहन मन लागेको थियो ।

"दर्शन दिदी, म हजुरले भने बमोजिम गर्छु""थ्याङ्कु यु दिदी मेरा दुवै हात आफ्नो हातमा लिएर आफ्नो टाउकोमा लगी भीमूले । मैले अमेरिकाबाट कपडा ल्याएर उसको लागि सिलाउन लगाएको कुर्ता सुरुवाल पनि हातमा दिएँ । "मेरो नाप कसरी लिनु भो दिदी" उसले वाक्य पुरा नगरी मैले अस्ति लाउँदै गर्नु भनेर दिएको कुर्ता सुरुवालबाट नाप लिएको भनेर जवाफ दिएँ । "ए उमा, त्यो दराजबाट अस्तिको साडी लिएर आइज त ।"

उमाले भित्र गएर ल्याएको सारी देखेर मेरा आंखा रसाए, जिउ पनि कसो कसो कामेको जस्तो भयो दुइ हप्ता लेखिका भीमूसगै जीवनभरको मित्रता साट्न चाहन्छिन् किनभने अब लेखिकाको मनमा परिसकेको थियो भीमु संग विताएको यो दुइ हप्ता भिमुसंग बिताउन पाउने अन्तिम समय हुनेछ। यी वाक्य पढौ- बाहिर अँध्यारो छिपिँदै गयो । म भीमूको ओछ्यानमा उसको नजिकै ढल्किए । उसका हात र खुट्टा सुमसुम्याइ रहे । हामीले थुप्रै कुरा गर्‍र्यौ । छात्रावासका कुरा गर्‍र्यौ, कीर्तिपुरका कुरा गर्‍र्यौ, मैले अमेरिकामा पाएका सुखदुखका कुरा गरेँ ।' यी वाक्यहरूबाट थाहा हुन्छ लेखिका र भीमू बीच कति गहिरो आत्मीय सम्बन्ध रहेछ भन्ने कुरा । दसैपछि लगत्तै तिहार आएको समय हुनाले लेखिकाले तिहारका केही रमाइला क्षणहरू भीमूसँगै बिताएको उल्लेख गरेकी छन् । भीमूलाई रोगले झनै गलाउँदै लाँदा लेखिकालाई भीमूको मायाले अत्यन्तै संवेदनशील बनाएको कुरा व्यक्त भएका छन् । त्यसपछि लेखिका अमेरिका फर्किन्छिन् । अमेरिका आएर पनि बारम्बार भीमूकै चिन्तामा र सम्पर्कमा हुन्छिन् ।

तेहौ अध्याय- निर्दयी बिहान
यो अन्तिम अध्याय हो यसमा लेखिकाले ठूलो पीडा सहेको मार्मिक उदगारहरू छन् ।नेपाल सरकारको उच्च पदमा काम गरेकी, विभिन्न राष्टिय तथा अन्तराष्टिय सम्मेलनमा भाग लिएकी भीभू अव कतै थिइनन् । आफ्नो प्रिय मानिस यो संसारमा छैन भन्ने समाचार पाउनु र त्यस दुखद समाचारलाई आत्मीय साथीभाइको अगाडि पोख्न नपाउनु यो उनको ठूलो दुर्भाग्य भएको देखिन्छ । मनभित्रको पीडा उदीप्त हुन नसकी भित्रै गुम्सियो भने मानिसलाई कस्तो हुन्छ भन्ने कुरा उनले वाक्यवाक्यमा व्यक्त गरेकी छिन् । यो क्षण वास्तवमा नै लेखिकाको अत्यन्त मार्मिक क्षण भएर गुज्रेको छ ।यो बेलाको विरेचन हुन नसकेको क्षणले नै आत्मा अतृप्त भएर नै भाषा सिर्जनामा प्रस्फुटित भएर यो पीडा विरेचकको उत्कृष्ट कृति जन्मेको होकी भन्ने अनुमान लगाउऩ सकिन्छ । यस बेलाको प्रत्येक वाक्यहरू अत्यन्त पीडा मिश्रित छन् —आफ्नो साथीका सम्झनामा ।उनीभित्रको पीडामिश्रित भाव उदिप्त हुन नसक्दा उनले यसरी आफ्नो विरह व्यक्त गरेकी छन् — Ú भीमूलाई गुमाउनु पर्दाको मेरो पीडाको गहिराइ नाप्न मलाई भीभूको नै आवश्यकता थियो । यसबेला मात्र नभएर जीवनमा नजाने अरु कति उतार चढाव आउने हुन् जसलाई मैले भीमूसँग बाडेर मात्र सन्तुष्टि प्राप्त गर्न सक्नेछु । पछिको त कुरै भएन अहिले भीमू वारेको दुख पोख्न र यो चोट बाड्न मलाई भीमू नै चाहिएको छ । भीमू बाहेकको यो ससार त हैन भीमू बिनाको मेरो जीवन मेरा लागि अहिले सोच्दा त असम्भव जस्तै छ । एक छिन भएको छैन, मैले उसलाई सुनाउने कति कुरा जम्मा भैसकेको छ ।‘ यी वाक्यहरूले बुझाउँछन् कि लेखिकाको भावना भीमूप्रति कति आत्मीयता रहेछ भन्ने कुरा ।

हो साँच्चै भीमू अब कतै छ्रैन्, भीमू अब नेपालमा थिइन् , भीमू अब कुलेश्वरको सुन्दर घरमा थिइनन् साँच्चै अब भीमू कतै थिइनन् तर लेखिकाको जताततै भीमू नै भीमू देखिन् । उनको जीवनभरि उनी भीमू नै भीमू भएर बाँचिन् । उनको अस्तित्व अब भीमूसँग गएर जोडिएको थियो । उनी अन्तिममा भन्छिन्-

'कसरी खायो आगोले दिदी कमलको शरीर
कसरी खायो निदूरी भई कमलको शरीर

मदनले भने जस्तै मलाई पनि भन्न मन लाग्यो । कसरी मेरी बहिनी भीमूलाई आगाले पनि निगाह गरेन, कसरी त्यस्तो मुलायम र केामल शरीर प्रति आगाले आफ्नो धर्मको अपवाद बनाउन सकेन ।'

साँच्चै लेखिकाले भनेझै अलिकति म भीमूसँग मरेकी छु भने अलिकति भीमू म सँग बाचेकी पनि छ । सायद् यो शोकागाथा पढेपछि सबैले यही निष्कर्ष निकाल्ने छन् ।

निष्कर्ष-
'स्मृतिमा भीमू' नेपाली साहित्यमा एउटा उत्कृष्ट वियोगान्तक कथा भएर बाँचेको छ । दुई मित्रको आत्मीय प्रेमकथा जीवन्त भएर बाँचेको छ । कतै लेखिकाको व्यक्तित्वलाई भीमूको व्यक्तित्वले थिचेको हो कि भन्ने महसुस पाठकलाई लाग्छ भने कतै भीभूको व्यक्तित्वलाई लेखिकाको व्यक्तित्वले थिचेको हो कि जस्तो लाग्छ र पढ्दै जादा लाग्छ, भीमू भनेकी नै लेखिका हुन् र लेखिका भनेकी नै भीमू हुन भन्ने बिम्बात्मक चित्र पाठकको मस्तिष्कमा कोरिन पुग्छ । यसरी बहिनी, साथी जे भने पनि एउटा गहिरो आत्मीय प्रेम नातामा लेखिका यति धेरै डुब्छिन् कि भीमूको व्यक्तित्वको अगाडि लेखिका सामान्य लाग्न पुग्छिन् । तर पनि लेखिकाले वियोग, वेदना र अति दुखको क्षणलाई कथामा यसरी बुनेकी छन् कि भीमू अब कतै छैन तर पनि अमेरिका, नेपाल, उनको घर र धेरैभन्दा धेरै पाठकको हृदयमा जीवित भएर बाँचेकी छन् भीमू र भीमूसँगै लेखिका पनि । त्यस्तै नेपाली बाङ्मयमा पनि माधव घिमिरेको …गौरी’ जस्तै 'स्मृतिमा भिमू' एक उत्कृष्ट पीडा विरेचककृति भएर बाँचेको छ ।

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 2 आश्वीन, 2067

लेखकका अन्य रचनाहरु