मेरी छोरी

- सलोजा

“ममता ए ममता छोरी मेरी पनि हो । मैलेपनि मायाँ गर्न पाउनुपर्छ ।” निमेशले एक दिन फोनमा भनेको थियो । चुपचाप फोन राखेँ ।
सृष्टि मेरो काखमा खेलिईरहेकी थिई । पाचँ बर्षकी भई छोरी । सृष्टिलाई जन्माउनका लागि मैले परिवार देखि समाजसंग गर्नुपरेको संघर्ष सम्झिएँ । त्यसबेला निमेशले साथ दिएको भए । मन भक्कानिन्छ ।
तर अब कसैको आश गर्नेवाला छैन । एक्लै बाँच्न सिकेकी छु । कष्टका दिनहरुमा पनि सुखले हुर्काएकी थिएँ सृष्टिलाई । म एक्ली अविवाहित किशोरीले जन्माएको छोरी ।
सृष्टि जन्मिएपछि कम्जोर बनेर कहिल्यै रोएकी छैन ।
हामी आईए पढ्दै गर्दा निमेशसंगको सम्बन्ध सम्झिएँ । त्यो समय सम्झदा साह्रै आनन्द आउछ । त्यो खोला, पहाड र पर्वतमा घुमेको । दुःख कस्तो हुन्छ? किशोराबस्था, जीन्दगी बुझेकै थिईन । लहडै लहडमा हाम्रो सम्बन्धको परिचय बनिई सृष्टि । मेरो गर्भ रहेको थाहापाएपछि हराएको निमेश करिब ६ बर्षपछि सम्पर्कका आयो । छोरी दाबी गर्दै ।
सृष्टि उसकीपनि छोरी हो रे । मन मननै अट्टाहास भयो । ”के सम्झन्छ हँ निमेशले आफूलाई?” छ बर्ष सम्म नचाहिएकी छोरी अहिले उसकी हो रे । छोरी जन्माएर हुर्काउदा कस्तो हुन्छ थाहा छैन? छोरीलाई दिईने मायाँ? तर पाचँ बर्षकी भएपछि छोरी चाहियो रे ।
सृष्टि जन्मिएपछि नै मैले विए र एम ए पास गरेँ । त्यसबेलाको दुःख सम्झदा अहिलेपनि अत्यास लाग्छ । समाजले गरेको अपहेलना र परिवारले गरेको वेवास्ता । तर मैले कहिल्यै हार्नु परेन, अरुले जस्तो सोचेपनि छोरी मेरो साथमा थीई ।
निमेशले आज फेरि फोन ग¥यो । मलाई भेट्ने रे । मैले भनिदिए खास कामै छैन । अफिसको कामलेपनि भ्याई नभ्याई छ । अहिले त म भेट्न भ्याउदिन । उसलाई टारेँ ।
निमेशको फोनले दिनरात झस्काउछ । उसलाई कहिल्यै सम्झन मन लाग्दैन । हुनत उसलाई विर्षिएकीनै कहाँ छु र? निमेशलाई विर्षिन सकेको भए सायद मैले यति धेरै पीडा खेप्नुपर्दैनथ्यो होला । उसकै कारण रहर, चाहनालाई मनभित्र हत्या गर्न बाध्य छु ।
यी सबै भएरपनि निमेशको नराम्रो होस भन्ने चाहना कहिल्यै भएन् ।

हाम्रो सम्बन्धको कारण परिवार समाजसंग डराएर भागेको थियो ऊ ।
मैले उससंग कुनैदिन पनि भेट्ने चाहना राखिन । उसलाई भेटेर दुखि हुन चाहान्नथेँ ।
फेरि सम्झिएँ मैले नभेट्दा उ पनि दुखी हुन्छ नी?
तर उसले त मेरो दुःख बुझेन ।
सोच्दै थिएँ ।
ऊ प्रतिको माया कतिपनि कम भएको रहेनछ । निमेशको फोन आउनासाथ मनमा त्यतीकै उत्साह हुन्थ्यो । एकैछिन त साँच्चै रमाउथेँ ।
रञ्जु मेरो घरमा आई । उ हामी सगै कलेजमा पढेका । उसलाई मेरो र निमेशको बारेमा सबै थाहा थियो । तर भनि ”ममता अब निमेशसंग मिलेर बस । उ पनि फर्किएर आएको छ । परिस्थितीले त्यस्तै बनायो । अहिले मिलेर बस्न चाहेको छ । किन अबहेलना गर्छेस । सृष्टि आखिर तिमिहरुकै छोरी हो ।”
रञ्जु मलाई फकाउदै थिई ।
म चुपचाप थिएँ । निमेश संगै रमाएर बस्ने मन मरिसकेको थियो ।

*****

कौशीमा बसेर ईन्टरनेट चलाउदै थिए । सृष्टि कार्टुन हेर्नमै मस्त थिई । होमवर्क सकेपछि दिनमा एक घण्टा कार्टुन हेर्ने छुट छ उसलाई ।
गेटको घण्टी बज्यो । म जुरुक्क उठेँ र गेट खोलेँ । कताकता परिचित र मायालु अनुहार मेरो अगाडी थियो । ठ्याक्कै ठम्याउन हम्मे हम्मे प¥यो । गेटकै छेउमा घोप्टेमुन्टो लगाएर बसेको । ठूलो मोटो ज्यान, कुलुक्क परेको अनुहार । एक छिनको मौनता पछि सोधेँ तिमी निमेश हैन । हो, उसले मुसुक्क हाँस्दै भन्यो । किन आएको त? मैले गेट भित्रैबाट भने ।
किन आउनु हुदैन र? उ निन्याउरो बन्यो ।
हुदैन भनेकै छैन, तर किन आएको भनेर सोधेको ।
उसलाई देख्नेसाथ मेरो मुटुको धड्कन बढ्यो, चिटचिट पसिना आयो, मन भित्रै आगो बलेजसरी उम्लियो । अनुहार पनि रापिलो भयो । कहिल्यै सोचेकी थिईन निमेशसंग फेरि भेट हुन्छ भनेर ।
उ चुपचाप भित्र छि¥यो । मैले उसलाई कोठामा नलगी बगैचामा लगेँ । फेरि सोधे ”किन आएको यहाँ?”
उसले कुरा छल्दै भन्यो । यो कस्को घर हो?
मैले गर्व गरेर भने ”मेरो घर । किन?”
”साह्रै राम्रो रहेछ त्यसैले ।”
हाम्रो परिवार पनि राम्रो छ ।
उ झस्कियो ।
“छोरी र म । हामी सुखी छौ ।” मैले मुस्कुराउदै भने ।
“कस्की छोरी” लाजपचाउदै सोध्योे ।
उ चाहान्थ्यो होला हाम्री छोरी भनोस ।
तर म चाहन्नथेँ । त्यसैले भनेँ, ”मेरी छोरी ।”
“छोरीसंग भेटगराउदिनौ?”
गर्भ रहेको थाहा पाएको दिन निमेशले भनेको सम्झिएँ । भ्रुण हत्या गराउन पटक पटक दिएको दबाब सम्झिएँ ।
मैले विस्तारी भनेँ यो उसको कार्टुन हेर्ने समय हो ।
उसले खिस्याउदै भन्यो ”आफूत रुटिनमा चल्थ्यौ, छोरीलाई पनि त्यही बानी लगायौ”?
“मैले लगाएको होईन आफै लागेको बानी हो यो ।”
समय चुपचाप भयो । दुबैको मौनतालाई तोड्दै निमेशले माफी माग्दै भन्यो । खानदानी परम्परा र आफ्नो पढाईका कारण छोरी स्वीकार गर्न सकिन । तर अब हामी संगै बस्नुपर्छ । निमेशले फेरि छोरी आफ्नो भएको दाबी ग¥यो ।
तिमिले भनेझै हामीले भ्रुण हत्या गराएको भए? छोरी हाम्री हुन्थी? छोरीले धर्तीमा टेक्नु अगावै मनमनमै छोरीको हत्या गरिसकेका छौ ।
“यदि तिम्रै जसरी म पनि छ बर्षपछि आएर हामी संगै बसौ भनेको भए तिम्रो खानदानले स्वीकार गथ्र्यो?
मैले भनेँ ।
निमेश चुपचाप उठेर हिड्यो ।

*****

छोरीको परिक्षा पछि केही दिनका लागि म अफिस विदा लिएर बसेकी थिए । त्यसैबेला केही व्यक्तिहरु सहित निमेशले फेरि मेरो घरको गेटमा घण्टी बजायो । गेट खोलेँ । छोरी साथीहरुसंग बगैचामा खेलिरहेकी थिई । मैले उनीहरुलाई सरासर भित्र कोठामा लगेँ ।
“फेरि किन आएको?”
“छोरीलाई भेट्न”
चाहान्छौ भने भेटाउछु । तर मलाई जस्तो फेरि छोरीलाई दुःख लाग्ने कुरा ग¥यौ भने सह्य हुने छैन । बोल्दै गर्दा बीचैमा रोकेर उसले भन्यौ “छोरी मेरी पनि हो । उ प्रति जति अधिकार तिम्रो छ त्यतीनै छ मलाई पनि ।”
निमेशले छोरीप्रति आफ्नो माया, स्नेह भन्दापनि अधिकारको कुरा गरेको सुनेर धिकार लाग्यो । चुपचाप फर्किएको ऊ पुन आउदा छोरीको मायाले तान्यो होला जस्तो लागेको थियो । तर होइन रहेछ । माया केहो उसले अझै बुझेको रहेनछ । म भित्र भित्रै पि¥िहएँ । छोरीलाई १० महिनासम्म गर्भमा बोकेर जन्माउने म, हुर्काउने म, बच्चा जन्माएकै कारण समाजको अपहेलना खेप्नुपर्ने मैले । अनि छोरी माथि बराबर हकदार भएको दाबी गर्ने?
“म छोरीका खुसीको लागि जे पनि गर्न सक्छु, तर तिम्रो चाहानामा हैन ।”
सरासर छोरी दाबी गरेको सुनेर मलाई उसको कठालोमा समातेर बाहिर निकाल्न मन लाग्यो । तर केही गरिनँ ।
सम्झिएँ पिपलबोट मुनीकी कान्छीलाई । खुल्ला आकाश मुनी पिपलको फेदमा बस्ने कान्छीले ५ जना छोरा छोरी जन्माएकी थिई । क्याम्पस जाँदा आउँदा हामी खिस्याउदै भन्थ्यौ, एक्लै यत्रा छोराछोरी जन्माउने कान्छी शक्तिशाली छ । कान्छीका ती छोराछोरीलाई कसैले दाबी गर्न आएनन ।
मैले स्पष्ट भनेँ, निमेश, तिमीले यो छोरी आफ्नी हो भनेर दाबी गर्दै छौ? एक थोपा विर्यकै आधारमा यो छोरी तिम्रि हुन्छे भने, बैशको आवेगमा शहरका होटल होटलमा चुहाएको विर्यबाट जन्मिएका सन्तानहरु खोज । जो अहिलेपनि गल्ली गल्लीमा हात थाप्दै हिडेका छन् । खान नपाएर भोक भोकै सडक पेटीमा सुतिरहेका छन् । पैशा संगै अनुहार फेरेर बैश विछ्याउदा हरेक कुरा बिर्सियौ तर अब सन्तानको चाहाना भयो? म बोल्दै थिए । छोरी माम्मु भन्दै फूत्त कोठामा पसी ।
छोरीलाई देखेपछि निमेशले हसिँलो मुख लगाएर बोलायो । छोरीले सोधी माम्मु उहाँ को हो? म बोल्न नपाउदै निमेशले भन्यो । नान्नु म तिम्रो बाबा । झोलाभरि ल्याएको सामान निकाल्दै भन्यो हेर मैले तीमिलाई कति धेरै खेल्नेकुरा ल्याएको छु । अनि कपडा पनि ।
खेल्नेकुरा देखेपछि छोरी उत्साहीत हुदै गई । म चुपचाप थिएँ । निमेशले फकाउन थाल्यो । म तिम्रो बाबु हँ भन्ने कुरा पटक पटक दोहो¥यायो । तर छोरी उसको कुराको वेवास्ता गर्दे खेल्नेकुरासंग रमाईरही । अनि हातभरि खेल्नेकुरा लिएर काखमा बस्न आई ।
मेरो काखकी छोरीलाई तान्दै निमेशले भन्यो, ”नानु म तिम्रो बाबा ।”
उसले धेरै बेर मेरो मुखमा हेरिरही । अवाक थिएँ । केही बोल्न सकिरहेकी थिईन । उ पनि चुपचाप मेरो काखमा बसीरहेकी थिई ।
निमेशले फेरि भन्यो ”नानु म तिम्रो बाबा ।”
”हैन मेलो बाबा पनि माम्मुनै हो । मेलो अलु बाबा छैन ।” तोते बोल्ने छोरीले निर्धक्क साथ भनी र मेरो छातीमा टाँसिएर बसीरही ।
मेरो ज्यूने आधार नै छोरी हो । उसलाई बुबाको महसुस नहोस भनेर प्रयत्नरत रहन्थेँ । तर कहिल्यै मनैे तेरो बुबा पनि हो भनेर भनीन । साथीको बाबुआमा संगै देख्दा कहिलेकाही छोरीले सोध्ने गर्थी मामु मेरो बाबा कहाँ हुनुहुन्छ? म अवाक बन्थेँ । सृष्टिलाई अहिलेनै सम्पूर्ण कुरा भन्न सक्दिन थेँ । ५ बर्र्षीया छोरीलाई यी सबै कुरा भन्नुको अर्थपनि हुदैनथ्यो । छोरी बुझ्ने भएपछि यथार्थ लुकाउदिन थेँ । तर मैले केही नभनेपनि यो अबोध बालिकाले कसरी प्रतिकार गर्न सकी? उसले मेरो भावनालाई बुझी । म सोच्दै थिएँ ।
निमेश उठेर घर बाहिर निस्कियो । बाहिर हेरँे डाडामाथि अस्ताउन लागेको रातो घामलाई बादलले छेकेको थियो ।

[email protected]
ओखलढुडगा,हालः काठमाडौ

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 5 माघ, 2067

लेखकका अन्य रचनाहरु