किनाराका आवजहरू-भित्र सबाल्टर्नका स्वरहरू

- बासुदेव पुलामी

१.'सबाल्टर्न' को अर्थ
उत्तरऔपनिवेशिकतावादको अवधारणाभित्र एउटा अंशको रूपमा चर्चामा आएको शब्द हो - 'सबाल्टर्न '। यो शब्दको प्रयोग इटालेली मार्क्सवादी चिन्तक एन्टोनियो ग्राम्शी(सन्१८९१-१९३७)ले 'नोट्स अन् इटालियन हिस्ट्री ' लेखमा प्रयोग गरेका थिए।[1] 'सबाल्टर्न' शब्द सेनाको शब्दावलीबाट लिएको पाइन्छ जसले सेनाको अत्यन्त तल्लो वर्गमा पर्ने सानो कमीशन अधिकारीलाई बुझाउथ्यो । ग्राम्शीले 'सबाल्टर्न' शब्दको अर्थ 'प्रोलेटेरियट ' को पर्यायवाची तथा त्यसको साटोमा प्रयोग गरे।[2]ग्राम्शी अनुसार समाजको निमुखा, निधर्न र आर्थिकरूपमा शोषित मात्र नभएर सांस्कृतिक र कतिपय सामाजिक हक र हितबाट उपान्तमा ठेलिएका सामाजिक समुदायलाई नै सबाल्टर्नको अर्थमा बुझाएको पाइन्छ। सबाल्टर्नको अवधारणाले वास्तवमा समाजको र देशको इतिहासको पन्नाहरूबाट सदैव ओझेलमा पारिएको, किनारीकृत गरिएको सामाजिक समुदायहरू, कृषकहरू, अशिक्षितहरू, तल्लोजातको ठहराएकाहरू, ग्रामिण महिलाहरू, आदिलाई नै बुझाएको पाइन्छ। डा.घनश्याम नेपाल अनुसार-' समकालिनसन्दर्भमा यो शब्द शक्ति सम्पन्न पहिलो विश्व र तिनका प्रभावमुनि थिचिएका,अन्तराष्ट्रिय मञ्चमा लुते,कमजोर,अविकसित, भनेर एक किनारमा थन्काइएका मुलुकहरूबिचको अन्तर परिभाषित गर्ने क्रममा ती पछिल्ला वर्गका मुलुक र तिनका सांस्कृतिक स्थितिलाई दिइने संज्ञाको रूपमा चलेको छ।' [3]

सबाल्टर्नको यो अवधारणालाई नै लिएर सन् १९८० को दशकमा दक्षिण एसियाली इतिहासको औपनिवेशिक काललाई केन्द्र गरी 'सबाल्टर्न अध्ययन समुह' अघि आएको देखिन्छ। यो अध्ययन समुहमा प्रख्यात भारतीय इतिहासविद् रणजीत गुहा, साहिद आमिन, पार्थ च्याटर्जी, डेविड हार्डिमेन, ज्ञानेन्द्र पाण्डे, रामचन्द्र गुहा,तनिका सरकार, सुमित सरकार,कपिल कुमार,आदिले सबाल्टर्न स्टडिज बारे बिस्तृत अध्ययन प्रस्तुत गरेका छन्।[4] 'सबाल्टर्न अध्ययन समुह' ले हालसम्म १२ वटा अध्ययन खण्ड प्रकाशित गरिसकेका छन् । पहिले ६वटा खण्ड क्रमैले सन् १९८२,१९८३,१९८४,१९८६,१९८७, र १९८९ मा रणजीत गुहाको सम्पादनमा प्रकाशित भएको पाइन्छ। त्यसपछि क्रमैले सन् १९९२ मा सातौं खण्डको सम्पादन पार्थ च्याटर्जीले,सन्१९९४माआठौं खण्डको सम्पादन डेविड आर्नाल्डले ,सन् १९९६मा नवौं खण्डको सम्पादन शाहिद आमिन तथा दीपेश चक्रवतिले अनि सन् १९९९ मा दशौं खण्डको सम्पादन गौतम भद्र, ज्ञान प्रकाश र सूसी थारूले गरेको पाइन्छ । त्यसरी नै सन् २००० मा कोलम्बिया युनिवर्सिटी प्रेसबाट एघारौं खण्डको सम्पादन पार्थ च्याटर्जी र प्रदीप जगन्नाथले गरेको पाइन्छ भने बाह्रौं खण्डको सम्पादन सन् २००५मा शैल मायाराम, एम.एस.एस पाण्डियन र अजय स्कारियाले गरेको पाइन्छ ।[5] यो अध्ययन समूहले विशेष गरेर कृषक ,श्रमजिवी,शोषित ,सर्वाहारा र ग्रामिण जनजातिहरूका निमूखापनलाई नै आधार मानेर सबाल्टर्न अध्ययन बिस्तृत बनाएको पाइन्छ ।यिनीहरूले इतिहास लेखिँदा अभिजात सत्ताको दृष्टिकोणबाट होइन तर शोषित सर्वाहारा तथा उपनिवेशितहरूको परिप्रेक्ष्यबाट लेखिनुपर्छ भन्ने उत्तरउपनिवेशवादी चेतना पनि विकाश गरेको पाइन्छ ।

सबाल्टर्न अध्ययनको यो परियोजनाबाट प्रभावित भएर केहि वर्ष पछि उत्तरऔपनिवेशवादी दुइ नामी चिन्तक एडवर्ड सईद र गायत्री चक्रवर्ती स्पीवाकले अझ यो योजनालाई बलियो बनाएको देखिन्छ । भारतबाहिर खासगरेर ब्रिटिश र अमेरिकी उच्च अध्ययन संस्थानहरूमा सबाल्टर्न अध्ययन भन्नाले इतिहास लेखन नबुझेर उत्तर औपनिवेशिक आलोचना कै एउटा अंग मानेको देखिन्छ । अमेरिकामा यसलाई 'सांस्कृतिक अध्ययन ' को रूपमा हेरिएको पाइन्छ ।[6] गायत्री चक्रवती स्पीवाकले आफ्नो लेख ' सबाल्टर्न स्टडिज:डिकन्सट्रिङ् हिस्टोरियोग्राफी ' मा सबाल्टर्न अध्ययनलाई एउटा पाठ प्रक्रिया को रूपमा लिएको पाइन्छ । उनले 'सङ्केत ब्यवस्था 'मा देखिने परिवर्तन जस्तै भारतमा उपनिवेशवादको इतिहासलाई मार्क्सवादी घेराबाट बाहिर निकालेको बताएका छन् । मानक मार्क्सवादी अध्ययनले उत्पादन पद्दतिको आख्यानको चस्माबाट भारतको औपनिवेशिक इतिहासको व्याख्या सामन्तवाददेखि पूँजीवादी मा संक्रमण देखाउछ भने सबाल्टर्न अध्ययनले संक्रमणको साटो त्यसलाई सामना गर्न प्रोत्साहित गर्छ भनेका छन्।[7] उत्तरऔपनिवेशवादी चिन्तक स्पीवाकले सबाल्टर्न अध्ययन समूहको व्यवहारिक भन्दा सैद्धान्तिक पक्षलाई लिएर आलोचना गरेको पाइन्छ। उनले ' के सबाल्टर्न बोल्न सक्छन् ?' भन्ने निबन्धमा शोषित,अवहेलित,सिमान्तकृत सबै समूहहरूलाई 'सबाल्टर्न' को संज्ञा दिन सकिंदैन भनेका छन्। सबाल्टर्नहरू त आवाजहीन निमुखा हुन्छन् उनीहरूको आवाज कसरी सत्तासम्म पुग्न सक्छन् र ? भन्ने प्रश्न पनि उनले उठाएका छन्।[8]

२.किनाराका आवाजहरू –भित्र सबाल्टर्नका स्वरहरू
विश्वमा औपनिवेशिककाल बितेर उत्तरऔपनिवेशिक युग बितिरहेको बेला जब देशभित्रै एउटा शक्तिसम्पन्न जातिगोष्ठीले अर्को जातिगोष्ठी को ऐतिहासिक, भाषिक, राजनैतिक, आर्थिक, सांस्कृतिक, तथा शैक्षिक धरातललाई कमजोर, अनुल्लेख र असुरक्षित तुल्याइदिन्छ भने त्यसमा आन्तरिक औपनिवेशिकता (Internal Colonization) को प्रबल सम्भावना रहन्छ । यो स्थिति निश्चय नै वैदेशिक औपनिवेशिक भन्दा कम प्रभावी हुँदैन। देश स्वतन्त्रपूर्व व्रिटीस उपनिवेशक समयभन्दा पनि अघिदेखि रहिआएका भारतीय मूलका नेपालीहरू देशको अभिन्न अङ्ग हो । यद्दपि देश स्वतन्त्रपछि लाञ्छित ,शोषित र प्रताडित मात्र होइन परिचयको ठूलो संकटमा परेका एउटा मूल जाति हुन् यिनिहरू । वर्तमान देशमा परिचयको संकटमा बाँचेका विभिन्न जाति समूदायहरू मध्ये भारतीय मूलका नेपालीहरू एउटा प्रमुख हो । राष्ट्रको मूलधारामा बग्न चाहने नेपालीहरूका भारतीय समाजमा आफ्नो अलग्गै भाषा,साहित्य , कला र संस्कृति छ । तर देशभित्रै आन्तरिक औपनिवेशिकताको चपेटमा चेप्टिन पुगेका आम नेपालीहरूका गाथा देशलाई थाह छैन। यो कुरा देशलाई थाह नहुनु भारतीय नेपालीहरूका साझा पीडा हुन्। राष्ट्रिय मूलधाराबाट किनारीकृत हुनपरेका भारतीयमूलका नेपालीहरूका समाजब्यवस्था,अर्थब्यवस्था,कला संस्कृति,साहित्यसिर्जना र सर्जकहरूसमेत यो पीडाबाट मूक्त छैनन् ।

' किनाराका आवाजहरू' भित्र यिनै नवउपनिवेशिकताको चर्को स्वरहरू अभिव्यजित पाइन्छ । कवि मनप्रसाद सुब्बा( ज.सन्१९५२ ) तथा रेमिका थापा(ज. सन्१९७१) समकालिन भारतीय नेपाली साहित्यका प्रतिनिधि कवितासाहित्यका सर्जकहरू हुन् । कवि सुब्बा साठीको दसकदेखि नै निरन्तर आफ्नो काब्ययात्रामा प्रयोगवादी कविका रूपमा अग्रगामी देखिन्छ । कवि थापा अस्सीको दसकमा देखिएका कविहरू मध्ये एकजना निकै दह्रिलो प्रकारले आफ्नो काब्ययात्रामा अघि आएको कविको रूपमा देखिन्छ । कविता लेखनका यात्रामा यी दुइ कविहरूका आ- आफ्नै मौलिक प्रवृतिहरू विकसित पाइन्छ । शिल्प शैली र भाषिक रूपविन्यासमा पनि दुइ कविहरू एकअर्कामा भिन्न देखिन्छ । यद्दपि भारतीय नेपाली जातीय जीवनको साझा पीडाबाट भने दुवै कवि प्रत्यक्षरूपमा नै प्रभावित देखिन्छ ।समकालिन कविता लेखनको धारामा यिनै चेतनालाई समसामयिकताको काव्यिक स्वरूपमा रूपान्तरण गर्दै यो उत्तरऔपनिवेशिकताको अवधारणालाई नवीनतम् वैकल्पिक चेतनाको रूपमा प्रस्तुत गरेका छन् । यो समसामयिक सौन्दर्यचेतना पनि हो ।

' किनाराका आवाजहरू'- भित्रका कविताहरूमा उत्तरऔपनिवेशिकताको अवधारणा बुझ्न अरू तत्वको अपेक्षा भारतमा नेपाली जातीयताको इतिहास केहि विश्लेष्य बन्छ । कारण त्यही जातीयताको फेदबाट उठेर निस्किएको आवाज स्वरूप छ - सबाल्टर्नसन्दर्भ कविताहरूमा । जाति एउटा सुस्थिर मानव सम्प्रदाय हो । जसलाई साझा संस्कृति , ऐतिह्य,आर्थिक स्वार्थ, धर्म, भाषा जस्ता तत्वमा कुनै कुनै सङ्गति वा कहिले कुनै एउटा तत्वको मात्रको उपस्थितिले पनि विशिष्टता दिएको हुन्छ । यी आधारले प्रदत्त एकता र आफ्नो भिन्नताको अनुभव जातीय भावनाको मूल टेवा हो । यसै आधारमा नेपाली जातीयता र विशेष गरेर भारतमा नेपाली जातीय भावनाको विकास प्रक्रिया हेरिँदा केहि भिन्न रहेको देखिन्छ । यस सन्दर्भमा डा. कुमार प्रधानको भनाइ अघि राखिन्छ –" नेपाली शब्द हामी तीन विभिन्न अर्थमा प्रयुक्त भएको देख्छौ – एउटा भाषालाई यसले बुझाउँछ ; दोस्रो जुनसुकै भाषा बोल्ने जुनै उद्भवको होस् नेपालको नागरिक बुझाउँदै राजनीतिक सङ्केत राख्छ ; अनि तेस्रो यसले एउटा विशिष्ट जाति गोष्ठि बुझाउँछ चाहे त्यो जातिको बसोबसो नेपालबाहिर अरू मुलुकमै किन नहोस् र यो अर्थले सांस्कृतिक सङ्केतको घनत्व राख्छ । "[9]उनले यी मध्ये तेस्रो अर्थले नै भारतीय नेपालीहरूको जातीय भावना र इतिहास बोकेको पाइन्छ भनेका छन्। भारतमा मूलरूपमा दार्जिलिङ नै नेपालीहरू समाहित भएको एउटा मुख्य गढ जहाँ भारतीय समाजकै परिप्रेक्ष्यमा नेपाली जातीयताको भावना प्रबल छ ,अनि नेपालका रैथाने भन्दा भिन्न र विशिष्ट पनि छ । यो जातिको भारतमा विकास प्रक्रम बुझ्न हामी दार्जिलिङको इतिहास हेर्छौ । जसको प्रारम्भिककाललाई सिक्किम, भूटान र नेपालको इतिहासबाट अलग्गै छुट्याएर बुझ्न सकिँदैन । सिक्किम प्रदेशको इतिहासले जहिले पनि लेप्चाहरू सँगै सँगै आदिमकालदेखि लिम्बु र मगरहरू त्यस भू- भागमा रहेको कुराको व्याख्या गरेका छन्। दार्जिलिङको विभिन्न ठाउँको नाउ विभिन्न जातगोष्ठीको भाषामा राखिएकोबाट पनि यस भूभागमा शूरूदेखि नै नेपालीहरू रहेको प्रमाण सिद्ध हुन्छ। उन्नाइसौं शताब्दीमा नेपालबाट ठूलो जनसंख्याको निर्गमन भएको थियो , तिनमा धेरै यता दार्जिलिङ आइ यतैका बासिन्दा भए। सुगौलोको सन्धिसम्म केही वर्ष नेपालमा गाभिएको भू-भागमा दार्जिलिङ पर्थ्यो। अङ्ग्रेज सिक्किमलाई दार्जिलिङ फर्काइदिएर फेरि यसको सौन्दर्य र महत्वले आकृष्ट भइ यसलाई हात पारेपछि ,व्रिटीस भारतमा यसको आधुनिक विकास हुनथालेको र यता चियाको उध्योग खुलेपछि नेपालबाट यसले धेरैलाई तानेको थाह पाइन्छ। दार्जिलिङमा नेपालबाट बसाइँ सरी आउनेमा दार्जिलिङको आधुनिक इतिहासको शुरूदेखि पूर्वनेपालको पहाडबाट आउने किराँति राई लिम्बुको संख्याधिख्य छ। [10] भोट बर्मेली भाषा र बोली बोल्ने धेरै मंगोल समुदायका तामाङ, मगर, गुरूङ, सुनुवार, नेवारप्रवृति नेपाली मतवालीहरूसँगै तागाधरी बाहुन, छेत्री, दमाइ, कामी, सार्की, मिली नेपाली समाज गठित भएको हो। सांस्कृतिक अर्थमा नेपाली भनिने यी जातिगोष्ठीमा एउटा साझा जातित्वको भावना पछि देखिएको हो। जातीयताको सूत्रमा एउटा जनगोष्ठीलाई बाँध्ने तत्वमा भाषा,धर्म,साझा बासभूमि परम्परा इत्यादि मान्य छन्। तसर्थ' हामी ' विशिष्ट एउटा जाति भन्ने चेतनालाई राष्ट्रिय चेतनाको रूपमा भारतीय नेपालीहरूले धेरैपछि लिएको देखिन्छ।

दार्जिलिङको निर्माणमा शुरूदेखि नै वहुसंख्यक देखिएको नेपालीहरूमा समूहचेतना थिएन चाहिँ सोझै भन्न सकिँदैन। शुरूदेखि नै दार्जिलिङको निर्माणमा वहुसंख्यक हुनथालेको नेपालीको योगदान श्रम मै थियो। उन्नाइसौं शताब्दीमा गठित नेपली समाज मुख्यतः श्रमजीविको समाज थियो, त्यो ‘प्रोलेटेरियन’ थियो।[11] तिनिहरुले दशनङ्ग्रा खियाएर प्रायः निर्जन दार्जिलिङका डाँडाकाँडालाई आफ्नो रगत, पसिना र आँसुले नयाँ रूप दिए। दार्जिलिङमा बहुसंख्यक नेपालीहरुले आफ्नो उपनिवेश बसाएनन् त्यो जमिनको स्वामित्वमा , यहाँको व्यापार धन्दामा ,यहाँको उद्योग व्यवसायमा तिनीहरू मालिक होइन ,थोरैमा श्रम बेच्ने भए। अङ्ग्रेजले दार्जिलिङ लिएपछि मधेशखण्डबाट नोकरी गर्न र व्यापार गर्न प्रशस्त मानिस आए। पुरानो दार्जिलिङको वर्णनमा नेपालीहरू स्थायी वासिन्दा भएको र मधेशबाट आउने अस्थायी भएको थाह लाग्दछ। उनीहरूको देश आफ्नै मुलुक थियो, तिनीहरू देश जान्थे नेपालीहरू यहीको माटोसँग मुछिएको थियो,जरा गाडिएको थियो। पुराना प्रलेखहरूबाट पानवाला,मोदी,कैयाँ,व्यापारीको असुल गर्न नसक्ने धेरै नेपालीहरू कमानका सरदारदेखि कुल्लीसम्म ऋणमा डूबेको प्रमाण पाइन्छ। शोषित,पिडीत नेपालीहरूमा आफू 'हामी' भन्दा तिनीहरू भिन्नै भन्ने भावनालाई आर्थिक अवस्थाले बढाउनु स्वाभाविक थियो भने मधेशबाट आउने मालिकवर्गले मंगोलिया जनजाति जातमा परिणत भइ गठित नेपाली समाजलाई हेय मानेको इतिहास पनि पाइन्छ। अझ शिक्षित र सरकारी ओहोदामा चढेका 'बाबू' सम्प्रदायले श्रमजीवी नेपालीलाई उकासेको पाइन्छ। यो समूह चेतना कुनै नेपालीभित्रकै श्रेणी स्वार्थले उकासेन, यो भावना त शोषित वर्गको समूहचेतनामा जन्मेको थियो। अर्थात, यो शोषकहरूका विरोधमा मिलेको एकात्मकता थियो। यसबाहेक अर्को एउटा तत्वले नेपालीको जातीय भावनालाई बलियो पार्ने काम गर्‍यो ;त्यो थियो- भाषा। आफ्ना आफ्ना जनजातिका पृथक बसोबासो भएका नेपालका गाउँघरमा आफ्नै राई भाषा बोल्नेहरू व्रिटीसभारतको दार्जिलिङको परिवर्तित परिवेश छुट्टै बस्ने अवसर थिएन। समाजले आवश्यक बनाएकैले अरू बोलीको प्रयोग थोरै हुँदै गएर नेपाली भाषा मै जम्मैको प्राथमिक एंव मातृभाषा बन्यो । भूगोल र प्राणीशास्त्रका तत्व भन्दा सांस्कृतिक र ऐतिहासिक शक्तिले कुनै जातिलाई त्यसको विशिष्टता र चरित्र दिएको हुन्छ। यस्ता शक्तिमा सबभन्दा प्रमुख हुन्छ भाषा। दार्जिलिङका नेपालीमा मात्र होइन पछि भारतभरि छरिएर बसेका नेपालीहरूमा टुसाउन थालेको समूह चेतना हुर्कने टेवा नेपाली भाषामा पायो। नेपाली जातीयताको भारतीय सन्दर्भमा सबभन्दा सशक्त आधार नै भाषा भयो।[12]पछि यसले आन्दोलनसम्मको रूप लियो र सफल पनि बन्यो। भारतीय संविधानको आठौं अनुसूचिमा राष्ट्रियभाषाको रूपमा नेपाली भाषाले मान्यता पायो। आफ्नै ठाउँमा दीर्घकालिन संघर्षपछि भारतीय हुनुको यो एउटा प्राप्ति थियो –नेपालीहरूको।

भारतमा नेपालीहरूको अवस्था शुरूदेखि नै उपनिवेशित थिए। तसर्थ देशको स्वतन्त्र पूर्वदेखि नै उपनिवेशित हुन परेको सन्दर्भ' खोजी' – को सम्पादकीयमा रूपनारायण सिंहले लेखेका छन्- "भारतमा हामी लाखौं संख्यामा छौं; तर हाम्रो अवस्था गए बितेको छ –हामी छौ नदीले बगाइ ल्याएर बगरमा थुपारेको मैला कसिंगर झै। स्वदेशका मान्छेले हामीलाई मुग्लाने भनी हेला गर्छन्। भारतका जातीय जीवनमा हामी रमिता हेर्ने मानिस मात्रै हौं। भारतका शासन विधानमा हामीलाई स्थान नै छैन – हाम्रो केही हक छैन। लाखौं संख्यामा भारतमा हामी बसेका छौ। तर यहाँ के गर्दै छौं ? हाम्रो आर्थिक अवस्था कस्तो छ ? हामी कुल्ली,पाले,दरवान,र सिपाही। प्रवासमा बसेका नेपालीहरूलाई यस्तो अवस्थादेखि कसरी उद्वार गर्ने।"[13] भारतमा नेपालीहरू किनारीकृत भएर बाँच्नु परेको पीडा रूपनारायण सिंहलाई पनि थियो। भारतका राष्ट्रिय नेताहरूले' नेपाली ' भन्दा नेपालसँग सम्बन्धित नेपाल कै नागरिक बुझ्छन् ; यो रोग अझै हराएको छैन। माथि भनिएको' प्रवासी ' र 'स्वदेश' जस्ता शब्दको प्रयोगले यो भ्रान्ति अझ बढायो। यो एक किसिमको रोमाण्टिकता नै थियो रूपनारायण सिंहमा त्यतिबेला।नेपालबाहिर सांस्कृतिक,सामाजिक,ऐतिहासिक अर्थमा नेपाली जनगोष्ठीको जातीयता बढेको कसैले केलाएनन्। भारतीयसन्दर्भमा किनारीकृत नेपालीहरूलाई इतिहासबाट सदैव ओझेलमा राखियो। भारतीय इतिहासको कहीं कुनै ठाउँमा पनि नेपालीहरू अनुल्लेख्य नै रहनुपर्‍यो। भारतीय सन्दर्भमा बरू नेपालीहरूको ऐतिहासिक आधारलाई अझ उल्टो व्याख्या,जनगणनाको आँकडाको प्रतिशत अल्पसंख्यक देखाएर,नेपालीहरूको जातीयतालाई तोडने किसिमको काम अझ देश स्वतन्त्रपछि झन चर्को भएर गयो। वास्तवमा यिनै कुराहरूले भारतीय नेपालीहरूमा आन्तरिक उपनिवेशकहरूबाट उपनिवेशित हुन परेको प्रमाण दिन्छ । भारतीय मूलका नेपालीहरूको यी उपनिवेशकहरूले आर्थिक, सामाजिक, राजनैतिक, शैक्षिक, सांस्कतिक शोषण मात्र गरेनन् तर बौद्धिक शोषण पनि गरेको मान्नै पर्ने हुन्छ। राष्ट्रीय मूलस्रोतमा बग्दा पनि समय-समय किनारीकृत वा परायीकृत गरेको, गर्न खोजिएको पनि देखिन्छ। नेपालीहरूलाई आज पनि घरिघरि 'विदेशी ' शब्दको प्रयोग गरिएको पाइन्छ। भारतीय मुलका नेपालीहरूलाई जराबाटै उच्छेदन् गर्ने प्रयास भइरहन्छ / भइरहेको छ। भारतीय भूमिमा माटोसितै मुछिएको नेपालीहरूको परिचय अझसम्म दह्रिलो प्रकारले बनिएको छैन। देशको मानचित्रबाट नेपालीहरूका अनुहार धमिल्याउने ,सकेसम्म उनीहरूलाई अवसर नदिने जस्ता घटनाहरू आजको युगमा पनि भइरहेछ। समस्या स्थान र स्थिति वैशेषिक हुन्छ र त्यसको समाधान र संघर्ष पनि स्थान र स्थिति वैशेषिक नै हुन्छ। आजको समसामयिक युग-जीवन र वैश्विकरणको मोडमा स्वजाति, स्वपरम्परा, र स्वसंस्कृतिको मूल्य निर्धारण कसरी गर्ने ? निश्चय नै अब भावुकताको भाषाले सक्तैन, आवेशको चित्कारले त्यसलाई बुझिदैन, आँसुको थोपामा प्रतिविम्बित हुँदैन।[14]' किनाराका आवाज' भित्र समकालिन भारतीय नेपाली जातीय जीवनलाई 'सबाल्टर्न' –को अवधारणाबाट हेरिएको पाइन्छ। यो एउटा उत्तरऔपनिवेशिकवादी अवधारणा हो। समकालिन सरोकार पनि हो । भारतीय जातीय जीवनलाई हेर्ने एउटा सामयिक चेतना पनि हो।
आजको समकालिनता अघि कवि लेखकको अधिक चुनौतिहरू छन्। आज एकै स्वरमा स्थानिक र वैश्विक बन्नुपर्ने समकालिनता छ। स्थानिक र वैश्विक ,जातिवाद र मानवतावाद एकैचोटिको स्थापित सिर्जनाको धर्मसंकट आजको समकालिनता हो । यसबाट पलायन हुनु भनेको दायित्वबोधबाट पलायन हुनु हो र त्यो क्षम्य हुँदैन। अत: मानवमूल्यको पृष्ठपोषणमा राजनीति,संस्कृति, स्थानियता, अर्थनीति, जातीयता, ऐतिहासिकता सबैको महत्वपूर्ण भूमिका हुँदछ। आज त्यो थाह पाउँदा सांस्कृतिक सौन्दर्यप्रतिको सचेतता,स्मृत्याभास ऐतिहासिक चेतनाको उत्खनन् एवम् इतिहासको पुनर्मुल्याङ्कनको तृष्णाले यो बहुलवादी समयमा झोंक्किनु अनर्थ होइन। तर बहुलताको दृष्टि राख्न खोज्दा फेरि सीमित जातीय,वर्गीय,सांस्कृतिक परिधिको परिसिमामा रहनुपर्ने हो कि ? भनी प्रश्न गर्छन् सीमाहरूले नबाँधि लेख्ने एउटावर्ग। तर आजको समकालिन लेखनले सर्वसमावेशिकरणलाई केन्द्रिय महत्व दिएको छ,सबैलाई समेटेको छ। अत: यस्ता जटील वस्तुस्थितिसमक्ष भारतीय नेपाली साहित्य कस्तो लेखिनुपर्ने त ? के कुराहरू लेखिनुपर्ने त ? प्रश्न उठ्छन् सर्जक/लेखकहरूमा। भारतीय मूलका नेपाली लेखकहरूले पनि आत्मविश्वासपूर्वक आफ्नो दृष्टि ,आफ्नो इतिहास,आफ्नो राजनीति,आफ्नो भाषा अनि आफ्नो साहित्यले अरूलाई प्रभाव पार्न सक्नुपर्छ। यो आग्रहका रूपमा पाइन्छ 'किनाराका आवाजहरू 'भित्रका कविताहरूमा सबाल्टर्नको सन्दर्भ ।

कवि मनप्रसाद सुब्बा एवम् रेमिका थापा द्वयले समकालिनताको यही अवधारणालाई टिपेर कवितामा प्रस्तुत गरेका छन्। जातीय चेतनाका कविको रूपमा सदैव उल्लेखनीय कवि हुन् – अगमसिंह गिरी। शुरू शुरूमा रोमाण्टिक,बिचतिर विद्रोही तथा अन्त –अन्तमा झर्रा जातीयतावादी। अर्का कवि विकास गोतामे –उनका' अनास्था पहाडका गीत' , 'लड बीरबहादुर! तिमी लड !' शुरूमा प्रगतिशील पछि झर्रा मार्क्सवादी लेखन । अझ अर्का रोमाण्टिक विद्रोही कवि हरिभक्त कटुवाल । तर केही सचेतक भएर एक ठाउँ कवितामा लेखेका छन्-
यो देशको माटोले भन्छ
यो देशको ढुंगाले भन्छ
हाम्रो पनि रातो रगत
यही खसेको छ,
हाम्रो पनि तातो पसिना
यही खसेको छ।

उपनिवेशित हुनुपरेको विचार हो यो। सबाल्टर्नको अवधारणा हो यो। तात्पर्य त्यसताक छुटपुट रूपमा भारतीय नेपाली कवितामा यसले उम्रने भूइँ भेटाएनन् । कारण त्यतिबेला निख्लो रोमाण्टिकता कै बोलबाला बेसी थियो। कवि कटुवाल स्वयंले प्रवासी लेखेर अझ रोमाण्टिक भइहिँडे। अर्थात किनाराका आवाजहरू- तिनै स्वरहरूलाई भूइँ खोतलेर,खनजोत गरेर,उत्खनन् गरेर,आजको समसामयिक ताजा स्वरूपमा प्रस्तुत गर्न उद्दत रहेको मान्न सकिन्छ। कवि गिरी,कवि कटुवाल, तथा कवि गोतामे प्रभृतिहरूबाट जातीय जीवनको एककिसिमको भावनात्मक आलाप र प्रलाप नै धेर गाइएको पाइन्छ। यो अर्थमा कवि सुब्बा र कवि थापाका कविताहरू धेरै भिन्न र विस्तृत पनि छ। यो भिन्नता राखेर अध्ययन गरिँदा मात्रै किनाराका आवाजहरू माथि स्वस्थ्य आलोचना हुन सक्ला । अत: जातीय जीवनलाई फेदबाटै भूइँ खोतलेर हेर्ने दृष्टि उत्तरऔपनिवेशिक अवधारणा हो। 'सबाल्टर्न' को सन्दर्भ यहाँ सैद्धान्तिक अर्थमा नभएर देशभित्रै शोषित, लाञ्छित र प्रताडित भएका कुनै पनि सर्वहारावर्गको पक्षमा देखाउने चेष्टा कविताहरूमा भएको पाइन्छ। भारतीय सन्दर्भमा नेमालीहरूको जातीय जीवन पनि यो सबाल्टर्नको अवधारणादेखि पुरै अछुत भने छैनन्। त्यसको दृष्टान्त किनाराका आवाजहरू भित्र "भूइँ टेकेर बाँच्नेहरू -१" मा रेमिका थापा लेख्छन्-
रैतीहरूको गाउँमा
बाह्रैमास असारको पन्ध्र ।
मालिकहरू लन्च र डिनर बुझ्छन्
भोक बुझ्दैनन्
सप्पै थरी ड्रिंक बुझ्छन्
तिर्खा बुझ्दैनन्
परफ्यूम बुझ्छन्
पसिना र माटोको गन्ध बुझ्दैनन्।
असारको पन्ध्र बुझ्ने मालिक कहिले होला ? (पृ.सं.-२३)

उपनिवेशितहरूका लेखनमा देखिएको अति महत्वपूर्ण लक्षण हो लेखनमा सबाल्टर्न पात्र,अवधारणा र उपनिवेशित भाषा। कुनै उच्च जातिले उनीहरूलाई सहानुभूति देखाएर लेखेका लेखन मान्य हुँदैनन्। सबाल्टर्न लेखन भनेको उनीहरू स्वंयले लेखेको लेखन हो । उच्च शक्तिसम्पन्न जातिका लेखकहरूमा उपनिवेशित जीवन भोगाइको अनुभव हुँदैन। यसप्रकार उपनिवेशितहरूका जीवन भोगाइको यथार्थ,उपनिवेशकहरूबाट सम्भव छैन। अर्थात मूलधाराको लेखनमा देखिएको मौलिक अभाव तथा मूलधारामा देखिएको अपूर्णता नै उपनिवेशित लेखनको जन्मको कारण हो। उपनिवेशित लेखकहरू त्यही लेख्दछ जुन यथार्थको जमीनमा उभिएको छ,कल्पनाको आकासमा होइन ,उसको भाषा कुलीन हुँदैन। उ आफ्नो खस्रो, घोच्ने,तिखो अनि सीधा सादा भाषामा लेख्दछ। यसैबाट उनीहरू एउटा सङ्कथन निर्माण गर्दछ। " भूइँ टेकेर बाँच्नेहरू"-७ मा कवि रेमिका थापा –
काँध पिल्सिएका
कपाल खुइलिएका
नचिन्ने बनाइएका
मानव अस्तित्वका
झर्रो – झर्रो अक्षरहरूलाई
फुर्सदै कहाँ
सिनिक्क भइरहनु।
म कहिले सुकिलो हुनु पाउनु ?
कहिले सजिलै भन्न पाउनु मैले
रियालिटी शो 'को रंगारंग मञ्चमा उभेर
'आइ लभ् इण्डिया!' (पृ.स.-३३ )

यो आन्तरिक औपनिवेशिकताअन्तर्गत इतिहासभरि सीमान्तकृत हुन परेको पीडा हो। यसको सौन्दर्य र विशेषता नै जातीय र स्थानिक चित्र हो। यद्धपि यसले समाजको कमजोर वर्गहरू,वर्णहरू,नश्लहरू जो राष्ट्रभित्रै पनि किनारीकृत भई बाँच्नुपरेको कुरालाई पनि बोलेका छन्।

किनाराका आवाजहरूमा – कवि द्वयले समकालिन भारतीय नेपालीमूलका माध्यम बोलेका स्वरहरू हुन्। भारतीय नेपालीहरूको संघर्ष खाली आफ्नै लागि मात्रलाई नभएर यो एक अझ राम्रो र अधिक मानवीय विश्वको कुनै पनि किनारीकृतहरूका लागि पनि संघर्ष हो; जो जाति,व्यवस्था,र समान अधिकारहरूबाट वञ्चित छन्,किनारीकृत छन्,उपान्तमा राखिएका छन् । देशको मानचित्रबाट सदैव ओझेलमा राखिएको,अथवा देशले वास्ताहीन तुल्याएको आवजहरू बोल्न अब किनारीकृत जातिसमूह स्वयं अघि आउनपर्छ । देशको मानचित्रमा आफूलाई कहाँ राख्ने ? कसरी हेर्ने ? आफैले निर्धारण गर्नुपर्छ। यो एक किसिमको विखण्डन हो, तर विश्वव्यापि मान्यताले भन्दछ- यो बहुलताको समय हो, नव केन्द्र निर्माणको युग हो। समानता र स्वतन्त्रताका लागि यिनै कोणहरूबाट साहित्य लडिरहेको हुन्छ। अत: समाज र सभ्यताको इतिहासको मूलधारामा रहेका र त्यस मूलधाराबाट अलग ठहराएर उपान्तमा धकेलिएकाहरूका सन्दर्भ भारतीयमूलका नेपालीहरूमा टडकारो रूपमा देखिन्छ।
" देश अनि म " – मा कवि मनप्रसाद सुब्बा लेख्छन् –
१. आफ्नो अनुहार देशको मानचित्र टाँसेर
म देशको परिचय हिँडिरहे –हिँडिरहे
तर मेरो परिचय भने देशको मानचित्रमा
किन टाँसिएन हँ ?

कालिपदा घोष तराई महाविद्यालय, बागडोगरा, दार्जिलिङ

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 14 बैशाख, 2068

लेखकका अन्य रचनाहरु