कविजी

- डा. कपिलदेव लामिछाने

एकपटक कविजी सिकिस्त भए । मानिसहरू पालैपालो कुरुवा बस्न थाले । कविको नाजुक अवस्था थाहा पाएर नयाँ कवि कविताप्रेमी पनि कुरुवा बस्न र कविको सान्निध्य प्राप्त गर्न पुगे ।

कविताप्रेमीले भने– कविज्यू, कविता सुनाउनुहुन्छ कि ?

कविले यसो आँखा खोल्न खोजेझैँ ओठ चलाउन खोजेझैँ गरे ।

कविताप्रेमीले एक थुर्मी जल मुखमा राखिदिए र फेरि भने– म त हजुरका कविता सुन्न बसेको हुँ...।

कविले आँखा खोले, ओठ चलाए र भने— त्यसो भए ल सुन कविता ।

उनले कविता सुनाउन थाले । कविताप्रेमीले बेलाबेलामा ‘वाह ! वाह ! क्या कविता !’ भन्दै गए । ध्यानमग्न भएर कविता सुन्दै गए । कविले झन्झन् उच्च स्वरमा लयबद्धताका साथ कविता सुनाउँदै गए ।

कविताप्रेमीले भने– अब भयो पनि कविजी, अब आराम गर्नुहोस् ।

कविले भने– तिमी साँच्चिकै कविताप्रेमी होऊ र मेरो भलो चाहन्छौ भने सुनिराख कविता !

अनि उनी पुनः पूर्ववत् कविता भट्याउँदै गए ।
माथि घरका सदस्यहरूले उनलाई बेथाले अत्यधिक चापेर रातभर बडबडाएको भन्ठाने । उनीहरूले बिहान उज्यालो नहुँदै डाक्टर बोलाए । उनीहरू डाक्टरसहित कविको कोठामा छिरे । कवि त दुरुस्तै कविता भट्याउँदै थिए, तर कविताप्रेमी त्यही भुइँमा लम्पसार पल्टेका थिए ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 20 जेठ, 2068

लेखकका अन्य रचनाहरु