जीवन

- बैद्यनाथ उपाध्याय

जति सजाए पनि
जति नै माया गरे पनि
देह यो
कहिल्यै आफ्नो हुँदैन।
देह त यो
आफ्नै यात्रा हिंडिरहेछ
यस्ता कयौं चोलाहरू फेर्दै
यात्रामा छ यो
मेरो 'म' पनि!
यादहरूको क्षितिजमा
कालो रात खनिएर
अन्धकार पोतिएको आकाश
आफ्नै पीरले आँसु खसालेर
तरक्क रोएको छ आज!
मेरा खुसीका ताराहरू
पीडाको क्षितिजपारी
लखतरान भएर निद्रामग्न छन
सुन्दछु आफ्नै छातीमा
समयका पदचापहरू
हिंडिरहेछ, हिंडिरहेछ
मानौं-
हिंडनु नै जीवन हो
हिंडनु नै मृत्यु हो
हिंडनु नै सबथोक हो।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 23 जेठ, 2068

लेखकका अन्य रचनाहरु