उहिले बाजेका पालामा

- डा. कपिलदेव लामिछाने

उहिले बाजेका पालामा, पैसा गन्थे डालामा,
अहिले हाम्रा पालामा, मकै छैन डालामा !....

विरक्तिएर गीत गुनगुनाउँदे बसेको थिएँ । त्यस्तैमा दीनबहादुर टुप्लुक्क आँगनमा देखाप¥यो । ऊ टोलछिमेकको पढालेखा ठिटो थियो । उसका बाबुले पेट काटीकाटी उसलाई पढाएथे । ठिक ठाउँमा बिरुवा रोपे त फल्दो रै’छ बा ! ढोकाबाट भित्र पस्दै उसले भन्यो– काका ! त्यसो भन्ने दिन गए । हामीले फाइनान्स कम्पनी खोलेका छौँ । त्यहाँ पैसा जम्मा गर्ने गर्नुहोस् या पैसा चाहिएको भए त्यहाँबाट लिने गर्नुहोस् अनि त फेरि हाम्रो अहिलेकै पालामा पैसा हुन्छन् डालामा ।

पहिले त मैले उसले ख्यालठट्टा गरेको होला भन्ने सम्झेँ । तर होइन रहेछ । उसले फाइनान्स कम्पनी खोलकै रहेछ । आफ्नो भाइभतिजाले गरेको काम अगतिलो किन हुन्थ्यो ? जम्मा गर्ने पैसा त थिएन, तर खर्च गर्ने ठाउँ थियो । मैले फाइनान्सबाट पैसा लिएँ । दिल खोलेर खर्च गरेँ । टोलछिमेकमा खुब प्रचार पनि गरेँ । अरूहरू पनि फाइनान्स धाउन थाले । केही समयपछि ब्याज तिर्ने ताकिता आयो । त्यही पैसाबाट ब्याज तिर्दै गएँ । पैसा सकिँदै गयो । खै पैसा त फलेन बा ! मेरो अवस्था झन्झन् खस्केजस्तो, फुर्मास बढेजस्तो, मन बाँध्न नसकेजस्तो पो लाग्यो । तै फल्ने बेला हुँदै पो छ कि भन्ठानेर चिन्ता र आशा मनमै साँचेँ ।... अनि फेरि एकदिन झारझुर पारेर ब्याज तिर्न फइनान्स पुगेँ ।

त्यहाँ ब्याज र किस्ता बुझाउनेको धुइरो थियो । ऋण लिनेको पनि धुइरो उत्तिकै थियो । फाइनान्सका कर्मचारीलाई पैसा गन्न भ्याईनभ्याई थियो । नोटहरू मेसिनले फररर्र गनेर बिटा बाँधेर राख्दै थिए । सिक्का (रेच्की) जति दुईतीनवटा डालामा गन्दै नगनी थुपार्दै थिए । म कुकुरले कलो हेरेझैँ खित गाडेर हेरिरहेको थिएँ । दीनबहादुर टुप्लुक्क देखाप¥यो । सुट र टाई लगाएको खुब सुहाएको थियो । देख्दैमा त्यसै खाइलाग्दो मान्छे । आफ्नो भाइभतिजा भन्न पनि धक लाग्ने । ऊ मिठो मुस्कान छर्दै मेरा नजिक आयो । म त्यसै गदगद भएँ ।

मेरा नजिक आएर उसले भन्यो– के छ काका ?! गारो परे फेरि पनि भन्नुहोला है ! म छु नि !

एकछिन त म केही बोल्न सकिन । पछि धक मानीमानी भनेँ– बाबू, खै डालाँ त पैसा फलेनन् नि ! डालो त रित्तै छ ।

उसले त्यहीँ भित्र देखाउँदै भन्यो– ल काका पनि, हेर्नोस् न यी । यी यस्ता पैसा हामी गन्दै गन्दैनौँ, यति डाला उति डाला भनेर डालाले नाप्छौँ । अझ पनि हजुरले डालाँ पैसा देख्नुभएन ?

म केही बोलिन । मैले बुझेँ– डालाँ पैसा हाम्रा होइन, तिनका पो फल्दा रहेछन् । मेरा लागि त उही गीत पो साँचो रहेछ– उहिले बाजेका पालामा...!

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 15 आसाढ, 2068

लेखकका अन्य रचनाहरु