मानिसका पक्षमा लेखिएका डायास्पोरिक कथाहरु : ‘समुद्र र सपना’

- मणि लोहनी

कथा साहित्य सर्वाधिक पढिने र गैर साहित्यिकहरुलाई पनि बाँधिराख्न सक्ने शक्तिशाली विधा हो । यस विधामा पछिल्लो समय सामथ्र्यवान लेखकहरुको प्रवेश हुदैछ । नयाँ लेखकहरुको उपस्थिति नामका हिसावले मात्र होइन नयाँ लेखन र नयाँ विषयका सन्दर्भमा पनि शक्तिशाली सावित हुदै गएको छ । पछिल्लो समय कथा साहित्यमा देखिएका नयाँ अनुहारहरु नयाँपन र नयाँ शैलीका साथ यात्रारत छन् । जुन नेपाली कथा साहित्यका लागि सुखद कुरा पनि हो ।
यही क्रममा कथाकार सञ्जु बजगाईको नविनत् कथा संग्रह समुन्द्र र सपना बजारमा आएको छ । मानिसको जीवन, त्यस जीवनले डाहो¥याउने सपना र पुरा नभएका ती सपनाहरुले मानिसमा ल्याउने विचलन र उदासीलाई कथामा सुन्दर तरिकाले बुनिएको छ । सञ्जुका कथाले मुलुकको भौतिक सिमानालाई मात्र नाघेको छैन मानिसका सपनामा आएको विविधता र मानिसका ती विविध सपनाले निम्त्याएका नयाँ दुःखहरुलाई पनि समेटेको छ ।

मानवीय संवेदना र रुपान्तरित जीवनशैलीको शक्तिशाली दस्तावेज हो – समुद्र र सपना । यसमा मानिसका सपना र जीवनयापनका क्रममा मानिसले पाउने सफलतासंगैका दुःखहरुलाई सरल रुपमा अझ भनौं व्यवस्थित रुपमा उतारिएको छ । सञ्जुका कथाले मानिसलाई सम्वोधन गरेको छ । मानिसका पीडा, खुशी र मानिसका रहरहरुको पेरीफेरिमा सम्पूर्ण कथाहरु घुमेको छ । समुद्र र सपना पढिसकेपछि लाग्छ, सञ्जुको पुग्ने ठाँउ मानिस नै हो । मानिसभन्दा पर सञ्जुलाई पुग्नु पनि छैन ।

नेपाल बाहिर रहेर नेपाल भित्र र बाहिरका सन्दर्भहरुलाई जसरी कथामा उतारिएको छ, त्यसले कथामा थप सौन्र्दय प्रदान गरेको छ । मानिसमा थपिदै गएको पीडाको एक पछिका अनुहार र ती अनुहारहरु बोकेर मानिसले गरेको अनवरत संघर्ष कथाको भावभूमी हो ।

सञ्जु आफैमा महिला भएकोले पनि होला उनले कथामा महिलाका समस्यालाई अझ जीवन्त रुपमा उतारेकी छिन् । त्यसो त सञ्जुले आफ्ना सबै कथाहरुमा पात्र र सन्दर्भमाथि न्याय गरेकी छिन् । उनका सबै कथामा सहज र सुखद जीवनको पक्षमा वकालत गरेकी छिन् । मानिसलाई चाहिने खुशी हो भन्ने कुरा व्यक्त गरेकी छिन् । उनको कथाको सुन्दर पक्ष पनि यही हो । उनी कथामा बलजफ्ती ठुला सन्दर्भ र घट्नाहरु जोड्दिनन् । त्यहि भएर पनि कथाहरु ज्यादा पठनीय भएका छन् ।

सञ्जुको समुद्र र सपनामा जम्मा १५ वटा कथाहरु छन् । प्रत्येक कथामा भिन्न प्रस्तुति र पृथक शैलीको अनुसरण गरिएको छ । सञ्जुको नारी चेतना संग्लो छ । अरुभन्दा भिन्न । नारी पीडामा आएको विविधिकरण कथाको अर्को पठनीय पक्ष हो ।

डायास्पोरिक चेतनासँग सञ्जुका लेखनहरु अघि बढेका छन् । उनका प्रत्येक कथामा विदेशीने नेपालीका पीडाहरु, विदेशीएपछिका सुखद र सहज पक्षहरु र विदेशीनुसंगै छातीमा हुर्किएको राष्ट्रियता कथामा प्रशस्त अनुभव गर्न सकिन्छ । समुन्द्र र सपना, गुलाबी फ्रक, मार्गरेट र मेरी आमा, पपेट, सम्वन्धको दूरी संग्रहका अब्बल कथाहरु हुन् । त्यस्तै आत्महत्याको श्रृखंला, विद्रोह, एम्बुस, क्रसरोड र बन्द झ्यालले संग्रहमा विविधता थपेको छ । इष्र्या, ग्याँस च्याम्बर छेउबाट ले नारीका भिन्न पीडाहरुलाई एक साथ उन्ने प्रयास गरिएको छ । फेरि उही सपनामा नारीहरुकै पीडा र अवस्था छ तर भिन्न स्वरुपमा ।

सञ्जुको कथाको विषय मानिस हो । अझ त्यसमा पनि महिला हो । तर उनले पुरुषलाई खराव देखाएर नारीवादी हुने दुश्प्रयास गरेकी छैनन् । प्रत्येक पात्रप्रति सञ्जुले स्वभाविक सम्बन्ध स्थापित गरेकी छिन् । सबैलाई उनीहरुकै व्यवहार र स्वभावका आधारमा सम्वोधन गरिएको छ ।

कथाको क्षेत्रमा नविन विषय र सहज कथाहरुको सुन्दर कृति आएको छ – समुन्द्र र सपना । नपत्याउँदो किसिमले सामान्य देखिने तर गहिराई युक्त कथाहरुको संकलन नै हो सञ्जुको –समुन्द्र र सपना । यस संग्रहले नेपाली कथाको क्षेत्रमा एक संभावनायुक्त लेखिकाको उपस्थितिलाई प्रष्ट पारेको छ । हामी सञ्जुको कथा यात्रालाई सुखद संभावनाको रुपमा लिन सक्छौं ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 20 आसाढ, 2068

लेखकका अन्य रचनाहरु