अघोरी

- डा. कपिलदेव लामिछाने

ऊ र म कामविशेषले बजारतिर जाँदै थियौँ । चोकमा उभिएर अक्षरहरू गफ्फिदै थिए । स्वाभाविक उत्सुकतकवश के रहेछ भनेर कान थाप्यौँँ । खानेकुराको चर्चा रहेछ । झ्याप्प सुनिहाल्यौँ । गफ यस्तो थियो ः

क– लसुन–प्याज यी तामसी चिज हुन् । खानु हुन्न । मैले खाएको छैन । खान्न ।

ख– लसुन–प्याज त वनस्पति हुन् । खानु हुन्छ । म खान्छु । खसी–बोका पो खानु

हुन्न ? मैले खाएको छैन । खान्न ।

ग– आ, किन हुन्न ? सबैले खाइआएको कुरा । म त खान्छु । गाई खानु हुन्न ।

मैले खाएको छैन । खान्न ।

घ– धत् किन हुन्न ? दुनियाँले खान्छ । केहीले नखाएर हुन्छ ? क्या चोपिला

हुन्छ । आफूले त कति खाइयो कति ? म त खान्छु । घुस खानु हुन्न बरु । मैले खाएको छैन । खान्न ।

ङ– सय–पचास लिनु काम छिटो फत्ते गरिदिनु, त्यो घुस होइन । मैले त खा’छु ।

खान्छु । उड्नेमा जहाज र हिँड्नेमा गाडीगुडी खाएको छैन बरु । खानु हुन्न । खान्न ।

च– नाथेहरू ! किन हुन्न ? मैले त सब खा’को छु । प्लेन पनि खा’छु । प्लान

पनि खा’छु । जेट पनि खा’छु । गेट पनि खा’छु । उड्ने–बुड्ने–गुड्ने सबै खा’छु । देश खा’छैन । खानु हुन्न । खान्न ।

छ– मुला ! त्यही शेष छ अब । त्यो मेरो भाग हो । थोरै–थोरै गरी अर्थात्

किस्ताबन्दीमा खान थाल्या’छु । पछि चाल पाउलाऊ तिमीहरू । ....

गफ त चल्दै थियो । त्यसले देश खाँदा चपाइन्छु कि भनेर होला ऊ त्यहाँबाट कुलेलम ठोक्यो । पर पुगेर फरक्क फक्र्यो र उसले मलाई ‘ए, भाग् ! भाऽग् !!’ भन्यो । म भागिन । देशै रहन्न भने म पो भागेर कहाँ जान सक्छु र ? म यी यहीँ छु ।



प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 14 श्रावण, 2068

लेखकका अन्य रचनाहरु