ध्रुव चौहानको 'खोल' कथासङ्ग्रहमाथि पाठकीय दृष्टि

- बासुदेव पुलामी

ध्रुव चौहान(जन्म,सन् १९६९) लाई हामीले एकजना सशक्त गीतकारका रूपमा चिनेका हौं। बेला बेलामा गीत सँगसँगै कविता पनि लेख्ने उनी विस्तारै निबन्ध लेखहरू हुँदै यसपटक कथामा पसे। चौहानका प्रकाशित कृतिहरूमा - केन्द्र, विन्दु अनि धर्साहरू (मुक्तक सङ्कलन, सन् १९९०), वेदनाको धनी यो मन (गीत सङ्ग्रह, सन् २००१), र हालमा यो खोल (कथासङ्ग्रह, सन् २०११) प्रकाशित छन्। नब्बेको दशकभन्दा अघिदेखि साहित्यकलामा प्रवृत्त रहेका उनी एकजना सङ्गीतकार पनि हुन्। वास्तवमा सर्जक भनेको एउटा कलाकार हो। समाजमा कलाकारको उपस्थिति अँध्यारो कोठामा बत्तीको उपस्थिति जस्तै प्रकाशकार हुन्छ। कला भनेको त अझ शब्दमा परिभाषित हुने विषय होइनन्। अझ भनुँ कलाकारको कलाकारिता त झन् वर्णनातित कुरा हुन्। तसर्थ कलाकारका सिर्जनाहरूले कहिले कहिँ एउटै सर्जकमा पनि विभिन्न विधाका माध्यम अभिव्यक्ति मागिरहेको हुन्छ। त्यतिबेला कतिले चित्रका माध्यम, कतिले सङ्गीतको माध्यम र कतिले कविता, कथा, गीत, निबन्ध नाटक आदि आदिका माध्यम अभिव्यक्ति दिएको हुन्छ। तर बिरलै यस्ता सर्जकहरू हुन्छन् जसले जे लेखे पनि त्यो हिरा हुने। अत: असल र साँचो कलाकारका हातमा जुनै विषय परे पनि त्यसलाई कलात्मक रूप दिन सक्नु उनको महानता हो । उनको सिर्जनशील कलाशक्ति पनि हो। आज यहाँहरू समक्ष म ध्रुव चौहानका खोल भित्रका कथाहरूलाई लिएर केही खोल्ने धृष्टता राखिरहेको छु । वास्तवमा यो मेरो वैयक्तिक विचारसित उनका कथाहरूले पारेका प्रभावका नितान्त प्रतिक्रिया मात्रै हुनसक्छ। प्रत्येक पल्टको पाठकको पठन नै अपपठन हुन्छ भन्ने आज जुन भनाईहरू उठिरहेको छ त्यसलाई हेरेर भन्ने हो भने त उनका कथाहरू माथिको मेरो यो विचार एक किसिमको अपपठन पनि हुन्छ नै। यद्यपि यो एउटा पाठकीय दृष्टि र प्रतिक्रिया भन्दा बडता अरू केही होइनन्।

कथाकार ध्रुव चौहानको यो खोल सङ्ग्रहभित्र जम्मा एघारवटा कथाहरूलाई समावेश गरिएको छ। समसामायिक कथाले बोकेर हिँडने विचार र समयसापेक्ष घटनावलीहरूका साक्षीजस्ता लाग्ने कथाहरू उनले दिएका छन्। कथाभित्र कथा नै खोजी हिँडने पाठकहरूले यो सङ्ग्रहभित्र थोरै कथाहरू पाउलान्। यद्यपि उनका कथाका पात्रहरू हाम्रै समाजका वर्ग, जाति, संस्कृति र परिवेशबाट टिपिएका छन्। कतै आफ्नै गाउँठाउँ र शहरमा भेटेका, बजारघाट घुम्न जाँदा देखेका, जुलुस र जनसभाहरूतिर जम्का भेट भएका, चियादोकानमा भेटेका, चियाकमानतिर देखेका पात्रहरू छन् भने कतै मानवदेखि मानवेतर चरित्रका पात्रहरू पनि उनले समावेश गरेका छन्। अधिकांश कथामा कथाकार चौहानले स्वैरकल्पना (फेन्टासी) को प्रयोग गर्न खोजेका छन्। फेन्टासीले कुनै पनि सामान्य लाग्ने घटनाक्रमलाई पनि असामान्य रूपमा प्रस्तुत गरेका हुन्छन्। आख्यानमा यसको प्रयोग धेरैले गरेका छन्। ध्रुव चौहानका कथामा पनि यसको प्रयोग निर्वाह भएको छ। कथाका संरचनागत ढाँचामा उनले सुत्रात्मक, नाटकीय प्रस्तुति, संवादात्मक शैली र अनौपचारिक प्रस्तुति भएका कथाहरू दिएका छन्। समाज, सामाजिक जीवन, राजनीतिक असङ्गति, मानव चरित्रको आडम्वरीपन, बोक्रे मानसिकता, खोक्रो विचारधारा, भोगविलास, यौनविकृति र वातावरण विनाश आदिले पिरोलिएका सामाजिक यथार्थपूर्ण घटनाहरूका चित्रण कथाका मूल कथ्यहरू हुन्। यद्यपि अचेलका आख्यानमा सम्प्रेष्य खालि विचार मात्र नभएर अनुभूति र प्रतीतिहरू, संवेदनाहरू र अवाच्य भावहरू पनि हुन्छन्। लेखकको कुनै एउटा मात्र विचार लिएर अचेलका आख्यान उभिन सक्तैनन्। त्यसका निम्ति त्यहाँ चित्रकला, मूर्तिकला, चलचित्र, नाटक, सङ्गीत आदि अरू विविध कला तथा लोक-संस्कृति, धार्मिक अनुष्ठान, सामाजिक रीति-विधि र भ्रष्टचार आदि अनेक विषयक्षेत्रबाट युक्ति र विक्लपहरू बटुलेर संयोजन गरिएको हुन्छ। त्यसैले कुनै एउटा कथाभित्र मात्रै पनि त्यहाँ विचारका सम्भावनाहरू खातैखात परेर विन्यस्त रूपमा रहेका हुन्छन्। तसर्थ आजका कतिपय प्रयोगवादी कथाहरू अस्पष्ट, अबोध्य र कुनै खास सन्देश नरहेका जस्ता लाग्ने पनि पाइन्छन्। ध्रुव चौहानका कथाहरू अबोद्य पनि छैनन्। पाठकीय परिप्रेक्ष्य र जागरूक पाठककै लागि लेखिएका छन् कतिपय कथाहरू तर त्यस बाहेक हाँस्य र स्थानीय रङ्ग भएका कथाहरू पनि उनले सङ्ग्रहमा समावेश गरेका छन्।

सङ्ग्रहका पहिलो कथा खोल हो। यसको बुनोटमा कथाकारको कथा लेखनको सचेतता छन्। कथाको अध्ययन सङ्केतपरक रूपमा हुन सक्छन्। अचेल लेखिदैँ गरेका कथाहरूमा सबै कुरा कथाकारले नै भनिहाल्दैनन् । पाठकका लागि पनि केही अवकाशहरू (स्पेस) छोडिदिएका हुन्छन्। खोल कथामा यस्ता अवकाशहरू पाठकले धेरै ठाउँ भेट्न सक्छन्। कथाकारले यो सचेत रूपमा राखिदिएका हुन् कि। वास्तवमा कुनै पनि पाठ लेखकले लेखेर छोडिदिएपछि त्यो खुल्ला पाठका रूपमा पाठकले त्यसको आलोचना गर्न सक्छन्। खोल कथा अभिधा, लक्षणा र व्यञ्जना तीनै अर्थयुक्त छ। अभिधा अर्थमा खोल भन्नाले साधरणत कुनै वस्तुको सुरक्षाका लागि बाहिरपट्टिबाट लगाउन बनाइएको वस्तु, बोक्रा, आवरण, अथवा माथिबाट ओड्याइएको कुनै वस्त्र वा छालाजस्ता कुरा बुझिन्छ। लक्षणा अर्थमा समाजमा मान्छेको आफ्नो बाहिरी रवाफ् र धाक, जसको आडमा समाजका निमुखा निर्धाहरूमाथि गरिने फुइँलाई देखाएको छ। यसबाट अझ पर व्यञ्जना अर्थमा मान्छेभित्रको खोक्रो आचरण, आडम्बर, घमण्ड, दम्भ र अराजकतालाई देखाएका छन्। अत: यी सबै मानवचरित्रका खोल मात्र हुन् भन्ने कुरा देखाएका छन्। यसका साथै कथामा बाघकै खोलको लगाएको जुन नाटक देखाइको छ। यसले संसाररूपि यो नाटकमा कति कति होलान् यसरी खोल लगाएर बाँच्नेहरू भन्ने कुरा पनि देखाएका छन्। कथामा बाघकै खोल लगाएको जुन प्रसङ्ग छ यसले अझ अघाडिका अर्थतर्फ सङ्केत गरेका छन्। बाघ भन्नाले ह्रिंसक, घातक, आतङ्ककारीजस्ता कुरालाई सङ्केतित गरेको देखिन्छ। जसले समसामयिक मान्छेको प्रवृत्तितर्फ सङ्केत गरेको छ। समाजमा बाघ जस्तो भएर रहेका कुनै पनि नेतृत्वलाई पनि यसले सङ्केत गरेका छन्। जसरी समाजमा नेतृत्ववर्गले वाह्य रूपमा खोल लगाएर हिँडने आचरण जबसम्म छाडदैन, तबसम्म समाज, देश, जाति र व्यक्तिकै पनि विनाश निश्चित छ भन्ने कुरा पनि कथामा अर्थ ध्वनित भएको पाइन्छ। खोलको रहस्य खोलिएको दिन मात्रै मान्छेलाई थाह हुन्छ भन्ने कुरासँगै कथा टुङ्गिएको छ। समग्रमा यो कथा सामाजिक, राजनीतिक असङ्गति, मानवीय चरित्रका ह्रासोन्मुख स्थिति र त्यसले जन्माएको विभिन्न असङ्गति-विसङ्गतिमाथि लेखिएको एउटा राम्रो कथा हो।

अर्का कथा जयमाया र ठूली दुवै दार्जिलिङ आइपुगे कथामा इन्द्रबहादुर राईका कथाका दुई पात्राहरूलाई लिएर लेखिएको विनिर्मित कथा हो। जयमाया आफूमात्र लिखापानी आइपुगी र जार भएकै एउटा कथाकि पात्राहरू क्रमैले जयमाया र ठूली कथाकारलाई न्याय माग्न दार्जिलिङ आइपुगेकी छन् कथामा। यस किसिमको पात्रहरूलाई लिएर लेखिएको प्रयोग हामी कृष्ण धरावासीको शरणार्थी उपन्यासमा पनि पाउँछौ। यो एककिसिमले पूर्वनियोजित पात्राहरूलाई लिएर लेखिएको सुत्रात्मक लेखन हो। पात्राहरूले लेखकको एकलौटी हैकमलाई चुनौति दिएर अघि आएको विनिर्मित विचार हो यो। डा. घनश्याम नेपाल लेख्छन् – पात्र लेखकीय विचारको भरिया भन्दा बेग्लै स्वतन्त्र व्यक्तित्वको मालिक हुन्छ र आफ्नो अस्तित्व वा परिचयसमेत आवश्यकता अनुसार फेर्न सक्ने किसिमका हुन्छन्, उसको अन्तिम वा चुडान्त रूप कहिल्यै हात लाग्दैन उ सदैव असमापनीय (अनफाइनालाइजेवल) हुन्छ। जतिसुकै जटील र प्रभावशाली ढङ्गले उभ्याउन खोजे पनि पात्र सदैव अपरिभाषेय र असमापनीय रहन्छ, त्यो सदैव रचित र सृजित रहन्छ। यसप्रकार कथाकारले यहाँ तिनै दुई पात्राका व्यक्तित्वलाई लेखेका छन्। वास्तवमा आख्यानमा चरित्र भन्नाले हामीले दिनहुँ भेटिरहेका जीवित मान्छे नै चाहि होइनन्। तर कहिले काँहि यो पुरै जीवित नै लाग्छन्। जब यो जीवित म भन्ने व्यक्ति कथामा पस्छ भने त्यो आख्यानका पात्र नभएर कुनै वैयक्तिक संस्मरण जस्तो मात्र हुन्छ। तर म र उ को भावनारहित सार्वभौम पात्रको चरित्रले भने सबैखाले पाठकलाई भिन्न भिन्न प्रभाव पार्न सक्छन्। यतिबेला पाठकले उसले आफैलाई भेटाउनु भनेको चाहिँ कथा जीवन्त हुनु हो। वास्तवमा आख्यानकारहरूले एउटा कथा वा उपन्यासमा एउटा पात्रको चरित्रलाई लेखेर लेखि सिध्याउदैनन्। त्यो सदैव खुल्ला रहन्छन्। जसरी हामी हाम्रो जीवनमा आफ्नो चरित्र आफैलाई थाह हुँदैन भरै के हुन्छ, भोलि के हुन्छ भनेर। त्यसरी नै कथामा कथाकारले पात्राहरूका चरित्रलाई एकैचोटी लेखेर लेख्न सक्तैनन्। जसरी एउटा सामान्य मान्छेको चरित्र सदैव राम्रो मात्रै भइरहन्छ भन्ने छैन, कहिले कुन परिस्थितिमा उ नराम्रो चरित्रको पनि हुन सक्छ। लेखकले यी सप्पै कुरा लेखेर लेखि नसिध्याउने कुराहरू हुन्। केही लेखेको जस्तो लाग्छ। तर फेरि पनि त्यो लेखिन सक्ने स्थितिमा असमापनीय भएर नै रहन्छ। प्रस्तुत कथामा लेखकको कथालाई समसामयिक भारतीय नेपाली – गोर्खा जातिको विपन्नता, अवहेलना, अन्योलता र सामाजिक, आर्थिक, सङ्कटका सन्दर्भमा राखेर विनिर्मित गरेका छन्।

जादुको ऐना कथामा मान्छेको जीवनको क्षणभङ्गुरतालाई देखाएको छ। समय अनुसार हरेक कुरा परिवर्तनशील छ। कुनै पनि वस्तु स्थीर र स्थायी हुँदैनन्। जीवनको ऐनामा आफूलाई हेर्दा सदैव सुन्दर रूप मात्रै हेर्छौ हामी। आफूलाई सुन्दर देखियोस् मात्रै हेर्छौ। तर वास्तवमा हामील ऐनामा आफ्ना सुन्दरता सँगसँगै हाम्रा असुन्दर र कुरूपहरू पनि देखिएका हुन्छौ। सुन्दर र असुन्दरलाई ऐनाले एकैचोटि देखाएका हुन्छन्। यही भेद नराखि आफूलाई सुन्दर मात्र हेर्ने बानीले हामी भ्रमित बन्दै गइरहेका छौं। हामीले सारा जीवनभरि सुन्दर कुराहरू मात्रै देख्दैनो अथवा हेर्दैनौ, असुन्दर लाग्ने कुरालाई पनि हेरेका हुन्छौ, भोगेका हुन्छौं। तर सदैव आफुलाई भने सुन्दर भनिदियोस्, राम्रो भनियोस् भन्ने भ्रम पालेर बसेका हुन्छौं। जसले गर्दा एकदिन ठूलो असुन्दर र कुरूपपनले हामीलाई निल्न सक्छन् भन्ने कुरा कथामा पात्राका माध्यम देखाएका छन्। यसका साथै कथामा मानव चरित्रका गुण र अवगुण दुवै हुन सक्छन् । वास्तवमा हामीले आफ्ना अवगुणहरूलाई पनि हेर्न सिक्न पर्छ । नत्र त कुनै दिन ती अवगुणले मान्छेभित्रको गुणलाई पनि बिलाइदिन्छ भन्ने विचारतिर पनि कथाले सङ्केत गरेका छन्। सामान्य कथावस्तु लाग्ने यो कथामा कथानकको बुनोट निकै रोचक भेटिन्छ।

भोलि अघिका कुराहरू कथाको प्रस्तुति अनौपचारिक सम्वादबाट थालिएको पाइन्छ। वर्तमान समाजका युवा पिँडीहरूमा देखिएको असामजिक स्थितिलाई यसमा चित्राङ्कन गरिएको छ। समाजमा बढदै गईरहेको यौन, मौजमस्ती, मान्छेभित्रको होडबाजी, ईर्ष्या, आडम्वर, एक अर्काका खुट्टा तान्ने प्रवृत्ति, अनावश्यक वैयक्तिक साँघुरा विचारधारा आदिले समाज जड बन्दै गएको संवेदनालाई कथामा देखाइएको छ। झिनो कथानक भएको यो कथामा समाजका सामयिक परिस्थितिले पिरोलिएका व्यक्तिविशेषको कथा छ। कथाकारले यसमा स्थानीय रङ्ग पनि दिएका छन्।

मीठो खानुको पीढा समाजका निम्ममध्यम वर्गका मानिसहरूका सपनाहरूमाथि लेखिएको कथा हो। उनीहरूका इच्छा, आकाङ्क्षा सबै समाजका नेतृत्ववर्गमा भर पर्नु पर्ने वाध्यता छ। नेतृत्ववर्गले गरेका अनेक पल्टका सपनाले दर पुस्ता दरसम्म भोग्नु परेको सामाजिक स्थितिलाई कथाकारले रोचक ढङ्गमा प्रस्तुत गरेका छन्। कहिले साकार नहुने त्यो मीठो खानुको पीडा बाट अनवरत झर्नु परेको कुरालाई कथाले बोलेका छन्। समसामयिक सामाजिक सन्दर्भमा दार्जिलिङका मान्छेहरूका सपना साकार नहुनुको पीढा अथवा हाम्रा वासभूमिको यात्रा टुङ्गोमा नपुग्नुको पीडा कथामा कतै उल्लेख नगेर पनि त्यो यहाँ ध्वनित पाइन्छ। कारण कथामा एकठाउँ भनेका छन् – यो पुस्तौनी प्रयासको अन्त अब कहिले हुने हो थाह छैन । कथाकार चौहानका कथामा यसरी समसामयिक विचार र जातिको दुख्दो अन्तर्व्यथा घरि घरि कथामा घुस्न आइपुगेका छन्। यो तर उनको कथालेखनको इमान्दारी पनि हो।

मृत्युवोध सामान्य कथावस्तु भएको कथा हो। यसमा वर्तमान युवापिडीका अनैतिक चर्तिकलाले गर्दा एड्स जस्ता विमारीका शिकार बन्न परेको कथा छ। युवाकालमा गरिएको होसबिनाको जोसपूर्ण कामले पिडित युवतीको कथालाई देखाएका छन्। आजका युवापिडीमा शारिरीक सम्बन्ध सस्तो र मनोरञ्जनको साधन मात्रै बन्दै गइरहेको कुरालाई कथामा राम्ररी प्रस्तुत गरेको छ। शारीरिक सम्बन्धलाई मौजमस्ती ठानेर वैवाहिक जीवनप्रति वितृष्णा बढदै गइरहेको आजका युवापिँढीका मानसिकतालाई कथामा नाङ्गो चित्रण गरेका छन्। यसरी वैवाहिक जीवनलाई बन्धन ठान्ने आजका युवापिँढी यौनको कुलतमा परेर एड्स जस्ता खतरनाक बिमारी भेटाइकी युवती हाम्रै समाजमा आजभोलि थुप्रै पाइन्छन्। कथामा हाम्रो समाज पनि यस्ता अनैतिक र घातक रोगको शिकार बन्न गइरहेको कुरालाई समाजकै मृत्युबोध हो भन्ने कुरा देखाएका छन्।

स्थायीकरण कथा एउटा स्वैरकाल्पनिक कथा हो। समकालीन साहित्यमा परिवेशविमर्शलाई लिएर केही चर्चा भइरहेको पाइन्छ। यो कथामा परिवेश एवम् वातावरणीय समस्यामाथि लेख्ने उनको प्रयास रहेको देखिन्छ। सृष्टिको सबैभन्दा सचेत प्राणी हुन् मानिस तर उसैले यो धर्तीमा स्थायीरूपले बाँच्न सक्तैनन् । प्रकृतिले यो कस्तो नियम बनायो त भन्ने कुरालाई कथाकारले स्वैरकाल्पनिक ढङ्गले प्रस्तुत गरेका छन्। प्रकृतिका अन्य उद्भिद, प्राणी र चराचर जगतमा ऋतुचक्रको अनेक परिवर्तन् भइ फेरि जिउँदो हुन्छन्। तर मानिसले चाहिँ किन मर्नै परेको त । अब मानिसको जीवनको पनि स्थायीकरण हुनपर्छ भन्ने कुरा कथाकारले भनेका छन्। तर आकाशवाणीले त्यतिबेला भन्छ – म जान्दछु अरू प्राणीसरह मानिस जातिको आयु अलि छोटो छ। म चाहन्छु मानव सभ्यता र संस्कृतिले भने धर्तीमा स्थायीत्व प्राप्त गरिरहोस्। तर रूखपात काटेर धर्ती नाङ्गै बनाएर कलकारखाना र गाडीहरूका अनियन्त्रित धुवाँ फ्याकेर पर्यावरण दुषित बनाउने, प्लास्टिकजस्ता घातक पदार्थको असावधानीपूर्वक प्रयोग मैला कुचेला थुपार्ने तिमीहरू नै हौ। विनाशलीला त मेरो हातबाट हुनुपर्ने हो तर तिमीहरूले नै यो अधिकारलाई खोस्दैछौ।.......यसप्रकार प्रकृतिको विनासले गर्दा नै मानिसको मृत्यु निश्चय छ। आफु बस्ने धर्तीको विनाश गरेको हुनाले नै मानिसको पराजय निश्चय छ भन्ने कुरा कथामा पाइन्छ। यसप्रकार वर्तमान नेपाली कथामा पनि परिवेश र पर्यावरणमाथि केही कथाहरू लेखिन थालेको पाइन्छ। यसलाई परिवेश विमर्श(इको राइटिङ्ग्स्)द्वारा पनि आलोचना गर्न सकिन्छ।

एजेन्ट यो कथा सामाजिक हाँस्य व्यङ्ग्य कथा हो। दार्जिलिङको स्थानीय घटना प्रसङ्गलाई टिपेर लेखिएको यो कथामा पुरूषवादी समाजमा नारीहरूले चलाख बस्नु पर्ने कुरालाई देखाएका छन्। वर्तमान मोबाइलका माध्यम वैवाहिक जीवनमा भइरहेको अन्तर्कलहलाई कथाकारले देखाएका छन्। आफ्ना पति लुकीलुकी परस्त्रीहरूलाई फोन गरेको घटनाले पिँढीत बनेकी पत्नीको कथा हो यो। पत्नीले अनेक उपाय लाउदा पनि नहुँदा एकदिन आफ्ना पतिले फोन गर्दै गरेको फेरि थाह पाएपछि उनले पतिलाई गोर्खाल्याण्ड विरोधी र बङ्गालको एजेन्ट हो भनी भक्कुचुर कुटाइ खुवाउछन्। यसरी पतिलाई आफ्नो गल्तीको अनुभव होस् भन्ने उद्देश्यले कथामा गाउँका नारीहरूलाई लिएर रामधुलाई दिएका छन्। यो एउटा समसामयिक हाँस्यव्यङ्ग्य कथा हो।

जिउँदो पात्रा यो कथा पनि फेन्टासी कथा हो । कथामा मानव र मानवेतर पात्रको सम्बन्धबाट पात्र र लेखकबिच हुने क्रियाकलापलाई कथाका विषयबस्तु बनाएका छन्। यसलाई एउटा विज्ञानकथाका नमुना मान्न सकिन्छ। तर यसका कथावस्तु झिनो छ। सामान्यत: विज्ञान कथाको कथावस्तु अन्तरिक्ष क्रियाव्यापार, ग्रहीय रोमान्स, सम्भावित शहरहरू, अवसानका कथाहरू, प्रागैतिहासिक कथाहरू र वैकल्पिक सभ्यताहरूका विषयमा हुन्छन्। कथावस्तुको विकास वैज्ञानिक ढङ्गबाट हुने अनि ती कथाका क्रियाव्यापार र द्वन्द्व वैज्ञानिक अन्तर्दृष्टिमा आधारित हुन्छन्। हाल चर्चित हेरिपोटर यसका उदाहरण स्वरूप छन्। प्रस्तुत कथामा कथाकारले एउटा विज्ञान कथा लेख्ने सोचे तापनि पात्रले लेखकले सोचेकै जस्तो मात्र हुनुपर्ने कुराको अस्विकार गरेकी छन्। तर कथा लेख्दै जाँदा कथाकारले रमिट(मेसिन) नायक र मजिना(मान्छे) नायिकालाई मिलाएर एउटा रूमानी कथा लेख्ने विचार गर्छ। कथा लेख्दै जाँदा कथाकारले रोवोटलाई बिचमा गएर आफ्नो पूर्वरूपमा ल्याएर छोडिदिन्छ। तर मेसिनसित पनि माया बसेका मजिनाले कथाकारलाई प्रश्न गर्छ। तपाइँले के आफ्नो खुसी गर्न पाउन हुन्छ यसरी। म तपाइँले लेखेको जस्तो पात्रा हुँदै होइन। म बीसौँ शताव्दीका पात्रा हुँ। म तपाईँको पुरानो मृतप्राय: पात्रा होइन, म रमिटलाई प्रेम गर्छु, म फेरि उसलाई भेट्न चाहन्छु, भन्ने कुरा सँगै कथा टुङ्गिएको छ। यहाँ कथाकारले घरि घरि एउटा कुरालाई देखाइरहेका छन् त्यो के भने अबका साहित्यमा अथवा कथामा मानवीय पात्राहरूलाई पनि लेख्नै नसकिने स्थिति आउँछ कि(?) भन्ने विचार राखेका छन्। यसका साथै कथामा मानवीय पात्रलाई आफ्नो विचार मात्र बोकाउन कुरा नमिल्ने कुरा कथाकारले व्यक्त गरेका छन्। समसामयिक कथामा देखिएको यो लेखकको हैकमवादी लेखनलाई हटाउनु पर्ने पात्रहरूका माग भएको यो एउटा प्रयोगवादी कथा पनि हो।

नलेखिएका कथाहरू चियाबारीमा बस्ने मानिसहरूको जीवनमाथि लेखिएको कथा हो। साधरण रोजमा काम गरेर दिनभरि खटिएका हाम्रा मानिसहरू धेरै प्रतिभाशाली भए पनि अझसम्म शोषित छन् । कुनै किसिमका सहुलियत र सुविधाहरूबाट सँधै वञ्चित चियाबारीका मानिसहरू अन्तमा कुलत जाँड, रक्सी, पिएर जीवन बर्वाद गरेको कुरा कथामा देखाइएको पाइन्छ। सभ्यताको यो युगसम्म पनि चियाबारीको जीवनस्तर किन उठ्न सकिरहेका छैनन् त। थुप्रै एम.टी. जस्ता पात्रहरू जसको हातले लाखौं रूपियामा बिक्री हुने चिया बनाए तापनि उनीहरूका जीवनस्तर भने अझ पनि ह्रासोन्मुख रहेको कुरा कथामा व्यक्त गरेको पाइन्छ। चियाबारीमा अनेक टुरिस्ट र डकुमेन्ट्रीहरू बनाउन आउँछन् । तर उनीहरूले पनि यहाँका मानिसहरूको वास्तविक चित्रलाई खिँच्न नसकिरहेको कुरा कथाकारले गरेका छन्। प्रतिभाशाली एम. टी.हरू चियाबारीमा प्रतिभासितै मरिरहेका छन् भन्ने कुरा कथामा देखाएका छन्। चियाबारीमाथि लेखिएको यो एउटा मार्मिक कथा हो।

रिमोट र कोठा प्रस्तुत कथामा कोठाको आत्मकथाको रूपमा आजको व्यस्त मानिसको जीवन , जिवाइ क्रम र देशको भ्रष्टचारलाई देखाएको छ। ज्ञान र विज्ञानले सम्पन्न भएको मानिसहरूमा भ्रष्टचार भन्ने कुरा पनि त्यतिकै बढेर गएको छ। देशमा अनेक धर्म, राजनीति, हिंसा, अत्याचार, शोषण, भ्रष्टचार, अपहरणजस्ता कुराहरू बढेर गइरहेछ । यी सप्पै घटनाहरू हुनुको पछाडि जनता नै दायी हुन्छ भन्ने कुरा कथाकारले देखाएका छन्। यस्ता भ्रष्टचारहरू देखेर पनि जनताहरू भित्ता जस्तो उभेर मूकदर्शक भई हेरिरहेका छन् शताब्दीऔंदेखि। जसरी यो कोठमा मद्वारा मूकदर्शक भई टि. भी.का अनेक च्यानलहरू रिमोर्टले हेरिन्छ। च्यानलहरू फेरिन्छ। तर म मूकदर्शक भई हेरिरहनु पर्छ, कारण म यो घरको कोठा हुँ । जसरी चारभित्ताले बनिएको कोठालाई टि.भी. का हरेक कुरा थाह हुन्छ र पनि आफू केही बोल्न सक्तैनन्, त्यसरी यो समाजका, देशका चारवटा भित्तासरह उभिएका चारै दिशाका जनता जबसम्म जानेर पनि नजानेको अभिनय गर्छ भने त्यो भ्रष्टचार समाज, देश र राष्ट्रमा सदैव रहिररहन्छ। कुनै पनि स्थितिमा यसको विरोध गर्न नसक्ने जनतालाई मौन कोठाकै रूपमा देखाएकाछन् यस कथामा। यद्यपि कथाकारले यो चार भित्ताको धैर्यता एकदिन त टुटेर समाज, देश, र राष्ट्रमा कुनै परिवर्तन त आउलान् भन्ने कुराको पनि आशा व्यक्त गरेका छन्।

समग्रमा ध्रुव चौहानका कथाहरूमा समसामयिक विषयवस्तुलाई टपक्क टिपेर विभिन्न प्रयोगद्वारा अभिव्यक्ति दिएको भेटिन्छ। उनमा अग्रज कथाकारहरूका कथाको प्रभाव प्रत्यक्ष – अप्रत्यक्ष रूपमा परेकै छन्। सचेत रूपमा नै उनले कथामा यस्ता प्रयोगहरू गरेका छन्। सङ्ग्रहका यी एघारवटा कथाहरू पाठकहरूले एउटा कथालाई एक बसाईमा पढि सिध्याउने किसिमका छन्। छोटा छरिता र तीब्र गतियुक्त यी कथाहरूमा कथाकार ध्रुव चौहानले समाजका भ्रष्टचार, सामाजिक जीवन, राजनीतिक असङ्गति, मानव चरित्रका आडम्वरीपन, बोक्रे मानसिकता, खोक्रो विचारधारा, भोगविलास, यौनविकृति, वातावरण विनाश र अपसंस्कृतिको प्रभावजस्ता कुराहरूलाई विशेष देखाएका छन्। तर यस्ता कतिपय कुरालाई कथाकारले केही बक्रशैलीमा भनेको राम्रो देखिन्छ। कथामा स्थानीय रङ्ग पनि देखाउनु उचित नै हो तर त्यसलाई देखाउँदा त्यसको ट्र्यास(अवशेष) लाई मात्रै देखाएको राम्रो हो। आख्यानमा प्रत्येक घटनाको यथातथ्य विवरण पनि हामी दिन सक्छौं, ठोस आधार र प्रमाणहरू पनि दिन सक्छौं। तर जहाँनेर ती कुराहरू पस्तछन् त्यहाँ कथा केही चोइटिएको हुन्छ। त्यो यथाताथ्यिक विवरण मात्र हुन्छ, त्यसले पाठकको ध्यानलाई केही बटार्छ र त्यो आख्यान असफल बन्छ। यद्यपि कथाकार चौहानले यो खोल कथासङ्ग्रहका माध्यम कथाका पाठकहरूका जिब्रोमा नयाँ आस्वाद प्रदान गर्ने चेष्टा गरेका छन्। लेखकको प्रयत्न, कृतिको नयाँ रूप, पुनर्लेखन आदिले गर्दा कृतिभित्र आधुनिकोत्तर दृष्टिचेत पनि पसेका छन्। ध्रुव चौहानका कथामा कसरी कसरी नजानिँदो पाराले भारतीय नेपाली जातिको राजनीतिक असङ्गति, जातिको दुख्दो अन्तर्वेदना र मानवचरित्रको ह्रासोन्मुख स्थिति विशेष रूपले प्राय कथाहरूमा पसेका छन्। यो उनको कथालेखनको इमान्दारिता पनि हो। कथामा घटनावलीलाई कनेर नलेख्नु , लेख्ता नढाट्नु भन्ने उक्तिलाई उनले राम्ररी बुझेका छन्।

कालिपद घोष तराई महाविद्यालय,बागडोगरा, दार्जिलिङ

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 14 भाद्र, 2068

लेखकका अन्य रचनाहरु