‘बेलायती आँगनमा गोर्खाली सुवास’मा सुवासित आचार्य

- शर्मिला खड्का दाहाल

विकलचन्द्र आचार्य (२०३०) लामो समयदेखि बेलायतमा बस्दै आएका प्रवासी नेपाली हुन् । डायस्पोरा लेखनमा मौलाउँदै आएको यात्रासंस्मरण विधालाई अघि बढाउँदै उनी ‘बेलायती आँगनमा गोर्खाली सुवास’ लिएर नेपाली डायस्पोरिक लेखनमा उपस्थित भएका छन् । हुन त यो अघि उनको ‘बेलायतमा मुटु दुख्दा’ संस्मरण सङ्ग्रह र मुटु सम्बन्धी उपचारको पुस्तक लिएर डायस्पोराको साहित्य लेखनमा आफ्नो दरो उपस्थितिलाई हस्ताक्षर गराइसकेका साहित्यकार हुन् । कोमल हृदय भएका स्पष्ट, निर्भीक र तार्तिक विचार भएका विकलचन्द्र आचार्य लेखकीय व्यक्तित्वको साथसाथै व्यवसायी, प्राध्यापक र समाजसेवी व्यक्तित्वले प्रज्वलित छन् ।

बेलायतसँग हाम्रो देशको सम्बन्धलाई समुन्द्रपारको अन्य देशहरूमा पहिलो, घनिष्ठ र ऐतिहासिक मान्न सकिन्छ । जङ्गबहादुरले बेलायत यात्रा गरेपछि नेपाल र बेलायतको सम्बन्ध सुमधुर भएको हो । जंगबहादुरले बेलायतमा गरेको यात्रालाई वि.स १९१० ‘जगबहादुरको बेलायत यात्रा’ यात्रासङ्ग्रहमा कृतिको रूप पाएपछि नेपाली साहित्यमा यात्रासंस्मरणको लेखन सुरु भएको मानिन्छ । त्यसपछि तानाशर्माको ‘बेलायततिर बरालिँदा’ अर्को यात्रा संस्मरणले नेपाली साहित्यमा निकै चर्चा पाएको कृति हो । त्यसपछिका दिनमा पनि धेरै साहित्यकारहरूले आफ्नो यात्रासंस्मरणमा बेलायतको यात्रालाई नछुटाउने गरेको तथ्य गोधूलिमा दस पाइला, एथेन्सको झरी, युरोपको झझल्को, यात्राका प्रेमिल तरङ्गहरू, देश दुख्नुको पीडा ........आदिमा भेट्न सकिन्छ ।

एसएलसी उत्तीर्ण गरेपछि अगाडिको अध्ययनको लागि सन् १९९३ मा बेलायतमा पुगेका विकलचन्द्र आचार्य बेलायत पुगेपछि त्यहाँ आफूले भोगेको कुरा, देखेका र अनुभूतिमा रमाएका कुराहरू यस यात्रा संस्मरणमा राखेका छन । करीब १८ वर्षअघि बेलायत पुगेर उहीको भाषामा रमाउँदै व्यवस्थापन विषयमा स्नातत्तोतर गरेर हाल प्राध्यापन पेशा पनि अँगालेका विकलचन्द्र आचार्यलाई आफ्नो भाषा, देश र समाजप्रतिको अगाध प्रेमले साहित्यमा रुची जगाएर यसरी पुस्तककार रूपमा आफूलाई समेटन सक्नुलाई यो उनको ठूलो उपलब्धि मान्नुपर्छ । विदेशी भाषा, संस्कृतिमा रमाएका कतिपयले आफ्नो देशको भाषा बोल्न छोडिसकेको अवस्थामा आफ्नो भाषा र देशप्रेममा चुर्लुम्म डुबेर बेलायतको भौतिक चडकभडक भन्दा आफ्नो देशको भीरपाखा प्राकृतिक सौन्दर्यमा रमाउन चाहने विकलचन्द्र आचार्य, बेलायतको मेट्रो टे«नभन्दा आफ्नो देशको घोडचढीमा नै आनन्द मानेको विचार व्यक्त गर्दछन् । बेलायतको पिजा, सैण्डविच, वाइनभन्दा आफ्नो देशको दालभात लाई नै स्वादिष्ट भोजन मान्न पुग्छन् । बेलायतको आइफोन, आइफोड, नाइटक्लव, लन्डन आइ, म्याक डोनाल्डमा उनी कहिल्यै रमाउन नसकेको र आफ्नै देशको सुवासको लागि जीवन भट्किरहेको अनुभूतिका छालहरूले पाठकलाई बगाइरहन्छ यस कृतिमा । सात स्तम्भमा बाँडिएको यस कृतिमा यात्राको सन्दर्भ नेपालको गोर्खाबाट सुरु भई बेलायत र फ्रान्समा पुगेर टुङ्गिएको छ ।

पहिलो यात्रा स्तम्भ – घतलाग्दो बेसी भ्रमण २०६७
यो स्तम्भ नियात्राकारको नोस्टाल्जिक उद्बोधन हो । नियात्रासँगसँगै नियात्राकारले बाल्यकालीन संस्मरणहरूलाई एक एक गर्दै उघार्दै लैजान्छन् । अठार वर्षअघि आफूले बिताएको गाउँघरको सम्झना गर्दै उनी वेसी सहरको भ्रमणमा साथीभाइसँग जान्छन् । उनको स्वदेशको माया, मानवता, पर्यावरणप्रति सचेतता, जीवजनावरप्रति प्रेमको सुवास सङ्ग्रहभरि झल्केको हामी पाउँदछौँ । काठमाडौबाट आफ्नो घर गोरखा पुग्दा लेखकले आफूले बाटोमा देखेको कुरा र अनुभव गरेका कुराबाट आफ्नो नियात्राको थालनी गरेका छन् ।

उनको सम्झनामा विगतका उनले बिताएका समयको व्याख्या गर्न पुग्छन् । कही उनी गाउँघरको स्वच्छ हावापानी र प्राकृतिक सौन्दर्यसँग बेलायतको भौतिक संरचनासँग तुलना गर्न पुग्दछन् । तर जति नै गरे पनि उनलाई आफ्नै माटोको सुवासले तानिरहन्छ । बाल्यकालमा खेलेको, घुमेको ठाउँमा धितमरुञ्जेल आनन्द लिन चाहन्छन् उनी । बेलायत रहँदा प्रत्येक पल आफ्नो गाउँको सम्झनाले भक्कानिएको सस्मरण यहाँ राख्दछन् । चौतारो, धारो, खेत, जङ्गल आदि ठाउँमा आफूले बाल्यकालमा बिताएको कुराहरू सम्झदै नियात्राकार अघि बढ्छन् । कतिपय नौला र चाखलाग्दा घटनाहरू पस्कदै नियात्राकार अघि बढ्छन् । छोरा नहुनेले बुढेसकालमा दुःख पाउनु स्वभाविक हो भनेर भनिन्छ गाउँघरमा तर छोरा भएका भिमसेन लामिछानेको प्रसङ्ग यहाँ राखेका छन् । छोराछोरी भएपनि एक्लै जीवन बिताइरहेका भिमसेन लामिछाने राती मकैको खोसेल्टो सल्केर मरेको घटना यहाँ राखेका छन् । गाउँघरमा यस्ता धेरै घटनाहरू घटेका हुन्छन् । जुन घटनाहरू नियात्राकारले लिपिबद्ध गरेका छन् । नियात्राकार आफू यहाँ निर्बन्ध घुम्न र रमाउन चाहेको कुरा उनको यात्रा वर्णनको प्रत्येक पाइलामा पाउन सकिन्छ । उनी आफ्नो गाउँको खोल्सासँग पनि उत्तिकै रमाउन पुग्छन् । उनी कहिले खोलासँग साउती मार्न पुग्छन् भने कहिले धोबिनी चरी सँग ‘ए पानीले बिसन्चो गर्ला नि परदेशी बाबु’ भन्दै संवाद गर्न पुग्छन् ।
यसरी उनले घतलाग्दो बेशीसहरमा आफुलाई घतलाग्ने कुराहरूको वर्णन गर्दै पाठकलाई पनि यात्राको तरङ्गमा विचरन गराउन सफल भएका छन् ।

दोस्रो यात्रा स्तम्भ – गोरखा दरवार फन्को मार्दा २०६७ श्रावण
नियात्राकार आफू बाल्यकालमा धेरै पटक गोरखा दरवार पुगेको र त्यहाँ बनभोज खाएको कुराबाट यो यात्रा सस्मरण सुरु भएको छ । यात्रामा हिँडदाका क्रममा भेटिएका सैन्य जवान र अन्य मित्रहरूको बारेमा वर्णन गर्दै जान्छन् । बाटामा भेटिएका टुडिखेल, बालमन्दिर, उद्योग बाणिज्य संघ, महेन्द्रज्योति स्कुलको बारेमा व्याख्या गर्छन् । शिक्षाको ज्योति फैलाउन स्कुलको हालत देखेर उनी दुःखी हुन्छन् ।

ठाउँठाउँमा संवादसँगै उनी शिक्षानीतिबारे आफ्नो धारणा राखेका छन् । यसरी हिँड्नेक्रममा एकजना साधारण व्यवसाय चलाउने महिलासँग उनको भेट हुन्छ र उनी महिला मार्फत समाजमा महिलाहरूलाई केही सीप दिनसके उनीहरूको जीवनस्तर उठ्न सक्ने विचार राख्छन् । यात्रावर्णनको क्रममा पाइलापिच्छे घटेका घटना, देखेका दृश्यबाट प्रभावित हँुदै घटना र दृश्यसँग तारदाम्यता मिलाउँदै आफ्नो विचारहरू पनि राख्नु लेखकको विशेषता मान्नुपर्दछ । कतै नछुटाइ यात्राका प्रत्येक पललाई सविस्तार गर्नु नियात्राकार विकलचन्द्र आचार्यको मौलिक विशेषता मान्नुपर्दछ । यहाँ गोरखा दरवारको फन्कोमा पनि उनले पाइलैपिच्छे भेटिएका दृश्य र घटनाहरूको वर्णन गर्दै गएका छन् । उनी वर्णनको क्रममा मन्दिरमा चलाइने बलीप्रथाको विरोध गर्न पुग्छन् । गोरखा दरवारको भ्रमणसँगै यसको ऐतिहासिक महत्त्वलाई व्याख्या गर्न लेखक पछि परेका छैनन् । ‘न्याय नपाए गोरखा जानू’ भन्ने उखानले गोरखाको ऐतिहासिक महत्त्व कायमै रहेको प्रसङ्ग यहाँ राखेका छन् । वास्तवमा ने गोरखा दरवार नेपालको इतिहासमा एउटा गौरव बोकेको ऐतिहासिक पवित्रस्थल हो । पथ्वीनारायण शाहले नेपाल एकिकरण गर्न अघि राज्य चलाएको दरवारको आप्mनै ऐतिहासिक र साँस्कृतिक महत्व हुनु स्वभाविक हो । यसरी लेखक आफूलाई गोरखाको बासिन्दा हुन पाएकोमा गौरवको महसुस गर्दै गोरखा दरवारको दिनभरिको यात्रालाई टुङ्ग्याएका छन् ।

तेस्रो यात्रा स्तम्भ — हवाईजहाजको संस्मरण
नियात्राकार विकलचन्द्र आचार्यका नियात्राहरू विवरणात्मक छन् । यस स्तम्भमा उनले आफूले लन्डन छोड्नलाई घरबाट हिँड्दादेखिको विवरणलाई सरल भाषामा व्याख्या गरेका छन् । घरबाट हिथ्रो विमानस्थल धेरै नभई डेढ घन्टाको भएपनि ट्राफिक जामले बाटोमा धेरै बेर बस्नुपरेकोले दिक्क मानेको कुरा विवरणत्मक शैलीमा लेखेका छन् । आफूजस्तै अरू धेरै यात्रीहरू पनि जामको सकसले छटपटाइरहेको दृश्यलाई सरल भाषामा व्यक्त गरेका छन् ।
हिथ्रो विमानस्थल पुगेपछि विमानस्थलको भव्यता देखेर चकाचौध हुँदै लेखक यस विमानस्थलको बारेमा वर्णन गर्न पुग्छन् । लेखक श्रीमती, छ वर्षकी छोरी र डेढ वर्षको छोरा लिएर हवाईजहाजबाट नेपाल आउँदै गरेको यात्रा वर्णन हो यो । उनी विमानभित्र पसेपछि यसको भव्यताले अन्यमयस्क बन्न पुग्छन् अनि यसको विशालताको व्याख्या गर्न पुग्छन् । लन्डनबाट चढेपछि अवुधावी विमानस्थलमा उत्रेर फेरि नेपालको अर्को विमानमा चढेको प्रसङ्ग यहाँ राखेका छन् । यात्रासँगै उनी बेलायतमा विज्ञानको चमत्कारले भौतिक विकासको चरमसिमामा पुगेको विचार राखेका छन् । एकातिर बेलायतको भौतिक विकास अर्कोतिर नेपालको अविकसित अवस्थाप्रति उनी तुलनात्मक व्याख्या गर्न पुग्छन् ।
नेपाल एयरपोर्ट आइपुगेपछि आफूले नेपालको भीसा देखाउनुपर्ने बाध्यताले लेखक कुन्ठित हुन पुग्छन् । त्यसैले सामान राख्न ट्रली लिन जाँदा पैसा तिर्नुपर्ने बाध्यताले नराम्ररी दुःिखत हुन पुग्छन् । यसरी उनी हवाईजहाजको संस्मरणमा हवाईजहाज चढेदेखि नउत्रेसम्मको वर्णन गर्छन् । तर उनले आफू कुन एयरलाइन्सबाट आएको भन्ने कुरा लेख्न छुटाएका छन् ।

चौथो यात्रा स्तम्भ– युरो स्टारको तिरिमिरी
लन्डनस्थित आफ्नो घरमा राती झकाइरहेको अवस्थामा अचानक फ्रान्सबाट मामाको फोन आएपछि सुरु भएको यस स्तम्भमा मामाले नियात्राकारलाई फ्रान्सआउन निमन्त्रणा दिएपछि उनको स्मृतिबिम्बहरू सस्मरणको झिल्को बनेर बल्न थाल्दछ । फ्रान्स जाने परिपक्वताले पूर्णविराम पाएपछि लेखक फ्रान्स जाने युरोस्टारमा चढ्न किस क्रस सेन्ट म्यानक्रस तर्फ लाग्छन् । रेलमा उनी स्नुकरका चर्चित खेलाडीसँग भेट हुन पुग्छ । सर्वप्रथम उनी आफ्ना प्रिय खेलाडीलाई चिन्न असमर्थ हुन्छन् । तर कहाँ देखजस्तो भइरहन्छ उनलाई । रहस्यको पर्दा उघार्न उनी आफै सोध्न पुग्छन् — ‘तपाईं स्टिभ डेभिस हो ?’ भनेर । नभन्दै आफ्नो अनुमान सही भएको उत्तरले उनी चकित बन्न पुग्छन् । स्टिभ डेभिस सम्बन्धी उनलाई निकै कुरा जानकारी हुन्छ । उनको स्नुकर खेलको टेलिभिजनमा दिइने कमेन्ट्री लेखकलाई धेरै मन पर्ने हुन्छ । यसरी आफूले मन पराएको सेलिब्रिटीसँग अचानक भेट हुँदा उनी दङ्ग पर्छन् । उनी स्टिभ डेभिसको व्यवहारबाट निकै प्रभावित बन्न पुग्दछन् । बेलायत तथा युरोपमा राम्रा खेलाडीहरूको राम्रो डिमान्ड भएको र राम्रो आम्दानी गर्न सकेको कुरा लेखकले यहाँ राखेका छन् ।
अनलाइनबाट टिकट बुकिङ्ग गरिसकेको उनी मेसिनमा पैसा हालेर प्रिन्ट गरेको टिकट निस्केपछि त्यो टिकट लिएर रेल चढ्ने ठाउँमा पुग्छन् ।युरो स्टारको रेल सुरु हुनुअघि लेखक मनमा अनेकौँ तरङ्गबाट तरङ्गित भइरहन्छन् । वास्तवमा अत्याधुनिक मेसिनबाट बनेको यो रेलको वर्णन जति नै गरेपनि लेखक नथाकेको हुन झै लाग्दछ । रेल कहिले जमिनमुनि गुड्ने गर्दछ त कहिले जमिन माथिको घनावस्तिबाट गुड्ने गर्दछ । युरोस्टार विज्ञानले दिएको विकासको ठूलो फड्को मान्न सकिन्छ । वास्तवमा यो थाहा नपाउने धेरै नेपालीको लागि एउटा चाखलाग्दो सस्मरण हुनसक्छ ।

पाँचौँ यात्रा स्तम्भ — हजुरबुवा र नर्थह्याम्पटन टेड
नियात्राकार आफ्नो धर्म र संस्कृति र भाषाप्रति अति नै इमान्दार रहेको यस स्तम्भबाट थाहा हुन्छ । नेपालबाट गएका आफ्ना मातापिता हजुरबुबाको श्राद्ध गर्न तयार भएको अवस्थामा लेखक चाहिँ नर्थह्याम्पटन भन्ने ठाउँ जानु पर्ने बाध्यताले पिडीत बन्दछन् । हजुरबुबाको श्राद्ध जस्तो पवित्रकार्य छोडेर समाजसेवाका लागि गैरसरकारी संस्थाको काम गरिदिनुपर्ने भएको हुन्छ । बिहानै नर्थह्याम्पटन भन्ने ठाउँको लागि उनी निस्कन्छन् । यात्रा निस्के पछि नै उनी यात्राको वृतान्तको बारेमा प्रत्येक क्षण व्याख्या गरिरहन्छन् । जनवरी महिनामा बेलायतको चिसो त्यहाँको वातावरण कस्तो हुन्छ ? चराचुरुङ्गीहरू कसरी बस्छन् भन्ने कुरालाई शब्दमा छर्लङ्ग उतारेका छन् लेखकले । रमफोर्डबाट नर्थह्म्पटनबाट जान उनी लिभरपुल स्टेसन आइपुग्छन् । त्यहाँबाट युस्टन पुगेर उनले नर्थहम्पटनको रेल समात्नुपर्ने हुन्छ । यस्तो चिसोमा पनि बेलायतले यति धेरै विकास गर्नुको रहस्य के होला ? यहाँ लेखकले त्यो रहस्य उघारेका छन् । उनले बेलायत बिकसित हुनुको रहस्यहरू पनि उघारेका छन् । बेलायतको बारेमा थाहा पाउन इच्छा हुने पाठकले यो स्तम्भबाट धेरै कुरा थाहा पाउन सक्छन् । युस्टन स्टेसन पुग्नुअघि उनलाई एउटी भर्खरकी युवतीले सोध्छिन् । उनले आफूसँग जान आग्रह गर्छन् । उनी ती युवतीको बारेमा सामान्य जानकारी लिँदै गफ गर्छन् । ती युवती आमालाई भेट्न स्विन्डन भन्ने सहरमा घुम्न गएकी र आफू पहिला चोटि जान लागेको जानकारी दिन्छिन् । तर तीे केटीले यस्तो जाडोमा पनि पातलो लुगा लगाएको देखेर उनी छक्क पर्छन् । पछि तिनलाई आफ्नो जिज्ञासा राख्दछन् । ती केटी पनि हतारमा लुगा लगाउन नसकेको कुरा गर्छन् । यसरी ती केटीको मायालु व्यवहारबाट प्रभावित हुँदै तिनलाई स्विन्डनको प्लेटफर्मसम्म पु¥याएर लेखक फर्कन्छन् ।

लेखकको बाटोमा गीत गाएर मागिरहेको एकजना वृद्धसँग भेट हुन्छ । यी वृद्धको गायनकलाबाट उनी निकै प्रभावित हुन्छन् र उनीसँग बिचार आदानप्रदान गर्न पुग्छन् । ती वृद्धाको नाम टेड हुन्छ । टेडले टोनिसनको गीतलाई मीठो स्वरमा संगीतवद्ध गरी गाएर लेखकलाई सुनाउँछ्न् । टोनिसनका कविता र गीतका फ्यान लेखकलाई टेडको गायनकलाले निकै प्रभावित बनाउँछ । टेड करोडपति भएको र उसले आफ्नो सबै सम्पत्ति गरिबहरूलाई बाँडेको कुराले लेखक निकै चकित बन्छन् । वास्तवमा महान् व्यक्ति टेडले गरेको समाजसेवाको कुरा निकै चाखलाग्दो र प्रशंसनीय छ । टेडको मानवताप्रतिको त्याग र समर्पण हामी नेपालीलाई अनुकरणीय बन्न सक्छ । टेडलाई रानी एलिजावेथले समाजसेवा गरेवापत ओ.बी.इ तक्का पाएका हुन्छन् । करोडपछि टेडले आफ्नो सम्पत्ति विलासितामा खर्च नगरी सबै पैसा समाजसेवामा समर्पित गरी समाजमा सम्मानित जीवन बाँचेको देखेर लेखक निकै दङ्ग पर्छन् । उनले मागेको पैसा पनि गरिव र अनाथ बालबालिकाको पालनपोषणको लागि दिने कुरा लेखक टेड जस्तो महान मानिससँग भेट भएकोमा आफूलाई निकै भाग्यमानी ठान्न पुग्छन् । समयले टेडसँग बिछोड गराएकामा कुन्ठित मन लिएर उनी घरतिर लाग्छन् । घर आउँदा पनि उनी टेडको बारेमा नै घोरिइरहेका हुन्छन् । टेडसँगै उनी आफ्ना हजुरवुवाको व्यक्तित्वलाई तुलना गर्न पुग्छन् । उनको हजुबुवा पनि समाजमा समाजसेवी भई सम्मानित रहेका प्रसङ्ग राख्छन् । घर पुगेर मातापिता र दाजुभाइसबै टेडको प्रसङ्ग सँगै हजुरबुवाको श्राद्धको दिन हजुरवुवाको व्यक्तित्वको चर्चा गर्दै हार्दिक श्रद्धान्जली चढाउन पुग्छन् ।

छैठौँ यात्रा स्तम्भ — क्याम्ब्रिजमा घोत्लिदा
यस स्तम्भमा नियात्राकार आफ्ना मातापितालाई क्यम्ब्रिज विश्वविद्यालय भ्रमण गराउन लाँदाको सस्मरण छ । वास्तवमा क्याम्ब्रिज घुम्न जाँदा नियात्राकारले घरदेखि क्याम्ब्रिज विश्वविद्यालय पुगेको सबै बृतान्त राख्दै आफ्नै नीजि भावनाहरूलाई प्रसस्त ठाउँ दिएका छन् । लेखकका पिताले गोरखामा शिक्षण पेशा अपनाउँदा उनले त्यही पढाएका एक विद्यार्थी क्याम्ब्रिज विश्वविद्यालय पढदै गरेको र उनलाई भेट्न जाँदाको सस्मरण हो यो । याात्रासँग उनले पुराना स्मृतिबिम्बलाई पनि पोखेका छन् । गाडीमा यात्रा गर्दागर्दै पानी परेको र वाइपरले सिसाको पानी फ्याकेको सन्दर्भसँगै रोन अल्डरम्यान भन्ने आफ्नो साथीको सन्दर्भ पनि राखेका छन् ।

गोरखा जिल्लाको अति विकट हिमाली भेगमा जन्मेका लेखकका गुरुङ्गभाइ क्याम्ब्रिजमा मुटु विशेषज्ञका रूपमा पढाइरहेका हुन्छन् । उनलाइै भेट्न क्याम्त्र्रिज पुगेका लेखकका मातापिता र दाइ क्याम्ब्रिज विश्वविद्यलय पुग्छन् । तिनै डा. गुरुङ्गको मार्गनिर्देशमा क्याम्ब्रिज विश्वविद्यलय घुम्न जान्छन् । संसारमाभरको विद्यार्थी पढ्ने क्याम्ब्रिज विश्वविद्यालयले मानव सभ्यताको धेरै कुरा दिएको छ । यहाँ स्टफिन हकिन्स, डीएन पत्ता लगाउने भवन, वैज्ञानिक जमघट हुने र खानेपिउने भट्टी आदि विभिन्न महत्त्वपूर्ण स्थल भ्रमण गर्ने सौभाग्य पाउँदा लेखक प्रफुल्ल हुन्छन् । ज्ञानको भण्डार क्याम्ब्रिजमा पुग्दा लेखक आफ्नो देशको शिक्षास्तरसँग यहाँको शिक्षाको स्तरलाई तुलना गर्न पुग्छन् । लेखक कयाम्ब्रिजभित्र रहेको युनिभर्सिटि प्रेसबाट छापिने पुस्तक पसल पुग्छन् । क्याम्ब्रिज विश्वविद्यलयबाट निस्केका यस्ता पुस्तकको ज्ञानको भण्डारलाई गोली झै निल्न पाए हुने भनेर लेखक कल्पना गर्न पुग्छन् । त्यस्तै उनी जर्ज विजनेस स्कुल जान्छन् । जुन स्कुलमा व्यवस्थापनमा कुनै ज्ञान नभएको विद्यार्थीलाई पनि एमफिलमा भर्ना लिइन्छ ।

अन्त्यमा उनी ज्ञानका गहिराइ अनन्त छ । यसको लागि पढेर मात्र नभई हेरेर घुमेर पनि पाउन सकिने यथार्थ राख्छन् । क्याम्ब्रिज भ्रमणले लेखकलाई ज्ञानको बेग्लै संसारमा आफूलाई विचरण गराएको आत्मस्विकृति पोख्छन् भने प्रत्येक विचार र अनुभूतिसँगै आफ्नो देशको अवस्थासँग बेलायतको विकासलाई दाँज्न पुग्दछन् ।

सातौँ यात्रा स्तम्भ – यस्तै छ मेरो बिहान
आफ्नो नितान्त नीजि दैनिकी भ्रमणबाट सुरु भएको यो स्तम्भ यस सग्रहको अन्तिम संस्मरण हो । लेखकको दिन कसरी व्युँझन्छ भनी सुरु गरिएको यस स्तम्भमा बेलायतमा भिक्टोरिया रानीले ठूलो देश विकास गरेको गरेका छन् । भिक्टोरियाको शासनकालदेखि नै बेलायतमा सुचनाप्रविधि , यातायात रअरु क्षेत्रमा विकास भएको सन्दर्भ उल्लेख गरेका छन् ।

लेखकका घरछेउमा सानो, स्वच्छ र निर्मल रोम भन्ने नदी बग्दछ जसको नाबाट नै यस ठाउँको नाम रमफोर्ड भएको यहाँ उल्लेख गरिएको छ । लेखक दैनिक विहान भ्रमणमा जाँदा के कस्ता दृश्य देख्छन् र के कस्ता अनुभूतिहरु उनीभित्र सिर्जना हुन्छ ती सबै मनोवेगहरुलाई यहाँ राखेका छन् । दैनिक बिहान मनिग वर्कमा उनी शरिर तन्दुरुस्त बनाउँदै दौडन्े गर्दछन् । यसरी दैनिक दौडनेक्रममा अप्रत्यक्षरुपमा धेरै साथीहरुसँग भेट भइरहेको हुन्छ । यहाँ दिनहु भेट हुँदा उनीहरुसँग एकप्रकारको अव्यक्त सम्बन्ध गाँसिएको महसुस लेखक गर्छन् । यसै सन्दर्भमा एउटी युवती, अन्धो मान्छे, भारतीय मूलकी महिला आदिसँग एक किसिमको नाता गाँसिएको लेखक व्यक्त गर्दछन् ।र यसरी प्रत्येक दिन बिहानीको समयमा भएका घटना र मनमा खेल्ने तर्कवितर्क लेखकले यहाँ राखेका छन् ।
अन्त्यमा भन्नुपर्दा बेलायती आँगनमा गोर्खाली सुवासमा नियात्राकार विकलचन्द्र आचार्य नियात्रासँगसँगै आफ्ना मनका भावना र विचारहरूसँग डुबुल्की लगाउँदै पाठकलाई यात्रामा डुलाइरहने खुबी लिएर देखा परेका युवा नियात्राकार हुन् । सरल र सरस भाषामा आफ्नो मनको विचार र आफूले विदेशमा बसेर प्राप्त गरेको ज्ञानलाई सङ्ग्रहभरि सुवासित बनाउन दृढ भएर लागेको आभास पाइन्छ । यसरी नै विदेशमा बस्नेहरुले विदेशको सुवासलाई स्वदेशमा छर्ने र छर्नलाई प्रेरित गर्ने संदेशहरू दिने खालका निबन्धहरू नेपाली साहित्यमा निकै अभाव रहेको छ । शब्द र शैलीलाई प्रस्तुत गर्दा लेखकलाई कतै गाह्रो भएको होकि झै लाग्ने यस सङ्ग्रहमा लामो समयसम्म नेपाली भाषामा रमाउन नपाएको हुनाले यस्तो भएको हुनसक्ने अनुमान लगाउन सकिन्छ । यति हुँदाहुँदै पनि लामो समयसम्म विदेशी रहनसहन र शिक्षामा डुबेर पनि नेपाली भाषा साहित्यमा यति राम्रो कृति लेख्नसक्नुले नेपाली साहित्यले डायस्पोरिक लेखनबाट पाएको ठूलो उपलब्धि मान्नु पर्दछ ।

विशेषतः विदेशी भूमिको अनुभूतिमा डुबुल्की मार्दै नयाँनयाँ संदेश, शिक्षामा नयाँ चेतना, विदेशको रहनसहनलाई नेपाली भाषामा सम्प्रेषण गरी यहाँका पाठकको ज्ञानकोस्तर बढाउनसक्नुलाई लेखकको ठूलो योगदान मान्नुपर्दछ । यो कृति डायस्पोरिक लेखनमात्र नभई नेपाली साहित्यको भण्डारमा पनि एउटा उपलब्धिमूलक कृति बन्न पुगेको छ ।

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 23 मङ्गसीर, 2068

लेखकका अन्य रचनाहरु