बिरामी

- छविरमण सिलवाल

सधैँ म छोरोलाई यही बाटो स्कुल लैजाने गर्छु । बाटोमा देखिने दृश्यहरूले उसको कुतूहल बढ्दै जान्छ । एकदिन सडकमा गुडिरहेको एम्बुलेन्समा उसका आँखा परे र सोध्यो-'बाबा अरू गाडी गुड्दा त कराउँदैनन् यो गाडी चाहिँ किन कराउँदै हिँड्छ ?' मैले भनेँ-'बाबु यो एम्बुलेन्स हो, यसमा बिरामीहरूलाई राखेर अस्पताल लैजाने गरिन्छ । छिटोछिटो लैजानका लागि यो गाडी कराएको हो । यसलाई सबैले बाटो छाडिदिनुपर्छ । यसको बज्नेलाई साइरन भनिन्छ । उसले बुझेजस्तो गर्‍यो र 'ए !' मात्र भन्यो ।

केही दिनपछि अगाडि/पछाडि गाडीको लाइन लगाएर साइरन बजाउँदै गाडीको लर्को कुद्दै थिए । चिल्लो गाडी चाहिँ बीचमा थियो । सडकपेटीबाट म छोरोलाई स्कुल पुर्‍याउँदै थिएँ । फेरि उसले सोध्यो 'आज त बिरामीहरू धेरै भएछन् नि बाबा ! पुलिसहरू पनि रहेछन् । बिरामीहरूलाई सुरक्षा पनि चाहिन्छ बाबा ?' एकै श्वासमा भन्यो । उसको जिज्ञासालाई शान्त पार्दै मैले भनेँ- 'बाबु यिनीहरू बिरामी होइनन् । देशका ठूलामान्छे हुन् । ठूला मान्छेहरूको सुरक्षाका लागि पुलिसहरू अघिपछि लागेका हुन् ।' उसले केही बुझेजस्तो गरेर भन्यो- 'उनीहरू त सधैँ बिरामी नै हुन्छन् कि क्या हो बाबा ?' सधैँ एम्बुलेन्समा चढ्दा रहेछन् ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 3 माघ, 2068

लेखकका अन्य रचनाहरु