पाल्पाको सिलुवा गाउँ र ‘कौरा’ नृत्य

- तुलसी प्रवास

पोखरा–सुनौली सिद्घार्थ राजमार्गको आर्याभञ्ज्याङबाट पूर्वतर्फ एउटा साँघुरो पक्की बाटो सुरु हुन्छ । आर्याभञ्ज्याङदेखि रामपुरसम्म जाने त्यस बाटोबाट अगाडि बढ्दै गएपछि केही समयमा कच्ची बाटो सुरु हुन्छ । वारिपरी देखिने रमणीय पहाडी श्रृङ्खला, दक्षिण तर्फको विशाल माडी फाँटले सबैको मन लोभ्याउँछ । कतै जङ्गलको बीचभाग, कतै नेवार हटिया त कतै मगरबस्ती पार गर्दै रामपुर जाने मोटर बाटो खनिएको रहेछ । उकाली, ओराली अनि स्याउली भञ्ज्याङको कहालीलाग्दो भीर पार गरिसकेपछि एउटा स— सानो बजार आउँछ, त्यसलाई सिलुवा बजार भनिन्छ । सिलुवा पाल्पाको एउटा गा.वि.स.को नाम पनि हो । यसै गा.वि.स. को एउटा गाउँ हो मनहरी । यस गाउँमा अधिकाँश मगरहरूको बस्ती रहेछ । त्यही मनहरी गाउँ, त्यहाँका सोझा अनि निर्दाेष मगर जाति र उनीहरूको कौरा नृत्यको बारेमा यहाँ छोटो चर्चा गर्न लागिएको छ ।

२०६८ सालको पुसे १५ अर्थात् ल्होसार पर्वको दिन थियो । लोकगीत र लोकसंस्कृतिको अध्ययनमा लागिरहनुभएका डा. कुसुमाकर न्यौपानेले एकाबिहानै फोन गरेर ल्होसारको रमाइलो हेर्न जाने भनी मलाई बोलाउनुभयो । म पनि लोकसंस्कृतिको अध्ययनमा लागेको मान्छ,े त्यसमाथि न्यौपाने सरको आग्रहलाई नकार्न सकिन । दुवैजना पैयुँखोले तमु समाज रामबजार पोखराद्वारा आयोजित ल्होसार समारोहमा आतिथ्यता स्वीकार ग¥यौँ । केहीबेर त्यहाँको रमाइलो हेरेर खानपिन गरिसकेर त्यहाँ बाट बिदा भयौँ । न्यौपाने सरको घरमा आएर सिलुवाको कौरा हेर्न जाने निर्णय गरी दिनको २ बजे पोखराबाट प्रस्थान ग¥यौँ । स्याङ्जाको गल्याङ्गमा पुग्दा झमक्क साँभm प¥पो । त्यस रात गल्याङ्ग हाम्रो होटलमा बास बसी भोलिपल्ट बिहानै पाल्पातर्फ हानियौं ।

हाम्रो उद्देश्य लोकगीतका विविद्य विधाहरुको बारेमा जानकारी लिँदै पाल्पाको कौरा हेर्ने थियो । खेलीगीतका प्रभावक्षेत्रहरू स्याङ्जाको मालुङ्गा, बलाम आदि स्थानको बारेमा जानकारी लिएर आर्याभञ्ज्याङ पुग्यौँ । त्यहाँबाट केही जानकारी लिएर पूर्वतर्फको साँघुरो बाटो हुँदै अगाडि बढ्यौँ । लगभग दुई घण्टाको मोटरसाइकल यात्रापछि हामी सिलुवा पुग्यौँ । त्यहीँको एउटा सानो होटलमा खाना बनाउन लगाएर खाना खाई अगाडि बढ्यौँ । साँघुरो कच्ची बाटो, त्यसमाथि बाक्लो गरी जमेको धूलोले हामीलाई बेलाबेलामा अवरोध पुर्याउँथ्यो । एक ठाउँमा अचानक मोटरसाइकल पल्टियो । दुवैजनालाई सामान्य चोट पनि लाग्यो । न्यौपाने सर खुट्टा खोच्याउन थाल्नुभयो । ठूलो चोट नलागेकोमा भगवानलाई ध्न्यवाद दिँदै अलिकति तल झर्यौँ । त्यहाँ पुग्दा मनहरी गाउँका कर्णबहादुर राना र नुनबहादुर खासुले हामीलाई लिन मान्छे पठाउनुभएको रहेछ । त्यहीँको एउटा घरको आँगनमा मोटरसाइकल थन्क्याएर हामी खुट्टो खोच्याउँदै र धूलो टक्टक्याउँदै लगभग आधा घण्टा पैदल झर्यौँ । डा. कुसुमाकर न्यौपाने सर पहिले पनि आफ्नो पि.एच.डी. को सिलसिलामा त्यस ठाउँमा पुगिसक्नुभएकोले हाम्रो स्वागतमा सम्पूर्ण मनहरीवासी तयार भएर बसेका थिए । कर्णबहादुर राना, नुनबहादुर खासु, दलबहादुर राना, बेग बहादुर सोमै लगायत त्यहाँका पूरै मगरहरूले आफ्नै पाराले हाम्रो हार्दिक स्वागत गरे । कर्णबहादुर रानाको घरमा खानपिनको बन्दोबस्त भयो । सबै गाउँले केटाकेटी, वृद्ध–वृद्धा, युवायुवतीको समूह कर्णबहादुरको आँगनमा भेला भए । खानपिन सकेपछि पाँचजना युवतीहरू मगर जातिको जातीय पोशाकमा झपक्क सजिएर नाच्न तयार भए । आँगनमा गुन्द्री बिच्छ्र्याइयो । खैँजडी बजाउन र गीत गाउन स्वयम् कर्णबहादुर, नुनबहादुर, दलबहादुरहरू तयार भए । नाच सुरु भयो । मगर लवज, त्यसमाथि कोदोको तीनपानेको नशाले वातावरणलाई साच्चै रमाइलो बनायो । गीत गाउँदै नाच्दै गर्दा गर्दै त्यहाँ मानिसहरू थपिदै गए । पूरै आँगन, पिँढी, बार्दली भरिभराउ भयो । यानुमाया राना, सुना राना, जुनी राना, शान्ती राना, र पुष्पा राना नाम गरेका पञ्चकन्याहरूले हामीलाई ननाची सुखै दिएनन् । उनीहरुको तालमा ताल मिलाउँदै हामी पनि जानी—नजानी शरीर हल्लाउन थाल्यौँ । हामीले पालै—पालो गीत समेत गाउनु पर्ने भयो । मलाई फसाद प¥यो । नजानेरै भएपनि एउटा कौराको टुक्का जोडेर गाइदिएँ ः
ए.......माया लाउन भनेर सिलुवामा आएको ,
यति राम्री नानी पाएको ........................

सबैजनाले पालैपालो गीत गायौँ, नाच्यौँ । रात धेरै धर्किसकेपछि नचाहँदा नचाहँदै पनि नाच रोक्न बाध्य हुनुप¥यो । पञ्चकन्या र गायनटोलीसँग फोटो खिचेर अनुभवहरू साटासाट गर्यौँ । सिलुवाका बासिन्दा , कौरा समूहका साथै जनमार्ग उ.मा.वि. व्यवस्थापन समितिका अध्यक्ष गिरीमान आले र रेडियो रामपुरका प्रतिनिधि रन ब. रानालाई विशेष धन्यबाद दिएर त्यस रातको रमाइलो कार्यक्रम बिसर्जन भयो ।

कौरा विशेषतः मगर संस्कृतिको महत्वपूर्ण अङ्ग हो । यो गीतमा कुनै देवी देवताको चरित्र गाँसिएको पाइन्न र आख्यान तत्व पनि हँुदैन । साँस्कृतिक विशेषता झुल्काउँदै शुद्घ मनोरञ्जन दिनु यस गीतको मूल लक्ष्य हो । पाँच जनादेखि दश जनासम्मको गायक मण्डली हुन्छ । सबैका हातमा खैँजडी–मुजुरा रहन्छ । पाँच जना युवतीहरु घुमी–घुमी, ठाउँ साटी–साटी शरीर मर्काई–मर्काई अनेक भावपूर्ण मुद्रामा नाच्दछन् । गीत नृत्य दुवैको चाल छिटो–छिटो र जोशिलो पाराको हुन्छ । अलग अलग लयमा गीत प्रस्तुत गरिन्छ ।

कौरा गीत गाउँदा भेटघाट, सन्चो–बिसन्चा,े घरबार, चिनाजानी आदि गरी मायाप्रेमका कुरा गरिसकेपछि बिदाइ गरिन्छ । कौरामा खास यिनै गीत गाउने भन्ने नभए पनि व्यवहार, चालचलन, सुख–दुःख र श्रृङ्गारिक गीत बढी गाइन्छन् । कौरागीत सबैले खुल्ला रूपमा गाए पनि ताल नबिग्रोस भन्नका लागि ताल काट्ने एक जनाले नेतृत्व गरेको हुन्छ । कौराको बीचमा छोटो लयको गीत हुन्छ जसलाई खुरखुरे भनिन्छ । यसमा केटीहरु खुरुर्र दाडेर नाच्छन् । यसरी नै बीच बीचमा हास्य रसका अन्य प्रदर्शन पनि गर्ने गरिन्छ । नाच्दा—नाच्दै युवतीहरुले आफूलाई मन परेको युवकलाई समेत तानेर सँगै नचाउन पनि अग्रसर हुन्छन् ।

नेपालमा स्याङ्जा, पाल्पा, तनहँु, पर्वत आदि जिल्लाहरूका मगर बस्तीहरूमा कौरा नाचिन्छ । केही समयअघि पोखरामा भएको पश्चिमाञ्चल क्षेत्रीय कौरा नृत्य प्रतियोगितामा पाल्पा, सिलुवाकै कौरा प्रथम भएको थियो । तिनै पवित्र मनहरूले गरेको मीठो आतिथ्य सत्कारमा झुमेर त्यसरात हामी सिलुवामै बितायौँ । सिलुवाको कौराले भोलिका दिनमा अझै देश—विदेशमा चर्चा पाओस् भन्ने शुभकामना दिएर भोलिपल्ट बिहानै गह्रुँगो मन लिएर सिलुवाबाट विदाइका हात हल्लायौँ । मनले भन्दै थियो — “धन्य नेपाली लोक सँस्कृति , धन्य सिलुवावासी, धन्य कौरा नृत्य............।”

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 28 माघ, 2068

लेखकका अन्य रचनाहरु